प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १०/१ पृ. ८-९
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “म कहिल्यै नभरिने घ्याम्पो थिएँ”
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १०/१ पृ. ८-९

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

“मेरो जिन्दगी के हुने होला भनेर गहिरिएर सोच्न थालें”

एलन हान्कक्‌को वृत्तान्तमा आधारित

  • जन्म मिति: १९४१

  • जन्म स्थान: अस्ट्रेलिया

  • विगतमा: चुरोट, जाँडरक्सी खाने

मेरो विगत:

म न्यु साउथ वेल्सको सानो गाउँ वारीएल्डामा हुर्कें। यहाँका मानिसहरू भेडाबाख्रा पाल्छन्‌, अन्‍नबाली लगाउँछन्‌ र तरकारी खेती गर्छन्‌। यो गाउँ सफा छ; यहाँ लुटपाट, झैझगडा खासै हुँदैन।

हामी दस जना छोराछोरी थियौं। म जेठो भएकोले १३ वर्षको हुँदादेखि परिवारको गर्जो टार्न काम गर्न थालें। मेरो पढाइ कम थियो। त्यसैले तबेलामा काम गर्न थालें। म १५ वर्षको हुँदा जङ्‌गली घोडालाई तालिम दिने भइसकेको थिएँ।

तबेलामा काम गर्नुको फाइदा-बेफाइदा दुवै थियो। यो काम मलाई एकदम मन पर्थ्यो। त्यहाँको वातावरण पनि मजाको थियो। राती आगो ताप्दै आकाशमा जून र झलमल्ल ताराहरू हेर्न निकै रमाइलो लाग्थ्यो। अनि शीतल हावासँगसँगै बोटबिरुवाको मीठो बास्ना आउँदा मनै आनन्द हुन्थ्यो। म सोच्ने गर्थें, ‘यी सुन्दर कुराहरू बनाउने पक्कै कोही हुनुपर्छ।’ अर्कोतिर, मसँगै काम गर्ने मानिसहरूको नराम्रो आनीबानीले मलाई असर गर्न थाल्यो। उनीहरूले छाडा बोली बोलेको प्रायजसो सुन्थें। अनि त्यहाँ चुरोट पनि सजिलै पाइन्थ्यो। त्यसपछि त मेरो पनि चुरोट खाने अनि छाडा बोली बोल्ने बानी बस्यो।

म १८ वर्षको हुँदा सिड्‌नीमा बसाइँ सरें। त्यहाँ सेनामा भर्ती हुने प्रयास गरें तर पढाइ नपुगेकोले मिलेन। पछि अर्कै जागिर खाएँ र सिड्‌नीमै एक वर्ष बसें। त्यसैबेला पहिलो पटक यहोवाका साक्षीहरूलाई भेटें। उनीहरूले मलाई सभामा आउन निम्तो दिए। त्यहाँ गएपछि साँचो शिक्षा यही हो भनेर बुझिहालें।

त्यसको केही समय नबित्दै गाउँमै फर्कने निर्णय गरें। त्यसपछि म क्वीन्सल्यान्डको गुन्डीविन्डीमा गएँ। त्यहाँ मैले जागिर पाएँ र विवाह पनि गरें। तर रक्सी पिउने नराम्रो बानी सुरु भयो।

हाम्रो दुई जना छोरा जन्मियो। अब पनि ताल यस्तै हो भने मेरो जिन्दगी के हुने होला भनेर गहिरिएर सोच्न थालें। सिड्‌नीमा छँदा यहोवाका साक्षीहरूको सभामा सिकेको कुरा सम्झें र सिकेअनुसार कदम चाल्ने निर्णय गरें।

मैले प्रहरीधरहरा-को एउटा पुरानो अङ्‌क फेला पारें। त्यसमा अस्ट्रेलियामा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयको ठेगाना थियो। मैले मदतको लागि चिठी पठाएँ। अनि एक जना दयालु यहोवाको साक्षी मलाई भेट्‌न आउनुभयो। त्यसको लगत्तै उहाँसित बाइबलको कुरा सिक्न थालें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

बाइबलको कुरा सिक्दै जाँदा आफ्नो जीवनमा आमूल परिवर्तन गर्नुपर्ने महसुस गरें। विशेषगरि बाइबलको एउटा पद २ कोरिन्थी ७:१ ले मलाई प्रभाव पाऱ्‍यो। त्यस पदमा ‘तनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पार्न’ प्रोत्साहन दिइएको छ।

त्यसपछि मैले चुरोट र जाँडरक्सी छोड्‌ने निर्णय गरें। यस्तो कुलतमा लागेको वर्षौं भइसकेकोले छोड्‌न सजिलो भएन। तर यहोवालाई खुसी पार्न जस्तोसुकै परिवर्तन गर्न पनि तयार थिएँ। बाइबलको पद रोमी १२:२ मा उल्लिखित सिद्धान्तले मलाई निकै बल दियो। त्यहाँ यसो भनिएको छ: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड, बरु तिमीहरूको सोचाइमा . . . परिवर्तन आओस्‌।” कुलत छोड्‌न आफ्नो सोचाइ परिवर्तन गर्नुपर्छ र आफ्नो आनीबानीलाई यहोवाले जस्तै हानिकारक ठान्‍नुपर्छ भनेर बुझें। यसरी परमेश्‍वरको मदत पाएर चुरोट र जाँडरक्सी छोड्‌न सकें।

‘कुलत छोड्‌न आफ्नो सोचाइ परिवर्तन गर्नुपर्छ भनेर बुझें’

तर छाडा बोली त्याग्न सबैभन्दा गाह्रो भयो। “तिमीहरूको मुखबाट सडेको वचन ननिस्कोस्‌” भन्‍ने बाइबलको एफिसी ४:२९ मा लेखिएको सल्लाह मलाई थाह थियो। तैपनि बोली सुधार्न सकिरहेको थिइनँ। तर यशैया ४०:२६ मा उल्लिखित कुरामा मनन गर्दा मदत पाएँ। ताराहरूले भरिएको आकाशबारे त्यस पदमा यस्तो लेखिएको छ: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।” विशाल ब्रह्‍माण्डको जूनतारा हेरेर म दङ्‌ग पर्थें। यत्रो ब्रह्‍माण्ड बनाउने परमेश्‍वरले के मलाई परिवर्तन गर्ने बल दिन सक्नुहुन्‍न होला र? निकै प्रार्थना र प्रयास गरेपछि बिस्तारै छाडा बोलीलाई नियन्त्रणमा राख्न सकें।

मैले कसरी लाभ उठाएको छु?

मैले काम गरेको तबेलामा मान्छेहरू थोरै थिए। त्यसैले अरूसित कुराकानी गर्ने मौका त्यति थिएन। तर यहोवाका साक्षीहरूको सभाबाट पाएको प्रशिक्षणले गर्दा अरूको अगाडि बोल्न सकें। साथै अरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन पनि सक्षम भएँ।—मत्ती ६:९, १०; २४:१४.

विगत केही वर्षदेखि मण्डलीमा एल्डरको रूपमा सेवा गर्दै छु। आफ्ना सङ्‌गी भाइबहिनीहरूलाई सकेजति मदत गर्न पाउनु म ठूलो सम्मान ठान्छु। मेरो लागि सबैभन्दा ठूलो आशिष्‌ भनेको मेरी वफादार र प्यारी श्रीमती अनि बच्चाहरूसँगै यहोवाको सेवा गर्न पाउनु हो।

मैले त्यति पढेको छैन, तैपनि यहोवाबाट सिक्न पाएँ। (यशैया ५४:१३) यसको लागि म उहाँलाई धन्यवाद दिन्छु। हितोपदेश १०:२२ मा उल्लिखित यस कुरामा म पूरै सहमत छु: “परमप्रभुको आशिष्‌ले धन-सम्पत्ति ल्याउँछ।” म र मेरो परिवार यहोवाबारे अझ धेरै सिक्न अनि सधैंभरि उहाँको सेवा गरिरहन चाहन्छौं। (w13-E 08/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने