प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १०/१५ पृ. ७-११
  • सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तथ्य र तर्कमा आधारित विश्‍वास
  • सृष्टिमा परमेश्‍वरको शक्‍तिको प्रमाण
  • सृष्टिमा परमेश्‍वरको बुद्धिको प्रमाण
  • सृष्टिकर्ताको महिमा गर्न अरूलाई मदत दिनुहोस्‌
  • केटाकेटी हो, आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईँ परमेश्‍वरले दिनुभएका उपहारहरूप्रति कृतज्ञ हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • एकमात्र जीवित ग्रह
    जीवन सृष्टि कि संयोग?
  • क्रमविकासमा विश्‍वास गर्दिनँ भनेर कसरी भन्‍ने?
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १०/१५ पृ. ७-११

सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ

“हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा . . . ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो।”—प्रका. ४:११.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • क्रमविकास र सृष्टिवादका “जरा गाडेर बसेका” शिक्षाहरू गलत हुन्‌ भनेर प्रमाणित गर्न हामीले के गर्नुपर्छ?

  • सृष्टिले सृष्टिकर्ताको शक्‍ति र बुद्धिको प्रमाण कसरी दिन्छ?

  • आमाबाबुले छोराछोरीलाई यहोवामाथिको विश्‍वास बलियो बनाउन कसरी मदत गर्न सक्छन्‌?

१. परमेश्‍वरमाथिको विश्‍वास बलियो बनाइराख्न हामीले के गर्नै पर्छ?

थुप्रै मानिस देखेको कुरामा मात्र विश्‍वास गर्छन्‌। तर “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (यूह. १:१८) त्यसोभए सृष्टिकर्ताको अस्तित्व छैन भन्‍नेहरूलाई उहाँमाथि विश्‍वास गर्न कसरी मदत गर्न सक्छौं? “अदृश्‍य परमेश्‍वर”-माथिको हाम्रो विश्‍वास बलियो बनाइराख्न हामी के गर्न सक्छौं? (कल. १:१५) सबैभन्दा पहिला सृष्टिकर्ताको अस्तित्वलाई ओझेलमा पार्ने शिक्षाहरूबारे थाह पाउनुपर्छ। त्यसपछि ती शिक्षाहरू “परमेश्‍वरको ज्ञानविरुद्ध” छन्‌ भनेर प्रमाणित गर्न बाइबल राम्ररी प्रयोग गर्न सिक्नुपर्छ।—२ कोरि. १०:४, ५.

२, ३. सृष्टिकर्ताको अस्तित्व स्वीकार्नदेखि रोक्ने दुईवटा शिक्षा के-के हुन्‌?

२ मानिसहरूलाई सृष्टिकर्ताको अस्तित्व स्वीकार्नदेखि रोक्ने एउटा झूटो शिक्षा हो, क्रमविकासको शिक्षा। यो शिक्षा बाइबलमा लेखिएका कुरासित मेल खाँदैन र यसले मानिसहरूलाई आशाविहीन बनाउँछ। क्रमविकासको शिक्षाअनुसार सम्पूर्ण कुरा आफै अस्तित्वमा आए। यदि यो शिक्षा सत्य हो भने मानिसको जीवनको कुनै उद्देश्‍य छैन।

३ पृथ्वीलगायत ब्रह्‍माण्डमा भएका सम्पूर्ण थोक केही हजार वर्ष मात्र पुराना हुन्‌ भनेर चर्चका कट्टरपन्थीहरू सिकाउँछन्‌। उनीहरू परमेश्‍वरले जम्मा ६ दिनमा सबै कुरा सृष्टि गर्नुभयो भन्छन्‌। यस्तो शिक्षालाई सृष्टिवाद भनिन्छ। सृष्टिवादमा विश्‍वास गर्ने मानिसहरू आफ्नो विश्‍वाससित मेल नखाने सबै वैज्ञानिक प्रमाणलाई इन्कार गर्छन्‌। उनीहरू बाइबलको कदर त गर्लान्‌ तर यस्तो शिक्षाले गर्दा मानिसहरूलाई परमेश्‍वरमाथि विश्‍वास गर्न गाह्रो हुन्छ। किन? सृष्टिवादको शिक्षाले गर्दा बाइबलको शिक्षा अव्यावहारिक अनि गलत हो कि भन्‍ने भान मानिसहरूमा पर्छ। सृष्टिवादको शिक्षा सिकाउने मानिसहरू प्रथम शताब्दीका केही मानिसजस्ता छन्‌। तिनीहरू जोसका साथ परमेश्‍वरको उपासना गर्थे तर “सही ज्ञानअनुरूप” भने होइन। (रोमी १०:२) क्रमविकास र सृष्टिवादका यस्ता “जरा गाडेर बसेका” शिक्षाहरू गलत हुन्‌ भनेर प्रमाणित गर्न परमेश्‍वरको वचन कसरी प्रयोग गर्न सक्छौं?a बाइबलले सिकाउने सत्य कुरा बुझ्न अथक प्रयास गऱ्‍यौं भने मात्र हामी उनीहरूलाई मदत गर्न सक्छौं।

तथ्य र तर्कमा आधारित विश्‍वास

४. हाम्रो विश्‍वास केमा आधारित हुनुपर्छ?

४ बाइबल हामीलाई ज्ञानको मोल गर्न सिकाउँछ। (हितो १०:१४) हाम्रो विश्‍वास तथ्य र तर्कमा आधारित भएको यहोवा चाहनुहुन्छ, मानव सोचाइ वा धार्मिक रीतिथितिमा होइन। (हिब्रू ११:१ पढ्‌नुहोस्‌) सृष्टिकर्तामाथिको विश्‍वास बलियो बनाउन सबैभन्दा पहिले उहाँको अस्तित्व छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुनुपर्छ। (हिब्रू ११:६ पढ्‌नुहोस्‌) आफूलाई जे मनपर्छ त्यही कुरामा विश्‍वास गर्न चाहेकोले होइन, बरु सत्यतथ्य जाँचेकोले अनि आफ्नो “सोचविचार गर्ने क्षमता” चलाएकोले सृष्टिकर्ताको अस्तित्वमा विश्‍वास गर्छौं।—रोमी १२:१.

५. सृष्टिकर्ताको अस्तित्व छ भनेर विश्‍वस्त हुन सक्ने एउटा कारण के हो?

५ सृष्टिकर्तालाई नदेखे तापनि उहाँको अस्तित्व छ भनेर विश्‍वस्त हुन सक्ने एउटा कारणबारे प्रेषित पावल बताउँछन्‌। तिनले लेखेअनुसार “उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिंदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएको” छ। (रोमी १:२०) सृष्टिकर्ताको अस्तित्वमा शङ्‌का गर्ने मानिसहरूलाई पावलको यो भनाइ सत्य हो भनेर बुझ्न कसरी मदत गर्न सक्नुहुन्छ? सृष्टिले सृष्टिकर्ताको शक्‍ति र बुद्धिको प्रमाण दिन्छ भनेर देखाउने निम्न उदाहरणमध्ये केही प्रयोग गर्न सक्नुहुन्छ।

सृष्टिमा परमेश्‍वरको शक्‍तिको प्रमाण

६, ७. यहोवाको शक्‍तिको प्रमाण दिने दुईवटा कुरा के हुन्‌?

६ हामीलाई सुरक्षा दिने दुईवटा कुरामा यहोवाको शक्‍तिको प्रमाण देख्छौं। ती हुन्‌: पृथ्वीको वायुमण्डल र पृथ्वीको चुम्बकीय क्षेत्र। वायुमण्डलबाट हामी सास फेर्ने हावा मात्र होइन, सुरक्षा पनि पाउँछौं। कसरी? अन्तरिक्षबाट द्रुत गतिमा आएका ठूलठूला चट्टानका टुक्रा पृथ्वीमा ठोक्कियो भने त्यसले ठूलो क्षति पुऱ्‍याउन सक्छ। तर अक्सर त्यस्तो हुँदैन किनकि ती चट्टानका टुक्रा पृथ्वीको वायुमण्डलमा छिर्नेबित्तिकै जलेर भस्म हुन्छन्‌। चट्टानका ती टुक्रा जल्दा अँध्यारो आकाशमा चम्किलो तारा खसेको जस्तो सुन्दर दृश्‍य देखिन्छ।

७ पृथ्वीको केन्द्रबाट निस्कने चुम्बकीय क्षेत्रले पनि हामीलाई सुरक्षा दिन्छ। पृथ्वीको केन्द्रको बाहिरी सतहको अधिकांश भाग पग्लिएको तातो फलामले बनेको हुन्छ र यसले शक्‍तिशाली चुम्बकीय क्षेत्र उत्पन्‍न गर्छ। यो चुम्बकीय क्षेत्रले पृथ्वीलाई चारैतिरबाट घेर्छ र यो अन्तरिक्षसम्म फैलिन्छ। यसले हामीलाई सूर्यको चर्को रापबाट जोगाउँछ। साथै सूर्यको बाहिरी सतहमा विष्फोटन हुँदा त्यसबाट निस्कने हानिकारक किरणबाट पनि जोगाउँछ। चुम्बकीय क्षेत्रले ती हानिकारक किरणलाई सोस्छ र अन्तरिक्षमै फिर्ता पठाउँछ। अँध्यारो रातमा पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा देखिने रङ्‌गीबिरङ्‌गी प्रकाशले चुम्बकीय क्षेत्र छ भन्‍ने प्रमाण दिन्छ। हो, यहोवा साँच्चै “सामर्थ्यमा बलियो” हुनुहुन्छ।—यशैया ४०:२६ पढ्‌नुहोस्‌।

सृष्टिमा परमेश्‍वरको बुद्धिको प्रमाण

८, ९. पृथ्वीमा जीवन सम्भव हुनुको कारण के हो? यसबाट यहोवाको बुद्धिबारे के थाह पाउँछौं?

८ यहोवाले पृथ्वीमा जीवन सम्भव बनाउनुभएको तरिकाबाट उहाँको बुद्धिबारे सिक्न सक्छौं। कल्पना गर्नुहोस्‌, एउटा सहरमा लाखौं मानिस बस्छन्‌ र त्यस सहरलाई चारैतिर पर्खालले घेरेको छ। सफा पानी ल्याउने वा फोहोर-मैला बाहिर फ्याँक्ने उपाय नै नभएकोले यस्तो सहर फोहोर हुन धेरै समय लाग्दैन र त्यहाँ बस्न सकिंदैन। केही हदसम्म पृथ्वी पनि त्यो सहरजस्तै छ। पानी सीमित छ र फोहोर सजिलै व्यवस्थापन गर्न सकिंदैन। तैपनि पृथ्वीले सबै जीवित प्राणीलाई चाहिने आवश्‍यक कुराको प्रबन्ध निरन्तर गरिरहेको छ। कसरी? पृथ्वीसित जीवन धान्‍न चाहिने सम्पूर्ण कुरा फेरि प्रयोगमा ल्याउन सक्ने अद्‌भुत क्षमता छ।

९ पृथ्वीले अक्सिजनको प्रबन्ध कसरी गर्छ, विचार गरौं। अरबौं प्राणीले अक्सिजन लिन्छन्‌ अनि कार्बनडाइअक्साइड फ्याँक्छन्‌। यो चक्र निरन्तर चलिरहे तापनि अहिलेसम्म पृथ्वीमा अक्सिजनको कमी भएको छैन। किन? प्रकाशसंश्‍लेषण (फोटोसिन्थेसिस्‌) भनिने अचम्मलाग्दो प्रक्रियाले गर्दा। यस प्रक्रियामा बोटबिरुवाले कार्बनडाइअक्साइड, पानी, आवश्‍यक पोषण, सूर्यको किरण लिन्छ र ती सबैलाई कार्बोहाइड्रेट र अक्सिजनमा परिणत गर्छ। अनि हामी त्यो अक्सिजन लिन्छौं र कार्बनडाइअक्साइड फ्याँक्छौं। यसरी यो चक्र पूरा हुन्छ। यहोवा आफूले सृष्टि गरेको बोटबिरुवा प्रयोग गरेर ‘सबै मानिसहरूलाई जीवन र सास’ दिनुहुन्छ। (प्रेषि. १७:२५) कस्तो अद्‌भुत बुद्धि!

१०, ११. मोनार्क पुतलीमा अनि गाइनेकीरामा हामी कसरी यहोवाको बुद्धि देख्न सक्छौं?

१० यहोवाले सृष्टि गर्नुभएका अन्य प्राणीमा पनि उहाँको बुद्धि देख्छौं। अनुसन्धानले देखाएअनुसार पृथ्वीमा लगभग २० लाखदेखि १० करोड थरीका प्राणी छन्‌। (भजन १०४:२४ पढ्‌नुहोस्‌) तीमध्ये केही प्राणीमा यहोवाको बुद्धि कसरी झल्किन्छ, विचार गरौं।

गाइनेकीराको आँखाको रचनामा सृष्टिकर्ताको बुद्धि झल्किन्छ; चित्रमा आँखा निकै गुणा ठूलो देखाइएको छ (अनुच्छेद ११ हेर्नुहोस्‌)

११ जस्तै, मोनार्क पुतलीको मस्तिष्क डटपेनको टुप्पो जत्रो मात्र हुन्छ। तैपनि यो पुतली लगभग ३,००० किलोमिटर टाढासम्म उड्‌न सक्छ। सूर्यमा भर पर्दै यसले बाटो पत्ता लगाउँछ। तर घाम सर्दै जाने भएकोले यो कसरी सम्भव छ? यहोवाले यस पुतलीको मस्तिष्क अद्‌भुत तरिकामा बनाउनुभएको छ। त्यसकारण घाम सर्दै गए तापनि यो सही दिशातर्फ उड्‌न सक्छ। गाइनेकीराबारे पनि विचार गर्नुहोस्‌। यसको दुइटै आँखाभित्र करिब ३०/३० हजार लेन्स हुन्छन्‌। ती लेन्सहरूमार्फत आउने सङ्‌केतलाई गाइनेकीराको सानो मस्तिष्कले राम्ररी बुझ्न सक्छ अनि आफू वरपर छिस्रिक्क केही भयो भने पनि थाह पाउन सक्छ।

१२, १३. यहोवाले हाम्रो कोष बनाउनुभएको तरिका किन अचम्मलाग्दो छ?

१२ यहोवाले सम्पूर्ण प्राणीको कोष बनाउनुभएको तरिका पनि अचम्मलाग्दो छ। उदाहरणको लागि, मानव शरीरमा लगभग १ हजार खरब कोष हुन्छन्‌। ती प्रत्येक स-साना कोषभित्र डिएनए हुन्छ। डिएनए-मा सम्पूर्ण शरीर बन्‍न चाहिने धेरैजसो जानकारी हुन्छ।

१३ डिएनए-मा कति जानकारी अटाउँछ? हामी एक ग्राम डिएनए-लाई एउटा सीडी चक्कासित तुलना गर्न सक्छौं। शब्दकोशमा हुने सम्पूर्ण जानकारी एउटा सीडी-मा अटाउँछ। प्लास्टिकको एउटा चक्कामा यत्रो जानकारी अटाउनु अचम्मलाग्दो कुरा होइन र? तर त्योभन्दा पनि अचम्मलाग्दो कुरा त, १० खरब सीडी-मा अटाउने जानकारी एक ग्राम डिएनए-मै अटाउँछ! अर्को तरिकामा भन्‍नुपर्दा, एक चिया चम्चा डिएनए-मा हुने जानकारी अहिले पृथ्वीमा जति मानिसहरू छन्‌, त्यसको ३५० गुणा धेरै मानिस बनाउन पुग्छ।

१४. वैज्ञानिकहरूले पत्ता लगाएका तथ्य विचार गर्दा तपाईं यहोवाबारे कस्तो महसुस गर्नुहुन्छ?

१४ मानव शरीर बन्‍न चाहिने सम्पूर्ण जानकारी मानौं एउटा किताबमै लेखिएको छ जस्तो गरी राजा दाऊदले बताए। तिनले भने: “मेरो रचना नभई तपाईंका आँखाले मलाई देखेका थिए, म अपूर्ण रूपमै भएको तपाईंका आँखाले देखेका थिए, र मेरा सबै अङ्‌ग जो दिनदिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भज. १३९:१६) आफू अद्‌भुत तरिकामा बनिएको तथ्य विचार गर्दा दाऊदले यहोवाको प्रशंसा गर्न चाहे। हुन पनि वैज्ञानिकहरूले मानव शरीरबारे थुप्रै उदेकलाग्दा तथ्य पत्ता लगाएका छन्‌। ती तथ्य विचार गर्दा हामी पनि दाऊदजस्तै यसरी यहोवाको प्रशंसा गर्न उत्प्रेरित हुन्छौं: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भज. १३९:१४) हो, वास्तवमा हामी वरपरको सृष्टिले सृष्टिकर्ताको अस्तित्वको प्रमाण दिन्छ।

सृष्टिकर्ताको महिमा गर्न अरूलाई मदत दिनुहोस्‌

१५, १६. (क) हाम्रा प्रकाशनहरूले मानिसहरूलाई यहोवाको सृष्टिबारे बुझ्न कसरी मदत गरेको छ? (ख) तपाईंलाई “सृष्टि या संयोग?” शृङ्‌खलाको कुनचाहिं लेख रोचक लाग्यो?

१५ वर्षौंदेखि ब्यूँझनुहोस्‌! पत्रिकाले लाखौं मानिसलाई सृष्टि भएका कुराहरूबाट सृष्टिकर्ताबारे सिक्न मदत गरेको छ। उदाहरणको लागि, अक्टोबर-डिसेम्बर २००६ अङ्‌कको ब्यूँझनुहोस्‌!-को विषय “सृष्टिकर्ता छ?” भन्‍ने थियो। क्रमविकास र सृष्टिवादमा विश्‍वास गर्ने मानिसहरूलाई मदत गर्न यो विशेषाङ्‌क तयार पारिएको थियो। एक जना बहिनीले यस अङ्‌कबारे अमेरिकाको शाखा कार्यालयमा पत्र पठाइन्‌। तिनले यस्तो लेखिन्‌: “यो विशेषाङ्‌क प्रस्तुत गर्ने अभियान धेरै राम्रो भयो। जीव-विज्ञानकी एउटी शिक्षिकाले २० प्रति मागिन्‌। उनी आफ्ना सबै विद्यार्थीलाई एक-एक प्रति दिन चाहन्थिन्‌।” एक जना भाइले पनि यस्तो लेखे: “सन्‌ १९४० दशकको अन्ततिरदेखि क्षेत्र सेवामा सक्रिय छु। अहिले ७५ वर्ष पुग्नै लागें तर यो महिना ब्यूँझनुहोस्‌!-को यो विशेषाङ्‌क प्रस्तुत गर्दा जत्ति रमाइलो पहिला कहिल्यै लागेको थिएन।”

१६ सन्‌ २००८ देखि ब्यूँझनुहोस्‌!-को प्रायजसो अङ्‌कमा “सृष्टि या संयोग?” भन्‍ने लेख छापिन थालियो।b यी छोटा लेखहरूमा सृष्टि कस्तो अद्‌भुत छ अनि मानिसहरूले सृष्टिमा पाइने अचम्मलाग्दा कुराहरूको नक्कल गर्ने प्रयास कसरी गरेका छन्‌, त्यसबारे छलफल गरिएको छ। सन्‌ २०१० मा हामीले जीवन सृष्टि पुस्तिका पनि पायौं। यस पुस्तिकामा भएका सुन्दर तस्बिर तथा चित्रहरूले हामीलाई यहोवाले सृष्टि गर्नुभएका कुराहरूप्रति अझै कृतज्ञ हुन मदत गर्छ। प्रत्येक खण्डको अन्तमा राखिएका प्रश्‍नहरूले पाठकलाई भर्खरै पढेको जानकारीमा अझै गहिरिएर विचार गर्न मदत गर्छ। यो पुस्तिका घरघरको प्रचारमा र अनौपचारिक साक्षीमा प्रयोग गर्नुभएको छ कि?

१७, १८. (क) आमाबाबुसित कस्तो जिम्मेवारी छ? (ख) पारिवारिक उपासनामा यी दुई पुस्तिका वा सृष्टिसम्बन्धी अन्य प्रकाशन कसरी प्रयोग गर्नुभएको छ?

१७ आमाबाबु हो, पारिवारिक उपासनामा छोराछोरीसित यो पुस्तिका छलफल गरिसक्नुभयो कि? छलफल गर्नुभयो भने यहोवामाथिको उनीहरूको विश्‍वास बढ्‌नेछ। सायद तपाईंका हाई स्कूल पढ्‌ने छोराछोरी होलान्‌। क्रमविकासबारे सिकाउनेहरूले तपाईंका छोराछोरीलाई सृष्टिकर्ता हुनुहुन्‍न भनेर विश्‍वस्त पार्न निकै प्रयास गरिरहेका छन्‌। वैज्ञानिक तथा शिक्षकहरू क्रमविकासको शिक्षा सही हो भनेर सिकाउँछन्‌। प्रकृतिसम्बन्धी टिभी कार्यक्रम तथा चलचित्रहरूमा समेत यस्तै कुरा देखाइन्छ। सन्‌ २०१० मा प्रकाशित जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न (अङ्‌ग्रेजी) भन्‍ने पुस्तिका प्रयोग गर्दै सत्यको पक्षमा बोल्न छोराछोरीलाई मदत दिनुहोस्‌। जीवन सृष्टि पुस्तिकाले जस्तै यस पुस्तिकाले पनि हाम्रा छोराछोरीलाई “विवेक” अर्थात्‌ सोच्ने क्षमता विकास गर्न मदत गर्छ। (हितो. २:१०, ११) यी दुई पुस्तिका नेपाली भाषामा उपलब्ध छैन। तर अङ्‌ग्रेजीमा भने उपलब्ध छ। यिनमा भएका जानकारी बुझ्न सक्दो प्रयास गर्नुहोस्‌। यसो गर्नुभयो भने क्रमविकासको झूटो शिक्षाको खण्डन गर्न छोराछोरीलाई मदत दिन सक्नुहुनेछ। साथै स्कूलमा सिकाइएको कुरा सही र तर्कसङ्‌गत छ कि छैन, पक्का गर्न पनि उनीहरूले यी पुस्तिकाहरूबाट मदत पाउँछन्‌।c

आमाबाबु हो, छोराछोरीलाई सत्यको पक्षमा बोल्न तयार पार्नुहोस्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१८ क्रमविकासको शिक्षा सही हो भनेर प्रमाणित गर्ने जीवावशेषहरू वैज्ञानिकहरूले भेट्टाए रे भन्‍ने समाचार कहिलेकाहीं सुन्छौं। अथवा वैज्ञानिकहरूले प्रयोगशालामा जीवन सुरु गरे भन्‍ने रिपोर्ट पनि सुनिन्छ। यस्ता समाचारहरू सही हुन्‌ कि होइनन्‌, स्कूल पढ्‌नेहरू आफैले पक्का गर्न सकून्‌ भनेर जीवनको सुरुवात पुस्तिका तयार पारिएको हो। आमाबाबु हो, छोराछोरीले सृष्टिकर्तामाथि विश्‍वास गर्नुको कारण निर्धक्क भई बताएको चाहनुहुन्छ भने उनीहरूसित यी प्रकाशनहरू छलफल गर्नुहोस्‌।—१ पत्रुस ३:१५ पढ्‌नुहोस्‌।

१९. हामीले कस्तो सुअवसर पाएका छौं?

१९ सङ्‌गठनले तयार पारेको सृष्टिसम्बन्धी प्रकाशनहरू पढ्‌दा यहोवाका मनमोहक गुणहरूबारे थुप्रै कुरा सिक्न सक्छौं। यी प्रकाशनहरूमा दिइएका प्रमाणहरू विचार गर्दा हामी मनैदेखि यहोवाको प्रशंसा गर्न उत्प्रेरित हुन्छौं। (भज. १९:१, २) सबै कुराका सृष्टिकर्ता यहोवा आदर र महिमाको योग्य हुनुहुन्छ। उहाँको आदर र महिमा गर्न पाउनु कत्ति ठूलो सुअवसर!—१ तिमो. १:१७.

a सृष्टिवादको शिक्षा सिकाउने मानिसहरूलाई कसरी मदत गर्न सकिन्छ, थप जानकारीको लागि के जीवन सृष्टि गरिएको थियो? (अङ्‌ग्रेजी) पुस्तिकाको पृष्ठ २४ देखि २८ हेर्नुहोस्‌।

b नेपालीमा भने सन्‌ २०१३ को त्रैमासिक ब्यूँझनुहोस्‌!-देखि यो शृङ्‌खला प्रकाशित गरियो।

c सृष्टिसम्बन्धी थप जानकारीको लागि के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाको भाग ३; प्रहरीधरहरा, जुलाई १, २००७, पृष्ठ १५-१८ र प्रहरीधरहरा, फेब्रुअरी १५, २०११, पृष्ठ ६-९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने