प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 २/१ पृ. ५-७
  • युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अन्तको दिनको चिन्ह
  • दियाबलका कामहरू नष्ट गरिनेछ
  • चार घोडसवार तिनीहरू को हुन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • चार घोडसवारहरूको दौड!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • “आखिरी दिन[मा]” छौं भनेर हामी कसरी भन्‍न सक्छौं
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
  • युद्धको लागि खरबौँको खर्च—के कुरा त्यति मात्र हो?
    थप लेखहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 २/१ पृ. ५-७

आवरण लेख | त्यो युद्ध जसले संसारको रूप परिवर्तन गरिदियो

युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?

सन्‌ १९१८ नोभेम्बर ११ मा प्रथम विश्‍वयुद्धको अन्त भयो। मानिसहरू व्यापार व्यवसाय बन्द गरेर खुसीयाली मनाउन सडकमा ओर्लिए। तर तिनीहरूको त्यो हर्ष धेरै समयसम्म टिकेन। नभन्दै मेसिन गनको गटटटट्‌भन्दा पनि डरलाग्दो अर्को एउटा विपत्ति आइपऱ्‍यो।

सन्‌ १९१८ जूनमा स्पेनिस फ्लू भनिने महामारीबाट फ्रान्समा भएका सैनिकहरू सङ्‌क्रमित भइसकेका थिए। यो रोग कत्तिको घातक छ भन्‍ने कुरा मानिसहरूले चाँडै थाह पाए। उदाहरणको लागि केही महिनामै यस रोगले फ्रान्समा भएका थुप्रै अमेरिकी सैनिकहरूको ज्यान लियो। यो सङ्‌ख्या लडाइँमा शत्रुहरूको हातबाट मर्नेहरूको भन्दा धेरै थियो। युद्धपछि घर फर्किएका सैनिकहरूले आफू सँगसँगै यो रोग बोकेर ल्याए। यसले गर्दा महामारी जताततै फैलियो।

युद्धपछि भोकमरी फैलियो र अर्थतन्त्र पनि उथलपुथल भयो। सन्‌ १९१८ मा युद्ध थामुन्जेल युरोपका थुप्रै देश भोकमरीको चपेटामा परिसकेका थिए। सन्‌ १९२३ सम्ममा जर्मनीको पैसा कामै नलाग्ने भइसकेको थियो। त्यसको छ वर्षपछि पूरै विश्‍वको अर्थतन्त्र तहसनहस भयो। प्रथम विश्‍वयुद्धमा सुरु भएको राष्ट्रहरूबीचको असमझदारी अझै साम्य नभएकोले पनि सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु भयो। यी विपत्तिका लहरपछाडि कसको हात थियो?

अन्तको दिनको चिन्ह

बाइबलमा गरिएका भविष्यवाणीले यी ऐतिहासिक घटनाहरू अझ खासगरि प्रथम विश्‍वयुद्ध हुनुको वास्तविक कारण बुझ्न हामीलाई मदत गर्छ। येशू ख्रीष्टले ‘जातिको विरुद्धमा जाति उठ्‌नेछ’ अनि अनिकाल र महामारी हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:३, ७; लूका २१:१०, ११) उहाँले आफ्ना चेलाहरूलाई यी कुराहरू अन्तको दिनको चिन्ह हुन्‌ भन्‍नुभयो। यसबारे थप कुरा बाइबलको प्रकाशको किताबमा बताइएको छ। उक्‍त किताबमा स्वर्गमा भएको लडाइँ र पृथ्वीको समस्याबीच सम्बन्ध छ भनेर बताइएको छ।—“पृथ्वी र स्वर्गमा लडाइँ” शीर्षकको पेटी हेर्नुहोस्‌।

बाइबलको यसै किताबमा चार घोडसवारबारे बताइएको छ। यीमध्ये तीन घोडसवारले येशूले भविष्यवाणी गर्नुभएका विपत्तिहरू अर्थात्‌ युद्ध, अनिकाल र महामारीलाई चित्रण गर्छ। (“के चार घोडसवार साँच्चै अघि लम्किरहेका छन्‌?” शीर्षकको पेटी हेर्नुहोस्‌) प्रथम विश्‍वयुद्ध कष्टमय समयको सुरुवात साबित भयो र ती कष्टहरूले उग्र रूप लिंदैछन्‌। यी सबै समस्याको जड सैतान भनिने एक दुष्ट स्वर्गदूत हो भनेर बाइबल बताउँछ। (१ यूहन्‍ना ५:१९) के त्यस जडलाई उखेलिनेछ?

सैतानको “समय थोरै मात्र बाँकी” छ भनेर प्रकाशको किताबमा बताइएको छ। (प्रकाश १२:१२) त्यसैले त्यो असाध्यै रिसाएको छ र त्यसले पृथ्वीमा थुप्रै समस्या ल्याएको छ। तर ती समस्याहरूले सैतानको समय थोरै मात्र बाँकी छ भन्‍ने कुराको प्रमाण दिन्छ।

दियाबलका कामहरू नष्ट गरिनेछ

प्रथम विश्‍वयुद्ध इतिहासमा एउटा निर्णायक घडी साबित भयो। यसपछि विश्‍वका सबै राष्ट्रहरू एकअर्काको विरुद्धमा उत्रिए। क्रान्तिको आगो सल्कियो अनि मानव नेताहरूले जनताको भरोसा गुमाए। यो, सैतान स्वर्गबाट फालिएको कुराको बलियो प्रमाण पनि हो। (प्रकाश १२:९) संसारको यो अदृश्‍य शासक क्रूर ताना शाही जस्तै छ। आफ्नो शासन गर्ने समय थोरै छ भनेर त्यसलाई थाह छ। त्यसको समय सिद्धिएपछि प्रथम विश्‍वयुद्धको कारण सुरु भएका सबै समस्याको नामोनिसान रहनेछैन।

यी बाइबल भविष्यवाणीलाई विचार गर्दा स्वर्गमा हुनुहुने हाम्रो राजा येशू ख्रीष्टले चाँडै नै “दियाबलका कामहरू नष्ट” गर्नुहुनेछ भनेर तपाईं विश्‍वस्त हुन सक्नुहुन्छ। (१ यूहन्‍ना ३:८) लाखौं मानिसहरू परमेश्‍वरको राज्य आओस्‌ भनेर प्रार्थना गर्छन्‌। तपाईं नि? त्यस राज्यले गर्दा नै वफादार मानिसहरूले सैतानको होइन तर परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा भएको देख्नेछन्‌। (मत्ती ६:९, १०) परमेश्‍वरको राज्यमा विश्‍वयुद्ध त के, कुनै युद्ध नै हुनेछैन! (भजन ४६:९) त्यस राज्यबारे सिक्नुहोस्‌। त्यसो गर्नुभयो भने शान्तिले भरिभराउ भएको पृथ्वीमा बाँच्न पाउनुहुनेछ!—यशैया ९:६, ७.

पृथ्वी र स्वर्गमा लडाइँ

प्रथम विश्‍वयुद्ध सुरु हुनुभन्दा झन्डै १,९०० वर्षअघि सैतानले येशूलाई “संसारका सबै राज्य” दिन्छु भन्यो। (मत्ती ४:८, ९) येशू प्रलोभनमा पर्नुभएन। तर पछि उहाँले दियाबललाई “यस संसारको शासक” भन्‍नुभयो। (यूहन्‍ना १४:३०) यसका साथै, येशूको एक चेला यूहन्‍नाले “सारा संसार त्यस दुष्टको हातमा परेको छ” भनेर लेखे।—१ यूहन्‍ना ५:१९.

सैतानले यस संसारमा त्यो हदसम्म शक्‍ति जमाएकोले प्रथम विश्‍वयुद्ध अनि त्यसपछि भएका घटनामा त्यसको हात छ भनेर मानिलिनु के जायज छैन र? त्यसैले त सन्‌ १९१४ देखि यता पृथ्वीमा भएका समस्याहरूको लागि सैतान जिम्मेवार छ भनेर प्रकाशको किताब बताउँछ। प्रकाश अध्याय १२ मा बताइएको घटनाका केही जानकारी तल दिइएको छ:

  • पद ७ माइकल (येशू ख्रीष्ट) र अजिङ्‌गरबीच (सैतान) स्वर्गमा लडाइँ भयो।

  • पद ९ “सारा संसारलाई ठग्ने” दियाबललाई तल पृथ्वीमा फालियो।

  • पद १२ “पृथ्वी र समुद्रलाई भने धिक्कार छ, किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी भएकोले त्यो असाध्यै रिसाएको छ।”

सन्‌ १९१४ मा स्वर्गमा परमेश्‍वरको राज्य स्थापना भएपछि यो लडाइँ भयो भनेर बाइबलका घटनाहरूको कालक्रम र विश्‍व घटनाहरूबाट प्रस्ट हुन्छ।a त्यसैले यो महत्त्वपूर्ण वर्षमा नै पृथ्वी र स्वर्गमा लडाइँ भएको थियो।

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्‌।

के चार घोडसवार साँच्चै अघि लम्किरहेका छन्‌?

सेतो घोडामा सवार स्वर्गका राजा

सेतो घोडामा सवार भएको व्यक्‍ति स्वर्गमा हुनुहुने राजा हुनुहुन्छ। राजा येशू ख्रीष्ट परमेश्‍वरको स्तरबमोजिमको असल कामको निम्ति त्यस घोडामा सवार हुनुहुन्छ। (भजन ४५:४) उहाँको पहिलो काम भनेको सैतान र त्यसका स्वर्गदूतहरूलाई स्वर्गबाट निकाल्नु हो।—प्रकाश ६:२; १२:९.

चहकिलो रातो रङ्‌गको घोडा र युद्ध गरिरहेका सिपाहीहरू

चहकिलो रातो रङ्‌गको घोडामा सवार हुनेसँग पृथ्वीबाट “शान्ति हरण गर्ने” अख्तियार छ। (प्रकाश ६:४) सन्‌ १९१४ देखि यता मानिसजातिले एकपछि अर्को युद्ध खप्नुपरेको छ। प्रथम विश्‍वयुद्ध अन्त भएको २१ वर्ष नबित्दै दोस्रो विश्‍वयुद्ध सुरु भयो। यस युद्धमा झन्‌ धेरै मान्छे मारिए। एउटा रिपोर्टअनुसार दोस्रो विश्‍वयुद्धमा लगभग छ करोड मानिसको ज्यान गयो। सन्‌ १९४५ देखि यता भएका युद्धहरूमा दुइटा विश्‍वयुद्धमा जस्तो संसारका सबै राष्ट्र मुछिएका छैनन्‌। तर ती अत्यन्त रक्‍तपातपूर्ण भएका छन्‌। केही इतिहासकारका अनुसार बीसौं शताब्दीमा भएका युद्धहरूमा दस करोडभन्दा धेरै मानिसले ज्यान गुमाए।

कालो घोडा र अनिकालमा परेका बच्चाहरू

कालो घोडामा सवार हुनेको हातमा एउटा तराजु छ। यसले अनिकालको चित्रण गर्छ। (प्रकाश ६:५, ६) प्रथम विश्‍वयुद्धको दौडान गठबन्धन गाँसेका राष्ट्रहरूले जर्मनीमा नाकाबन्दी लगाउँदा त्यहाँ भोकमरी पऱ्‍यो। यसले गर्दा ७,५०,००० मानिसहरूले ज्यान गुमाए। सन्‌ १९२१ मा अनिकालको कारण २० लाख रूसीहरूको ज्यान गयो। यस्तै समस्या अरू ठाउँमा पनि चाँडै देखा पऱ्‍यो। बीसौं शताब्दीमा अनिकालले गर्दा लगभग सात करोड मानिसले ज्यान गुमाए। प्रत्येक वर्ष कुपोषणको कारण पाँच वर्षमुनिका तीस लाख बाल-बालिकाको ज्यान जान्छ।

रङ्‌ग फुङ्‌ग उडेको पहेंलो घोडा र बिरामीहरू

रङ्‌ग फुङ्‌ग उडेको एउटा पहेंलो घोडामा सवार हुनेसँग घातक महामारी ल्याउने अख्तियार छ। (प्रकाश ६:८) बीसौं शताब्दीमा भएको सबैभन्दा ठूलो महामारी स्पेनिस फ्लू थियो। यसको कारण कति जना मानिसको ज्यान गयो भन्‍ने तथ्याङ्‌क फरक-फरक भए तापनि एउटा अनुमानअनुसार यसले पाँच करोड मानिसको ज्यान लियो। मानिस र जीवाणु (अङ्‌ग्रेजी) किताब यसो भन्छ, “यो महामारी इतिहासकै सबैभन्दा विनाशकारी विपत्ति थियो।” त्यसभन्दा अघि भएका डरलाग्दा महामारीले पनि यत्ति छिटो यति धेरै मानिसलाई मारेको थिएन। बीसौं शताब्दीको दौडान बिफर, औलो, क्षयरोगजस्ता सरुवा रोगहरूले करोडौं मानिसको ज्यान लियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने