प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ४/१५ पृ. २२-२६
  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको मदतगार हुनुहुन्छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी हुनुहोस्‌—यहोवा तपाईंको मदतगार हुनुहुन्छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक सम्बन्ध र आध्यात्मिकता राम्रो बनाउनुहोस्‌
  • जिम्मेवारी स्वीकार्नुहोस्‌
  • ‘परिवारको हेरविचार गर्नुहोस्‌’
  • आफन्तहरूको दबाब
  • परमेश्‍वरमा भरोसा राख्नुहोस्‌
  • यहोवा तपाईंको मदतगार हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌
  • आमाबाबुहरू हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवा हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ४/१५ पृ. २२-२६
सन्ध्या र सुगम एयरपोर्टमा अङ्‌गालो हाल्दै र छोरा रितेश उनीहरूलाई हेर्दै

साहसी हुनुहोस्‌ यहोवा तपाईंको मदतगार हुनुहुन्छ!

“हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौं: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ।’”—हिब्रू १३:६.

तपाईंको विचार कस्तो छ?

  • आमाबुबाले परिवारलाई यहोवासित नजिक हुन कसरी मदत गर्न सक्छन्‌?

  • परिवारको शिरले परिवारबाट टाढा नभइकनै उनीहरूको दैनिक आवश्‍यकता कसरी पूरा गर्न सक्छन्‌?

  • आफन्तहरूले पैसा कमाउन विदेश जाने दबाब दिंदा के गर्न सकिन्छ?

१, २. विदेशमा काम गरेकाहरूले घर फर्केपछि कस्तो चुनौतीको सामना गर्नुपर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

सुमित यसो भन्छन्‌: “विदेशमा राम्रो जागिर खाइरहेको थिएँ अनि पैसा पनि टन्‍नै कमाइरहेको थिएँ।a तर यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि परिवारलाई आध्यात्मिक मदत पनि दिनुपर्छ र उनीहरूसँगै बस्नुपर्छ भनेर बुझें। त्यसैले घर फर्कें।”—एफि. ६:४.

२ परिवारसँगै बस्दा यहोवा खुसी हुनुहुन्छ भनेर सुमितले थाह पाए। तर अघिल्लो लेखमा उल्लेख गरिएको सन्ध्याले जस्तै सुमितले पनि परिवारसितको सम्बन्ध राम्रो बनाउन निकै प्रयास गर्नुपर्ने थियो। थोरै पैसाले परिवारको गुजारा टार्नुपर्ने चुनौती पनि थियो। तिनले त्यस चुनौतीको सामना कसरी गर्नेथिए? तिनले मण्डलीका भाइबहिनीबाट कस्तो मदतको आशा गर्न सक्थे?

पारिवारिक सम्बन्ध र आध्यात्मिकता राम्रो बनाउनुहोस्‌

३. आमाबुबा घरमा नहुँदा छोराछोरीमा कस्तो असर पर्छ?

३ सुमित यसो भन्छन्‌: “छोरीहरूलाई मेरो डोऱ्‍याइ अनि मायाको सबैभन्दा बढी खाँचो पर्ने समयमा उनीहरूलाई बेवास्ता गरें। उनीहरूलाई बाइबलको कथा सुनाउन, अङ्‌गालो हाल्न, उनीहरूसित प्रार्थना गर्न र सँगै खेल्न म उनीहरूको साथमा थिइनँ।” (व्यव. ६:७) तिनकी जेठी छोरी अनुष्का यसो भन्छिन्‌: “बुबा घरमा नहुँदा मनमा एक किसिमको डर भइरहन्थ्यो। बुबा फर्कनुभएपछि हामी उहाँलाई अनुहार र आवाजले मात्र चिन्थ्यौं। उहाँले अङ्‌गालो हाल्दा मलाई अप्ठेरो लाग्थ्यो।”

४. लामो समय विदेशमा बसेका बुबालाई शिरको भूमिका पूरा गर्न किन गाह्रो हुन्छ?

४ बुबा जति लामो समय परिवारबाट टाढा बस्छन्‌, शिरको भूमिका पूरा गर्न तिनलाई त्यति नै गाह्रो हुन्छ। सुमितकी श्रीमती रीना यसो भन्छिन्‌: “मैले आमा र बुबा दुवैको भूमिका पूरा गर्नुपर्थ्यो। परिवारमा धेरैजसो निर्णय म आफै गर्थें। सुमित फर्कनुभएपछि उहाँको अधीनमा बस्न सिक्नुपऱ्‍यो। उहाँ घरमै हुनुहुन्छ भनेर अहिले पनि बेला-बेलामा आफैलाई सम्झाउनुपर्छ।” (एफि. ५:२२, २३) सुमित पनि यसो भन्छन्‌: “छोरीहरूलाई पनि कुनै काम गर्नुअघि आमालाई सोध्ने बानी परिसकेको थियो। परिवारमा नेतृत्व लिन मैले सिक्नुपऱ्‍यो।” आमाबुबाले एकअर्कासित सल्लाह गरेर मात्र निर्णय गर्छन्‌ भनेर छोरीहरूले देखेको सुमित र रीना चाहन्थे।

५. परिवारसितको सम्बन्ध राम्रो बनाउन सुमितले कस्तो प्रयास गरे? परिणाम कस्तो भयो?

५ परिवारसितको सम्बन्ध राम्रो बनाउन र परिवारलाई यहोवासित नजिक हुन मदत गर्न सुमितले सक्दो गरे। सुमित भन्छन्‌: “म आफ्नो बोली र कामद्वारा छोरीहरूलाई सत्य सिकाउन चाहन्थें। यहोवालाई प्रेम गर्छु भन्‍ने मात्र होइन, कामद्वारा त्यो प्रेम देखाउन चाहन्थें।” (१ यूह. ३:१८) सुमितको प्रयासमा के यहोवाले आशिष्‌ दिनुभयो? अनुष्का भन्छिन्‌: “असल बुबा बन्‍न र हामीसित फेरि नजिक हुन उहाँले गर्नुभएको सबै प्रयास देख्दा हामीमा ठूलो असर पऱ्‍यो। उहाँ मण्डलीमा अघि बढिरहेको देख्दा हामीलाई धेरै खुसी लाग्यो। संसारले हामीलाई यहोवाबाट तर्काउन खोजिरहेको थियो। तर आमाबुबा सत्यमा अडिग रहेको देख्दा हामीले पनि त्यसै गर्ने प्रयास गऱ्‍यौं। बुबाले हामीलाई कहिल्यै छोडेर नजाने वचन दिनुभयो र उहाँले आफ्नो वचन पूरा पनि गर्नुभयो। बुबाले हामीलाई फेरि छोडेर जानुभएको भए सायद अहिले म यहोवाको सङ्‌गठनमा हुन्‍नथें।”

जिम्मेवारी स्वीकार्नुहोस्‌

६. युद्धको समयमा केही आमाबुबाले कस्तो पाठ सिके?

६ बाल्कन क्षेत्रमा युद्ध भइरहेको बेला अवस्था एकदमै नराम्रो थियो। तैपनि यहोवाका साक्षीहरूका छोराछोरीचाहिं खुसी देखिन्थे। किन? त्यतिबेला आमाबुबाहरू काममा जान सक्दैनथे। त्यसैले दिनभर छोराछोरीसँगै हुन्थे। उनीहरू छोराछोरीसँगै पढ्‌थे, खेल्थे अनि कुराकानी गर्थे। सिक्नुपर्ने पाठ के हो? छोराछोरीलाई पैसा र उपहारभन्दा पनि आमाबुबा चाहिन्छ। बाइबलले बताएअनुसार आमाबुबाले समय र तालिम दिंदा छोराछोरीले लाभ उठाउन सक्छन्‌।—हितो. २२:६.

७, ८. (क) विदेशबाट फर्केका केही आमाबुबाले कस्तो गल्ती गर्छन्‌? (ख) आमाबुबाले छोराछोरीसितको सम्बन्ध कसरी राम्रो बनाउन सक्छन्‌?

७ विदेशबाट फर्केपछि केही आमाबुबा परिवारको अवस्था देखेर छक्क पर्छन्‌। छोराछोरीले तिनीहरू घर फर्के पनि आफूलाई कुनै मतलबै नभएको वा तिनीहरूमाथि भरोसा नै नभएको जस्तो व्यवहार गर्न सक्छन्‌। घर फर्केका आमा वा बुबाले रिसको झोकमा यसो भन्‍न सक्छन्‌: “आमाबुबाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्‌गा-मुढामाथि भनेको यै हो! मैले तिमीहरूको लागि कत्ति धेरै त्याग गरें! तिमीहरूले चाहिं यस्तो व्यवहार गर्ने!” वास्तवमा आमा वा बुबाले छोडेर गएकोले नै छोराछोरीलाई चोट पुगेको हो। समस्या सुल्झाउन तिनले के गर्न सक्छन्‌?

८ परिवारका सदस्यहरूलाई अझै राम्ररी बुझ्न सकूँ भनेर यहोवालाई बिन्ती गर्नुहोस्‌। अनि परिवारसित कुराकानी गर्दा, दोष आफ्नो पनि हो भनेर स्वीकार्नुहोस्‌। मनैदेखि क्षमा माग्दा समस्या समाधान हुन सक्छ। परिवारले तपाईंको प्रयास देख्दा तपाईंमा कुनै कपट छैन भनेर बुझ्नेछन्‌। दृढ हुनुभयो र धैर्य गर्नुभयो भने परिवारले तपाईंलाई माया र आदर गर्न थाल्नेछन्‌।

‘परिवारको हेरविचार गर्नुहोस्‌’

९. ‘परिवारको हेरविचार गर्न’ पैसा कमाउनमै दौडधूप गर्नु किन आवश्‍यक छैन?

९ वृद्ध ख्रीष्टियनहरू आफ्नो भौतिक आवश्‍यकता पूरा गर्न नसक्ने अवस्थामा पुग्दा छोराछोरी तथा नातिनातिनाले आफ्ना ‘आमाबाबु र बाजेबज्यैलाई उनीहरूले देखाएको उपकारको साटो तिर्नुपर्छ’ भनेर प्रेषित पावलले लेखे। खान, लाउन र बस्न पाएपछि त्यसैमा सन्तुष्ट हुन पनि तिनले आग्रह गरे। जीवनस्तर उकास्न वा भविष्यको लागि पैसा जम्मा गर्न दौडधूप गर्नुहुँदैन। (१ तिमोथी ५:४, ८; ६:६-१० पढ्‌नुहोस्‌) ‘परिवारको हेरविचार गर्न’ बितेर जानै लागेको यस संसारमा धनी हुनै पर्छ भन्‍ने छैन। (१ यूह. २:१५-१७) पैसा भयो भने सबै समस्या हल हुन्छ भनेर सोच्नुहुँदैन। “यस संसारको फिक्री”-ले गर्दा नयाँ संसारमा पाइने ‘साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न’ छोड्‌नुहुँदैन।—मर्कू. ४:१९; लूका २१:३४-३६; १ तिमो. ६:१९.

१०. ऋण नलिनु किन बुद्धिमानी हो?

१० हामीलाई पैसा चाहिन्छ भनेर यहोवालाई थाह छ। तर यहोवाबाट आउने बुद्धिले दिन सक्ने मदत र सुरक्षा पैसाले दिन सक्दैन। (उप. ७:१२, NRV; लूका १२:१५) थुप्रै मानिसले विदेश जान कति खर्च लाग्छ भनेर सोचेकै हुँदैनन्‌ अनि विदेश छिरेपछि पैसा कमाइन्छ भन्‍ने ग्यारेन्टी पनि छैन। यस्तो निर्णय गर्नु खतरनाक हुन्छ। विदेश जाने थुप्रै मानिस ऋणको भारी बोकेर फर्कन्छन्‌। स्वतन्त्र भएर यहोवाको सेवा गर्नुको साटो तिनीहरूले ऋण दिने व्यक्‍तिको सेवा गर्नुपर्ने हुन्छ। (हितोपदेश २२:७, NRV पढ्‌नुहोस्‌) त्यसकारण ऋण नलिनु नै बुद्धिमानी हो!

११. बजेट बनाउँदा परिवारलाई कस्तो मदत पुग्छ?

११ परिवारको राम्ररी हेरविचार गर्न पैसाको मामिलामा व्यावहारिक हुनुपर्छ भनेर सुमितले बुझे। तिनी र तिनकी श्रीमतीले परिवारलाई साँच्चै चाहिने कुराहरूको आधारमा बजेट बनाए। बजेटअनुसार चल्न तिनीहरूले पहिलेजति किनमेल गर्न पाउँदैनथे। तर परिवारका सदस्यहरू बजेटअनुसार चल्न राजी भए अनि अनावश्‍यक कुराहरूमा पैसा खेर फालेनन्‌।b सुमित भन्छन्‌: “मैले छोरीहरूलाई बोर्डिङ स्कूलबाट निकालेर राम्रो सरकारी स्कूलमा हालें।” आध्यात्मिक तालिकामा असर नगर्ने किसिमको जागिर मिलोस्‌ भनेर तिनी र तिनको परिवारले प्रार्थना गरे। यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ कसरी दिनुभयो?

१२, १३. परिवारको हेरविचार गर्न सुमितले के गरे? जीवन सरल बनाउने तिनको निर्णयमा यहोवाले कसरी आशिष्‌ दिनुभयो?

१२ सुमित भन्छन्‌: “दुई वर्षसम्म त परिवारको पालनपोषण गर्न धौधौ पऱ्‍यो। जोगाएर राखेको पैसा चलाउनुपऱ्‍यो। शारीरिक रूपमा पनि थकित भएँ। तर हाम्रो कुनै पनि सभा छुटेन र प्रचारमा पनि सँगै जान सक्यौं।” तिनले परिवारबाट टाढा बनाउने किसिमको जागिरबारे सोच्दा पनि नसोच्ने निर्णय गरे। तिनी यसो भन्छन्‌: “एउटा काम नहुँदा अर्को काम गर्न सकियोस्‌ भनेर मैले विभिन्‍न काम सिकें।”

परिवारको पालनपोषण गर्न सन्ध्याको परिवार सडक छेउमा खानेकुरा बेच्दै

परिवारको पालनपोषण गर्न विभिन्‍न किसिमको काम सिक्न सक्नुहुन्छ कि? (अनुच्छेद १२ हेर्नुहोस्‌)

१३ ऋण चुक्‍ता गर्न धेरै समय लागेकोले सुमितले ब्याज पनि धेरै तिर्नुपर्ने भयो। तर परिवारसँगै यहोवाको सेवा गर्नको लागि तिनी त्यसो गर्न तयार भए। तिनी भन्छन्‌: “विदेशमा जति कमाउँथें, अहिले त्यसको १० प्रतिशत पनि कमाउँदिन। तर भोकभोकै बस्नुपरेको छैन। ‘यहोवाको हात शक्‍तिहीन भएको छैन।’ बरु हामीले अग्रगामी सेवा गर्ने निर्णय गऱ्‍यौं। त्यसको केही समयमै हाम्रो आर्थिक अवस्था सुध्रियो र परिवारको हेरविचार गर्न पनि धेरै सजिलो भयो।”—यशै. ५९:१.

आफन्तहरूको दबाब

१४, १५. आध्यात्मिक कुरालाई भन्दा भौतिक कुरालाई पहिलो स्थान दिने दबाब आउँदा परिवारले के गर्न सक्छ? परिवारले राम्रो उदाहरण बसाल्दा परिणाम कस्तो हुन्छ?

१४ थुप्रै ठाउँका मानिसहरू आफन्त र साथीभाइलाई पैसा अनि उपहार दिनै पर्छ भन्‍ने सोच्छन्‌। सुमित यसो भन्छन्‌: “यो त हाम्रो चलन नै हो, अरूलाई दिन पाउँदा हामीलाई खुसी लाग्छ। तर यसको पनि सीमा छ। आफूले सकेजति दिने तर परिवारको आध्यात्मिक आवश्‍यकता र तालिकालाई भने खतरामा पार्न नसक्ने कुरा आफन्तहरूलाई बताउँछु।”

१५ विदेश नगई परिवारसँगै बस्न चाहने वा विदेशबाट घर फर्कन चाहने व्यक्‍तिहरूसित केही आफन्त रिसाउन सक्छन्‌। केहीले त तिनीहरूलाई निर्दयी वा स्वार्थीसमेत भन्‍न सक्छन्‌। किन? किनकि उनीहरू तिनीहरूबाट पैसा पाउने आस गर्छन्‌। (हितो. १९:६, ७) सुमितकी छोरी अनुष्का यसो भन्छिन्‌: “हामीले भौतिक कुरालाई भन्दा आध्यात्मिक कुरालाई पहिलो स्थान दिएको देख्दा आफन्तहरूले ख्रीष्टियनको रूपमा हामीले गर्ने सेवा कत्ति महत्त्वपूर्ण छ भनेर थाह पाउन सक्छन्‌। तर उनीहरूको चाहना पूरा गर्नमै लग्गू भयौं भने त उनीहरूले यो कुरा कसरी बुझ्न सक्छन्‌ र?”—१ पत्रुस ३:१, २ तुलना गर्नुहोस्‌।

परमेश्‍वरमा भरोसा राख्नुहोस्‌

१६. (क) कसै-कसैले कस्तो गलत सोचाइ राख्छन्‌? (याकू. १:२२) (ख) कस्तो निर्णय गर्दा यहोवा हामीलाई आशिष्‌ दिनुहुन्छ?

१६ परिवार छोडेर विदेशमा काम गर्न आएकी एक बहिनीले एल्डरहरूलाई यसो भनिन्‌: “मेरो परिवारले ठूलो त्याग गरेकोले अहिले म यहाँ छु। मेरो श्रीमान्‌ले एल्डरको जिम्मेवारीसमेत गुमाउनुपऱ्‍यो। त्यसैले यहोवाले पक्कै हाम्रो निर्णयमा आशिष्‌ दिनुहुनेछ।” यहोवामा भरोसा राख्छौं र उहाँको इच्छासित मेल खाने निर्णय गर्छौं भने उहाँले पक्कै आशिष्‌ दिनुहुन्छ। तर उहाँको इच्छासित मेल नखाने निर्णय गर्छौं भने आशिष्‌ दिनुहुन्‍न। अनि आफूले पाएको सुअवसरलाई उचित कारणविनै लत्याउँछौं भने यहोवा हामीसित खुसी हुनुहुन्‍न।—हिब्रू ११:६; १ यूहन्‍ना ५:१३-१५ पढ्‌नुहोस्‌।

१७. हामीले किन निर्णय गर्नुअघि नै यहोवाको डोऱ्‍याइ माग्नुपर्छ? हामी कसरी त्यसो गर्न सक्छौं?

१७ निर्णय गर्नुअघि नै यहोवाको डोऱ्‍याइ माग्नुहोस्‌। यसो गर्नुभयो भने पछि पछुताउनुपर्ने छैन। यहोवाको पवित्र शक्‍ति, बुद्धि र डोऱ्‍याइको लागि प्रार्थना गर्नुहोस्‌। (२ तिमो. १:७) आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यहोवाको सेवा गर्न म कुन हदसम्म त्याग गर्न तयार छु? आरामदायी जीवन बिताउन नसके तापनि परिवारसँगै बस्नेबारे यहोवाले दिनुभएको निर्देशन पालन गर्न के म तयार छु?’ (लूका १४:३३) एल्डरहरूसित बाइबलआधारित सल्लाह माग्नुहोस्‌ र उनीहरूले दिएको सल्लाहअनुसार चल्नुहोस्‌। यसो गर्नुभयो भने मदत गर्छु भनेर यहोवाले गर्नुभएको प्रतिज्ञामा भरोसा गरेको कुरा देखाइरहनुभएको हुनेछ। एल्डरहरूले तपाईंको लागि निर्णय गरिदिंदैनन्‌। तर तपाईं सधैंभरि आनन्दित हुन सकोस्‌ भनेर सही छनौट गर्न भने मदत दिन सक्छन्‌।—२ कोरि. १:२४.

१८. परिवारको पालनपोषण गर्ने जिम्मेवारी कसको हो? हामी कसरी उनीहरूलाई मदत गर्न सक्छौं?

१८ परिवारको शिरले परिवारको पालनपोषण गरेको यहोवा चाहनुहुन्छ। दबाब र प्रलोभन आइपर्दासमेत परिवारबाट टाढा नभइकनै शिरको जिम्मेवारी पूरा गर्ने भाइहरूको प्रशंसा गर्नुपर्छ र उनीहरूको लागि प्रार्थना गर्नुपर्छ। ती वफादार भाइहरू प्रकोपमा पर्दा वा उनीहरूलाई आपत्‌कालीन उपचारको खाँचो पर्दा साँचो ख्रीष्टियन प्रेम देखाउने मौका पनि पाउँछौं। (गला. ६:२, ५; १ पत्रु. ३:८) उनीहरू आपत्‌कालीन अवस्थामा पर्दा भौतिक सहयोग गर्न सक्नुहुन्छ कि? अथवा उनीहरूलाई कुनै काम मिलाइदिन सक्नुहुन्छ कि? यसरी मदत गर्दा उनीहरू काम खोज्न परिवार छोडेर जानुपर्ने छैन। —हितो. ३:२७, २८; १ यूह. ३:१७.

यहोवा तपाईंको मदतगार हुनुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌

१९, २०. यहोवाले मदत गर्नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौं?

१९ बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्‍त होस्‌, बरु अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ। किनकि [परमेश्‍वरले] यसो भन्‍नुभएको छ: ‘म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।’ यसप्रकार हामी असाध्यै साहसी भएर यसो भन्‍न सकौं: ‘यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र?’” (हिब्रू १३:५, ६) यो सल्लाह कसरी लागू गर्न सक्छौं?

२० गरिब मुलुकका एक एल्डर यसो भन्छन्‌: “मानिसहरू यहोवाका साक्षीहरू खुसी छन्‌ भन्‍ने गर्छन्‌। गरिब साक्षीहरूले समेत सधैं चिटिक्क परेको लुगा लगाएको र उनीहरू अरूभन्दा राम्रो देखिएको तिनीहरू याद गर्छन्‌।” परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिनेहरूसित येशूले यस्तै प्रतिज्ञा गर्नुभएको थियो। (मत्ती ६:२८-३०, ३३) स्वर्गमा बस्नुहुने बुबा तपाईंलाई माया गर्नुहुन्छ र तपाईं अनि तपाईंको छोराछोरीले सुख पाएको चाहनुहुन्छ। “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ।” (२ इति. १६:९) परमेश्‍वरले पारिवारिक जीवनबारे र दैनिक आवश्‍यकता पूरा गर्नेबारे सल्लाह दिनुभएको छ। ती सल्लाहअनुसार चलेर उहाँलाई माया गरेको र उहाँमा भरोसा राखेको देखाउन सक्छौं। “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।”—१ यूह. ५:३.

२१, २२. यहोवामा भरोसा राख्न तपाईं किन दृढ हुनुहुन्छ?

२१ सुमित भन्छन्‌: “श्रीमती र छोरीहरूबाट टाढा बसेकोमा पछुतो त लाग्छ। तर त्यो समयलाई फर्काउन सकिंदैन भनेर पनि थाह छ। मसँगै काम गरेका साथीहरूसित अहिले प्रशस्त पैसा छ तर उनीहरू खुसी भने छैनन्‌। उनीहरूको परिवारमा विभिन्‍न समस्या छ। तर हामी भने एकदमै खुसी छौं! हाम्रो देशका थुप्रै भाइबहिनीले गरिब भए तापनि परमेश्‍वरको सेवालाई पहिलो स्थान दिइरहेका छन्‌। यो देख्दा एकदमै प्रभावित हुन्छु। हामीले येशूले गर्नुभएको प्रतिज्ञा पूरा भएको अनुभव गरिरहेका छौं।”—मत्ती ६:३३ पढ्‌नुहोस्‌।

२२ साहसी हुनुहोस्‌! यहोवाको आज्ञा मान्‍नुहोस्‌ र उहाँमा भरोसा राख्नुहोस्‌। परमेश्‍वर, श्रीमती र छोराछोरीलाई माया गर्नुभयो भने तपाईं परिवारको असल शिर बन्‍न सक्नुहुनेछ। अनि ‘यहोवा तपाईंको मदतगार हुनुहुन्छ’ भन्‍ने कुरा अनुभव गर्नुहुनेछ।

a नामहरू परिवर्तन गरिएका छन्‌।

b अक्टोबर—डिसेम्बर २०१२ को प्रहरीधरहरा-मा “आयस्रोत पहिलेभन्दा कम हुँदा कसरी गर्जो टार्न सकिन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने