प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ३ पृ. १०-११
  • म बेसबलविना बाँच्नै सक्दिनथें!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • म बेसबलविना बाँच्नै सक्दिनथें!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • जूवाको पासोबाट जोगिनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००२
  • के मैले खेलकुद टोलीमा भाग लिनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • अहिलेसम्म यहोवाद्वारा सम्हालिएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
    प्रहरीधरहरा: बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ३ पृ. १०-११
मण्डलीका जवानहरूसँगै स्यामुएल ह्‍यामिल्टन

मलाई मण्डलीका जवानहरूसँग समय बिताउन मन पर्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

म बेसबलविना बाँच्नै सक्दिनथें!

स्यामुएल ह्‍यामिल्टनको वृतान्तमा आधारित

  • जन्म मिति: सन्‌ १९२८

  • जन्म स्थान: कोस्टा रिका

  • विगतमा: व्यावसायिक खेल र जुवामा लग्गू

बेसबल युनिफर्म लगाएका जवान स्यामुएल ह्‍यामिल्टन

मेरो विगत

म कोस्टा रिकाको पूर्वीय तटमा पर्ने बन्दरगाह सहर, पोर्टो लिमनमा हुर्किएँ। आठ सन्तानमध्ये म सातौं थिएँ। म आठ वर्षको छँदा मेरो बुबा बित्नुभयो। त्यसपछि आमा एक्लैले हामीलाई हुर्काउनुभयो।

बेसबल मेरो जीवनको अभिन्‍न भाग थियो। सानो छँदादेखि नै मलाई यो खेल मन पर्थ्यो। किशोर छँदा मैले सोखको लागि मात्र खेल्ने एउटा लिग टिममा भाग लिएँ। बीस वर्ष हुँदातिरको कुरा हो, खेल हेर्न आएका एक व्यक्‍तिले मलाई निकारागुआको व्यावसायिक टिममा खेल्न निम्तो दिए। तर त्यतिबेला मेरी आमा बिरामी हुनुहुन्थ्यो र उहाँको हेरचाह गर्नुपर्ने भएकोले म निकारागुआ जान चाहन्‍नथें। त्यसैले मैले त्यो प्रस्ताव अस्वीकार गरें। पछि अर्को एक व्यक्‍तिले मलाई कोस्टा रिकाको राष्ट्रिय बेसबल टिममा खेल्न निम्तो दिए। यो टिममा सोखको लागि खेल्ने लिगका केही खेलाडीहरूलाई समावेश गरिएको थियो। यसपालि भने मैले प्रस्ताव स्वीकारें। म सन्‌ १९४९-१९५२ सम्म राष्ट्रिय टिममा थिएँ। अनि मैले क्युबा, मेक्सिको र निकारागुआमा दर्जनौं खेल खेलें। बेसबल खेल्दा बेसम्यानको रूपमा राम्रोसँग खेल्दै थिएँ। यहाँसम्म कि १७ वटा खेल त कुनै गल्ती नगरी खेलेको थिएँ। खेल खेलिरहेको बेला मानिसहरूले मेरो नामको जयजयकार गाउँदा एकदमै खुसी लाग्थ्यो।

तर दुःखको कुरा, म अनैतिक जीवन बिताउँदै थिएँ। हुन त मेरी प्रेमिका एउटी मात्र थिइन्‌ तर म अरू केटीहरूसँग पनि लागेको थिएँ। म अचाक्ली रक्सी पिउँथें। एकचोटि त यति धेरै पिएँ, भोलिपल्ट होस खुल्दा म कसरी घर फर्कें केही याद थिएन। म जुवा पनि खेल्थें।

मैले यसरी नै जीवन बिताइरहेको बेला मेरी आमा यहोवाको साक्षी हुनुभयो। मैले पनि उहाँको धर्म अङ्‌गालोस्‌ भनेर उहाँले निकै कोसिस गर्नुभयो तर सुरुमा सफल हुनुभएन। त्यतिबेला म खेलको संसारमै डुबिरहेको थिएँ। प्रशिक्षणको दौडान खाना खाने समयमा समेत भोक लाग्दैनथ्यो। मेरो ध्यान खेलमै मात्र केन्द्रित थियो। म बेसबलविना बाँच्नै सक्दिनथें!

तर २९ वर्षको हुँदा खेलमा बल समात्ने क्रममा मलाई गम्भीर चोट लाग्यो। निको भएपछि मैले व्यावसायिक खेल छोडिदिएँ। तैपनि म बेसबलमा आबद्ध भइरहें। म सोखका लागि खेल्ने लिग टिमका खेलाडीहरूलाई प्रशिक्षण दिन्थें। त्यो टिम मेरो घरनजिकै थियो।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?

सन्‌ १९५७ मा यहोवाका साक्षीहरूले आयोजना गरेको अधिवेशनको निम्तो स्वीकारें। उक्‍त कार्यक्रम पहिला मैले बेसबल खेल्ने गरेको रङ्‌गशालामै हुन लागेको थियो। कार्यक्रमको दौडान मैले एउटा कुरा याद गरें। बेसबल हेर्न आएका दर्शकहरूको जङ्‌गली व्यवहार र यहोवाका साक्षीहरूले देखाएको आदरपूर्ण व्यवहारमा ठूलो भिन्‍नता थियो। अधिवेशनमा देखेको कुराले मन छोएकोले मैले साक्षीहरूसँग बाइबल अध्ययन सुरु गरें अनि उनीहरूको सभामा पनि उपस्थित हुन थालें।

मलाई बाइबलका शिक्षाहरू मन पर्थ्यो। उदाहरणका लागि, अन्तको दिनमा आफ्ना चेलाहरूले राज्यको सुसमाचार संसारभरि प्रचार गर्ने कुराबारे येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:१४) साँचो ख्रीष्टियनहरूले आर्थिक लाभको लागि प्रचार गर्दैनन्‌ भन्‍ने कुरा पनि बुझें। येशूले यसो भन्‍नुभएको थियो: “तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।”—मत्ती १०:८.

अध्ययन गर्दै जाँदा, बाइबलबाट मैले सिकेको कुरा र यहोवाका साक्षीहरूको व्यवहारबीच तुलना गरें। उनीहरूले राज्यको सुसमाचार सारा संसारभरि फैलाउन गरेको कडा मेहनत देखेर मनै छोयो। येशूले ख्रीष्टियनहरूलाई सिकाउनुभएजस्तै उनीहरूमा दिने मनोवृत्ति थियो। त्यसैले मर्कूस १०:२१ मा येशूले “आएर मेरो पछि लाग” भनेर दिनुभएको निम्तो पढ्‌दा मेरो मनमा पनि साक्षी बन्‍ने चाहना पलायो।

तर बाइबलको सल्लाह राम्ररी पालन गर्न मलाई अलि समय लाग्यो। उदाहरणको लागि, लामो समयसम्म हरेक हप्ता चिट्ठामा मेरो “भाग्यशाली” नम्बरमा बाजी लगाउँथें। तर “भाग्यदेव”-को उपासकहरू र लालचीहरूलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ भनेर बाइबलमा लेखिएको कुरा थाह पाएँ। (यशैया ६५:११; कलस्सी ३:५) त्यसैले जुवा खेल्न बन्द गर्ने निर्णय गरें। मैले खेल्न छोडेको पहिलो हप्तामै मेरो “भाग्यशाली” नम्बरमा चिट्ठा परेछ! त्यो हप्ता चिट्ठामा भाग नलिएकोले मानिसहरूले मलाई खुब गिज्याए अनि फेरि खेल्न दबाब दिए। तर मैले त्यसो गरिनँ। मैले फेरि कहिल्यै जुवामा भाग लिइनँ।

यहोवाका साक्षीहरूको अधिवेशनमा बप्तिस्मा गरेकै दिन मैले “नयाँ व्यक्‍तित्व” धारण गर्ने सन्दर्भमा अर्को चुनौती पनि सामना गर्नुपऱ्‍यो। (एफिसी ४:२४) त्यस साँझ म आफू बसेको होटेलमा फर्कंदै थिएँ, त्यहाँ मेरी पूर्व प्रेमिका ढोकाबाहिर मलाई कुरिरहेकी थिइन्‌। उनले मलाई “आऊ, हामी रमाइलो गरौं!” भनिन्‌। मैले “नाइँ” भनेर जवाफ दिएँ। आफूले बाइबलको नैतिक स्तरअनुरूप जीवन बिताइरहेको कुरा उनलाई सम्झाएँ। (१ कोरिन्थी ६:१८) उनले रिसाउँदै भनिन्‌, “के रे?” त्यसपछि अवैध यौनसम्बन्धबारे बाइबलको दृष्टिकोणलाई हल्कासँग लिंदै उनले फेरि सम्बन्ध अघि बढाउन कर गरिन्‌। तर म भने खुरुक्क आफ्नो कोठामा छिरें अनि ढोका बन्द गरेर बसें। सन्‌ १९५८ मा साक्षी भएदेखि यता आफ्नो जीवनशैलीमा थुप्रै परिवर्तन गर्न सकेकोमा म एकदमै खुसी छु।

स्यामुएल ह्‍यामिल्टन

मैले कसरी लाभ उठाएको छु?

बाइबलका निर्देशनहरू पालन गर्दा मैले पाएका फाइदाहरूबारे एउटा किताबै लेख्न सक्छु जस्तो लाग्छ! तीमध्ये केहीलाई विचार गर्ने हो भने अहिले मसँग असल साथीहरू छन्‌, मेरो जीवन अर्थपूर्ण भएको छ अनि मैले साँचो आनन्द पाएको छु।

हुन त बेसबल अहिले पनि मन पर्छ तर त्यसप्रतिको दृष्टिकोण भने परिवर्तन गरेको छु। बेसबल खेल्दा मैले नाम र दाम दुवै कमाएको थिएँ तर ती कुराहरू क्षणिक मात्र थिए। परमेश्‍वरसितको मेरो सम्बन्ध र मैले पाएको विश्‍वव्यापी भ्रातृत्व भने सधैंभरि रहिरहने कुरा हो। बाइबल भन्छ: “संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१७) अहिले म यहोवा परमेश्‍वर र उहाँका जनहरूलाई असाध्यै माया गर्छु। उहाँहरूविना म बाँच्नै सक्दिनँ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने