प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 मार्च पृ. १३-१७
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी सबैले निर्णय गर्नुपर्छ
  • अरूले हाम्रो लागि निर्णय गरिदिनु उचित हो?
  • भावनाको वशमा परेर निर्णय नगर्नुहोस्‌
  • कस्तो अवस्थामा आफ्नो निर्णय बदल्नुपर्ने हुन्छ?
  • निर्णयअनुसार कदम चाल्नुहोस्‌
  • परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सही निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 मार्च पृ. १३-१७
यहोवाले आगो वर्षाएर एलियाको होमबलि स्विकार्नुभयो

यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!

“रत्तीभर शङ्‌का नगरी विश्‍वाससहित मागिरहोस्‌।”—याकू. १:६.

गीत: ८१, ७०

हामीले के सिक्यौं?

  • आफ्नो निर्णय आफै गर्नु किन राम्रो हो?

  • हामीले किन अरूको लागि निर्णय गरिदिनु हुँदैन?

  • हामीले कहिलेकाहीं किन आफ्नो निर्णय बदल्नुपर्ने हुन सक्छ?

१. कयिनले गलत निर्णय गर्नुको कारण के थियो अनि त्यसको नतिजा के भयो?

कयिनले एउटा महत्त्वपूर्ण निर्णय गर्नुपरेको थियो: आफ्नो पापी झुकावलाई वशमा राख्ने कि त्यसको वशमा पर्ने। तिनको निर्णयले तिनको पूरै जीवनलाई असर गर्ने थियो। कयिनले कस्तो निर्णय गरे भनेर हामीलाई थाह छ; तिनले गलत निर्णय गरे। तिनको निर्णय अनि त्यसपछि तिनले चालेको कदमले गर्दा तिनको वफादार भाइ हाबिलको ज्यान गयो। साथै सृष्टिकर्तासित तिनको सम्बन्ध पनि बिग्रियो।—उत्प. ४:३-१६.

२. हामीले सही निर्णय गर्नु किन महत्त्वपूर्ण छ?

२ हामीले पनि जीवनमा विभिन्‍न छनौट अनि निर्णय गर्नुपर्ने हुन्छ। हुन त हामीले गर्ने हरेक निर्णयमा जीवन-मरणको सवाल उठ्‌दैन। तर धेरैजसो निर्णय अनि छनौटले हाम्रो जीवनमा गम्भीर असर पुऱ्‍याउन सक्छ। त्यसैले सही निर्णय गर्दा केही हदसम्म भए पनि हाम्रो जीवन सुखमय हुन सक्छ। अर्कोतर्फ, गलत निर्णय गर्दा हाम्रो जीवन तनाव, कलह अनि निराशाले भरिन सक्छ।—हितो. १४:८.

३. (क) बुद्धिमानी निर्णय गर्न हामीले कुन कुरामा विश्‍वास गर्नुपर्छ? (ख) हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौं?

३ बुद्धिमानी निर्णय गर्न हामीलाई केले मदत गर्छ? हामीले यहोवामाथि विश्‍वास गर्नै पर्छ। हामीले बुद्धिमानी निर्णय गरेको उहाँ चाहनुहुन्छ। त्यसैले उहाँ हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ र उहाँसित क्षमता पनि छ भनेर हामीले शङ्‌का गर्नु हुँदैन। साथै उहाँको वचनमा पाइने सल्लाह र उहाँको काम गर्ने तरिकामा पनि विश्‍वास गर्नुपर्छ। (याकूब १:५-८ पढ्‌नुहोस्‌) जब हामी उहाँसित नजिक हुँदै जान्छौं र उहाँको वचनप्रतिको प्रेम बढ्‌दै जान्छ, तब हामी उहाँको डोऱ्‍याइमा भर पर्न थाल्छौं। यसरी भर पर्न थाल्दा निर्णय गर्नुअघि परमेश्‍वरको वचनमा पाइने सल्लाह खोज्ने बानी पनि बस्दै जान्छ। तर हामी कसरी आफ्नो निर्णय गर्ने क्षमता बढाउन सक्छौं? के हामीले एक चोटि गरिसकेको निर्णय कहिल्यै बदल्नु हुँदैन?

हामी सबैले निर्णय गर्नुपर्छ

४. आदमले कस्तो निर्णय गर्नुपरेको थियो र त्यसको नतिजा के भयो?

४ मानव इतिहासको सुरुदेखि मानिसहरूले महत्त्वपूर्ण निर्णयहरू गर्दै आएका छन्‌। आदमले कसको कुरा सुन्‍ने भनेर निर्णय गर्नुपरेको थियो: सृष्टिकर्ताको कि हव्वाको। तिनले निर्णय त गरे तर कस्तो खालको निर्णय गरे? तिनले आफ्नी पत्नीको कुरा सुने र साह्रै नराम्रो निर्णय गरे। त्यो निर्णयले गर्दा तिनले प्रमोदवन गुमाउनुपऱ्‍यो र अन्ततः आफ्नै जीवन पनि। तर यत्तिकैमा कुरा सिद्धिएन। आदमको त्यो गलत निर्णयले गर्दा आज हामीले पनि दुःख भोगिरहेका छौं।

५. निर्णय गर्ने सन्दर्भमा हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?

५ कसै-कसैलाई निर्णय नै गर्नु नपर्ने भएको भए जीवन अझ सजिलो हुने थियो जस्तो लाग्छ। के तपाईंलाई पनि त्यस्तै लाग्छ? नबिर्सनुहोस्‌, यहोवाले मानिसलाई सोचविचारै गर्न नसक्ने अनि कुनै निर्णय गर्न नसक्ने रोबोटजस्तो बनाउनुभएको थिएन। वास्तवमा बाइबलले हामीलाई बुद्धिमानी निर्णय कसरी गर्ने भनेर सिकाउँछ। यहोवा हामीले निर्णयहरू गरेको चाहनुहुन्छ र आफैले निर्णय गर्दा हाम्रै भलाइ हुन्छ। यसबारे केही उदाहरण विचार गरौं।

६, ७. इस्राएलीहरूले कस्तो निर्णय गर्नुपरेको थियो र तिनीहरूलाई बुद्धिमानी निर्णय गर्न किन गाह्रो भएको थियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

६ प्रतिज्ञा गरिएको देशमा बसोबास गरिसकेपछि इस्राएलीहरूले एउटा महत्त्वपूर्ण निर्णय गर्नुपरेको थियो: यहोवाको उपासना गर्ने कि अरू देवीदेवताको। (यहोशू २४:१५ पढ्‌नुहोस्‌) हुन त तिनीहरूले गर्नुपर्ने निर्णय साधारणजस्तो देखिन्थ्यो। तर त्यसमा जीवन-मरणको सवाल थियो। न्यायकर्ताहरूको समयमा इस्राएलीहरूले बारम्बार मूर्ख निर्णय गरे। तिनीहरूले यहोवालाई त्यागे र झूटा देवताहरूको उपासना गरे। (न्याय. २:३, ११-२३) परमेश्‍वरका जनहरूले निर्णय गर्नुपरेको अर्को एउटा घटना पनि विचार गर्नुहोस्‌। भविष्यवक्‍ता एलियाले इस्राएलीहरूलाई यस्तो छनौट गर्न दिए: यहोवाको सेवा गर्ने कि झूटो देवता बालको। (१ राजा १८:२१) दोमन भएर बसेकोले एलियाले तिनीहरूलाई हप्काए। तपाईंलाई लाग्ला, त्यो कुनै गाह्रो निर्णय थिएन किनभने यहोवाको सेवा गर्नु सधैं बुद्धिमानी अनि फाइदाजनक कुरा हो। हुन पनि हो, कुनै पनि सद्दे मानिस बालजस्तो देवताप्रति आकर्षित हुने वा त्यसको उपासना गर्ने कुरा सोच्न पनि सक्दैन। तर ती इस्राएलीहरू भने ‘दोधारमा बसिरहेका थिए।’ त्यसैले एलियाले तिनीहरूलाई एक मात्र साँचो परमेश्‍वर यहोवाको उपासना गर्न आग्रह गर्नु बुद्धिमानी कुरा थियो।

७ बुद्धिमानी निर्णय गर्न इस्राएलीहरूलाई किन यत्तिको गाह्रो भएको हुन सक्छ? पहिलो कुरा, तिनीहरूले यहोवामाथि विश्‍वास गर्न छोडिसकेका थिए। तिनीहरू उहाँको कुरा सुन्दैनथे। तिनीहरूले यहोवा र उहाँको बुद्धिबारे सिक्न छोडेका थिए अनि यहोवामाथि भरोसा पनि गर्दैनथे। उहाँको डोऱ्‍याइअनुसार चलेको भए तिनीहरूले बुद्धिमानी निर्णय गर्न सक्थे। (भज. २५:१२) दोस्रो कुरा, इस्राएलीहरूको सोचाइलाई अरू राष्ट्रका मानिसहरूले निकै असर गरेको थियो। तिनीहरू अरूको लहलहैमा लागेर निर्णय गर्थे र आफूले गर्नुपर्ने निर्णय पनि अरूलाई गर्न लगाउँथे। यसले गर्दा तिनीहरू मूर्तिपूजकहरूको लहलहैमा लागे र उनीहरूसँगै झूटा देवीदेवताको उपासना गर्न थाले। यस्तो खतराबारे यहोवाले धेरै अघि नै चेतावनी दिइसक्नुभएको थियो।—प्रस्थ. २३:२.

अरूले हाम्रो लागि निर्णय गरिदिनु उचित हो?

८. निर्णय गर्ने सन्दर्भमा इस्राएलीहरूको उदाहरणबाट कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं?

८ माथि उल्लेख गरिएका उदाहरणहरूले हामीलाई महत्त्वपूर्ण पाठ सिकाउँछ। निर्णय गर्ने जिम्मेवारी हाम्रो आफ्नै हो र बुद्धिमानी निर्णय गर्न हामीसित बाइबलको सही ज्ञान हुनु आवश्‍यक छ। गलाती ६:५ यसो भन्छ: “हरेकले आफ्नो भारी आफै बोक्नेछ।” त्यसैले यो भारी अर्थात्‌ निर्णय गर्ने आफ्नो जिम्मेवारी अरूलाई दिनु हुँदैन। बरु हामीले परमेश्‍वरको नजरमा सही के हो, त्यो बुझेर त्यसैअनुसार निर्णय गर्न सिक्नुपर्छ।

९. आफ्नो निर्णय अरूलाई गर्न दिंदा कस्तो खतरा हुन सक्छ?

९ हामी कसरी आफ्नो निर्णय अरूलाई गर्न दिने खतरामा पर्न सक्छौं? साथीहरूको दबाबले गर्दा हामी गलत निर्णय गर्न पुग्न सक्छौं। (हितो. १:१०, १५) तर अरूले जति नै दबाब दिए पनि बाइबल-प्रशिक्षित अन्तस्करणअनुसार चल्नु हाम्रो आफ्नै जिम्मेवारी हो। यदि आफ्नो निर्णय अरूलाई गर्न दियौं भने हामीले वास्तवमा ‘तिनीहरूसँगै जाने’ अर्थात्‌ तिनीहरूको पछि लाग्ने निर्णय गरिरहेका हुन्छौं। हुन त यो पनि एउटा निर्णय नै हो। तर यसको परिणाम घातक हुन सक्छ।

१०. पावलले गलातीका भाइबहिनीलाई कस्तो खतराबारे सजग गराए?

१० आफ्नो निर्णय अरूलाई गर्न दिनुको खतराबारे प्रेषित पावलले गलातीका ख्रीष्टियनहरूलाई सजग गराए। (गलाती ४:१७ पढ्‌नुहोस्‌) गलातीको मण्डलीका कसै-कसैले त्यहाँका भाइबहिनीको लागि निर्णय गरिदिन खोज्थे। किन? किनभने तिनीहरू स्वार्थी र घमन्डी थिए अनि अरूको अगाडि ठूलो बन्‍न चाहन्थे। अनि भाइबहिनी प्रेषितहरूको होइन, आफ्नो पछि लागेको चाहन्थे। प्रत्येक ख्रीष्टियनसित आफ्नो निर्णय आफै गर्न पाउने अधिकार छ। तर तिनीहरू अरूको यस्तो अधिकारको कदर गर्दैनथे।

११. निर्णय गर्ने सन्दर्भमा हामी कसरी अरूलाई मदत गर्न सक्छौं?

११ पावल आफ्नो भाइबहिनीको निर्णय गर्ने स्वतन्त्रताको कदर गर्थे। तिनीबाट हामी राम्रो पाठ सिक्न सक्छौं। (२ कोरिन्थी १:२४ पढ्‌नुहोस्‌) निर्णय गर्ने सन्दर्भमा सल्लाह दिनुपर्दा एल्डरहरूले पावलको उदाहरण अनुकरण गर्नुपर्छ। तिनीहरू आफ्नो बगाललाई बाइबलमा आधारित जानकारी दिन खुसी छन्‌। तर भाइबहिनीले गर्नुपर्ने निर्णय उनीहरूलाई नै गर्न दिन्छन्‌। यसो गर्नु मनासिब हो किनभने प्रत्येक ख्रीष्टियनले आफ्नो निर्णयको परिणाम आफैले भोग्नुपर्छ। यसबाट एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं: हामी अरूलाई बाइबलको सिद्धान्त अथवा सल्लाह देखाएर मदत गर्न सक्छौं। तर निर्णय गर्ने अधिकार उनको हो र निर्णय गर्ने जिम्मेवारी पनि उनैले वहन गर्नुपर्छ। यसरी बुद्धिमानीसाथ निर्णय गर्दा उनीहरूकै भलाइ हुन्छ। स्पष्ट छ, हामीसित अरूको लागि निर्णय गरिदिने अधिकार छ भन्‍ने सोचाइ हामीले हटाउनै पर्छ।

एउटी बहिनी डी पी ए कार्ड भर्न एल्डरसँग मदत माग्दै, बहिनीलाई आवश्‍यक जानकारी दिंदै र पछि कार्ड भर्दै

आफ्नो निर्णय आफै गर्न सिक्नको लागि मायालु एल्डरहरू भाइबहिनीलाई मदत गर्छन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)

भावनाको वशमा परेर निर्णय नगर्नुहोस्‌

१२, १३. रिसाएको वा निराश भएको बेला आफ्नो मनको कुरा सुन्‍नु किन खतरनाक हुन सक्छ?

१२ निर्णय गर्ने सन्दर्भमा एउटा लोकप्रिय भनाइ छ: ‘आफ्नो मनको कुरा सुन।’ तर यसरी निर्णय गर्नु खतरनाक हुन सक्छ। अनि यसो गर्न मिल्ने कुनै धर्मशास्त्रीय आधार पनि छैन। आफ्नै बुद्धिमा भर परेर वा भावनामा बहेर निर्णय गर्नु हुँदैन भनेर बाइबलले हामीलाई चेतावनी दिएको छ। (हितो. २८:२६) आफ्नो मनको कुरा सुनेर निर्णय गर्दा दुःखद नतिजा भोग्नुपरेका घटनाहरू बाइबलमा थुप्रै पाइन्छ। त्रुटिपूर्ण मानिसको मुख्य कमजोरी उसको हृदय हो किनभने “हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मि. ३:१७; १३:१०; १७:९; १ राजा ११:९) त्यसैले आफ्नो मनको कुरा सुनेर निर्णय गऱ्‍यौं भने नतिजा कस्तो होला?

१३ यहोवालाई सारा मनले प्रेम गर्नू र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू भनेर उहाँले हामीलाई आज्ञा दिनुभएको छ। (मत्ती २२:३७-३९) अघिल्लो अनुच्छेदमा उल्लेख गरिएका शास्त्रपदहरूमा आफ्नो भावनाले हाम्रो सोचाइ र व्यवहारलाई नियन्त्रण गर्न दिनुको खतराबारे बताइएको छ। उदाहरणको लागि, रिसाएको बेला कुनै निर्णय गऱ्‍यौं भने के हुन सक्छ? हामीले पहिला यसरी नै निर्णय गरेका थियौं भने नतिजा के हुन्छ भनेर भनिराख्नु नपर्ला। (हितो. १४:१७; २९:२२) अथवा के हामी एकदमै निराश भएको बेला बुद्धिमानी निर्णय गर्न सक्छौं होला? (गन्ती ३२:६-१२; हितो. २४:१०) नबिर्सनुहोस्‌, “परमेश्‍वरको व्यवस्थाको दास” हुनु बुद्धिमानी हो भनेर बाइबल बताउँछ। (रोमी ७:२५) स्पष्ट छ, हामीले भावनामा बहेर महत्त्वपूर्ण निर्णयहरू गर्नु हुँदैन।

कस्तो अवस्थामा आफ्नो निर्णय बदल्नुपर्ने हुन्छ?

१४. आफ्नो निर्णय बदल्नु उचित हो कि होइन भनेर हामी कसरी थाह पाउन सक्छौं?

१४ हामीले बुद्धिमानी निर्णय गर्नुपर्छ। तर के यसको मतलब एक चोटि गरिसकेको निर्णय कहिल्यै बदल्नु हुँदैन भन्‍ने हो? कहिलेकाहीं आफूले गरेको निर्णयबारे पुनः विचार गर्नु र त्यसलाई बदल्नु बेस हुन सक्छ। योनाको समयमा निनवेबासीसित यहोवाले कस्तो व्यवहार गर्नुभयो, विचार गर्नुहोस्‌। “तिनीहरूले के गरे, कसरी तिनीहरू आफ्ना कुमार्गबाट फिरेर आए, सो परमेश्‍वरले देख्नुभयो। तब तिनीहरूमाथि आपत्ति ल्याउने आफ्नो इच्छालाई परमेश्‍वरले बद्‌लिनुभयो। उहाँले सो गर्नुभएन।” (योना ३:१०) निनवेबासीहरूले पश्‍चात्ताप गरेको र आफ्नो मनोवृत्ति परिवर्तन गरेको देखेपछि यहोवाले आफ्नो निर्णय बदल्नुभयो। यसरी उहाँले आफ्नो व्यावहारिकता, नम्रता र दया देखाउनुभयो। साथै मानिसहरूजस्तो रिसको झोकमा परमेश्‍वर कुनै कदम चाल्नुहुन्‍न।

१५. हामीले कहिलेकाहीं किन आफ्नो निर्णय बदल्नुपर्ने हुन सक्छ?

१५ कुनै-कुनै अवस्थामा हामीले गरेको निर्णयबारे फेरि विचार गर्नु राम्रो हुन सक्छ। कहिलेकाहीं हाम्रो परिस्थिति परिवर्तन हुन सक्छ। यहोवाले पनि परिस्थिति परिवर्तन हुँदा कहिलेकाहीं आफ्नो निर्णय बदल्नुभएको थियो। (१ राजा २१:२०, २१, २७-२९; २ राजा २०:१-५) कुनै नयाँ जानकारी पाउँदा पनि हामीले आफ्नो निर्णय बदल्नुपर्ने हुन सक्छ। त्यतिबेला हामीले निर्णय बदल्नुपर्ने जायज कारण भेट्टाउन सक्छौं। राजा दाऊदले शाऊलका नाति मपीबोशेतबारे गलत जानकारी पाएका थिए। तर पछि उनीबारे सही जानकारी पाउँदा दाऊदले आफ्नो निर्णय बदले। (२ शमू. १६:३, ४; १९:२४-२९) कहिलेकाहीं हामीले पनि त्यसै गर्नु बुद्धिमानी हुन सक्छ।

१६. (क) बुद्धिमानी निर्णय गर्न कस्ता सल्लाहहरूले मदत गर्छ? (ख) हामीले पहिले गरेको निर्णयमाथि किन पुनर्विचार गर्नुपर्ने हुन सक्छ र यो कसरी गर्न सक्छौं?

१६ कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा हतारिनु हुँदैन भनेर परमेश्‍वरको वचनले सल्लाह दिएको छ। (हितो. २१:५) निर्णय गर्नुअघि सत्यतथ्य राम्ररी बुझ्न पर्याप्त समय लगाउँदा परिणाम राम्रो हुने सम्भावना धेरै हुन्छ। (१ थिस्स. ५:२१) परिवारको शिरले कुनै कदम चाल्ने निर्णय गर्नुअघि बाइबल अनि बाइबलमा आधारित प्रकाशनहरूमा अनुसन्धान गर्न पर्याप्त समय दिनुपर्छ। साथै परिवारका अरू सदस्यको विचार पनि बुझ्नुपर्छ। परमेश्‍वरले अब्राहामलाई तिनकी पत्नीको कुरा सुन्‍न आग्रह गर्नुभयो। (उत्प. २१:९-१२) एल्डरहरूले पनि समय लगाएर अनुसन्धान गर्नुपर्छ। तिनीहरू व्यावहारिक अनि नम्र छन्‌ भने कुनै नयाँ जानकारी थाह पाउँदा पहिले गरिसकेको निर्णयमाथि पुनर्विचार गर्न हिचकिचाउनेछैनन्‌। अनि निर्णय बदल्नुपर्ने जायज कारण छ भने आफ्नो इज्जत जाला भनेर डराउनेछैनन्‌। आवश्‍यक परेमा आफ्नो सोचाइ अनि निर्णय बदल्न तिनीहरू तयार हुनुपर्छ। हामीले पनि ती एल्डरहरूको उदाहरण अनुकरण गर्नु बेस हो। यसो गर्दा मण्डलीमा शान्ति र सुव्यवस्था कायम रहन्छ।—प्रेषि. ६:१-४.

निर्णयअनुसार कदम चाल्नुहोस्‌

१७. सही निर्णय गर्न हामीलाई केले मदत गर्न सक्छ?

१७ कुनै-कुनै निर्णय गम्भीर प्रकारका हुन्छन्‌। यस्ता निर्णयहरू गर्न निकै सोचविचार अनि प्रार्थना गर्नुपर्ने हुन सक्छ। अनि यसो गर्न धेरै समय लाग्न सक्छ। केही ख्रीष्टियनले विवाह गर्ने कि नगर्ने अनि गर्ने हो भने कोसँग गर्ने भनेर निर्णय गर्नुपर्ने हुन्छ। अनि अर्को गम्भीर निर्णय भनेको पूर्ण-समय सेवाबारे हुन सक्छ, जुन सेवामा थुप्रै आशिष्‌ पाउन सकिन्छ। पूर्ण-समय सेवा कहिले सुरु गर्ने अनि त्यसको लागि के-कस्तो तयारी गर्ने भनेर निर्णय गर्नुपर्ने हुन सक्छ। यस्ता विषयहरूमा निर्णय गर्न यहोवाले हामीलाई भरपर्दो डोऱ्‍याइ दिन सक्नुहुन्छ र उहाँले त्यस्तो डोऱ्‍याइ दिनुहुन्छ भनेर हामीले उहाँमाथि पूरा भरोसा गर्नुपर्छ। (हितो. १:५) त्यसैले सबैभन्दा भरपर्दो स्रोत बाइबलको सल्लाह खोज्नु र यहोवाको डोऱ्‍याइको लागि प्रार्थना गर्नु महत्त्वपूर्ण छ। अनि बिर्सन नहुने कुरा, यहोवाको इच्छासित मेल खाने निर्णयअनुसारै कदम चाल्न आवश्‍यक पर्ने गुणहरू विकास गर्न उहाँले मदत गर्नुहुन्छ। महत्त्वपूर्ण निर्णय गर्नुपर्दा सधैं आफूलाई यी प्रश्‍नहरू सोध्ने गरौं: ‘के मेरो निर्णयले यहोवालाई प्रेम गरेको देखाउँछ? के यसले मेरो परिवारमा सुख-शान्ति ल्याउँछ? के यसले म धीरजी अनि दयालु भएको देखाउँछ?’

१८. यहोवा हामीले किन आफ्नो निर्णय आफै गरेको चाहनुहुन्छ?

१८ यहोवा हामीलाई उहाँको सेवा गर्न र उहाँलाई प्रेम गर्न जबरजस्ती गर्नुहुन्‍न। उहाँले हामीलाई छनौट गर्ने स्वतन्त्रता दिनुभएको छ। यहोवाको सेवा गर्ने कि नगर्ने भनेर ‘रोज्ने’ हाम्रो जिम्मेवारी अनि अधिकारको उहाँ कदर गर्नुहुन्छ। (यहो. २४:१५; उप. ५:४) साथै हामीले उहाँको डोऱ्‍याइअनुसार निर्णय गरेपछि त्यसअनुरूप कदम चालेको पनि उहाँ चाहनुहुन्छ। यहोवाको काम गर्ने तरिका र सिद्धान्तमा विश्‍वास गर्दै कदम चाल्यौं भने हामी बुद्धिमानी निर्णय गर्न सक्छौं र हाम्रो सबै कामकुरामा स्थिर रहन सक्छौं।—याकू. १:५-८; ४:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने