प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 फेब्रुअरी पृ. १४-१९
  • हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?
  • तिनीहरूले कृतज्ञता व्यक्‍त गरे
  • तिनीहरू कृतज्ञ भएनन्‌
  • कृतज्ञता व्यक्‍त गर्नुहोस्‌
  • यहोवा हाम्रो कदर गर्ने परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “धन्यवादी होओ”
    हाम्रो राज्य सेवकाई—२००८
  • कदर गर्न कहिल्यै नछोड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • कृतज्ञता देखाउनुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 फेब्रुअरी पृ. १४-१९

अध्ययन लेख ८

हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?

“तिमीहरू कृतज्ञ छौ भनी देखाओ।”—कल. ३:१५.

गीत ४६ धन्यवाद छ, यहोवा

परिचयa

१. येसुले निको पार्नुभएको सामरियालीले आफू कृतज्ञ भएको कसरी देखायो?

कुष्ठरोग लागेका दस जना मानिसको अवस्था अत्यन्तै दयनीय थियो। तिनीहरू निको हुने कुनै आशा देखिँदैनथ्यो। तर एकदिन तिनीहरूले महान्‌ शिक्षक येसु आउँदै गर्नुभएको टाढैबाट देखे। येसुले हरेक किसिमको रोगबिमार निको पार्नुभएको थियो भनेर तिनीहरूले सुनेका थिए अनि उहाँले तिनीहरूलाई पनि निको पार्न सक्नुहुन्छ भनेर तिनीहरू विश्‍वस्त थिए। त्यसैले तिनीहरू चर्को स्वरमा यसरी कराए: “हे येसु, हे गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्‌!” ती दस जना पूरै निको भए। येसुले तिनीहरूमाथि दया देखाउनुभएकोमा तिनीहरू सबै उहाँप्रति कृतज्ञ भए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तर तिनीहरूमध्ये एक जनाले चाहिँ कृतज्ञता महसुस मात्र गरेन, आफू कृतज्ञb भएको कुरा येसुलाई व्यक्‍त पनि गऱ्‍यो। येसुले निको पार्नुभएको त्यो सामरियाली “चर्को स्वरमा” परमेश्‍वरको महिमा नगरी बस्नै सकेन।—लुका १७:१२-१९

२-३. (क) हामी कृतज्ञता व्यक्‍त गर्न किन चुक्न सक्छौँ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?

२ त्यस सामरियालीले जस्तै हामी पनि आफूप्रति दयालु व्यवहार गर्नेहरूलाई कृतज्ञता व्यक्‍त गर्न चाहन्छौँ। तर कहिलेकाहीँ हामी आफ्नो मनमा भएको कृतज्ञता बोली वा व्यवहारद्वारा व्यक्‍त गर्न बिर्सन्छौँ।

३ आफू कृतज्ञ भएको कुरा बोली र व्यवहारद्वारा व्यक्‍त गर्नु किन महत्त्वपूर्ण छ भनेर हामी यस लेखमा छलफल गर्नेछौँ। कृतज्ञता व्यक्‍त गर्ने सन्दर्भमा राम्रो उदाहरण बसालेका अनि कृतज्ञता देखाउन चुकेका बाइबल पात्रहरूको उदाहरणबाट सिक्न सकिने पाठ हामी विचार गर्नेछौँ। साथै कृतज्ञता व्यक्‍त गर्न सकिने केही व्यावहारिक तरिका पनि हामी छलफल गर्नेछौँ।

हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?

४-५. हामीले किन कृतज्ञता व्यक्‍त गर्नुपर्छ?

४ कृतज्ञता व्यक्‍त गर्ने सन्दर्भमा यहोवाले हाम्रो लागि उदाहरण बसाल्नुभएको छ। यहोवाले कृतज्ञता व्यक्‍त गर्नुहुने एउटा तरिका भनेको उहाँलाई प्रसन्‍न तुल्याउनेहरूलाई आशिष्‌ दिएर हो। (२ समु. २२:२१; भज. १३:६; मत्ति १०:४०, ४१) ‘परमेश्‍वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्न’ धर्मशास्त्रले हामीलाई प्रोत्साहन दिन्छ। (एफि. ५:१) त्यसैले हामीले कृतज्ञता व्यक्‍त गर्नुपर्ने प्रमुख कारण हो, हामी यहोवाको देखासिकी गर्न चाहन्छौँ।

५ हामीले अरूप्रति कृतज्ञता व्यक्‍त गर्नुपर्ने अर्को कारण विचार गर्नुहोस्‌। कृतज्ञता भनेको मीठो खानाजस्तै हो, जुन अरूसित बाँडेर खाँदा अझै मीठो हुन्छ। हामीप्रति अरू कृतज्ञ छन्‌ भनेर जब हामी महसुस गर्छौँ, तब हामी खुसी हुन्छौँ। अनि जब हामी कृतज्ञता व्यक्‍त गर्छौँ, तब हामीले अरूलाई पनि खुसी बनाइरहेका हुन्छौँ। हामीले कसैलाई कृतज्ञता व्यक्‍त गर्दा त्यो व्यक्‍तिले कस्तो महसुस गर्नेछन्‌? हामीलाई मदत गर्न वा हामीलाई आवश्‍यक कुरा दिन तिनले गरेको प्रयास त्यसै खेर गएनछ भनेर तिनले बुझ्नेछन्‌। फलस्वरूप तिनीसितको हाम्रो मित्रता अझ प्रगाढ हुन्छ।

६. कृतज्ञताका शब्दहरू र सुनका स्याउहरूबीच के-के समानता छन्‌?

६ हामीले व्यक्‍त गर्ने कृतज्ञताका शब्दहरू अनमोल हुन्छन्‌। बाइबल यसो भन्छ: “ठीक बेलामा ठीक कुरा भन्‍नु चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।” (हितो. २५:११) सुनको स्याउलाई चाँदीको भाँडोमा राख्दा कत्ति राम्रो देखिन्छ, कल्पना गर्नुहोस्‌ त! अनि त्यो कत्ति अमूल्य हुन्छ! यदि कसैले तपाईँलाई त्यस्तो उपहार दियो भने तपाईँलाई कस्तो लाग्छ? हो, तपाईँले अरूलाई व्यक्‍त गर्ने कृतज्ञताका शब्दहरू पनि त्यो उपहारजत्तिकै बहुमूल्य हुन सक्छ। यो कुरा पनि विचार गर्नुहोस्‌: सुनको स्याउ कहिल्यै कुहिएर जाँदैन, जस्ताको तस्तै रहिरहन्छ। ठीक त्यसैगरि, तपाईँले व्यक्‍त गर्नुभएको कृतज्ञताका शब्दहरू सुन्‍ने व्यक्‍तिले त्यो कुरा आफ्नो जीवनभर सम्झिरहन र त्यसको मोल गर्न सक्छन्‌।

तिनीहरूले कृतज्ञता व्यक्‍त गरे

७. भजन २७:४ ले देखाएझैँ दाउदले कसरी कृतज्ञता व्यक्‍त गरे? अनि अरू भजनरचयिताहरूले कसरी कृतज्ञता व्यक्‍त गरे?

७ विगतमा परमेश्‍वरका थुप्रै सेवकले कृतज्ञता व्यक्‍त गरे। तिनीहरूमध्ये एक जना दाउद थिए। (भजन २७:४ पढ्‌नुहोस्‌) तिनले शुद्ध उपासनाको मनैदेखि कदर गरे अनि त्यो कुरा आफ्नो कामबाट पनि देखाए। मन्दिर निर्माण गर्न तिनले निकै ठूलो अनुदान दिए। आसापका सन्तानहरूले भजनहरू अर्थात्‌ प्रशंसाका गीतहरू रचेर कृतज्ञता व्यक्‍त गरे। एउटा भजनमा तिनीहरूले यहोवालाई धन्यवाद चढाए अनि उहाँका “आश्‍चर्यजनक कामहरूको” निम्ति उहाँको प्रशंसा गरे। (भज. ७५:१) दाउद र आसापका सन्तानहरू यहोवाले प्रशस्तगरि आशिष्‌ दिनुभएकोमा आफू कत्ति धेरै कृतज्ञ छु भनी देखाउन चाहन्थे। तपाईँ कसरी यी भजनरचयिताहरूको अनुकरण गर्न सक्नुहुन्छ?

पावलको पत्र रोमको मण्डलीलाई पढेर सुनाइन्छ; त्यस पत्रमा आफ्नो नाम उल्लेख गरिएको सुन्दा भाइबहिनीहरू एकदमै खुसी हुन्छन्‌

कृतज्ञता व्यक्‍त गर्ने सन्दर्भमा पावलले रोमीहरूलाई लेखेको पत्रबाट हामी के सिक्न सक्छौँ? (अनुच्छेद ८-९ हेर्नुहोस्‌)c

८-९. प्रेषित पावलले आफ्ना भाइबहिनीलाई कसरी कृतज्ञता व्यक्‍त गरे? अनि त्यसले गर्दा परिणाम कस्तो भएको हुनुपर्छ?

८ प्रेषित पावलले आफ्ना भाइबहिनीबारे बताएका कुराबाट तिनी उनीहरूप्रति कृतज्ञ महसुस गर्थे भनेर देखिन्थ्यो। यहोवासित व्यक्‍तिगत रूपमा प्रार्थना गर्दा ती भाइबहिनी दिनुभएकोमा तिनी सधैँ परमेश्‍वरलाई धन्यवाद चढाउँथे। उनीहरूलाई लेखेको पत्रमा पनि पावलले कृतज्ञता व्यक्‍त गरे। रोमी १६ अध्यायको १ देखि १५ पदमा तिनले २७ जना सङ्‌गी ख्रिष्टियनहरूको नाम उल्लेख गरे। प्रिस्का र अक्विलाले तिनलाई बचाउन “आफ्नो गर्दन खतरामा पारे” भन्‍ने कुरा पावलले तोकेरै उल्लेख गरे। अनि फिबी “धेरैको लागि अनि मेरो लागि पनि मदतगार साबित भएकी छिन्‌” भनेर पनि पावलले बताए। तिनले ती प्यारा अनि मेहनती भाइबहिनीको प्रशंसा गरे।—रोमी १६:१-१५.

९ आफ्ना भाइबहिनी त्रुटिपूर्ण छन्‌ भन्‍ने कुरा पावलले बुझेका थिए तर रोमीहरूलाई लेखेको चिठीको अन्ततिर तिनले उनीहरूका असल गुणहरूमा जोड दिए। पावलले लेखेका कुराहरू मण्डलीसामु ठूलो स्वरले पढेर सुनाइँदा ती भाइबहिनीले कत्ति धेरै प्रोत्साहन पाए होलान्‌, कल्पना गर्नुहोस्‌ त! फलस्वरूप पावलसितको उनीहरूको मित्रता अझै घनिष्ठ भयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। मण्डलीका भाइबहिनीले भनेका वा गरेका असल कुराहरूको लागि कृतज्ञता व्यक्‍त गर्ने के तपाईँको बानी छ?

१०. येसुले आफ्ना चेलाहरूलाई कृतज्ञता व्यक्‍त गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौँ?

१० येसुले एसिया माइनरका केही मण्डलीलाई सन्देश दिँदा आफ्ना चेलाहरूले गरेका कामहरूको लागि कृतज्ञता व्यक्‍त गर्नुभयो। उदाहरणको लागि, थिआटिराको मण्डलीलाई सन्देश दिँदा सुरुमा उहाँले यसो भन्‍नुभयो: “मलाई तिम्रा कामहरू अनि तिम्रो प्रेम, विश्‍वास, सेवा र सहनशीलता थाह छ। अनि तिमीले हालै गरेका कामहरू तिमीले पहिले गरेका भन्दा धेरै छन्‌ भनेर पनि मलाई थाह छ।” (प्रका. २:१९) तिनीहरूले पहिलाभन्दा धेरै काम गरेका छन्‌ भनेर मात्रै उहाँले बताउनुभएन बरु तिनीहरूलाई ती असल काम गर्न उत्प्रेरित गर्ने गुणहरूको लागि पनि उहाँले तिनीहरूको प्रशंसा गर्नुभयो। थिआटिराका केही ख्रिष्टियनलाई सल्लाह दिनुपरेको भए तापनि येसुले आफ्नो सन्देशको सुरुमा र अन्तमा तिनीहरूलाई प्रोत्साहन दिनुभयो। (प्रका. २:२५-२८) येसु सबै मण्डलीको शिर हुनुभएकोले उहाँसित कत्ति धेरै अख्तियार छ, सोच्नुहोस्‌ त! हामीले उहाँको खातिर गरेका कामहरूको लागि उहाँले हामीलाई धन्यवाद दिइरहनु आवश्‍यक छैन। तैपनि उहाँ कृतज्ञता व्यक्‍त गर्नुहुन्छ। एल्डरहरूको लागि कत्ति राम्रो उदाहरण!

तिनीहरू कृतज्ञ भएनन्‌

११. हिब्रू १२:१६ ले बताएअनुसार पवित्र कुराहरूप्रति एसावको दृष्टिकोण कस्तो थियो?

११ दुःखको कुरा, केही बाइबल पात्रले आफू कृतज्ञ नभएको देखाए। उदाहरणको लागि, यहोवालाई प्रेम गर्ने र उहाँको आदर गर्ने आमाबुबाले एसावलाई हुर्काएका थिए। तर एसावले भने पवित्र कुराहरूको कदर गरेनन्‌। (हिब्रू १२:१६ पढ्‌नुहोस्‌) तिनी कृतज्ञ नभएको कुरा कसरी देखियो? एसावले केही सोचविचारै नगरी केवल एक कचौरा सुरुवाको लागि आफ्नो ज्येष्ठ अधिकार भाइलाई बेचे। (उत्प. २५:३०-३४) पछि आफ्नो निर्णय सम्झेर एसाव एकदमै पछुताए। तर ज्येष्ठ अधिकारको आशिष्‌ नपाएकोमा तिनले गुनासो गर्न मिल्दैनथ्यो किनभने तिनले आफूसित भएको कुराको कदर गरेका थिएनन्‌।

१२-१३. यहोवाप्रति कृतज्ञ नभएको कुरा इस्राएलीहरूले कसरी देखाए? त्यसको नतिजा कस्तो भयो?

१२ इस्राएलीहरूले यहोवालाई कृतज्ञता देखाउनुपर्ने थुप्रै कारण थियो। यहोवाले मिश्रीहरूमाथि दस विपत्ति ल्याएर तिनीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभयो। त्यसपछि मिश्रको पूरै सेनालाई लाल समुद्रमा डुबाएर उहाँले इस्राएलीहरूलाई नाश हुनदेखि जोगाउनुभयो। त्यसबेला इस्राएलीहरू यहोवाप्रति अत्यन्तै कृतज्ञ भए र उहाँको प्रशंसा गर्न विजयगान गाए। तर के तिनीहरू कृतज्ञ भइरहे?

१३ पछि अरू अप्ठेरा परिस्थितिहरू सामना गर्नुपर्दा यहोवाले पहिले तिनीहरूको लागि गर्नुभएका सबै असल कुराहरू बिर्सन तिनीहरूलाई कत्ति पनि बेर लागेन। यहोवाले गर्नुभएका कामहरूको कदर नगरेको कुरा तिनीहरूले देखाए। (भज. १०६:७) कसरी? बाइबल भन्छ, “इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनसित गनगन गर्न थाल्यो।” यसो गरेर तिनीहरूले वास्तवमा यहोवासित गनगन गरिरहेका थिए। (प्रस्थ. १६:२, ८) आफ्ना मानिसहरूले कृतघ्न मनोभाव देखाएकोमा यहोवा दुःखी हुनुभयो। अनि यहोसु र कालेबबाहेक त्यसबेलाका इस्राएलीहरूको सारा पुस्ता निर्जनभूमिमा भौँतारिनेछन्‌ र त्यहीँ मर्नेछन्‌ भनेर उहाँले केही समयपछि भविष्यवाणी गर्नुभयो। (गन्ती १४:२२-२४; २६:६५) त्यसोभए आउनुहोस्‌, यी खराब उदाहरणहरूको सिको नगर्न अनि असल उदाहरणको अनुकरण गर्न के गर्नुपर्छ, विचार गरौँ।

कृतज्ञता व्यक्‍त गर्नुहोस्‌

१४-१५. (क) दम्पतीहरूले एकअर्काको कदर गरेको कसरी देखाउन सक्छन्‌? (ख) कृतज्ञता व्यक्‍त गर्न आमाबुबाले छोराछोरीलाई कसरी सिकाउन सक्छन्‌?

१४ परिवारमा। परिवारको हरेक सदस्यले कृतज्ञता व्यक्‍त गर्दा पूरै परिवारले लाभ उठाउँछ। दम्पतीहरूले जति धेरै एकअर्काको कदर गरेको देखाउँछन्‌, तिनीहरू त्यति नै एकअर्कासित घनिष्ठ हुन्छन्‌। तिनीहरूलाई एकअर्काको गल्तीको क्षमा दिन पनि सजिलो लाग्नेछ। पत्नीको कदर गर्ने पतिले तिनले भनेका र गरेका कुराहरू याद गर्नुका साथै तिनीसामु “खडा हुन्छन्‌ र तिनको प्रशंसा गर्छन्‌।” (हितो. ३१:१०, २८) बुद्धिमती पत्नीले पनि पतिको खास कुन कुराको कदर गर्छिन्‌ भनेर उनलाई तोकेरै बताउँछिन्‌।

१५ आमाबुबा हो, कृतज्ञता व्यक्‍त गर्न तपाईँ छोराछोरीलाई कसरी सिकाउन सक्नुहुन्छ? यो कुरा नबिर्सनुहोस्‌, छोराछोरीले तपाईँले भनेका र गरेका कुराहरूको अनुकरण गर्नेछन्‌। त्यसैले छोराछोरीले तपाईँको लागि केही गरिदिँदा तिनीहरूलाई धन्यवाद भनेर राम्रो उदाहरण बसाल्नुहोस्‌। साथै छोराछोरीको लागि कसैले केही गरिदिँदा धन्यवाद भन्‍न छोराछोरीलाई सिकाउनुहोस्‌। कसैप्रति कृतज्ञता व्यक्‍त गर्नु भनेको मनैदेखि आउनुपर्ने कुरा हो भनेर तिनीहरूलाई बुझाउनुहोस्‌ अनि तिनीहरूले बोलेको कुराले अरूमा सकारात्मक प्रभाव पार्न सक्छ भनेर पनि बुझाउनुहोस्‌। उदाहरणको लागि, क्लाडी नाम गरेकी युवती यसो भन्छिन्‌: “मेरी आमा ३२ वर्षको हुनुहुँदा उहाँ एक्लैले हामी तीन जना छोराछोरीलाई हेर्नुपर्ने अवस्था आइपऱ्‍यो। अनि म पनि ३२ वर्षकी भएपछि एक्लैले छोराछोरी हुर्काउन आमालाई कत्ति गाह्रो भएको थियो होला भनेर विचार गरेँ। त्यसैले हामी तीन छोराछोरीलाई हुर्काउन उहाँले गर्नुभएका त्यागहरूको लागि म धेरै कृतज्ञ छु भनेर उहाँलाई बताएँ। मेरा शब्दहरूले उहाँको मन छोएको कुरा उहाँले केही समयअघि मलाई भन्‍नुभयो अनि उहाँ बेलाबेलामा त्यसबारे सोच्नुहुन्छ र त्यो कुरा सम्झँदा दिनभरि उहाँको अनुहार उज्यालो हुन्छ भनेर पनि बताउनुभयो।”

एउटी आमा र तिनकी छोरी एक जना वृद्ध बहिनीसित प्रचारकार्यमा भाग लिन्छन्‌; पछि तिनीहरूले एउटा केक बनाएर तिनलाई दिन्छन्‌

कृतज्ञता व्यक्‍त गर्न छोराछोरीलाई सिकाउनुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌)d

१६. कृतज्ञता व्यक्‍त गर्दा अरूले प्रोत्साहन पाउन सक्छन्‌ भन्‍ने कुराको एउटा उदाहरण दिनुहोस्‌।

१६ मण्डलीमा। भाइबहिनीलाई कृतज्ञता व्यक्‍त गर्दा हामीले तिनीहरूलाई प्रोत्साहन दिइरहेका हुन्छौँ। उदाहरणको लागि, होरे नाम गरेका २८ वर्षीय एल्डर निकै बिरामी परे। तिनी एक महिनासम्म सभामा उपस्थित हुन सकेनन्‌। सभामा आउन थालेपछि पनि तिनले सभाका भागहरू सञ्चालन गर्न सकेनन्‌। होरे भन्छन्‌: “स्वास्थ्य समस्याको कारण अनि मण्डलीको जिम्मेवारी सम्हाल्न नसकेको कारण आफू कुनै कामको छैनँ जस्तो लाग्थ्यो। तर एकदिन सभाको अन्तमा एक जना भाइले मलाई यसो भन्‍नुभयो: ‘मेरो परिवारको लागि तपाईँले धेरै राम्रो उदाहरण बसाल्नुभएको छ। तपाईँलाई धेरै धन्यवाद। गएका केही वर्षहरूमा तपाईँका भाषणहरूबाट हामीले निकै लाभ उठाएका छौँ। ती भाषणहरूले हामीलाई आध्यात्मिक रूपमा अघि बढ्‌न मदत गरेको छ।’ त्यो सुनेर म अत्यन्तै भावुक भएँ अनि मेरा आँखा रसाए। मलाई त्यस्तै सान्त्वनादायी शब्दको खाँचो थियो।”

१७. कलस्सी ३:१५ मा बताइएझैँ हामी यहोवाको उदारताको लागि कसरी कृतज्ञता देखाउन सक्छौँ?

१७ हाम्रा उदार परमेश्‍वरलाई। यहोवाले हाम्रो लागि प्रशस्त आध्यात्मिक भोजन उपलब्ध गराउनुभएको छ। उदाहरणको लागि, हाम्रा सभाहरू, पत्रिकाहरू र वेबसाइटबाट उपयोगी निर्देशनहरू पाउँछौँ। कुनै भाषण सुनेपछि, लेख पढेपछि वा ब्रोडकास्टिङ हेरेपछि के तपाईँलाई कहिल्यै यस्तो लागेको छ, ‘यो त मेरै लागि हो’? त्यसको लागि यहोवाप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ? (कलस्सी ३:१५ पढ्‌नुहोस्‌) एउटा तरिका, यी असल वरदानहरूको लागि यहोवालाई प्रार्थनामा सधैँ धन्यवाद दिएर हो।—याकु. १:१७.

भाइबहिनीहरू राज्यभवनको सरसफाइ गर्दै

आफू कृतज्ञ भएको देखाउने एउटा उत्तम तरिका राज्यभवनको सरसफाइमा भाग लिएर हो (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. राज्यभवनको लागि हामी कसरी कृतज्ञता देखाउन सक्छौँ?

१८ हाम्रो उपासनास्थल सफा र चिटिक्क राखेर पनि हामी यहोवालाई आफ्नो कृतज्ञता व्यक्‍त गर्न सक्छौँ। राज्यभवनको सरसफाइ अनि मर्मतसम्भार गर्ने काममा हामी नियमित रूपमा भाग लिन्छौँ अनि मण्डलीको इलेक्ट्रोनिक साधन चलाउने जिम्मा पाएकाहरूले पनि त्यसको निकै जतन गर्छन्‌। राज्यभवनलाई राम्रो अवस्थामा राख्यौँ भने त्यो वर्षौँ टिक्छ अनि ठूलठूलो मर्मत गर्नुपर्ने आवश्‍यकता पनि कम हुन्छ। यसले गर्दा खर्च जोगिन्छ र अन्य ठाउँमा राज्यभवनहरू बनाउने र मर्मत गर्ने कामको लागि त्यो रकम प्रयोग गर्न सकिन्छ।

१९. एक जना क्षेत्रीय निरीक्षक र तिनकी पत्नीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

१९ हाम्रो निम्ति कडा परिश्रम गर्नेहरूलाई। हामीले कृतज्ञता व्यक्‍त गर्दा हाम्रा शब्दहरूले अरूलाई विभिन्‍न कठिनाइको सामना गर्ने बल दिन सक्छ। एक जना क्षेत्रीय निरीक्षक र तिनकी पत्नीको उदाहरण विचार गर्नुहोस्‌। एकदिन जाडो याममा लामो समय प्रचार गरेपछि तिनीहरू लखतरान भएर बास बस्ने ठाउँमा फर्किए। मौसम साह्रै चिसो भएकोले क्षेत्रीय निरीक्षककी पत्नी कोट लगाएरै सुतिन्‌। बिहान भएपछि तिनले आफ्नो श्रीमान्‌लाई अब परिभ्रमण कार्यमा लागिरहन सक्दिनँ जस्तो लाग्छ भनेर बताइन्‌। त्यही बिहान केही समयपछि शाखा कार्यालयबाट एउटा चिठी आयो। त्यो चिठी क्षेत्रीय निरीक्षककी पत्नीको नाममा आएको थियो। त्यस चिठीमा तिनले गरेको प्रचारकार्य र तिनको सहनशीलताको न्यानो प्रशंसा गरिएको थियो। हरेक हप्ता फरक-फरक ठाउँमा बास बस्नु साँच्चै गाह्रो हुन्छ भन्‍ने कुरा पनि त्यो चिठीमा समावेश गरिएको थियो। ती क्षेत्रीय निरीक्षक यसो भन्छन्‌: “त्यो चिठीले मेरी श्रीमतीको यति मन छोयो कि तिनले फेरि कहिल्यै पनि परिभ्रमण कार्य छोड्‌ने कुरा गरिनन्‌। बरु मैले हरेस खाएर यो काम छोड्‌ने विचार गर्दा यसमा लागिरहन मलाई धेरै चोटि प्रोत्साहन दिइन्‌।” तिनीहरूले परिभ्रमण कार्यमा झन्डै ४० वर्ष बिताए।

२०. हामीले हरेक दिन के गर्ने कोसिस गर्नुपर्छ र किन?

२० आफ्नो बोली अनि कामबाट कृतज्ञता देखाउन हामी पनि हरेक दिन कोसिस गरौँ। हामीले मनैदेखि बोलेको कुराले वा गरेको कामले अरूलाई यो बैगुनी संसारका समस्याहरूसित जुझ्न अर्को एक दिन भए पनि मदत गर्न सक्छ। अनि हामीले व्यक्‍त गरेका कृतज्ञताका शब्दहरूले दिगो मित्रता कायम हुन सक्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले आफ्ना उदार अनि कृतज्ञ बुबा यहोवाको अनुकरण गरिरहेका हुन्छौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • हामीले किन अरूलाई कृतज्ञता व्यक्‍त गर्नुपर्छ?

  • मनैदेखि कृतज्ञता देखाउने सन्दर्भमा राम्रो उदाहरण बसालेका केही बाइबल पात्रहरू को हुन्‌?

  • हामी कसरी मनैदेखि कृतज्ञता देखाउन सक्छौँ?

गीत २० एक मात्र प्यारो छोरा दियौ

a कृतज्ञता देखाउने सन्दर्भमा हामी यहोवा, येसु र कुष्ठरोग लागेको सामरियालीबाट के सिक्न सक्छौँ? यस लेखमा हामी यी र अन्य उदाहरणहरू विचार गर्नेछौँ। कृतज्ञता व्यक्‍त गर्नु किन अत्यन्तै महत्त्वपूर्ण छ अनि त्यसो गर्न सकिने केही व्यावहारिक तरिकाहरू के-के हुन्‌ भनेर पनि हामी छलफल गर्नेछौँ।

b थप व्याख्या: कुनै व्यक्‍तिप्रति वा कुनै कुराप्रति कृतज्ञ हुनु भनेको त्यस व्यक्‍तिको वा त्यस कुराको मोल गर्नु हो। यसले मनैदेखि धन्यवादी महसुस गर्नुलाई बुझाउँछ।

c चित्रको व्याख्या: पावलको पत्र रोमको मण्डलीलाई पढेर सुनाइन्छ; पावलले अक्विला, प्रिस्किला, फिबी र अरूको नाम उल्लेख गरेको सुन्दा तिनीहरू एकदमै खुसी हुन्छन्‌।

d चित्रको व्याख्या: एउटी वृद्ध बहिनीले बसालेको राम्रो उदाहरणको लागि कृतज्ञता देखाउन एउटी आमा आफ्नी छोरीलाई सिकाउँछिन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने