प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जुलाई pp. २०-२५
  • सत्यमा हिँडिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्यमा हिँडिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सत्यमा हिँड्‌नुको अर्थ के हो?
  • हामीले कस्ता अवरोधहरूको सामना गर्नुपर्छ?
  • सत्यमा रहिरहन एकअर्कालाई मदत गर्नुहोस्‌
  • ‘येसुले प्रेम गर्नुभएको चेलाबाट’ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यूहन्‍ना र यहूदाको पत्रका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तपाईँसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जुलाई pp. २०-२५

अध्ययन लेख ३०

सत्यमा हिँडिरहनुहोस्‌

“मेरा छोराछोरी सत्यमा हिँडिरहेका छन्‌ भनेर सुन्‍न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा मसित अरू छैन।”—३ युह. ४.

गीत ५४ ‘यही हो बाटो’

परिचयa

१. तेस्रो युहन्‍ना ३, ४ अनुसार हामीलाई कुन कुरा देख्दा खुसी लाग्छ?

प्रेषित युहन्‍ना आफूले सत्य सिकाएका व्यक्‍तिहरूले वफादार भई यहोवाको सेवा गरिरहेका छन्‌ भनेर थाह पाउँदा कत्ति खुसी भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! ती वफादार ख्रिष्टियनहरूले थुप्रै समस्याको सामना गरे र युहन्‍ना उनीहरूको विश्‍वास अझ बलियो बनाउन कडा मेहनत गरिरहेका थिए किनभने तिनी उनीहरूलाई आफ्नो आध्यात्मिक छोराछोरी ठान्थे। त्यसैगरि हामीलाई पनि आफ्नो छोराछोरी वा आध्यात्मिक छोराछोरीले यहोवालाई जीवन समर्पण गरेको र उहाँको सेवा गर्न प्रयत्न गरिरहेको देख्दा धेरै खुसी लाग्छ।—३ युहन्‍ना ३, ४ पढ्‌नुहोस्‌।

२. युहन्‍नाका पत्रहरूको उद्देश्‍य के थियो?

२ इस्वी संवत्‌ ९८ मा युहन्‍ना सायद एफिससमा वा एफिससनजिकै बस्थे। तिनी त्यहाँ पत्मोस टापुको निर्वासनबाट छुटेपछि बसाइँ सरेका हुन सक्छन्‌। त्यही समयतिर यहोवाको पवित्र शक्‍तिले तिनलाई तीन वटा पत्र लेख्न प्रेरणा दियो। ती पत्रहरूको उद्देश्‍य वफादार ख्रिष्टियनहरूलाई येसुमाथिको आफ्नो विश्‍वास बलियो बनाइरहन र सत्यमा हिँडिरहन उत्प्रेरित गर्नु थियो।

३. हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

३ प्रेषितहरूमध्ये सबैभन्दा अन्तमा मर्ने युहन्‍ना थिए। झूटा शिक्षकहरूले मण्डलीहरूमा नराम्रो प्रभाव पारिरहेको देख्दा तिनी चिन्तित थिए।b (१ युह. २:१८, १९, २६) ती धर्मत्यागीहरूले परमेश्‍वरलाई चिनेको दाबी गर्थे तर यहोवाका आज्ञाहरू पालन भने गर्दैनथे। आउनुहोस्‌, युहन्‍नाले परमेश्‍वरको प्रेरणा पाएर दिएको सल्लाह विचार गरौँ। छलफलको दौडान हामी यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ: सत्यमा हिँड्‌नुको अर्थ के हो? हामीले कस्ता अवरोधहरूको सामना गर्नुपर्छ? अनि सत्यमा रहिरहन हामी एकअर्कालाई कसरी मदत गर्न सक्छौँ?

युहन्‍नाले कस्तो अवस्थामा पत्रहरू लेखे?

प्रेषित युहन्‍नाले आफ्ना पत्रहरू लेख्दा तिनलाई मण्डलीभित्र छिरेर ख्रिष्टका अनुयायीहरूलाई बहकाउन खोज्ने झूटा शिक्षकहरूले गर्दा चिन्ता लागिरहेको थियो। प्रेषित पावल र प्रेषित पत्रुस दुवैले यस्तो अवस्था आउनेछ भनेर पहिल्यै चेतावनी दिइसकेका थिए। (प्रेषि. २०:२९, ३०; २ पत्रु. २:१-३) यी झूटा शिक्षकहरू ग्रीक दर्शनद्वारा प्रभावित भएका हुन सक्छन्‌। कसै-कसैले परमेश्‍वरबाट विशेष अलौकिक ज्ञान हासिल गरेको दाबीसमेत गर्थे जस्तो देखिन्छ।e तर तिनीहरूको शिक्षा येसुको शिक्षाविपरीत थियो र त्यस्तो शिक्षाले गर्दा मानिसहरू स्वार्थी र प्रेमरहित भइरहेका थिए। त्यसैले युहन्‍नाले तिनीहरूलाई ख्रिष्ट-विरोधी भने किनकि तिनीहरू ख्रिष्टको शिक्षाविपरीत कुराहरू सिकाउँथे। —१ युह. २:१८.

e सेप्टेम्बर ८, २००१ को ब्यूँझनुहोस्‌!-मा “ख्रीष्ट विरोधी को हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

सत्यमा हिँड्‌नुको अर्थ के हो?

४. पहिलो युहन्‍ना २:३-६ र २ युहन्‍ना ४, ६ अनुसार सत्यमा हिँड्‌नुमा के समावेश छ?

४ सत्यमा हिँड्‌न हामीले परमेश्‍वरको वचन बाइबलमा पाइने सत्य थाह पाउनुपर्छ। साथै हामीले “[यहोवाका] आज्ञाहरू पालन” गर्नुपर्छ। (१ युहन्‍ना २:३-६; २ युहन्‍ना ४, ६ पढ्‌नुहोस्‌) यहोवाका आज्ञाहरू पालन गर्ने सन्दर्भमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभयो। त्यसैले यहोवाको आज्ञा पालन गर्ने एउटा महत्त्वपूर्ण तरिका येसुको पाइला राम्ररी पछ्याउनु हो।—युह. ८:२९; १ पत्रु. २:२१.

५. हामी कुन कुरामा विश्‍वस्त हुनै पर्छ?

५ सत्यमा हिँडिरहन यहोवा सत्यका परमेश्‍वर हुनुहुन्छ र उहाँले आफ्नो वचन बाइबलमा भन्‍नुभएको सबै कुरा सत्य हुन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त हुनुपर्छ। येसु प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भन्‍ने कुरामा पनि विश्‍वस्त हुनुपर्छ। आज थुप्रै मानिस येसु परमेश्‍वरको राज्यको राजाको रूपमा अभिषेक हुनुभएको छ भन्‍ने कुरामा शङ्‌का गर्छन्‌। अनि “छल गर्ने थुप्रै मानिस”-ले यहोवा र येसुबारे बाइबलमा पाइने सत्यको पक्षमा खडा हुन तयार नभएकाहरूलाई बहकाउनेछन्‌ भनेर युहन्‍नाले चेतावनी दिए। (२ युह. ७-११) तिनले यस्तो लेखे: “येसु नै ख्रिष्ट हुनुहुन्छ भनेर इन्कार गर्ने मानिस यदि झूटा होइन भने अरू को होला र?” (१ युह. २:२२) त्यस्ता मानिसहरूको बहकाउमा नपर्न हामीले परमेश्‍वरको वचन अध्ययन गर्नै पर्छ। अनि यसो गऱ्‍यौँ भने मात्र यहोवा र येसुलाई चिन्‍न सक्छौँ। (युह. १७:३) तब मात्र हामी आफूसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ।

हामीले कस्ता अवरोधहरूको सामना गर्नुपर्छ?

६. जवान ख्रिष्टियनहरूले सामना गर्नुपर्ने एउटा अवरोध के हो?

६ सबै ख्रिष्टियन मानव दर्शनको बहकाउमा पर्नदेखि जोगिनुपर्छ। (१ युह. २:२६) विशेषगरि जवान ख्रिष्टियनहरू यस्तो पासोमा नपर्न होसियार हुनुपर्छ। पच्चिस वर्षकी फ्रान्सेली बहिनी अलेक्सियाc यसो भन्छिन्‌: “म किशोरी छँदा क्रमविकासको सिद्धान्त र मानव दर्शनजस्ता कुराहरूले मेरो मनमा शङ्‌का उब्जाउन थाल्यो। कहिलेकाहीँ त मलाई ती शिक्षाहरू ठीकै हो जस्तो पनि लाग्थ्यो। तर स्कुलमा सिकाउने एक-एक कुरा पत्याएर बाइबलले सिकाउने कुरालाई बेवास्ता गर्नु कत्ति पनि जायज होइन भन्‍ने महसुस गरेँ।” अलेक्सियाले जीवन—यहाँ कसरी आयो? विकासवाद वा सृष्टिद्वारा? किताब अध्ययन गरिन्‌। अनि केही हप्तामै तिनको शङ्‌का हट्यो। अलेक्सिया भन्छिन्‌: “बाइबलमा लेखिएका कुराहरू सत्य हुन्‌ भन्‍ने कुरामा म पक्का भएँ। अनि बाइबलका स्तरहरूअनुसार चल्दा आनन्द र शान्ति प्राप्त हुन्छ भनेर बुझेँ।”

७. हामीले कस्तो दबाबको प्रतिरोध गर्नुपर्छ र किन?

७ जवान होस्‌ वा वृद्ध, सबै ख्रिष्टियनले दोहोरो जीवन बिताउने दबाबको प्रतिरोध गर्नुपर्छ। एकातर्फ सत्यमा हिँडेको दाबी गर्नु र अर्कोतर्फ अनैतिक जीवन बिताउनु गलत हो भनेर युहन्‍नाले बताए। (१ युह. १:६) यदि हामी अहिल्यै र भविष्यमा पनि परमेश्‍वरको अनुमोदन पाइरहन चाहन्छौँ भने यहोवा हामीले गर्ने एक-एक कुरा देख्नुहुन्छ भनेर बिर्सनु हुँदैन। अर्को शब्दमा भन्‍नुपर्दा, यहोवाको नजरबाट लुक्न सक्ने कुनै पनि पाप छैन।—हिब्रू ४:१३.

८. हामीले कुन कुरालाई तिरस्कार गर्नुपर्छ?

८ पापबारे संसारले राख्ने दृष्टिकोणलाई हामीले तिरस्कार गर्नुपर्छ। प्रेषित युहन्‍नाले यसो भने: “यदि हामी ‘हामीमा पाप छैन’ भन्छौँ भने आफैलाई झुक्क्याइरहेका हुन्छौँ र हामीमा सत्य हुँदैन।” (१ युह. १:८) युहन्‍नाको समयका धर्मत्यागीहरू मानिसले जानाजानी पाप गरे तापनि त्यसले परमेश्‍वरसितको सम्बन्धलाई कुनै असर पार्दैन भन्‍ने दाबी गर्थे। आज हाम्रो वरपर पनि त्यस्तै दृष्टिकोण राख्ने मानिसहरू छन्‌। थुप्रैले परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन्‌ तर पापबारे यहोवाले राख्नुहुने दृष्टिकोणलाई भने स्विकार्दैनन्‌, विशेषगरि यौनको सन्दर्भमा। यहोवा जुन कुरालाई पापपूर्ण आचरणको रूपमा हेर्नुहुन्छ, त्यही कुरालाई तिनीहरू व्यक्‍तिगत छनौट अर्थात्‌ वैकल्पिक जीवनशैलीको रूपमा लिन्छन्‌।

चित्रहरूको सँगालो: एक जवान बहिनी स्कुलमा अनैतिक आचरणको प्रतिरोध गर्दै छिन्‌। १. तिनी स्कुलको प्यासेजमा हिँडिरहेको बेला भित्तामा समलैङ्‌गिकतालाई बढावा दिने पोस्टरहरू देख्छिन्‌। २. तिनी घरमा बाइबल पढ्‌दै छिन्‌ अनि ट्याबलेटमा थप अनुसन्धान गरिरहेकी छिन्‌। ३. कक्षाकोठामा एक जना साथीले समलैङ्‌गिकताको समर्थनमा लगाइने रङ्‌गीन ब्रासलेट दिन खोज्दा तिनी त्यो लिन इन्कार गर्छिन्‌; अरू साथीहरूचाहिँ रिसाएर हेर्दै छन्‌।

युवाहरू हो, यहोवाले किन सही र गलतको स्तर तोक्नुभएको छ भनेर बुझ्नुहोस्‌; तब मात्र आफ्नो बाइबलआधारित विश्‍वासमा तपाईँ अडिग रहन सक्नुहुनेछ (अनुच्छेद ९ हेर्नुहोस्‌)f

९. आफ्नो बाइबलआधारित विश्‍वासमा अडिग हुँदा युवायुवतीलाई कस्तो फाइदा हुन्छ?

९ विशेषगरि ख्रिष्टियन युवायुवतीलाई स्कुलका साथीहरू वा सहकर्मीहरूबाट अनैतिक आचरणको सन्दर्भमा उनीहरूको जस्तै दृष्टिकोण राख्ने दबाब आउन सक्छ। अलेक्सान्डरले पनि त्यस्तै दबाबको सामना गरे। तिनी भन्छन्‌: “मेरो स्कुलका केही केटीहरूले मलाई तिनीहरूसित यौनसम्बन्ध राख्ने दबाब दिए। मेरो गर्लफ्रेन्ड नभएकोले तिनीहरू मलाई समलिङ्‌गी भनेर जिस्क्याउँथे।” तपाईँले पनि यस्तै खालका परीक्षाहरू सामना गर्नुपऱ्‍यो भने यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: आफ्नो बाइबलआधारित विश्‍वासमा अडिग हुँदा तपाईँले आफ्नो आत्मसम्मान कायम राख्न सक्नुहुनेछ, आफ्नो स्वास्थ्य र यहोवासितको सम्बन्धलाई जोगाउन सक्नुहुनेछ अनि भावनात्मक चोट खानदेखि पनि जोगिन सक्नुहुनेछ। हरेक चोटि यस्ता प्रलोभनहरूलाई तिरस्कार गर्दा तपाईँलाई सही काम गर्न झनै सजिलो हुनेछ। यौनबारे संसारको विकृत सोचाइको स्रोत सैतान हो भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। तपाईँले आफ्नो विश्‍वासमा सम्झौता गर्नुभएन भने “त्यस दुष्टमाथि विजय हासिल” गर्नुहुनेछ।—१ युह. २:१४.

१०. पहिलो युहन्‍ना १:९ ले हामीलाई अन्तस्करण सफा राखेर यहोवाको सेवा गर्न कसरी मदत गर्छ?

१० पापपूर्ण आचरण भनेको के हो, त्यो निर्धारण गर्ने अधिकार यहोवासित छ भन्‍ने कुरा हामी मानिलिन्छौँ। अनि पाप नगर्न हामी सक्दो प्रयास गर्छौँ। तर यदि पाप गऱ्‍यौँ भने पनि प्रार्थना गरेर यहोवासामु आफ्नो पाप स्विकार्छौँ। (१ युहन्‍ना १:९ पढ्‌नुहोस्‌) अनि यदि कुनै गम्भीर पाप गऱ्‍यौँ भने हामी एल्डरहरूको मदत खोज्छौँ, जसलाई यहोवाले हाम्रो ख्याल राख्न नियुक्‍त गर्नुभएको छ। (याकु. ५:१४-१६) तर विगतमा गरेका गल्तीहरूको लागि आफूलाई दोषी ठानिरहनु भने पर्दैन। किन? किनकि हामीलाई माया गर्नुहुने बुबाले हाम्रा पापहरूको क्षमाको लागि आफ्नो छोरालाई फिरौतीको बलिदानको रूपमा दिइसक्नुभएको छ। यदि हामी आफ्नो गल्तीको लागि मनैदेखि पश्‍चात्ताप गर्छौँ भने यहोवाले अवश्‍य क्षमा दिनुहुनेछ। त्यसैले अन्तस्करण सफा राखेर यहोवाको सेवा गर्न हामीलाई कुनै कुराले पनि रोक्न सक्दैन।—१ युह. २:१, २, १२; ३:१९, २०.

११. हाम्रो विश्‍वासलाई कमजोर बनाउन सक्ने शिक्षाहरूदेखि हामी आफ्नो हृदयलाई कसरी जोगाउन सक्छौँ?

११ हामीले धर्मत्यागी शिक्षाहरूलाई तिरस्कार गर्नुपर्छ। ख्रिष्टियन मण्डली स्थापना भएदेखि नै दियाबलले परमेश्‍वरका वफादार सेवकहरूको हृदयमा शङ्‌काको बिउ रोप्न थुप्रै छली मानिसलाई चलाउँदै आएको छ। त्यसैले सत्य के हो र झूट के हो, त्यो कसरी छुट्ट्याउने भनेर बुझ्नु आवश्‍यक छ।d यहोवामाथिको हाम्रो भरोसालाई र हाम्रा भाइबहिनीप्रतिको हाम्रो प्रेमलाई कमजोर बनाउन शत्रुहरूले इन्टरनेट र सामाजिक सञ्जाल चलाउन सक्छ। त्यस्ता अफवाहहरूको पछाडि कसको हात छ भनेर कहिल्यै नबिर्सनुहोस्‌ र त्यसलाई तिरस्कार गर्नुहोस्‌।—१ युह. ४:१, ६; प्रका. १२:९.

१२. आफूले सिकेका सत्यहरूमाथिको आफ्नो विश्‍वासलाई किन बलियो बनाउनुपर्छ?

१२ सैतानका आक्रमणहरूको प्रतिरोध गर्न हामीले येसुमाथिको र परमेश्‍वरको उद्देश्‍यमा उहाँले महत्त्वपूर्ण भूमिका खेलिरहनुभएको छ भन्‍ने कुरामाथिको विश्‍वास बलियो बनाउनुपर्छ। साथै यहोवाले आज आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउन प्रयोग गरिरहनुभएको एक मात्र माध्यममा पनि भरोसा गर्नुपर्छ। (मत्ति २४:४५-४७) नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गरेर हामी आफ्नो भरोसा बलियो बनाउन सक्छौँ। यसो गर्दा हाम्रो विश्‍वास बलियोगरि जरा गाडेको रूखजस्तै हुनेछ। कलस्सी मण्डलीलाई पत्र लेख्दा पावलले पनि यस्तै कुरा बताए। तिनले भने: “तिमीहरूले प्रभु ख्रिष्ट येसुलाई स्विकारिसकेको हुनाले उहाँसित एकतामा रहिरहो अनि उहाँमै जरा गाडेर बढ्‌दै जाओ र विश्‍वासमा अटल हुँदै जाओ।” (कल. २:६, ७) यदि हामीले आफ्नो विश्‍वासलाई बलियो बनाएका छौँ भने सैतान वा त्यसका समर्थकहरूले हामीलाई सत्यमा हिँडिरहन कुनै पनि हालतमा रोक्न सक्नेछैन।—२ युह. ८, ९.

१३. हामीले कुन कुराको आशा गर्नुपर्छ र किन?

१३ संसारले हामीलाई घृणा गर्नेछ भन्‍ने कुरा हामीले आशा गर्नुपर्छ। (१ युह. ३:१३) युहन्‍नाले हामीलाई “सारा संसार त्यस दुष्टको हातमा परेको छ” भनी बताएका छन्‌। (१ युह. ५:१९) यस युगको अन्त नजिकिँदै जाँदा सैतान झन्‌झनै क्रोधित हुनेछ। (प्रका. १२:१२) त्यसले अनैतिकता वा धर्मत्यागीहरूले फैलाउने झूटजस्ता कुराहरू चलाएर हामीलाई अप्रत्यक्ष रूपमा आक्रमण गर्छ। त्यति मात्र होइन, त्यसले हामीलाई प्रत्यक्ष रूपमा पनि आक्रमण गर्छ। हाम्रो प्रचारकार्यलाई रोक्न वा हाम्रो विश्‍वासलाई तोड्‌न आफूसित थोरै मात्र समय छ भनेर सैतानलाई राम्ररी थाह छ। त्यसैले केही देशमा हाम्रो गतिविधिमाथि कडिकडाउ गरिँदा वा प्रतिबन्ध लगाइँदा हामी छक्क पर्दैनौँ। त्यस्ता देशहरूमा समेत हाम्रा भाइबहिनीले सहनशीलता देखाइरहेका छन्‌। सैतानले हामीलाई जुनसुकै तरिकामा आक्रमण गरे पनि हामी विजयी हुन सक्छौँ भनेर ती भाइबहिनीले प्रमाणित गरेका छन्‌।

सत्यमा रहिरहन एकअर्कालाई मदत गर्नुहोस्‌

१४. भाइबहिनीलाई सत्यमा रहिरहन हामी कसरी मदत गर्न सक्छौँ?

१४ भाइबहिनीलाई करुणा देखाएर हामी उनीहरूलाई सत्यमा रहिरहन मदत गर्न सक्छौँ। (१ युह. ३:१०, ११, १६-१८) हामीले परिस्थिति सहज हुँदा मात्र होइन, समस्याहरू आइपर्दा पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। उदाहरणको लागि, आफ्नो प्रियजन गुमाएको कसैलाई सान्त्वना वा कुनै मदत चाहिएको छ कि? अथवा प्राकृतिक प्रकोपले गर्दा क्षति भोगेका भाइबहिनीलाई सभाभवन वा निजी घरहरू पुनर्निर्माण गर्न मदत चाहिएको छ कि? हाम्रो मनमा भाइबहिनीप्रति अथाह माया र करुणा छ भन्‍ने कुरा हामी आफ्नो बोलीद्वारा मात्र होइन, व्यवहारद्वारा पनि देखाउँछौँ।

१५. पहिलो युहन्‍ना ४:७, ८ अनुसार हामीले के गर्नुपर्छ?

१५ हामीले एकअर्कालाई प्रेम देखाउँदा स्वर्गमा हुनुहुने मायालु बुबाको अनुकरण गरिरहेका हुन्छौँ। (१ युहन्‍ना ४:७, ८ पढ्‌नुहोस्‌) प्रेम देखाउने एउटा राम्रो तरिका एकअर्कालाई क्षमा दिनु हो। उदाहरणको लागि, कसैले हाम्रो चित्त दुखाउन सक्छन्‌ तर पछि माफी माग्न सक्छन्‌। तिनलाई माफी दिएर अनि तिनको गल्तीलाई बिर्सेर हामी तिनलाई प्रेम देखाउँछौँ। (कल. ३:१३) आल्डो भन्‍ने भाइको अनुभव विचार गरौँ। आफूले धेरै आदर गर्ने एक जना भाइले तिनको जातीय पृष्ठभूमिबारे मनमा चसक्क घोच्ने कुरा गरेको तिनले सुने। आल्डो भन्छन्‌, “मैले ती भाइप्रति नकारात्मक सोचाइ नराख्न मदत गर्नुहोस्‌ भनेर यहोवालाई पटक-पटक प्रार्थना गरेँ।” तर आल्डोले अर्को काम पनि गरे। तिनले ती भाइसित प्रचारमा जाने योजना बनाए। प्रचारमा सँगै भाग लिँदा आल्डोले ती भाइले भनेको कुराले गर्दा आफ्नो चित्त दुखेको कुरा बताए। आल्डो यसो भन्छन्‌: “उहाँको कुराले गर्दा मलाई कस्तो महसुस भइरहेको छ भनेर थाह पाएपछि उहाँले मसित माफी माग्नुभयो। आफूलाई कत्ति पछुतो लागिरहेको छ भन्‍ने कुरा उहाँले भन्‍नुभएको तरिकाबाटै प्रस्ट झल्किन्थ्यो। यो कुरालाई बिर्सेर हामी फेरि पहिलाजस्तै साथी हुन सक्यौँ।”

१६-१७. हामीले कस्तो सङ्‌कल्प गर्नुपर्छ?

१६ प्रेषित युहन्‍ना आफ्नो भाइबहिनीको आध्यात्मिक हितको असाध्यै ख्याल राख्थे र यो कुरा तिनले उनीहरूलाई आफ्नो तीन वटा पत्रमा दिएको सल्लाहमा प्रस्टै झल्किन्छ। भविष्यमा येसुसँगै शासन गर्ने पुरुष तथा स्त्रीहरू पनि युहन्‍नाजस्तै अरूलाई माया र ख्याल गर्छन्‌ भन्‍ने कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ।—१ युह. २:२७.

१७ हामीले यस लेखमार्फत पाएको सल्लाह सधैँ मनमा राखौँ। हाम्रो जीवनको हर क्षेत्रमा यहोवाप्रति आज्ञाकारी भएर सत्यमा हिँडिरहने सङ्‌कल्प गरौँ। सत्यमा हिँडिरहन उहाँको वचन अध्ययन गर्नुहोस्‌ र यसमाथि भरोसा राख्नुहोस्‌। येसुमाथिको विश्‍वास बलियो बनाउनुहोस्‌। मानव दर्शन र धर्मत्यागी शिक्षाहरूलाई तिरस्कार गर्नुहोस्‌। दोहोरो जीवन बिताउने र पाप गर्ने दबाबको प्रतिरोध गर्नुहोस्‌। यहोवाका उच्च नैतिक स्तरहरूअनुसार जीवन बिताउनुहोस्‌। अरूले हाम्रो चित्त दुखाउँदा क्षमा दिएर अनि खाँचोमा परेकाहरूलाई मदत गरेर हाम्रा भाइबहिनीलाई बलियो भइरहन मदत गरौँ। यसो गऱ्‍यौँ भने हामीले जति नै सङ्‌घर्ष गर्नु परे पनि सत्यमा हिँडिरहन सक्नेछौँ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • सत्यमा हिँड्‌नुको अर्थ के हो?

  • हामीले कस्ता अवरोधहरूको सामना गर्नुपर्छ?

  • हाम्रा भाइबहिनीलाई सत्यमा रहिरहन कसरी मदत गर्न सक्छौँ?

गीत ४९ यहोवाको मन खुसी राखौँ!

a हामी झूटको बुबा सैतानले राज गरिरहेको संसारमा बाँचिरहेका छौँ। त्यसैले सत्यमा हिँडिरहन हामीले दिनहुँ सङ्‌घर्ष गर्नुपर्छ। प्रथम शताब्दीको अन्ततिर बाँचिरहेका ख्रिष्टियनहरूले पनि त्यस्तै सङ्‌घर्ष गरे। ती ख्रिष्टियनहरू र हाम्रो हितको लागि यहोवाले प्रेषित युहन्‍नालाई तीन वटा पत्र लेख्न प्रेरणा दिनुभयो। ती पत्रहरूमा लेखिएका कुराहरूले हामीले सामना गर्नुपर्ने अवरोधहरू चिन्‍न र त्यसलाई कसरी पार गर्न सक्छौँ भनी बुझ्न मदत गर्छ।

b “युहन्‍नाले कस्तो अवस्थामा पत्रहरू लेखे?” भन्‍ने पेटी हेर्नुहोस्‌।

c केही नाम परिवर्तन गरिएका छन्‌।

d अगस्त २०१८ को प्रहरीधरहरा-मा “के तपाईँलाई सबै सत्यतथ्य थाह छ?” भन्‍ने अध्ययन लेख हेर्नुहोस्‌।

f चित्रको व्याख्या: स्कुलमा एक जवान बहिनीले समलैङ्‌गिक सम्बन्धलाई समर्थन गर्ने कुराहरू सधैँजसो देख्छिन्‌ र सुन्छिन्‌। (कुनै-कुनै समाजमा इन्द्रेनी रङ्‌गले समलैङ्‌गिकतालाई बुझाउँछ।) पछि तिनी आफ्नो विश्‍वासलाई बलियो बनाउन समय लगाएर अनुसन्धान गर्छिन्‌। यसले तिनलाई दबाबको सामना गर्न मदत गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने