प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 नोभेम्बर pp. ८-१२
  • “म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कोही-कोहीले किन र कसरी सत्यलाई ‘बेच्छन्‌’?
  • सत्यलाई नबेच्न हामी के गर्न सक्छौँ?
  • सत्यमा हिँडिरहने तपाईँको सङ्‌कल्पलाई अझ बलियो बनाउनुहोस्‌
  • ‘सत्य किन्‍नुहोस्‌ र त्यसलाई कहिल्यै नबेच्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • ‘सत्यमा हिँडिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सत्य किन खोज्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 नोभेम्बर pp. ८-१२
सत्यअनुसार जिउन सिक्दै जाँदा एक दम्पती झूटो धर्मको उत्सव मनाउन, भौतिक कुरा थुपार्न र हानिकारक मनोरञ्जन गर्न छोड्‌छन्‌ बरु त्यसको साटो उत्थानदायी सङ्‌गति गर्न, प्रचारकार्यमा भाग लिन र बाइबल अध्ययन गर्न थाल्छन्‌

“म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु”

“हे यहोवा, मलाई तपाईँको मार्गबारे सिकाउनुहोस्‌। म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु।”—भज. ८६:११.

गीत: ३१, ७२

हामीले के सिक्यौँ?

  • कोही-कोही ख्रिष्टियन कसरी सत्य ‘बेच्ने’ हदसम्म पुग्न सक्छन्‌?

  • सत्यलाई नत्याग्न वा सत्यदेखि तर्केर नजान हामी के गर्न सक्छौँ?

  • सत्यमा हिँडिरहने हाम्रो सङ्‌कल्पलाई अझ बलियो बनाउने तीन वटा तरिका के-के हुन्‌?

१-३. (क) बाइबल सत्य हामीलाई कस्तो लाग्नुपर्छ? उदाहरणसहित बताउनुहोस्‌। (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) हामी यस लेखमा कस्ता प्रश्‍नहरू विचार गर्नेछौँ?

कुनै सामान किनेपछि फेरि फिर्ता गर्नुलाई थुप्रै देशमा सामान्य मानिन्छ। केही तथ्याङ्‌कहरूले देखाएअनुसार कुनै-कुनै देशमा पसलमा किनिएका सामानहरूको झन्डै ९ प्रतिशत सामान ग्राहकहरूबाट फिर्ता आउने गर्छ। अनलाइन सामान किन्‍ने ग्राहकहरूबाट त झन्‌ ३० प्रतिशतभन्दा धेरै सामानहरू फिर्ता आउने गर्छ। ग्राहकलाई आफूले किनेको सामान सोचेजस्तो राम्रो नलाग्न सक्छ वा त्यसमा केही खराबी हुन सक्छ अथवा कारणवश मन नपर्न सक्छ। त्यसैले तिनीहरू आफूले किनेको सामान साट्‌छन्‌ वा पैसा फिर्ता माग्छन्‌।

२ कुनै सामान किनेपछि हामी फिर्ता गर्छौँ होला तर आफूले ‘किनेको’ सत्यको “सही ज्ञान” कुनै पनि हालतमा फिर्ता गर्न अर्थात्‌ ‘बेच्न’ चाहँदैनौँ। (हितोपदेश २३:२३ पढ्‌नुहोस्‌; १ तिमो. २:४) अघिल्लो लेखमा छलफल गरेजस्तै हामी सबै जनाले सत्य किन्‍नको लागि धेरै समय खर्च गरेका छौँ। त्यतिमात्र होइन, सत्य किन्‍नको लागि हामीले नाम-दाम कमाउने करिअर त्याग्नुपरेको हुन सक्छ, आफ्नो परिवार र साथीभाइसँगको सम्बन्धमा परेको असर सहनुपरेको हुन सक्छ, आफ्नो सोचाइ र आचरण परिवर्तन गर्नुपरेको हुन सक्छ वा बाइबलविपरीत रीतिथिति र चलनहरू त्याग्नुपरेको हुन सक्छ। तैपनि आफूले पाएका आशिष्‌हरूलाई विचार गर्ने हो भने हामीले तिरेका ती मूल्यहरू केही पनि होइनन्‌।

३ बाइबल सत्यप्रतिको हाम्रो भावना येसुले एउटा उदाहरणमा बताउनुभएको मानिसको भावनासँग मेल खान्छ। परमेश्‍वरको राज्यको सत्य भेट्‌नेहरूलाई त्यो कत्तिको बहुमूल्य लाग्छ भनेर देखाउन येसुले असल मोती खोज्दै हिँड्‌ने एउटा व्यापारीको उदाहरण बताउनुभयो। तिनले भेट्टाएको मोती यत्ति उच्च कोटिको थियो कि तिनले त्यो किन्‍नको लागि आफूसित भएको सबै थोक ‘तुरुन्तै बेचे।’ (मत्ति १३:४५, ४६) त्यस्तैगरि हामीले पाएका सत्यहरू अर्थात्‌ परमेश्‍वरको राज्यको सत्य र परमेश्‍वरको वचनबाट सिकेका अरू अमूल्य सत्य यत्ति उच्च कोटिका छन्‌ कि त्यो पाउन जस्तोसुकै त्याग गर्न पनि हामी तुरुन्तै तयार भयौँ। जबसम्म हामी आफूले पाएको सत्यको मोल गर्छौँ, तबसम्म हामी त्यो ‘कहिल्यै बेच्दैनौँ।’ तर दुःखको कुरा, परमेश्‍वरका कोही-कोही जनहरूले सत्यको मोल गरिरहन चुकेका छन्‌ अनि त्यसलाई बेच्नसमेत पुगेका छन्‌। हामी भने त्यस्तो कहिल्यै नगरौँ! आफूले पाएको सत्य कुराको साँच्चै कदर गर्छौँ र कहिल्यै बेच्न चाहँदैनौँ भने बाइबलले बताएजस्तै हामी सधैँ ‘सत्यमा हिँडिरहनु’ आवश्‍यक छ। (३ युहन्‍ना २-४ पढ्‌नुहोस्‌) सत्यमा हिँड्‌नुमा त्यसअनुसार जिउनु समावेश छ अर्थात्‌ हामीले जीवनमा सत्यलाई प्राथमिकता दिनुपर्छ अनि हाम्रो बोली-व्यवहार पनि त्यसैअनुसारको हुनुपर्छ। आउनुहोस्‌, अब हामी यी प्रश्‍नहरूबारे विचार गरौँ: कोही-कोहीले किन र कसरी सत्य ‘बेच्छन्‌’? यस्तो गम्भीर गल्ती नगर्न हामी कसरी होसियार हुन सक्छौँ? ‘सत्यमा हिँडिरहने’ हाम्रो सङ्‌कल्पलाई हामी कसरी अझ बलियो बनाउन सक्छौँ?

कोही-कोहीले किन र कसरी सत्यलाई ‘बेच्छन्‌’?

४. प्रथम शताब्दीमा कोही-कोहीले किन सत्यलाई ‘बेचे’?

४ प्रथम शताब्दीमा कोही-कोहीले पहिला येसुका शिक्षाहरू स्विकारेका थिए तर पछि तिनीहरू सत्यको मार्गमा हिँड्‌न छोडे। उदाहरणको लागि, एक चोटि येसुले एउटा ठूलो भीडलाई चमत्कारपूर्ण ढङ्‌गमा खुवाउनुभएको थियो। त्यसपछि त्यो भीड उहाँको पछि-पछि लागेर गालिल समुद्रको पारिपट्टिसम्मै आयो। त्यहाँ पुगेपछि येसुले भन्‍नुभएको एउटा कुरा सुनेर त्यो भीड झस्कियो। उहाँले यसो भन्‍नुभएको थियो: “मानिसको छोराको शरीर नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरूले जीवन पाउनेछैनौ।” येसुले के भन्‍न खोज्नुभएको हो भनेर उहाँलाई सोध्नुको साटो उहाँको कुरा सुनेर तिनीहरूले ठेस खाए र यसो भने: “यो कुरा असाध्यै घिनलाग्दो छ; कसले यो सुन्‍न सक्छ र?” यसको परिणामस्वरूप “उहाँका चेलाहरूमध्ये धेरै जना उहाँसित हिँडडुल गर्न छोडे अनि आफूले पहिला छोडेर आएका कुराहरूमा लागे।”—युह. ६:५३-६६.

५, ६. (क) हालै कोही-कोहीले किन सत्यलाई त्यागेका छन्‌? (ख) कोही-कोहीले कसरी सत्यलाई बिस्तारै त्याग्न सक्छन्‌?

५ दुःखको कुरा, हाम्रो समयमा पनि कोही-कोहीले सत्यलाई त्यागेका छन्‌। बाइबलको कुनै विवरणबारे नयाँ बुझाइको कारण वा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका कुनै भाइले भनेको वा गरेको कुराले गर्दा कोही-कोहीले ठेस खाएका छन्‌। अरू कोही-कोही भने बाइबलबाट कसैले सल्लाह दिँदा चित्त दुखेकोले वा फरक व्यक्‍तित्व भएको सङ्‌गी ख्रिष्टियनसितको मतभेदले गर्दा सत्यलाई त्यागेका छन्‌। अरू कतिपय भने धर्मत्यागीहरूको र हाम्रो विश्‍वासबारे गलत अर्थ लगाउने विरोधीहरूको पछि लागेका छन्‌। यस्ता कारणहरूले गर्दा कोही-कोही जानाजानी यहोवा र मण्डलीबाट “टाढा” हुन थाले। (हिब्रू ३:१२-१४) यस्तो कदम चाल्नुको साटो प्रेषित पत्रुसले जस्तै तिनीहरूले आफ्नो विश्‍वास बलियो बनाएर येसुमाथि भरोसा राखिरहेका भए कत्ति बेस हुनेथियो! येसुले आफ्ना प्रेषितहरूलाई तिनीहरू पनि छोडेर जान चाहन्छन्‌ कि भनेर सोध्दा पत्रुसले तुरुन्तै यस्तो जवाफ दिए: “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईँसित छन्‌।”—युह. ६:६७-६९.

६ अरूले भने बिस्तारै-बिस्तारै सत्यलाई त्यागेका छन्‌, सायद आफू सत्यबाट टाढिँदै छु भनेर तिनीहरूले चालै पाएनन्‌। बिस्तारै सत्यलाई त्याग्ने व्यक्‍तिलाई नदीको किनाराबाट अलि-अलि गर्दै टाढा हुने डुङ्‌गासित तुलना गर्न सकिन्छ। बिस्तारै हुने यस्तो परिवर्तनलाई बाइबलमा ‘तर्केर जानु’ भनिएको छ। (हिब्रू २:१) जानाजानी सत्यदेखि टाढा हुने व्यक्‍तिजस्तो नभई तर्केर जाने व्यक्‍तिले चालै नपाई सत्यलाई त्याग्न पुग्छ। त्यस्तो व्यक्‍तिले यहोवासितको आफ्नो सम्बन्धलाई भने कमजोर बनाइरहेको हुन्छ र पछि गएर उहाँसितको सम्बन्ध पूरै गुमाउने हदसम्म पुग्छ। त्यस्तो दुःखदायी नतिजा ल्याउने बाटोमा नहिँड्‌न हामी के गर्न सक्छौँ?

सत्यलाई नबेच्न हामी के गर्न सक्छौँ?

७. सत्यलाई नबेच्न हामीले सबैभन्दा पहिला गर्नुपर्ने कुरा के हो?

७ सत्यको बाटोमा हिँडिरहन हामीले यहोवाले भन्‍नुभएका सबै कुरा स्विकार्नुपर्छ र ती पालन गर्नुपर्छ। हामीले जीवनमा सत्यलाई पहिलो स्थान दिनुपर्छ र बाइबलका सिद्धान्तहरूअनुसार जिउनुपर्छ। राजा दाउदले यहोवालाई यसरी प्रार्थना गरे: “म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु।” (भज. ८६:११) दाउदले दृढ सङ्‌कल्प गरेका थिए। हामीले पनि परमेश्‍वरको सत्यको मार्गमा हिँडिरहन दृढ सङ्‌कल्प गर्नुपर्छ। त्यसो गरेनौँ भने सत्यको लागि हामीले जुन मूल्य तिरेका थियौँ, त्यसबारे सोचेर चुकचुकाउन थाल्न सक्छौँ। अनि आफूले तिरेको मूल्य थोरै भए पनि फिर्ता पाउने लोभ पलाउन सक्छ। त्यसो गर्नुको साटो सबै सत्यलाई हामी बलियोसित पक्रिराख्न चाहन्छौँ। कुनै सत्य स्विकार्ने अनि कुनै इन्कार गर्ने छुट हामीले पाएका छैनौँ भनेर हामीलाई राम्ररी थाह छ। आउनुहोस्‌, पाँच वटा कुराबारे विचार गरौँ, जुन हामीले सत्य किन्‍नको लागि तिरेका हुन सक्छौँ। यसो गऱ्‍यौँ भने आफूले तिरेको मूल्यको केही अंश मात्र भए पनि फिर्ता पाउने लोभमा नफस्ने सङ्‌कल्पलाई बलियो बनाइरहन सक्नेछौँ।—मत्ति ६:१९.

हानिकारक मनोरञ्जन गर्न छोडेर बाइबल अध्ययन गर्दै

८. बुद्धिमानीपूर्वक समय प्रयोग नगर्दा कुनै ख्रिष्टियन कसरी सत्यबाट तर्किन सक्छन्‌? एउटा अनुभव बताउनुहोस्‌।

८ समय। सत्यबाट तर्केर नजान हामीले समयको बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ। होसियार भएनौँ भने मनोरञ्जन गर्न, सोख पूरा गर्न, इन्टरनेट चलाउन वा टेलिभिजन हेर्न अचाक्ली समय बिताउन थाल्न सक्छौँ। हुनत यी कुराहरू आफैमा गलत होइनन्‌ तर यी कुराहरूले व्यक्‍तिगत अध्ययन र अन्य आध्यात्मिक गतिविधिहरूमा पहिला बिताउने गरेको समयलाई खाइदिन सक्छ। एमा नाम गरेकी एउटी ख्रिष्टियन बहिनीलाई के भयो, विचार गर्नुहोस्‌।a सानैदेखि उनलाई घोडा मन पर्थ्यो। त्यसैले मौका मिल्नेबित्तिकै उनी घोडा चढ्‌न जान्थिन्‌। केही समयपछि भने उनलाई आफ्नो सोख पूरा गर्न पूरै समय खर्च गरिरहेकोले मनमा नमीठो लाग्न थाल्यो। उनले केही छाँटकाँटहरू गरिन्‌ र पछि मनोरञ्जनलाई त्यसको उचित स्थानमा राख्न सकिन्‌। उनले कोरी वेल्स्‌को अनुभवबाट पनि प्रोत्साहन पाइन्‌, जो पहिले निपुण घोडचढी थिइन्‌।b एमा अहिले आध्यात्मिक गतिविधिमा अनि आफ्नो ख्रिष्टियन परिवार र साथीभाइसित धेरै समय बिताउँछिन्‌। उनी यहोवासित अझ नजिक महसुस गर्छिन्‌ र आफ्नो समय बुद्धिमानीपूर्वक प्रयोग गरिरहेकोमा खुसी छिन्‌।

भौतिक कुरा थुपार्न छोडेर प्रचारकार्यमा भाग लिँदै

९. भौतिक कुराहरू हासिल गर्न खोज्दा कोही-कोहीले कसरी आध्यात्मिक कुराहरू त्याग्न पुगेका छन्‌?

९ भौतिक लाभ। सत्यमा हिँडिरहने हो भने हामीले भौतिक कुराहरूलाई त्यसको उचित स्थानमा राख्नुपर्छ। सत्य सिकेपछि हामीले भौतिक कुराहरूलाई भन्दा आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन थाल्यौँ। सत्यमा हिँडिरहन हामी भौतिक कुराहरू त्याग्न खुसी थियौँ। तर समय बित्दै जाँदा अरूले नयाँ-नयाँ इलेक्ट्रोनिक साधनहरू किनेको वा भौतिक सुखसुविधाको उपभोग गरिरहेको देख्न सक्छौँ। यो देख्दा आफूले चाहिँ केही गुमाइरहेको जस्तो लाग्न सक्छ। त्यसपछि आफ्ना आधारभूत आवश्‍यकताहरू पूरा भइरहेको भए तापनि सन्तुष्ट रहन हामीलाई गाह्रो लाग्न सक्छ र आध्यात्मिक कुराहरूलाई पन्छाएर भौतिक सरसम्पत्ति थुपार्नतिर लाग्न सक्छौँ। त्यस्तो मार्गले हामीलाई डेमसको सम्झना गराउँछ। तिनी “वर्तमान युगको” प्रेममा फसे र प्रेषित पावलसँगै सेवाको काम गर्ने जीवनलाई त्यागे। (२ तिमो. ४:१०) डेमसले किन पावललाई त्यागे? के तिनले आध्यात्मिक कुरालाई भन्दा भौतिक कुरालाई बढी प्रेम गरे? अथवा पावलसँगै सेवाको काममा लागिरहन तिनी अबउसो त्यागहरू गर्न चाहँदैन थिए कि? कारण बाइबलमा बताइएको छैन। तर जे होस्‌, हामी भौतिक कुराहरू हासिल गर्ने चाहनालाई फेरि जगाउन अनि ती कुराहरूले गर्दा सत्यप्रतिको प्रेमलाई सेलाउन दिन कदापि चाहँदैनौँ।

१०. सत्यमा हिँडिरहन हामीले कस्तो दबाबको प्रतिरोध गर्नुपर्छ?

१० परिवार अनि साथीभाइ। सत्यमा हिँडिरहन अरूबाट आउने दबाबसामु झुक्नु हुँदैन। हामी सत्यमा हिँड्‌न थाल्दा सत्यमा नभएका परिवारका सदस्य र साथीभाइसितको हाम्रो सम्बन्धमा केही परिवर्तन भयो। कोही-कोहीले हाम्रो निर्णय स्विकारे तर अरू कतिपयले भने घोर विरोध गरे। (१ पत्रु. ४:४) हुनत हामी आफ्नो परिवारका सदस्यसित राम्रो सम्बन्ध कायम गर्न र तिनीहरूलाई दयालु व्यवहार गर्न चाहन्छौँ। तर तिनीहरूलाई खुसी पार्नकै लागि भनेर सत्यमा सम्झौता गर्नदेखि होसियार हुनुपर्छ। आफ्नो परिवारका सदस्यसित राम्रो सम्बन्ध कायम राख्न हामी प्रयास गरिरहनेछौँ। तर पहिलो कोरिन्थी १५:३३ मा दिइएको स्पष्ट चेतावनीलाई विचार गर्दै हामी यहोवालाई प्रेम गर्नेहरूसित मात्र घनिष्ठ सम्बन्ध गाँस्नेछौँ।

११. बाइबलविपरीत कामहरूबाट हामी कसरी अलग्गै बस्न सक्छौँ?

११ भ्रष्ट सोचाइ र आचरण। सत्यमा हिँड्‌नेहरू सबै पवित्र हुनुपर्छ। (यसै. ३५:८; १ पत्रुस १:१४-१६ पढ्‌नुहोस्‌) सत्य सिक्दै जाँदा हामी सबैले बाइबलको धार्मिक स्तरअनुसार जीवन बिताउन छाँटकाँटहरू गर्नुपऱ्‍यो। कोही-कोहीले ठूलठूला परिवर्तनहरू गर्नुपऱ्‍यो। जस्तोसुकै परिवर्तन गर्नुपरेको किन नहोस्‌, आफ्नो शुद्ध र पवित्र अवस्थालाई हामीले यस संसारको पतित अवस्थासित कहिल्यै साट्‌नु हुँदैन। अनैतिक आचरणमा नफस्न हामीले के गर्नुपर्छ? हामी पवित्र हुन सकौँ भनेर यहोवाले तिर्नुभएको ठूलो मूल्यबारे सोच्नुहोस्‌। उहाँले हाम्रो लागि आफ्नो छोरा येसु ख्रिष्टको अमूल्य जीवन दिनुभयो। (१ पत्रु. १:१८, १९) यहोवासामु हाम्रो स्वच्छता कायम राख्न हामीले येसुले तिर्नुभएको फिरौतीको बलिदानको मूल्यलाई आफ्नो मनमस्तिष्कबाट कहिल्यै हराउन दिनु हुँदैन।

झूटो धर्मको उत्सव मनाउन छोडेर उत्थानदायी सङ्‌गति गर्दै

१२, १३. (क) बिदाहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नु किन महत्त्वपूर्ण छ? (ख) अब हामी कुन कुरा विचार गर्नेछौँ?

१२ बाइबलविपरीत रीतिथिति र चलनहरू। परिवारका सदस्य, सहकर्मी र सहपाठीहरूले हामीलाई तिनीहरूले मनाउने उत्सवहरूमा भाग लिन दबाब दिन सक्छन्‌। यहोवाको आदर नगर्ने रीतिथिति र बिदाहरू मनाउने दबाब आउँदा हामी कसरी त्यसको प्रतिरोध गर्न सक्छौँ? त्यस्ता चलनहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर हामीले स्पष्टसित बुझेका छौँ भने त्यसको प्रतिरोध गर्न सक्छौँ। थुप्रै लोकप्रिय बिदाहरूको सुरुवात कसरी भयो भनेर हाम्रा प्रकाशनहरूमा छापिएका विषयवस्तु अनुसन्धान गर्नु पनि मदतकारी हुन्छ। त्यस्ता बिदाहरू नमनाउनुको धर्मशास्त्रीय कारणहरू मनन गऱ्‍यौँ भने “प्रभुलाई . . . स्वीकार्य” मार्गमा हिँडिरहेका छौँ भनेर हामी विश्‍वस्त हुनेछौँ। (एफि. ५:१०) यहोवा र उहाँको सत्य वचनमा भरोसा राख्दा हामी “मानिसहरूको डर”-को पासोमा फस्नदेखि जोगिनेछौँ।—हितो. २९:२५.

१३ सत्यमा हिँड्‌नु भनेको निरन्तर चलिरहने प्रक्रिया हो; हामी सदासर्वदा सत्यको मार्गमा हिँडिरहन चाहन्छौँ। सत्यमा हिँडिरहने हाम्रो सङ्‌कल्पलाई कसरी अझ बलियो बनाउन सक्छौँ? आउनुहोस्‌, तीन वटा तरिकाबारे विचार गरौँ।

सत्यमा हिँडिरहने तपाईँको सङ्‌कल्पलाई अझ बलियो बनाउनुहोस्‌

१४. (क) सत्य किनिरह्‍यौँ भने त्यसलाई कहिल्यै नबेच्ने हाम्रो सङ्‌कल्प कसरी अझ बलियो हुन्छ? (ख) बुद्धि, अनुशासन र समझ किन आवश्‍यक छन्‌?

१४ पहिलो, परमेश्‍वरको वचनमा पाइने अनमोल सत्यहरूबारे अध्ययन र मनन गरिरहनुहोस्‌। परमेश्‍वरको वचनमा पाइने अनमोल सत्यहरू नियमित रूपमा अध्ययन गर्न समय छुट्ट्याएर सत्य किन्‍न नछोड्‌नुहोस्‌। यसो गर्नुभयो भने सत्यप्रति तपाईँको कृतज्ञता बढ्‌नेछ र त्यसलाई कहिल्यै नबेच्ने तपाईँको सङ्‌कल्प बलियो हुनेछ। सत्य किन्‍नुको अलावा हितोपदेश २३:२३ ले हामीलाई “बुद्धि, अनुशासन र समझ पनि किन” भन्‍ने सल्लाह दिन्छ। ज्ञान हासिल गर्नु मात्र पर्याप्त छैन। आफूले सिकेको सत्यलाई जीवनमा उतार्नुपर्छ। समझ हासिल गर्दा यहोवाले भन्‍नुभएका कुराहरूबीचको सम्बन्ध राम्ररी बुझ्नेछौँ। बुद्धि हासिल गर्दा आफूलाई थाह भएको कुराअनुसार कदम चाल्न मदत पाउँछौँ। कहिलेकाहीँ सत्यले हामीलाई अनुशासन दिन्छ अनि हामीले परिवर्तन गर्नुपर्ने कुराहरू औँल्याइदिन्छ। यस्तो डोऱ्‍याइ पाउँदा सधैँ स्विकारौँ। यो चाँदीभन्दा कता हो कता मूल्यवान्‌ छ।—हितो. ८:१०.

१५. सत्यको पेटीले हामीलाई कसरी सुरक्षा दिन्छ?

१५ दोस्रो, हरेक दिन सत्यअनुसार जीवन बिताउन दृढ सङ्‌कल्प गर्नुहोस्‌। कम्मरमा सत्यको पेटी कस्नुहोस्‌। (एफि. ६:१४) बाइबलकालमा सिपाहीको पेटीले कम्मर र भित्री अङ्‌गहरूको रक्षा गर्थ्यो। तर पेटीले सुरक्षा दिने हो भने त्यो कसिएको हुनुपर्थ्यो। खुकुलो पेटीले कुनै सुरक्षा दिँदैनथ्यो। सत्यको आध्यात्मिक पेटीले हामीलाई कसरी सुरक्षा दिन्छ? त्यसलाई पेटीजस्तै कसेर राख्यौँ भने गलत तर्क गर्नदेखि जोगिनेछौँ र सही निर्णय गर्न मदत पाउनेछौँ। प्रलोभन वा परीक्षामा पर्दा बाइबलको सत्यले सही कुरा गर्ने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउनेछ। एक जना सिपाहीले पेटी नकसिकन लडाइँमा जाने कुरा सोच्नसमेत सक्दैनथ्यो। त्यसरी नै सत्यको पेटी खुकुलो पार्ने वा त्यो फुकाल्ने कहिल्यै नगरौँ। बरु सत्यअनुसार जीवन बिताएर त्यसलाई कम्मरमा पेटीजस्तै कसेर बाँधिराखौँ। सिपाहीको पेटी तरबार झुन्ड्याउनको लागि पनि उपयुक्‍त थियो। सत्यमा हिँडिरहने हाम्रो सङ्‌कल्पलाई बलियो बनाउने अर्को कदम यसैसित सम्बन्धित छ। अब हामी त्यसबारे विचार गरौँ।

१६. अरूलाई सत्यबारे बताउँदा सत्यमा हिँडिरहने हाम्रो सङ्‌कल्प कसरी अझ बलियो हुन्छ?

१६ तेस्रो, बाइबल सत्यबारे अरूलाई सिकाउने काममा यथासक्दो भाग लिनुहोस्‌। यसो गर्नुभयो भने तपाईँ आध्यात्मिक तरबार अर्थात्‌ “परमेश्‍वरको वचन”-लाई दह्रो गरी पक्रिराख्न सक्नुहुनेछ। (एफि. ६:१७) परमेश्‍वरको वचनको शिक्षक भएकोले हामी “सत्यको वचन ठीकसित प्रयोग गर्ने” आफ्नो सीप तिखार्दै लैजाने कोसिस गर्न चाहन्छौँ। (२ तिमो. २:१५) बाइबल प्रयोग गरेर अरूलाई सत्य किन्‍न र झूटा शिक्षाहरू तिरस्कार गर्न मदत दिँदा हाम्रो दिमाग र मनमा पनि परमेश्‍वरका कुराहरू ठप्प बस्नेछन्‌। यसो गर्दा सत्यमा हिँडिरहने हाम्रो सङ्‌कल्प अझ बलियो हुन्छ।

सत्य सिक्नुहोस्‌।

सत्य अनुसार जिउनुहोस्‌।

सत्य अरूलाई सिकाउनुहोस्‌। (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

१७. सत्यलाई तपाईँ किन बहुमूल्य ठान्‍नुहुन्छ?

१७ सत्य यहोवाले दिनुभएको बहुमूल्य उपहार हो। यो उपहारले गर्दा हामीले सबैभन्दा अनमोल सम्पत्ति पाउन सकेका छौँ। त्यो हो, स्वर्गमा बस्नुहुने हाम्रो बुबासित घनिष्ठ सम्बन्ध। उहाँले हामीलाई अहिलेसम्म जे-जति सिकाउनुभएको छ, ती त केवल सुरुवात मात्र हुन्‌! हामीले किनेको सत्यमा उहाँले अझ धेरै थपिदिनुहुनेछ; उहाँले हामीलाई सदासर्वदा सिकाइरहने प्रतिज्ञा गर्नुभएको छ। त्यसैले आफूले किनेको सत्यलाई असल मोतीजस्तै बहुमूल्य ठान्‍नुहोस्‌। ‘सत्य किनिरहनुहोस्‌ र त्यसलाई कहिल्यै नबेच्नुहोस्‌।’ त्यसो गर्नुभयो भने दाउदले जस्तै तपाईँले पनि यहोवालाई गर्नुभएको यो प्रतिज्ञा पूरा गर्न सक्नुहुनेछ: “म तपाईँको सत्यको मार्गमा हिँड्‌नेछु।”—भज. ८६:११.

a नाम परिवर्तन गरिएको छ।

b JW ब्रोडकास्टिङमा (अङ्‌ग्रेजी) जानुहोस्‌ अनि अन्तरवार्ता तथा अनुभव > बाइबलको सत्यले जीवनलाई नयाँ मोड दिन्छ भन्‍ने शीर्षकअन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने