प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जुलाई p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाले नयाँ करार बाँध्ने कुरा बताउनुभयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • यहोवाको आध्यात्मिक मन्दिरमा उपासना गर्ने सुअवसरको मोल गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जुलाई p. ३१

पाठकहरूको प्रश्‍न

येसु कहिले प्रधानपुजारी हुनुभयो? के नयाँ करार पक्का भएको र लागू भएको छुट्टाछुट्टै समयमा हो?

इ.सं. २९ मा बप्तिस्मा गर्नुभएपछि येसु प्रधानपुजारी हुनुभयो भनेर प्रमाणले देखाउँछ। त्यो प्रमाण के हो? परमेश्‍वरको “इच्छा”-लाई सङ्‌केत गर्ने प्रतीकात्मक वेदीमा आफ्नो जीवन बलिदानको रूपमा चढाउन इच्छुक भएको कुरा येसुले बप्तिस्माको बेला देखाउनुभयो। (गला. १:४; हिब्रू १०:५-१०) त्यो प्रतीकात्मक वेदी येसुको बप्तिस्माको बेला अस्तित्वमा आएकोले महान्‌ आध्यात्मिक मन्दिर पनि त्यही बेला अस्तित्वमा आएको हुनुपर्छ। महान्‌ आध्यात्मिक मन्दिरले फिरौतीको बलिदानको आधारमा शुद्ध उपासनाको लागि यहोवाले मिलाउनुभएको प्रबन्धलाई सङ्‌केत गर्छ। त्यो आध्यात्मिक मन्दिरको एउटा मुख्य भाग वेदी हो।—मत्ति ३:१६, १७; हिब्रू ५:४-६.

महान्‌ आध्यात्मिक मन्दिर अस्तित्वमा आएपछि त्यहाँ सेवा गर्न प्रधानपुजारीको पनि आवश्‍यकता पऱ्‍यो। त्यसको लागि यहोवाले येसुलाई “पवित्र शक्‍ति अनि तागत”-ले अभिषेक गर्नुभयो। (प्रेषि. १०:३७, ३८; मर्कु. १:९-११) तर येसुलाई उहाँको मृत्यु हुनुअघि र उहाँ फेरि जीवित हुनुअघि नै प्रधानपुजारीको रूपमा अभिषेक गरियो भनेर कसरी पक्का हुन सक्छौँ? मोसाको व्यवस्थाअन्तर्गत प्रधानपुजारीको रूपमा सेवा गरेका हारुन र तिनीपछिका प्रधानपुजारीहरूको उदाहरण विचार गर्दा हामी यस प्रश्‍नको चित्तबुझ्दो जवाफ पाउँछौँ।

व्यवस्थाअनुसार प्रधानपुजारी मात्रै वासस्थानको महापवित्र कोठामा र पछि मन्दिर बनेपछि मन्दिरको महापवित्र कोठामा प्रवेश गर्न पाउँथे। महापवित्र कोठा र पवित्र कोठालाई एउटा पर्दाले छुट्ट्याएको हुन्थ्यो। प्रधानपुजारी प्रायश्‍चितको दिनमा मात्रै त्यो पर्दा पछाडिको कोठामा जान्थे। (हिब्रू ९:१-३, ६, ७) हारुन र तिनीपछि प्रधानपुजारी भएकाहरू वासस्थानको “पर्दा भएर” महापवित्र कोठामा प्रवेश गर्नुअघि नै प्रधानपुजारीको रूपमा नियुक्‍त भइसकेका हुन्थे। त्यसरी नै येसु पनि उहाँको मृत्यु हुनुअघि नै महान्‌ आध्यात्मिक मन्दिरको प्रधानपुजारी नियुक्‍त भइसक्नुभएको हुनुपर्छ। त्यसपछि उहाँ “पर्दा भएर” स्वर्ग जानुभयो र “त्यो पर्दा उहाँको शरीर हो।” (हिब्रू १०:२०) यसैकारण येसु “प्रधानपुजारीको रूपमा” आउनुभयो र त्यसपछि ‘स्वर्गमै पस्न’ उहाँ “अझ ठूलो र पूर्ण पालभित्र पस्नुभयो, जुन हातले बनाइएको . . . होइन” भनेर प्रेषित पावलले बताए।—हिब्रू ९:११, २४.

नयाँ करार पक्का भएको र लागू भएको छुट्टाछुट्टै समयमा होइन। हामी किन त्यसो भन्‍न सक्छौँ? येसुले स्वर्ग गएर हाम्रो खातिर आफ्नो त्रुटिरहित मानव जीवनको मोल परमेश्‍वरसामु प्रस्तुत गर्नुहुँदा उहाँले नयाँ करारलाई पक्का गर्ने अर्थात्‌ कानुनी मान्यता दिने प्रक्रिया सुरु गर्नुभयो। त्यही प्रक्रियाले गर्दा नयाँ करार लागू पनि भयो। त्यस प्रक्रियामा कुन-कुन कदम समावेश थिए?

सुरुमा येसु यहोवासामु उपस्थित हुनुभयो; अनि येसुले यहोवालाई आफ्नो बलिदानको मोल चढाउनुभयो; त्यसपछि यहोवाले येसुले बगाउनुभएको रगतको मोल स्विकार्नुभयो। यी कदमहरू नचालुन्जेल नयाँ करार लागू भएन।

यहोवाले येसुको बलिदानको मोल ठ्याक्कै कहिले स्विकार्नुभयो, त्यसबारे बाइबलले बताएको छैन। त्यसैले नयाँ करार कहिले पक्का भयो र लागू भयो, हामी तोकेरै भन्‍न सक्दैनौँ। तर हामीलाई यो कुरा भने थाह छ, येसु पेन्तिकोसको दस दिनअघि स्वर्ग जानुभयो। (प्रेषि. १:३) त्यो छोटो समयावधिको कुनै समयमा येसुले यहोवालाई आफ्नो बलिदानको मोल चढाउनुभयो र उहाँले त्यो स्विकार्नुभयो। (हिब्रू ९:१२) यस कुराको स्पष्ट प्रमाण पेन्तिकोसको दिनमा देखियो। (प्रेषि. २:१-४, ३२, ३३) यसरी नयाँ करार अस्तित्वमा आएको र लागू भइसकेको कुरा स्पष्ट भयो।

निष्कर्षमा भन्‍नुपर्दा, यहोवाले येसुको बलिदानको मोल स्विकारेर अभिषिक्‍त जनहरूलाई नयाँ करारमा सहभागी गराउनुभएपछि त्यो करार पक्का भयो र लागू पनि भयो, जुन करारको मध्यस्थकर्ता प्रधानपुजारी येसु हुनुहुन्छ।—हिब्रू ७:२५; ८:१-३, ६; ९:१३-१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने