प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 मार्च पृ. २०-२५
  • सृष्टिका कुराहरूबाट छोराछोरीलाई यहोवाबारे सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सृष्टिका कुराहरूबाट छोराछोरीलाई यहोवाबारे सिकाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सृष्टिका कुराहरूबाट कसरी छोराछोरीलाई सिकाउन सकिन्छ?
  • तपाईँ कहिले छोराछोरीलाई सृष्टिका कुराहरूबाट सिकाउन सक्नुहुन्छ?
  • यहोवाका ‘अदृश्‍य गुणहरू छर्लङ्‌गै देखिँदै आएका छन्‌’
  • परिवारै मिलेर यहोवाको सृष्टिबाट आनन्द उठाउनुहोस्‌
  • यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • आमाबुबा हो, छोराछोरीलाई यहोवालाई प्रेम गर्न सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • हाम्रा छोराछोरी—एउटा बहुमूल्य उत्तराधिकार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 मार्च पृ. २०-२५

अध्ययन लेख १३

सृष्टिका कुराहरूबाट छोराछोरीलाई यहोवाबारे सिकाउनुहोस्‌

“यी सब कसले बनाएका हुन्‌?”—यसै. ४०:२६.

गीत ११ सृष्टि गाउँछ यहोवाको महिमा

परिचयa

१. आमाबुबाहरू आफ्ना छोराछोरीले के गरेको चाहन्छन्‌?

आमाबुबा हो, तपाईँ आफ्ना छोराछोरीले यहोवालाई चिनेको र उहाँलाई प्रेम गरेको चाहनुहुन्छ भनेर हामीलाई थाह छ। तर परमेश्‍वर अदृश्‍य हुनुहुन्छ। परमेश्‍वरलाई वास्तविक व्यक्‍तिको रूपमा हेर्न अनि उहाँसित नजिक हुन तपाईँ छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ?—याकु. ४:८.

२. आमाबुबाले छोराछोरीलाई यहोवाका गुणहरूबारे कसरी सिकाउन सक्छन्‌?

२ छोराछोरीलाई यहोवासित नजिक हुन मदत गर्ने एउटा राम्रो तरिका भनेको तिनीहरूसित बाइबल अध्ययन गरेर हो। (२ तिमो. ३:१४-१७) तर बाइबलमा केटाकेटीले यहोवाबारे सिक्न सक्ने अर्को एउटा तरिकाबारे पनि बताइएको छ। हितोपदेशको किताबमा एक जना बुबाले आफ्नो छोरालाई एउटा कुरा कहिल्यै नभुल्न सम्झाएका छन्‌; त्यो कुरा सृष्टिमा देखिने यहोवाका गुणहरू हुन सक्छन्‌। (हितो. ३:१९-२१) यस लेखमा आमाबुबाले सृष्टिका कुराहरूबाट छोराछोरीलाई यहोवाका गुणहरूबारे सिकाउन सक्ने केही तरिका विचार गर्नेछौँ।

सृष्टिका कुराहरूबाट कसरी छोराछोरीलाई सिकाउन सकिन्छ?

३. आमाबुबाले छोराछोरीलाई कस्तो कुरा सिकाउनुपर्छ?

३ बाइबल यसो भन्छ: ‘परमेश्‍वरका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरू उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिन्छ।’ (रोमी १:२०) तपाईँ आमाबुबाहरू छोराछोरीसँगै रमणीय ठाउँहरूमा घुमघाम गर्न मन पराउनुहुन्छ होला। त्यतिबेला तिनीहरूलाई यहोवाले “बनाउनुभएका कुराहरू”-मा उहाँका कस्ता मनमोहक गुणहरू देखिन्छन्‌ भनेर बुझाउनुहोस्‌। यस सन्दर्भमा आमाबुबाले येसुको उदाहरणबाट कस्ता कुराहरू सिक्न सक्छन्‌, विचार गरौँ।

४. येसुले सृष्टिका कुराहरू प्रयोग गरेर कसरी चेलाहरूलाई सिकाउनुभयो? (लुका १२:२४; मत्ति ६:२८-३२)

४ येसुले सृष्टिका कुराहरू प्रयोग गरेर कसरी चेलाहरूलाई सिकाउनुभयो, याद गर्नुहोस्‌। एकपटक उहाँले चेलाहरूलाई कागहरू र लिली फूलहरू हेर्न भन्‍नुभयो। (लुका १२:२४; मत्ति ६:२८-३२ पढ्‌नुहोस्‌।) येसुले जुनसुकै जनावर र बोटबिरुवाबारे बताउन सक्नुहुन्थ्यो तर चेलाहरूलाई राम्रोसँग थाह भएको चरा र फूलबारे नै बताउनुभयो। सायद त्यतिबेला चेलाहरूले आकाशमा उडिरहेका कागहरू र मैदानमा फुलेका लिली फूलहरू देख्न सक्थे। के तपाईँ येसुले आफ्नो हात ती कुराहरूतर्फ तेर्स्याउँदै बोलिरहनुभएको कल्पना गर्न सक्नुहुन्छ? ती उदाहरणहरू बताउनुभएपछि उहाँले के गर्नुभयो? उहाँले चेलाहरूलाई यहोवाको उदारता र दयाबारे यस्तो सशक्‍त पाठ सिकाउनुभयो: यहोवा काग र लिली फूललाई जस्तै आफ्ना वफादार सेवकहरूलाई खुवाउनुहुन्छ र पहिराउनुहुन्छ।

५. सृष्टिका कस्ता कुराहरूबाट आमाबुबाले छोराछोरीलाई यहोवाबारे सिकाउन सक्छन्‌?

५ आमाबुबा हो, येसुको अनुकरण गर्दै तपाईँ छोराछोरीलाई कसरी सिकाउन सक्नुहुन्छ? आफूलाई मन पर्ने कुनै जनावर वा बोटबिरुवाबारे छोराछोरीलाई बताउनुहोस्‌। अनि त्यस कुराबाट यहोवाबारे के सिक्न सकिन्छ भनेर बुझाउनुहोस्‌। त्यसपछि तिनीहरूलाई कुन जनावर वा बोटबिरुवा मन पर्छ भनेर सोध्नुहोस्‌। तिनीहरूले भनेकै जनावर वा बोटबिरुवाबारे कुरा गर्नुभयो भने तपाईँले यहोवाबारे सिकाउँदा सायद तिनीहरूले अझै ध्यान दिएर सुन्‍नेछन्‌।

६. क्रिस्टोफरकी आमाबाट कस्तो कुरा सिक्न सक्छौँ?

६ सृष्टिका कुराहरूले यहोवाबारे के सिकाउँछ भनेर छलफल गर्नुअघि के आमाबुबाले कुनै जनावर वा बोटबिरुवाबारे विस्तृत अनुसन्धान गर्नुपर्छ? पर्दैन। येसुले कागहरूले कसरी खान्छन्‌ र लिली फूलहरू कसरी हुर्कन्छन्‌ भन्‍नेबारे लामो व्याख्या गर्नुभएन। हुनत छोराछोरी बेलाबेलामा प्रकृतिका कुराहरूबारे गहिरिएर बुझ्न चाहन्छन्‌ होला। तर कुनै कुरा सिकाउन कहिलेकाहीँ साधारण अभिव्यक्‍ति वा प्रश्‍न नै पर्याप्त हुन्छ। क्रिस्टोफर भाइ आफ्नो बाल्यकाल सम्झँदै यसो भन्छन्‌: “आफूवरपर देखिने सृष्टिको मोल गर्न सिकाउन आमाले हामीलाई त्यसबारे साधारण कुरा बताउनुहुन्थ्यो। पहाडतिर हुँदा उहाँ यसो भन्‍नुहुन्थ्यो: ‘हेर त त्यो पहाड, कस्तो विशाल अनि सुन्दर देखिन्छ! यहोवा कत्ति महान्‌ हुनुहुन्छ है?’ अथवा समुद्रको नजिकै हुँदा उहाँ यसो भन्‍नुहुन्थ्यो: ‘हेर त कत्ति ठूलो छाल! यहोवा कत्ति शक्‍तिशाली हुनुहुन्छ है?’” क्रिस्टोफर भन्छन्‌: “उहाँको यस्तो साधारण तर सोच्न लगाउने अभिव्यक्‍तिले हामीमा ठूलो प्रभाव पाऱ्‍यो।”

७. सृष्टिका कुराहरूमा मनन गर्न छोराछोरीलाई कसरी तालिम दिन सक्नुहुन्छ?

७ छोराछोरी हुर्कँदै जाँदा सृष्टिका कुराहरूबारे अझ गहिरिएर सोच्न र त्यसबाट यहोवाबारे सिक्न तालिम दिन सक्नुहुन्छ। परमेश्‍वरको कुनै सृष्टिलाई जोड दिँदै तिनीहरूलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: “यसबाट तिमी यहोवाबारे के सिक्न सक्छौँ?” तिनीहरूको जवाफ सुनेर सायद तपाईँ छक्कै पर्नुहुनेछ।—मत्ति २१:१६.

तपाईँ कहिले छोराछोरीलाई सृष्टिका कुराहरूबाट सिकाउन सक्नुहुन्छ?

८. “बाटोमा हिँड्‌दा” इस्राएली आमाबुबाले कस्तो मौका पाउँथे?

८ “बाटोमा हिँड्‌दा” छोराछोरीलाई यहोवाका आज्ञाहरूबारे सिकाउन इस्राएली आमाबुबालाई आग्रह गरिएको थियो। (व्यव. ११:१९) इस्राएलका बाटोहरूमा हिँड्‌दा तिनीहरूले विभिन्‍न जनावर, चराचुरुङ्‌गी र फूलहरू देख्न सक्थे। त्यतिबेला इस्राएली आमाबुबाले छोराछोरीसित यहोवाको सृष्टिबारे कुराकानी गर्ने मौका पाउँथे। तपाईँ पनि त्यसरी नै सृष्टिका कुराहरूबाट छोराछोरीलाई सिकाउन सक्नुहुन्छ। केही आमाबुबाले कसरी त्यसो गरेका छन्‌, विचार गरौँ।

९. पुनिता र कात्याबाट तपाईँ के सिक्न सक्नुहुन्छ?

९ भारतको एउटा ठूलो सहरमा बस्ने एउटी आमा पुनिता यसो भन्छिन्‌: “हामी आफ्नो परिवारलाई भेट्‌न गाउँ जाँदा यो समयलाई छोराछोरीलाई यहोवाका अद्‌भुत सृष्टिबाट सिकाउने मौकाको रूपमा हेर्छौँ। सहरको भीडभाडबाट टाढा हुँदा छोराछोरीले सृष्टिबाट अझ धेरै कुरा सिक्न सक्छन्‌ जस्तो मलाई लाग्छ।” आमाबुबा हो, छोराछोरीले तपाईँसित रमणीय ठाउँमा बिताएको समय सायद कहिल्यै बिर्सनेछैनन्‌। मोल्डोभाकी बहिनी कात्या भन्छिन्‌: “मैले आमाबुबासँग गाउँमा बिताएको समय अहिलेसम्म झलझलती सम्झन्छु। उहाँहरूले मलाई सानै उमेरमा सृष्टिका कुराहरूलाई नियाल्न र त्यसबाट यहोवाबारे के सिक्न सकिन्छ भनेर विचार गर्न सिकाउनुभयो। यसको लागि म उहाँहरूप्रति निकै आभारी छु।”

एउटी आमा आफ्नो अपार्टमेन्टबाहिर सानी छोरीलाई पुतली देखाउँदै छिन्‌।

सहरमा पनि तपाईँले सृष्टिबाट यहोवाबारे सिकाउन सक्ने कुराहरू भेट्टाउन सक्नुहुन्छ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. सहरबाहिर घुमघाम गर्न जान सकिँदैन भने आमाबुबाले के गर्न सक्छन्‌? (“आमाबुबाका लागि” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१० सहरबाहिर रमणीय ठाउँहरूमा घुमघाम गर्न जान सक्नुहुन्‍न भने नि? भारतमै बस्ने अमोल यसो भन्छन्‌: “म बस्ने ठाउँमा आमाबुबा लामो समय काममा खटिनुपर्छ र सहरबाहिर घुमघाम गर्न धेरै पैसा लाग्छ। तर सानो पार्कमा जाँदा वा आफ्नै घरको छतबाट पनि सृष्टिका कुराहरू नियालेर यहोवाका गुणहरूबारे कुरा गर्न सकिन्छ।” तपाईँले आफूवरपर ध्यान दिएर हेर्नुभयो भने छोराछोरीलाई देखाउन सक्ने सृष्टिका थुप्रै कुरा भेट्टाउन सक्नुहुन्छ। (भज. १०४:२४) सायद चराचुरुङ्‌गी, किरा-फट्याङ्‌ग्रा, बोटबिरुवा र अन्य यस्तै कुराहरू देख्न सक्नुहुन्छ। जर्मनीकी करिना यसो भन्छिन्‌: “आमालाई फूलहरू धेरै मन पर्छ। म सानी छँदा उहाँ मलाई बाहिर टहल्न लैजानुहुन्थ्यो अनि सुन्दर फूलहरू देखाउनुहुन्थ्यो।” तपाईँ आमाबुबाले छोराछोरीलाई सृष्टिबारे सिकाउन हाम्रो सङ्‌गठनले तयार पारेका थुप्रै भिडियो र प्रकाशनहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। हो, तपाईँ सहरगाउँ जुनसुकै ठाउँमा बस्नुभए तापनि छोराछोरीलाई सृष्टिका कुराहरू नियाल्न सिकाउन सक्नुहुन्छ। अब सृष्टिका कुराहरूबाट छोराछोरीलाई सिकाउन सकिने यहोवाका केही गुणबारे छलफल गरौँ।

आमाबुबाका लागि

तपाईँ jw.org मा भएका निम्न स्रोतसामग्रीहरूको सदुपयोग गर्न सक्नुहुन्छ:

  • “सृष्टि या संयोग?” शृङ्‌खलाका लेख तथा भिडियोहरू

  • जीवन सृष्टि कि संयोग? पुस्तिका

  • सृष्टिका आश्‍चर्यजनक कुराले परमेश्‍वरको महिमा प्रकट गर्छ भिडियो

  • जीवनको सुरुवातसम्बन्धी धारणा भिडियो शृङ्‌खला

यहोवाका ‘अदृश्‍य गुणहरू छर्लङ्‌गै देखिँदै आएका छन्‌’

११. आमाबुबाले छोराछोरीलाई यहोवाको प्रेमबारे कसरी बुझाउन सक्छन्‌?

११ छोराछोरीलाई यहोवाको प्रेमबारे बुझाउन तपाईँ जनावरहरूले आफ्नो बच्चालाई मायालुपूर्वक कसरी ख्याल राख्छन्‌ भनेर देखाउन सक्नुहुन्छ। (मत्ति २३:३७) तपाईँ सृष्टिमा पाइने विविधताबारे पनि जोड दिन सक्नुहुन्छ। अगाडि उल्लेख गरिएकी करिना यसो भन्छिन्‌: “हामी सँगै टहल्न जाँदा आमा मलाई थरीथरीका फूलहरू नियाल्न भन्‍नुहुन्थ्यो। ती सुन्दर फूलहरूमा यहोवाको प्रेम कसरी झल्किन्छ भनेर याद गर्न प्रोत्साहन दिनुहुन्थ्यो। अहिले ठूलो भइसकेपछि पनि म विभिन्‍न फूलहरूको डिजाइन र रङ्‌गहरू याद गर्ने गर्छु। यसले यहोवा हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर सम्झाउँछ।”

एक बुबा छोरासित कुरा गर्दै छन्‌ र तिनको हातमा पट्टी छ। घेराभित्र तिनको घुँडामा चोट लागेको देखाइएको छ।

मानिसको शरीर कस्तो अचम्मलाग्दो तरिकामा बनिएको छ भन्‍ने कुरामा जोड दिँदै यहोवाको बुद्धिबारे सिकाउन सक्नुहुन्छ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. आमाबुबाले छोराछोरीलाई यहोवाको बुद्धिबारे कसरी बुझाउन सक्छन्‌? (भजन १३९:१४) (तस्बिर पनि हेर्नुहोस्‌।)

१२ छोराछोरीलाई यहोवाको बुद्धिबारे बुझाउनुहोस्‌। यहोवा हामीभन्दा कता हो कता बुद्धिमान्‌ हुनुहुन्छ! (रोमी ११:३३) जस्तै: पानी कसरी बादलमा परिणत हुन्छ र त्यो बादल कसरी सजिलै एक ठाउँबाट अर्को ठाउँमा सर्छ भनेर तपाईँ बुझाउन सक्नुहुन्छ। (अय्यु. ३८:३६, ३७) साथै तपाईँले हामी कस्तो अचम्मलाग्दो तरिकामा बनिएका छौँ भनेर पनि बताउन सक्नुहुन्छ। (भजन १३९:१४ पढ्‌नुहोस्‌।) भ्लाडिमिर भन्‍ने बुबाको अनुभव विचार गरौँ। तिनी भन्छन्‌: “एकदिन हाम्रो छोरा साइकलबाट लड्यो र घुँडामा चोट लाग्यो। केही दिनपछि उसको घाउ निको भयो। त्यतिबेला म र मेरी श्रीमतीले यहोवाले हाम्रो शरीर कसरी आफै निको हुन सक्ने क्षमतासहित बनाउनुभएको छ भनेर उसलाई बुझायौँ। साथै मानिसले बनाएको कुनै पनि चीजमा त्यस्तो क्षमता छैन भनेर पनि बतायौँ। जस्तै: गाडी दुर्घटनामा परेर बिग्रियो भने त्यो आफै बन्दैन। यस उदाहरणले हाम्रो छोरालाई यहोवा बुद्धिमान्‌ हुनुहुन्छ भनेर बुझ्न मदत गऱ्‍यो।”

१३. आमाबुबाले छोराछोरीलाई यहोवाको शक्‍तिबारे कसरी बुझाउन सक्छन्‌? (यसैया ४०:२६)

१३ यहोवा हामीलाई आफ्नो आँखा उठाएर आकाशतिर हेर्न र उहाँले आफ्नो अथाह शक्‍तिले ताराहरूलाई कसरी आ-आफ्नो ठाउँमा राख्नुभएको छ भनेर सोच्न आग्रह गर्नुभएको छ। (यसैया ४०:२६ पढ्‌नुहोस्‌।) तपाईँ आफ्नो छोराछोरीलाई आकाशतिर हेर्न र त्यसबारे सोच्न प्रोत्साहन दिन सक्नुहुन्छ। ताइवानकी सिनसिन बहिनी आफ्नो बाल्यकाल सम्झँदै यसो भन्छिन्‌: “एकचोटि आमाले मलाई क्याम्पिङ गर्न लैजानुभयो। सहरको झिलमिल बत्तीबाट टाढा भएकोले हामीले खुला आकाशमा थुप्रै तारा देख्यौँ। त्यतिबेलातिर मलाई साथीहरूको धेरै दबाब आइरहेको थियो र यहोवाको सेवा गरिरहन नसक्ने हो कि भनेर चिन्ता लागिरहेको थियो। आमाले मलाई यहोवाले ती ताराहरू बनाउन प्रयोग गर्नुभएको शक्‍तिबारे सोच्न प्रोत्साहन दिनुभयो। अनि त्यही शक्‍ति प्रयोग गरेर मलाई जुनसुकै परीक्षाको सामना गर्न बल दिन सक्नुहुन्छ भनेर बताउनुभयो। त्यस यात्रामा सृष्टिका कुराहरू नियालेर हेरेपछि म यहोवालाई अझ राम्ररी चिन्‍न उत्प्रेरित भएँ। साथै उहाँको सेवा गरिरहने मेरो सङ्‌कल्प अझ बलियो भयो।”

१४. छोराछोरीलाई यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ भनेर कसरी बुझाउन सकिन्छ?

१४ यहोवाको सृष्टिबाट उहाँ आनन्दित परमेश्‍वर हुनुहुन्छ र हँसीमजाक मन पराउनुहुन्छ भन्‍ने कुरा झल्किन्छ। वैज्ञानिकहरूले चराचुरुङ्‌गी, माछालगायत धेरैजसो जनावर खेल्न मन पराउँछन्‌ भनेर याद गरेका छन्‌। (अय्यु. ४०:२०) जनावरहरू खेलेको देखेर तपाईँका छोराछोरी हाँसेको के तपाईँले याद गर्नुभएको छ? सायद तिनीहरूले बिरालोका छाउराहरू ऊनको डल्लासित खेलेको वा कुकुरका छाउराहरू लडीबुडी खेलेको देखेका छन्‌ होला। अर्को चोटि तपाईँका छोराछोरी जनावरहरू खेलेको देखेर रमाएको याद गर्नुभयो भने हामी आनन्दित परमेश्‍वरको सेवा गर्छौँ भनेर सम्झाउन सक्नुहुन्छ।—१ तिमो. १:११.

परिवारै मिलेर यहोवाको सृष्टिबाट आनन्द उठाउनुहोस्‌

पार्कमा एउटी छोरी आमालाई आफ्नो मनको कुरा बताउँदै छिन्‌।

सुन्दर दृश्‍य भएको रमणीय ठाउँमा छोराछोरीलाई मनको कुरा खुलेर बताउन सजिलो लाग्न सक्छ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. आमाबुबाले छोराछोरीको हृदयको कुरा कसरी निकाल्न सक्छन्‌? (हितोपदेश २०:५) (तस्बिर पनि हेर्नुहोस्‌।)

१५ कहिलेकाहीँ छोराछोरीहरू आमाबुबालाई आफ्नो समस्याबारे खुलेर बताउन गाह्रो मान्छन्‌। यस्तो बेला तपाईँले छोराछोरीको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै तानेर निकाल्नुपर्ने हुन सक्छ। (हितोपदेश २०:५ पढ्‌नुहोस्‌।) केही आमाबुबा छोराछोरीसित रमणीय ठाउँहरूमा घुम्न जाँदा यसो गर्न अझै सजिलो भएको महसुस गर्छन्‌। किन? एउटा कारण यस्तो ठाउँमा छोराछोरी र आमाबुबालाई अलमल्याउने कुराहरू खासै हुँदैनन्‌। ताइवानका मासाहिको भन्‍ने बुबा अर्को कारणबारे यसो भन्छन्‌: “छोराछोरीसित पहाड वा समुद्र किनारतिर घुम्न जाँदा तिनीहरू प्रायजसो आफ्नो चिन्ता बिर्सिएर रमाउँछन्‌। यस्तो बेला हामीलाई तिनीहरूको मनको कुरा तानेर निकाल्न अझै सजिलो लाग्छ।” अगाडि उल्लेख गरिएकी कात्या भन्छिन्‌: “स्कुलको छुट्टी भएपछि आमाले मलाई सुन्दर पार्कमा लैजानुहुन्थ्यो। यस्तो शान्त वातावरणमा उहाँलाई स्कुलमा भएका कुराहरू वा आफ्नो चिन्ताबारे बताउन अझै सजिलो लाग्थ्यो।”

१६. परिवारहरूले सृष्टिबाट कसरी आनन्द उठाउन सक्छन्‌?

१६ परिवारहरूले प्रकृतिको सुन्दर र शान्त वातावरणको आनन्द उठाउँदै पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउन सक्छन्‌। बाइबल भन्छ: “हाँस्ने एउटा समय छ” र “उफ्रने एउटा समय” छ। (उप. ३:१, ४, फुटनोट) यहोवाले बनाउनुभएका रमणीय ठाउँहरूमा रमाइलो लाग्ने कुराहरू गर्न सक्छौँ। थुप्रै परिवार सुन्दर झरना, पहाड र हिमालतिर घुम्न जान मन पराउँछन्‌। केही केटाकेटी पार्कमा दौड्‌न, खेल्न, जनावरहरू हेर्न वा नदी-तालमा पौडी खेल्न मन पराउँछन्‌। हो, यहोवाले सृष्टि गर्नुभएको प्रकृतिबाट आनन्द उठाउने थुप्रै मौका छन्‌!

१७. छोराछोरीलाई यहोवाको सृष्टिबाट आनन्द उठाउन किन सिकाउनुपर्छ?

१७ नयाँ संसारमा आमाबुबा र छोराछोरीले यहोवाको सृष्टिबाट अहिलेसम्म अनुभव नगरेको आनन्द उठाउन सक्नेछन्‌। त्यतिबेला हामी हिंस्रक जनावरहरूसित डराउनुपर्नेछैन र तिनीहरू पनि हामीसित डराउनेछैनन्‌। (यसै. ११:६-९) हामीले यहोवाले बनाउनुभएका कुराहरूबाट सधैँभरि आनन्द उठाउन सक्नेछौँ। (भज. २२:२६) आमाबुबा हो, छोराछोरीलाई सृष्टिबाट आनन्द उठाउन अहिलेदेखि नै सिकाउनुहोस्‌; ‘नयाँ संसारमा सिकाउँला’ भनेर नबस्नुहोस्‌। छोराछोरीलाई सृष्टिबाट यहोवाबारे सिकाउनुभयो भने सायद तिनीहरूले पनि राजा दाउदले जस्तै यसो भन्‍नेछन्‌: “हे यहोवा, . . . तपाईँका कामहरू अतुलनीय छन्‌।”—भज. ८६:८.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • सृष्टिका कुराहरू प्रयोग गरेर सिकाउने सन्दर्भमा हामी येसुबाट के सिक्न सक्छौँ?

  • आमाबुबाले छोराछोरीलाई यहोवाका गुणहरूबारे कहिले र कहाँ सिकाउन सक्छन्‌?

  • यहोवाको सृष्टिबाट आनन्द उठाउँदा परिवारहरूले कस्तो लाभ उठाउन सक्छन्‌?

गीत १३४ छोराछोरी—यहोवाको नासो

a थुप्रै भाइबहिनी सानो छँदा आफ्नो आमाबुबासँगै सृष्टिका कुराहरू हेरेर आनन्द उठाएको रमाइला क्षणहरू सम्झन्छन्‌। त्यतिबेला आमाबुबाले यहोवाका गुणहरूबारे सिकाउन कसरी सृष्टिका कुराहरू प्रयोग गरेका थिए भनेर तिनीहरू अहिले पनि सम्झन्छन्‌। तपाईँका छोराछोरी छन्‌ भने तपाईँ सृष्टिका कुराहरूबाट यहोवाका गुणहरूबारे कसरी सिकाउन सक्नुहुन्छ? यसबारे हामी यस लेखमा छलफल गर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने