भजनसङ्ग्रह
निर्देशकलाई; गित्तिथमा* मिलाउने। दाउदले रचेको भजन।
८ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!
२ तपाईँका वैरीहरूको कारण
तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट+ आफ्नो शक्ति प्रकट गर्नुभएको छ
ताकि शत्रुहरू र बदला लिनेहरूको मुखमा बुजो लागोस्।
३ आकाशमा तपाईँको औँलाको कामलाई विचार गर्दा,
तपाईँले बनाउनुभएका जून र तारालाई हेर्दा+
४ मानिस के हो र, जसलाई तपाईँ सम्झनुहुन्छ?
मानिसका सन्तान के हुन् र, जसको तपाईँ ख्याल राख्नुहुन्छ?+
५ तपाईँले उसलाई स्वर्गदूतहरूभन्दा केही मात्र कम गरेर बनाउनुभयो
अनि उसलाई गौरव र महिमाको मुकुट पहिऱ्याउनुभयो।
६ तपाईँले उसलाई आफ्नो हातको रचनामाथि अधिकार दिनुभयो;+
तपाईँले सबै कुरा उसको पाउमुनि राखिदिनुभयो:
७ भेडाबाख्रा र गाईवस्तु सबै
अनि जङ्गली जनावर सबै,+
८ आकाशका चराचुरुङ्गी र समुद्रका माछा
अनि समुद्रमा पौडिने जीव सबै।
९ हे यहोवा, हाम्रा प्रभु, सारा पृथ्वीमा तपाईँको नाम कत्ति गौरवशाली छ!