यहोसु
७ तर परमेश्वरको आज्ञा तोडेर इस्राएलीहरूले उहाँसित विश्वासघात गरे, तिनीहरूले नाश गर्नुपर्ने कुराहरू नाश गरेनन्। यहुदाको कुलका जेरहको घरानाका जब्दैका नाति, कर्मिका छोरा आकानले+ नाश गर्नुपर्ने केही सरसामान लिए।+ त्यसैले इस्राएलीहरूमाथि यहोवा परमेश्वरको क्रोध दन्कियो।+
२ यहोसुले यरिहोबाट केही मानिसलाई बेथेलको+ पूर्वपट्टि बेथ-आवेन नजिकै पर्ने ऐ सहरमा पठाए।+ यहोसुले ती मानिसहरूलाई यसो भने: “जाओ, त्यस सहरको जासुसी गरेर आओ।” अनि ती मानिसहरू गएर ऐ सहरको जासुसी गरे। ३ फर्केर आएपछि तिनीहरूले यहोसुलाई भने: “त्यहाँ पूरै सेना पठाउनु आवश्यक छैन। ऐ सहरलाई कब्जा गर्न दुई-तीन हजार योद्धा भए पुग्छ। त्यहाँ धेरै मानिस छैनन्, पूरै सेना पठाएर बेकारमा किन सबैलाई थकाउने?”
४ त्यसैले लगभग ३ हजार योद्धा ऐ सहरतिर लागे तर तिनीहरू त्यहाँका मानिसहरूदेखि भाग्नुपऱ्यो।+ ५ ऐ सहरका मानिसहरूले इस्राएली योद्धाहरूलाई सहरको मूलढोकादेखि तल सेबारिमसम्म* खेदे। यसरी ओरालोमा खेद्दै तिनीहरूले ३६ जना इस्राएली योद्धालाई मारे। त्यसैले इस्राएलीहरूको मुटु काँप्यो र तिनीहरूको हौसला टुट्यो।*
६ तब यहोसुले दुःखी हुँदै आफ्नो लुगा च्याते र यहोवा परमेश्वरको सन्दुकअगाडि* घोप्टो परे। तिनी र इस्राएलका नाइकेहरू साँझसम्म घोप्टो परिरहे र तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो छरिरहे। ७ यहोसुले भने: “हे ब्रह्माण्डका मालिक यहोवा! तपाईँले हामीलाई किन एमोरीहरूको हातबाट मर्न यति टाढा यर्दनपारिसम्म ल्याउनुभयो? यहाँ आउनुभन्दा त यर्दन पार नगरी त्यतै* बसेको भए बेस हुने थियो! ८ हे यहोवा, रिसानी माफ होस्! इस्राएलीहरू आफ्ना शत्रुहरूसँग हार खाएर पछि हटिसके, अब म के भनूँ? ९ कनानीहरू र त्यहाँका अरू मानिसले हामी हाऱ्यौँ भनेर सुनेपछि चारैतिरबाट घेर्नेछन् अनि यस धर्तीबाट हाम्रो नामोनिसान मेटाइदिनेछन्। त्यस्तो भयो भने तपाईँको महान् नाममा कति ठूलो कलङ्क लाग्ला!”+
१० तब यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “उठ! तिमी किन घोप्टो परेर बसिरहन्छौ? ११ इस्राएलीहरूले पाप गरेका छन्। मैले तिनीहरूसित गरेको करार तिनीहरूले तोडेका छन्।+ नाश गर्नुपर्ने केही सरसामान+ चोरेर+ तिनीहरूले आफ्ना सरसामानसँगै सुटुक्क लुकाएर राखेका छन्।+ १२ त्यसैले इस्राएलीहरू आफ्ना शत्रुहरूसामु टिक्न सक्नेछैनन्। तिनीहरू शत्रुहरूदेखि भाग्नेछन् किनभने तिनीहरू नाश हुन योग्य छन्। जे नाश गर्नुपर्ने हो, त्यसलाई सर्वनाश नगरेसम्म म तिमीलाई साथ दिनेछैनँ।+ १३ उठ, मानिसहरूलाई तयार* पार!+ अनि तिनीहरूलाई भन, ‘भोलिको लागि तयार होओ किनभने इस्राएलका परमेश्वर यहोवाले भन्नुभएको छ: “हे इस्राएलीहरू! जे नाश गर्नुपर्ने हो, त्यो तिमीहरूले राखेका छौ। तिमीहरूले त्यो नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूसामु टिक्न सक्नेछैनौ। १४ भोलि बिहान तिमीहरू आ-आफ्नो कुलअनुसार भेला होओ। यहोवा परमेश्वरले जुन कुललाई छान्नुहुन्छ,+ त्यो कुल अगाडि आओस्। अनि त्यस कुलबाट जुन घरानालाई यहोवा परमेश्वरले छान्नुहुन्छ, त्यस घरानाका परिवारहरू अगाडि आऊन्। अनि त्यसमध्ये जुन परिवारलाई यहोवा परमेश्वरले छान्नुहुन्छ, त्यस परिवारका सदस्य एक-एक गरी अगाडि आऊन्। १५ अनि नाश गर्नुपर्ने कुरा जुन मानिससँग भेटिन्छ, त्यसलाई र त्यससँग भएका सबै चिजलाई आगोमा जलाइयोस्+ किनकि त्यसले यहोवा परमेश्वरसँग गरेको करार तोड्यो+ र इस्राएलमा अपमानजनक काम गऱ्यो।”’”
१६ त्यसैले भोलिपल्ट यहोसु सबेरै उठे र तिनले इस्राएलीहरूलाई आ-आफ्नो कुलअनुसार भेला गराए। त्यसबाट यहुदाको कुल छानियो। १७ यहोसुले यहुदाको कुलका घरानाहरूलाई अगाडि आउन लगाए र त्यसबाट जेरहको घराना छानियो।+ त्यसपछि यहोसुले जेरहको घरानाका परिवारहरूलाई अगाडि आउन लगाए र त्यसबाट जब्दैको परिवार छानियो। १८ अन्तमा यहोसुले जब्दैको परिवारका सदस्यहरूलाई अगाडि आउन लगाए र त्यसबाट आकान छानिए।+ तिनी यहुदाको कुलका जेरहका वंशका जब्दैका नाति र कर्मिका छोरा थिए। १९ त्यसपछि यहोसुले आकानलाई भने: “हे मेरो छोरा, बिन्ती छ, आफ्नो गल्ती स्विकारेर इस्राएलका परमेश्वर यहोवाको सम्मान गर। तिमीले के गऱ्यौ, कृपया मलाई भन। मसित केही कुरा नलुकाऊ।”
२० आकानले यहोसुलाई भने: “इस्राएलका परमेश्वर यहोवाविरुद्ध पाप गर्ने मै हुँ। २१ लुटको धनमाल बटुल्दै गर्दा मैले सिनार+ देशको महँगो र राम्रो पोसाक, २०० शेकेल* चाँदी र ५० शेकेल सुनको लाप्सो देखेँ। अनि मलाई लोभ लाग्यो र मैले ती लिएँ। मैले त्यसलाई आफ्नो पालमुनि गाडेको छु र सुनचाँदीचाहिँ सबैभन्दा तल छ।”
२२ त्यसपछि यहोसुले तुरुन्तै मानिसहरू पठाए। तिनीहरू कुदेर आकानको पालमा गए। तिनीहरूले पालमुनि गाडेर राखेको पोसाक र त्यसमुनि सुनचाँदी भेट्टाए। २३ तब तिनीहरूले पालबाट ती सामानहरू निकालेर यहोसु र सबै इस्राएलीकहाँ ल्याए अनि यहोवा परमेश्वरको सामने राखे। २४ त्यसपछि यहोसु र सबै इस्राएलीले जेरह वंशका आकान,+ तिनले चोरेको चाँदी, महँगो पोसाक, सुनको लाप्सो,+ तिनका छोराछोरी, गोरु, गधा, भेडाबाख्रा, तिनको पाल र तिनीसँग भएका सबै थोक जम्मा गरे र तिनीहरूलाई आकोर बेँसीमा लगे।+ २५ अनि यहोसुले भने: “तिमीले हामीमाथि किन यस्तो विपत्ति* निम्त्यायौ?+ अब यहोवा परमेश्वरले तिमीमाथि विपत्ति ल्याउनुहुनेछ।” अनि सबै इस्राएलीले तिनीहरूलाई ढुङ्गाले हाने+ र जलाइदिए।+ यसरी इस्राएलीहरूले तिनीहरू सबैलाई ढुङ्गाले हिर्काएर मारे। २६ अनि इस्राएलीहरूले आकानको लासमाथि ढुङ्गाको थुप्रो लगाइदिए। ढुङ्गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ। त्यसपछि यहोवा परमेश्वरको क्रोध शान्त भयो।+ त्यसैले अहिले पनि त्यस ठाउँलाई आकोर* बेँसी भनिन्छ।