यहोसु
८ त्यसपछि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “नडराऊ, त्रसित नहोऊ।+ सबै लडाकुलाई लिएर ऐ सहरलाई आक्रमण गर। हेर! ऐ सहरका राजा, त्यहाँका बासिन्दा, त्यो सहर र त्यसको सारा इलाका मैले तिमीलाई सुम्पिदिएको छु।+ २ यरिहो सहर र त्यहाँको राजालाई तिमीले जे गरेका थियौ, ऐ सहर र यसका राजालाई पनि त्यसै गर।+ तर ऐ सहरको धनमाल र गाईवस्तु भने तिमीहरूले लिन सक्छौ। त्यस सहरलाई आक्रमण गर्न सहरको पछिल्तिर लुकेर बस्नू।”
३ तब यहोसु र सबै लडाकु ऐ सहरलाई आक्रमण गर्न माथितिर लागे। यहोसुले ३० हजार वीर योद्धा छाने र तिनीहरूलाई राती नै पठाए। ४ तिनले योद्धाहरूलाई यस्तो आदेश दिए: “तिमीहरू सहरको पछिल्तिर लुकेर बस्नू। सहरभन्दा धेरै टाढा नबस्नू। सबै जना तयार रहनू। ५ अनि म र मसँग भएका योद्धाहरू सहरतिर अघि बढ्नेछौँ; पहिलाजस्तै उनीहरू हामीलाई आक्रमण गर्न निस्कँदा+ हामी भाग्नेछौँ। ६ उनीहरू हामीलाई खेद्दै आउनेछन् अनि उनीहरूलाई सहरबाट टाढा नपुऱ्याउन्जेल हामी भागिरहनेछौँ। हामी भागेको देखेपछि उनीहरूले भन्नेछन्: ‘यिनीहरू त यसपालि पनि पहिलाजस्तै भाग्दै छन्।’+ यसरी हामी त्यहाँबाट भागेर आउनेछौँ। ७ तब लुकेर बसेको ठाउँबाट निस्केर तिमीहरूले सहर कब्जा गर्नू; तिमीहरूका परमेश्वर यहोवाले त्यो सहर तिमीहरूको हातमा सुम्पनुहुनेछ। ८ सहर कब्जा गर्नेबित्तिकै त्यहाँ आगो लगाइदिनू।+ यहोवा परमेश्वरले तिमीहरूलाई जे भन्नुभएको छ, त्यसै गर्नू। हेर, यो मेरो आदेश हो।”
९ त्यसपछि यहोसुले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्नुपर्ने ठाउँमा गए। तिनीहरू बेथेल र ऐ सहरको बीचमा अर्थात् ऐ सहरको पश्चिमतिर लुके। यहोसुचाहिँ त्यो रात बाँकी योद्धाहरूसितै बसे।
१० भोलिपल्ट यहोसु सबेरै उठे अनि आफ्ना योद्धाहरूलाई भेला गराए। त्यसपछि तिनीहरू ऐ सहर गए। तिनीहरूको अघिअघि यहोसु र इस्राएलका नाइकेहरू थिए। ११ यहोसु र तिनीसित भएका लडाकुहरू+ ऐ सहरतिर लम्के अनि तिनीहरूले सहरको उत्तरतिर छाउनी हाले। तिनीहरूले छाउनी हालेको ठाउँ र ऐ सहरको बीचमा बेँसी थियो। १२ अनि यहोसुले ५ हजारजति पुरुषलाई बेथेल+ र ऐ सहरको बीचमा अर्थात् ऐ सहरको पश्चिमतिर लुक्न लगाइसकेका थिए।+ १३ यसरी योद्धाहरूको मुख्य दल सहरको उत्तरतिर+ अनि लुकेर बसेका योद्धाहरूको दलचाहिँ सहरको पश्चिमतिर+ थियो। त्यो रात यहोसुचाहिँ त्यस बेँसीको बीचतिर गए।
१४ ऐ सहरका राजाले इस्राएली फौजलाई देखेपछि आफ्नो सेना लिएर हतारहतार सबेरै निस्के। तिनी इस्राएलीहरूसित लडाइँ गर्न त्यस ठाउँमा आइपुगे, जसको अगाडि मरुभूमि* थियो। तर सहरको पछाडितिर इस्राएलीहरू लुकेर बसेका छन् भनेर राजालाई थाह थिएन। १५ ऐ सहरका मानिसहरू आक्रमण गर्न आएपछि यहोसु र तिनका सबै योद्धा निर्जनभूमितिर भाग्न थाले।+ १६ तब ऐ सहरका सबै मानिसलाई बोलाइयो र उनीहरूले इस्राएलीहरूलाई खेद्न थाले। अनि यहोसु र तिनका योद्धाहरूलाई खेद्दै उनीहरू सहरबाट धेरै टाढा पुगे। १७ इस्राएलीहरूलाई खेद्न ऐ सहर र बेथेलबाट सबै जना निस्केकोले त्यहाँ एक जना पुरुष पनि बाँकी थिएन। सहरका मूलढोकाहरू खुल्लै छोडेर उनीहरू इस्राएलीहरूलाई खेद्न गएका थिए।
१८ अनि यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “तिम्रो हातमा भएको भाला ऐ सहरतिर तेर्स्याऊ + किनभने त्यो सहर म तिमीलाई दिनेछु।”+ तब यहोसुले आफ्नो भाला ऐ सहरतिर तेर्स्याए। १९ तिनले आफ्नो हात तेर्स्याएपछि लुकेर बसेका योद्धाहरू तुरुन्तै आफ्नो ठाउँबाट उठे अनि सहरभित्र छिरेर त्यसलाई कब्जा गरे। त्यसपछि तिनीहरूले तुरुन्तै सहरलाई आगो लगाइदिए।+
२० ऐ सहरका मानिसहरूले फर्केर हेर्दा सहरबाट धुवाँको मुस्लो निस्किरहेको देखे। यो देखेर उनीहरू लल्याकलुलुक भए र उनीहरू कतै भाग्न सकेनन्। अनि निर्जनभूमितिर भागिरहेका इस्राएलीहरू फनक्क फर्केर उनीहरूमाथि जाइलागे। २१ लुकेर बसेका योद्धाहरूले ऐ सहरलाई आफ्नो कब्जामा लिइसकेको अनि त्यहाँबाट धुवाँको मुस्लो निस्किरहेको देखेपछि यहोसु र तिनका योद्धाहरू फनक्क फर्के र ऐ सहरका मानिसहरूलाई आक्रमण गर्न थाले। २२ लुकेर बसेका योद्धाहरू पनि ऐ सहरका मानिसहरूलाई आक्रमण गर्न सहरबाट बाहिर आए। यसरी ऐ सहरका मानिसहरू इस्राएली योद्धाहरूको बीचमा फसे, इस्राएलीहरूले उनीहरूलाई दुवैतिरबाट घेरे। अनि इस्राएलीहरूले ऐ सहरका सबैलाई मारे, एक जना पनि उम्कन पाएन।+ २३ तर तिनीहरूले ऐ सहरका राजालाई+ भने जिउँदै पक्रे र यहोसुकहाँ ल्याए।
२४ निर्जनभूमिसम्म खेद्दै आएका ऐ सहरका मानिसहरूलाई इस्राएलीहरूले त्यहीँ मारे। सबैलाई तरबारले मारिसकेपछि इस्राएलीहरू ऐ सहरमा फर्के र त्यहाँ बाँकी भएकाहरूलाई पनि तरबारले मारे। २५ त्यो दिन ऐ सहरका सबै पुरुष र स्त्री—जम्मा १२ हजार जना मारिए। २६ ऐ सहरका सबै मानिसलाई नमारुन्जेल+ यहोसुले आफ्नो भाला तेर्स्याइरहे।+ २७ तर इस्राएलीहरूले त्यस सहरका गाईवस्तु र धनमाल भने आफ्नै निम्ति लिए किनभने यहोवा परमेश्वरले यहोसुलाई त्यसो गर्ने आज्ञा दिनुभएको थियो।+
२८ त्यसपछि यहोसुले ऐ सहरलाई आगो लगाएर सधैँका लागि उजाड पारिदिए+ र त्यो आजसम्म पनि उजाडै छ। २९ यहोसुले ऐ सहरका राजालाई मारे र साँझसम्म खम्बामा* झुन्ड्याए अनि घाम डुब्नै लाग्दा लासलाई तल झार्ने आदेश दिए।+ त्यसपछि तिनीहरूले लासलाई सहरको मूलढोकाबाहिर फाले र त्यसमाथि ढुङ्गाको थुप्रो लगाए। ढुङ्गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ।
३० त्यसपछि यहोसुले इस्राएलका परमेश्वर यहोवाको निम्ति एबाल डाँडामा वेदी बनाए।+ ३१ यहोवा परमेश्वरका सेवक मोसाले इस्राएलीहरूलाई दिएको र मोसाको व्यवस्थाको पुस्तकमा पनि लेखिएको यो आज्ञाअनुसारै+ यहोसुले वेदी बनाए: “ढुङ्गाको वेदी बनाउन फलामको औजार प्रयोग नगर्नू।”+ यही वेदीमा तिनीहरूले यहोवा परमेश्वरको निम्ति अग्निभेटी* र मेलबलिहरू* चढाए।+
३२ अनि मोसाले इस्राएलीहरूसामु लेखेको+ व्यवस्थाका सबै आज्ञा ढुङ्गाहरूमा लेखेर यहोसुले त्यसको नक्कल उतारे।+ ३३ सबै इस्राएली, तिनीहरूका नाइकेहरू, अफिसरहरू र न्यायकर्ताहरू दुई वटा समूह बनाएर करारको सन्दुकको* दायाँबायाँ लेवी पुजारीहरूतर्फ फर्केर उभिरहेका थिए। ती पुजारीहरूले यहोवा परमेश्वरको करारको सन्दुक बोकेका थिए। त्यहाँ इस्राएलीहरूसँगै विदेशीहरू पनि थिए।+ आशिष् पाउनको लागि इस्राएलीहरूमध्ये आधा गिरिज्जिम डाँडाको अगाडि अनि बाँकीचाहिँ एबाल डाँडाको अगाडि उभिए।+ (यहोवा परमेश्वरका सेवक मोसाले आज्ञा दिएझैँ तिनीहरूले गरे।)+ ३४ त्यसपछि यहोसुले व्यवस्थाको पुस्तकमा लेखिएका सबै आज्ञा अनि आशिष्+ र सराप+ ठूलो स्वरले पढेर सुनाए।+ ३५ यहोसुले मोसाले दिएका सबै आज्ञा एउटा पनि नछुटाई इस्राएलीहरूको सारा समुदायसामु पढे।+ त्यस समुदायमा स्त्री, केटाकेटी अनि तिनीहरूमाझ बसोबास गर्ने विदेशीहरू पनि थिए।+