मङ्गलबार, जुलाई २९
मैले तिमीलाई स्विकारेको छु।—लुका ३:२२.
यहोवा आफ्ना मानिसहरूलाई समूहको रूपमा अनुमोदन दिनुहुन्छ भनेर थाह पाउनु साँच्चै आश्वासनदायी छ! बाइबल भन्छ: “यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।” (भज. १४९:४) तर कहिलेकाहीँ कोही-कोही यत्ति धेरै निराश हुन्छन् कि तिनीहरू यस्तो सोच्ने गर्छन्: ‘के यहोवा मसित साँच्चै खुसी हुनुहुन्छ?’ बाइबलकालीन समयका यहोवाका केही वफादार उपासक पनि यस्तै भावनाले गर्दा निरुत्साहित भएका थिए। (१ समु. १:६-१०; अय्यु. २९:२, ४; भज. ५१:११) त्रुटिपूर्ण मानिसहरूले यहोवाको अनुमोदन पाउन सक्छन्। तर कसरी? हामीले येसु ख्रिष्टमाथि विश्वास गरेको आफ्नो कामद्वारा देखाउनुपर्छ र बप्तिस्मा गर्नुपर्छ। (युह. ३:१६) यसो गरेर हामीले आफ्नो पापको पश्चात्ताप गरेको र यहोवाको इच्छाअनुसार जीवन बिताउन वाचा गरेको जनसमक्ष देखाइरहेका हुन्छौँ। (प्रेषि. २:३८; ३:१९) हामीले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न यस्ता कदमहरू चाल्दा उहाँलाई खुसी लाग्छ। आफ्नो समर्पणको वाचाअनुसार जीवन बिताउन यथासक्दो गरिरह्यौँ भने हामी यहोवाको अनुमोदन पाउँछौँ र उहाँ हामीलाई आफ्नो घनिष्ठ मित्र बनाउनुहुन्छ।—भज. २५:१४. w२४.०३ पृ. २६ अनु. १-२
बुधबार, जुलाई ३०
हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।—प्रेषि. ४:२०.
अख्तियारवालाहरूले साक्षीकार्य बन्द गर्ने आदेश दिँदा समेत त्यसमा लागिरहेर हामी चेलाहरूको अनुकरण गर्न सक्छौँ। सेवाको काम पूरा गर्न यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौँ। त्यसैले साहस र बुद्धिको लागि प्रार्थना गर्नुहोस्। हामीमध्ये थुप्रैले स्वास्थ्य वा भावनात्मक समस्या, प्रियजनको मृत्यु, पारिवारिक समस्या, खेदो वा अन्य कठिनाइहरूको सामना गरिरहेका छौँ। अझ महामारी र युद्धजस्ता कुराहरूले जीवनलाई अझै कष्टकर बनाइदिएको छ। यस्तो बेला यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्। मन मिल्ने साथीलाई जस्तै यहोवालाई आफ्नो अवस्थाबारे बताउनुहोस्। उहाँले “[हाम्रो] निम्ति कदम चाल्नुहुनेछ” भनेर ढुक्क हुनुहोस्। (भज. ३७:३, ५) प्रार्थनामा लागिरह्यौँ भने हामीले ‘सङ्कष्ट आइपर्दा सहने’ बल पाउनेछौँ। (रोमी १२:१२) यहोवा आफ्ना सेवकहरूले कस्ता अवस्थाहरूको सामना गर्दै छन् भनेर जान्नुहुन्छ र “उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ।”—भज. १४५:१८, १९. w२३.०५ पृ. ५-६ अनु. १२-१५
बिहीबार, जुलाई ३१
प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।—एफि. ५:१०.
हामीले कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा “यहोवा परमेश्वरको इच्छा के हो,” त्यो बुझ्नुपर्छ र त्यसअनुसार कदम चाल्नुपर्छ। (एफि. ५:१७) हामी आफ्नो अवस्थासित मिल्ने बाइबल सिद्धान्तहरू खोज्दा परमेश्वरको सोचाइ बुझ्ने प्रयास गरेको देखाइरहेका हुन्छौँ। ती सिद्धान्तहरू लागू गर्दा हामीले सही निर्णय गर्न सक्नेछौँ। “दुष्ट” सैतानले हामीलाई व्यस्त राख्न संसारका थोकहरू चलाउँछ, जसले गर्दा हामीसित परमेश्वरको सेवा गर्ने समय नै नहुन सक्छ। (१ युह. ५:१९) ख्रिष्टियनहरूसमेत यहोवाको सेवालाई भन्दा भौतिक कुरा, शिक्षा र करिअरलाई बढी महत्त्व दिने हदसम्म पुग्न सक्छन्। त्यसो गर्ने व्यक्ति यस संसारको सोचाइबाट प्रभावित भएको देखिन्छ। हुनत यी कुराहरू आफैमा गलत छैनन् तर हामीले त्यस्ता कुराहरूलाई जीवनमा कहिल्यै पनि प्राथमिकता दिनु हुँदैन। w२४.०३ पृ. २४ अनु. १६-१७