प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es25 ६७-७७
  • जुलाई

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
  • उपशीर्षकहरू
  • मङ्‌गलबार, जुलाई १
  • बुधबार, जुलाई २
  • बिहीबार, जुलाई ३
  • शुक्रबार, जुलाई ४
  • शनिबार, जुलाई ५
  • आइतबार, जुलाई ६
  • सोमबार, जुलाई ७
  • मङ्‌गलबार, जुलाई ८
  • बुधबार, जुलाई ९
  • बिहीबार, जुलाई १०
  • शुक्रबार, जुलाई ११
  • शनिबार, जुलाई १२
  • आइतबार, जुलाई १३
  • सोमबार, जुलाई १४
  • मङ्‌गलबार, जुलाई १५
  • बुधबार, जुलाई १६
  • बिहीबार, जुलाई १७
  • शुक्रबार, जुलाई १८
  • शनिबार, जुलाई १९
  • आइतबार, जुलाई २०
  • सोमबार, जुलाई २१
  • मङ्‌गलबार, जुलाई २२
  • बुधबार, जुलाई २३
  • बिहीबार, जुलाई २४
  • शुक्रबार, जुलाई २५
  • शनिबार, जुलाई २६
  • आइतबार, जुलाई २७
  • सोमबार, जुलाई २८
  • मङ्‌गलबार, जुलाई २९
  • बुधबार, जुलाई ३०
  • बिहीबार, जुलाई ३१
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
es25 ६७-७७

जुलाई

मङ्‌गलबार, जुलाई १

उहाँ सारा देशभरि असल काम गर्दै र . . . निको पार्दै हिँड्‌नुभयो।​—प्रेषि. १०:३८.

येसुले भन्‍नुभएका र गर्नुभएका सबै कुरामा आफ्नो बुबाको सोचाइ र भावना हुबहु झल्काउनुभयो। (युह. १४:९) उहाँले गर्नुभएका कुराहरूमा चमत्कारहरू पनि समावेश छन्‌। ती चमत्कारहरूबाट हामी के सिक्न सक्छौँ? येसु र उहाँको बुबा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ। पृथ्वीमा हुनुहुँदा येसुले मानिसहरूको दुःख हटाउन आफ्नो शक्‍ति प्रयोग गरेर प्रेम गरेको देखाउनुभयो। एकचोटि दुई जना अन्धाले उहाँलाई मदतको लागि पुकारे। (मत्ति २०:३०-३४) येसु तिनीहरूको दुःख देखेर ‘टिठाउनुभयो’ र तिनीहरूलाई निको पार्नुभयो। ‘टिठाउनु’ भनेर अनुवाद गरिएको ग्रीक क्रियापदले हृदयको गहिराइबाट आउने भावनालाई बुझाउँछ। यस्तो भावना प्रेमको अभिव्यक्‍ति हो र यसले येसुलाई भोकाहरूलाई खुवाउन र कुष्ठरोगीलाई निको पार्न उत्प्रेरित गऱ्‍यो। (मत्ति १५:३२; मर्कु. १:४१) “कोमल करुणाको” परमेश्‍वर यहोवा र उहाँको छोरा हामीलाई गहिरो प्रेम गर्नुहुन्छ अनि हाम्रो दुःख देख्दा उहाँहरूलाई पनि दुःख लाग्छ। (लुका १:७८; १ पत्रु. ५:७) हो, उहाँहरू मानिसहरूलाई पिरोलिरहेको दुःख हटाउन धेरै इच्छुक हुनुहुन्छ! w२३.०४ पृ. ३ अनु. ४-५

बुधबार, जुलाई २

हे यहोवालाई प्रेम गर्नेहरू हो, खराब कुरालाई घृणा गर। उहाँले वफादार जनहरूको जीवनको रक्षा गर्नुहुन्छ; उहाँ तिनीहरूलाई दुष्टको हातबाट छुटाउनुहुन्छ।​—भज. ९७:१०.

सैतानको संसारमा गलत सोचाइले भरिएका कुराहरू लोकप्रिय छन्‌। त्यस्ता कुराहरूको प्रभावमा पर्नदेखि जोगिन हामीले सक्दो प्रयास गर्नुपर्छ। हामीले बाइबल पढेर अनि अध्ययन गरेर आफ्नो दिमाग असल कुराहरूले भर्न सक्छौँ। सभाहरूमा उपस्थित भएर अनि साक्षीकार्यमा भाग लिएर पनि हामी आफ्नो सोचाइलाई सुरक्षित राख्न सक्छौँ। अनि यहोवाले पनि हामीलाई हामीले सहन सक्नेभन्दा बाहिरको परीक्षामा पर्न दिनेछैनँ भनेर प्रतिज्ञा गर्नुभएको छ। (१ कोरि. १०:१२, १३) यस कठिन समयमा यहोवाप्रति वफादार रहिरहन हामी प्रत्येकले प्रार्थना गर्नु झन्‌ धेरै महत्त्वपूर्ण छ। हामीले प्रार्थनामा ‘मनको बह पोखाएको’ यहोवा चाहनुहुन्छ। (भज. ६२:८) यहोवाले गर्नुभएका सबै कुराको लागि उहाँको प्रशंसा गर्नुहोस्‌ र धन्यवाद चढाउनुहोस्‌। साक्षीकार्यमा साहसी हुन उहाँसित मदत माग्नुहोस्‌। समस्याहरूको सामना गर्न र प्रलोभनहरूको प्रतिरोध गर्न उहाँलाई बिन्ती गर्नुहोस्‌। यहोवालाई नियमित रूपमा प्रार्थना गर्न कुनै कुराले बाधा पुऱ्‍याउन नदिनुहोस्‌। w२३.०५ पृ. ७ अनु. १७-१८

बिहीबार, जुलाई ३

एकअर्कालाई ध्यान दिएर . . . एकअर्कालाई प्रोत्साहन दिइरहौँ।​—हिब्रू १०:२४, २५, फुटनोट।

हामी किन सभामा उपस्थित हुन्छौँ? मुख्य कारण हो, यहोवाको प्रशंसा गर्न। (भज. २६:१२; १११:१) यस कठिन समयमा एकअर्कालाई प्रोत्साहन दिन पनि हामी सभामा उपस्थित हुन्छौँ। (१ थिस्स. ५:११) हात उठाएर टिप्पणी दिँदा हामीले यी दुवै कुरा गरिरहेका हुन्छौँ। तर हामीलाई टिप्पणी दिन डर लाग्न सक्छ वा टिप्पणी दिन एकदमै इच्छुक भए पनि हात उठाएपिच्छे मौका नपाउन सक्छौँ। त्यसोभए हामी के गर्न सक्छौँ? प्रेषित पावलले हामीलाई ‘एकअर्कालाई प्रोत्साहन दिने’ कुरामा ध्यान दिनुपर्छ भनेर बताए। आफ्नो विश्‍वास प्रकट हुने सरल अभिव्यक्‍तिबाट पनि श्रोताले प्रोत्साहन पाउन सक्छन्‌ भन्‍ने कुरा बुझेका छौँ भने हामीलाई हात उठाउन त्यत्ति डर नलाग्न सक्छ। अनि आफूले चाहेजति टिप्पणी दिने मौका पाएनौँ भने पनि अरूले मौका पाएकोमा खुसी हुन सक्छौँ।—१ पत्रु. ३:८. w२३.०४ पृ. २० अनु. १-३

शुक्रबार, जुलाई ४

यरुसलेम जाओ; . . . यहोवाको भवन पुनर्निर्माण गर।​—एज्रा १:३.

राजाले एउटा उर्दी जारी गरेका छन्‌। झन्डै ७० वर्ष बेबिलोनको निर्वासनमा रहेका यहुदीहरू अब आफ्नो मातृभूमि इस्राएल फर्कन सक्छन्‌। (एज्रा १:२-४) यहोवाले मात्र यो सम्भव तुल्याउन सक्नुहुन्थ्यो। किनभने बेबिलोनीहरू आफ्ना कैदीहरूलाई मुक्‍त नगर्ने मानिसहरू भनेर चिनिन्थे। (यसै. १४:४, १७) तर अहिले बेबिलोन परास्त भएको छ र नयाँ शासकले यहुदीहरू जान सक्छन्‌ भनेर घोषणा गरेका छन्‌। त्यसैले प्रत्येक यहुदीले र अझ विशेषगरि परिवारका शिरहरूले एउटा निर्णय गर्नुपर्ने थियो: बेबिलोन छोडेर जाने वा त्यहीँ बस्ने। यो निर्णय गर्न तिनीहरूलाई पक्कै सजिलो भएन होला। वृद्धवृद्धाहरूलाई त्यो लामो यात्रा गर्न धेरै गाह्रो हुने थियो। अनि थुप्रै यहुदी त्यहीँ बेबिलोनमा जन्मिएका थिए, त्यसैले त्यो नै तिनीहरूको लागि आफ्नो घर थियो। इस्राएल त तिनीहरूको लागि केवल आफ्ना पुर्खाहरूको देश थियो। कोही-कोही यहुदी बेबिलोनमा धेरै धनी भएका हुन सक्छन्‌। त्यसैले तिनीहरूलाई आफ्नो सुविधा-सम्पन्‍न घर वा व्यापार-व्यवसाय छोड्‌ने र अपरिचित ठाउँमा बसोबास गर्ने कुरा सोच्दा मात्र पनि गाह्रो लागेको हुन सक्छ। w२३.०५ पृ. १४ अनु. १-२

शनिबार, जुलाई ५

तिमीहरू . . . तयार रहो।​—मत्ति २४:४४.

बाइबलले हामीलाई सहनशीलता, कोमल करुणा र प्रेम विकास गरिरहन प्रोत्साहन दिएको छ। लुका २१:१९ यसो भन्छ: “तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।” कलस्सी ३:१२ यसो भन्छ: “कोमल करुणा . . . धारण गर।” पहिलो थिस्सलोनिकी ४:९, १० यसो भन्छ: “आपसमा प्रेम गर्नुपर्छ भनेर परमेश्‍वरबाटै तिमीहरू सिकाइएका छौ। . . . तर हे भाइहरू हो, हामी तिमीहरूलाई यो आग्रह गर्छौँ कि तिमीहरू झन्‌ धेरै त्यसो गर्दै जाओ।” याद गर्नुहोस्‌, यी पदहरू सहनशीलता, कोमल करुणा र प्रेम देखाइरहेका चेलाहरूको लागि लेखिएको थियो। तैपनि तिनीहरूले यी गुणहरू विकास गरिरहनुपर्थ्यो। हामीले पनि त्यसै गर्नुपर्छ। प्रथम शताब्दीका ख्रिष्टियनहरूले यी गुणहरू कसरी देखाए भनेर सोच्नुहोस्‌। साथै म ती चेलाहरूको कसरी अनुकरण गर्न सक्छु र महासङ्‌कष्टको लागि तयार रहेको देखाउन सक्छु भनेर पनि विचार गर्नुहोस्‌। तपाईँले अहिल्यै परीक्षाहरू सहन सिकिसक्नुभएकोले महासङ्‌कष्ट सुरु हुँदा सहनशील भइरहने तपाईँको सङ्‌कल्प बलियो हुनेछ। w२३.०७ पृ. ३ अनु. ४, ८

आइतबार, जुलाई ६

त्यहाँ एउटा मूलबाटो हुनेछ; त्यसलाई पवित्र मार्ग भनिनेछ।​—यसै. ३५:८.

चाहे हामी अभिषिक्‍त जन हौँ वा “अरू भेडा”-को सदस्य, हामी “पवित्र मार्ग”-मा हिँडिरहनुपर्छ किनभने यसले आध्यात्मिक प्रमोदवनको बाटो हुँदै नयाँ संसारतर्फ डोऱ्‍याउँछ। (युह. १०:१६) सन्‌ १९१९ देखि लाखौँ पुरुष, स्त्री र केटाकेटी झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनबाट निस्केर यस प्रतीकात्मक मार्गमा हिँड्‌न थालेका छन्‌। जब यहुदीहरू बेबिलोनबाट निस्के, तब यहोवाले तिनीहरूको बाटोमा आएका अवरोधहरू हटाउनुभयो। (यसै. ५७:१४) आधुनिक समयको “पवित्र मार्ग”-बारे के भन्‍न सकिन्छ? सन्‌ १९१९ भन्दा सयौँ वर्षअघिदेखि यहोवाले मानिसहरूलाई महान्‌ बेबिलोनबाट निस्केर आउन मदत गर्न वफादार पुरुषहरूलाई प्रयोग गर्नुभयो। (यसैया ४०:३ तुलना गर्नुहोस्‌।) ती पुरुषहरूले आध्यात्मिक बाटो निर्माण गर्न आवश्‍यक तयारी गरे। यसले गर्दा पछि निष्कपट मानिसहरूलाई बेबिलोनबाट निस्केर आउन र आध्यात्मिक प्रमोदवनमा प्रवेश गर्न सजिलो हुने थियो, जहाँ शुद्ध उपासना पुनर्स्थापित भएको थियो। w२३.०५ पृ. १५-१६ अनु. ८-९

सोमबार, जुलाई ७

रमाउँदै यहोवाको सेवा गर। खुसीले कराउँदै उहाँसामु आओ।​—भज. १००:२.

यहोवा हामीले आनन्दित हुँदै राजीखुसीले उहाँको सेवा गरेको चाहनुहुन्छ। (२ कोरि. ९:७) तर लक्ष्य हासिल गर्ने इच्छा नै छैन भने पनि के हामीले प्रयास गरिरहनुपर्छ? प्रेषित पावलको उदाहरण विचार गरौँ। तिनले यसो भने: “म आफ्नो शरीरलाई कडा अनुशासनमा राख्छु र त्यसलाई दास बनाएर राख्छु।” (१ कोरि. ९:२५-२७, फुटनोट) कहिलेकाहीँ पावललाई यहोवाको स्तरअनुसार गरूँ जस्तो नलागे तापनि तिनले सही कुरा गर्न आफूलाई बाध्य तुल्याए। के यहोवाले पावलको सेवा स्विकार्नुभयो? पक्कै पनि! उहाँले पावललाई तिनले गरेको प्रयासको लागि इनाम दिनुभयो। (२ तिमो. ४:७, ८) कहिलेकाहीँ हामीलाई कुनै आध्यात्मिक गतिविधिमा भाग लिन मन लाग्दैन होला तर यहोवाप्रतिको प्रेमले गर्दा हामी त्यसमा भाग लिने प्रयास गर्छौँ। यसरी इच्छा नभए पनि लक्ष्य हासिल गर्न अघि बढेको देख्दा यहोवा खुसी हुनुहुन्छ। प्रेषित पावललाई जस्तै यहोवाले हाम्रो प्रयासमाथि पनि आशिष्‌ दिनुहुनेछ। (भज. १२६:५) उहाँको आशिष्‌ पाएको महसुस गर्दा हामीमा लक्ष्यसम्म पुग्ने इच्छा जाग्न सक्छ। w२३.०५ पृ. २९ अनु. ९-१०

मङ्‌गलबार, जुलाई ८

यहोवा परमेश्‍वरको दिन . . . आउँदै छ।​—१ थिस्स. ५:२.

प्रेषित पावलले यहोवाको दिनमा नबच्नेहरूलाई निदाउने मानिसहरूसित तुलना गरे। निदाउने व्यक्‍तिहरूलाई समय बितेको पत्तै हुँदैन अनि आफूवरपर के भइरहेको छ भनेर पनि थाह हुँदैन। त्यसैले कुनै महत्त्वपूर्ण घटना घट्‌दा तिनीहरू आवश्‍यक कदम चाल्न सक्दैनन्‌। आज धेरैजसो मानिस आध्यात्मिक रूपमा निदाएका छन्‌। (रोमी ११:८) तिनीहरू “अन्तको दिन”-का चिन्हहरू र महासङ्‌कष्ट नजिकै छ भन्‍ने प्रमाणहरूलाई बेवास्ता गर्छन्‌। (२ पत्रु. ३:३, ४) तर जागा रहनू भन्‍ने सल्लाह पालन गर्नु अहिले हाम्रो समयमा झनै महत्त्वपूर्ण भएको छ। (१ थिस्स. ५:६) हामी किन शान्त रहनुपर्छ? किनकि हामी राजनैतिक वा सामाजिक विषयहरूमा मुछिनदेखि अलग रहन चाहन्छौँ। यहोवाको दिन झन्‌झनै नजिकिँदै जाँदा यस्ता कुराहरूमा मुछिने दबाब पनि बढ्‌दै जानेछ। तर यस्तो दबाब आइपर्दा के गर्ने भनेर चिन्ता गर्नुपर्दैन किनकि पवित्र शक्‍तिले हामीलाई शान्त रहन र सही निर्णय गर्न मदत गर्नेछ।—लुका १२:११, १२. w२३.०६ पृ. १० अनु. ६-७

बुधबार, जुलाई ९

हे ब्रह्‍माण्डका मालिक यहोवा! कृपया मलाई सम्झनुहोस्‌ र मलाई बल दिनुहोस्‌।​—न्याय. १६:२८.

सिमसोन भन्‍ने नाम सुन्‍नेबित्तिकै तपाईँको दिमागमा के आउँछ? सायद एकदमै बलियो व्यक्‍तिको चित्र आउँछ होला। हुन पनि सिमसोन त्यस्तै थिए। तर एकचोटि तिनले गलत निर्णय गरे, जसले गर्दा एकदमै पीडादायी नतिजा भोग्नुपऱ्‍यो। तैपनि यहोवाले तिनको गल्तीमा नभई तिनले उहाँको सेवामा गरेका कामहरूमा ध्यान दिनुभयो अनि तिनको उदाहरण हाम्रो फाइदाको लागि बाइबलमा लेख्न लगाउनुभयो। यहोवाले इस्राएलीहरूलाई मदत गर्न सिमसोनलाई चलाउनुभयो। सिमसोनको मृत्यु भएको सयौँ वर्षपछि यहोवाले प्रेषित पावललाई उल्लेखनीय विश्‍वास देखाएका पुरुषहरूको सूचीमा सिमसोनको नाम पनि लेख्न लगाउनुभयो। (हिब्रू ११:३२-३४) सिमसोनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौँ। चुनौतीपूर्ण अवस्थाहरूमा समेत तिनी यहोवामा भर परे। सिमसोनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौँ र व्यावहारिक पाठहरू सिक्न सक्छौँ। w२३.०९ पृ. २ अनु. १-२

बिहीबार, जुलाई १०

आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर।​—फिलि. ४:६.

यहोवालाई नियमित रूपमा मनैदेखि प्रार्थना गर्दा हामी सहनशील हुन सक्छौँ। (१ थिस्स. ५:१७) सायद तपाईँले अहिले कुनै कठिन परीक्षा भोग्नुपरेको छैन होला। तैपनि निराश हुँदा, अलमलमा पर्दा वा दोधारमा पर्दा के तपाईँ यहोवाको डोऱ्‍याइ खोज्नुहुन्छ? तपाईँ अहिले सानातिना चुनौतीहरू आइपर्दा यहोवाको मदत खोज्ने गर्नुहुन्छ भने भविष्यमा अझै ठूला चुनौतीहरू आइपर्दा तपाईँले विनाहिचकिचाहट उहाँलाई पुकार्नुहुनेछ। अनि तपाईँलाई कहिले र कसरी मदत गर्ने भनेर यहोवा जान्‍नुहुन्छ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुहुनेछ। (भज. २७:१, ३) हामीले अहिले वफादार भई परीक्षाहरू सह्‍यौँ भने महासङ्‌कष्टमा पनि सहनशील हुने सक्ने सम्भावना धेरै हुनेछ। (रोमी ५:३) हामी किन यसो भन्‍न सक्छौँ? थुप्रै भाइबहिनीले प्रत्येक चोटि विश्‍वासको परीक्षा सहँदा त्यसले अर्को चुनौती सहन मदत गरेको अनुभव गरेका छन्‌। सहनशीलताले तिनीहरूलाई खारिन मदत गरेको छ। यहोवा मदत गर्न तयार र इच्छुक हुनुहुन्छ भन्‍ने कुरामा तिनीहरूको विश्‍वास अझ बलियो भएको छ। अनि यस्तो विश्‍वासले अर्को परीक्षा सहन मदत गरेको छ।—याकु. १:२-४. w२३.०७ पृ. ३ अनु. ७-८

शुक्रबार, जुलाई ११

मैले तिम्रो बिन्ती सुनेँ।​—उत्प. १९:२१.

यहोवाको नम्रता र दयाले उहाँलाई व्यावहारिक हुन उत्प्रेरित गर्छ। जस्तै: उहाँले सदोमका दुष्ट मानिसहरूलाई नाश गर्ने निर्णय गरिसक्नुभएको थियो। तर उहाँले आफू नम्र भएको देखाउनुभयो। यहोवाले स्वर्गदूतहरूमार्फत धर्मी लुतलाई पहाडी इलाकातिर भाग्न भन्‍नुभयो। तर लुत त्यहाँ भाग्न डराए र तिनले आफ्नो परिवारसँगै नजिकैको सानो सहर जोअरमा भाग्न पाऊँ भनेर बिन्ती गरे। तर यहोवाले त्यस सहरलाई पनि नाश गर्ने निर्णय गरिसक्नुभएको थियो। उहाँले आफूले दिएको निर्देशन लुतले अक्षरशः पालन गर्नै पर्छ भन्‍न सक्नुहुन्थ्यो। तर उहाँले लुतलाई जोअरमा भाग्न दिनुभयो र त्यो सहर नाश गर्नुभएन। (उत्प. १९:१८-२२) त्यसको सयौँ वर्षपछि यहोवाले निनवेका मानिसहरूलाई दया देखाउनुभयो। उहाँले निनवे सहर र त्यहाँका दुष्ट मानिसहरूलाई नाश गर्ने सन्देश सुनाउन भविष्यवक्‍ता योनालाई पठाउनुभयो। तर त्यहाँका मानिसहरूले पश्‍चात्ताप गरेपछि उहाँले तिनीहरूलाई दया देखाउनुभयो र नाश गर्नुभएन।—योना ३:१, १०; ४:१०, ११. w२३.०७ पृ. २१ अनु. ५

शनिबार, जुलाई १२

‘ती सेवकहरूले यहोआसको हत्या गरे। तिनीहरूले राजालाई दाउदनगरमा गाडे तर राजाहरूको चिहानमा भने होइन।’​—२ इति. २४:२५.

यहोआसको उदाहरणबाट हामी के सिक्न सक्छौँ? तिनी राम्ररी जरा नगाडिएको रूखजस्तै थिए, जसलाई अडिन टेको चाहिन्छ। टेको अर्थात्‌ यहोयादाको मृत्युपछि जब धर्मत्यागीहरूको बतास चल्न थाल्यो, तब यहोआस ढले। यसबाट हामी एउटा सशक्‍त पाठ सिक्न सक्छौँ: मण्डलीका भाइबहिनीहरू र परिवारका सदस्यहरूले परमेश्‍वरको डर मानेकोले मात्र आफूले पनि परमेश्‍वरको डर मान्‍नु सही होइन। आध्यात्मिक तवरमा बलियो रहिरहन हामीले नियमित रूपमा अध्ययन, मनन र प्रार्थना गरेर आफ्नो भक्‍ति र डरलाई कायम राख्नुपर्छ। (यर्मि. १७:७, ८; कल. २:६, ७) यहोवा हामीबाट बढ्‌तै माग गर्नुहुन्‍न। उहाँले हामीबाट चाहनुहुने कुराबारे उपदेशक १२:१३ मा यसो भनिएको छ: “साँचो परमेश्‍वरको भय मान र उहाँको आज्ञा पालन गर। यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।” जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि यदि हामी परमेश्‍वरको डर मान्छौँ भने वफादार रहन सक्नेछौँ। अनि कुनै पनि कुराले यहोवासितको हाम्रो मित्रतालाई बिगार्न सक्नेछैन। w२३.०६ पृ. १८-१९ अनु. १७-१९

आइतबार, जुलाई १३

हेर! म सबै थोक नयाँ बनाउँदै छु।​—प्रका. २१:५.

पद ५ को सुरुमा यसो भनिएको छ: “सिंहासनमा बस्नुहुनेले भन्‍नुभयो।” (प्रका. २१:५क) प्रकाशको किताबमा यहोवा स्वयम्‌ले बोल्नुभएको तीन वटा विवरण पाउँछौँ, जसमध्ये यो एउटा हो। याद गर्नुहोस्‌, यो ग्यारेन्टी न त शक्‍तिशाली स्वर्गदूतले न त फेरि जीवित हुनुभएका येसुले बरु स्वयम्‌ यहोवा परमेश्‍वरले दिनुभएको हो। त्यसैले यहोवाले यसपछि भन्‍नुभएको कुरामा हामी पूर्णतया भरोसा गर्न सक्छौँ। किन? किनकि यहोवा “कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वर” हुनुहुन्छ। (ति. १:२) त्यसैले प्रकाश २१:५, ६ मा लेखिएका शब्दहरू पक्कै पूरा हुनेछन्‌। “हेर!” शब्दबारे विचार गर्नुहोस्‌। “हेर!” भनेर अनुवाद गरिएको ग्रीक शब्द प्रकाशको किताबमा थुप्रै चोटि प्रयोग गरिएको पाउँछौँ। परमेश्‍वरले त्यसपछि के भन्‍नुभयो? उहाँले यसो भन्‍नुभयो: “म सबै थोक नयाँ बनाउँदै छु।” हुनत यहोवाले यी परिवर्तनहरू भविष्यमा गर्नुहुनेछ। तर उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा हुने कुरामा यत्ति विश्‍वस्त हुनुहुन्छ कि उहाँ ती कुराहरू पूरा हुन थालिसकेको जस्तो गरी बताउँदै हुनुहुन्छ।—यसै. ४६:१०. w२३.११ पृ. ३-४ अनु. ७-८

सोमबार, जुलाई १४

तिनी बाहिर निस्केर धुरुधुरु रोए।​—मत्ति २६:७५.

प्रेषित पत्रुसले आफ्ना कमीकमजोरीहरूसित सङ्‌घर्ष गरिरहनुपऱ्‍यो। केही उदाहरण विचार गरौँ। धर्मशास्त्रमा बताइएझैँ मानिसको छोराले दुःख भोग्नु र मारिनु आवश्‍यक छ भनेर येसुले बताउनुहुँदा पत्रुसले उहाँलाई हप्काए। (मर्कु. ८:३१-३३) पत्रुस र अन्य प्रेषितहरूले बारम्बार आफूहरूमध्ये को ठूलो हो भनेर बहस गरे। (मर्कु. ९:३३, ३४) येसुको मृत्युको अघिल्लो रात पत्रुसले आवेगमा आएर एक जना मानिसको कान च्वाट्टै काटिदिए। (युह. १८:१०) सोही रात तिनी मानिसहरूसित डराए र आफ्नो मित्र येसुलाई चिन्‍न तीन चोटि इन्कार गरे। (मर्कु. १४:६६-७२) तर पछि तिनी आफ्नो गल्ती सम्झेर धुरुधुरु रोए। येसुले एकदमै निराश भएका पत्रुसलाई त्याग्नुभएन। पुनर्जीवित हुनुभएपछि येसुले पत्रुसलाई उहाँप्रतिको प्रेम फेरि प्रमाणित गर्ने मौका दिनुभयो। उहाँले पत्रुसलाई आफ्ना भेडाहरूको हेरचाह गर्न भन्‍नुभयो। (युह. २१:१५-१७) पत्रुस उहाँले भन्‍नुभएजस्तै गर्न तयार भए। त्यसैले पेन्तिकोसको दिन पहिलो पटक पवित्र शक्‍तिद्वारा अभिषेक हुनेहरूमध्ये तिनी पनि एक थिए। w२३.०९ पृ. २२ अनु. ६-७

मङ्‌गलबार, जुलाई १५

गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।​—युह. २१:१६.

प्रेषित पत्रुसले सङ्‌गी एल्डरहरूलाई ‘परमेश्‍वरको बगालको हेरचाह गर’ भन्‍ने सल्लाह दिए। (१ पत्रु. ५:१-४) तपाईँ एल्डरहरू भाइबहिनीलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको हेरचाह गर्न चाहनुहुन्छ भनेर हामीले बुझेका छौँ। तर असाध्यै व्यस्त वा थकित भएकोले कहिलेकाहीँ यो जिम्मेवारी पूरा गर्न सक्दिनँ जस्तो तपाईँहरूलाई लाग्ला। त्यसो हो भने तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो भावना यहोवालाई पोख्नुहोस्‌। पत्रुसले यस्तो लेखे: “यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्‌।” (१ पत्रु. ४:११) तपाईँको मण्डलीका भाइबहिनीले यस युगमा समाधान हुन नसक्ने समस्याहरू भोगिरहेका छन्‌ होला। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: तपाईँले दिने मदतभन्दा “मुख्य गोठालो” येसुले दिनुहुने मदत कता हो कता धेरै छ! अनि उहाँ अहिले र नयाँ संसारमा पनि त्यसो गर्न सक्नुहुन्छ। तर यहोवा एल्डरहरूले आफ्ना भाइबहिनीलाई प्रेम गरेको, तिनीहरूको हेरचाह गरेको र “बगालको निम्ति उदाहरण” भएको मात्र चाहनुहुन्छ। w२३.०९ पृ. २९-३० अनु. १३-१४

बुधबार, जुलाई १६

बुद्धिमान्‌ मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा परमेश्‍वरलाई थाह छ।​—१ कोरि. ३:२०.

हामीले मानिसको सोचाइ राख्नु हुँदैन। यदि हामीले कुनै मामिलामा मानिसको जस्तै सोचाइ राख्यौँ भने यहोवा र उहाँका स्तरहरूलाई बेवास्ता गर्ने हदसम्म पुग्न सक्छौँ। (१ कोरि. ३:१९) “संसारको बुद्धि”-ले हामीलाई अक्सर यहोवाको नियम उल्लङ्‌घन गर्न उक्साउँछ। पर्गामम र थिआटिरा मण्डलीका केही ख्रिष्टियनले मूर्तिपूजा र अवैध यौनसम्बन्धप्रति त्यस सहरका मानिसहरूको जस्तै सोचाइ राखेका थिए। अवैध यौनसम्बन्ध राख्नुलाई हल्कासित लिएकोले येसुले दुइटै मण्डलीलाई कडा सल्लाह दिनुभयो। (प्रका. २:१४, २०) आज पनि मानिसहरूले हामीलाई गलत धारणा राख्न दबाब दिन सक्छन्‌। परिवारका सदस्यहरू र साथीभाइले यहोवाका नीतिनियमहरू एकदमै कडा छन्‌ र ती पालन गर्नुपर्दैन भनेर विश्‍वास दिलाउन खोज्छन। तिनीहरूले बाइबलका नैतिक स्तरहरू पुरानो भइसके र नैतिक तवरमा स्वच्छ रहनुपर्दैन भनेर बताउन सक्छन्‌। कहिलेकाहीँ हामीलाई यहोवाले दिनुभएको निर्देशन स्पष्ट छैन जस्तो लाग्न सक्छ। हामी “लेखिएका कुराहरूभन्दा बढ्‌ता गर्ने” पासोमा पर्न सक्छौँ।—१ कोरि. ४:६. w२३.०७ पृ. १६ अनु. १०-११

बिहीबार, जुलाई १७

साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।​—हितो. १७:१७.

येसुकी आमा मरियमलाई यहोवाको इच्छा पूरा गर्न बल चाहिएको थियो। तिनको विवाह भएको थिएन तर तिनी गर्भवती हुने थिइन्‌। तिनीसित बच्चा हुर्काउने अनुभव थिएन। तर तिनले सानो बालकको लालनपालन गर्नुपर्ने थियो, जो पछि मसीह हुने थिए। साथै तिनले कहिल्यै कसैसित शारीरिक सम्बन्ध राखेकी थिइनन्‌। तर तिनले आफ्नो मङ्‌गेतर युसुफलाई आफू गर्भवती भएको कुरा बताउनुपऱ्‍यो। तिनलाई कत्ति गाह्रो भयो होला! (लुका १:२६-३३) मरियमले यो जिम्मेवारी पूरा गर्न कसरी बल पाइन्‌? तिनले अरूको मदत खोजिन्‌। जस्तै: तिनले गब्रिएल स्वर्गदूतलाई यस जिम्मेवारीबारे थप कुरा सोधिन्‌। (लुका १:३४) अनि त्यसको केही समयपछि तिनी “पहाडी भूभागमा पर्ने” यहुदाको एउटा सहरमा बस्ने आफन्त इलिसिबालाई भेट्‌न गइन्‌। इलिसिबाले तिनको प्रशंसा गरिन्‌ र यहोवाबाट प्रेरणा पाएर मरियमको गर्भमा रहेको बच्चाबारे एउटा प्रोत्साहनदायी भविष्यवाणी गरिन्‌। (लुका १:३९-४५) यहोवाले “आफ्नो बाहुलीले पराक्रमी कामहरू गर्नुभएको छ” भनेर मरियमले बताइन्‌। (लुका १:४६-५१) उहाँले गब्रिएल र इलिसिबामार्फत मरियमलाई बलियो पार्नुभयो। w२३.१० पृ. १४-१५ अनु. १०-१२

शुक्रबार, जुलाई १८

उहाँले हामीलाई आफ्ना परमेश्‍वर तथा बुबाको लागि राजा र पुजारी बनाउनुभयो।​—प्रका. १:६.

येसुका सीमित चेलाहरू मात्र पवित्र शक्‍तिद्वारा अभिषेक हुन्छन्‌ र तिनीहरूले यहोवासितको विशेष सम्बन्धबाट आनन्द उठाउँछन्‌। यी १ लाख ४४ हजार अभिषिक्‍त जनले येसुसितै स्वर्गमा पुजारीको रूपमा सेवा गर्छन्‌। (प्रका. १४:१) तिनीहरू पृथ्वीमा छँदा परमेश्‍वरले तिनीहरूलाई पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुहुन्छ र आफ्नो धर्मपुत्रको रूपमा स्विकार्नुहुन्छ। वासस्थानको पवित्र कोठाले परमेश्‍वरसितको यही विशेष सम्बन्धलाई बुझाउँछ। (रोमी ८:१५-१७) वासस्थानको महापवित्र कोठाले स्वर्गलाई बुझाउँछ, जहाँ यहोवा बास गर्नुहुन्छ। पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याउने “पर्दा”-ले येसुको भौतिक शरीरलाई बुझाउँछ। भौतिक शरीर होउन्जेल येसु आध्यात्मिक मन्दिरको महान्‌ प्रधानपुजारीको रूपमा स्वर्गमा प्रवेश गर्न सक्नुहुन्‍नथ्यो। आफ्नो भौतिक शरीर मानिसजातिको लागि बलिदानको रूपमा दिनुभएर येसुले सबै अभिषिक्‍त ख्रिष्टियनको लागि स्वर्ग जाने बाटो खोलिदिनुभयो। तर रगत र मासुको शरीर होउन्जेल तिनीहरूले स्वर्गीय इनाम पाउनेछैनन्‌।—हिब्रू १०:१९, २०; १ कोरि. १५:५०. w२३.१० पृ. २८ अनु. १३

शनिबार, जुलाई १९

‘गिदोनको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।’​—हिब्रू ११:३२.

एप्रैमका मानिसहरूले गिदोनको आलोचना गर्दा तिनी शान्त रहे। (न्याय. ८:१-३) तिनले रिसाउँदै जवाफ दिएनन्‌। तिनले उनीहरूको गुनासो सुने र उनीहरूसित दयालुपूर्वक बोले, जसले गर्दा उनीहरूको रिस शान्त भयो। एल्डरहरू पनि गिदोनको अनुकरण गर्दै कसैले आलोचना गर्दा ध्यान दिएर सुन्छन्‌ अनि दयालुपूर्वक बोल्छन्‌। (याकु. ३:१३) यसो गर्दा तिनीहरूले मण्डलीको शान्तिमा योगदान पुऱ्‍याइरहेका हुन्छन्‌। गिदोनले मिद्यानीहरूमाथि विजय हासिल गर्दा अरूले तिनको प्रशंसा गरे। तर तिनले मानिसहरूको ध्यान यहोवातर्फ मोडे। (न्याय. ८:२२, २३) नियुक्‍त पुरुषहरूले कसरी गिदोनको अनुकरण गर्न सक्छन्‌? तिनीहरूले आफ्ना उपलब्धिहरूको लागि यहोवालाई श्रेय दिन सक्छन्‌। (१ कोरि. ४:६, ७) उदाहरणको लागि, कुनै एल्डर पोख्त वक्‍ता भएकोले भाइबहिनीले तिनको प्रशंसा गर्न सक्छन्‌। त्यतिबेला तिनले आफूले सिकाएको कुराको मूल स्रोत परमेश्‍वरको वचन वा यहोवाको सङ्‌गठनबाट पाएको प्रशिक्षणतर्फ भाइबहिनीको ध्यान मोड्‌न सक्छन्‌। एल्डरहरूले भाइबहिनीको ध्यान आफूतर्फ खिचिरहेको छु कि भनेर बेलाबेलामा जाँच्नु बेस हुन्छ। w२३.०६ पृ. ४ अनु. ७-८

आइतबार, जुलाई २०

मेरो विचार तिमीहरूको विचारभन्दा फरक छ।​—यसै. ५५:८.

हामीले प्रार्थनामा मागेको कुनै कुरा पूरा भएन भने आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ, ‘के मैले उचित कुराको लागि प्रार्थना गरिरहेको छु?’ अक्सर हामीलाई यस्तो लाग्न सक्छ: ‘मेरो लागि सबैभन्दा राम्रो के हो, मलाई राम्ररी थाह छ।’ तर हामीले मागेको कुरा हाम्रो लागि पछिसम्म लाभदायी नहुन पनि सक्छ। कुनै समस्याबारे प्रार्थना गरिरहेका छौँ भने हाम्रो मनमा एउटा समाधान होला तर त्योभन्दा राम्रो समाधान अर्को पनि हुन सक्छ। अनि हामीले मागेको कुनै-कुनै कुरा यहोवाको इच्छाअनुरूप नहुन सक्छ। (१ युह. ५:१४) जस्तै: आमाबुबाले छोरा सत्यमै रहिरहोस्‌ भनेर प्रार्थना गरेका थिए होलान्‌। हुनत त्यो बिन्ती सही नै जस्तो देखिन्छ। तर यहोवाले उहाँको उपासना गर्न कसैलाई पनि जबरजस्ती गर्नुहुन्‍न। छोराछोरीलगायत हामी सबैले उहाँको उपासना गर्ने छनौट गरेको उहाँ चाहनुहुन्छ। (व्यव. १०:१२, १३; ३०:१९, २०) त्यसैले ती आमाबुबाले छोराको मनसम्म पुग्नेगरि सत्य सिकाउन यहोवासित मदत माग्नु उचित हुन्थ्यो। किनकि त्यसरी सिकाउँदा ती छोरा यहोवालाई प्रेम गर्न र उहाँको साथी बन्‍न उत्प्रेरित हुन सक्छन्‌।—हितो. २२:६; एफि. ६:४. w२३.११ पृ. २१ अनु. ५; पृ. २३ अनु. १२

सोमबार, जुलाई २१

एकअर्कालाई . . . सान्त्वना दिइरहो।​—१ थिस्स. ४:१८.

अरूलाई सान्त्वना दिनु किन प्रेम देखाउने एउटा महत्त्वपूर्ण तरिका हो? “सान्त्वना” भनेर अनुवाद गरिएको ग्रीक शब्दबारे बाइबलसम्बन्धी एउटा किताबमा यसो भनिएको छ: त्यस शब्दको अर्थ “कुनै व्यक्‍तिले कठिन परीक्षाको सामना गर्दा तिनलाई प्रोत्साहन दिन तिनको छेवैमा उभिनु हो।” त्यसैले दुःखमा परेका भाइबहिनीलाई सान्त्वना दिँदा हामीले तिनीहरूलाई हरेस नखान अनि जीवनको बाटोमा हिँडिरहन मदत गरिरहेका हुन्छौँ। दुःखमा परेका कुनै भाइबहिनीको आँसु पुछिदिँदा हामीले तिनलाई प्रेम गरेको देखाइरहेका हुन्छौँ। (२ कोरि. ७:६, ७, १३) करुणा महसुस गर्नु र सान्त्वना दिनु कसरी सम्बन्धित छ? करुणा भएको व्यक्‍ति दुःखमा परेकाहरूलाई सान्त्वना दिन र तिनीहरूलाई कुनै तरिकामा मदत गर्न उत्प्रेरित हुन्छन्‌। त्यसैले करुणा महसुस नगरी हामी अरूलाई सान्त्वना दिन सक्दैनौँ। पावलले यहोवाको करुणालाई उहाँले दिनुहुने सान्त्वनासित कसरी जोडे, विचार गर्नुहोस्‌। तिनले उहाँबारे यसो भने: “उहाँ कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।”—२ कोरि. १:३. w२३.११ पृ. ९-१० अनु. ८-१०

मङ्‌गलबार, जुलाई २२

हामी सङ्‌कष्टको बेला पनि रमाऔँ।​—रोमी ५:३.

ख्रिष्टका सबै अनुयायीले सङ्‌कष्ट भोग्नुपर्ने हुन सक्छ। प्रेषित पावलको उदाहरण विचार गरौँ। तिनले थिस्सलोनिकीहरूलाई यस्तो लेखे: “हामीले सङ्‌कष्ट भोग्नुपर्नेछ भनेर तिमीहरूसित हुँदा हामीले पहिल्यै भन्‍ने गरेका थियौँ र ठीक त्यस्तै भएको छ।” (१ थिस्स. ३:४) अनि तिनले कोरिन्थीहरूलाई यस्तो लेखे: ‘भाइहरू हो, हामीले भोगेको सङ्‌कष्टबारे तिमीहरू अनजान रहो भन्‍ने हामी चाहँदैनौँ। हाम्रो ज्यानको समेत ठेगान थिएन।’ (२ कोरि. १:८; ११:२३-२७) आज पनि ख्रिष्टियनहरूलाई आफूमाथि कुनै न कुनै किसिमको सङ्‌कष्ट आइपर्न सक्छ भनेर थाह छ। (२ तिमो. ३:१२) येसुमाथि विश्‍वास गरेकोले र उहाँको पछि लागेकोले साथीभाइ र आफन्तहरूले तपाईँसित कठोर व्यवहारसमेत गरेका होलान्‌। सबै कुरामा इमानदार हुने सङ्‌कल्प गर्नुभएकोले तपाईँको काम गर्ने ठाउँमा पनि विभिन्‍न समस्या आइरहेको छ कि? (हिब्रू १३:१८) आफ्नो आशाबारे अरूलाई बताएकोले सरकारबाट विरोधको सामना गर्नुपरेको छ कि? जस्तोसुकै सङ्‌कष्ट आइपरे पनि पावलले हामीलाई रमाउन आग्रह गरेका छन्‌। w२३.१२ पृ. १०-११ अनु. ९-१०

बुधबार, जुलाई २३

ममाथि कत्रो विपत्ति ल्यायौ!​—उत्प. ३४:३०.

याकुबले थुप्रै समस्याको सामना गर्नुपऱ्‍यो। याकुबका दुई छोरा सिमियोन अनि लेविले परिवार र यहोवाको नाममा कलङ्‌क लाग्ने काम गरे। याकुबले आफ्नी प्यारी पत्नी राहेललाई पनि गुमाउनुपऱ्‍यो। कान्छो छोरा जन्माउँदा उनको मृत्यु भएको थियो। आफू बसिरहेको ठाउँमा ठूलो अनिकाल परेकोले याकुब बुढेसकालमा मिश्र सर्न बाध्य भए। (उत्प. ३५:१६-१९; ३७:२८; ४५:९-११, २८) यी सबै परीक्षाको बाबजुद याकुबले यहोवा र उहाँका प्रतिज्ञाहरूमाथिको भरोसा कहिल्यै गुमाएनन्‌। यहोवाले तिनलाई अनुग्रह देखाइरहनुभयो। उदाहरणको लागि, यहोवाले याकुबलाई भौतिक रूपमा सम्पन्‍न बनाउनुभयो। मरिसक्यो होला भन्ठानेको आफ्नो छोरा युसुफसित पुनर्मिलन हुँदा याकुब यहोवाप्रति कत्ति कृतज्ञ भए होलान्‌! यहोवासित याकुबको घनिष्ठ सम्बन्ध थियो; त्यसैले तिनले परीक्षाहरूको सफलतापूर्वक सामना गर्न सके। (उत्प. ३०:४३; ३२:९, १०; ४६:२८-३०) यहोवासित घनिष्ठ सम्बन्ध कायम राखेका छौँ भने सोच्दै नसोचेको परीक्षा आउँदा हामीले पनि त्यसको सफलतापूर्वक सामना गर्न सक्नेछौँ। w२३.०४ पृ. १५ अनु. ६-७

बिहीबार, जुलाई २४

यहोवा मेरो गोठालो हुनुहुन्छ। मलाई कुनै कुराको कमी हुनेछैन।​—भज. २३:१.

दाउद यहोवा तिनलाई प्रेम गर्नुहुन्छ र तिनको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए। यही कुरा तिनले भजन अध्याय २३ मा बताएका छन्‌। तिनले आफू र आफ्नो गोठालो यहोवाबीचको घनिष्ठ सम्बन्धबारे वर्णन गरे। यहोवाको डोऱ्‍याइ पाउँदा तिनी सुरक्षित महसुस गर्थे र उहाँमा पूर्णतया भर पर्थे। उहाँ हरेक दिन प्रेम देखाउनुहुन्छ भन्‍ने कुरामा दाउद ढुक्क थिए। किन? यहोवाले राम्ररी ख्याल राख्नुभएको दाउदले महसुस गरे किनकि उहाँले सधैँ तिनका आवश्‍यकताहरू पूरा गरिदिनुभएको थियो। दाउद यहोवाका मित्र थिए र तिनले उहाँको अनुमोदन पाएका थिए। त्यसैले भविष्यमा जस्तोसुकै अवस्थाको सामना गर्नुपरे पनि उहाँले सबै आवश्‍यकता पूरा गरिदिनुहुनेछ भन्‍ने कुरामा तिनी ढुक्क थिए। यहोवा दाउदलाई प्रेम गर्नुहुन्छ र तिनको ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएकोले तिनी चिन्तित भएनन्‌ बरु आनन्दित र सन्तुष्ट भए।—भज. १६:११. w२४.०१ पृ. २८-२९ अनु. १२-१३

शुक्रबार, जुलाई २५

यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।​—मत्ति २८:२०.

दोस्रो विश्‍वयुद्धपछि थुप्रै देशमा शान्ति छाएकोले यहोवाका जनहरूले खुलेआम साक्षीकार्यमा भाग लिन पाए। वास्तवमा यो काम तीव्र गतिमा अघि बढिरहेको छ। आज पनि परिचालक निकायका सदस्यहरू डोऱ्‍याइको लागि ख्रिष्टमा भर पर्छन्‌। तिनीहरू भाइबहिनीलाई यहोवा र येसुको सोचाइ झल्किने निर्देशनहरू दिन चाहन्छन्‌। तिनीहरू क्षेत्रीय निरीक्षक र एल्डरहरूमार्फत सबै मण्डलीलाई निर्देशनहरू दिन्छन्‌। अभिषिक्‍त एल्डरहरू र अरू सबै एल्डर ख्रिष्टको “दाहिने हातमा” छन्‌। (प्रका. २:१) तर सबै एल्डर त्रुटिपूर्ण छन्‌ र गल्तीहरू गर्छन्‌। मोसा, यहोसु र प्रेषितहरूले पनि गल्तीहरू गरे। (गन्ती २०:१२; यहो. ९:१४, १५; रोमी ३:२३) तर ख्रिष्टले परिचालक निकाय र एल्डरहरूलाई होसियारीसाथ डोऱ्‍याइरहनुभएको छ अनि डोऱ्‍याइरहनुहुनेछ। त्यसैले येसुले नै नेतृत्व लिइरहेकाहरूलाई डोऱ्‍याइरहनुभएको छ भनेर विश्‍वास गर्ने हरकारण हामीसित छ। w२४.०२ पृ. २३-२४ अनु. १३-१४

शनिबार, जुलाई २६

परमेश्‍वरका प्यारा छोराछोरीझैँ उहाँको देखासिकी गर्नेहरू होओ।​—एफि. ५:१.

आज पनि प्रेम र कृतज्ञताले उत्प्रेरित भई यहोवाबारे कुरा गरेर हामी उहाँलाई खुसी बनाउन सक्छौँ। साक्षीकार्यमा भाग लिँदा हाम्रो मुख्य उद्देश्‍य भनेको मानिसहरूलाई यहोवाको नजिक हुन र उहाँलाई मायालु बुबाको रूपमा हेर्न मदत गर्नु हो। (याकु. ४:८) हामी मानिसहरूलाई यहोवा अनि प्रेम, न्याय, बुद्धि र शक्‍तिजस्ता उहाँका मनमोहक गुणहरूबारे बाइबलबाट बताउन पाउँदा खुसी हुन्छौँ। उहाँको देखासिकी गर्न सक्दो कोसिस गरेर पनि हामी उहाँको प्रशंसा गर्छौँ र उहाँलाई खुसी बनाउँछौँ। यसो गर्दा हामी अरूभन्दा फरक भएको कुरा मानिसहरूले याद गर्न सक्छन्‌। (मत्ति ५:१४-१६) दैनिक कामकुराको सिलसिलामा तिनीहरूलाई भेट्‌दा हामी फरक हुनुको कारण बताउन सक्छौँ। यसले गर्दा निष्कपट हृदय भएका मानिसहरू यहोवातर्फ खिचिन सक्छन्‌। यी तरिकाहरूमा यहोवाको प्रशंसा गर्दा हामीले उहाँको हृदयलाई प्रसन्‍न तुल्याइरहेका हुन्छौँ।—१ तिमो. २:३, ४. w२४.०२ पृ. १० अनु. ७

आइतबार, जुलाई २७

‘तिनले प्रोत्साहन दिनुका साथै सुधार्न सकून्‌।’​—ति. १:९.

परिपक्व ख्रिष्टियन बन्‍न तपाईँले उपयोगी सीपहरू सिक्नुपर्छ। यस्ता सीपहरूले तपाईँलाई मण्डलीका जिम्मेवारीहरू सम्हाल्न, आफ्नो अनि परिवारको भौतिक आवश्‍यकता पूरा गर्न सक्ने काम भेट्टाउन र अरूसित राम्रो सम्बन्ध कायम राख्न मदत गर्नेछ। उदाहरणको लागि, राम्ररी लेखपढ गर्न सिक्नुहोस्‌। बाइबलमा दिनहुँ परमेश्‍वरको वचन पढ्‌ने र त्यसमा मनन गर्ने व्यक्‍तिलाई आनन्दित र सफल व्यक्‍ति भनिएको छ। (भज. १:१-३) दिनहुँ बाइबल पढ्‌ने व्यक्‍तिले परमेश्‍वरको सोच्ने तरिका अझ राम्ररी बुझ्न सक्छन्‌, जसले तिनलाई राम्ररी सोचविचार गर्न र बाइबलको सिद्धान्त लागू गर्ने तरिका बुझ्न मदत गर्नेछ। (हितो. १:३, ४) हाम्रा भाइबहिनी बाइबलआधारित निर्देशन र सल्लाह-सुझावको लागि यस्ता भाइहरूको मदत खोज्छन्‌। यदि तपाईँ राम्ररी लेखपढ गर्न सक्नुहुन्छ भने तपाईँले जानकारीमूलक र विश्‍वासलाई बलियो बनाउने भाषण अनि टिप्पणीहरू तयारी गर्न सक्नुहुनेछ। साथै अर्थपूर्ण टिपोटहरू लिन सक्नुहुनेछ, जसले तपाईँलाई आफ्नो विश्‍वास बलियो बनाउन र अरूलाई प्रोत्साहन दिन मदत गर्नेछ। w२३.१२ पृ. २६-२७ अनु. ९-११

सोमबार, जुलाई २८

संसारसित एकतामा भएको दियाबलभन्दा तिमीहरूसित एकतामा हुनुहुने परमेश्‍वर महान्‌ हुनुहुन्छ।​—१ युह. ४:४.

तपाईँलाई डर लाग्दा भविष्यमा सैतानमा नाश भएपछि यहोवाले के गर्नुहुनेछ भन्‍ने कुरामा मनन गर्नुहोस्‌। गरिनेछ। सन्‌ २०१४ को अधिवेशनको एउटा प्रदर्शनमा एक जना बुबाले आफ्नो परिवारलाई प्रमोदवनमा जीवन कस्तो हुनेछ भनेर बुझाउन २ तिमोथि ३:१-५ मा बताइएका शब्दहरूलाई उल्ट्याएर यसो भनेका थिए: “तर नयाँ संसारमा असाध्यै खुसीको समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू अरूलाई प्रेम गर्ने, आध्यात्मिक धनलाई प्रेम गर्ने, धाक नलगाउने, नम्र, परमेश्‍वरको प्रशंसा गर्ने, आमाबुबाको आज्ञा पालन गर्ने, कृतज्ञ, वफादार, स्वाभाविक स्नेह भएका, सहमत हुने, अरूको विषयमा राम्रो कुरा गर्ने, संयमित, कोमल, भलाइलाई प्रेम गर्ने, विश्‍वासयोग्य, जिद्दी नगर्ने, आफूलाई ठूलो नठान्‍ने, सुखविलासलाई नभई परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको भक्‍ति गर्ने अनि त्यसैअनुसार चल्ने हुनेछन्‌; यिनीहरूको नजिक बस।” के तपाईँ आफ्नो परिवार अनि भाइबहिनीसित नयाँ संसारमा जीवन कस्तो हुनेछ भनेर कुरा गर्नुहुन्छ? w२४.०१ पृ. ६ अनु. १३-१४

मङ्‌गलबार, जुलाई २९

मैले तिमीलाई स्विकारेको छु।​—लुका ३:२२.

यहोवा आफ्ना मानिसहरूलाई समूहको रूपमा अनुमोदन दिनुहुन्छ भनेर थाह पाउनु साँच्चै आश्‍वासनदायी छ! बाइबल भन्छ: “यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।” (भज. १४९:४) तर कहिलेकाहीँ कोही-कोही यत्ति धेरै निराश हुन्छन्‌ कि तिनीहरू यस्तो सोच्ने गर्छन्‌: ‘के यहोवा मसित साँच्चै खुसी हुनुहुन्छ?’ बाइबलकालीन समयका यहोवाका केही वफादार उपासक पनि यस्तै भावनाले गर्दा निरुत्साहित भएका थिए। (१ समु. १:६-१०; अय्यु. २९:२, ४; भज. ५१:११) त्रुटिपूर्ण मानिसहरूले यहोवाको अनुमोदन पाउन सक्छन्‌। तर कसरी? हामीले येसु ख्रिष्टमाथि विश्‍वास गरेको आफ्नो कामद्वारा देखाउनुपर्छ र बप्तिस्मा गर्नुपर्छ। (युह. ३:१६) यसो गरेर हामीले आफ्नो पापको पश्‍चात्ताप गरेको र यहोवाको इच्छाअनुसार जीवन बिताउन वाचा गरेको जनसमक्ष देखाइरहेका हुन्छौँ। (प्रेषि. २:३८; ३:१९) हामीले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न यस्ता कदमहरू चाल्दा उहाँलाई खुसी लाग्छ। आफ्नो समर्पणको वाचाअनुसार जीवन बिताउन यथासक्दो गरिरह्‍यौँ भने हामी यहोवाको अनुमोदन पाउँछौँ र उहाँ हामीलाई आफ्नो घनिष्ठ मित्र बनाउनुहुन्छ।—भज. २५:१४. w२४.०३ पृ. २६ अनु. १-२

बुधबार, जुलाई ३०

हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।​—प्रेषि. ४:२०.

अख्तियारवालाहरूले साक्षीकार्य बन्द गर्ने आदेश दिँदा समेत त्यसमा लागिरहेर हामी चेलाहरूको अनुकरण गर्न सक्छौँ। सेवाको काम पूरा गर्न यहोवाले मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। त्यसैले साहस र बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌। हामीमध्ये थुप्रैले स्वास्थ्य वा भावनात्मक समस्या, प्रियजनको मृत्यु, पारिवारिक समस्या, खेदो वा अन्य कठिनाइहरूको सामना गरिरहेका छौँ। अझ महामारी र युद्धजस्ता कुराहरूले जीवनलाई अझै कष्टकर बनाइदिएको छ। यस्तो बेला यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌। मन मिल्ने साथीलाई जस्तै यहोवालाई आफ्नो अवस्थाबारे बताउनुहोस्‌। उहाँले “[हाम्रो] निम्ति कदम चाल्नुहुनेछ” भनेर ढुक्क हुनुहोस्‌। (भज. ३७:३, ५) प्रार्थनामा लागिरह्‍यौँ भने हामीले ‘सङ्‌कष्ट आइपर्दा सहने’ बल पाउनेछौँ। (रोमी १२:१२) यहोवा आफ्ना सेवकहरूले कस्ता अवस्थाहरूको सामना गर्दै छन्‌ भनेर जान्‍नुहुन्छ र “उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ।”—भज. १४५:१८, १९. w२३.०५ पृ. ५-६ अनु. १२-१५

बिहीबार, जुलाई ३१

प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।​—एफि. ५:१०.

हामीले कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा “यहोवा परमेश्‍वरको इच्छा के हो,” त्यो बुझ्नुपर्छ र त्यसअनुसार कदम चाल्नुपर्छ। (एफि. ५:१७) हामी आफ्नो अवस्थासित मिल्ने बाइबल सिद्धान्तहरू खोज्दा परमेश्‍वरको सोचाइ बुझ्ने प्रयास गरेको देखाइरहेका हुन्छौँ। ती सिद्धान्तहरू लागू गर्दा हामीले सही निर्णय गर्न सक्नेछौँ। “दुष्ट” सैतानले हामीलाई व्यस्त राख्न संसारका थोकहरू चलाउँछ, जसले गर्दा हामीसित परमेश्‍वरको सेवा गर्ने समय नै नहुन सक्छ। (१ युह. ५:१९) ख्रिष्टियनहरूसमेत यहोवाको सेवालाई भन्दा भौतिक कुरा, शिक्षा र करिअरलाई बढी महत्त्व दिने हदसम्म पुग्न सक्छन्‌। त्यसो गर्ने व्यक्‍ति यस संसारको सोचाइबाट प्रभावित भएको देखिन्छ। हुनत यी कुराहरू आफैमा गलत छैनन्‌ तर हामीले त्यस्ता कुराहरूलाई जीवनमा कहिल्यै पनि प्राथमिकता दिनु हुँदैन। w२४.०३ पृ. २४ अनु. १६-१७

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने