बुधबार, जुलाई ३०
हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।—प्रेषि. ४:२०.
अख्तियारवालाहरूले साक्षीकार्य बन्द गर्ने आदेश दिँदा समेत त्यसमा लागिरहेर हामी चेलाहरूको अनुकरण गर्न सक्छौँ। सेवाको काम पूरा गर्न यहोवाले मदत गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौँ। त्यसैले साहस र बुद्धिको लागि प्रार्थना गर्नुहोस्। हामीमध्ये थुप्रैले स्वास्थ्य वा भावनात्मक समस्या, प्रियजनको मृत्यु, पारिवारिक समस्या, खेदो वा अन्य कठिनाइहरूको सामना गरिरहेका छौँ। अझ महामारी र युद्धजस्ता कुराहरूले जीवनलाई अझै कष्टकर बनाइदिएको छ। यस्तो बेला यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्। मन मिल्ने साथीलाई जस्तै यहोवालाई आफ्नो अवस्थाबारे बताउनुहोस्। उहाँले “[हाम्रो] निम्ति कदम चाल्नुहुनेछ” भनेर ढुक्क हुनुहोस्। (भज. ३७:३, ५) प्रार्थनामा लागिरह्यौँ भने हामीले ‘सङ्कष्ट आइपर्दा सहने’ बल पाउनेछौँ। (रोमी १२:१२) यहोवा आफ्ना सेवकहरूले कस्ता अवस्थाहरूको सामना गर्दै छन् भनेर जान्नुहुन्छ र “उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ।”—भज. १४५:१८, १९. w२३.०५ पृ. ५-६ अनु. १२-१५
बिहीबार, जुलाई ३१
प्रभुलाई के स्वीकार्य छ, त्यो पक्का गरिरहो।—एफि. ५:१०.
हामीले कुनै महत्त्वपूर्ण निर्णय गर्नुपर्दा “यहोवा परमेश्वरको इच्छा के हो,” त्यो बुझ्नुपर्छ र त्यसअनुसार कदम चाल्नुपर्छ। (एफि. ५:१७) हामी आफ्नो अवस्थासित मिल्ने बाइबल सिद्धान्तहरू खोज्दा परमेश्वरको सोचाइ बुझ्ने प्रयास गरेको देखाइरहेका हुन्छौँ। ती सिद्धान्तहरू लागू गर्दा हामीले सही निर्णय गर्न सक्नेछौँ। “दुष्ट” सैतानले हामीलाई व्यस्त राख्न संसारका थोकहरू चलाउँछ, जसले गर्दा हामीसित परमेश्वरको सेवा गर्ने समय नै नहुन सक्छ। (१ युह. ५:१९) ख्रिष्टियनहरूसमेत यहोवाको सेवालाई भन्दा भौतिक कुरा, शिक्षा र करिअरलाई बढी महत्त्व दिने हदसम्म पुग्न सक्छन्। त्यसो गर्ने व्यक्ति यस संसारको सोचाइबाट प्रभावित भएको देखिन्छ। हुनत यी कुराहरू आफैमा गलत छैनन् तर हामीले त्यस्ता कुराहरूलाई जीवनमा कहिल्यै पनि प्राथमिकता दिनु हुँदैन। w२४.०३ पृ. २४ अनु. १६-१७
शुक्रबार, अगस्त १
धर्मी मानिसले धेरै दुःखकष्ट झेल्नुपर्छ तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।—भज. ३४:१९.
आजको पदमा बताइएको दुइटा महत्त्वपूर्ण बुँदा याद गर्नुहोस्: (१) धर्मी मानिसहरूले समस्याहरू भोग्नुपर्छ। (२) यहोवा हामीलाई परीक्षाहरूबाट बचाउनुहुन्छ। उहाँ हामीलाई कसरी बचाउनुहुन्छ? एउटा तरिका भनेको हामीलाई जीवनप्रति व्यावहारिक दृष्टिकोण राख्न मदत दिएर हो। यहोवाले हामी उहाँको सेवामा आनन्दित हुन सक्छौँ भनेर प्रतिज्ञा गर्नुभएको छ। तर हाम्रो जीवन चिन्तामुक्त हुनेछ भन्ने ग्यारेन्टी भने दिनुभएको छैन। (यसै. ६६:१४) उहाँ हामीलाई भविष्यमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुहुन्छ, जहाँ हामीले सधैँभरि जीवनको आनन्द उठाउन सक्नेछौँ। (२ कोरि. ४:१६-१८) त्यतिन्जेल उहाँ हामीलाई हरेक दिन उहाँको सेवामा लाग्न मदत गर्नुहुन्छ। (विला. ३:२२-२४) पुरातन र हाम्रो समयका वफादार सेवकहरूको उदाहरणबाट हामी के सिक्न सक्छौँ? हामीले पनि सोच्दै नसोचेका समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। तर यहोवामा भर पऱ्यौँ भने उहाँले सधैँ हामीलाई सम्हाल्नुहुनेछ।—भज. ५५:२२. w२३.०४ पृ. १४-१५ अनु. ३-४