मङ्गलबार, सेप्टेम्बर २३
तिमीले . . . मेरो नामको खातिर धेरै कष्ट सहेका छौ।—प्रका. २:३.
अन्तको यस कठिन समयमा यहोवाको सङ्गठनको भाग हुन पाउनु साँच्चै आशिष्को कुरा हो! संसारको अवस्था दिनप्रतिदिन खस्कँदै गइरहेको छ। तर यहोवाले हामीलाई मदत दिन मायालु आध्यात्मिक परिवार दिनुभएको छ। (भज. १३३:१) अनि उहाँ हामीलाई पारिवारिक जीवन सुखी बनाउन पनि मदत गर्नुहुन्छ। (एफि. ५:३३–६:१) साथै हामीले चिन्ता-फिक्रीको सामना गर्न सकौँ र आनन्दित हुन सकौँ भनेर उहाँ हामीलाई बुद्धि पनि दिनुहुन्छ। यहोवाको सेवामा लागिरहन हामीले कडा मेहनत गर्नुपर्छ। किन? किनकि कहिलेकाहीँ अरूले गरेका वा भनेका कुराहरूले गर्दा हाम्रो चित्त दुख्न सक्छ। हामी आफ्नै गल्तीहरूले गर्दा पनि निराश हुन सक्छौँ, खासगरि एउटै गल्ती बारम्बार दोहोरिँदा। हामी निम्न अवस्थाहरूमा सहनशील भई यहोवाको सेवामा लागिरहनुपर्छ: (१) कुनै भाइबहिनीले हाम्रो चित्त दुखाउँदा, (२) जीवनसाथीसितको सम्बन्ध बिग्रँदा र (३) आफ्नै कमीकमजोरीले गर्दा निराश हुँदा। w२४.०३ पृ. १४ अनु. १-२
बुधबार, सेप्टेम्बर २४
हामीले जुन हदसम्म प्रगति गरिसकेका छौँ, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौँ।—फिलि. ३:१६.
तपाईँले सेवा विस्तार गरेका भाइबहिनीको अनुभव सुन्नुहुनेछ। जस्तै: राज्य प्रचारकहरूका लागि स्कुलमा गएका अथवा आवश्यकता धेरै भएको ठाउँमा बसाइँ सरेका भाइबहिनीको अनुभव। यदि परिस्थितिले दिन्छ भने तपाईँ पनि त्यस्तो लक्ष्य राख्न सक्नुहुन्छ। यहोवाका सेवकहरूले पहिलादेखि नै सेवा विस्तार गर्ने इच्छा देखाउँदै आएका छन्। (प्रेषि. १६:९) तर तपाईँ सेवा विस्तार गर्न सक्ने अवस्थामा हुनुहुन्न भने नि? त्यस्तो लक्ष्य हासिल गरेका भाइबहिनीको तुलनामा आफू त केही कामको छैन भन्ने सोचाइ नराख्नुहोस्। किनकि महत्त्वपूर्ण कुरा भनेको अन्तसम्म सहनु हो। (मत्ति १०:२२) त्यसैले यो कुरा नबिर्सनुहोस्, आफ्नो क्षमता र परिस्थितिले दिएसम्म यहोवाको सेवा गर्दा तपाईँले उहाँलाई खुसी बनाइरहनुभएको हुनेछ। अनि तपाईँ निरन्तर येसुको पछि लागिरहन सक्नुहुनेछ।—भज. २६:१. w२४.०३ पृ. १० अनु. ११
बिहीबार, सेप्टेम्बर २५
परमेश्वरले दयापूर्वक हाम्रा सबै अपराध क्षमा गर्नुभयो।—कल. २:१३.
हामीले आफ्नो पापको पश्चात्ताप गऱ्यौँ भने यहोवाले हामीलाई क्षमा दिने प्रतिज्ञा गर्नुभएको छ। (भज. ८६:५) त्यसैले आफ्नो पापको लागि मनैदेखि क्षमा माग्दा यहोवाको यस प्रतिज्ञामा भरोसा गरेको देखाइरहेका हुन्छौँ र उहाँले क्षमा दिनुभयो भनेर ढुक्क हुन सक्छौँ। यो कुरा मनमा राख्नुहोस्: यहोवा कठोर वा अव्यावहारिक हुनुहुन्न। उहाँ हाम्रो क्षमताले भ्याएजति गरेको चाहनुहुन्छ। हामीले उहाँको सेवामा सक्दो गर्दा उहाँ त्यसको कदर गर्नुहुन्छ। तनमनले यहोवाको सेवा गरेका बाइबल पात्रहरूबारे पनि विचार गर्नुहोस्। प्रेषित पावलबारे सोच्नुहोस्। तिनले वर्षौँसम्म जोसिलो भई साक्षीकार्यमा भाग लिए। तिनले सुसमाचार फैलाउन हजारौँ किलोमिटर यात्रा गरे र ठाउँ-ठाउँमा मण्डलीहरू स्थापना गरे। तर पछि तिनको परिस्थिति परिवर्तन भएकोले साक्षीकार्यमा पहिलाजति भाग लिन सकेनन्। त्यतिबेला के तिनले यहोवाको अनुमोदन गुमाए? गुमाएनन्। बरु तिनले सकेजति गरिरहे र यहोवाबाट आशिष् पाए। (प्रेषि. २८:३०, ३१) हामी पनि सधैँ एकैनासले यहोवाको सेवा गर्न सक्दैनौँ होला। तर उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँको सेवा गर्नुपछाडिको हाम्रो मनसाय हो। w२४.०३ पृ. २७ अनु. ७, ९