प्रस्थान
१० अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “फारोकहाँ जाऊ किनकि मैले उनको र उनका चाकरहरूको हृदय कठोर हुन दिएको छु।+ त्यसैले तिनीहरूलाई अब म यी चमत्कारहरू देखाएर पाठ सिकाउनेछु।+ २ साथै मैले मिश्रीहरूलाई कस्तो सजाय दिएँ र उनीहरूको बीचमा कस्ता-कस्ता चमत्कार गरेँ, त्यसबारे तिमीले आफ्ना छोरा नातिहरूलाई बताउन सक भनेर पनि मैले उनको मन कठोर हुन दिएको छु।+ यसबाट तिमीहरूले म नै यहोवा हुँ भनी पक्कै थाह पाउनेछौ।”
३ तब मोसा र हारुनले फारोकहाँ गएर भने: “हिब्रूहरूका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मेरो आज्ञा मान्न इन्कार गर्छौ?+ मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्। ४ मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो देशमा मिश्रीहरू बस्ने इलाकाभरि सलह* पठाउनेछु। ५ तिनीहरूले पूरै जमिन ढाक्नेछन्, खाली ठाउँ कतै देखिनेछैन। असिनाबाट जे-जति बचेको थियो, त्योसमेत तिनीहरूले खानेछन्। तिनीहरूले रूखको एउटै पात बाँकी राख्नेछैनन्।+ ६ ती सलहहरू तिम्रो, तिम्रा सबै चाकरको र मिश्रीहरू सबैको घरभरि हुनेछन्। तिम्रा पुर्खाहरूले पहिला कहिल्यै नदेखेको सलहको बथान तिमीले देख्नेछौ।’”+ तब मोसा फारोकहाँबाट निस्किहाले।
७ त्यसपछि चाकरहरूले फारोलाई भने: “यस मानिसले हामीलाई कहिलेसम्म हैरान पार्ने?* तिनीहरूलाई आफ्नो परमेश्वर यहोवाको सेवा गर्न जान दिनुहोस्। मिश्र तहसनहस भइसक्यो भनेर के हजुरले अझै बुझ्नुभएको छैन?” ८ मोसा र हारुनलाई फारोकहाँ फेरि हाजिर गराइयो। फारोले तिनीहरूलाई भने: “जाओ र तिमीहरूका परमेश्वर यहोवाको सेवा गर। तर जानेचाहिँ को-को?” ९ तब मोसाले भने: “हामी आफ्ना केटाकेटी, बूढाबूढी, छोराछोरी, भेडाबाख्रा र गाईवस्तु सबै लिएर जानेछौँ+ किनकि हामीले यहोवा परमेश्वरको निम्ति चाड मनाउनुपर्छ।”+ १० फारोले तिनीहरूलाई भने: “मैले कसैगरि तिमीहरूलाई जान दिएँ भने यहोवा साँच्चै तिमीहरूको साथमा हुनुहुँदो रहेछ भनेर मैले आफ्नो हार स्विकारेको ठहर्नेछ!+ तिमीहरू पक्कै केही दुष्ट चाल चल्दै छौ। ११ अहँ, म तिमीहरू सबैलाई त जान दिन्नँ। तिमीहरू यहोवाको उपासना गर्न चाहन्छौ होइन? त्यसोभए तिमीहरूबीच भएका पुरुषहरू मात्र जाओ र उहाँको उपासना गर।” त्यसपछि फारोका चाकरहरूले मोसा र हारुनलाई त्यहाँबाट खेदे।
१२ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “तिम्रो हात पसार र मिश्रभरि सलह आएर सबै वनस्पति खाऊन्; तिनीहरूले असिनाबाट बचेको एउटै कुरा बाँकी नराखून्।” १३ मोसाले आफ्नो लौरो मिश्रमाथि पसारे अनि यहोवा परमेश्वरले दिनभरि र रातभरि पूर्वीय बतास चलाउनुभयो। बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो। १४ मिश्रभरि नै सलहहरू आए र तिनीहरूले पूरै देश ढपक्कै ढाके।+ जताततै हुलका हुल सलह थिए;+ यसअघि कहिल्यै यत्ति धेरै सलह आएका थिएनन् न त पछि नै आउने थिए। १५ तिनीहरूले पूरै जमिन ढपक्कै ढाकेकोले जमिनै कालो देखियो। असिनाबाट बचेका सबै वनस्पति र रूखका फल सलहहरूले खाइदिए। मिश्रका रूख तथा वनस्पतिमा एउटै हरियो पात बाँकी रहेन।
१६ त्यसैले फारोले तुरुन्तै मोसा र हारुनलाई बोलाएर भने: “मैले तिमीहरूका परमेश्वर यहोवा र तिमीहरूविरुद्ध पाप गरेँ। १७ बिन्ती छ, यो एक पटक मलाई माफ गरिदेओ अनि ममाथि आइपरेको यो विपत्ति हटाइदिन तिमीहरूका परमेश्वर यहोवालाई बिन्ती गरिदेओ।” १८ त्यसैले तिनी* फारोकहाँबाट निस्केर गए र यहोवा परमेश्वरलाई बिन्ती चढाए।+ १९ अनि यहोवा परमेश्वरले बतास अर्कै दिशातिर फर्काइदिनुभयो र पश्चिमबाट ठूलो बतास चल्यो। पश्चिमी बतासले सलहहरूलाई हुर्ऱ्याएर लाल समुद्रमा फालिदियो। त्यसपछि मिश्रभरि एउटै सलह बाँकी रहेन। २० तर यहोवा परमेश्वरले भन्नुभएझैँ फारोको हृदय अझै पनि कठोर भइरह्यो;+ उनले इस्राएलीहरूलाई जान दिएनन्।
२१ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “आफ्नो हात आकाशतिर पसार र मिश्रभरि निस्पट्ट अँध्यारो होस्।” २२ मोसाले तुरुन्तै आफ्नो हात आकाशतिर पसारे र मिश्रभरि तीन दिनसम्म निस्पट्ट अँध्यारो भयो।+ २३ तिनीहरूले एकअर्कालाई देख्न सकेनन् र तीन दिनसम्म कतै जान सकेनन् तर इस्राएलीहरू बसेको ठाउँ भने उज्यालै थियो।+ २४ त्यसपछि फारोले मोसालाई बोलाएर भने: “जाओ, यहोवाको उपासना गर।+ तिमीहरूका छोराछोरीलाई पनि सँगै लैजाओ। तिमीहरूका भेडाबाख्रा र गाईवस्तुलाई चाहिँ यहीँ छोड।” २५ तर मोसाले भने: “होइन, हाम्रा परमेश्वर यहोवाको लागि बलि र अग्निभेटी* चढाउन हाम्रा जनावरहरू पनि सँगै लैजान दिनुहोस्।+ २६ हामी आफ्ना वस्तुभाउ एउटै छोड्नेछैनौँ, सबै लैजान्छौँ किनकि हामीलाई कुनै-कुनै वस्तुभाउ यहोवा परमेश्वरको निम्ति बलि चढाउन चाहिन्छ। अनि यहोवा परमेश्वरको उपासना गर्दा कुन जनावर चढाउनुपर्छ, त्यहाँ पुगेपछि मात्र हामीलाई थाह हुन्छ।” २७ यहोवा परमेश्वरले फारोको हृदय कठोर हुन दिनुभयो; उनले इस्राएलीहरूलाई जान दिएनन्।+ २८ फारोले मोसालाई भने: “यहाँबाट गइहाल! अबदेखि मेरो अगाडि कहिल्यै देखा नपर्नू। फेरि आयौ भने त्यही दिन तिमी मर्नेछौ।” २९ मोसाले जवाफ दिए: “हजुरको जो आज्ञा! म अब हजुरकहाँ कहिल्यै देखा पर्दिनँ।”