पहिलो समुएल
२७ पछि दाउदले यस्तो सोचे: “एक न एकदिन त साउलले मलाई मारेरै छाड्छन्। त्यसैले पलिस्तियालीहरूको देशमा भागेर जानु नै बेस होला।+ त्यसपछि त साउलले मलाई इस्राएलका इलाकाहरूमा खोज्न छोडिदिनेछन्+ र म तिनको हातबाट जोगिनेछु।” २ अनि दाउद आफूसँग भएका ६०० जना+ मानिसलाई लिएर माओकका छोरा, गाथका राजा आकिसकहाँ गए।+ ३ दाउद र उनका मानिसहरू आ-आफ्ना परिवार लिएर गाथमा आकिसकहाँ बस्न थाले। दाउदका दुई पत्नी—यिज्रेलकी अहिनोम+ र नाबालकी विधवा, कर्मेली अबिगेल+ उनीसँगै थिए। ४ दाउद भागेर गाथमा गएका छन् भन्ने खबर पाएपछि साउलले दाउदलाई खोज्न छोडिदिए।+
५ अनि दाउदले आकिसलाई भने: “मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई यहाँको कुनै एउटा सानो सहरमा बसोबास गर्न दिनुहोस्। तपाईँको यो दास राजा बस्ने सहरमा बस्न कहाँ सुहाउँछ र?” ६ तब आकिसले त्यही दिन दाउदलाई जिक्लग दिए।+ त्यसैले जिक्लग आजसम्मै यहुदाका राजाहरूको अधीनमा छ।
७ दाउद पलिस्तियालीहरूको इलाकामा एक वर्ष चार महिना बसे।+ ८ दाउद आफ्ना मानिसहरूलाई लिएर गेसुरी,+ गिर्जी र अमालेकीहरूलाई+ आक्रमण गर्न जान्थे। ती जातिहरू तेलमदेखि सुरसम्म+ र तल मिश्र देशसम्मै फैलिएर बसेका थिए। ९ ती इलाकामा आक्रमण गर्न जाँदा दाउद त्यहाँका पुरुष, स्त्री कसैलाई पनि जिउँदै छोड्दैनथे।+ तर उनी भेडाबाख्रा, गाईवस्तु, गधाहरू, उँटहरू र लुगाफाटाचाहिँ आफूसितै ल्याउँथे। त्यसपछि उनी राजा आकिसकहाँ फर्कन्थे। १० अनि राजा आकिस दाउदलाई सोध्थे: “आज तिमीले कहाँ आक्रमण गऱ्यौ?” दाउद कहिले “यहुदाको दक्षिणी इलाकामा,”*+ कहिले “यरहमेलीहरूको दक्षिणी इलाकामा”+ अनि कहिलेचाहिँ “केनीहरूको+ दक्षिणी इलाकामा” भन्थे। ११ दाउद कसैलाई गाथमा लैजानु नपरोस् भनेर कुनै पनि पुरुष वा स्त्रीलाई जिउँदै छोड्दैनथे। किनकि उनी यसो भन्थे: “नत्र यिनीहरूले गाथका मानिसहरूलाई ‘दाउदले यस्तो-यस्तो गरे’ भनेर हाम्रो विषयमा सबै कुरा बताइदेलान्।” (पलिस्तियालीहरूको इलाकामा रहुन्जेल उनले त्यसै गरिरहे।) १२ राजा आकिस दाउदको कुरा पत्याउँथे किनभने तिनी यस्तो सोच्थे: ‘दाउदलाई उसका आफ्नै मानिस—इस्राएलीहरूले घृणा गर्छन्। त्यसैले ऊ सधैँ मेरो दास भएर बस्नेछ।’