प्रस्थान
३६ “बजलेलसँगै ओहोलिआबले र यहोवा परमेश्वरले बुद्धि र समझ दिनुभएका अन्य सिपालु पुरुषहरूले यहोवा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम पवित्र सेवाको सम्पूर्ण काम पूरा गरून्।”+
२ तब मोसाले बजलेल र ओहोलिआबलाई अनि यहोवा परमेश्वरले बुद्धि दिनुभएका सबै सिपालु पुरुष+ अर्थात् राजीखुसीले काम गर्न चाहनेजति सबैलाई बोलाए।+ ३ तिनीहरू मोसाकहाँ गए र मोसाले तिनीहरूलाई पवित्र सेवाको लागि इस्राएलीहरूले ल्याएका अनुदानहरू दिए।+ तर मानिसहरूले हरेक बिहान मोसाकहाँ स्वैच्छिकभेटी ल्याउन छोडेनन्।
४ त्यसैले पवित्र काम गरिरहेका सबै सिपालु कामदार एकपछि अर्को गर्दै मोसाकहाँ आउन थाले ५ र तिनीहरूले मोसालाई भने: “यहोवा परमेश्वरले अह्राउनुभएको कामको लागि मानिसहरूले चाहिएको भन्दा धेरै भेटी ल्याउँदै छन्।” ६ त्यसैले मोसाले छाउनीभरि यस्तो घोषणा गर्न लगाए: “दाजुभाइ तथा दिदीबहिनी हो, पवित्र ठाउँको लागि अब अरू अनुदान नल्याउनुहोस्।” यसपछि मानिसहरूले भेटी ल्याउन छोडे। ७ निर्माणकार्य पूरा गर्न तिनीहरूसित चाहिनेभन्दा धेरै सरसामान भयो।
८ अनि सबै सिपालु कामदारले+ वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाए। अनि तिनले* ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको* चित्र बनाए।+ ९ प्रत्येक कपडाको लम्बाइ २८ हात* र चौडाइ ४ हात थियो। सबै कपडाको नाप एउटै थियो। १० तिनले पाँच वटा कपडालाई गाँसेर ठूलो पाल बनाए अनि बाँकी पाँच वटा कपडालाई पनि त्यसैगरि गाँसेर अर्को ठूलो पाल बनाए। ११ त्यसपछि तिनले यी दुई पाललाई गाँस्न एउटा पालको किनारामा निलो धागोले मुन्द्राहरू बनाए अनि यसमा जोड्ने अर्को पालको छेउमा पनि यसरी नै मुन्द्राहरू बनाए। १२ ती मुन्द्राहरूले दुवै पाललाई जोड्न सक्नेगरि तिनले ती दुवै पालको एउटा किनारामा ५०-५० वटा मुन्द्रा आमनेसामने पर्नेगरि बनाए। १३ त्यसपछि तिनले सुनका ५० वटा खीप बनाए र दुवै पालका मुन्द्राहरूलाई खीपले जोडे। यसरी तिनले वासस्थानको लागि दुई वटा लामोलामो पाल गाँसेर एउटा सिङ्गो पाल बनाए।
१४ त्यसपछि तिनले वासस्थानको लागि बाख्राको भुत्लाबाट कपडा बुने। यसरी तिनले जम्मा ११ वटा कपडा बनाए।+ १५ प्रत्येक कपडाको लम्बाइ ३० हात र चौडाइ ४ हात थियो। ती ११ वटा कपडाको नाप एउटै थियो। १६ अनि तिनले पाँच वटा कपडा गाँसेर सिङ्गो पाल बनाए अनि बाँकी छ वटा कपडा गाँसेर अर्को सिङ्गो पाल बनाए। १७ त्यसपछि तिनले एउटा पालको किनारामा ५० वटा अनि अर्को पालको किनारामा ५० वटा मुन्द्रा बनाए ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्न सकून्। १८ त्यसपछि तिनले ती दुवै पालका मुन्द्राहरूलाई जोडेर एउटा सिङ्गो पाल बनाउन तामाका ५० वटा खीप बनाए।
१९ तिनले वासस्थानको लागि अर्को दुई वटा पाल बनाए। एउटाचाहिँ भेडाको छालाको बनाए र त्यसलाई रातो रङ्गले रङ्ग्याए। अनि त्यसमाथि राख्न अर्को पालचाहिँ सिलको* छालाको बनाए।+
२० तिनले वासस्थानको लागि बबुल काठका+ चौकोसहरू बनाए।+ २१ प्रत्येक चौकोसको उचाइ दस हात र चौडाइ साढे एक हात थियो। २२ प्रत्येक चौकोसमा दुई-दुई वटा चूल* थियो। तिनले वासस्थानको सबै चौकोस यसरी नै बनाए। २३ तिनले वासस्थानको दक्षिण मोहडाको लागि २० वटा चौकोस बनाए। २४ अनि तिनले २० वटा चौकोसको लागि चाँदीको ४० वटा चूलघर* बनाए: प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। अनि दुई-दुई वटा चूललाई दुई-दुई वटा चूलघरमा छिराएर चौकोस ठड्याए।+ २५ वासस्थानको उत्तर मोहडाको लागि तिनले २० वटा चौकोस बनाए। २६ अनि ती चौकोसहरूका लागि चाँदीको ४० वटा चूलघर बनाए; यसरी प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर भयो।
२७ वासस्थानको पछाडिको भाग अर्थात् पश्चिम मोहडाको लागि तिनले छ वटा चौकोस बनाए।+ २८ वासस्थानको पछाडिको दुई वटा कुनाको लागि तिनले दुई वटा त्रिकोस बनाए। २९ कुनामा राखिने यी त्रिकोसहरूको टुप्पोमा एउटा-एउटा मुन्द्रा थियो; तिनले दुवै त्रिकोस यसरी नै बनाएर वासस्थानको दुई कुनामा राखे। ३० यसरी तिनले पश्चिम मोहडाको लागि जम्मा आठ वटा चौकोस र चाँदीको १६ वटा चूलघर बनाए; हरेक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।
३१ अनि तिनले बबुल काठका डन्डीहरू बनाए, वासस्थानको दक्षिण मोहडाको चौकोसको लागि पाँच वटा,+ ३२ उत्तर मोहडाको चौकोसको लागि पाँच वटा र पश्चिम मोहडा अर्थात् पछाडिको भागको चौकोसको लागि पाँच वटा। ३३ तिनले चौकोसहरूको बीचमा भएको मुन्द्रामा छिराउन एक छेउदेखि अर्को छेउसम्म पुग्ने लामो डन्डी बनाए। ३४ तिनले चौकोसहरूलाई सुनले मोहोरे र डन्डीहरू घुसाउनको लागि सुनका मुन्द्राहरू बनाए। अनि तिनले डन्डीहरूलाई सुनले मोहोरे।+
३५ अनि तिनले वासस्थानको बीचमा राख्न बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर पर्दा बनाए।+ तिनले ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको+ चित्र बनाए।+ ३६ अनि तिनले यी पर्दाहरूका लागि बबुल काठका चार वटा खामा बनाए र त्यसलाई सुनले मोहोरे। साथै सुनका अङ्कुसेहरू र चाँदीका चार वटा चूलघर पनि बनाए। ३७ तिनले वासस्थानको प्रवेशद्वारको लागि अर्को एउटा पर्दा बनाए। तिनले त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्गको धागो प्रयोग गरेर बनाए।+ ३८ साथै पाँच वटा खामा र त्यसका अङ्कुसेहरू पनि बनाए। तिनले खामाको माथिल्लो भाग र त्यसका जोडनीहरूलाई* सुनले मोहोरे तर खामाका पाँच वटा चूलघर भने तामाका बनाए।