दोस्रो इतिहास
२५ राजा हुँदा अमस्याह २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम यहोअद्दान थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+ २ अमस्याहले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे तर पूर्ण हृदयले त होइन। ३ राजसत्तामा पकड जमाउनेबित्तिकै तिनले आफ्नो बुबाको हत्या गरेका आफ्ना सेवकहरूलाई मृत्युदण्ड दिए।+ ४ तर तिनले उनीहरूका छोराहरूलाई चाहिँ मृत्युदण्ड दिएनन्। तिनले व्यवस्थामा अर्थात् मोसाको पुस्तकमा यहोवा परमेश्वरले दिनुभएको यो आज्ञा पालन गरे: “छोराको कारण बुबालाई मृत्युदण्ड नदिनू र बुबाको कारण छोरालाई मृत्युदण्ड नदिनू। जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनू।”+
५ अमस्याहले यहुदा र बिन्यामिनको कुलका सबै मानिसलाई जम्मा गरे र तिनीहरूलाई हजार-हजार र सय-सयका कप्तानहरूको नेतृत्वमा बुबापट्टिको घरानाअनुसार उभिन लगाए।+ अनि तिनले २० वर्ष र सोभन्दा माथिको उमेरका मानिसहरूको नाम दर्ता गरे।+ त्यहाँ भाला र ठूलो ढाल लिएर लडाइँमा जान सक्ने ३ लाख तालिमप्राप्त सैनिक पाइए। ६ त्यसबाहेक तिनले १०० टालेन्ट* चाँदी तिरेर इस्राएलबाट १ लाख वीर योद्धा ज्यालामा ल्याए। ७ तर साँचो परमेश्वरका एक सेवक तिनीकहाँ आए र यसो भने: “हे महाराज! इस्राएली सेनालाई तपाईँसित नलैजानुहोस्। किनकि यहोवा परमेश्वर इस्राएलीहरूसित हुनुहुन्न;+ उहाँ एप्रैमीहरूमध्ये कसैसित हुनुहुन्न। ८ लडाइँमा तपाईँ आफै जानुहोस् र साहसी भएर लड्नुहोस्। नत्र साँचो परमेश्वरले तपाईँलाई शत्रुहरूको हातबाट परास्त गराउनुहोला किनकि परमेश्वरसँग मदत गर्ने मात्र नभई परास्त गराउने शक्ति पनि छ।”+ ९ यो सुनेर अमस्याहले साँचो परमेश्वरका त्यस सेवकलाई भने: “अब के मैले इस्राएली सेनालाई दिएको १०० टालेन्ट चाँदीको चाहिँ माया मार्नु?” साँचो परमेश्वरका सेवकले जवाफ दिए: “यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ।”+ १० त्यसैले अमस्याहले एप्रैमबाट आएका सेनाका फौजहरूलाई तिनीहरूकै ठाउँमा फर्काइदिए। त्यसैले तिनीहरूलाई यहुदाका मानिसहरूसित साह्रै रिस उठ्यो; तिनीहरू रिसले चूर हुँदै आफ्नो ठाउँ फर्के।
११ तब अमस्याह साहसी भई आफ्नै सेनाका टुकडीहरूलाई लिएर नुन बेँसीमा+ गए। तिनले सेइरका १० हजार मानिसलाई मारे।+ १२ यहुदाका मानिसहरूले १० हजार मानिसलाई जिउँदै पक्रे र तिनीहरूलाई चट्टानको टुप्पोमा लगेर त्यहाँबाट खसालिदिए। तिनीहरू सबै छिन्नभिन्न भए। १३ तर जुन टुकडीहरूलाई अमस्याहले आफूसँगै लडाइँमा आउन दिएका थिएनन्+ र फर्काइदिएका थिए, ती टुकडीहरूले यहुदाका सहरहरूमा लुटपाट मच्चाए। तिनीहरूले सामरियादेखि+ बेथ-होरोनसम्मै+ आक्रमण गरे अनि ३ हजार मानिसलाई मारे। तिनीहरूले थुप्रै माल लुटेर लगे।
१४ तर एदोमीहरूलाई मारेर फर्कँदा अमस्याहले सेइरका मानिसहरूले पुज्ने मूर्तिहरू आफूसँगै ल्याए र त्यसलाई आफ्नो देवता बनाए।+ तिनले ती मूर्तिहरूलाई ढोग्न थाले र त्यसको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउन थाले। १५ त्यसैले यहोवा परमेश्वर अमस्याहसित क्रोधित हुनुभयो। उहाँले अमस्याहकहाँ एक जना भविष्यवक्ता पठाउनुभयो र ती भविष्यवक्ताले तिनलाई यसो भने: “तपाईँ ती मूर्तिहरूको पछि किन लाग्नुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईँको हातबाट बचाउन सकेनन्?”+ १६ भविष्यवक्ता बोलिरहेकै बेला राजाले बीचमै यसो भने: “चुप लाग्!+ नत्र तँ मर्नेछस्! तँलाई कसले राजाको सल्लाहकार बनायो हँ?”+ तब ती भविष्यवक्ता यसो भनेर चुप लागे: “परमेश्वरले तपाईँको सर्वनाश गर्ने निर्णय गर्नुभएको छ भनेर मलाई थाह छ। किनकि तपाईँले यस्तो नराम्रो काम गर्नुभयो र मेरो सल्लाह पनि सुन्नुभएन।”+
१७ यहुदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसित कुराकानी गरे अनि येहुका नाति, यहोअहाजका छोरा इस्राएलका राजा यहोआसकहाँ सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “आऊ, हामी रणभूमिमा भिडौँ!”+ १८ तब इस्राएलका राजा यहोआसले यहुदाका राजा अमस्याहलाई यस्तो खबर पठाए: “लेबनानको एउटा काँडेझारले लेबनानको देवदारलाई यस्तो सन्देश पठायो, ‘मेरो छोरासित तिम्री छोरीको बिहे गराइदेऊ।’ तर लेबनानको एउटा जङ्गली जनावर त्यही बाटो भएर आयो र त्यो काँडेझारलाई कुल्चीमिल्ची पारिदियो। १९ तिमीले यसो भनेका छौ: ‘देख्यौ, मैले एदोमलाई हराएँ।’+ तिम्रो हृदय घमन्डले फुलेको छ; तिमी आफ्नो वाहवाही चाहन्छौ। तर अब तिमी आफ्नै महलमा बस! बेकारमा किन आफैमाथि विपत्ति निम्त्याउँछौ? आफूसँगसँगै पूरै यहुदालाई किन विनाशतर्फ धकेल्न खोज्दै छौ?”
२० तर अमस्याहले उनको कुरा सुन्दै सुनेनन्।+ तिनीहरू आफ्नो शत्रुको हातमा परून् भनेर साँचो परमेश्वरले नै यसो हुन दिनुभएको थियो+ किनकि तिनीहरू एदोमका देवताहरूको पछि लागेका थिए।+ २१ त्यसैले इस्राएलका राजा यहोआस यहुदाका राजा अमस्याहसित लडाइँ गर्न निस्के। तिनीहरूले यहुदाको इलाकामा पर्ने बेथ-सेमेसमा+ लडाइँ गरे। २२ इस्राएलले यहुदालाई हरायो र यहुदाका सबै सैनिक आ-आफ्नो घरतिर* भागे। २३ इस्राएलका राजा यहोआसले बेथ-सेमेसमा यहोअहाजका* नाति यहोआसका छोरा यहुदाका राजा अमस्याहलाई पक्रे। त्यसपछि यहोआसले तिनलाई यरुसलेम ल्याए र यरुसलेमको पर्खालको एप्रैम-ढोकादेखि+ कुना-ढोकासम्मको+ भाग भत्काइदिए, जसको लम्बाइ ४०० हात* थियो। २४ त्यसपछि यहोआसले साँचो परमेश्वरको भवनमा ओबेद-एदोमको निगरानीमा राखिएका सबै सुनचाँदी र सरसामान अनि राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी र सरसामान पनि लगे अनि मानिसहरूलाई बन्दी बनाए।+ त्यसपछि उनी सामरिया फर्के।
२५ यहोअहाजका छोरा इस्राएलका राजा यहोआसको+ मृत्यु भएपछि यहोआसका छोरा यहुदाका राजा अमस्याह+ अरू १५ वर्ष बाँचे।+ २६ अमस्याहको जीवनकालका बाँकी घटनाहरू अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा पाइन्छ। २७ अमस्याहले यहोवा परमेश्वरलाई त्यागेको समयदेखि शत्रुहरूले यरुसलेममा तिनीविरुद्ध षड्यन्त्र रच्न थाले।+ त्यसैले तिनी भागेर लाकिस गए। तर ती षड्यन्त्रकारीहरूले लाकिसमा आफ्ना मानिसहरू पठाए र तिनीहरूले त्यहीँ तिनको हत्या गरे। २८ अनि तिनीहरूले तिनको लास घोडामा लादेर ल्याए र तिनलाई यहुदाको सहरमा तिनका पितापुर्खाको चिहानमा गाडे।