स्वास्थ्यलाभ
हृदयघात भएपछि डराउनु र चिन्तित हुनु असामान्य कुरा होइन। के मलाई फेरि हृदयघात हुनेछ? के म पीडाले गर्दा असक्षम अथवा सीमित हुनेछु? अनि के म दुर्बल तथा काम गर्न नसक्ने हुनेछु?
दोस्रो लेखमा उल्लेख गरिएका अमरलाई हरेक दिन के के नमिले नमिलेजस्तो हुन्थ्यो र छाती दुख्ने गर्थ्यो। समय बित्दै जाँदा ती अप्ठ्यारोपन कम हुनेछ भन्ने आशा तिनले गरेका थिए। तर केही महिनापछि तिनले यसो भने: “भनौं भने, अहिले पनि असजिलो महसुस हुन्छ, छाती दुख्न पनि कम भएको छैन। तर छिट्टै थकाइलाग्ने र मुटु पनि असामान्य तरिकाले धड्किने भएकोले ‘मलाई फेरि हृदयघात हुने पो हो कि?’ भनेर आशंकित हुन्छु।”
संयुक्त राज्यकी विधवा जेनलाई हृदयघात हुँदा तिनी जवानै थिइन्। तिनले भनिन्: “अब म बाँच्दिनँ वा मलाई फेरि हृदयघात भयो भने मर्छु होला जस्तो लाग्थ्यो। तीन जना छोराछोरीको हेरविचार गर्नुपर्ने भएकोले म साह्रै विचलित भएँ।”
जापानका हिरोशीले यसो भने: “मेरो मुटुले अब पहिलेजस्तै काम गर्नेछैन भनेर थाह पाउँदा त म छाँगोबाट खसेझैं भएँ। मेरो मुटुको कार्य क्षमता ५० प्रतिशतले घटेको थियो। पहिलेको तुलनामा आधा काम पनि गर्न नसक्ने भएकोले यहोवाका साक्षीहरूको सेवकको रूपमा मैले गर्ने गरेका कामहरू कम गर्नुपर्नेछ भनेर मलाई थाह थियो।”
आफूले चाहेजति गर्ने शक्ति नहुँदा उदास हुनसक्छ र बेकामको छु भन्ने भावना पलाउनसक्छ। यहोवाका साक्षीहरूको रूपमा पूर्ण-समय प्रचारकार्यमा समर्पित एक ८३ वर्षीया अस्ट्रेलिया निवासी मारीले आफ्नो बह पोखिन्: “पहिलेजस्तो सक्रिय हुन नसकेकोले म असाध्यै दुःखी छु। अरूलाई मदत गर्नुको साटो मलाई नै मदत चाहिएको छ।” दक्षिण अफ्रिकाका हारोल्डले यस्तो टिप्पणी गरे: “मैले तीन महिनासम्म काम गर्न सकिनँ। त्यतिखेर मैले गर्नसकेको कुरा बगैंचामा टहल्नु मात्र थियो। साह्रै दिक्कलाग्दो थियो!”
अस्ट्रेलियाका थोमसलाई दोस्रो पटक हृदयघात हुँदा बाइपास शल्यक्रिया गर्नैपर्ने भयो। तिनले भने: “अलिकता कष्ट हुँदा त म सहन सक्दिन थिएँ झन् त्यस्तो ठूलो शल्यक्रिया गर्नेबारे त मैले सोच्नै सकिरहेको थिइनँ।” ब्राजिलका झोर्झले मुटुको शल्यक्रिया भइसकेपछिको अवस्थाबारे यस्तो टिप्पणी गरे: “मेरो आर्थिक अवस्था साह्रै नाजुक भएकोले मलाई केही भइहाल्यो भने त मेरी श्रीमती एक्लै र असहाय हुन्छिन् भन्ने डरले पिरोल्थ्यो। अब धेरै बाँच्दिनँ होला जस्तो लाग्थ्यो।”
स्वास्थ्यलाभ
अधिकांश मानिसहरूलाई स्वास्थ्यलाभ गर्न र मन ठेगानमा राख्न कुन कुराले मदत गऱ्यो? जेनले यसो भनिन्: “अतास लाग्ने बित्तिकै म यहोवालाई प्रार्थना गर्छु र आफ्नो सारा भारी उहाँमा सुम्पन्छु।” (भजन ५५:२२) प्रार्थना गर्दा बल प्राप्त हुन्छ र मन शान्त हुन्छ। आफूमाथि आइपरेका चिन्ताहरू हटाउन यी अत्यावश्यक छन्।—फिलिप्पी ४:६, ७.
अमर र हिरोशी स्वास्थ्यलाभसम्बन्धी कार्यक्रमहरूमा सहभागी भए। मुख बार्नाले तथा कसरतले तिनीहरूको मुटु पहिलेजस्तै बलियो भयो। फलस्वरूप तिनीहरू दुवै फेरि काम गर्नसक्ने भए। मानसिक तथा भावनात्मक स्वास्थ्यलाभको श्रेय तिनीहरू परमेश्वरको आत्माको सँभाल्नसक्ने शक्तिलाई दिन्छन्।
आफ्ना मसीही भाइहरूको समर्थनले गर्दा थोमस शल्यक्रिया गर्न तयार हुनसके। तिनले भने: “शल्यक्रिया हुनुअघि एक जना निरीक्षक भाइ मलाई भेट्न आउनुभयो र मसित प्रार्थना गर्नुभयो। मैले बल पाउन सकूँ भनेर उहाँले यहोवासित उत्कट बिन्ती गर्नुभयो। त्यस रात मैले उहाँले गर्नुभएको प्रार्थनाबारे निकै सोचें। यस्तो मानसिक क्लेशको समयमा समानुभूति देखाउनसक्ने उहाँजस्ता प्राचीनहरू पाउँदा म अति कृतज्ञ छु। उहाँले देखाउनुभएको समानुभूति त रोगबाट निको हुने उपचार सरह भयो।”
इटालीकी आनाले उदासीनतालाई यसरी जितिन्: “निरुत्साही हुँदा मैले परमेश्वरको सेवकको रूपमा पाएको र उहाँको राज्यमा पाउने आशिष्हरू एक एक गरी केलाउँछु। यसले मलाई नहडबडाई शान्त रहन मदत गर्छ।”
यहोवाको मदत पाएकोमा मारी कृतज्ञ छिन्। तिनको परिवारले तिनलाई साथ दिएको छ र तिनी यसो भन्छिन्: “सबैको आ-आफ्नो समस्या छँदाछँदै पनि मेरा आध्यात्मिक भाइबहिनीहरूले मलाई भेट्न, फोन गर्न वा कार्ड पठाउन समय निकाले। मप्रति देखाएको यस्तो मायाले मलाई दुःखी बनाउने त कुरै थिएन।”
एकाकीपन महसुस नहोस्
भनिन्छ, मुटुको रोगीले स्वास्थ्यलाभ गर्दा एकाकीपन महसुस नगरोस्। लाक्षणिक हृदय तथा शारीरिक मुटु तन्दुरुस्त राख्ने क्रममा परिवार र मित्रगणको मदतले निकै ठूलो अनि सकारात्मक भूमिका निर्वाह गर्छ।
दक्षिण अफ्रिकाका माइकलले यस्तो टिप्पणी गरे: “विरक्त लाग्दा कस्तो हुन्छ भनी अरूलाई बताउनु असाध्यै गाह्रो छ। तर राज्यभवनमा जाँदा भाइहरूले देखाउने चासोले मेरो मन चंगा हुन्छ, म प्रोत्साहित हुन्छु।” मण्डलीले देखाएको गहिरो प्रेम र समझदारीले अस्ट्रेलियाका हेन्रीले पनि निकै बल प्राप्त गरे। तिनले यसो भने: “मलाई वास्तवमा चाहिएको कुरा त्यही नै थियो अर्थात् प्रोत्साहनदायी कोमल शब्दहरू।”
काम गर्न सक्षम नहोउञ्जेल अरूले आफ्नो परिवारलाई आर्थिक सहयोग गरेर देखाएको चासोप्रति झोर्झले गहिरो मूल्यांकन व्यक्त गरे। स्वीडेनकी ओल्गाले पनि धेरै आध्यात्मिक भाइबहिनीहरूले तिनी र तिनको परिवारलाई दिएको चाहिंदो मदतको मूल्यांकन गरिन्। कसैले किनमेल गरिदिए भने अरूले चाहिं तिनको घर सफा गरिदिए।
हृदयघात भएका बिरामीहरूले अक्सर आफूलाई मन परेको काम गर्न नसक्ने हुन्छन्। स्वीडेनका स्भेनले यसो भने: “हावा चल्न थाल्यो वा चिसो भयो भने रक्तवाहिनी नलीहरू संकुचन हुने भएकोले कहिलेकाहीं म सेवकाईमा जान वञ्चित हुन्छु। सँगी साक्षीहरूले मेरो यो समस्या बुझेकाले म उहाँहरूको मूल्यांकन गर्छु।” अनि भाइहरूले सभामा छलफल गरिएका कुराहरू माया गरेर रेकर्ड गरिदिने भएकोले ओछ्यानमै बस्नुपर्दा पनि सभाहरूमा के भइरहेका छन् स्भेन सुन्नसक्छन्। “सभाहरूमा के भइरहेछन्, त्यसबारे मलाई उहाँहरूले जानकारी दिनुहुने भएकोले आफू पनि त्यस सभामा छु जस्तो लाग्छ।”
थला परे तापनि मारीसित बाइबल अध्ययन गरिरहेका व्यक्तिहरू भेट्न आउँदा तिनी अति प्रफुल्लित हुन्छिन्। यसप्रकार आफूले पर्खिरहेको त्यस अद्वितीय भविष्यबारे तिनी लगातार छलफल गर्नसक्छिन्। आफूप्रति देखाइएको चासोको लागि थोमस निकै कृतज्ञ छन्। तिनी यसो भन्छन्: “प्राचीनहरू अरूको असाध्यै हेरविचार गर्ने हुनुभएको छ। उहाँहरूले मलाई सुम्पनुभएको मण्डलीका जिम्मेवारीहरू पनि हलुका पारिदिनुभएको छ।”
परिवारलाई पनि समर्थन चाहिन्छ
स्वास्थ्यलाभको क्रममा बिरामीलाई जस्तै तिनको परिवारलाई पनि त्यति नै गाह्रो भएको हुनसक्छ। तिनीहरू पनि तनाउग्रस्त भएका हुन्छन् र डराउँछन्। आफ्नी श्रीमतीले गरेको चिन्ताबारे दक्षिण अफ्रिकाका अल्फ्रेडले यसो भने: “अस्पतालबाट घर फर्केपछि राति सुतिरहेको बेला मेरी श्रीमती मलाई धेरै चोटि ब्यूँझाउँथिन् र मलाई कस्तो छ, बुझ्थिन्। अनि तिनी मैले तीन तीन महिनामा स्वास्थ्य परीक्षणको लागि चिकित्सककहाँ जानुपर्छ भन्दै कर गर्छिन्।”
हितोपदेश १२:२५ भन्छ, ‘चिन्तित हृदयले मानिसलाई अशान्त पार्छ।’ इटालीका कार्लोलाई हृदयघात भएको थियो। तिनलाई हृदयघात भएपछि तिनकी मायालु तथा साथ दिने श्रीमती “उदास” भएकी कुरा कार्लो बताउँछन्। अस्ट्रेलियाका लरेन्सले भने: “आफ्नो पति वा पत्नीको राम्रो हेरविचार गरिएको छ कि छैन, त्यसबारे निकै ध्यान दिनुपर्ने हुन्छ। पति वा पत्नीमाथि निकै बोझ आइपर्छ।” त्यसकारण हामीले परिवारमा केटाकेटीलगायत सबैको हेरविचार गर्नुपर्छ। यस्तो परिस्थितिले तिनीहरूलाई भावनात्मक तथा शारीरिक रूपमा असर पारिरहेको हुनसक्छ।
हाम्रो दोस्रो लेखमा उल्लेख गरिएका सुमन तिनको बुबालाई हृदयघात भएपछि गुमसुम बस्न थालेका थिए। तिनले भने: “मैले केही रमाइलो गर्न लागें भने केही न केही बित्यास आइपर्छ भन्ने डरले गर्दा म रमाइलो गर्नै सक्दिन थिएँ।” डरबारे बुबा र अरूसित राम्ररी कुराकानी गर्ने कोसिस गर्दा तिनी चिन्ताबाट मुक्त हुनसके। त्यतिखेर सुमनले तिनको जीवनमा निकै असर पार्ने कदम चाले। तिनले भने: “बाइबलको व्यक्तिगत अध्ययन र मसीही सभाहरूको तयारी अझ जोडतोडले गर्न थालें।” यसको तीन महिनापछि तिनले यहोवालाई जीवन समर्पण गरेर पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिए। तिनी भन्छन्, “त्यसबेलादेखि म यहोवासित निकै घनिष्ठ हुनसकें। उहाँलाई धन्यवाद दिने कारण मसित थुप्रै छन्।”
हृदयघात भएपछि त्यस व्यक्तिले आफ्नो जीवनलाई फेरि नियालेर हेर्ने मौका पाउँछन्। उदाहरणका लागि, अमरको दृष्टिकोणमा भएको परिवर्तनलाई नै लिऊँ। तिनले भने: “सांसारिक कुराको पछि दगुर्नु कत्ति बेकामको रहेछ, परिवार तथा मित्रहरूको माया कत्ति महत्त्वपूर्ण छ अनि यहोवाको निम्ति हामी कत्ति मूल्यवान् छौं, त्यो बुझ्न सकिन्छ। यहोवा, मेरो परिवार र मेरा आध्यात्मिक भाइबहिनीहरूसितको मेरो सम्बन्धलाई अहिले म निकै मोलको सम्झन्छु।” आफूले अनुभव गरेको पीडालाई विचार गर्दै तिनले यसो भने: “यी रोगबिमार हट्नेछ भन्ने आशा हामीसित नभएको भए म यो पीडालाई सहन सक्दिन थिएँ होला। निराश हुँदा म भविष्यबारे सोच्छु र भविष्यको आशाले अहिले भोग्नु परिरहेका कुराहरू त केही पनि होइन जस्तो लाग्छ।”
स्वास्थलाभको क्रममा अनुभव गरेका उतारचढाउले गर्दा यी हृदयघात भएकाहरूले परमेश्वरको राज्यमाथिको आफ्नो आशालाई पक्का गर्न सकेका छन्, जुन राज्यबारे येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुभएको थियो। (मत्ती ६:९, १०) परमेश्वरको राज्यले मानवजातिको लागि यसै पार्थिव प्रमोदवनमा सिद्ध अनन्त जीवन दिनेछ। त्यतिबेला हृदयघातलगायत कुनै पनि रोगबिमारहरू हुनेछैनन्। त्यो नयाँ संसार नजीकै छ। सर्वोत्तम जीवन त आउन बाँकी नै छ!—अय्यूब ३३:२५; यशैया ३५:५, ६; प्रकाश २१:३-५.
[पृष्ठ १३-मा भएको चित्र]
स्वास्थ्यलाभको क्रममा परिवार र मित्रगणको मदतले सकारात्मक भूमिका निर्वाह गर्छ