लुइ पास्चर—तिनका उपलब्धिहरूले पुष्टि गरेको तथ्य
फ्रान्सका ब्यूँझनुहोस्! संवाददाताद्वारा
के निर्जीव वस्तुबाट जीवन सुरु हुनसक्छ? उन्नाइसौं शताब्दीका केही वैज्ञानिकहरूले हुनसक्छ भन्ठानेका थिए। तिनीहरूको सोचाइमा सृष्टिकर्ताको हस्तक्षेपबिना निर्जीव वस्तुबाट जीवन सुरु हुनसक्थ्यो।
तर अप्रिल १८६४, वसन्त ऋतुको दिन पेरिसको सोर्बोन विश्वविद्यालयको सभाकक्षमा उपस्थित श्रोताहरूले एउटा भिन्नै कुरा सुने। निर्जीव वस्तुबाट जीवन सुरु हुनसक्दैन भन्ने तथ्यलाई लुइ पास्चरले एक एक बुँदा गरी वैज्ञानिकहरूको जमातसामु कौशलतापूर्ण ढंगमा खण्डन गरे।
यो भाषण र यसपछिका आविष्कारहरूले गर्दा तिनी “विश्वकै सबैभन्दा महान् वैज्ञानिक” बन्नपुगे भनेर वर्ल्ड बूक अफ इनसाइक्लोपीडीया भन्छ। तर यस मानिसले आफ्नो समयका व्यक्तिहरूलाई किन त्यस्तो प्रभाव पाऱ्यो र तिनी विश्वभरि कसरी चिरपरिचित भए? तिनले पत्ता लगाएका केही कुराबाट आज हामीले कसरी लाभ उठाएका छौं?
प्रारम्भिक अनुसन्धान
पूर्वी फ्रान्सको सानो शहर डोलमा १८२२ मा लुइ पास्चरको जन्म भएको थियो। तिनका बुबा छाला रंग्याउने काम गर्थे तर आफ्नो छोरा ठूलो मान्छे बनोस् भन्ने चाहन्थे। लुइ कलामा सौकिन थिए। साथसाथै तिनमा कलात्मक सीप पनि थियो तैपनि तिनले विज्ञान विषय लिएर पढे। तिनले २५ वर्षको उमेरमा विज्ञानमा डाक्टरको उपाधि प्राप्त गरे।
तिनले सुरु सुरुतिर टार्टारिक अम्लबारे अनुसन्धान गरे। यो मिश्रण रक्सीको ढ्वांगमा थेग्रिने कसरमा पाइन्छ। त्यस अनुसन्धानबाट प्राप्त तथ्यलाई केही वर्षपश्चात् अरू अनुसन्धानकर्ताहरूले आधुनिक जीवरासायनशास्त्रको आधारको रूपमा चलाए। त्यसपछि पास्चरले सडाउने तत्त्वहरूबारे अध्ययन गर्न थाले।
पास्चरले अनुसन्धान गर्नुअघि मानिसहरूलाई खमिरजस्ता सडाउने तत्त्वहरूबारे मात्रै थाह थियो। तर कुनै चीज सडेपछि खमिर बन्छ भन्ने सोचाइ राखिन्थ्यो। तर सडेपछि खमिर बन्ने नभई खमिरले सडाउँछ भनी पास्चरले प्रमाणित गरे। यी सडाउने तत्त्वहरू थुप्रै छन् र तिनीहरूले विभिन्न तरिकाले सडाउँछ भनी देखाए। तिनले १८५७ मा प्रकाशित गरेको प्रतिवेदनलाई आज “सूक्ष्म जीवविज्ञानको जन्म प्रमाणपत्रै” ठानिन्छ।
त्यस समयदेखि तिनका काम तथा आविष्कारहरूमा झन् ठूलो मदत मिल्न थाल्यो। तिनको राम्रो नाउँ चलेको हुँदा ओर्लिएनस्का भेनिगर उत्पादकहरूले तीनथुप्रो प्राविधिक समस्याहरू समाधान गर्न तिनलाई बोलाए। तरल पदार्थको सतहमा हुने तत्त्वले रक्सीलाई भेनिगरमा परिणत गर्छ भनी पास्चरले प्रमाणित गरे। अहिले त्यसलाई सूक्ष्मजीव भनिन्छ। तिनले आफ्नो अनुसन्धानको अन्तमा शहरका भेनिगर उत्पादक तथा पदाधिकारीहरूसामु “रक्सीलाई भेनिगरमा परिणत गर्ने तरिका” भन्ने प्रख्यात प्रतिवेदन प्रस्तुत गरे।
प्रशोधन गर्ने विधि
सड्नुको कारणसम्बन्धी अनुसन्धान गरिसकेपछि पास्चरलाई कुन निष्कर्षमा पुग्न सजिलो भयो भने, खाद्य उद्योगमा खानेकुरा सड्नुको मुख्य कारण जीवाणुहरू हो। सूक्ष्म जीवाणुहरू हावामा वा राम्ररी नपखालिएका भाँडाहरूमा हुन्छन्। ब्याक्टेरियाले गर्दा खाद्य पदार्थहरू बिग्रने हुँदा सफाइमा बढी ध्यान दिनुपर्ने सल्लाह तिनले दिए र तरल पदार्थलाई बिग्रन नदिन केही मिनेट ५० देखि ६० डिग्री सेल्सियसको तापक्रममा उमाल्नुपर्छ भन्ने सुझाउ दिए। रक्सीलाई असाध्यै कुहिन नदिन यो तरिका सबैभन्दा पहिला प्रयोग गरियो। स्वाद वा सुगन्धमा कुनै फरक नपारी ती सडाउने जीवाणुहरूलाई नाश गरियो।
पास्चरले पत्ता लगाएका प्रशोधन गर्ने विधि भनिने यस प्रक्रियाले खाद्य उद्योगमा आमूल परिवर्तन ल्यायो। आजकल यो विधि रक्सीको लागि त प्रयोग गरिंदैन तर फलफूलको सर्बत वा दूधजस्ता अन्य पदार्थहरू प्रशोधन गर्न अझै प्रयोग गरिन्छ। तथापि, उच्च तापक्रममा जीवाणु नाश गर्ने जस्ता अन्य विधिहरू पनि चलाउन सकिन्छ।
पास्चरको अनुसन्धानबाट अधिकतम फाइदा उठाउने अर्को ठूलो उद्योग पेयपदार्थहरूको उद्योग थियो। त्यसताका फ्रान्सको पेयपदार्थ उत्पादन प्रक्रियामा थुप्रै समस्याहरू हुनुका साथै जर्मनीका व्यापारीहरूसित कडा प्रतिस्पर्धा गर्नुपर्थ्यो। पास्चरले ती समस्याहरूमा निकै ध्यान दिएर अनुसन्धान गरे र रक्सी उत्पादकहरूलाई यसबारे थुप्रै सुझाउहरू दिए। तिनले रक्सी बनाउने भाँडा सफा राख्नका साथसाथै वरपरको वातावरणको सामान्य सफाइमा ध्यान दिन सल्लाह दिए। सफलता हासिल गर्न धेरै कुर्नु परेन र यसपछि तिनले थुप्रै एकाधिकार पाए।
जीवनबाट नै जीवन सुरु हुन्छ
सडेका कुराहरूमा देखा पर्ने कीरा, फट्यांग्राहरूबारे असाध्यै मनगढन्ते कुराहरू परापूर्वकालदेखि बताइँदै आएको छ। उदाहरणका लागि, १७ औं शताब्दीका बेल्जियमवासी रासायनविद्ले गहुँ राखेको भाँडोमा एउटा फोहर कमिज कोचेर मुसा बनाएको दाबी गरे!
पास्चरको समयमा वैज्ञानिकहरूबीच गरमागरम बहसहरू हुन्थे। निर्जीव वस्तुबाट जीवन सुरु भयो भन्ने सिद्धान्तका समर्थकहरूसित बहस गर्नु साँच्चै चुनौतीपूर्ण थियो। तर सडाउने तत्त्वहरूसम्बन्धी अनुसन्धान गरिसकेको हुँदा पास्चर ढुक्कै थिए। त्यसैले निर्जीव वस्तुबाट जीवन सुरु हुन्छ भन्ने धारणा सरासर गलत हो भनी प्रमाणित गर्न तिनले परीक्षणहरू गर्न थाले।
तिनले सुराही आकारको काँचको भाँडोमा गरेको परीक्षण सबैभन्दा प्रख्यात छ। सड्ने पदार्थ राखिएको डेक्ची आकारको काँचको भाँडोलाई खुला हावामा राख्यो भने भाँडाभित्रको पदार्थ छिट्टै कुहिहाल्छ। तर, सुराही आकारको काँचको भाँडामा त्यही पदार्थ सड्दैन। किन यसो भएको?
पास्चरको जवाफ सरल थियो: सुराही आकारको काँचको भाँडाबाट हावा भित्र छिर्दा ब्याक्टेरिया काँचमा टासिन्छ र त्यसैले तरल पदार्थमा पुगुञ्जेल हावा जीवाणुमुक्त भइसकेको हुन्छ। डेक्ची आकारको काँचको भाँडामा बन्ने कीटाणु तरल पदार्थबाट स्वतः निस्किने होइन तर हावाले त्यहाँ सारेको हो।
जीवाणुहरू यताउता सार्ने क्रममा हावाको महत्त्व देखाउन पास्चर फ्रान्सका अग्ला पहाडहरूमा अवस्थित मेर डे ग्लास नामक हिमनदीमा गए। तिनले १,८०० मिटर उचाइमा त्यहाँ लगेको बन्द भाँडो हावामा खोले र २० वटा भाँडाहरूमध्ये एउटा मात्रै सड्यो। त्यसपछि तिनी जुरा पहाडको फेदमा गए र त्यही परीक्षण गरे। यहाँ उचाइ कम भएकोले आठवटा भाँडामा राखेको पदार्थ सडेको पाइयो। अतः तिनले कुन कुरा प्रमाणित गरे भने, धेरै उचाइमा हावा स्वच्छ भएकोले पदार्थहरू सड्ने सम्भावना कम हुन्छ।
त्यस्ता परीक्षणहरूद्वारा पास्चरले जीवनबाट नै जीवन सुरु हुन्छ भनी ठोस प्रमाणहरू देखाए। निर्जीवबाट जीवित अर्थात् जीवन स्वतः उत्पत्ति हुँदैन।
सरुवा रोगहरूबारे अनुसन्धान
सड्न जीवाणु चाहिएझैं सरुवा रोग सर्न पनि त्यस्तै कारक हुनुपर्छ भनी पास्चरले तर्क गरे। रेशम कीरालाई लाग्ने रोगबारे अनुसन्धान गर्दा तिनले आफ्नो तर्क साँचो रहेछ भनी थाह पाए। र रेशम कीरालाई लाग्ने रोगले गर्दा दक्षिण फ्रान्सका रेशम उत्पादकहरूले निकै आर्थिक नोक्सानी भोग्नुपरेको थियो। त्यसको केही वर्षपछि तिनले दुइटा रोगको कारण पत्ता लगाए। र महामारी हुन नदिन रोग नलागेको रेशम कीराहरू छनौट गर्ने तरिका बताए।
कुखुरामा लाग्ने रोगबारे अध्ययन गर्दा पास्चरले के थाह पाए भने, केही महिनाअघि मात्र कीटाणुहरू लागेका सबै कुखुराहरू बिरामी नभई बरु बिरामी हुनबाट बचे। वास्तवमा भनौं भने, कुखुरालाई रोगबाट बचाउन कमजोर खाले जीवाणुहरूको खोप दिनसक्ने कुरा तिनले पत्ता लगाए।
खोप प्रयोग गर्ने पहिलो व्यक्ति पास्चर थिएनन्। एडवर्ड जेनर नाउँका बेलाइतीले पहिले नै खोप प्रयोग गरिसकेका थिए। तर उस्तै खालको अरू जीवाणुहरू चलाउनुको साटो रोगी बनाउने कमजोर जीवाणुको खोप दिने पहिलो व्यक्ति पास्चर थिए। गाईवस्तुजस्ता स्तनपायी जनावरहरूमा लाग्ने सरुवा रोग एन्थ्राक्स विरुद्ध खोप पत्ता लगाउन पनि सफल भए।
यसपछि तिनी, तिनको अन्तिम र सबैभन्दा प्रख्यात आविष्कारको लागि सुरिए। त्यो थियो, रेबीज विरुद्ध। रेबीजबारे अध्ययन गर्दा पास्चरले ब्याक्टेरियाभन्दा भिन्नै विषयमा हात हालिरहेका थिए भनी तिनलाई थाहै थिएन। तिनले सूक्ष्मदर्शक यन्त्रबाट पनि देख्न नसकिने भाइरसको अध्ययन गर्न लागेका थिए।
जुलाई ६, १८८५ मा एउटी आमाले आफ्नो नौ वर्षीय छोरालाई पास्चरको प्रयोगशालामा ल्याइन्। त्यस बच्चालाई बौलाहा कुकुरले भर्खरै टोकेको थियो। आमाले लाख बिन्ती गरे तापनि पास्चर बच्चाको उपचार गर्न हिचकिचाए। तिनी चिकित्सक थिएनन् र अवैध रूपमा उपचार गर्दा मुद्दा लाग्नसक्ने खतरा थियो। यसबाहेक तिनले अहिलेसम्म मानिसमा परीक्षण गरेका थिएनन्। तर जे होस्, तिनले त्यस केटालाई खोप लगाइदिन आफ्नो सहयोगी डा. ग्रान्चालाई आग्रह गरे। तिनले जे गरे, त्यसको परिणाम राम्रो भयो। एक वर्षभित्र तिनले ३५० मानिसहरूको उपचार गरे र त्यसमध्ये एक जनाको मृत्यु भयो। मृत्यु हुनुको कारण पनि तिनलाई उपचारको निम्ति एकदमै ढिला ल्याइएको थियो।
त्यतिबेला नै पास्चरले अस्पतालको सफाइबारे पनि विचार गरिरहेका थिए। पेरिसका प्रसूति गृहहरूमा हरेक वर्ष प्रसव ज्वरोको कारण थुप्रै स्त्रीहरूको मृत्यु हुन्थ्यो। पास्चरले जीवाणुमुक्त प्रविधि प्रयोग गर्ने सुझाउ दिए र विशेषगरि हात राम्ररी धोएर सफा हुनुपर्ने कुरामा जोड दिए। पछि बेलाइती शल्यचिकित्सक जोसेफ लिस्टर र अरूले पास्चरको अनुसन्धान सत्य साबित भएको प्रमाण दिए।
मूल्यवान् उपलब्धि
पास्चरको मृत्यु १८९५ मा भयो। तर तिनका उपलब्धिहरू मूल्यवान् थिए र अहिलेसम्म हामीहरू त्यसबाट लाभ उठाउँछौं। त्यसैकारण तिनलाई “मानवताको उपकारक” भनिन्छ। तिनले पत्ता लगाएका खोप तथा प्रविधिहरूले गर्दा तिनको अझै सम्झना गरिन्छ।
पास्चरको जीवनकालमा रेबीजको उपचारको निम्ति लानस्तेट्यु पास्चर संस्था स्थापित गरियो। तर अहिले चाहिं यो संस्था सरुवा रोगहरूको ख्यातिप्राप्त अध्ययन केन्द्र भएको छ। यो केन्द्र विशेषगरि खोप तथा औषधीहरूबारे पास्चरका उपलब्धिको लागि चिनिन्छ। सन् १९८३ मा प्राध्यापक ल्यूक मोनट्यानाको नेतृत्वमा वैज्ञानिकहरूको समूहले पहिलो चोटि एड्स कीटाणु पत्ता लगाएको समयदेखि त यस संस्था झनै प्रख्यात भएको छ।
निर्जीव वस्तुबाट जीवन सुरु हुन्छ या हुँदैन भन्ने विवादमा पास्चरले पनि भाग लिएका थिए र त्यसमा तिनी विजयी पनि भए। यो केवल वैज्ञानिक कुरासम्बन्धी तर्कवितर्क थिएन। यो केही वैज्ञानिकहरू वा विद्वद्हरूबीच मात्र छलफल गरिने चाखलाग्दो बुँदा थिएन। यो, त्योभन्दा अझै महत्त्वपूर्ण थियो किनभने यसले केही हदसम्म परमेश्वरको अस्तित्वको प्रमाण दियो।
विज्ञान विषयका विशेषज्ञ फ्रान्सिसी दार्शनिक फ्राँस्वा डाग्वान्याले यस्तो अवलोकन गरे, पास्चरका “विरोधीहरू, भौतिकवादी र नास्तिकवादी दुवैले के प्रमाणित गर्न खोजे भने, सडेको अणुबाट एककोषीय जीव निस्किनसक्छ। यसो गर्दा तिनीहरूले परमेश्वरको अस्तित्वलाई नकार्न सक्नेथिए। र जहाँसम्म पास्चरको कुरा थियो, निर्जीव वस्तुबाट जीवन निस्किन्छ भन्ने कुरामा तिनी पटक्कै सहमत थिएनन्।”
आजसम्म गरिएका परीक्षणहरू, इतिहास, जीवशास्त्र, पुरातत्त्व र मानवशास्त्रबाट पास्चरले पत्ता लगाएको कुरा अर्थात् जीवनबाट नै जीवन निस्किन्छ, निर्जीव वस्तुबाट होइन भन्ने प्रमाणित हुन्छ। अनि उत्पत्तिमा पाइने बाइबल विवरणले बताएअनुसार हरेक चीजबाट “आफ्ना आफ्नै किसिमका” जीवन निस्किन्छ। सन्तानहरू सधैं “आफ्ना आफ्नै किसिमका” अर्थात् आ-आफ्ना आमाबाबुजस्तै हुन्छन्।—उत्पत्ति १:११, १२, २०-२५.
अतः थाह पाएर होस् या अनजानमा, लुइ पास्चरले विकासवाद सिद्धान्तको खण्डन गरे र पृथ्वीमा जीवन सुरु हुन सृष्टिकर्ता नै चाहिन्छ भन्ने शक्तिशाली प्रमाण पेश गरे। तिनको उपलब्धिले नम्र भजनरचयिताका यी शब्दहरूलाई प्रकाश पार्छ: “परमप्रभुनै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं।”—भजन १००:३.
[पृष्ठ २३-मा भएको चित्र]
रक्सी प्रशोधन गर्न, अनावश्यक जीवाणुहरू नाश गर्न माथि चित्रमा देखाइएको उपकरण चलाइएको थियो; तलको चित्रले अझ स्पष्ट पार्छ
[पृष्ठ २४-मा भएको चित्र]
निर्जीव वस्तुबाट जीवन निस्कनसक्छ भन्ने सिद्धान्तलाई पास्चरको परीक्षणले खण्डन गऱ्यो