प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ २/८ पृ. २२-२४
  • पहाडी गुरिल्लाहरूसित भेटघाट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहाडी गुरिल्लाहरूसित भेटघाट
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यति नजिक कि छुनै मिल्ने!
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९८
  • पिग्मीज्‌बाट हामीले सिकेको कुरा
    ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—१९९८
g९८ २/८ पृ. २२-२४

पहाडी गुरिल्लाहरूसित भेटघाट

तान्जानियाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

रूवाण्डा तथा प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा इलाकाको ज्वालामुखी क्षेत्रमा जम्मा ३२० जति मात्र छन्‌। अरू ३०० जति युगान्डाको घना जंगलमा बस्छन्‌। ती हुन्‌, पहाडी गुरिल्लाहरू। अर्थात्‌ संसारबाट लोप हुन लागेका एक किसिमका स्तनपायीहरू!

अमेरिकी जीवशास्त्री डायन फोसेले यी जीवहरूको दुर्दशाबारे जनचासो जगाउन निकै योगदान पुऱ्‍याएकी छिन्‌। पहाडी गुरिल्लाहरूबारे अध्ययन गर्न सन्‌ १९६० दशकको अन्ततिर फोसे अफ्रिका आइन्‌। यसताका शिकारीहरूले थुप्रै गुरिल्लाहरू मारिरहेका थिए। यस निर्भयी वैज्ञानिकले भिरूंगा पहाडमा साधुको जस्तो जीवन बिताउन थालिन्‌ र त्यहाँका गुरिल्लाहरूलाई छिट्टै साथी बनाइन्‌। आफूले पत्ता लगाएका कुराहरू फोसेले पत्रिकामा तथा कुइरोमा बस्ने गोरिल्लाहरू (अंग्रेजी) पुस्तकमा प्रकाशित गरिन्‌। समय बित्दै जाँदा उनी यी भुत्ले साथीहरूलाई जोगाउन अझ कटिबद्ध भइन्‌ र शिकारीहरू विरुद्ध संघर्ष गर्न तम्सिन्‌। तथापि, उनी जुन कामको लागि समर्पित थिइन्‌ त्यसैको कारण उनको ज्यान गयो। एक अज्ञात आक्रमणकारीबाट १९८५ मा उनको मृत्यु भयो।

यी शान्तिप्रिय जीवहरू साक्षात्‌ हेर्ने आशाले १९९३ मा म र मेरी पत्नीले यी गुरिल्लाहरू बसोबास गर्ने ठाउँमा जाने निधो गऱ्‍यौं। कृपया, हाम्रो यस्तो जोखिमपूर्ण कार्यको विवरण सुन्‍नुहोस्‌।

सर्वप्रथम हाम्रा गाइडहरूले हामीलाई ३,७०० मिटर अग्लो भिसोके ज्वालामुखीको फेददेखि माथि रूवाण्डाको ज्वालामुखी राष्ट्रिय निकुञ्जको छेउसम्म एक घण्टा जति माथि उक्लन लगाउँछन्‌। हामी आराम गरिरहेको बेला गुरिल्ला भएको ठाउँमा कस्तो व्यवहार गर्नुपर्छ भनेर हामीलाई गाइडहरू बताउँछन्‌। यी विशेष जीवहरू हेर्न दिनमा आठ जना मानिसलाई मात्र अनुमति दिइन्छ भनेर हामीलाई बताउँछन्‌। यसो गर्दा गुरिल्लाहरू अनेक प्रकारका रोगहरूले संक्रमित हुन पाउँदैनन्‌ र तिनीहरू तर्सिंदैनन्‌।

गाइडले हामीलाई फेरि सम्झाउँछन्‌, “जंगलभित्र छिरेपछि एकदम सानो स्वरमा बोल्नुपर्छ। यसो गऱ्‍यौं भने जंगलका अरू जीवजन्तु तथा पंक्षीहरू पनि हेर्नसक्छौं। यो जंगलमा पहाडी गुरिल्ला मात्र होइन सुनौला बाँदर, सेफालोफस निग्रिफ्रन्स, हरिण, हात्ती र जंगली भैंसीहरू पनि छन्‌।”

यस निकुञ्जमा सिस्नु तथा कमिलाहरू पनि छन्‌ भनेर हामीलाई गाइडले बताउँछन्‌ र कुइरोले डम्म ढाकेको ठाउँ अनि दलदलमा हिंड्‌नु पर्नसक्छ भनेर थाह दिन्छन्‌। म र मेरी पत्नी एकअर्कालाई हेराहेर गऱ्‍यौं। हामीले जिन्दगीमा यस्तो अनुभव त कहिल्यै गरेका थिएनौं! तर ती मित्रैला गाइडहरूले हामीलाई रेनकोट र बुट दिए।

त्यसपछि गाइड हामीलाई बताउँछन्‌, यी गुरिल्लाहरूलाई मानिसहरूको रोगले छिट्टै संक्रमण गर्ने हुँदा कोही बिरामी वा कुनै रोगले संक्रमित छ भने त्यहाँ जान पाउँदैन। एक जना गाइड भन्छन्‌, “खोकी वा हाच्छिउँ आउला जस्तो भयो कि जनावरहरूतिर होइन तर अर्कैतिर फर्कनुहोस्‌ र सकेसम्म आफ्नो नाकमुख छोप्नुहोस्‌। नबिर्सनुहोस्‌! कुइरोले ढाकेको तिनीहरूको घरमा हामी पाहुनाहरू हौं।”

यति नजिक कि छुनै मिल्ने!

उकालो झन्‌ झनै ठाडो हुन्छ। हामी ३,००० मिटरको उचाइमा पुग्छौं। वायुमण्डलमा अक्सिजनको कमीले गर्दा सास फेर्न अलि गाह्रो हुन्छ र बाटो पनि साँघुरो छ। तर हामी हाजिनिया रूखको सुन्दरताको आनन्द उठाउनसक्छौं। यो रूखका हाँगाहरू चारैतिर फिंजिएका छन्‌ र झ्याउ, उन्यु तथा सुनाखरीले टम्म ढाकिएका छन्‌। यी रूखहरूले गर्दा यो जंगल प्रमोदवनजस्तो देखिन्छ।

यी गुरिल्लाहरू ताजा आहारको खोजमा यताउता हिंडडुल गर्ने भए तापनि गाइडहरू अघिल्लो दिन गुरिल्लाहरू देखिएको ठाउँ खोज्न थाल्छन्‌। एक जना चिच्याउँछन्‌, “ऊ हेर्नुस्‌ त!” सेतो ढाड भएको गुरिल्ला लमतन्‍न पर्ने नरम वनस्पतिको ओछ्यान।

“त्यसलाई उमुगोमे भनिन्छ,” गाइड बताउँछन्‌। “भाले गुरिल्ला १४ वर्ष जति पुगेपछि त्यसको ढाडका भुत्लाहरू सेतो हुन थाल्छन्‌। यसपछि, त्यसलाई समूहको नेता मानिन्छ। यी ढाड सेतो भएका भालेहरूले मात्र अरू पोथी गुरिल्लाहरूसित सहवास गर्नसक्छन्‌। सहवास गर्न खोज्ने फुच्चेहरूलाई तत्कालै इन्कार गरिन्छ! तथापि, कुनै शत्रुले यो सेतो ढाड भएको गुरिल्लालाई मारेको खण्डमा त्यसका सन्तानहरूलाई पनि मार्छ। त्यसपछि, नयाँ नेताको आधिपत्य रहन्छ र आफ्नो समूहका पोथी गुरिल्लाहरूसित सहवास गरेर सन्तान जन्माउँछन्‌।”

मनमोहक बाँसघारी भएर हिंड्‌दै गर्दा हाम्रो समूहका एक जनाले सोध्छन्‌, “गुरिल्ला कति वर्ष बाँच्छ हँ?”

“लगभग ४० वर्षसम्म” भन्‍ने जवाफ सानो स्वरमा आउँछ।

च्वाँ-च्वाँ गरेको आवाज सुनेपछि कसैले “शू!” गर्दै चूपो लाग्ने इशारा गर्छ। “के त्यो? गुरिल्ला?” होइन तर गुरिल्लाले कुनै आवाज देला कि भनेर गाइडले पो च्वाँ-च्वाँ गरेका रहेछन्‌। हामी गुरिल्ला बस्ने ठाउँ नजिकै पुग्यौं जस्तो छ!

निस्सन्देह, हामी उभिएको ठाउँभन्दा पाँच मिटर टाढा ३० वटा गुरिल्ला रहेछन्‌! हामीलाई टुक्रुक्क बसेर चूपो लाग्न लगाउँछन्‌। गाइडले भन्छन्‌, “तिनीहरूतिर औंला नतेर्साउनुहोस्‌ किनभने केही कुराले हान्‍न लाग्यो भन्ठान्‍नेछन्‌। कृपया नचिच्याउनुहोस्‌। तस्बिर खिच्दा पनि होस पुऱ्‍याएर बिस्तारै चलहल गर्नुहोस्‌ अनि फ्लाश नचलाउनुहोस्‌।”

हामी त असाध्यै नजिक पो पुगेछौं, हातले छुन भ्याउने! तिनीहरूलाई छुन हात तन्काउनुपर्ला भनेर सोच्न मात्र के सोचेको थिएँ गाइडले खुसुक्क भन्छन्‌: “तिनीहरूलाई नछुनुहोस्‌!” त्यसो भन्‍न मात्र के सिद्धिएको थियो दुई चारवटा साना गुरिल्लाहरू हामीलाई हेर्न आउँछन्‌। गाइडले एउटा सानो हाँगाले तिनीहरूलाई बिस्तारै हिर्काउँछ र यी कौतूहल फुच्चाहरू केटाकेटीजस्तै कुस्ताकुस्ती गरेर ओरालोमा गुल्टिन्छन्‌। खेलमा अलि हुल्याहापन देखिन थालेपछि “आमा” हस्तक्षेप गर्छे।

सेतो ढाड भएको भालेले हामीलाई टाढैबाट नियालिरहेको छ। अकस्मात्‌ त्यो हामीतिर लम्कन्छ र हामी बसेको ठाउँभन्दा दुई चार मिटर टाढा बस्छ। त्यो बडेमाको छ र त्यसको वजन २०० किलोग्रामजति होला! त्यो खानमा मग्न भएकोले हामीलाई ध्यान दिन त्यति फुर्सत छैन। तैपनि, बेलाबेलामा हामीलाई कर्के नजरले हेर्छ। भनौं भने गुरिल्लाको मुख्य काम नै खानु हो! सेतो ढाड भएको गुरिल्लाले दिनभरिमा ३० किलोग्राम जति खानसक्छ। अनि सबै गुरिल्लाहरू बिहानदेखि साँझसम्म खाना खोजिरहेका हुन्छन्‌। कहिलेकाहीं यी गुरिल्लाहरू आफूले भेट्टाएको “आहार” हात पार्न लुछाचुँडी गरिरहेका हुन्छन्‌।

तिनीहरूलाई असाध्यै मनपर्ने भोजन अजंगको सेनेसियो बोटको गुदी हो। तिनीहरू जंगली सेलरी, कुनै कुनै बोटको जरा र बाँसको टुसा पनि मन पराउँछन्‌। कहिलेकाहीं तिनीहरूले बाँसको टुसा, काँडाको हरियो पात, सिस्नु, ग्यालिम जातको घाँसपात र विभिन्‍न प्रकारका जरा तथा दाखको “सलाद” बनाउँछन्‌। एक जनाले सोध्छन्‌, “यी गुरिल्लाहरूले सिस्नु समातेर त्यसलाई सफा गर्दा पोल्दैन?” गाइडले बुझाउँछन्‌: “तिनीहरूको हत्केलाको छाला बाक्लो हुन्छ।”

हामी यस्तो शान्त दृश्‍यमा रमाइरहेको बेला त्यो बडेमाको भाले जुरुक्क उठ्‌छ, मुठीले छाती पिट्‌न थाल्छ अनि मुटु थर्काउने गरी डरलाग्दो आवाजले चिच्याउन थाल्छ! त्यो एक जना गाइडतिर लम्कन्छ अनि उनको अगाडि अचानक रोकिन्छ। गाइडलाई डरलाग्दो किसिमले आँखा तर्छ! तर हाम्रो गाइड आत्तिंदैनन्‌। बरु टुसुक्क बस्छन्‌, च्वाँ-च्वाँ गर्छन्‌ अनि बिस्तारै पछिल्लितिर पाइला चाल्छन्‌। यो सेतो ढाड भएको गुरिल्लाले हामीलाई त्यसको बल र शक्‍ति देखाउन खोजेको जस्तो छ। र त्यसले देखाएरै छोड्यो!

अब गाइड हामीलाई फर्कन तयार गर्ने संकेत दिन्छन्‌। हामीले यी अचम्मको, शान्तिप्रिय जीवहरूको पाहुना भएर “कुइरोमा” एक घण्टा जति समय बिताउन पायौं। हाम्रो भेटघाट छोटो भए तापनि अत्यन्तै अविस्मरणीय भएको छ। आउँदै गरेको नयाँ संसारबारे बाइबलको प्रतिज्ञालाई नसम्झी हामीले धरै पाउँदैनौं जब मानिस र पशु सधैंभरि एकअर्कासित मिलेर बस्नेछन्‌!—यशैया ११:६-९.

[पृष्ठ २४-मा भएको नक्सा]

पहाडी गुरिल्ला पाइने ठाउँहरू

प्रजातान्त्रिक गणतन्त्र कंगो

किभु ताल

युगान्डा

रूवान्डा

अफ्रिका

विस्तारित क्षेत्र

[पृष्ठ २४-मा भएको चित्रको स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने