पाठकहरूका प्रतिक्रिया
किन यस्तो विसञ्चो? “युवा जनहरू सोध्छन् . . . किन यस्तो विसञ्चो हुनुपरेको होला?” भन्ने लेखको लागि धन्यवाद। (मे ८, १९९७) म २१ वर्षकी भएँ र मलाई रक्तअल्पताको रोग छ। यस लेखमा उल्लिखित युवाहरूका भावनाहरू म बुझ्नसक्छु। त्यसैले मनमा प्रायजसो खड्किरहन्छ, मेरो स्वास्थ्य यस्तो भएकोले कसैले मलाई माया गर्दैन होला, विवाह गर्दैन होला। तर तपाईंहरूको लेखले मलाई मदत गऱ्यो किनभने यस्ता भावनाहरू मलाई मात्र आउने होइन रहेछ भनेर थाह पाएकी छु।
डि. आर., संयुक्त राज्य
“युवा जनहरू सोध्छन् . . . किन यस्तो विसञ्चो हुनुपरेको होला?” लेखमा उल्लिखित जेसनका र मेरा भावनाहरू उस्तै उस्तै छन्। (मे ८, १९९७) हरेक पल्ट त्यस लेख पढ्दा मलाई बुझ्ने, प्रशंसा गर्ने र मेरो अवस्थाको चिन्ता गर्ने मानिससित कुरा गरिरहेको जस्तो लाग्छ। मेरो बोझ कम गरिदिनुभएको लागि मुरी मुरी धन्यवाद। यहोवाले हेरविचार गर्नुहुन्छ र उहाँको आफ्नो समयमा सबै रोगहरूलाई हटाउनुहुनेछ भनी मलाई थाह छ।
ओ. ए., घाना
यस लेख प्रकाशित हुनुभन्दा दुई हप्ताअघि मलाई मूर्छा पर्ने रोग भएको थाह भयो। भर्खरै १८ वर्ष पुगें र यसरी अहिले बिरामी भएको कारण १८ वर्ष पुग्दा पाउने स्वतन्त्रताको आनन्द नै उठाउन पाइँन। धेरै कुराहरूदेखि सावधान रहनुपर्छ र थरीथरीका औषधीहरू समय समयमा खान बिर्सनु हुँदैन। यसले मेरो आमाबाबुलाई पनि निकै चिन्तामा डुबाएको छ। उहाँहरूको अन्य दुई बच्चाको मृत्यु भइसकेको छ। यस लेखले मेरो हृदय छोयो र आँसु नै बरबर झऱ्यो। मैले अहिलेसम्म गुम्साएर राखेका भावनाहरूबारे नै यस लेखले छलफल गरेको थियो र आफू एक सामान्य व्यक्ति जस्तै लाग्न थाल्यो। यस्ता समस्या तथा चिन्ताहरू मेरा मात्र होइनन् भनेर थाह पाएँ। दृढ रहन चाहिने जानकारी यहोवाले आफ्नो संगठन मार्फत प्रकाशित गरिदिनुभयो।
डि. एस., संयुक्त राज्य
यस लेख पढेपछि मेरो रोगले गर्दा मेरा आमाबाबु सबैभन्दा धेरै दुःखी हुनुहुन्छ भनेर बुझें। मेरो यो रोग उहाँहरूबाट मलाई सरेको भन्नुहुन्छ र यसले उहाँहरूलाई साह्रै निराश बनाउँछ। उहाँहरूलाई त्यस्तो हालतमा देख्दा असाध्यै माया लाग्छ।
वाइ. एच., जापान
सानो बेलामा मेरो स्वास्थ्य राम्रै थियो। तथापि, किशोरावस्था पुगेपछि मलाई एकपछि अर्को रोग लाग्न थालेको छ। मैले पूर्ण-समय सेवकाई गर्न थालें र बिरामी भइराख्ने हुँदा पहिलो दुई महिना त घण्टा पुऱ्याउन सकिनँ। यहोवा विरुद्ध केही नराम्रो काम गरेकोले यस्तो बिरामी भएको हो कि भन्ने विचार गर्दै साह्रै निराश भएँ। मेरो परिस्थितिअनुसार काँटछाँट गर्न र प्रोत्साहित हुन यस लेखले मलाई निकै मदत गऱ्यो।
सि. के., घाना
मेरी नौ वर्षीया छोरी सिक्ने असमर्थता र मस्तिष्कघातले पीडित छिन्। तिनी असाध्यै चनाखो छिन् र सामान्य क्रियाकलाप गर्न सक्दिनन् भन्ने कुरा बुझ्छिन्। तिनी अक्सर हँसिली र खुसी भए तापनि समय समयमा तिनी अलि दिक्क हुन्छिन्। यस लेखका साथै भावी प्रमोदवनमा अन्य बच्चाहरूजस्तै खेल्नसक्ने आशाबारे राति राति बुबा चाहिंसित गर्ने छलफलबाट तिनी प्रोत्साहित भइन्।
वाइ. पि., संयुक्त राज्य
मलाई ‘नदेखिने रोगले’ सताएको झन्डै दस वर्ष भइसक्यो र यसले मेरो पाचनक्रियालाई असर गर्छ। यही रोगको कारण मैले पूर्ण-समय सेवकाई छोड्नुपऱ्यो। यस लेख पढ्दा पहिलोचोटि कसैले मेरो समस्या बुझेजस्तो लाग्यो। म एक्लो छैन भनी थाह पाउँदा ढुक्क महसुस भएको छ। एउटा ठूलो बोझ हटेको जस्तो भएको छ। तपाईंहरूलाई जति धन्यवाद भने पनि पर्याप्त हुनेछैन। यस्ता सामयिक तथा प्रोत्साहनजनक लेखहरूले हामीलाई यस पुरानो रीतिरिवाजमा बाँचिरहन मदत दिन्छन्।
एल. के., क्यानाडा