तिनको हृदय छोयो
ग्लोरिया आडम लेख्छिन्, “हामी १३ छोराछोरी थियौं, ४ छोरा र ९ छोरी। सन् १९८४ मा बुबा संयुक्त राज्यबाट मेक्सिको फर्किनुभयो र त्यतिञ्जेल आफ्नो परिवारले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेको थाह पाउनुभयो। उहाँलाई त्यो कुरा पटक्कै मन परेन र विरोध गर्न थाल्नुभयो। दिन बित्दै जाँदा उहाँको हृदय झन् झनै कठोर भएजस्तो लाग्थ्यो।
“हामी बुबालाई असाध्यै माया गर्थ्यौं र उहाँले पनि हामीले सिकिरहेको जीवनदायी ज्ञानबाट लाभ उठाएको चाहन्थ्यौं। यहोवाका उद्देश्यहरूबारे बुबासित कुरा गर्न बाटो खोलि दिनुहोस् भनी दिनहुँ यहोवासित बिन्ती गर्थ्यौं। यहोवाले हाम्रो बिन्ती सुन्नुभयो किनभने बुबाले टिभी हेर्नुहुने कोठामै हामीलाई पनि भेला हुन परमेश्वरले साहस दिनुभयो। त्यहाँ आमा र हामी छोरीहरू दैनिक बाइबल पद पढ्न भेला हुन्थ्यौं।
“आमाले छलफल गर्नुहुन्थ्यो र टिप्पणी पढेपछि हामी प्रत्येकले पालैपालो प्रार्थना गर्थ्यौं। हाम्री पाँच वर्षकी कान्छी बहिनी मारीले प्रार्थना गर्दा व्यग्रता साथ यस्तो भन्थिन्: ‘यहोवा, कृपया बुबाको हृदय पगाली दिनुहोस् ताकि उहाँ पनि तपाईंको साक्षी हुनसकून्।’ यसो हेर्दा यी सबै कुरा बुबाको कानमा एउटै घुसेको छैन जस्तो लाग्थ्यो किनभने उहाँ सधैं चर्को आवाजमा टिभी हेर्नुहुन्थ्यो। तथापि, समय बित्दै जाँदा उहाँले टिभीको आवाज सानो गर्न थाल्नुभयो अनि एक रात त उहाँले पूरै बन्द गर्नुभयो।
“हाम्रो चलनअनुसार त्यस साँझ आमाले पद पढ्ने कसको पालो भनेर सोध्नुभयो। बुबाले ‘मेरो पालो’ भन्नुहुँदा हामी सबै तीन छक पऱ्यौं। हामी सबै छक्क पऱ्यौं तर कसैले केही भनेनौं। आमाले नाइँनास्ति वा प्रश्नहरू केही नसोधी बुबालाई खुरुक्क दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिका दिनुभयो। बुबाले बाइबल पद छलफल गर्नुभएपछि आमाले प्रार्थना गर्ने पालो कसको भनेर सोध्नुभयो। बुबाले ‘मेरो पालो’ भन्नुभयो।
“हामी त अक्कनबक्क भयौं। प्रार्थना आधी जति पुग्दा हामी कसैले पनि आँसु थाम्न सकेनौं। बुबा पनि रुन थाल्नुभयो र यहोवाको नाउँको निन्दा गरेकोमा उहाँसित माफी माग्नुभयो। हामीलाई विरोध गरेकोमा आमासित पनि माफी माग्नुभयो।
“अतः १९८६ पछि बुबाले विरोध गर्न बन्द गर्नुभयो। सन् १९९० मा हामी संयुक्त राज्य, टेक्ससमा बसाइँ सऱ्यौं। समयमा, बुबाले आफ्नो जीवन यहोवाप्रति समर्पित गर्नुभयो र हामी सात दिदीबहिनीजस्तै बुबाले पनि पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिनुभयो। अप्रिल १९९७ मा बुबा मसीही प्राचीनको रूपमा नियुक्त हुनुभयो। आजसम्म पनि दैनिक पदको छलफल हाम्रो परिवारको महत्त्वपूर्ण भाग हो र हाम्रो पारिवारिक जीवनको जग यहोवा परमेश्वरलाई प्रार्थना गर्नु हो।”
[पृष्ठ ३१-मा भएको चित्र]
१. मेक्सिकोमा अग्रगामी गर्ने चार छोरीहरू। मारी अगाडि छिन्
२. क्वानिता र इसाक आडम आफ्ना केही छोराछोरीसित। दाहिने छेउमा ग्लोरिया छिन्