एक पत्रकारद्वारा ब्यूँझनुहोस्!-को मूल्यांकन
सं.रा.अ.-को पाओनिआ, कोलोराडोबाट प्रकाशित हुने हाइ कन्ट्री न्युज-को अक्टोबर १३, १९९७ अंकमा निम्न प्रशंसापत्र प्रकाशित गरियो।
“ग्रीनपिस [अन्तरराष्ट्रिय वातावरण संगठन] घर-घर जान छोडिसक्यो होला तर निकै पहिलेदेखि घर-घर गएर छलफल गर्न थालेको अर्को एउटा समूह अझै घर-घर जान्छ र प्रायः वातावरणीय विषयलाई महत्त्व दिन्छ। यसले झन्डै ६० [वास्तवमा ८१] भाषाहरूमा लाखौं [प्रत्येक अंक एक करोड ९० लाख] प्रतिहरू वितरण गर्छ। ती पत्रिकाहरू पिजिन, हिलिगेनोन र जुलू भाषामा पनि छन्। जुलाई ८ [१९९७] अंकको (अंग्रेजी) आवरणमा यस्तो प्रश्न गरिएको थियो: ‘हाम्रा जनावरहरूको संरक्षण कसले गर्नेछ,’ अनि भित्र लेखमा जनावरहरू कसरी द्रुत गतिमा लोप हुँदैछन् (प्रति घण्टा तीनवटा), ‘ब्रह्माण्डको जैविक स्वास्थ्य’ र पर्यावरणीय विध्वंशबारे छलफल गरिएको थियो। . . . अगस्त २२, १९९७ अंकले (अंग्रेजी) ‘पानीको हाहाकार: एक विश्वव्यापी समस्या’ साथै जनसंख्या वृद्धि, प्रदूषण र नदीको सन्दर्भमा अन्तरराष्ट्रिय खिचातानीले पारेको प्रभावबारे छलफल गरेको थियो। जानकारीहरू विज्ञानमा आधारित तथा चौतर्फी भए तापनि ती थुप्रै लेखहरूको निचोड वातावरणवादी विचारधारा होइन। यस पृथ्वीको पुनर्स्थापनामा भाग लिन इच्छुक हुनुहुन्छ भने ‘परमेश्वर तपाईंबाट के चाहनुहुन्छ भन्नेबारे बाइबल अध्ययन गरेर सिक्नुहोस्’ भनी तिनीहरू भन्छन्।
“त्यस समूह यहोवाका साक्षीहरू हुन् र पत्रिका हो, ब्यूँझनुहोस्! यदि तिनीहरू तपाईंको ढोकामा आएका छैनन् भने निम्न ठेगानामा सम्पर्क राख्नुहोस्, Watchtower Bible and Tract Society of New York Inc., 25 Columbia Heights, Brooklyn, NY 11201-2483.”
“वा ब्यूँझनुहोस्!-को पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्” भन्नुबाहेक हामीले अझ बढी के भन्नुपर्ला र?