टेलिभिजन कत्तिको खतरनाक छ?
डिसेम्बर १८, १९९७ का दिन टोकियो, जापानका अखबारका शीर्षसमाचारहरूमै टेलिभिजनको कार्टुन चित्रले थुप्रै व्यक्तिहरू बिरामी भएको रिपोर्ट गऱ्यो। सयौंलाई अस्पताल लगियो। “केही बच्चाहरूले रगत छादे र कत्ति मूर्छा वा बेहोश भएको” द न्यु योर्क टाइम्स-ले बतायो। “कुनै कुनै प्रकारका आधुनिक टेलिभिजन कार्यक्रमले बच्चाहरूलाई कत्ति बिगार गर्नसक्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो भनी चिकित्सक तथा मनोवैज्ञानिकहरू चेताउनी दिन्छन्।”
न्यु योर्कको डेलि न्युज-ले भन्यो: “कार्टुन चित्रमा भूतको रातो आँखा टल्केको देखेपछि हिजो जापानमा तहल्का नै मच्चियो र देशभरि सयौं बच्चाहरू बेहोश भए।
“मंगलबार राति त्यस कार्टुन चित्र हेरेपछि झन्डै ६०० केटाकेटीहरू र केही वयस्कहरूलाई . . . आकस्मिक कक्षमा दौडाउनुपऱ्यो।” केहीलाई सास फेर्न गाह्रो भएकोले सघन उपचार कक्षमा राख्नुपऱ्यो।
आठ वर्षीया बच्चीकी आमा युकिको इवासाकी यसो भन्छिन्: “मेरी छोरी बेहोश भएको देख्दा त म जिल परें। उसको ढाडमा हिर्काएपछि मात्र सास फेर्न थाली।”
“सयौं चोटि” प्रयोग गरिसकेको त्यस प्रविधिबाट यस्तो खतरनाक तथा हानिकारक परिणाम कसरी हुन गयो भनी टेलिभिजन कार्यक्रमका निर्माताहरू छक्क परे।
टेलिभिजन कार्यक्रमले पार्नसक्ने खतरनाक प्रभावबारे सजग भएको कारण केही आमाबाबुहरूले आफ्ना छोराछोरीलाई सबै कार्यक्रमहरू हेर्न दिंदैनन् वा घरमा टिभी नै राख्दैनन्। एलेन, टेक्सस, सं.रा.अ.-का एक बुबाले घरमा टिभी हुँदा बच्चाहरू “अलि लामो समयसम्म कुनै कुरामा ध्यान दिन नसक्ने, झिजो मान्ने, सहयोग गर्न नमान्ने र जत्तिखेर पनि बोर मान्ने” गरेको बताउँछन्। तिनी अझ यसो भन्छन्: “अहिले हाम्रो छदेखि १७ वर्षका पाँचै जना बच्चाहरू पढाइमा असाध्यै तेज भएका छन्। टिभी नहुने बित्तिकै तिनीहरूले खेलकुद, पढाइ, सौख, कम्प्युटर आदि जस्ता कुराहरूमा चासो राख्न थाले।
“झन्डै दुई वर्षअघि एउटा अविस्मरणीय घटना भयो। त्यतिबेला ९ वर्षको मेरो छोरा साथीको घरमा पार्टीपछि त्यहीं सुत्नेगरि गएको थियो। तर उसलाई छिटै . . . लिन आउन मलाई फोन गऱ्यो। म उसलाई लिन गएँ र फर्किंदा के कुरा मिलेन भनी सोध्दा उसले भन्यो, ’कस्तो बोर भयो। तिनीहरू टिभी हेर्नु सिवाय केही गर्दैनन्!’ ”