विश्वदर्शन
पानीको हाहाकार
फ्रान्सेली पत्रिका लेक्सप्रेस यस्तो घोषणा गर्छ, “कुनै कदम चालिएन भने २०२५ अघि नै विश्वका दुई तिहाइ मानिसहरू पानीको अभावले तड्पिनेछन्।” ले फिगारो अखबार यसो भन्छ: “अहिले विश्वका एक चौथाइ जनसंख्याले प्रशस्त मात्रामा पानी पिउन पाइरहेका छैनन्।” पानीको समस्याबारे छलफल गर्न मार्च १९९८ मा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले पेरिसमा अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गऱ्यो। फ्रान्सका राष्ट्रपतिलगायत ८४ राष्ट्रहरूबाट आएका २०० भन्दा बढी प्रतिनिधिहरूले पानी बचत गर्ने तरिकाहरूबारे छलफल गरे। सम्मेलनमा प्रकाश पारिएको समस्याहरूमध्ये एउटा हो, अक्सर खेतीपातीको निम्ति व्यवस्थित सिंचाइ नहुनु अनि पाइपबाट चुहिएर पानी त्यसै खेर जानु। फ्रान्सेली राष्ट्रपति ज्याक सिराकले पानी भनेको मानिसको सामूहिक सम्पदा हो र यसलाई विश्वका सबै ठाउँमा व्यवस्थित ढंगमा प्रयोग गरिनुपर्छ भनेर जोड दिए।
केटाकेटीहरू साधारण मनोरञ्जन मन पराउँछन्
तपाईं आफ्ना छोराछोरीको लागि कसरी असल आमा बन्न सक्नुहुन्छ? ह्वर्लपुल फाउण्डेसन नामक संस्थाले सर्वेक्षण लिएको अमेरिकाको ६ देखि १७ वर्षसम्मका १,००० केटाकेटीहरूमध्ये धेरैजसोले दिनहुँ आफ्नो आमासँगै कामकुरा गर्न र विशेषगरि “आमासँग समय बिताउन” मन पराएको पाइयो। तिनीहरूको निम्ति आफ्नो आमासँग गर्ने सबैभन्दा मन पर्ने क्रियाकलाप “सँगै खाना खानु” थियो। दोस्रोमा, तिनीहरू “आमासँगै होटल वा रेष्टुराँमा गएर खाना खान” र “किनमेल गर्न जान” मन पराउँछन्। तिनीहरूलाई मन पर्ने तेस्रो कुरा हो, “सँगै बसेर कुराकानी गर्नु।” केटाकेटीहरूले आफ्नो आमालाई धन्यवाद दिने पहिलो तरिका पनि सरल छ। सर्वेक्षण लिइएकाहरूमध्ये ७० प्रतिशत केटाकेटीहरूले अक्सर आफ्नो आमालाई “अंकमाल गरेर म्वाइँ खान्छौं” भनी बताए। तिनीहरूलाई मन पर्ने अर्को तरिका चाहिं, “म तपाईंलाई माया गर्छु” र “धन्यवाद” भन्नु हो।
गाईलाई ओछ्यान
गाडीको टायर रिसाइक्लीङ गरेर त्यसलाई स-साना टुक्राहरू पारी बनाइएको ओछ्यान गाईका फार्महरूमा ओछ्याउन थालिएको छ भनी क्यानाडाको द ग्लोब एण्ड मेल रिपोर्ट गर्छ। पाँच सेन्टिमिटर बाक्लो यो ओछ्यान ओछ्याउनाले गाईले लामो समयसम्म साथै धेरै दूध दिनसक्छ भनिन्छ। उक्त रिपोर्टअनुसार, “फार्मका गाईहरूले धेरैजसो समय कंक्रीटमा बिताउँछन्,” जसले गर्दा तिनीहरूका “खुट्टा दुख्नुका साथै क्षति पुग्छ।” यो ओछ्यानले गाईका हात र खुट्टाको समस्या कम गर्ने मात्र नभई सुत्नको लागि घुँडा टेक्दा घुँडा ठोक्कीनबाट जोगाउँछ। एक उत्पादकले यस्ता डसनाहरू बनाउनुको उद्देश्य गाईलाई घाँसे खर्कमा ढल्किंदा जस्तो महसुस हुन्छ, त्यस्तै होस् भन्ने हो।
स्पेनी केटाकेटीहरू अनि टिभी
संयुक्त राष्ट्र संघीय बाल कोषका स्पेनी समितिका कार्लोस मारियाले युरोपा प्रेसलाई बताएअनुसार, स्पेनमा टिभी हेर्ने औसतन केटाकेटीहरू दस वर्ष पुगुञ्जेल हत्याका १०,००० अनि आक्रामक गतिविधिका १,००,००० दृश्यहरू हेरिसकेका हुन्छन्। यसबाहेक, प्राध्यापक लुइस मिगेलअनुसार, ४ देखि १२ वर्षबीचका ७५ प्रतिशत स्पेनी केटाकेटीहरू दिनमा कम्तीमा अढाइ घण्टा टिभी हेर्छन्। अनि झन्डै २५ प्रतिशतले त दिनैपिच्छे चार घण्टाभन्दा बढी समयसम्म हेर्छन्। रिपोर्टअनुसार, केटाकेटीहरूले लगभग “हरेक वर्ष स्कूलमा ९०० घण्टा बिताउँछन् भने टिभीमा त्योभन्दा बढी अर्थात् ९३७ घण्टा बिताउँछन्।” डिपार्टमेन्ट अफ इनफर्मेशन साइन्स अफ कम्प्युटेन्सियन युनिभर्सिटिका रिकार्डो पेरेज आथनरअनुसार, समाजमा हिंसा बढाउनसक्ने एउटा तत्व टिभीमा देखाइने हिंसात्मक कार्यक्रम पनि हो।
आइमाईहरू र हृदय रोग
सन् १९६० दशकसम्म ब्राजिलमा प्रायः पुरुषहरू मात्र हृदय रोगद्वारा ग्रतिस हुन्थे, भेझा पत्रिका बताउँछ। तथापि, आइमाईहरूले जागिर खान थालेपछि परिस्थितिले मोड लियो। जागिरे आइमाईहरूले पुरुषहरू सरह “तनाव सामना गर्दा, धूम्रपान गर्दा अनि तयारी खाना खाँदा” थुप्रैलाई हृदय रोग लाग्न थाल्यो। कसै कसैको विचारमा आइमाईहरूसँग हृदय रोग प्रतिरक्षात्मक हर्मोन हुन्छ। यद्यपि, “उनीहरू ३५ वर्ष पुगेपछि त्यो हर्मोन घट्दै जान्छ र पुरुषहरूका लागि जति खतरा हुन्छ उनीहरूका लागि पनि उत्तिकै खतरा हुन्छ” भनी उक्त पत्रिका बताउँछ। सन् १९९५ मा ब्राजिलमा स्तन रोग र पाठेघरको क्यान्सर रोगले जति आइमाईहरूको मृत्यु भयो, त्यसको दुई गुणा बढी हृदयघातले गर्दा भयो।
बोलिभियामा परिवार टुक्रिने क्रम
सत्तरी प्रतिशतभन्दा बढी बोलिभियाली गरिबिको रेखामुनि जीवन गुजार्छन्, बोलिभियन टाइम्स रिपोर्ट गर्छ। फलस्वरूप, थुप्रै केटाकेटीहरू “आफ्नो टुक्रिएको परिवार छोडेर फुट पाथमा दुःखदायी जीवन बिताउँछन्।” त्यहाँ तिनीहरू कोकिन सेवन गर्छन् अनि रंगमा मिसाउने पदार्थ र सरेस सुँघ्छन्। बोलिभियामा खपत हुने ८८ प्रतिशत लागूपदार्थ ५ वर्षका केटाकेटीहरूदेखि २४ वर्षसम्मका किशोरकिशोरीहरूले सेवन गरेको अनुमान लगाइन्छ। फलतः गत १५ वर्षभित्र लागूपदार्थको अवैध प्रयोगमा १५० प्रतिशत वृद्धि भएको छ। टाइम्स-अनुसार, “थुप्रैको विचारमा लागूपदार्थको अवैध प्रयोग बढ्नुको एउटा मुख्य कारण परम्परागत परिवारहरू टुक्रिनु हो।”
संगीतले ग्राहकहरूलाई प्रभावित गर्छ
बेलाइतको लेस्टर विश्वविद्यालयका मनोवैज्ञानिकहरूको एक समूहले पसलमा बजाइने संगीतले ग्राहकहरूलाई कस्तो मदिरा किन्ने भनेर छनौट गर्नमा प्रभाव पार्नसक्छ भनी पत्ता लगाए। नेशनल जियोग्राफीक-अनुसार, “पसलमा फ्रान्सेली एकर्डियनको धुन बजाउँदा पाँच बोतल फ्रान्सेली मदिरा बिक्री भयो भने जर्मन मदिरा चाहिं एक बोतल मात्र। तर जर्मन बियर पसलमा बजाइने धुन बजाउँदा ग्राहकहरूले एक बोतल फ्रान्सेली मदिरा किने भने जर्मन मदिरा चाहिं दुई बोतल।” एक अनुसन्धानकर्ताअनुसार चाखलाग्दो कुरा के छ भने, “मदिरा किन्ने आफ्नो छनौटमा संगीतले असर गर्छ” भनेर कमै ग्राहकलाई थाह हुन्छ।
पकाउँदा सावधान हुने
टफ्ट्स युनिभर्सिटि हेल्थ एण्ड न्युट्रेसन लेटर-अनुसार, १९९० देखि १९९४ सम्म मासाचुसेट्स जनरल हस्पिटलको सम्नर रेड्सटन बर्न सेन्टरमा ल्याइएका आगोमा जलेर मर्ने धेरैजसो आइमाईहरू खाना पकाउँदा आगो टिप्ने लुगा लगाएकोले जलेका थिए। आगोमा जल्ने आइमाईहरू प्रायः ६० वर्ष वा त्योभन्दा बढी उमेरका हुन्छन्। तिनीहरू ह्वार्लाङे बाहुला भएको लुगा लगाउँछन् अनि चिया बसाल्दा वा उतार्दा बाहुलाले स्टोभको आगोले टिप्न पुग्छ। आगोमा जल्नबाट बच्न निम्न सुझाउहरू दिइन्छ। खाना पकाउँदा (१) स्नान पोसाक वा अन्य ह्वार्लाङे लुगाहरू नलगाउनुहोस्, (२) आगोको ज्वालाबाट बच्न भाँडा वा कराई बसाल्दा स्टोभको अगाडिपट्टिको बर्नर बाल्नुहोस् अनि (३) आगोले नटिप्ने लुगा लगाउनुहोस्।
प्रेमको अभिव्यक्ति?
“युवाहरूले प्रेम गरेपछि यौन सम्बन्ध पनि राख्नुपर्छ भन्ने विचार राख्छन् अनि वयस्क युवतीहरूले यौन सम्बन्ध राख्न इन्कार गरे तिनीहरूलाई कुटपिट गर्न पनि बेर लाउँदैनन्” भनी दक्षिण अफ्रिकाको एउटा अखबारको परिशिष्ट साक्षीको प्रतिध्वनि रिपोर्ट गर्छ। केप टाउनका किशोरकिशोरीहरूमा गरिएको अनुसन्धानबाट के पत्ता लाग्यो भने, “पुरुषहरू प्रेमिकालाई आफ्नो अधीनमा राख्छन् अनि युवतीहरूसँग यौन सम्बन्ध राख्न अक्सर हिंसात्मक तरिकासमेत अपनाउँछन्।” एउटा अध्ययनअनुसार, अन्य पुरुषहरूसँग बोलचाल गरेको कारण ६० प्रतिशत युवतीहरूलाई तिनीहरूको प्रेमीले पिट्ने गर्छन्। उक्त रिपोर्ट अझ यसो भन्छ, “पुरुषहरूले कुटपिट गर्नु त यति सामान्य भएको छ कि धेरैजसो युवतीहरू त्यसलाई प्रेमको अभिव्यक्ति सम्झन्छन्।”