प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ४/८ पृ. १६-१९
  • लामु—समयको गतिले केही फरक नपारेको टापु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लामु—समयको गतिले केही फरक नपारेको टापु
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विगतका पानाहरू पल्टाउँदा
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • पानी, आकाश र बतासद्वारा मार्ग-निर्देशन गर्ने
    ब्यूँझनुहोस्‌!—२००३
  • “समुद्रका जोखिममा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • फिजीका टापुहरूमा परमेश्‍वरको राज्य घोषणा गर्दै
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ४/८ पृ. १६-१९

लामु—समयको गतिले केही फरक नपारेको टापु

केन्याका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

समुद्री बतासले पाललाई हानिरहेको काठको सानो जहाज अगाडि बढ्‌दै थियो। जहाजको माथि उक्लेर मस्तुलमा बसेका केही मानिसहरू हिन्द महासागरको टाढा क्षितिजमा कतै ओबानो जमिन देखिन्छ कि भनी आँखा च्याती च्याती हेरिरहेका थिए। यो, सा.यु. १५ औं शताब्दीको कुरा हो अनि यी नाविकहरू लामु टापुको खोजमा थिए।

अफ्रिकामा सुन, हात्तीको दाँत अनि दास सबै थिए। अफ्रिकाको धन र नयाँ ठाउँ पत्ता लगाउने कुतकुतीले टाढटाढा देशका बहादुर मानिसहरू पूर्वी अफ्रिकातिर लागे। नाविकहरू अशान्त समुद्र र प्रबल बताससित लड्‌दै धनको खोजीमा हिंडे। काठको सानो जहाजमा कोचाकोच गरेर तिनीहरू लामो यात्रामा निस्के।

पूर्वी अफ्रिकी तटको बीचतिर लामु द्वीपपुञ्जका मुगाका ढिस्कोहरूले यी समुद्री यात्रुहरू र तिनीहरूका कमजोर जहाजहरूलाई आश्रय दिन्थ्यो। यहाँ नाविकहरूले आफ्नो जहाजमा पुनः स्वच्छ पानी तथा भोजनहरू भर्नसक्थे।

पन्ध्रौं शताब्दीसम्ममा लामु टापु समृद्धशाली व्यापार तथा आपूर्ति केन्द्रको रूपमा स्थापित भइसकेको थियो। त्यहाँ १६ औं शताब्दीमा आइपुगेका पुर्तुगाली नाविकहरूले रेसमको फेटा र सर्रर बग्ने लामो खुकुलो लुगा लगाइरहेका धनी व्यापारीहरू देखे। अनि मगमग अत्तरको बास आउने सुन्दरीहरू हात गोडामा सुनका बालाहरू लगाएर साँघुरो सडकमा हिंड्‌थे। बन्दरगाहभरी विदेशी मुलुकमा जाने सामानले टन्‍न भरिएका जहाजहरू हुन्थे। समूह समूहमा बाँधिएका दासहरू चाहिं जहाज चढाउन ठिक्क गरी राखिएका हुन्थे।

पहिले पहिलेका अन्वेषकहरू लामुको उच्चस्तरीय सरसफाइ र वास्तुकलाहरू देखेर छक्क परे। समुद्रतिर फर्केका घरहरू स्थानीय मुगा खानीहरूबाट ल्याइएका मुगाका ढिस्कोहरूलाई हातैले खोपेर बनाइएको हुन्थ्यो र असाध्यै राम्रोसित कुँदेर बनाएका बलिया काठका ढोकाहरूले बनेका प्रवेशद्वार सुरक्षित देखिन्थे। घरहरू व्यवस्थित ढंगमा लहरै डिजाइन गरी बनाइएका हुँदा असाध्यै गर्मीको बेलामा पनि साँघुरा गल्लीहरूबीच पस्ने समुद्रको चिसो बतासले मानिसहरूलाई राहत पुऱ्‍याउँथ्यो।

धनीहरूका घरचाहिं ठूला अनि फराकिला हुन्थे। स्नानगृहहरूमा पुराना डिजाइनका पाइप जडान गरेर सफा पानीको आपूर्ति गरिन्थ्यो। ढल निकासको व्यवस्था पनि त्यत्तिकै प्रभावकारी थियो। भन्‍ने हो भने, त्यतिबेलाका थुप्रै युरोपेली राष्ट्रहरूको भन्दा उन्‍नत प्रकारको थियो। ढुंगा खोपेर बनाइएका ठूलठूला पाइपहरू समुद्रतिर तेर्साएर राखिन्थ्यो र यसबाट फोहर पानीहरू ठूलठूला खाल्डाहरूमा पठाइन्थ्यो तर ती खाल्डाहरू स्वच्छ पानीको मुहानभन्दा धेरै टाढा हुन्थे। घर-घरमा पानी आपूर्ति गर्न चट्टानका कुवाहरू बनाइएका थिए र ती कुवाहरूमा लामखुट्टेको लार्भा खाऊन्‌ भनेर साना जातका माछाहरू पालेर राखिएको हुन्थ्यो र यसरी लामखुट्टेहरू बढ्‌न पाउँदैनथे।

उन्‍नाइसौं शताब्दीसम्ममा लामुले त्यहाँ आउने जहाजहरूमा ठूलो संख्यामा हात्तीको दाँत, तेल, बीउ, जनावरहरूको छाला, कछुवाको ढाड, जलगैंडाको दाँत र दासहरू भरेर पठाउन थालिसकेको थियो। तथापि, समय बित्दै जाँदा लामुको समृद्धि कम हुन थाल्यो। महामारी, विद्रोही जातिहरूको आक्रमण र दास व्यापारमा लगाइएको प्रतिबन्धले गर्दा लामुको आर्थिक महत्त्व घट्‌न थाल्यो।

विगतका पानाहरू पल्टाउँदा

आज लामुको बन्दरगाहमा जाँदा पुरानो समयमा फर्के जस्तै लाग्छ। विशाल हिन्द महासागरबाट निरन्तर बतास चलिरहेको हुन्छ। सुस्तरी बहिरहेका नीला छालहरू बलौटे किनार छुन आउँछन्‌। पुरानो डिजाइनका काठका जहाजहरू उडिरहेको पुतली जस्तो देखिने त्रिकोण आकारको पालहरू बोकेर अझै पनि बिस्तारै अगाडि बढिरहेका देखिन्छन्‌। माछा, फलफूल, नरिवल, गाई, कुखुरा र यात्रुहरूले टन्‍न भरिएका जहाजहरू लामुको बन्दरगाहतिर लाग्छन्‌।

बन्दरगाहमा यत्रतत्र छरिएका खजूरका रूखहरूले सामान ओसारिरहेका भरियाहरूलाई तातो हावाबाट बच्न अलिकति भए पनि छहारी दिन्छ। बजार चर्को स्वरले आफ्ना सामानहरू लेनदेन गरिरहेका मानिसहरूले व्यस्त हुन्छ। तर व्यापारीहरूले सुन, हात्तीको दाँत वा दासहरू होइन तर केरा, नरिवल, माछा र टोकरीहरूको व्यापार गर्दैछन्‌।

बडेमाको आँपको रूखको छहारीमुनि बसेर मानिसहरू सिसालको डोरी बाट्‌छन्‌ र तिनीहरूको काठको जहाजलाई अघि ठेल्न मदत गर्ने पाल मर्मत गर्छन्‌। सडकहरू साँघुरा अनि हर दिशातर्फ लागिरहेका मानिसहरूले भरिएका छन्‌। टाउकोदेखि खुट्टासम्म आइपुग्ने लामो लुगा लगाएका व्यापारीहरू सामानले टनाटन भरिएका पसलहरूमा बसेर ग्राहकहरूलाई बोलाइरहेका हुन्छन्‌। अन्‍नहरूको बोराले टन्‍न भरेको गाडा सास्ती खाइखाइ तानिरहेका गधाहरू मानिसहरूको भीड छिचोल्दै अगाडि बढिरहेका छन्‌। लामुका बासिन्दाहरू हिंडेरै टापुको कुनाकुनासम्म पुग्छन्‌ किनकि यहाँ यातायातको निम्ति केही पनि सवारीसाधन छैन। टापुमा जाने एउटै मात्र तरिका डुंगा हो।

मध्यदिनमा टन्टलापुर घाम लाग्दा समय टक्क अडिए जस्तो देखिन्छ। सहिनसक्नु चर्को घाममा कमै मानिसहरू बाहिर निस्कन्छन्‌ र गधाहरूसमेत आँखा चिम्लेर चलहल नगरी बस्छन्‌।

सूर्यको राप कम हुँदै गएपछि निदाइरहेको टापु फेरि जीवित हुन्छ। व्यापारीहरू, कुँदिएका पसलका ढोकाहरू खोल्छन्‌ र राती अँध्यारोसम्म टुकी बालेर व्यापार गर्छन्‌। स्त्रीहरू आफ्ना साना बच्चाहरूलाई नुहाइदिन्छन्‌ र तिनीहरूको छाला टलक्क नटल्केसम्म नरिवलको तेल घसिदिन्छन्‌। नरिवलको पातबाट बनाइएको मान्द्रोमा बसेर स्त्रीहरू खाना पकाउने तर्खर गर्न थाल्छन्‌। यहाँ अझै पनि चुलोमा खाना पकाइन्छ। मगमगाउँदा मसालाहरू हालेर माछाको स्वादिष्ठ परिकार र नरिवलको दूधिलो झोल हालेर तिनीहरू भात पकाउँछन्‌। मानिसहरू मिलनसार, अतिथिसत्कार गर्ने अनि शान्त स्वभावका छन्‌।

लामुले पहिले पहिलेको वैभव अनि महिमा गुमाइसकेको भए तापनि २० औं शताब्दी अगाडिका परम्परागत अफ्रिकी चलन यहाँ अझै यथावत्‌ छ। न्यानो उष्ण कटिबन्धीय सूर्यको मुनि यहाँ शताब्दीयौं अघिदेखि जस्ताको तस्तै जीवन चलिरहेको छ। यहाँ मानिसहरूले भूत अनि वर्तमानको एकै चोटि यात्रा गर्नसक्छन्‌। साँच्चै, लामु बितेको युगको अद्वितीय नमुना हो जहाँ समयको गतिले केही फरक पारेको छैन।

[पृष्ठ १८, १९-मा भएको पेटी/चित्र]

हाम्रो लामु यात्रा

केही समयअघिको कुरा हो, हामी एक समूह लामु गएका थियौं तर सामानहरू बेचबिखन गर्ने उद्देश्‍यले होइन। हामी हाम्रा मसीही भाइबहिनीहरू अर्थात्‌ सँगी यहोवाका साक्षीहरूलाई भेट्‌न गएका थियौं। हाम्रो हलुको विमान केन्याको सुक्खा तटको उत्तरतिर उड्यो। समुद्री तटको हराभरा उष्ण प्रदेशीय जंगल र छेवैको सेतो तटवर्ती बालुवाहरूमा मन्द छालहरू ठोकिंदैथिए। अचानक हामीले लामु द्वीपसमूह गाढा नीलो समुद्रमा मणिजस्तो चम्किरहेको देख्यौं। ठूलो अफ्रिकी चीलले हावामा कावा खाएजस्तै हामीले टापुको चक्कर लगायौं र त्यहाँको सानो धावनमार्गमा अवतरण गऱ्‍यौं। विमानबाट ओर्लेर हामी पानीको किनारतर्फ लाग्यौं र काठको सानो डुंगा चढेर लामुतिर लम्क्यौं।

एकदमै घमाइलो दिन थियो र समुद्रको मन्द न्यानो हावाले हामीलाई सुस्तरी हानिरहेको थियो। टापु नजिक पुग्न थालेपछि हामीले समुद्र किनारमा मानिसहरूको हलचल देख्यौं। हट्टाकट्टा मानिसहरू डुंगाबाट गह्रौं भारीहरू निकाल्दै थिए र स्त्रीहरू चाहिं आफ्नो टाउकोमा सामान बोकेर मजाले हिंड्‌दै थिए। हामी आफ्नो सामान बोक्दै मानिसहरूको भीड छिचोल्दै खजूरको रूखमुनि छहारीतिर लाग्यौं। केही मिनेटमै हाम्रा मसीही भाइहरूले हामीलाई भेट्टाए र तिनीहरूको घरहरूमा हाम्रो न्यानो सत्कार गरियो।

समुद्र किनारमा भेला भएका हाम्रा भाइबहिनीहरूलाई भेट्‌न हामीले सूर्य उदाउनुभन्दा निकै समयअघि ओछ्यान छाड्यौं। मण्डलीको सभा धाउन निकै घण्टाको बाटो हिंड्‌नु पर्दो रहेछ। हामीले आफूसँग पिउने पानी, ठूलो घेरा भएको टोपी र हिंड्‌न सजिलो हुने खालको जुत्ता लगेका थियौं। बिहानको झिसमिसे घाम ढाडमा सेक्दै हामी सभामा उपस्थित हुन प्रमुख द्विपतिर लाग्यौं।

भाइहरूले मौकाको फाइदा उठाउँदै हामीसितै यात्रा गरिरहेका अरूलाई साक्षी दिए र हाम्रो डुंगा रोकुञ्जेल हामीले केही बाइबल छलफलहरूको आनन्द उठाइसकेका थियौं र केही पत्रिकाहरू वितरण गऱ्‍यौं। तातो अनि धूलाम्य सुनसान बाटोले स्वागत गरिरहेको थियो। बस्ती नभएको जंगलको बाटोमा हामीलाई आँखा खुलै राखेर हिंड्‌ने सुझाव दिइयो। किनकि बाटोमा जंगली जनावरहरूसित जम्काभेट हुने सम्भावना रहेछ र कहिलेकाहीं जंगली हात्ती समेत बाटो काट्‌न आइपुग्दा रहेछन्‌। हाम्रा भाइहरू रमाईरमाई आफ्नो गन्तव्यस्थानतर्फ लम्किरहेका थिए।

केही बेरमै हामी सानो गाउँमा पुग्यौं, त्यहाँ हामीले टाढटाढाबाट आएका मण्डलीका अरूलाई भेट्यौं। लामो बाटो हिंड्‌नुपर्ने भएकोले एक दिनमै मण्डलीका चारवटै सभाहरू सञ्चालन गरिन्थ्यो।

सभाहरू काँचो ईंटाले बनाएको र झ्याल वा ढोकाको काम पनि नसकिएको सानो स्कूलमा हुन्थ्यो। कक्षा कोठाभित्र हामी १५ जना काठको सानो बेन्चमा बस्यौं र प्रोत्साहनजनक तथा निर्देशनात्मक बाइबल आधारित कार्यक्रमको लाभ उठायौं। माथि रनक्क रन्किरहेको टिनको छानाले कसैलाई फरक नपारेको जस्तो देखिन्थ्यो। सँगै हुन पाएकोमा सबै मख्ख थिए। चार घण्टाको सभापछि हामीले बिदा माग्यौं र आ-आफ्नो बाटो ततायौं। हामी लामुमा फर्कुञ्जेल सुनौलो सूर्यले क्षितिज चुम्न थालिसकेको थियो।

त्यस साँझ शीतल वातावरणको आनन्द लिंदै हामीले लामुका स्थानीय साक्षी परिवारको घरमा साधारण भोजनको स्वाद लियौं। त्यसपछिका दिनहरूमा हामी साँघुरा घुमौरो गल्लीहरू डुल्दै बाइबल सत्यको निम्ति भोकाइरहेका मानिसहरूको खोजीमा निस्क्यौं। ती थोरै भाइहरूको जोस र साहस देखेर हामी प्रभावित नभई बस्न सकेनौं।

अन्तमा हामी फर्कने दिन पनि आयो। भाइहरू हामीलाई समुद्र किनारसम्म पुऱ्‍याउन आए र हामीले भारी मन लिंदै बिदाइ गऱ्‍यौं। हाम्रो भ्रमणले गर्दा आफू प्रोत्साहित भएको कुरा भाइहरूले बताए। तर हामी उनीहरूबाट कत्ति प्रोत्साहित भयौं त्यो उनीहरूलाई के थाह! प्रमुख महाद्विप पुगेपछि हामी आफ्नो विमानमा चढ्यौं। माथि आकासमा उँभो उँभो उचालिंदै गएपछि हामीले तल सुन्दर लामु टापुलाई हेऱ्‍यौं। यात्राभर हामीले त्यहाँका भाइहरूको बलियो विश्‍वास, तिनीहरूले यात्रा गर्नुपर्ने लामो दुरी र सत्यको लागि तिनीहरूको जोस र प्रेमबारे सोचिरह्‍यौं। धेरै समयअघि भजन ९७:१ मा यस्तो भविष्यवाणी गरिएको थियो: “परमेश्‍वरले राज्य गर्नुहुनेछ, पृथ्वी रमाओस्‌। द्वीप-पुञ्ज पनि खुशी होऊन्‌।” साँच्चै त्यस्तो दुर्गम लामु टापुमा समेत मानिसहरूलाई परमेश्‍वरको राज्यअन्तर्गत प्रमोदवनको आनन्द उठाउने अद्‌भुत आशामा रमाउने मौका दिइएको छ।—साभार।

[पृष्ठ १७-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अफ्रिका

केन्या

लामु

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

© Alice Garrard

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]

© Alice Garrard

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने