प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ३/१५ pp. २९-३१
  • “समुद्रका जोखिममा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “समुद्रका जोखिममा”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सामुद्रिक व्यापारमा निर्भर रोम
  • मालवाहक जहाजमा यात्रुहरू?
  • समुद्रीयात्रा—कत्तिको सुरक्षित?
  • समुद्रपार सुसमाचार सुनाइयो
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • पावल विपत्तिमाथि विजयी हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पावललाई रोम पठाइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ३/१५ pp. २९-३१

“समुद्रका जोखिममा”

रातको अन्धकारमा २७६ जना यात्रुहरू भएको एउटा जहाज भूमध्यसागरको टापुतर्फ गइरहेको छ। समुद्रमा आएको आँधीले जहाजलाई १४ दिनसम्म यताउता हुत्याएकोले नाविक दल र यात्रुहरू थकित भएका छन्‌। झिसमिसे उज्यालोमा खाडी देख्दा तिनीहरू जहाजलाई किनार लगाउन खोज्छन्‌। तर जहाजको अघिल्लो हिस्सा चल्न नसक्नेगरि ठोक्किएर गाडिन्छ र छालले जहाजको पछिल्लो भागलाई टुक्रा-टुक्रा पारिदिन्छ। जहाजमा भएका सबै जना जहाज छोडेर भाग्छन्‌ र तैरिन्दै अथवा काठको फल्याक र जहाजको अरू चीजहरूमा झुन्डिन्दै जसो तसो माल्टाको किनारामा पुग्छन्‌। असाध्यै चिसो भएको र थाकेकाले तिनीहरू बेरोक समुद्री लहरलाई पन्छयाउँदै पाखा लाग्छन्‌। ती यात्रुहरूमध्ये मसीही प्रेरित पावल पनि हुन्‌। तिनलाई मुद्दाको लागि रोम लगिंदै छ।—प्रेरित २७:२७-४४.

ज्यानै खतरामा पार्ने माल्टाको टापुमा भएको यो जहाजको दुर्घटना पावलको लागि समुद्रमा पहिलो घटना थिएन। केही वर्षअघि तिनले लेखे: “तीनचोटि म चढ़ेको जहाज फुट्यो। एक दिन एक रात मैले समुद्रमै बिताएको छु।” तिनी “समुद्रका जोखिममा” परे भनेर पनि भने। (२ कोरिन्थी ११:२५-२७) परमेश्‍वरले दिनुभएको भूमिका पूरा गर्न अर्थात्‌ “अन्यजातिहरूको प्रेरित” हुनको निम्ति समुद्री यात्राले पावललाई सहायता गऱ्‍यो।—रोमी ११:१३.

प्रथम शताब्दीमा समुद्रीयात्रा कतिको प्रचलित थियो? मसीही धर्म फैलाउनमा यसले कस्तो योगदान पुऱ्‍यायो? यो कत्तिको सुरक्षित थियो? कस्ता प्रकारका जहाजहरू चलाइन्थ्यो? अनि यात्रीहरू बस्ने कस्तो प्रबन्ध मिलाइएको थियो?

सामुद्रिक व्यापारमा निर्भर रोम

रोमीहरूले भूमध्यसागरलाई मारे नोस्ट्रम अथवा हाम्रो समुद्र भन्थे। रोमीहरूले समुद्री ढुवानी नियन्त्रण गर्नुको सैन्य कारण मात्र थिएन। रोमी साम्राज्यका प्रायजसो शहरहरू या त बन्दरगाह थिए या ती बन्दरगाहहरूले त्यस शहरको कामहरू गरिदिन्थे। उदाहरणको लागि, रोमको बन्दरगाह नजिकैको ओस्टिया थियो भने कोरिन्थको लेकिउममा अनि सिनक्रिया र आरामी शहर एन्टिओकको सिल्युसियामा थियो। यी बन्दरगाहहरूबीचको राम्रो सामुद्रिक सम्बन्धले मुख्य शहरहरूसँग राम्रो सम्बन्ध हुनसक्यो र रोमी प्रान्तलाई रेखदेख गर्न सजिलो बनायो।

खाद्य आपूर्तिको लागि रोम पनि जहाजद्वारा गरिने व्यापारमा निर्भर थियो। दश लाख जति जनसंख्या भएको रोमलाई वर्षेनी २,५०,००० देखि ४,००,००० टनसम्म खाद्यान्‍न चाहिन्थ्यो। त्यत्रो खाद्यान्‍न कहाँबाट आउँथ्यो? वर्षको आठ महिनासम्म पुग्ने खाद्यान्‍न दक्षिण अफ्रिकाले रोमलाई दिन्थ्यो भने अर्कोतिर मिश्रले बाँकी चार महिनासम्म पुग्ने पर्याप्त खाद्यान्‍न पठाउँथ्यो भनी फ्लेभियस जोसेफसले हेरोद अग्रिपा दोस्रोको उद्धरण गरे। हजारौं समुद्री जहाजहरू त्यस शहरमा खाद्यान्‍न पुऱ्‍याउन जुटेका थिए।

रोमीहरूले प्रयोग गर्ने विलासी सामग्रीहरू जुटाउन फस्टाइरहेका समुद्रबाट गरिने व्यापारद्वारा सबै प्रकारका सामानहरू पुऱ्‍याइन्थ्यो। खनिज पदार्थ, पत्थर तथा संगमरमरहरू साइप्रस, ग्रीस र मिश्रबाट जहाज ढुवानी गरिन्थ्यो भने लबानोनबाट काठपातहरू ल्याइन्थ्यो। स्मर्नाबाट मद्य, दमीशकबाट काजु, बदाम र प्यालेस्टाइनबाट खजूरहरू ल्याइन्थ्यो। मलम तथा रबर सिलिसियाबाट, मिलेटस र लाओडिसियाबाट ऊन, सिरिया र लबानोनबाट कपडा अनि टायर र सायडनबाट बैजनी लुगा पठाइन्थ्यो। रंग थिआटायराबाट भने काँच अलेक्जेन्ड्रिया र सायडनबाट पठाइन्थ्यो। रेशम, कपास, हात्तीको दाह्रा र मसलाहरू चीन तथा भारतबाट आयात गरिन्थ्यो।

माल्टामा दुर्घटना भएको पावल चढेको जहाजबारे के भन्‍न सकिन्छ? त्यो अन्‍न बोक्ने “इटालीमा जाने अलेक्जेन्ड्रियाको एउटा जहाज” थियो। (प्रेरित २७:६) मालवाहक जहाजका मालिकहरू युनानी, फिनिशियाली र अरामीहरू थिए र सबै जहाजहरू तिनीहरूकै नियन्त्रणमा चल्थे। तापनि रोमी सरकारले ती जहाजहरू भाडामा लिन्थे। इतिहासकार विलियम एम. राम्से भन्छन्‌, “कर असुल गर्दा जस्तै त्यस ठूलो कामको लागि पनि मानिसहरू र सरसामानहरू, सरकार आफैले सुव्यवस्थित नगरेर तिनीहरूको सुविधाअनुसार ठेकेदारहरूलाई ती काम ठेक्कामा दिन्थे।”

“जम्ल्याहा दाज्यू-भाइको” मूर्तिको चिह्न भएको जहाजमा पावलले रोमसम्मको समुद्रीयात्रा पूरा गरे। यो पनि अलेक्जेन्ड्रियाको जहाज थियो। नेपल्सको खाडीस्थित पटिओलीको बन्दरगाहमा अन्‍न ओराल्न यो जहाज रोकिन्थ्यो। (प्रेरित २८:११-१३) पटिओलीबाट ती मालहरू स्थलमार्गबाट ढुवानी गरिन्थ्यो या त साना जहाजहरूमा सारेर किनाराको उत्तर हुँदै रोमको बीचको टाइबर नदीमा पुऱ्‍याइन्थ्यो।

मालवाहक जहाजमा यात्रुहरू?

पावल र तिनलाई पहरा दिने सिपाहीहरू किन मालवाहक जहाजमा यात्रा गरे? यो प्रश्‍नको उत्तर दिनको निम्ति ती दिनहरूमा समुद्रीयात्रा गर्नुको मतलब के थियो, त्यसबारे जान्‍नु आवश्‍यक छ।

सा.यु. प्रथम शताब्दीमा यात्रु जहाज थिएन। व्यापारीहरूको जहाजमा यात्रुहरू आवतजावत गर्थे। राष्ट्रका अधिकारी, विद्वान्‌, प्रचारक, बिजुवा, चित्रकार, खेलाडी, व्यापारी, पर्यटक र तीर्थयात्रीहरूलगायत सबै प्रकारका मानिसहरू त्यही जहाजमा यात्रा गर्थे होलान्‌।

किनारबाट चल्ने यात्रु र मालहरू ओसार्ने साना जहाजहरू नभएका पनि होइनन्‌। त्रोआसबाट “म्यासिडोनिया जान” पावल पनि यस्तै जहाजमा चढेको हुनुपर्छ। साना जहाजहरूबाटै यात्रा गरेर तिनले धेरै पटक एथेन्समा आवतजावत गरेका थिए। सायद साना जहाजहरूबाटै यात्रा गरेर पावल एसिया माइनरको तट नजिकैको टापु हुँदै त्रोवासबाट पटारा गए। (प्रेरित १६:८-११; १७:१४, १५; २०:१-६, १३-१५; २१:१) यस्ता साना जहाजबाट यात्रा गर्दा धेरै समय नलागे तापनि समुद्र किनारबाट धेरै टाढा टाढासम्म जान सक्दैन थियो। यसकारण, साइप्रस त्यसपछि प्याम्फिलिया अनि एफिससबाट सिजरिया र पटाराबाट टायरसम्म पावललाई पुऱ्‍याउने जहाज धेरै ठूलो थियो। (प्रेरित १३:४, १३; १८:२१, २२; २१:१-३) माल्टामा दुर्घटना भएको जहाज पनि धेरै ठूलो हुनुपर्छ। यस्ता जहाजहरू कत्तिका ठूला थिए होलान्‌?

एक विद्वान्‌ साहित्यिक पुस्तक पढेर यसो भन्‍न प्रेरित भए: “प्राचीन समयमा उपयोगी ठानिएको सबैभन्दा कम अटाउने [जहाज] नै लगभग ७० देखि ८० टनको थियो। युनानी युगमा चल्ने जहाज साधारणतया १३० टन जति हुन्थ्यो। २५० टनको जहाज साधारण भए तापनि अन्य जहाजहरूभन्दा यो धेरै ठूलो थियो। रोमीहरूको समयमा सम्राटहरूका यातायातको निम्ति प्रयोग गरिने जहाज अझ ठूलो थियो। यसको क्षमता ३४० टन थियो। सबैभन्दा ठूलो जहाज १३०० टनको थियो।” सा.यु. दोस्रो शताब्दीमा लेखिएको विवरणअनुसार अन्‍न बोक्ने अलेक्जेन्ड्रियाली आइसिस ५५ मिटर लम्बाइ, लगभग १५ मिटर चौडाइ, १४ मिटर गहिराइ र हजारौं टन अन्‍नको साथै सयौं यात्रीहरू अटाउन सक्ने जहाज थियो।

अन्‍न बोक्ने जहाजमा यात्रीहरूको लागि कस्तो प्रबन्ध थियो? यी जहाजहरू मुख्यतया माल बोक्नको निम्ति भएकोले यात्रुहरूलाई त्यति ध्यान दिइँदैनथ्यो। पानी बाहेक खाना वा अन्य सेवाहरू उपलब्ध गरिंदैनथ्यो। तिनीहरू पाल टाँगेर सुत्थे। ती पालहरू राति राख्ने र बिहानै निकालिने गरिन्थ्यो। यात्रुहरूले जहाजको भान्छाघर चलाउन पाए तापनि पकाउन, खान, नुहाउन र सुत्नको निम्ति भाँडा र तावादेखि लिएर ओछ्यानसम्म आफै ल्याउनु पर्थ्यो।

समुद्रीयात्रा—कत्तिको सुरक्षित?

त्यतिबेला कम्पास जस्ता यन्त्रहरू नभए तापनि जहाज चालकहरू आफ्नै आँखाको भरमा जहाज चलाउँथे। मे महिनाको सुरुदेखि सेप्टेम्बर महिनाको बीचसम्म मौसम राम्रो हुने भएकोले यात्रा सुरक्षित हुन्थ्यो। त्यस समयभन्दा दुई महिनाअघि अनि पछि व्यापारीहरू यात्रा गर्न अनुकूल मौसम कुरेर मौका छोप्थे। तर हिउँदको समयमा कुइरो र बादलले दिशा ढाकिदिन्थ्यो अनि दिनमा घाम र रातमा ताराहरूलाई धमिलो बनाइदिन्थ्यो। नोभेम्बर ११ देखि मार्च १० सम्म समुद्रीयात्रा गर्न बन्द गरिन्थ्यो। एकदमै खाँचो र आवश्‍यकता परेको खण्डमा मात्र यात्रा गर्न पाइन्थ्यो। बेसमयमा यात्रा गर्नेहरूले विदेशी बन्दरगाहमा एकदमै जाडो सहनु पर्थ्यो।—प्रेरित २७:१२; २८:११.

समुद्रीयात्रा गर्न खतरापूर्ण र मौसममा भर पर्नु पर्ने भए तापनि के स्थलमार्गबाट गरिने यात्राभन्दा यो यात्रा फाइदाजनक थियो त? अवश्‍य पनि थियो! समुद्रीयात्रा गर्दा त्यति थकाइ नलाग्ने, सस्तो र छिटो हुन्थ्यो। हावा अनुकूल हुँदा जहाजले दिनमा १५० किलोमिटर पार गर्न सक्थ्यो। हिंडेर लामो यात्रा गर्दा साधारणतः दिनमा २५ देखि ३० किलोमिटरसम्म मात्र पार गर्न सक्थ्यो।

जहाजको गति हावामा नै भर पर्थ्यो। अनुकूल मौसममा नै यात्रा गर्दा पनि मिश्रदेखि इटालीको यात्रामा, हावा उल्टो दिशामा बहने हुँदा यात्रा निकै कठिन हुन्थ्यो। रोडस वा माइरा भएर वा एसिया माइनरमा भएको लाइसियाको तटको अन्य बन्दरगाह हुँदै जानु सबैभन्दा छोटो मार्ग थियो। अलेक्जेन्ड्रियाबाट यात्रा सुरु गरेको अन्‍न बोक्ने आइसिस आँधीबेहरीले गर्दा दिशा हराएको कारण ७० दिनपछि मात्र पाइरिस पुग्यो। उत्तरपश्‍चिमबाट आएको हावाले गर्दा इटालीदेखि फर्कन सम्भवतः २० देखि २५ दिन लाग्थ्यो। त्यतिकै दूरीको यात्रा स्थलमार्गबाट गर्दा १५० दिन लाग्नेथ्यो।

समुद्रपार सुसमाचार सुनाइयो

प्रतिकूल मौसममा समुद्रीयात्राको खतराहरूबारे पावललाई राम्ररी थाह थियो। सेप्टेम्बरको अन्त वा अक्टोबरको सुरुमा यात्रा नगर्नु भन्दै तिने यसो भनेका थिए: “ ‘ए हजूर हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो ज्यानको समेत खतरा र नोक्सानी होला भन्‍ने म देख्तछु।’ ” (प्रेरित २७:९, १०) तापनि सैन्य अफिसरले यी कुराहरूलाई बेवास्ता गरे र यसले गर्दा माल्टामा जहाज दुर्घटना भयो।

आफ्नो मिसनरी कार्यको अन्तसम्ममा पावल चढेको जहाज चारपटक फुट्यो। (प्रेरित २७:४१-४४; २ कोरिन्थी ११:२५) तर पनि प्रारम्भिक सुसमाचार वाहकहरूलाई यस्ता सम्भाव्य खतराको अचाक्ली चिन्ताले समुद्रीयात्रा गरेर सुसमाचार सुनाउन रोक्न सकेन। तिनीहरूले यातायातका उपलब्ध सबै साधनहरू प्रयोग गरेर राज्य सन्देश फैलाए। अनि येशूको आज्ञाअनुसार सबै ठाउँमा साक्षी दिइयो। (मत्ती २८:१९, २०; प्रेरित १:८) ती सुसमाचार वाहकहरूको उत्साह, तिनीहरूको अनुकरण गर्नेहरूको विश्‍वास र यहोवाको पवित्र आत्माको निर्देशनको मदतले यो सुसमाचार सारा संसारमा सब जातिहरूसम्म पुगेको छ।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने