प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ १२/८ pp. २६-२७
  • परमेश्‍वरले शक्‍तिको प्रयोग गर्नु—के यो उचित छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले शक्‍तिको प्रयोग गर्नु—के यो उचित छ?
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शक्‍तिको दुरुपयोग
  • “उहाँका सबै काम न्यायसँगत छन्‌”
  • परमेश्‍वरसित अख्तियार छ
  • भगवान्‌ले दिएका सजाय अत्याचारपूर्ण थिए?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • के परमेश्‍वर कुनै भावना नभएको शक्‍ति हुनुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरको पवित्र आत्मा भनेको के हो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • “उहाँका सबै काम न्यायसङ्‌गत छन्‌”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००१
g०१ १२/८ pp. २६-२७

बाइबलको दृष्टिकोण

परमेश्‍वरले शक्‍तिको प्रयोग गर्नु—के यो उचित छ?

मानव इतिहास पल्टाएर हेर्दा मानिसले सधैं शक्‍तिको दुरुपयोग गर्दै आएको पाइन्छ। एउटा अनुमानअनुसार २० औं शताब्दीमा आफ्नै राजनैतिक शासन प्रणालीअन्तर्गत १७,००,००,००० मानिसहरूको हत्या भएको छ। बाइबलले स्पष्ट संकेत गरेझैं मानिसले मानिसलाई दुःख दिएर निरन्तर अधिकार जमाएको छ।—उपदेशक ८:९.

मानिसले आफ्नो शक्‍तिको दुरुपयोग गरेको कारण कसै-कसैले कतै परमेश्‍वरले पनि आफ्ना शत्रुहरूलाई नाश गर्न यसै गर्नुहुने त होइन भनी प्रश्‍न गर्छन्‌। के यहूदीहरूले परमेश्‍वरको निर्देशनअनुसार प्रतिज्ञा गरिएको देश कनानका बासिन्दाहरूलाई आक्रमण गरेर मारेनन्‌ र? (व्यवस्था २०:१६, १७) अनि के परमेश्‍वर आफैले पनि सबै विद्रोही शासनहरूलाई चक्नाचुर पारेर नाश गर्नेछु भन्‍नुभएको छैन र? (दानियल २:४४) परमेश्‍वरले आफ्नो शक्‍ति उचित ढंगमा प्रयोग गर्नुहोला कि नहोला भनेर केही इमानदार मानिसहरूले शंका गरेका छन्‌।

शक्‍तिको दुरुपयोग

शक्‍तिको सदुपयोग गर्नु सबै सरकारको एउटा महत्त्वपूर्ण पक्ष हो भन्‍ने कुरा बुझ्नु आवश्‍यक छ। आफ्ना कानुनहरू लागू गर्न नसक्ने प्रशासन फितलो हुन्छ। उदाहरणका लागि, प्रहरीहरूले गरेका असंख्य दुर्व्यवहारहरूबारे रिपोर्ट गरिए तापनि प्रहरी दलले दिने सुरक्षा लिन नचाहने को होला र? अनि ऐन कानुन लागू गर्नसक्ने यायिक प्रणालीको आवश्‍यकता छैन भनेर कसले पो भन्ला र?

हिंसाको विरोधी भनेर विश्‍वप्रख्यात मोहनदास गान्धीले एकपल्ट यसो भने: “कुनै मानिस हातमा तरवार लिएर रिसले चूर हुँदै अन्धाधुन्ध आफ्नोअगाडि जो आउँछ उसैलाई मार्दै हिंड्‌छ र कसैले पनि उसलाई जीउँदै पक्रने आँट गर्दैन। तर कुनै एक जना मानिस आएर त्यस पागल मानिसलाई मार्छ भने, उसले समाजबाट प्रशंसा कमाउनुका साथै सबैले उसलाई मायालु मित्रको रूपमा आदर गर्छन्‌।” हो, गान्धीले समेत कुनै-कुनै परिस्थितिमा बल प्रयोग गर्नुपर्ने आवश्‍यकता देखे।

स्पष्टतया, शक्‍ति प्रयोग गर्न सक्नु नै कुनै पनि स्थिर समाजको अत्यावश्‍यक तत्त्व हो। सामान्यतया, मानिसहरूले शक्‍तिको विरोध गर्दा उनीहरूले वास्तवमा शक्‍तिको दुरुपयोगको आलोचना गरिरहेका हुन्छन्‌।—उपदेशक ४:१-३.

“उहाँका सबै काम न्यायसँगत छन्‌”

इतिहासका पानाहरू पल्टाएर हेऱ्‍यौं भने, परमेश्‍वरले आफ्नो शक्‍तिको दुरुपयोग गर्नुभएको कुनै प्रमाण पाइँदैन। उहाँ आफ्नो शक्‍तिलाई जथाभावी प्रयोग गर्नुहुन्‍न। उहाँ हामी प्रेमबाट उत्प्रेरित भएर उहाँको उपासना गरेको चाहनुहुन्छ। (१ यूहन्‍ना ४:१८, १९) वास्तवमा, यदि शक्‍ति प्रयोग गर्नु नपर्ने कुनै न्यायोचित मार्ग छ भने, परमेश्‍वरले शक्‍ति प्रयोग गर्नुहुन्‍न। (यर्मिया १८:७, ८; २६:३, १३; इजकिएल १८:३२; ३३:११) अनि जब उहाँले शक्‍ति प्रयोग गर्ने निर्णय गर्नुहुन्छ तब उहाँ चाहने जति सबैले आफ्नो मार्ग सुधारेर सही मार्ग अपनाउन सकोस्‌ भनेर सधैं प्रशस्त चेताउनी दिनुहुन्छ। (आमोस ३:७; मत्ती २४:१४) के जथाभावी गर्ने क्रूर परमेश्‍वरले यस्तो कदम चाल्नुहोला र?

मानिसहरूले शक्‍तिको दुरुपयोग गरेजस्तै परमेश्‍वरले आफ्नो शक्‍तिको दुरुपयोग गर्नुहुन्‍न। मोशाले यहोवाबारे यसो भने, “उहाँका सबै काम न्यायसँगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन . . . हुनुहुन्छ।” (व्यवस्था ३२:४) परमेश्‍वरको सरकार स्वेच्छाचारी शासकहरूको सरकार जस्तो अत्याचारी हुँदैन। जुनसुकै परिस्थितिमा पनि उहाँले आफ्नो शक्‍ति निष्खोट प्रेम, बुद्धि र न्यायपूर्वक चलाउनुहुन्छ।—भजन १११:२, ३, ७; मत्ती २३:३७.

उदाहरणका लागि, परमेश्‍वरले जलप्रलयद्वारा दुष्टहरूलाई नाश गर्नुअघि धेरै वर्षसम्म चेताउनी दिनुभएको थियो। चाहने जति सबैले जहाजभित्र पसेर आफ्नो ज्यान बचाउन सक्थे। तर आठ जनाले मात्र त्यसो गरे। (१ पत्रुस ३:१९, २०; २ पत्रुस २:५) यहोशूको समयमा इस्राएलीहरूले भ्रष्ट कनानीहरूमाथि परमेश्‍वरको न्यायदण्ड कार्यान्वयन गरे, जुन न्यायदण्ड ४०० वर्षअघि नै घोषणा गरिएको थियो! (उत्पत्ति १५:१३-२१) त्यस अवधिभरिमा, कनानीहरूले इस्राएलीहरू परमेश्‍वरका छानिएका जन हुन्‌ भन्‍ने सशक्‍त प्रमाण पाइसकेका थिए। (यहोशू २:९-२१; ९:२४-२७) तथापि, दया देखाउने मौका पाउँदा समेत गिबोनीहरूले बाहेक अरू कुनै पनि कनानी राष्ट्रले दया वा शान्तिको खोजी गरेनन्‌। बरु, कनानीहरूले आफ्नो हृदयलाई परमेश्‍वर विरुद्ध कठोर पारे।—यहोशू ११:१९, २०.

परमेश्‍वरसित अख्तियार छ

परमेश्‍वरले कसरी शक्‍ति प्रयोग गर्नुहुन्छ भन्‍ने कुरा बुझ्नुअघि परमेश्‍वरसामु हाम्रो स्थान कस्तो छ, त्यसबारे हामीले बुझ्नैपर्छ। “हामी माटा मात्र हौं, र तपाईं चाहिं कुमाले हुनुहुन्छ” भनेर अगमवक्‍ता यशैयाले नम्रतासाथ स्वीकारे। (यशैया ६४:८) स्पष्टतया, ब्रह्‍माण्डका सृष्टिकर्ताको हैसियतमा आफूलाई जसरी मन लाग्छ सोहीअनुरूप परमेश्‍वरले शक्‍ति प्रयोग गर्न सक्नुहुन्छ। परमेश्‍वरको अख्तियारको कदर गर्दै सुलेमानले जस्तै हामी पनि यसो भन्‍नसक्छौं: “राजाको वचनमा अख्तियार हुन्छ। तिनले गरेको काममा कसले सवाल गर्नसक्छ र?”—उपदेशक ८:४, ५; रोमी ९:२०, २१.

परमेश्‍वर, सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता हुनुभएकोले पृथ्वीमा जीवन दिने र लिने दुवै अधिकार उहाँसित छ। निस्सन्देह, परमेश्‍वरले कसरी शक्‍ति प्रयोग गर्नुहुन्छ भन्‍ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने ज्ञान र अधिकार मानिसहरूसित छैन। मानिसले आफ्नो सोचाइलाई परमेश्‍वरको सोचाइअनुरूप ढाल्न सिक्नुपर्छ। यहोवाले यस्तो प्रश्‍न सोध्नुभयो, “ठीक मार्गमा नचल्ने ता तिमीहरू होइनौ र?”—इजकिएल १८:२९; यशैया ४५:९.

शक्‍तिको दुरुपयोग गर्ने तथा हिंसात्मक व्यवहार गर्ने मानिसहरूलाई पृथ्वीबाट हटाउन यहोवालाई मानिसहरूप्रतिको आफ्नो प्रेम तथा न्यायले उत्प्रेरित गर्नेछ। यसरी शक्‍तिको प्रयोग गर्नुभएर पृथ्वीमा शान्ति चाहने मानिसहरूका लागि उहाँले राम्रो परिस्थिति स्थापना गर्नुहुनेछ। (भजन ३७:१०, ११; नहूम १:९) तसर्थ, परमेश्‍वरको सरकार न्यायोचित ठहरिनेछ र सदा सर्वदाको लागि उच्च पारिनेछ।—प्रकाश २२:१२-१५. (g01 11/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने