अध्याय १९
एउटी सामरी स्त्रीलाई शिक्षा दिनुहुन्छ
यहूदियाबाट गालीलतर्फ जाँदा येशू आफ्ना चेलाहरूका साथ सामरिया भएर यात्रा गर्नुहुन्छ। यात्राले थाकेकोले सुखार भन्ने सहरको नजिक एउटा इनारको छेउमा दिउँसो बाह्र बजेतिर आराम गर्न रोकिनुहुन्छ। यो इनार सदियौंअघि याकूबले खनेका थिए र अहिलेसम्म पनि नाबलस भन्ने आधुनिक सहरको नजिक छ।
येशू त्यहीं आराम गर्नुहुन्छ र उहाँका चेलाहरूचाहिं केही खानेकुरा किन्न सहरतिर जान्छन्। एउटी सामरी स्त्री पानी भर्न आउँदा येशूले त्यसलाई अनुरोध गर्नुहुन्छ: “मलाई पानी पिउन देऊ।”
एकअर्काप्रति गहिरो पूर्वाग्रहको भाव भएकोले यहूदीहरू र सामरीहरू साधारणतया आपसमा सम्बन्ध राख्दैनन्। त्यसकारण आश्चर्यचकित भएर स्त्री सोध्छे: “तपाईं यहूदी भईकन म सामरी आइमाईसित कसरी पानी माग्नु हुन्छ?”
येशू जवाफ दिनुहुन्छ: “मलाई पानी पिउन देऊ’ भन्नेलाई चिनेकी भए तिमीले ऊसित माग्नेथियौ अनि उसले तिमीलाई जीवन दिने पानी दिनेथियो।”
उसले जवाफ दिन्छे: “हजुर, इनार गहिरो छ अनि तपाईंसित पानी उघाउने बाल्टीसमेत छैन। तब तपाईंसित जीवन दिने पानी कहाँबाट आयो? हाम्रा पुर्खा याकूब, जसले हामीलाई यो इनार दिनुभयो अनि जसले यही इनारबाट पानी पिउनुभयो र जसका छोराहरू अनि गाईवस्तुहरूले पनि यही इनारबाट पिए, के तपाईं उहाँभन्दा महान् हुनुहुन्छ र?”
येशू भन्नुहुन्छ: “जसले यो पानी पिउँछ, ऊ फेरि तिर्खाउँछ, तर जसले मैले दिने पानी पिउँछ, ऊ कहिल्यै तिर्खाउनेछैन। बरु, मैले दिने पानी ऊभित्र मुहान बनेर उम्रिनेछ र त्यसले उसलाई अनन्त जीवन दिनेछ।”
स्त्रीले उहाँलाई भन्छे: “हजुर, मलाई त्यो पानी दिनुहोस्, ताकि म कहिल्यै तिर्खाउन नपरोस् अनि पानी भर्न यहाँ फेरि-फेरि आइरहन नपरोस्।”
अब येशू उसलाई भन्नुहुन्छ: “जाऊ, तिम्रो पतिलाई बोलाएर यहाँ ल्याऊ।”
उसले भन्छे: “मेरो पति हुनुहुन्न।”
उसले भनेको कुरालाई पुष्टि दिंदै येशू भन्नुहुन्छ: “ ‘मेरो पति हुनुहुन्न’ भनेर तिमीले ठीकै भन्यौ। किनकि तिम्रो पाँच जना पति भइसकेका छन्, र अहिले तिमी जोसित बसिरहेकी छ्यौ, ऊ तिम्रो पति होइन।”
स्त्री छक्क पर्दै भन्छे: “हजुर, तपाईं भविष्यवक्ता हुनुहुन्छ जस्तो छ।” आफ्नो आध्यात्मिकता प्रकट गर्दै उसले भन्छे: “हाम्रा पुर्खाहरूले यस डाँडामा [नजिकैको गेरिजिममा] उपासना गरे; तर मानिसहरूले उपासना गर्नुपर्ने ठाउँ यरूशलेम हो भनेर तपाईंहरू [यहूदीहरू] भन्नुहुन्छ।”
तथापि उपासना गर्नुपर्ने स्थान महत्त्वपूर्ण कुरा होइन भन्दै येशू बताउनुहुन्छ: “बेला आउँछ . . . जब साँचो उपासकहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्वरको उपासना गर्नेछन्, किनकि परमेश्वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ। परमेश्वर अदृश्य व्यक्ति हुनुहुन्छ र उहाँको उपासना गर्नेहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नै पर्छ।”
स्त्री अति प्रभावित हुँदै भन्छे: “ख्रीष्ट भनिने मसीह आउँदै हुनुहुन्छ भनेर मलाई थाह छ। अनि उहाँ आउनुभएपछि हामीलाई सबै कुरा खुलस्त बताउनुहुनेछ।”
येशू घोषणा गर्नुहुन्छ: “त्यो मानिस मै हुँ।” यसो विचार गर्नुहोस्! आफ्नो जीवनशैलीको कारण तुच्छ ठानिएकीले सहरकी अरू स्त्रीहरूसँग भेट नहोस् भनेर मध्य-दिउँसो पानी लिन आउने एउटी स्त्रीले येशूको त्यस्तो अद्भुत निगाह पाउँछे। खुलस्त ढङ्गले अरू कसैलाई नभनेको कुरा उहाँले त्यस स्त्रीलाई सोझै भन्नुहुन्छ। परिणाम के हुन्छ?
धेरै सामरीहरूले विश्वास गर्न थाल्छन्
सुखारबाट खानेकुराहरू लिएर फर्केपछि येशूलाई चेलाहरूले याकूबको इनारमै जहाँ तिनीहरूले उहाँलाई छाडेका थिए, त्यहीं नै सामरी स्त्रीसँग कुरा गरिरहनुभएको भेट्टाउँछन्। चेलाहरू आएपछि आफ्नो पानीको गाग्रो छोडेर त्यो स्त्री सहरतर्फ लाग्छे।
येशूले भन्नुभएका कुराहरूमा त्यस स्त्रीको गहिरो चासो भएकोले सहरका मानिसहरूलाई गएर भन्छे: “आउनुहोस्, त्यस मानिसलाई हेर्नुहोस्, किनकि मैले गरेका सबै काम उहाँले बताइदिनुभयो।” अनि सबैमा जिज्ञासा जगाउने ढङ्गले ऊ सोध्छे: “कतै उहाँ ख्रीष्ट त हुनुहुन्न?” यो प्रश्नले ती मानिसहरूमाथि असर पार्छ। तिनीहरू उहाँलाई आफै भेट्न जान्छन्।
यसैबीच सहरबाट ल्याएको खाना खान भनी चेलाहरू येशूलाई आग्रह गर्छन्। तर उहाँ भन्नुहुन्छ: “मसँग यस्तो खानेकुरा छ जसबारे तिमीहरूलाई थाह छैन।”
चेलाहरू आपसमा कुरा गर्छन्: “कतै उहाँलाई कसैले खानेकुरा ल्याइदियो कि?” येशू व्याख्या गर्नुहुन्छ: “मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो। बाली काट्ने समय आउन अझ चार महिना बाँकी छ भनेर के तिमीहरू भन्दैनौ?” तथापि प्रतीकात्मक बालीतर्फ सङ्केत गर्दै येशू भन्नुहुन्छ: “हेर, म तिमीहरूलाई भन्छु: आफ्नो आँखा उठाएर खेततिर हेर, किनकि बाली पाकेर पहेंला भइसकेका छन्। बाली काट्नेले आफ्नो ज्याला पाउँदैछ र अनन्त जीवनका लागि फसल बटुल्दैछ। त्यसैले बीउ छर्ने र काट्ने सँग-सँगै रमाउँछन्।”
सायद सामरी स्त्रीसँग गरेको कुराले कत्ति ठूलो असर पार्नेछ भनेर येशूले थाह पाइसक्नुभएको छ—अर्थात् त्यस स्त्रीले दिएको साक्षीले गर्दा धेरैले उहाँमाथि विश्वास गर्न थालेका छन्। सहरका मानिसहरूलाई यसो भनेर ऊ साक्षी दिंदै छे: “मैले गरेका सबै काम उहाँले बताइदिनुभयो।” त्यसकारण सुखारका मानिसहरू इनारमा उहाँकहाँ आउँदा अझ धेरै कुरा बताउन केही समय त्यहीं बस्न तिनीहरू अनुरोध गर्छन्। निमन्त्रणा स्वीकार्दै येशू अरू दुई दिन त्यहाँ बस्नुहुन्छ।
जसै सामरीहरू येशूका कुराहरू सुन्छन्, अझ धेरैले विश्वास गर्छन्। अनि तिनीहरू स्त्रीलाई भन्छन्: “अब तिम्रो कुराको भरमा मात्र हामीले विश्वास गरेका होइनौं, किनकि हामी आफैले उहाँको कुरा सुन्यौं र उहाँ साँच्चै नै संसारको उद्धारक हुनुहुन्छ भनेर हामीलाई थाह भयो।” निश्चय नै, ख्रीष्टको सम्बन्धमा मानिसहरूले अझ खोज-तलाश गर्न सकून् भनेर उनीहरूको मनमा हामी कसरी जिज्ञासा उत्पन्न गराउन सक्छौं, त्यसको असल नमुना त्यस सामरी स्त्रीले प्रस्तुत गरेकी छ!
यो घटना बाली काट्ने समयभन्दा चार महिनाअघि भएको हो भनी याद गर्नुहोस्। त्यो जौ बाली काट्ने समय हुनुपर्छ, जुन कुरा प्यालेस्टाइनमा वसन्त ऋतुमा गरिन्छ। त्यसकारण अहिले सम्भवतः नोभेम्बर वा डिसेम्बर महिना हुनुपर्छ। यसको अर्थ इस्वी संवत् ३० को निस्तार-चाडपछि येशूले आफ्ना चेलाहरूसित आठ महिनाजति यहूदियामा शिक्षा दिंदै र बप्तिस्मा गराउँदै बिताउनुभयो। अब उहाँहरू आफ्नो घरको इलाका गालीलतर्फ जाँदै हुनुहुन्छ। उहाँहरूलाई त्यहाँ के हुनेवाला छ? यूहन्ना ४:३-४३.
▪ येशू आफूसँग बोलेकोमा सामरी स्त्री किन छक्क पर्छे?
▪ जीवन दिने पानी र उपासना गर्नुपर्ने स्थानबारे येशूले उसलाई के सिकाउनुहुन्छ?
▪ आफू को हो भनी येशूले उसलाई कसरी प्रकट गर्नुहुन्छ र यो अचम्म मान्नुपर्ने कुरा किन हो?
▪ सामरी स्त्रीले कस्तो साक्षी दिन्छे र त्यसको परिणाम के हुन्छ?
▪ येशूको भोजन, बाली काट्ने समयसित कसरी सम्बन्धित छ?
▪ इस्वी संवत् ३० को निस्तार-चाडपछि यहूदियामा येशूको सेवा कति समयको थियो भनी हामी कसरी थाह लगाउन सक्छौं?