प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pr section ६ pp. २२-२५
  • यति धेरै दुःख अनि अन्याय किन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यति धेरै दुःख अनि अन्याय किन
  • जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा उदाहरण
  • कहाँ गल्ती भयो
  • यति समयसम्म किन?
  • परमेश्‍वरले चाँडै नै हस्तक्षेप गर्नुहुने
  • परमेश्‍वरले दुःखकष्ट हुने अनुमति दिनुभएको समय सिद्धिनै लागेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
    के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?
  • सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!
    सबै दु:खकष्ट चाँडै अन्त हुनेछ!
  • विद्रोहको के नतिजा भएको छ?
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
थप हेर्नुहोस्
जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
pr section ६ pp. २२-२५

६

यति धेरै दुःख अनि अन्याय किन

१, २. मानव अनुभवको आधारमा कस्ता प्रश्‍नहरू सोध्न सकिन्छ?

१ तथापि, प्रमोदवनको सुन्दर वातावरणबीच सिद्ध मानिसहरू सदाकाल यस पृथ्वीमा बाँचून्‌ भन्‍ने सर्वोच्च परमेश्‍वरको इच्छा थियो र त्यो इच्छा यथावत्‌ छ भने अहिले प्रमोदवन खोइ त? यसको विपरीत मानवजातिले किन शताब्दीयौंदेखि दुःख अनि अन्याय झेल्नु पऱ्‍यो?

२ युद्ध, साम्राज्यवादी विजय, शोषण, अन्याय, गरीबी, दुर्घटना, रोग अनि मृत्युको पीडाले मानव इतिहास भरिपूर्ण छ भन्‍ने कुरामा दुई मत छैन। त्यति धेरै निर्दोषहरूमाथि किन खराबमाथि खराब आएको? यदि परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ भने उहाँले हजारौं वर्षसम्म किन यति धेरै दुःख हुन दिनुभएको? परमेश्‍वरले नै यस पृथ्वीको यति राम्ररी रचना अनि व्यवस्था गर्नुभएको हो भने उहाँले यस पृथ्वीमा गोलमाल र विनाश मच्चिन किन दिनुहुन्छ?

एउटा उदाहरण

३-५. (क) एक जना व्यवस्थित परमेश्‍वरले पृथ्वीमा अस्तव्यस्त अवस्था सृजना हुन किन दिनुहुन्छ भनेर बुझ्न हामीलाई कुन उदाहरणले मदत गर्छ? (ख) विकल्पहरूमध्ये कुन चाहिं हाम्रो पृथ्वीको स्थितिसँग मिल्छ?

३ एक जना व्यवस्थित परमेश्‍वरले पृथ्वीमा गोलमाल किन हुन दिनुहुन्छ भनेर चित्रण गर्न आउनुहोस्‌ एउटा उदाहरणलाई हेरौं। केही क्षण आफूलाई जङ्‌गलबीच घुमिरहेको कल्पना गर्नुहोस्‌। मानि लिनुहोस्‌, त्यही जङ्‌गलको बीचमा तपाईंले एउटा घर फेला पार्नुभयो। तर नियालेर हेर्दा त्यसलाई भताभुङ्‌ग अवस्थामा पाउनुभयो। फुटेका झ्यालका ऐनाहरू, भत्किएको छाना, मक्किएर प्वाल परेको बार्दली, कब्जा फुस्केर झुण्डिएको ढोका अनि बीच-बीचमा फुटेको धाराको पाइप।

४ घरलाई यस्तो बेहाल अवस्थामा भेट्टाउनुभयो भन्दैमा के त्यो घर बनाउने बुद्धिमान्‌ रचनाकार नै छैन भनी तपाईं मनमनै सोच्नुहुन्छ? घरको त्यस्तो भताभुङ्‌ग अवस्थाले के तपाईंलाई त्यो घर संयोगले बनेको हो भनी विश्‍वस्त गराउँछ? अथवा त्यो घर कसैले रचना अनि निर्माणै गरेको हो भन्‍ने निष्कर्षमा आउनुहुन्छ भने के तपाईं त्यो व्यक्‍तिमा निपुणता र विचार गर्ने क्षमतै छैन भनी महसुस गर्नुहुन्छ?

५ राम्ररी नियालेर हेर्दा त्यो घरको निर्माण सुव्यवस्थित ढङ्‌गमा र पूर्ण सोचविचारका साथ बनाइएको हुनुपर्छ भन्‍ने संकेतहरू तपाईं भेट्टाउनुहुन्छ। तर राम्रो रेखदेखको कमीले गर्दा जीर्ण अवस्थामा जाँदै गरेको तपाईं देख्नुहुन्छ। त्यो घरको बेहाल अवस्था अनि समस्याहरूले के संकेत गरिरहेको हुन सक्छ? त्यसले यो बताइरहेको हुन सक्छ (१) घरधनीको मृत्यु; (२) घरधनी कुशल निर्माता भएको तर हाल घरप्रति कुनै चासो नभएको; वा (३) अस्थायी समयको लागि आफ्नो घर कुनै अकृतज्ञ बहालवालालाई दिएको। अन्तिम बुँदा यस पृथ्वीको अवस्थासँग ठीक मेल खान्छ।

कहाँ गल्ती भयो

६, ७. परमेश्‍वरको नियम भङ्‌ग गरेपछि आदम र हव्वालाई के भयो?

६ बाइबलका प्रारम्भिक रेकर्डहरूलाई हेर्ने हो भने, परमेश्‍वरको उद्देश्‍य मानिसहरूले दुःख पाऊन्‌ वा मरून्‌ भन्‍ने थिएन भनेर हामी बुझ्छौं। हाम्रा प्रथम मातापिता, आदम र हव्वा, एउटै कारण अर्थात्‌ परमेश्‍वरको आज्ञा नमानेकोले मरे। (उत्पत्ति अध्याय २ र ३) आज्ञा उल्लङ्‌घन गरेपछि तिनीहरू परमेश्‍वरको इच्छा अनुरूप चलिरहेका ठहरिएनन्‌। परमेश्‍वरको निरीक्षणबाट तिनीहरू अलग्गिए। वास्तवमा तिनीहरूले “जीवनको मूल,” परमेश्‍वरबाट आफूलाई अलग गरे।—भजन ३६:९.

७ उर्जा स्रोतबाट अलग्याइएको यन्त्र जसरी मन्द गतिमा चल्दै-चल्दै अन्तमा रोकिन्छ, त्यस्तै गरी तिनीहरूको शरीर अनि मस्तिष्क क्षीण हुँदै गयो। फलस्वरूप आदम र हव्वा विकृत, वृद्ध भए र अन्तमा मरे। तत्‌पश्‍चात्‌ के भयो? तिनीहरू त्यहीं पुगे जहाँबाट तिनीहरू निकालिएका थिए: “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” उहाँको नियमको अनाज्ञाकारिताको नतिजा मृत्यु हुनेछ भनेर परमेश्‍वरले तिनीहरूलाई पहिल्यै चेतावनी दिइसक्नुभएको थियो: “तँ मर्नेछस्‌।”—उत्पत्ति २:१७; ३:१९.

८. हाम्रो प्रथम मातापिताको पापले मानव परिवारलाई कसरी असर गऱ्‍यो?

८ हाम्रो प्रथम मातापिता त मरे नै तर तिनीहरूका सबै सन्तान, पूरै मानवजाति पनि मृत्युको पासोमा परेका छन्‌। किन? किनभने आनुवंशिक नियमअनुसार आमाबाबुले छोराछोरीहरूमा आफ्नो गुण सार्छन्‌। अनि हाम्रो प्रथम आमाबाबुबाट सबै सन्तानहरूले वंशानुगत रूपमा असिद्धता र मृत्यु पाए। रोमी ५:१२ ले हामीलाई यसो भन्छ: “एउटै मानिसद्वारा [मानवजातिको प्रथम पिता, आदम] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले [असिद्धता अर्थात्‌ पापी मनोवृत्तिको कारण] पाप गरेका छन्‌।” अनि मानिसहरूले आजसम्म भोगेको कुरा नै पाप, असिद्धता र मृत्यु भएको हुँदा केही व्यक्‍तिहरू ती कुराहरूलाई स्वाभाविक अनि अपरिहार्य ठान्छन्‌। यद्यपि, प्रथम मानवहरू सधैंभरि बाँच्ने इच्छा अनि क्षमताका साथ सृष्टि गरिएका थिए। त्यसैकारण त मृत्युले आफ्नो जीवनलाई सीमित पारेको देख्दा धेरैजसो मानिसहरू साह्रै दिक्क महसुस गर्छन्‌।

यति समयसम्म किन?

९. परमेश्‍वरले किन यति लामो समयसम्म दुःख रहिरहन दिनुभयो?

९ परमेश्‍वरले मानिसहरूलाई यति लामो समयसम्म किन मनमानी गर्न दिनुभयो? यति धेरै शताब्दीसम्म उहाँले किन दुःख हटाउनुभएन त? यसको एउटा महत्त्वपूर्ण कारण, त्यसबेला उठाइएको यो प्रश्‍न थियो: शासन गर्ने अधिकार कसको हो? के परमेश्‍वर नै मानिसहरूको शासक हुनुपर्छ अथवा मानिसहरू आफैले पो सफलतापूर्वक शासन गर्न सक्छन्‌ कि?

१०. मानिसहरूलाई कस्तो क्षमता दिइएको छ र कुन जिम्मेवारीका साथ?

१० स्वेच्छा अर्थात्‌ छनोट गर्ने क्षमतासाथ मानिसहरू सृष्टि गरिएका थिए। तिनीहरू यन्त्र मानव वा सहज ज्ञानबाट चल्ने जनावरहरूजस्तो बनाइएका थिएनन्‌। अतः कसको सेवा गर्ने हो भनेर मानिसहरूले छान्‍न सक्छन्‌। (व्यवस्था ३०:१९; २ कोरिन्थी ३:१७) तसर्थ परमेश्‍वरको वचनले यस्तो सल्लाह दिन्छ: “स्वतन्त्रजस्तै भएर हिंड़, तर दुष्टताको ओढ़नेले तिमीहरूका स्वतन्त्रतालाई ढाकेर होइन, तर परमेश्‍वरको दासहरूझैं भएर चल।” (१ पत्रुस २:१६) तथापि, स्वेच्छाको अद्‌भुत वरदानसँगसँगै मानिसहरूले आफ्नो छनोट नतिजाहरू पनि भोग्नुपर्छ।

११. परमेश्‍वरबाट रोजेको स्वतन्त्र मार्ग सफल हुन्छ वा हुँदैन भनेर थाह लगाउने एक मात्र तरिका के हुन सक्थ्यो?

११ हाम्रा प्रथम मातापिताले गलत छनोट गरे। तिनीहरूले परमेश्‍वरबाट स्वतन्त्र हुने मार्ग रोजे। हो, ती प्रथम विद्रोही दम्पतीले आफ्नो स्वेच्छाको दुरुपयोग गर्ने बित्तिकै परमेश्‍वरले तिनीहरूलाई नाश गर्न सक्नुहुन्थ्यो। तर मानवमाथि शासन गर्ने परमेश्‍वरको अधिकारमाथि उठाइएको प्रश्‍नको उत्तर भने त्यसले दिने थिएन। प्रथम दम्पती आफैले परमेश्‍वरबाट स्वतन्त्र हुन रोजेको हुँदा यस प्रश्‍नको उत्तर अनिवार्य थियो: तिनीहरूले उठाएको कदमले के तिनीहरूलाई आनन्दित अनि सफल जीवनतर्फ लैजानेछ? उत्तर पाउने एक मात्र तरिका हाम्रो प्रथम मातापिता र तिनीहरूका सन्तानहरूलाई मनखुसी गर्न दिनु थियो किनभने तिनीहरूले छानेको कुरा पनि त्यही थियो। सृष्टिकर्ताबाट स्वतन्त्र भएर आफैले शासन चलाउन के मानिसहरू सृष्टि भएका थिए त? समयले नै यसको उत्तर दिने थियो।

१२. मानव शासनलाई यर्मियाले कसरी तौले र अवस्था वास्तवमा किन त्यस्तै छ?

१२ बाइबल लेखक यर्मियालाई यसको परिणाम थाह थियो। परमेश्‍वरको पवित्र आत्मा वा सक्रिय शक्‍तिबाट प्रेरित भएर तिनले सत्यतापूर्वक यो लेखे: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन। हे परमप्रभु, मलाई सुधार्नुहोस्‌।” (यर्मिया १०:२३, २४) मानिसहरूलाई परमेश्‍वरको स्वर्गीय बुद्धिको निर्देशन अत्यावश्‍यक छ भनेर उनलाई थाह थियो। किन? कारण सरल छ, परमेश्‍वरको निर्देशनविना मानिसहरू सफल होऊन्‌ भनी उहाँले सृष्टि गर्नुभएको थिएन।

१३. हजारौं वर्षदेखि चल्दै आएको मानव शासनको नतिजाले कुनै शङ्‌का नरहने गरी के देखाएको छ?

१३ आफ्नो सृष्टिकर्ताबाट अलग्गिएर मानिसहरूले आफैलाई सम्हाल्न सक्दैनन्‌ भनेर हजारौं वर्षदेखि चलिआएको मानव शासनले शङ्‌कै नहुने गरी देखाउँछ। आफैले कोसिस गरेकोले त्यसका विनाशकारी फलका दोषी मानिसहरू आफै हुन्‌। यस तथ्यलाई बाइबलले यसो भन्दै प्रस्ट पार्छ: “[परमेश्‍वर] चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसँगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ। तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू उहाँको सन्तान हुनसक्‍तैनन्‌। तिनीहरू पतित र खराब पुस्ताका मानिसहरू हुन्‌।”—व्यवस्था ३२:४, ५.

परमेश्‍वरले चाँडै नै हस्तक्षेप गर्नुहुने

१४. परमेश्‍वरले मानिसहरूको क्रियाकलापमा हस्तक्षेप गर्न अब किन ढिलो गर्नुहुनेछैन?

१४ शताब्दीयौंदेखि चलिआएको मानव शासनको असफलताको पर्याप्त प्रदर्शन हुन दिइसक्नुभएकोले परमेश्‍वरले अब मानिसहरूको क्रियाकलापमा हस्तक्षेप गर्नुभएर दुःखकष्ट, व्यथा, रोग र मृत्युलाई रोक्न सक्नुहुन्छ। मानिसहरूलाई विज्ञान, औद्योगिक, चिकित्सा र अन्य क्षेत्रहरूका उपलब्धिहरू प्राप्त गर्ने चरम सीमामा पुग्न उहाँले प्रशस्त समय दिइसक्नुभयो। त्यसैकारण आफ्नो सृष्टिकर्ताबाट स्वतन्त्र भएर मानिसहरूले शान्तिमय प्रमोदवनरूपी संसार ल्याउन सक्छन्‌ कि सक्दैनन्‌ भनेर देखाउन परमेश्‍वरले अझै समय दिनु आवश्‍यक छैन। तिनीहरूले गर्न सकेनन्‌ र गर्न सक्ने पनि छैनन्‌। परमेश्‍वरबाट स्वतन्त्र भएको नतिजा घिनलाग्दो, घृणास्पद अनि मृत्युदायी संसार भएको छ।

१५. बाइबलको कुन चाहिं सल्लाह पालन गरेमा हामीलाई असल हुन्छ?

१५ सच्चा विचारधारा भएका शासकहरू नआएका होइनन्‌ तर तिनीहरूका सबै प्रयासहरू विफल भए। आज चारैतिर मानव शासन पतन भएको प्रमाण देख्न सकिन्छ। त्यसैकारण बाइबलले यस्तो सल्लाह दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।”—भजन १४६:३.

[पृष्ठ २५-मा भएको चित्र]

सच्चा विचारधारा भएका शासकहरूले समेत शान्तिमय, प्रमोदवनरूपी संसार खडा गर्न सकेका छैनन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने