अध्याय ८
तिनीहरू दुष्ट शासकबाट भाग्छन्
येसुको परिवार मिश्रमा भाग्छ
युसुफ आफ्नो परिवारसँगै नासरत सर्छन्
एउटा अत्यन्तै जरुरी खबर सुनाउन युसुफ मरियमलाई उठाउँछन्। भर्खरै यहोवा परमेश्वरको एक स्वर्गदूत सपनामा तिनीकहाँ देखा परेर तिनलाई यसो भनेका छन्: “उठ! सानो बालक र उहाँकी आमालाई लिएर मिश्रमा भाग अनि मैले नभनेसम्म त्यहीँ बस किनकि हेरोदले यस बालकलाई खोजेर मार्न आँटेको छ।”—मत्ति २:१३.
युसुफ, मरियम र तिनीहरूका छोरा त्यहाँबाट राती नै भाग्छन्। तिनीहरू ठीक समयमै भाग्छन् किनभने ज्योतिषीहरूले आफूलाई झुक्क्याएको कुरा हेरोदले थाह पाउँछन्। हेरोदले तिनीहरूलाई येसुबारे थाह पाएपछि खबर गर्नू भनेर भनेका थिए। तर ज्योतिषीहरू केही खबर नगरी आफ्नो देश फर्के। त्यसैले हेरोद रिसले चूर हुन्छन्। तिनी अझै येसुलाई मार्न चाहन्छन्। त्यसैले बेतलेहेम र त्यसवरिपरिका ठाउँहरूका दुई वर्ष र त्योभन्दा मुनिका सबै बालकलाई मार्ने हुकुम दिन्छन्। पूर्वबाट आएका ज्योतिषीहरूबाट सुनेको कुराको आधारमा तिनले येसुको उमेरको हिसाब निकालेका हुन्।
बालकहरूको हत्या गर्नु अत्यन्तै क्रूर कुरा हो! कति जना बालक मारिए, हामीलाई थाह छैन तर शोकमा परेका आमाहरूको रोदन र क्रन्दनले परमेश्वरको भविष्यवक्ता यर्मियाले गरेको भविष्यवाणी पूरा गऱ्यो।—यर्मिया ३१:१५.
यसबीच युसुफ आफ्नो परिवार लिएर मिश्र आइपुग्छन् र तिनीहरू त्यहीँ बसोबास गर्न थाल्छन्। एक रात यहोवा परमेश्वरको स्वर्गदूत युसुफकहाँ सपनामा फेरि देखा पर्छन् र यसो भन्छन्: “उठ, सानो बालक र उहाँकी आमालाई लिएर इस्राएलतिर लाग किनकि बालकको ज्यान लिन खोज्नेहरू मरिसके।” (मत्ति २:२०) यसपछि युसुफ आफ्नो परिवारलाई लिएर आफ्नो देश फर्कन सक्ने निष्कर्षमा पुग्छन्। यो पनि बाइबलको अर्को एउटा भविष्यवाणीको पूर्ति हो। उक्त भविष्यवाणीमा परमेश्वरको छोरालाई मिश्रबाट बोलाइनेछ भनिएको थियो।—होसे ११:१.
सायद युसुफ आफ्नो परिवारलाई लिएर यहुदियाको बेतलेहेम सहरनजिकै बस्न चाहन्छन्। मिश्र भाग्नुअघि तिनीहरू त्यहीँ बस्थे। तर अहिले यहुदियामा हेरोदको दुष्ट छोरा अर्खिलाउसले शासन गरिरहेको कुरा युसुफले सुन्छन्। अर्को सपनामा परमेश्वरले युसुफलाई यसबारे चेतावनी दिनुहुन्छ। त्यसैले युसुफ अनि तिनको परिवार अझै उत्तरतिर लाग्छन् र गालिलको इलाकामा पर्ने नासरत सहरमा बसोबास गर्न थाल्छन्। यो सहर यहुदी धर्मको केन्द्र यरुसलेमबाट टाढा छ। येसु नासरतमै हुर्कनुहुन्छ। यसले “उहाँ नासरी कहलाइनुहुनेछ” भनेर गरिएको अर्को एउटा भविष्यवाणी पूरा गर्छ।—मत्ति २:२३.