उनले ईश्वरीय निर्देशन स्वीकारे
मानी लिनुहोस्, तपाईंको रेखदेखमा एक सिद्ध बालकलाई राम्ररी हुर्काउने आशा तपाईंबाट गरिएको थियो। कस्तो चुनौती! कुनै असिद्ध मानिसले त्यो कसरी गर्न सक्थ्यो र? ईश्वरीय निर्देशन स्वीकारेर दैनिक जीवनमा प्रयोग गरेर मात्र उसले त्यो काम गर्न सक्थ्यो।
येशूको धर्मपिता, यूसुफले ठीक त्यस्तै गरे। यूसुफको विवरणहरू भएका थुप्रै शङ्कास्पद बयानहरूको विपरित येशूको प्रारम्भिक जीवनमा उनको नम्र भूमिकाबारे बाइबलले थोरै कुराहरू मात्र बताउँछ। यूसुफ र उनकी पत्नी, मरियमले येशू लगायत चार छोरा तथा छोरीहरू पनि हुर्काए भनी हामीलाई थाहा छ।—मर्कूस ६:३.
यूसुफ सुलेमानद्वारा इस्राएलका राजा दाऊदका वंशज थिए। उनी याकूबका पुत्र तथा एलीका ज्वाईं थिए। (मत्ती १:१६; लूका ३:२३) गालिलको नासरतमा सिकर्मी हुनाकारण यूसुफ गरीब थिए। (मत्ती १३:५५; लूका २:४, २४; तुलना गर्नुहोस् लेवी १२:८.) तर उनी आध्यात्मिकतामा धनी थिए। (हितोपदेश १०:२२) ईश्वरीय निर्देशन स्वीकारेकोले निस्सन्देह यसो भएको हो।
निस्सन्देह, यूसुफ परमेश्वरमा विश्वास राख्ने र सही कुरा गर्न इच्छा गर्ने मृदुल तथा नम्र यहूदी थिए। शास्त्रमा रेकर्ड गरिएका केही घटनाहरूले देखाएअनुसार उनी यहोवाका आज्ञाहरूप्रति सदा आज्ञाकारी थिए। लिखित व्यवस्था वा स्वर्गदूतहरूद्वारा सोझै प्राप्त गरेका भए तापनि यूसुफ त्यसप्रति आज्ञाकारी थिए।
समस्याहरू भएका धार्मिक मानिस
ठूलो समस्या आइपर्दा धर्मी मानिसले के गर्नु पर्छ? स्पष्ट छ, ‘सारा भारी यहोवामा राख्नुपर्छ’ र ईश्वरीय निर्देशन पालन गर्नुपर्छ! (भजनसंग्रह ५५:२२) यूसुफले त्यस्तै गरे। मरियमसित मगनी हुँदा “उनीहरूको सहवास हुनुभन्दा अघिबाटै मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी” उनले थाहा पाए। “यूसुफ धार्मिक मानिस भएका हुनाले, तिनलाई खुल्लमखुल्ला दोष दिने मन नगरी गुप्तमै त्याग्ने इच्छा गरे।” यी कुराहरूमाथि यूसुफले सोचविचार गरिसकेपछि सपनामा यहोवाको एउटा दूतले उनलाई भने: “ए यूसुफ, दाऊदको छोरो, तिम्री पत्नी मरियमलाई तिमीकहाँ ल्याउनालाई नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाटकै हुनुहुन्छ। औ तिनले एउटा पुत्र जन्माउनेछन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।” निद्राबाट ब्यूँझेपछि यूसुफले “परमप्रभुका दूतले तिनलाई भने बमोजिम गरे, र आफ्नी पत्नीलाई आफूकहाँ ल्याए, र उनले, पुत्र नजन्मिउञ्जेल, तिनीसँग सहवास गरेनन्, औ तिनले उहाँको नाउँ येशू राखे।” (मत्ती १:१८-२५) यूसुफले ईश्वरीय निर्देशन स्वीकारे।
आफ्नै शहरमा नाउँ दर्ता गर्न सिजर अगस्टसले मानिसहरूलाई आदेश दिए। आज्ञाकारीपूर्वक यूसुफ र मरियम यहूदियाको बेतलेहेममा गए। त्यहाँ मरियमले येशूलाई जन्माइन् र पौवामा कुनै ठाउँ नभएकोले उहाँलाई डूँड़मा राखिन्। यस विशेष जन्मको स्वर्गदूतीय घोषणा सुनेका गोठालाहरू त्यस रात बालक हेर्न आए। झण्डै ४० दिनपछि बलिदानसहित येशूलाई मन्दिरमा चढाएर यूसुफ र मरियमले व्यवस्था पालन गरे। येशूले गर्नुहुने महान कार्यहरूबारे वृद्ध शिमियोनको भविष्यसूचक शब्द सुनेर दुवै छक्क परे।—लूका २:१-३३; तुलना गर्नुहोस् लेवी १२:२-४, ६-८.
लूका २:३९ पढ्दा, येशूलाई मन्दिरमा अर्पण गर्ने बित्तिकै यूसुफ र मरियम नासरत फर्के जस्तो देखिए तापनि यो पद सक्षिंप्त विवरणको भाग हो। मन्दिरमा येशूलाई अर्पण गरेको केही समयपश्चात् पूर्वीय ज्योतिषीहरूले बेतलेहमको घरमा मरियम र येशूलाई भेटे जस्तो देखिन्छ। यस भेटको कारण येशूको मृत्यु हुनुबाट ईश्वरीय हस्तक्षेपले रोक्यो। ज्योतिषीहरू त्यहाँबाट गएपछि सपनामा परमेश्वरको दूत यूसुफकहाँ देखा परे र उनलाई भने: “हेरोदले साना बालकलाई नाश पार्न खोज्नेछ।” सदाझैं यूसुफले ईश्वरीय निर्देशन स्वीकारे र उनको परिवारलाई मिश्रमा लगे।—मत्ती २:१-१४.
हेरोदको मृत्युपश्चात् मिश्रमा छँदा सपनामा एउटा दूत देखा परे र यसो भने: “साना बालक र उहाँकी आमालाई साथमा लिई उठेर इस्राएलको मुलुकमा जाऊ।” हेरोदको छोरा अर्खिलाउस उनको ठाउँमा शासन गरिरहेछन् भन्ने सुनेको हुनाले यूसुफ यहूदियामा फर्कन डराए। सपनामा दिइएको ईश्वरीय चेताउनी पालन गर्दै उनी गालिलको इलाकामा गए र नासरतको शहरमा बसे।—मत्ती २:१५-२३.
आध्यात्मिक मानिस
उनको परिवारले ईश्वरीय नियम पालन गरे नगरेको र आफ्नो परिवार आध्यात्मिक तवरमा भरण पोषण भए नभएको यूसुफले विचार पुऱ्याए। प्रत्येक वर्ष निस्तार चाड मनाउन उनले आफ्नो परिवारलाई यरूशलेममा लग्थे। यस्तै एउटा अवसरमा यूसुफ र मरियम नासरत फर्किरहेका थिए र यरूशलेमबाट एक दिन जत्तिको यात्रा गरिसकेपछि १२ वर्षीय येशू हराएको थाहा पाए। यरूशलेम फर्केर लगनशीलतापूर्वक येशूलाई खोजे र अन्ततः मन्दिरका शिक्षकहरूसित प्रश्नोत्तर गरेर सुनिरहेको भेट्टाए।—लूका २:४१-५०.
केही कुराहरूमा यूसुफले आफ्नी पत्नीलाई अग्रसर हुन दिएको जस्तो देखिन्छ। उदाहरणको लागि, जब यरूशलेममा फर्केपछि तिनीहरूले येशूलाई मन्दिरमा भेट्टाए तब त्यस विषयमा मरियमले आफ्नो छोरासित कुरा गरे। (लूका २:४८, ४९) ‘सिकर्मीको छोरो’ भएर हुर्कंदै जाँदा येशूले आध्यात्मिक निर्देशनहरू पाए। यूसुफले उहाँलाई सिकर्मी काम पनि सिकाए किनभने येशूलाई “मरियमको छोरो, . . . सिकर्मी” भनिएको थियो। (मत्ती १३:५५; मर्कूस ६:३) आफ्ना छोराछोरीहरूलाई निर्देशन लगायत विशेषगरि आध्यात्मिक प्रशिक्षण दिन ईश्वरीय आमाबाबुहरूले आज त्यस्ता अवसरहरूको पूर्ण सदुपयोग गर्नुपर्छ।—एफिसी ६:४; २ तिमोथी १:५, ३:१४-१६.
यूसुफका प्रत्याशाहरू
यूसुफको मृत्युबारे शास्त्रले कुनै जानकारी प्रदान गर्दैन। तर मर्कूस ६:३ मा येशूलाई यूसुफको छोरा नभई “मरियमको छोरो” भन्नु उल्लेखनीय कुरा हो। यतिञ्जेल यूसुफ मरिसकेका थिए भनी यसले सङ्केत गर्छ। यसबाहेक, सा.यु. ३३ सम्म यूसुफ जीवित भएको भए शूलीमा टाँगिएका येशूले मरियमको हेरचाहको अभिभारा प्रेरित यूहन्नालाई सुम्पनु तर्कसङ्गत कुरा हुने थिएन।—यूहन्ना १९:२६, २७.
अतः, मानिसको पुत्रको आवाज सुनेर पुनरुत्थान हुनेहरूमध्ये यूसुफ एक हुनेछ। (यूहन्ना ५:२८, २९) उन्नाइसय वर्षअघि ईश्वरीय निर्देशन पालन गरेझैं अनन्त जीवनसम्बन्धी यहोवाका प्रबन्धहरू सिकेर निस्सन्देह यूसुफ स्वर्गीय राजा, येशू ख्रीष्टको आज्ञाकारी प्रजा हुनेछ।
[पृष्ठ ३१-मा भएको चित्र]
यूसुफले येशूलाई आध्यात्मिक निर्देशन दिए र सिकर्मी काम पनि सिकाए