प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es22 पृ. ७-१७
  • जनवरी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
  • उपशीर्षकहरू
  • शनिबार, जनवरी १
  • आइतबार, जनवरी २
  • सोमबार, जनवरी ३
  • मङ्‌गलबार, जनवरी ४
  • बुधबार, जनवरी ५
  • बिहीबार, जनवरी ६
  • शुक्रबार, जनवरी ७
  • शनिबार, जनवरी ८
  • आइतबार, जनवरी ९
  • सोमबार, जनवरी १०
  • मङ्‌गलबार, जनवरी ११
  • बुधबार, जनवरी १२
  • बिहीबार, जनवरी १३
  • शुक्रबार, जनवरी १४
  • शनिबार, जनवरी १५
  • आइतबार, जनवरी १६
  • सोमबार, जनवरी १७
  • मङ्‌गलबार, जनवरी १८
  • बुधबार, जनवरी १९
  • बिहीबार, जनवरी २०
  • शुक्रबार, जनवरी २१
  • शनिबार, जनवरी २२
  • आइतबार, जनवरी २३
  • सोमबार, जनवरी २४
  • मङ्‌गलबार, जनवरी २५
  • बुधबार, जनवरी २६
  • बिहीबार, जनवरी २७
  • शुक्रबार, जनवरी २८
  • शनिबार, जनवरी २९
  • आइतबार, जनवरी ३०
  • सोमबार, जनवरी ३१
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
es22 पृ. ७-१७

जनवरी

शनिबार, जनवरी १

तिमीलाई शैशवकालदेखि नै पवित्र लेखोटहरू पनि थाह छ। यी लेखोटहरूले तिमीलाई ख्रिष्ट येसुमाथिको विश्‍वासद्वारा उद्धार हासिल गर्न बुद्धिमान्‌ बनाउन सक्छ।—२ तिमो. ३:१५.

तिमोथिको विश्‍वास तिनलाई यहोवाको नजिक हुन मदत गरेका तथ्यहरूमा आधारित थियो। तपाईँले पनि बाइबल पढ्‌दा यहोवाको बारेमा सिकेका कुराहरू सत्य हुन्‌ कि होइनन्‌ भनेर आफैले जाँच्नुपर्छ। सुरुमा तपाईँ तीन वटा आधारभूत सत्यमा विश्‍वस्त हुनुपर्छ। पहिलो, सबै थोकको सृष्टिकर्ता यहोवा परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुपर्छ। (प्रस्थ. ३:१४, १५; हिब्रू ३:४; प्रका. ४:११) दोस्रो, बाइबल मानवजातिको लागि परमेश्‍वरको प्रेरित सन्देश हो भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुनुपर्छ। (२ तिमो. ३:१६, १७) तेस्रो, ख्रिष्टको निर्देशनअनुसार यहोवाको उपासना गर्ने व्यक्‍तिहरूको एउटा सङ्‌गठित समूह छ र त्यो यहोवाका साक्षीहरूको समूह हो भन्‍ने कुरामा तपाईँ पक्का हुनुपर्छ। (यसै. ४३:१०-१२; युह. १४:६; प्रेषि. १५:१४) यसको लागि तपाईँ बाइबलको सर्वज्ञाता हुनुपर्छ भन्‍ने छैन। तर तपाईँको लक्ष्य “सोचविचार गर्ने क्षमता” चलाउँदै आफूसित सत्य छ भन्‍ने विश्‍वासलाई बलियो बनाउने हुनुपर्छ।—रोमी १२:१. w२०.०७ पृ. १० अनु. ८-९

आइतबार, जनवरी २

ती मानिसहरूलाई नमार्न तर पाँच महिनासम्म सास्ती दिन ती सलहहरूलाई अनुमति दिइयो।—प्रका. ९:५.

यस भविष्यवाणीमा मानिसको जस्तो अनुहार भएको अनि “टाउकोमा सुनको मुकुटजस्तै केही चिज” भएको सलहको बथानबारे बताइएको छ। (प्रका. ९:७) तिनीहरूले “निधारमा परमेश्‍वरको छाप नभएका मानिसहरूलाई [अर्थात्‌ परमेश्‍वरका शत्रुहरूलाई]” पाँच महिनासम्म सास्ती दिने थिए; यो समयावधि सलहको औसत आयु हो। (प्रका. ९:४) यस भविष्यवाणीले यहोवाका अभिषिक्‍त सेवकहरूबारे बताएको जस्तो देखिन्छ। तिनीहरूले यस दुष्ट युगलाई परमेश्‍वरको न्यायको सन्देश सुनाउँछन्‌। परिणामस्वरूप यस दुष्ट संसारको पक्ष लिनेहरू अत्तालिनेछन्‌। के यसको मतलब योएल २:७-९ मा बताइएको सलह अनि प्रकाशको किताबमा बताइएको सलह एउटै होइनन्‌ भन्‍न खोजिएको हो? हो। कहिलेकाहीँ बाइबलमा एउटै कुरालाई भिन्‍नाभिन्‍नै अर्थ बुझाउन प्रयोग गरिएको छ। उदाहरणको लागि, प्रकाश ५:५ मा येसुलाई “यहुदाको कुलको सिंह” भनिएको छ भने १ पत्रुस ५:८ मा दियाबललाई ‘गर्जने सिंह’ भनेर बताइएको छ। w२०.०४ पृ. ३ अनु. ८; पृ. ४ अनु. १०

सोमबार, जनवरी ३

यहोवाको नजर सर्वत्र रहन्छ, असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।—हितो. १५:३.

साराईले दासी हागारलाई अब्रामकी पत्नी हुनलाई दिइन्‌। हागार गर्भवती भइन्‌ र तिनले कुनै सन्तान नजन्माएकी साराईलाई हेप्न थालिन्‌। हागारको यस्तो मूर्खतापूर्ण व्यवहारले गर्दा परिस्थिति निकै तनावपूर्ण हुन थाल्यो। त्यसैले साराईले हागारलाई घरबाट निकालिदिइन्‌। (उत्प. १६:४-६) हाम्रो त्रुटिपूर्ण दृष्टिकोणबाट हेर्दा हागार निष्ठुर आइमाई भएकीले तिनलाई ठीकै पऱ्‍यो जस्तो लाग्न सक्छ। तर यहोवाले भने हागारप्रति त्यस्तो दृष्टिकोण राख्नुभएन। उहाँले तिनीकहाँ एक जना स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले हागारलाई भेट्टाएपछि तिनको दृष्टिकोण छाँटकाँट गर्न मदत गरे र तिनलाई आशिष्‌ दिए। सबै कुरा यहोवाले हेरिरहनुभएको छ र आफ्नो अवस्था उहाँलाई राम्ररी थाह छ भनेर हागारले महसुस गरिन्‌। तिनी यहोवालाई “सबै कुरा देख्ने परमेश्‍वर” भनी पुकार्न उत्प्रेरित भइन्‌। तिनले यसो पनि भनिन्‌: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!” (उत्प. १६:७-१३) यहोवाले हागारबारे कुन कुरा याद गर्नुभयो? उहाँलाई तिनको पृष्ठभूमि र तिनले जीवनमा भोगेका सबै कुरा राम्ररी थाह थियो। हागारले साराईलाई हेप्नु गलत हो भनेर यहोवालाई थाह थियो तर उहाँले हागारको पृष्ठभूमि र अवस्था राम्ररी बुझ्नुभएकोले तिनीसित दयालु व्यवहार गर्नुभयो। w२०.०४ पृ. १६ अनु. ८-९

मङ्‌गलबार, जनवरी ४

मैले दौड पूरा गरेको छु।—२ तिमो. ४:७.

प्रेषित पावलले सबै साँचो ख्रिष्टियनहरू एउटा दौड दौडिरहेका छन्‌ भनेर बताए। (हिब्रू १२:१) जवान होऔँ वा वृद्ध, बलियो होऔँ वा थकित, यहोवाले प्रतिज्ञा गर्नुभएको इनाम पाउन चाहन्छौँ भने हामी सबैले अन्तसम्म सहनै पर्छ। (मत्ति २४:१३) पावलले निर्धक्क भई साहसका साथ बोल्न सके किनभने तिनले सफलतापूर्वक ‘दौड पूरा गरेका थिए।’ (२ तिमो. ४:७, ८) तर वास्तवमा पावलले कुन दौडबारे कुरा गरिरहेका थिए? प्राचीन ग्रीसमा आयोजना गरिने खेलको कुनै-कुनै पक्षबारे कहिलेकाहीँ उल्लेख गरेर प्रेषित पावलले महत्त्वपूर्ण पाठहरू सिकाए। (१ कोरि. ९:२५-२७; २ तिमो. २:५) तिनले ख्रिष्टियन जीवनलाई थुप्रै चोटि दौडसित तुलना गरे। (१ कोरि. ९:२४; गला. २:२; फिलि. २:१६) कुनै व्यक्‍तिले आफूलाई यहोवामा समर्पण गरेर बप्तिस्मा गर्दा तिनले त्यो “दौड” सुरु गर्छन्‌। (१ पत्रु. ३:२१) अनि यहोवाले तिनलाई अनन्त जीवनको इनाम दिनुहुँदा तिनले त्यो दौड पूरा गर्छन्‌।—मत्ति २५:३१-३४, ४६; २ तिमो. ४:८. w२०.०४ पृ. २६ अनु. १-३

बुधबार, जनवरी ५

परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार उठाओ।—एफि. ६:१३.

“प्रभु विश्‍वासयोग्य हुनुहुन्छ अनि उहाँले तिमीहरूलाई बलियो बनाउनुहुनेछ र त्यस दुष्टबाट जोगाउनुहुनेछ।” (२ थिस्स. ३:३) यहोवा हामीलाई कसरी जोगाउनुहुन्छ? यहोवाले हामीलाई सैतानको आक्रमणबाट जोगिन मदत गर्ने हातहतियार उपलब्ध गराउनुभएको छ। (एफि. ६:१३-१७) यो आध्यात्मिक हातहतियार बलियो र प्रभावकारी छ। तर हामीले ती प्रत्येक हातहतियार प्रयोग गरिरह्‍यौँ भने मात्र त्यसले हामीलाई जोगाउनेछ। जस्तै, सत्यको पेटीले परमेश्‍वरको वचन बाइबलमा पाइने सत्यलाई सङ्‌केत गर्छ। हामीले यो पेटी किन लगाउनुपर्छ? किनभने सैतान “झूटको बुबा हो।” (युह. ८:४४) त्यसले हजारौँ वर्षदेखि झूट बोल्दै आएको छ र “सारा संसारलाई” ठगेको छ। (प्रका. १२:९) तर बाइबलमा पाइने सत्यले हामीलाई त्यसको बहकाउमा नपर्न मदत गर्छ। हामी यो प्रतीकात्मक पेटी कसरी लगाउन सक्छौँ? यहोवाबारे सत्य कुरा सिकेर, “पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम” उहाँको उपासना गरेर र सबै कुरामा इमानदार भई चलेर हामी त्यसो गर्न सक्छौँ।—युह. ४:२४; एफि. ४:२५; हिब्रू १३:१८. w२१.०३ पृ. २६-२७ अनु. ३-५

बिहीबार, जनवरी ६

तिनी सुन्दर भूमिमा पनि छिर्नेछन्‌।—दानि. ११:४१.

त्यो भूमि विशेष थियो किनकि त्यहाँ साँचो उपासना गरिन्थ्यो। इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि त्यो “भूमि” कुनै एउटा भौगोलिक स्थान होइन किनकि यहोवाका जनहरू पृथ्वीभरि नै छरिएर रहेका छन्‌। अहिले “सुन्दर भूमि” भनेको यहोवाका जनहरूको गतिविधि भइरहेको आध्यात्मिक प्रमोदवन हो, जसमा यहोवाको उपासना गर्न उनीहरूले गर्ने सभा अनि प्रचारकार्यजस्ता कुराहरू पर्छन्‌। अन्तको समयमा उत्तरका राजा थुप्रै चोटि “सुन्दर भूमिमा” छिरेका छन्‌। उदाहरणको लागि, विशेषगरि दोस्रो विश्‍वयुद्धको दौडान नाजी जर्मनीले उत्तरका राजाको भूमिका निर्वाह गर्दा तिनले परमेश्‍वरका जनहरूको खेदो गरे अनि उनीहरूलाई मारे; यसरी तिनी “सुन्दर भूमिमा” छिरे। अनि दोस्रो विश्‍वयुद्धपछि सोभियत सङ्‌घले उत्तरका राजाको भूमिका निर्वाह गर्दा तिनले परमेश्‍वरका जनहरूलाई सताए अनि उनीहरूलाई निर्वासनमा पठाए; यसरी तिनी “सुन्दर भूमिमा” छिरे। w२०.०५ पृ. १३ अनु. ७-८

शुक्रबार, जनवरी ७

यहोवाको डर मान्‍नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्‍न पाउँछन्‌ अनि उहाँले तिनीहरूलाई आफ्नो करारबारे बताउनुहुन्छ।—भज. २५:१४.

परमेश्‍वरको मित्र बनेका केही पुरुषबारे विचार गरौँ, जो येसुको समयभन्दा अघिका थिए। अब्राहाम उल्लेखनीय विश्‍वास भएका व्यक्‍ति थिए। अब्राहामको मृत्यु भएको एक हजार वर्षभन्दा केही समय बितिसकेपछि यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो। (यसै. ४१:८) त्यसकारण मृत्युले पनि यहोवासितको घनिष्ठ मित्रता तोड्‌न सक्दैन। अब्राहाम यहोवाको सम्झनामा जीवितै छन्‌। (लुका २०:३७, ३८) अर्का उदाहरण हुन्‌, अय्युब। स्वर्गमा स्वर्गदूतहरू भेला हुँदा अय्युबबारे विश्‍वस्त हुँदै यहोवाले यसो भन्‍नुभयो: “ऊ निर्दोष र सत्यनिष्ठ छ; मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।” (अय्यु. १:६-८) अनि यहोवाले दानिएलबारे कस्तो महसुस गर्नुभयो, जसले मूर्तिपूजकहरूको देशमा लगभग ८० वर्ष बिताउनुपर्दा पनि वफादार भई परमेश्‍वरको सेवा गरे? स्वर्गदूतले तीन-तीन पटक यी वृद्ध व्यक्‍ति परमेश्‍वरको लागि “अतिप्रिय” छन्‌ भनेर तिनलाई आश्‍वस्त पारे। (दानि. ९:२३; १०:११, १९) यहोवा मरिसकेका आफ्ना प्यारा मित्रहरूलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ।—अय्यु. १४:१५. w२०.०५ पृ. २६-२७ अनु. ३-४

शनिबार, जनवरी ८

मलाई तपाईँका नीतिनियम सिकाउनुहोस्‌।—भज. ११९:६८.

राम्रो विद्यार्थीले परमेश्‍वरका नियमहरूबारे सिकेर त्यसको कदर पनि गर्लान्‌। तर के तिनले यहोवालाई राम्ररी चिनेकोले र उहाँलाई प्रेम गर्ने भएकोले उहाँको आज्ञा पालन गर्नेछन्‌? नबिर्सनुहोस्‌, हव्वालाई परमेश्‍वरको नियम थाह थियो तर तिनले त्यो नियम दिनुहुनेलाई साँच्चै प्रेम भने गरेकी थिइनन्‌; आदमको कुरा पनि त्यस्तै हो। (उत्प. ३:१-६) त्यसैले हामीले अरूलाई परमेश्‍वरका धार्मिक स्तरहरू र उहाँले हामीबाट चाहनुहुने कुराहरूबारे सिकाएर मात्र पुग्दैन। यहोवाले तोक्नुभएको स्तर र उहाँले माग गर्नुभएका कुराहरू असल छन्‌ र ती हाम्रै हितका लागि हुन्‌। (भज. ११९:९७, १११, ११२) तर हाम्रा विद्यार्थीहरूले ती नियमहरूपछाडि यहोवाको प्रेम लुकेको छ भनेर बुझेका छैनन्‌ भने तिनीहरूलाई त्यसले हाम्रो हित गर्छ भन्‍ने नलाग्न सक्छ। त्यसैले हामी विद्यार्थीहरूलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौँ: “तपाईँको विचारमा परमेश्‍वर किन आफ्ना सेवकहरूलाई ‘यस्तो गर्न हुन्छ वा त्यस्तो गर्न हुँदैन’ भन्‍नुहुन्छ? यसबारे मनन गर्दा तपाईँलाई उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ जस्तो लाग्छ?” हामीले विद्यार्थीहरूलाई यहोवाबारे सोच्न र उहाँको महिमित नामप्रतिको प्रेम विकास गर्न मदत गऱ्‍यौँ भने हामी तिनीहरूको हृदयसम्म पुग्ने सम्भावना धेरै हुन्छ। हाम्रा विद्यार्थीहरूले नीतिनियमलाई मात्र होइन, ती दिनुहुने परमेश्‍वरलाई पनि प्रेम गर्न थाल्नेछन्‌। तिनीहरूको विश्‍वास बलियो हुँदै जानेछ र पछि आइपर्ने कठिन परीक्षाहरू सामना गर्न बल पाउनेछन्‌।—१ कोरि. ३:१२-१५. w२०.०६ पृ. १० अनु. १०-११

आइतबार, जनवरी ९

हरेक मानिस सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।—याकु. १:१९.

हामी धीरजी हुनुपर्छ किनभने निष्क्रिय व्यक्‍तिहरूलाई यहोवाकहाँ फर्कन समय लाग्छ। पहिला निष्क्रिय भएका धेरैले एल्डरहरू र मण्डलीका भाइबहिनी पटक-पटक भेट्‌न आएपछि मात्र फेरि यहोवाको सेवा गर्न थालेको कुरा मानिलिएका छन्‌। एसियाकी न्यान्सी नाम गरेकी बहिनीले यस्तो लेखिन्‌: “मण्डलीको एक जना मिल्ने साथीले मलाई धेरै मदत गर्नुभयो। उहाँले मलाई आफ्नै बहिनी ठानेर माया गर्नुभयो। विगतमा हामीले सँगै बिताएका रमाइला पलहरू सम्झाउनुभयो। मैले आफ्ना भावनाहरू पोख्दा धीरजी हुँदै सुन्‍नुभयो र मलाई सल्लाह दिन पनि अप्ठ्यारो मान्‍नुभएन। जुनसुकै बेला पनि मदत गर्न तयार भएर उहाँ मेरो साँचो साथी साबित हुनुभयो।” समानुभूति देखाउनु भनेको घाउमा मलहम लगाउनुजस्तै हो। यो गुण देखाउँदा निष्क्रिय व्यक्‍तिको मनमा लागेको चोट निको हुन सक्छ। निष्क्रिय भएका केहीलाई वर्षौँअघि मण्डलीको कसैले भनेको वा गरेको कुराले अझै पनि चित्त दुखिरहेको र रिस उठिरहेको हुन सक्छ। यस्ता भावनाहरूले तिनीहरूलाई यहोवाकहाँ फर्कन रोकिरहेको हुन सक्छ। तिनीहरूमध्ये कसै-कसैलाई आफूमाथि अन्याय भएको जस्तो लागेको हुन सक्छ। तिनीहरूलाई आफ्नो कुरा सुनिदिने र भावना बुझिदिने व्यक्‍तिको खाँचो परिरहेको हुन सक्छ। w२०.०६ पृ. २६ अनु. १०-११

सोमबार, जनवरी १०

तिमीहरूले त्यस दुष्टमाथि विजय हासिल गरेका छौ।—१ युह. २:१४.

हरेक चोटि प्रलोभनहरूलाई तिरस्कार गर्दा तपाईँलाई सही काम गर्न झनै सजिलो हुनेछ। यौनबारे संसारको विकृत सोचाइको स्रोत सैतान हो भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। तपाईँले आफ्नो विश्‍वासमा सम्झौता गर्नुभएन भने “त्यस दुष्टमाथि विजय हासिल” गर्नुहुनेछ। पापपूर्ण आचरण भनेको के हो, त्यो निर्धारण गर्ने अधिकार यहोवासित छ भन्‍ने कुरा हामी मानिलिन्छौँ। अनि पाप नगर्न हामी सक्दो प्रयास गर्छौँ। तर यदि पाप गऱ्‍यौँ भने पनि प्रार्थना गरेर यहोवासामु आफ्नो पाप स्विकार्छौँ। (१ युह. १:९) अनि यदि कुनै गम्भीर पाप गऱ्‍यौँ भने हामी एल्डरहरूको मदत खोज्छौँ, जसलाई यहोवाले हाम्रो ख्याल राख्न नियुक्‍त गर्नुभएको छ। (याकु. ५:१४-१६) तर विगतमा गरेका गल्तीहरूको लागि आफूलाई दोषी ठानिरहनु भने पर्दैन। किन? किनकि हामीलाई माया गर्नुहुने बुबाले हाम्रा पापहरूको क्षमाको लागि आफ्नो छोरालाई फिरौतीको बलिदानको रूपमा दिइसक्नुभएको छ। यदि हामी आफ्नो गल्तीको लागि मनैदेखि पश्‍चात्ताप गर्छौँ भने यहोवाले अवश्‍य क्षमा दिनुहुनेछ। त्यसैले अन्तस्करण सफा राखेर यहोवाको सेवा गर्न हामीलाई कुनै कुराले पनि रोक्न सक्दैन।—१ युह. २:१, २, १२; ३:१९, २०. w२०.०७ पृ. २२-२३ अनु. ९-१०

मङ्‌गलबार, जनवरी ११

जीवनको मूल तपाईँसित छ।—भज. ३६:९.

कुनै समय पूरै ब्रह्‍माण्डमा यहोवा मात्र हुनुहुन्थ्यो। तैपनि उहाँ एक्लो हुनुहुन्‍न थियो। उहाँ हरेक पक्षमा पूर्ण हुनुहुन्थ्यो। तर परमेश्‍वर अरूले पनि जीवनको आनन्द उठाओस्‌ भन्‍ने चाहनुहुन्थ्यो। त्यसैले प्रेमले उत्प्रेरित भएर यहोवाले अरू जीवजीवात सृष्टि गर्न थाल्नुभयो। (१ युह. ४:१९) सबैभन्दा पहिला, यहोवाले आफ्नो लागि एक जना सहकर्मी बनाउनुभयो। त्यसपछि त्यही पहिलो छोराद्वारा “अरू सबै थोक सृष्टि भए,” जसमा लाखौँलाख स्वर्गदूत पनि पर्छन्‌। (कल. १:१६) आफ्नो बुबासित मिलेर काम गर्न पाउँदा येसु खुसीले गद्‌गद हुनुभयो। (हितो. ८:३०) अनि परमेश्‍वरका छोराहरू अर्थात्‌ स्वर्गदूतहरू पनि रमाए। यहोवा र उहाँको मुख्य कारिगर येसुले स्वर्ग र पृथ्वी बनाउनुहुँदा ती स्वर्गदूतहरू मानौँ, रङ्‌गमञ्चको सबैभन्दा अगाडिको सिटमा बसेर हेरिरहेका थिए। त्यतिबेला स्वर्गदूतहरूले के गरे? पृथ्वी बनाइँदा तिनीहरूले “खुसीले जयजयकार गरे” अनि यहोवाले अन्य थोकहरू र उहाँको सबैभन्दा उत्कृष्ट सृष्टि, मानिस बनाउनुहुँदा उहाँको जयजयकार गरिरहे। (अय्यु. ३८:७; हितो. ८:३१) यी सबै सृष्टिमा यहोवाको प्रेम र बुद्धि झल्कियो।—भज. १०४:२४; रोमी १:२०. w२०.०८ पृ. १४ अनु. १-२

बुधबार, जनवरी १२

मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्‌।—मत्ति २४:९.

यहोवाले हामीलाई अरूलाई प्रेम गर्न सक्नेगरि अनि अरूबाट प्रेम पाउने चाहनासहित सृष्टि गर्नुभयो। त्यसैले कसैले हामीलाई घृणा गर्दा हाम्रो चित्त दुख्छ र सायद डर पनि लाग्छ। एक भाइ यस्तो लेख्छन्‌: “म एक जना यहोवाको साक्षी भएकोले प्रहरीहरूले मलाई पिटे, गाली गरे र डर-धम्की देखाए। त्यतिबेला म साह्रै डराएँ अनि अपमानित महसुस गरेँ।” यस्तो घृणा सहनुपर्दा हामीलाई पीडा त हुन्छ तर हामी अचम्म मान्दैनौँ। किनभने संसारले हामीलाई घृणा गर्नेछ भनेर येसुले भविष्यवाणी गर्नुभएको थियो। संसारले येसुका अनुयायीहरूलाई किन घृणा गर्छ? किनकि हामी पनि येसुजस्तै ‘यस संसारका होइनौँ।’ (युह. १५:१७-१९) त्यसैले हामी मानव सरकारहरूको आदर त गर्छौँ तर हामी राजनीतिमा कसैको पक्ष लिँदैनौँ, झन्डा सलामी गर्दैनौँ वा राष्ट्रियगान गाउँदैनौँ। हामी यहोवाको मात्र उपासना गर्छौँ। मानिसजातिमाथि शासन गर्ने परमेश्‍वरको अधिकारको हामी समर्थन गर्छौँ। तर सैतान र त्यसको “सन्तान”-ले परमेश्‍वरको त्यो अधिकारलाई चुनौती दिएका छन्‌। (उत्प. ३:१-५, १५) मानिसजातिको एक मात्र आशा परमेश्‍वरको राज्य हो र त्यस राज्यले अब चाँडै आफ्ना विरोधीहरूलाई निमिट्यान्‍न पार्नेछ भनेर हामी प्रचार गर्छौँ। (दानि. २:४४; प्रका. १९:१९-२१) नम्रहरूको लागि यो सन्देश सुखको समाचार हो भने दुष्टहरूको लागि दुःखको। w२१.०३ पृ. २० अनु. १-२

बिहीबार, जनवरी १३

हामी परमेश्‍वरका हौँ भनी हामीलाई थाह छ।—१ युह. ५:१९.

यहोवाले ख्रिष्टियन बहिनीहरूलाई मण्डलीमा महत्त्वपूर्ण स्थान दिएर उनीहरूको सम्मान गर्नुभएको छ। तिनीहरूले बुद्धि, विश्‍वास, जोस, साहस, उदारता र असल काम गर्ने सन्दर्भमा राम्रो उदाहरण बसालेका छन्‌। (लुका ८:२, ३; प्रेषि. १६:१४, १५; रोमी १६:३, ६; फिलि. ४:३; हिब्रू ११:११, ३१, ३५) हाम्रो मण्डलीमा भएका थुप्रै वृद्ध भाइबहिनी पनि हाम्रो लागि आशिष्‌ हुन्‌। तिनीहरूले वृद्धावस्थाले गर्दा थुप्रै शारीरिक समस्या झेलिरहेका हुन सक्छन्‌। तैपनि यी वृद्ध भाइबहिनी प्रचारकार्यमा सकेजति गर्छन्‌ अनि आफूसित भएको पूरै शक्‍ति खर्च गरेर अरूलाई प्रोत्साहन र तालिम दिन्छन्‌। त्यति मात्र होइन तिनीहरूले जीवनमा बटुलेका अनुभवहरूबाट पनि हामी लाभ उठाउँछौँ। तिनीहरू यहोवा र हाम्रो लागि साँच्चै अनमोल छन्‌! (हितो. १६:३१) हाम्रा जवान भाइबहिनीबारे पनि सोच्नुहोस्‌। सैतानको अधीनमा भएको र त्यसको दुष्ट सोचाइको प्रभावमा परेको यस संसारमा तिनीहरूले हुर्कँदै जाँदा थुप्रै चुनौतीको सामना गर्नुपर्छ। तर यी जवान भाइबहिनीले सभामा टिप्पणी दिएको, प्रचारकार्यमा भाग लिएको र साहसी भई आफ्नो विश्‍वासको पक्षमा बोलेको देख्दा हामी सबैले प्रोत्साहन पाउँछौँ। हो, यहोवाको मण्डलीमा तपाईँ जवान भाइबहिनीको महत्त्वपूर्ण स्थान छ।—भज. ८:२. w२०.०८ पृ. २१-२२ अनु. ९-११

शुक्रबार, जनवरी १४

म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ।—मत्ति १०:१६.

हामीले प्रचार गर्दा अनि आफूलाई यहोवाको साक्षीको रूपमा चिनाउँदा हामीमाथि “आँधीरूपी” परीक्षाहरू आउन सक्छन्‌। जस्तै: परिवारले विरोध गर्न सक्छ, चिनजानहरूले हाम्रो गिल्ला गर्न सक्छन्‌ र कसै-कसैले हाम्रो सन्देश सुन्‍न इन्कार गर्न सक्छन्‌। तपाईँ कसरी आफ्नो साहस बढाउन सक्नुहुन्छ? सर्वप्रथम, येसुले अहिले पनि प्रचारकार्यलाई स्वर्गबाट डोऱ्‍याउँदै हुनुहुन्छ भनेर विश्‍वस्त हुनुहोस्‌। (युह. १६:३३; प्रका. १४:१४-१६) अनि यहोवाले तपाईँको हेरचाह गर्नुहुनेछ भन्‍ने प्रतिज्ञामा बलियो विश्‍वास राख्नुहोस्‌। (मत्ति ६:३२-३४) तपाईँको विश्‍वास जति बलियो हुन्छ, तपाईँ त्यति नै साहसी हुनुहुनेछ। तपाईँले पनि यहोवाका साक्षीहरूसित अध्ययन गर्न र सभामा जान थालेको कुरा आफ्ना चिनजान र परिवारका सदस्यलाई बताउँदा ठूलो विश्‍वास देखाउनुभयो। यहोवाको धार्मिक स्तरअनुसार जीवन बिताउन तपाईँले आफ्नो आचरण र जीवनशैलीमा आमूल परिवर्तन गर्नुभएको छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। त्यसो गर्न पनि पक्कै विश्‍वास र साहस चाहिएको थियो। यसरी साहस बढाउँदै लैजाँदा ‘तपाईँ जहाँ गए पनि यहोवा तपाईँका परमेश्‍वर तपाईँसँग हुनुहुनेछ’ भनेर ढुक्क हुन सक्नुहुन्छ।—यहो. १:७-९. w२०.०९ पृ. ४-५ अनु. ११-१२

शनिबार, जनवरी १५

यहोवा परमेश्‍वरले उनलाई विश्राम दिनुभएको थियो।—२ इति. १४:६.

यहोवामा पूरा भरोसा राख्दै बुद्धिमानी कदम चाल्ने सन्दर्भमा राजा आसा हाम्रो लागि एउटा उत्कृष्ट उदाहरण हुन्‌। उनले गाह्रो समयमा मात्र नभई शान्ति छाएको समयमा पनि यहोवाको सेवा गरे। सुरुदेखि नै राजा आसा “पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति वफादार” थिए। (१ राजा १५:१४) राजा आसाले यहोवाप्रति वफादारी देखाएको एउटा तरिका भनेको उनले यहुदाबाट झूटो उपासनालाई पूरै हटाए। बाइबल यसो भन्छ: “उनले विदेशी देवीदेवताका वेदीहरू र अग्ला थानहरू हटाए। अनि पवित्र थामहरू टुक्राटुक्रा पारिदिए र पवित्र खामाहरू पनि ढालिदिए।” (२ इति. १४:३, ५) उनले आफ्नी हजुरआमा माकाहलाई समेत राजमाताको पदबाट हटाइदिए। किन? किनभने माकाहले मानिसहरूलाई मूर्तिपूजा गर्न लगाएर झूटो उपासनालाई बढावा दिएकी थिइन्‌। (१ राजा १५:११-१३) आसाले यहुदा राष्ट्रबाट झूटो उपासनालाई हटाउने काम मात्र गरेनन्‌। तिनले त्यहाँका मानिसहरूलाई यहोवातर्फ फर्कन मदत गरेर साँचो उपासनालाई बढावा दिए। यहोवाले आसा र इस्राएलीहरूलाई आशिष्‌ दिनुभएकोले तिनीहरूले शान्ति अनुभव गरे। आसाको १० वर्षको शासनको दौडान “देशमा शान्ति छायो।”—२ इति. १४:१, ४, ६. w२०.०९ पृ. १४ अनु. २-३

आइतबार, जनवरी १६

हे तिमोथि, तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसलाई सँभालेर राख।—१ तिमो. ६:२०.

हामी अक्सर हाम्रा बहुमूल्य कुराहरू सुरक्षित होस्‌ भनेर भरपर्दो व्यक्‍तिको जिम्मामा सुम्पन्छौँ। उदाहरणको लागि, हामी आफ्नो पैसा बैङ्‌कमा राख्छौँ। यसो गर्दा हामी आफ्नो पैसा सुरक्षित रहन्छ अनि त्यो हराउँदैन वा कसैले चोर्दैन भन्‍ने आशा गर्छौँ। प्रेषित पावलले तिमोथिलाई तिनले असाध्यै बहुमूल्य कुरा अर्थात्‌ मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे सही ज्ञान पाएका छन्‌ भनेर सम्झाए। तिमोथिलाई ‘वचन प्रचार गर्ने’ र ‘प्रचारकको काम गर्ने’ सुअवसर पनि सुम्पिइएको थियो। (२ तिमो. ४:२, ५) तिमोथिलाई नासोको रूपमा सुम्पिइएको कुरा सँभालेर राख्न पावलले तिनलाई सल्लाह दिए। तिमोथिलाई जस्तै हामीलाई पनि केही बहुमूल्य कुरा सुम्पिइएको छ। यहोवाले आफ्नो वचन बाइबलमा पाइने बहुमूल्य सत्यहरूबारे सही ज्ञान दिनुभएर हामीलाई अनुग्रह देखाउनुभएको छ। बाइबल सत्यहरू बहुमूल्य छन्‌ किनकि ती सत्यहरूले हामीलाई यहोवासित राम्रो सम्बन्ध गाँस्न अनि जीवनमा साँचो आनन्द पाउन के गर्नुपर्छ भनेर बुझ्न मदत गर्छ। ती सत्यहरूलाई स्विकारेर त्यसअनुसार जीवन बितायौँ भने हामी झूटा शिक्षाहरू र अनैतिक कुराहरूको दासत्वबाट मुक्‍त हुन्छौँ।—१ कोरि. ६:९-११. w२०.०९ पृ. २६ अनु. १-३

सोमबार, जनवरी १७

तिमीहरूको निम्ति हामी के मात्र भएनौँ, त्यो तिमीहरूलाई थाहै छ।—१ थिस्स. १:५.

विद्यार्थीले तपाईँको उत्साह अनि बाइबलमा पाइने सत्यहरूमा तपाईँ विश्‍वस्त हुनुहुन्छ भन्‍ने कुरा देख्नु आवश्‍यक छ। तब मात्र तिनी आफूले सिकिरहेका कुराहरूबारे उत्साहित हुन सक्छन्‌। उपयुक्‍त छ भने बाइबल सिद्धान्तहरूअनुसार चल्दा तपाईँले कस्तो लाभ उठाउनुभएको छ भनी बताउनुहोस्‌। यसो गर्दा आफूले पनि लाभ उठाउन सक्ने व्यावहारिक डोऱ्‍याइ बाइबलमा पाइन्छ भनेर तिनले बुझ्नेछन्‌। बाइबल अध्ययनको दौडान तपाईँ विद्यार्थीलाई तिनले जस्तै समस्या भोगेका र ती समस्यामाथि विजयी भएका भाइबहिनीबारे बताउन सक्नुहुन्छ। तिनले जस्तै समस्या भोगेका कुनै भाइ वा बहिनीलाई अध्ययनमा सँगै लैजान सक्नुहुन्छ। विद्यार्थीलाई जीवनमा बाइबलका सिद्धान्तहरू लागू गर्नु कत्ति बुद्धिमानी हो भनेर बुझ्न मदत गर्नुहोस्‌। यदि तपाईँको विद्यार्थी विवाहित हुन्‌ भने के तिनको पति वा पत्नीले पनि अध्ययन गर्दै छन्‌? छैनन्‌ भने उनलाई पनि अध्ययनमा सँगै बस्न बोलाउनुहोस्‌। विद्यार्थीलाई आफूले सिकिरहेको कुरा परिवार र साथीभाइलाई पनि बताउन प्रोत्साहन दिनुहोस्‌।—युह. १:४०-४५. w२०.१० पृ. १६ अनु. ७-९

मङ्‌गलबार, जनवरी १८

आफ्ना छोराछोरीको हृदयमा . . . यी आज्ञाहरू राखिदिनू।—व्यव. ६:७.

युसुफ र मरियमको राम्रो लालनपालनले गर्दा येसुले यहोवाको अनुमोदन पाउन सक्नुभयो; यहोवाले आमाबुबालाई दिनुभएका निर्देशनहरू तिनीहरूले पालन गरे। (व्यव. ६:६, ७) युसुफ र मरियम यहोवालाई धेरै प्रेम गर्थे अनि तिनीहरूको लक्ष्य भनेको छोराछोरीलाई पनि त्यस्तै प्रेम विकास गर्न मदत दिनु थियो। युसुफ र मरियमले परिवारै मिलेर आध्यात्मिक गतिविधिमा नियमित रूपमा भाग लिने छनौट गरे। तिनीहरू हरेक हप्ता नासरतको सभाघरमा उपस्थित हुन्थे र हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जान्थे भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (लुका २:४१; ४:१६) परिवारै मिलेर यरुसलेमको यात्रामा निस्कँदा युसुफ र मरियमले बाटोमा येसु र अरू छोराछोरीलाई यहोवाका जनहरूको इतिहासबारे बताउने गरेको हुनुपर्छ। यात्राको क्रममा सायद तिनीहरू धर्मशास्त्रमा उल्लेख गरिएका ठाउँहरू पनि घुम्न जान्थे। परिवार ठूलो हुँदै जाँदा युसुफ र मरियमलाई राम्रो आध्यात्मिक तालिका कायम गर्न पक्कै सजिलो भएन होला। तर यसो गरेकोमा तिनीहरूको परिवारले कत्ति लाभ उठाए नि, होइन र? यहोवाको उपासनालाई पहिलो स्थानमा राखेकोले तिनीहरूको परिवार आध्यात्मिक रूपमा बलियो रहिरह्‍यो। w२०.१० पृ. २८ अनु. ८-९

बुधबार, जनवरी १९

एज्राले यहोवा परमेश्‍वरको व्यवस्था अध्ययन गर्न . . . अनि इस्राएलीहरूलाई उहाँका नीतिनियम . . . सिकाउन आफ्नो हृदय तयार पारेका थिए।—एज्रा ७:१०.

कसैले आफ्नो बाइबल अध्ययनमा बोलाउँदा छलफल गरिने विषयवस्तु पहिल्यै तयारी गर्नु राम्रो हुन्छ। विशेष अग्रगामी भाइ डोरिन यसो भन्छन्‌, “मैले अध्ययनमा बोलाएको साथीले अध्ययनको लागि तयारी गर्दा मलाई खुसी लाग्छ। त्यसो गर्दा तिनले अध्ययनमा अर्थपूर्ण ढङ्‌गमा भाग लिन सक्छन्‌।” त्यसको साथै विद्यार्थीले तपाईँहरू दुवै जनाले राम्ररी तयारी गरेको देख्नेछन्‌ र तिनी आफैले पनि अध्ययनको लागि तयारी गर्न सिक्नेछन्‌। अध्ययनको लागि विस्तृत रूपमा तयारी गर्न नसके पनि मुख्य बुँदाहरू पत्ता लगाउन समय निकाल्नुहोस्‌। प्रार्थना बाइबल अध्ययनको एउटा महत्त्वपूर्ण भाग हो। अध्ययन सञ्चालकले तपाईँलाई प्रार्थना गर्न आग्रह गर्दा प्रार्थनामा के भन्‍ने भनेर पहिल्यै विचार गर्नुहोस्‌। यसो गर्दा तपाईँको प्रार्थना अर्थपूर्ण हुनेछ। (भज. १४१:२) जापानमा बस्ने बहिनी हानाईले आफ्नो अध्ययन सञ्चालकसित आएकी एक जना बहिनीले गरेको प्रार्थना सम्झन्छिन्‌। तिनी यसो भन्छिन्‌, “यहोवासित उहाँको घनिष्ठ सम्बन्ध रहेछ भनेर मैले महसुस गर्न सकेँ र म पनि उहाँजस्तै हुन चाहन्थेँ। उहाँले मेरो नामै लिएर प्रार्थना गर्नुहुँदा मैले उहाँको माया महसुस गर्न सकेँ।” w२१.०३ पृ. ९-१० अनु. ७-८

बिहीबार, जनवरी २०

साहसी होऊ! . . . रोममा पनि तिमीले त्यस्तै साक्षी दिनै पर्छ।—प्रेषि. २३:११.

इस्वी संवत्‌ ५६ मा येसुले प्रेषित पावललाई तिनी सकुशल रोम पुग्नेछन्‌ भनेर आश्‍वासन दिनुभएको थियो। तर यरुसलेमका केही यहुदीले पावललाई बाटोमा ढुकेर बस्ने र मार्ने योजना बनाइरहेका थिए। रोमी सेनापति क्लौडियस लायसिअसले यहुदीहरूको योजनाबारे थाह पाएपछि उनले पावललाई बचाउन कदम चाले। क्लौडियसले सैनिकहरूको दलबलसहित पावललाई तुरुन्तै सिजरिया पठाए। त्यहाँ राज्यपाल फेलिक्सले पावललाई “हेरोदको महलमा लगी पहरा दिएर राख्नू” भनी आदेश दिए। अब भने पावललाई मार्न खोज्ने यहुदीहरूले तिनलाई कुनै हानि पुऱ्‍याउन सक्ने थिएनन्‌। (प्रेषि. २३:१२-३५) तर फेलिक्सको ठाउँमा अहिले नयाँ राज्यपाल फेस्तस थिए। फेस्तस ‘यहुदीहरूलाई खुसी पार्न’ चाहन्थे। उनले पावललाई सोधे: “के तिमी यरुसलेम गएर मसामु यी कुराहरूको फैसला गरिएको चाहन्छौ?” यरुसलेमका यहुदीहरूले आफूलाई मार्न सक्छन्‌ भनेर पावललाई थाह थियो। त्यसैले तिनले यस्तो जवाफ दिए: “म सिजरलाई अपिल गर्छु!” फेस्तसले पावललाई यसो भने: “तिमीले सिजरलाई अपिल गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानेछौ।” अब चाँडै तिनी रोम पुग्ने थिए, जहाँ तिनी आफूलाई मार्न खोज्ने यहुदीहरूको पहुँचबाट धेरै टाढा हुने थिए।—प्रेषि. २५:६-१२. w२०.११ पृ. १३ अनु. ४; पृ. १४ अनु. ८-१०

शुक्रबार, जनवरी २१

हाम्रो हृदयले हामीलाई . . . दोषी [ठहराउन सक्छ]।—१ युह. ३:२०.

हामी सबैले कहिलेकाहीँ दोषी महसुस गर्छौँ। उदाहरणको लागि, कतिपयले बाइबल सत्य सिक्नुअघि गरेको गल्ती सम्झेर दोषी महसुस गर्छन्‌। अरू भने बप्तिस्मापछि गरेको गल्तीको कारण दोषी महसुस गर्छन्‌। (रोमी ३:२३) हुनत हामी जे सही हो, त्यो गर्न चाहन्छौँ। तर “हामी सबै जना धेरै चोटि चुक्छौँ।” (याकु. ३:२; रोमी ७:२१-२३) हामीलाई दोषी भावनाले सताएको मन पर्दैन तर यसले हामीलाई फाइदा पुऱ्‍याउन सक्छ। किन? किनभने दोषी भावनाले हामीलाई जीवनमा परिवर्तन गर्न र फेरि गल्ती नदोहोऱ्‍याउने सङ्‌कल्प गर्न मदत गर्न सक्छ। (हिब्रू १२:१२, १३) अर्कोतर्फ कहिलेकाहीँ हामीले अचाक्ली दोषी महसुस गर्न सक्छौँ। यसको मतलब हामीले पश्‍चात्ताप गरिसकेका छौँ र यहोवाले क्षमा दिइसक्नुभएको छ भने पनि हामीले दोषी महसुस गरिरहन सक्छौँ। यस्तो किसिमको दोषी भावना हानिकारक हुन सक्छ। (भज. ३१:१०; ३८:३, ४) त्यसैले अचाक्ली दोषी महसुस गर्ने पासोदेखि जोगिनु एकदमै महत्त्वपूर्ण छ। यहोवाले हामीदेखि हार मान्‍नुभएको छैन तर हामी आफैदेखि हार खान्छौँ भने सैतान कत्ति खुसी हुन्छ होला, सोच्नुहोस्‌ त!—२ कोरिन्थी २:५-७, ११ तुलना गर्नुहोस्‌। w२०.११ पृ. २७ अनु. १२-१३

शनिबार, जनवरी २२

मैले बेकारमा आफ्नो हृदय चोखो राखेछु र निर्दोषतामा आफ्नो हात धोएछु।—भज. ७३:१३.

यो भजन रच्ने लेवीले दुष्ट र अहङ्‌कारीहरूको डाह गर्न थाले। तिनले उनीहरूले जस्तो खराब काम गर्न चाहेकोले त होइन। तर तिनलाई उनीहरूले सुखविलासको जीवन बिताइरहेको जस्तो लागेको थियो। (भज. ७३:२-९, ११-१४) उनीहरूले प्रशस्त धनसम्पत्ति र कुनै चिन्ता-फिक्रीविनाको जीवनको आनन्द उठाइरहेको जस्तो देखिन्थ्यो। ती लेवीले सबै कुरा यहोवाको दृष्टिकोणबाट हेर्नु आवश्‍यक थियो। यसो गरेपछि तिनले फेरि मनोशान्ति पाए र आनन्दित भए। तिनले यसो भने: “[यहोवा] मेरो साथमा होउन्जेल मलाई पृथ्वीमा अरू केही कुरा चाहिँदैन।” (भज. ७३:२५) हामी पनि सुखविलासको जीवन बिताइरहेको जस्तो देखिने दुष्ट मानिसहरूको कहिल्यै डाह नगरौँ। तिनीहरूले आनन्दित जीवन बिताइरहेको जस्तो देखिए पनि त्यो क्षणिक हुन्छ। (उप. ८:१२, १३) तिनीहरूको डाह गर्नु भनेको आफैमाथि निराशा र आध्यात्मिक हानि निम्त्याउनु हो। त्यसैले तपाईँले ती दुष्टहरूको सफलजस्तो देखिने जीवनको डाह गर्न थालेको चाल पाउनुभयो भने ती लेवीले जस्तै गर्नुहोस्‌। परमेश्‍वरको मायालु सल्लाह पालन गर्नुहोस्‌ र उहाँको इच्छाबमोजिम चल्नेहरूसित सङ्‌गत गर्नुहोस्‌। तपाईँले यहोवालाई सबैभन्दा धेरै प्रेम गर्नुभयो भने तपाईँले साँचो आनन्द पाउनुहुनेछ। अनि तपाईँ “साँच्चैको जीवन”-तर्फ पुऱ्‍याउने बाटोमा रहिरहन सक्नुहुनेछ।—१ तिमो. ६:१९. w२०.१२ पृ. १९ अनु. १४-१६

आइतबार, जनवरी २३

प्रार्थना नगरी नहुने बेला कुन कुराको लागि प्रार्थना गर्ने, त्यो हामीलाई थाह नहुन सक्छ। त्यतिखेर हाम्रो मनमा दबिएका सुस्केराहरूको निम्ति पवित्र शक्‍तिले हाम्रो तर्फबाट बिन्ती गरिदिन्छ।—रोमी ८:२६.

यहोवालाई प्रार्थनामा आफ्नो चिन्ता-फिक्री पोखाउँदा धन्यवादका शब्दहरू व्यक्‍त गर्न पनि नबिर्सनुहोस्‌। गाह्रा परिस्थितिहरूको सामना गर्नुपर्दा समेत आफूले पाएका आशिष्‌हरूबारे सोच्नु राम्रो हो। आफूलाई कस्तो महसुस भइरहेको छ भनेर व्यक्‍त गर्न कहिलेकाहीँ हामीलाई गाह्रो हुन सक्छ। त्यस्तो बेला यहोवालाई ‘मदत गर्नुहोस्‌’ भनेर पुकार्दा मात्र पनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (२ इति. १८:३१) आफ्नो होइन, यहोवाको बुद्धिमा भर पर्नुहोस्‌। ईसापूर्व आठौँ शताब्दीमा यहुदाका मानिसहरूलाई अस्सेरियालीहरूले आक्रमण गर्लान्‌ कि भन्‍ने डर थियो। कुनै हालतमा पनि अस्सेरियालीहरूको अधीनमा नपर्न तिनीहरूले मूर्तिपूजक मिश्रीहरूलाई गुहारे। (यसै. ३०:१, २) यहोवादेखि तर्केर गएकोले तिनीहरूले ठूलो मोल चुकाउनुपर्नेछ भनेर उहाँले चेतावनी दिनुभयो। (यसै. ३०:७, १२, १३) यहुदाका मानिसहरूले कसरी साँचो सुरक्षा पाउन सक्छन्‌ भनेर यहोवाले यसैयामार्फत बताउनुभयो। तिनले यसो भने: “शान्त होऊ र [यहोवामाथि] भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”—यसै. ३०:१५ख. w२१.०१ पृ. ४ अनु. ८-९

सोमबार, जनवरी २४

मैले छाप लगाइएकाहरूको सङ्‌ख्या सुनेँ। त्यो १ लाख ४४ हजार थियो।—प्रका. ७:४.

आफ्नो वफादारीको इनामस्वरूप ख्रिष्टका यी भाइहरूले स्वर्गमा राजा र पुजारीको रूपमा सेवा गर्नेछन्‌। (प्रका. २०:६) स्वर्गमा रहेको परमेश्‍वरको परिवार १ लाख ४४ हजार अभिषिक्‍त जनले स्वर्गीय इनाम पाएको हेर्न उत्सुक छ। यी १ लाख ४४ हजार राजा र पुजारीबारे बताएपछि प्रेषित युहन्‍नाले अर्को एउटा रोचक दृश्‍य देख्छन्‌। एउटा “ठूलो भीड” आरमागेडोन पार गरेर आएको छ। पहिलो समूहको तुलनामा यो दोस्रो समूहमा मानिसहरू धेरै छन्‌ र तिनीहरूको सङ्‌ख्या गन्‍न नसकिने छ। (प्रका. ७:९, १०) तिनीहरूले “सेता लुगा” लगाएका छन्‌। यसको मतलब तिनीहरूले आफूलाई सैतानको संसारबाट बेदाग राखेका छन्‌ अनि परमेश्‍वर र ख्रिष्टप्रति वफादार रहेका छन्‌। (याकु. १:२७) तिनीहरू यहोवा र उहाँको पाठो येसुले गर्दा उद्धार पाएका छौँ भन्दै चर्को स्वरमा कराउँछन्‌। साथै तिनीहरूले हातमा खजुरका हाँगाहरू बोकेका छन्‌। यसबाट तिनीहरूले येसुलाई परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजाको रूपमा खुसीसाथ स्विकारेको देखिन्छ।—युह. १२:१२, १३ तुलना गर्नुहोस्‌। w२१.०१ पृ. १५-१६ अनु. ६-७

मङ्‌गलबार, जनवरी २५

तपाईँको नम्रताले मेरो मान बढाएको छ।—२ समु. २२:३६.

यहोवा र येसुले आफ्नो अख्तियार प्रयोग गर्नुभएको तरिका अनुकरण गरेर एक जना पुरुष परिवारको असल शिर बन्‍न सक्छन्‌। जस्तै, नम्रता भन्‍ने गुणलाई विचार गरौँ। यहोवा ब्रह्‍माण्डकै सबैभन्दा बुद्धिमान्‌ व्यक्‍ति हुनुहुन्छ। तैपनि उहाँ आफ्ना सेवकहरूको विचार सुन्‍नुहुन्छ। (उत्प. १८:२३, २४, ३२) यहोवा त्रुटिरहित हुनुहुन्छ तर हामी भने त्रुटिपूर्ण छौँ। त्यसैले उहाँ हामीले गर्न सक्नेभन्दा बढ्‌ता माग गर्नुहुन्‍न। बरु हामीलाई उहाँको सेवामा सफल हुन मदत गर्नुहुन्छ। (भज. ११३:६, ७) बाइबलमा यहोवालाई “मदतगार” समेत भनिएको छ। (भज. २७:९; हिब्रू १३:६) यहोवाको नम्रता र मदतले गर्दा नै आफूले पाएको जिम्मेवारी पूरा गर्न सकेको हुँ भनेर राजा दाउदले स्विकारे। येसुको उदाहरण विचार गरौँ। चेलाहरूको प्रभु र गुरु हुनुभए तापनि उहाँले तिनीहरूको खुट्टा धोइदिनुभयो। येसु आफैले यसो भन्‍नुभयो: “मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।” (युह. १३:१२-१७) आफूसँग ठूलो अख्तियार भए तापनि अरूले आफ्नो सेवा गरेको उहाँले आस गर्नुभएन। बरु उहाँले अरूको सेवा गर्नुभयो।—मत्ति २०:२८. w२१.०२ पृ. ३-४ अनु. ८-१०

बुधबार, जनवरी २६

जवान मानिसहरूको गौरव उनीहरूको बल हो।—हितो. २०:२९.

जवान भाइहरू हो, तपाईँले मण्डलीको लागि गर्न सक्ने कुराहरू धेरै छन्‌। तपाईँहरूमध्ये धेरै जना बलियो र फुर्तिलो हुनुहुन्छ। तपाईँ मण्डलीको लागि अनमोल हुनुहुन्छ। तपाईँ सहायक सेवकको रूपमा नियुक्‍त हुने दिनको पर्खाइमा हुनुहुन्छ होला। तर यस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न तपाईँको उमेर पुगेको छैन वा तपाईँसित अनुभव छैन जस्तो अरूलाई लाग्न सक्छ। तपाईँ अहिले जवान हुनुहुन्छ भने पनि मण्डलीका दाजुभाइ दिदीबहिनीबाट भरोसा र आदर कमाउन तपाईँले गर्न सक्ने केही कुराहरू छन्‌। के तपाईँ जवान भाइहरूसित मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि उपयोगी हुने कुनै सीप छ? तपाईँहरूमध्ये धेरै जनासित कुनै न कुनै सीप पक्कै छ। उदाहरणको लागि, मण्डलीका वृद्ध दाइदिदीलाई व्यक्‍तिगत अध्ययन र सभाको लागि ट्याबलेट अनि अन्य इलेक्ट्रोनिक साधनहरू चलाउन सिकाइदिँदा तिनीहरू तपाईँप्रति आभारी हुन्छन्‌। तपाईँसित भएको यस्तो ज्ञानले वृद्ध दाइदिदीलाई ठूलो फाइदा पुग्न सक्छ। तपाईँले गर्ने हरेक काममा स्वर्गमा बस्नुहुने तपाईँको बुबाले गर्व गर्न सकून्‌! w२१.०३ पृ. २ अनु. १, ३; पृ. ७ अनु. १८

बिहीबार, जनवरी २७

हरेकले आफ्नो भारी आफै बोक्नेछ।—गला. ६:५.

पत्नीले आफूभन्दा धेरै शिक्षा हासिल गरेको भए तापनि पारिवारिक उपासनामा र अन्य आध्यात्मिक गतिविधिहरूमा नेतृत्व लिने जिम्मेवारी पतिकै हो। (एफि. ६:४) यहोवाको उपासनामा नेतृत्व लिने जिम्मेवारी पतिको हो भन्‍ने कुरा पत्नीले स्विकार्नुपर्छ तर आफ्नो विश्‍वासलाई बलियो बनाउने जिम्मेवारी भने तिनको आफ्नै हो। त्यसैले तिनले व्यक्‍तिगत अध्ययन गर्न र मनन गर्न केही समय छुट्ट्याउनुपर्छ। यसो गर्दा तिनले यहोवाप्रतिको प्रेम र आदर कायम राख्न अनि खुसीसाथ आफ्नो पतिको अधीनमा बस्न मदत पाउनेछिन्‌। यहोवाको शिरत्वको प्रबन्धलाई बेवास्ता गर्ने पत्नीहरूको तुलनामा यहोवाप्रतिको प्रेमले उत्प्रेरित भएर आफ्नो पतिको अधीनमा बस्ने पत्नीहरूले अझ धेरै आनन्द र सन्तुष्टि पाउनेछन्‌। तिनीहरूले जवान भाइबहिनीहरूको लागि पनि राम्रो उदाहरण बसाल्छन्‌। अनि तिनीहरूले परिवारमा मात्र होइन मण्डलीमा पनि न्यानो वातावरण कायम राख्न मदत गर्छन्‌। (ति. २:३-५) आज वफादार भई यहोवाको सेवा गर्ने मानिसहरूको समूहमा स्त्रीहरूको सङ्‌ख्या धेरै छ।—भज. ६८:११. w२१.०२ पृ. १३ अनु. २१-२३

शुक्रबार, जनवरी २८

परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।—याकु. ४:८.

साहस र सहनशीलता देखाउने सन्दर्भमा प्रेषित पावलले उत्कृष्ट उदाहरण बसालेका छन्‌। कहिलेकाहीँ तिनले आफू कमजोर भएको महसुस गरे। तर बलको लागि यहोवामा भरोसा गरेकोले तिनी सहनशील हुन सके। (२ कोरि. १२:८-१०; फिलि. ४:१३) हामीलाई यहोवाको मदत चाहिन्छ भन्‍ने कुरा नम्र भई स्विकाऱ्‍यौँ भने हामीले पनि उहाँबाट त्यस्तै बल र साहस पाउन सक्छौँ। (याकु. ४:१०) हामीले भोग्नुपर्ने परीक्षाहरू यहोवाले दिनुभएको सजाय होइन भनेर हामी ढुक्क हुन सक्छौँ। चेला याकुब हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “परीक्षा आइपर्दा कसैले पनि यसो नभनोस्‌: ‘परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ।’ किनकि कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न।” (याकु. १:१३) हामीले यस तथ्यलाई स्विकाऱ्‍यौँ भने स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबासित हामी अझ नजिक हुनेछौँ। यहोवा “सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्‍न।” (याकु. १:१७) उहाँले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई परीक्षाहरू सहन मदत गर्नुभयो र आज उहाँ हामी प्रत्येकलाई त्यसरी नै मदत गर्नुहुन्छ। बुद्धि, विश्‍वास र साहस दिनुहोस्‌ भनेर यहोवालाई व्यग्र बिन्ती गर्नुहोस्‌। उहाँले तपाईँका प्रार्थनाहरूको जवाफ दिनुहुनेछ। w२१.०२ पृ. ३१ अनु. १९-२१

शनिबार, जनवरी २९

फलामले फलामलाई उध्याएझैँ एक जना साथीले अर्को साथीको बुद्धिलाई तिखार्छ।—हितो. २७:१७.

सभामा नियमित उपस्थित हुने आफ्नो बाइबल विद्यार्थीलाई व्यक्‍तिगत चासो देखाएर तिनलाई प्रोत्साहन दिन सक्नुहुन्छ। (फिलि. २:४) तपाईँ तिनले गरेका छाँटकाँटहरूको लागि प्रशंसा गर्न सक्नुहुन्छ। तिनको बाइबल अध्ययन, परिवार र कामको बारेमा सोध्न सक्नुहुन्छ। तर तिनलाई अप्ठ्यारोमा पार्ने प्रश्‍नहरू सोध्नदेखि होसियार हुनुहोस्‌। यस्तो कुराकानीले गर्दा तपाईँहरू एकअर्कासित नजिक हुन सक्नुहुन्छ। विद्यार्थीको साथी बनेर तपाईँ तिनलाई बप्तिस्मासम्म प्रगति गर्न मदत गर्न सक्नुहुन्छ। विद्यार्थीले छाँटकाँट र प्रगति गर्दै जाँदा आफू पनि मण्डलीको भाग हुँ भनेर महसुस गर्न तिनलाई मदत दिनुहोस्‌। तिनलाई अतिथि-सत्कार गरेर तपाईँ यसो गर्न सक्नुहुन्छ। (हिब्रू १३:२) बाइबल विद्यार्थी प्रकाशक भएपछि तपाईँ तिनीसँग प्रचारमा भाग लिन सक्नुहुन्छ। ब्राजिलका एक जना प्रकाशक भाइ डियागो यसो भन्छन्‌, “धेरै दाजुभाइले मलाई प्रचारमा भाग लिन बोलाउनुभयो। उहाँहरूलाई अझ नजिकबाट चिन्‍ने यो सबैभन्दा राम्रो तरिका थियो। यसो गर्दा मैले धेरै कुराहरू सिकेँ अनि यहोवा र येसुसित अझ घनिष्ठ भएको महसुस गर्न सकेँ।” w२१.०३ पृ. १२ अनु. १५-१६

आइतबार, जनवरी ३०

कसैलाई पनि खराबीको बदला खराबी नगर।—रोमी १२:१७.

येसुले आफ्ना चेलाहरूलाई शत्रुहरूलाई समेत प्रेम गर भन्‍नुभयो। (मत्ति ५:४४, ४५) के यसो गर्न सजिलो छ? पक्कै छैन। तर परमेश्‍वरको पवित्र शक्‍तिको मदत पाएर हामी यसो गर्न सक्छौँ। पवित्र शक्‍तिको फलका पक्षहरूमा प्रेमको साथै धीरज, दया, नम्रता र आत्मसंयम पनि पर्छन्‌। (गला. ५:२२, २३) यी गुणहरूले हामीलाई घृणा सहन मदत गर्छ। यहोवाको सेवा गर्ने आफ्नो पति, पत्नी वा छिमेकीले यस्ता असल गुणहरू देखाएकोले थुप्रै विरोधीको मन परिवर्तन भएको छ। तिनीहरूमध्ये धेरै जना अहिले हाम्रा प्यारा दाजुभाइ दिदीबहिनी भइसकेका छन्‌। तपाईँले यहोवाको सेवा गर्ने भएकोले तपाईँलाई घृणा गर्नेहरूप्रति प्रेम देखाइरहन गाह्रो भइरहेको छ भने पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। (लुका ११:१३) अनि परमेश्‍वरको आज्ञा पालन गर्दा सधैँ हाम्रो भलाइ हुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। (हितो. ३:५-७) घृणा शक्‍तिशाली र पीडादायी छ होला तर प्रेम त्योभन्दा अझ शक्‍तिशाली छ। प्रेम देखायौँ भने हामी अरूको मन जित्न सक्छौँ र यहोवाको हृदयलाई खुसी बनाउन सक्छौँ। विरोधीहरूले हामीलाई घृणा गर्न नछोडे पनि हामी आनन्दित हुन सक्छौँ। w२१.०३ पृ. २३ अनु. १३; पृ. २४ अनु. १५, १७

सोमबार, जनवरी ३१

मेरो भूमिविरुद्ध एउटा जाति खडा भएको छ, जो शक्‍तिशाली र असङ्‌ख्य छ।—योए. १:६.

योएलको भविष्यवाणीका अरू पदहरू केलाउँदा ती भविष्यवक्‍ताले सैन्य आक्रमणको अनुमान लगाएका थिए भनेर हामी बुझ्न सक्छौँ। (योए. २:१, ८, ११) यहोवाले अनाज्ञाकारी इस्राएलीहरूलाई सजाए दिन आफ्नो “विशाल सेना” (बेबिलोनी सिपाहीहरू) प्रयोग गर्नेछु भनेर बताउनुभएको थियो। (योए. २:२५) ती सेनालाई “उत्तरबाट” आउनेहरू भन्‍नु उचित छ किनभने बेबिलोनीहरूले इस्राएललाई उत्तरबाट आक्रमण गर्ने थिए। (योए. २:२०) त्यस सेनालाई व्यवस्थित सलहको बथानसित तुलना गरिएको छ। तिनीहरूबारे योएल यसो भन्छन्‌: “तिनीहरू [अर्थात्‌ सिपाहीहरू] प्रत्येक आफ्नै पङ्‌क्‍तिमा हिँड्‌छन्‌। . . . तिनीहरू सहरमा कुदेर पस्छन्‌ . . . तिनीहरू घरमाथि चढ्‌छन्‌ र चोरजस्तै झ्यालबाट भित्र पस्छन्‌।” (योए. २:८, ९) यो दृश्‍य कल्पना गर्नुहोस्‌: जताततै सिपाहीहरू छन्‌, लुक्ने कुनै ठाउँ छैन। बेबिलोनी सेनाको हातबाट कोही पनि उम्कन सक्दैन! बेबिलोनीहरूले (वा कल्दियालीहरू) सलहहरूले जस्तै ईसापूर्व ६०७ मा यरुसलेम सहरमाथि आक्रमण गरे। बाइबल भन्छ: “कल्दियालीहरूका राजा[ले] . . . ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।”—२ इति. ३६:१७. w२०.०४ पृ. ५ अनु. ११-१२

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने