प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es22 पृ. १७-२६
  • फेब्रुअरी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
  • उपशीर्षकहरू
  • मङ्‌गलबार, फेब्रुअरी १
  • बुधबार, फेब्रुअरी २
  • बिहीबार, फेब्रुअरी ३
  • शुक्रबार, फेब्रुअरी ४
  • शनिबार, फेब्रुअरी ५
  • आइतबार, फेब्रुअरी ६
  • सोमबार, फेब्रुअरी ७
  • मङ्‌गलबार, फेब्रुअरी ८
  • बुधबार, फेब्रुअरी ९
  • बिहीबार, फेब्रुअरी १०
  • शुक्रबार, फेब्रुअरी ११
  • शनिबार, फेब्रुअरी १२
  • आइतबार, फेब्रुअरी १३
  • सोमबार, फेब्रुअरी १४
  • मङ्‌गलबार, फेब्रुअरी १५
  • बुधबार, फेब्रुअरी १६
  • बिहीबार, फेब्रुअरी १७
  • शुक्रबार, फेब्रुअरी १८
  • शनिबार, फेब्रुअरी १९
  • आइतबार, फेब्रुअरी २०
  • सोमबार, फेब्रुअरी २१
  • मङ्‌गलबार, फेब्रुअरी २२
  • बुधबार, फेब्रुअरी २३
  • बिहीबार, फेब्रुअरी २४
  • शुक्रबार, फेब्रुअरी २५
  • शनिबार, फेब्रुअरी २६
  • आइतबार, फेब्रुअरी २७
  • सोमबार, फेब्रुअरी २८
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
es22 पृ. १७-२६

फेब्रुअरी

मङ्‌गलबार, फेब्रुअरी १

नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।—फिलि. २:३.

एकअर्कालाई राम्ररी बुझ्न प्रयास गरेर हामी यहोवाको अनुकरण गर्न सक्छौँ। आफ्ना ख्रिष्टियन भाइबहिनीलाई राम्ररी चिन्‍नुहोस्‌। सभाअघि र पछि तिनीहरूसित कुरा गर्नुहोस्‌, प्रचारकार्यमा सँगै भाग लिनुहोस्‌ र सम्भव छ भने खाना खान निम्तो दिनुहोस्‌। यसो गर्नुभयो भने वास्तविकता थाह पाउँदा तपाईँ छक्कै पर्नुहोला। जस्तै: मित्रैलो नदेखिने बहिनी वास्तवमा लजालु हुन सक्छिन्‌, भौतिकवादी भन्ठानेको भाइ वास्तवमा असाध्यै उदार हुन सक्छन्‌ अनि सभामा अक्सर ढिलो आइपुग्ने परिवारले वास्तवमा खेदो भोगिरहेको हुन सक्छ। (अय्यु. ६:२९) हुनत हामी “अरूको कुरामा हात हाल्ने” मानिस हुनु हुँदैन। (१ तिमो. ५:१३) तैपनि हाम्रा भाइबहिनीबारे अनि तिनीहरूको अवस्थाबारे केही कुरा थाह पाउनु राम्रो हो। यसो गर्दा तिनीहरूलाई अझ राम्रोसँग चिन्‍न सक्नेछौँ। आफूलाई रिसउठ्‌दो लाग्ने सङ्‌गी ख्रिष्टियनको पृष्ठभूमि थाह पाउनुभयो भने तिनीप्रति समानुभूति जाग्न सक्छ। भाइबहिनीलाई राम्ररी चिन्‍ने प्रयास गर्नुपर्छ। आफ्नो मन ठूलो बनाउनू भन्‍ने बाइबलको सल्लाह पालन गर्दा “सबै किसिमका मानिस”-लाई प्रेम गर्नुहुने यहोवाको अनुकरण गरिरहनुभएको हुनेछ।—१ तिमो. २:३, ४; २ कोरि. ६:११-१३. w२०.०४ पृ. १६-१७ अनु. १०-१२

बुधबार, फेब्रुअरी २

आफ्ना मित्रहरूको लागि आफ्नो ज्यान अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू हुँदैन।—युह. १५:१३.

आफ्नो मृत्युको अघिल्लो रात येसुले आफ्ना चेलाहरूलाई एकअर्कालाई प्रेम गर्न सम्झाउनुभयो। एकतामा रहन र संसारको घृणा सहन आत्मत्यागी प्रेमले तिनीहरूलाई मदत गर्नेछ भनेर उहाँलाई थाह थियो। थिस्सलोनिकाको मण्डलीको उदाहरण विचार गर्नुहोस्‌। त्यो मण्डली स्थापना भएदेखि नै त्यहाँका भाइबहिनीले खेदो सहँदै आएका थिए। तैपनि तिनीहरूले सत्यनिष्ठ रहने र एकअर्कालाई प्रेम गर्ने सन्दर्भमा राम्रो उदाहरण बसालेका थिए। (१ थिस्स. १:३, ६, ७) पावलले तिनीहरूलाई झन्‌ प्रेम देखाइरहन प्रोत्साहन दिए। (१ थिस्स. ४:९, १०) प्रेमले तिनीहरूलाई निराश भएकाहरूसित सान्त्वनादायी कुरा गर्न र कमजोरहरूलाई मदत गर्न उत्प्रेरित गर्ने थियो। (१ थिस्स. ५:१४) तिनीहरूले पावलको निर्देशन पालन गरे। त्यसैले पावलले एक वर्षपछि लेखेको दोस्रो पत्रमा तिनीहरूको विषयमा यसो भन्‍न सके: “एकअर्काप्रति तिमीहरू हरेकको प्रेम बढ्‌दै छ।” (२ थिस्स. १:३-५) एकअर्काप्रतिको प्रेमले तिनीहरूलाई कठिनाइ र खेदो सहन मदत गऱ्‍यो। w२१.०३ पृ. २२ अनु. ११

बिहीबार, फेब्रुअरी ३

हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौँ।—हिब्रू १२:१.

अनन्त जीवनको इनाम हासिल गर्न चाहन्छौँ भने हामी ख्रिष्टियन मार्गमै हिँड्‌नुपर्छ। (प्रेषि. २०:२४; १ पत्रु. २:२१) तर सैतान र त्यसको पछि लाग्नेहरू भने हामीले त्यस मार्गअनुसार जीवन बिताएको चाहँदैनन्‌; हामी पनि तिनीहरूकै ‘मार्गमा हिँडिरहेको’ चाहन्छन्‌। (१ पत्रु. ४:४) तिनीहरूले हामी हिँडिरहेको मार्गको खिल्ली उडाउँछन्‌ र आफ्नो मार्ग नै उत्तम मार्ग हो र त्यसले स्वतन्त्रतातर्फ डोऱ्‍याउँछ भनेर दाबी गर्छन्‌। तर तिनीहरूको त्यो दाबी झूटो हो। (२ पत्रु. २:१९) सही मार्गमा हिँड्‌ने छनौट गर्नु अत्यन्तै महत्त्वपूर्ण छ! हामी सबै “जीवनतर्फ लैजाने” साँघुरो बाटोमा दौडन छोडेर संसारका धेरैजसो मानिसहरू हिँडिरहेको फराकिलो बाटोमा हिँडेको सैतान चाहन्छ। त्यो बाटो सजिलो छ र त्यसमा धेरै मानिसहरू हिँड्‌न रुचाउँछन्‌। तर त्यो बाटोले ‘विनाशतर्फ लैजान्छ।’ (मत्ति ७:१३, १४) सही मार्गमा हिँडिरहन र त्यसबाट नतर्किन हामीले यहोवामा भरोसा गर्नुपर्छ र उहाँको कुरा सुन्‍नुपर्छ। w२०.०४ पृ. २६ अनु. १; पृ. २७ अनु. ५, ७

शुक्रबार, फेब्रुअरी ४

म आग्रह गर्छु कि . . . उत्कट बिन्ती, प्रार्थना, अन्तरबिन्ती . . . चढाओ . . . ताकि हामीले . . . परमेश्‍वरको भक्‍ति गर्दै शान्ति र चैनको जीवन बिताउन सकौँ।—१ तिमो. २:१, २.

हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू पनि “सुन्दर भूमिमा” छिरेका छन्‌। (दानि. ११:४१) कसरी? इस्वी संवत्‌ २०१७ मा अहिलेका उत्तरका राजाले यहोवाका जनहरूको काममा प्रतिबन्ध लगाए र हाम्रा केही भाइबहिनीलाई झ्यालखानामा हाले। तिनले हाम्रा प्रकाशनहरू अनि नयाँ संसार अनुवाद-मा पनि प्रतिबन्ध लगाए। साथै तिनले रूसमा रहेको हाम्रो शाखा कार्यालय, राज्यभवन र सम्मेलन भवनहरू जफत गरे। यी सबै गतिविधिलाई नियालेपछि रूस र त्यसका समर्थकहरू नै उत्तरका राजा हुन्‌ भनेर २०१८ मा परिचालक निकायले प्रस्ट पाऱ्‍यो। यहोवाका जनहरूको निकै खेदो गरिए तापनि उनीहरू मानव सरकारहरूको विद्रोह गर्ने वा सत्ता पल्टाउने गतिविधिमा भाग लिन इन्कार गर्छन्‌। बरु उनीहरू “सबै उच्च पदाधिकारीका लागि” प्रार्थना गर भन्‍ने बाइबलको सल्लाह पालन गर्छन्‌, विशेषगरि त्यस्ता व्यक्‍तिहरूले गर्ने निर्णयले उपासना गर्ने हाम्रो स्वतन्त्रतालाई असर गर्न सक्ने अवस्था आउँदा। w२०.०५ पृ. १४ अनु. ९

शनिबार, फेब्रुअरी ५

आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।—१ तिमो. ४:१६.

आमाबुबा हो, तपाईँका छोराछोरी आफूसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त हुन तिनीहरू आफैले परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्नुपर्छ र बाइबलबाट सिकेका कुराहरू सत्य हुन्‌ भनेर विश्‍वस्त हुनुपर्छ। छोराछोरीलाई परमेश्‍वरबारे सत्य सिकाउन तपाईँ आफैले पनि बाइबलको असल विद्यार्थीको रूपमा राम्रो उदाहरण बसाल्नुपर्छ। आफूले सिकेको कुरामा मनन गर्न समय निकाल्नुपर्छ। तब मात्र तपाईँ आफ्ना छोराछोरीलाई पनि त्यसै गर्न सिकाउन सक्नुहुन्छ। आफ्ना बाइबल विद्यार्थीहरूलाई सिकाएझैँ तपाईँले आफ्ना छोराछोरीलाई पनि बाइबल अध्ययन सामग्रीहरू प्रयोग गर्न सिकाउनुपर्छ। यसो गर्दा तपाईँले छोराछोरीलाई यहोवाको र उहाँले आध्यात्मिक भोजन उपलब्ध गराउन प्रयोग गरिरहनुभएको “विश्‍वासी र बुद्धिमान्‌ दास”-को कदर गर्न मदत गरिरहनुभएको हुनेछ। (मत्ति २४:४५-४७) आमाबुबा हो, आफ्ना छोराछोरीलाई बाइबलका आधारभूत सत्यहरू मात्र सिकाएर पुग्दैन। तिनीहरूको उमेर र बुझ्ने क्षमताअनुसार “परमेश्‍वरका गहिरा कुराहरू” पनि सिकाएर विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌।—१ कोरि. २:१०. w२०.०७ पृ. ११ अनु. १०, १२-१३

आइतबार, फेब्रुअरी ६

धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।—हितो. ३:३२.

आज कति जना त्रुटिपूर्ण मानिसले यहोवासित घनिष्ठ मित्रता गाँस्न सकेका छन्‌? लाखौँले। येसुको फिरौतीको बलिदानमाथि विश्‍वास गरेकोले तिनीहरू परमेश्‍वरको मित्र बन्‍न सकेका हुन्‌। त्यही बलिदानको आधारमा हामी आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरेर बप्तिस्मा गर्न सक्छौँ। हामीले यी महत्त्वपूर्ण कदमहरू चाल्दा आफ्नो जीवन समर्पण गरेका र बप्तिस्मा गरेका लाखौँ ख्रिष्टियनको समूहमा सामेल भइरहेका हुन्छौँ, जो ब्रह्‍माण्डकै महान्‌ व्यक्‍तिको “मित्र” बनेका छन्‌। परमेश्‍वरसितको मित्रतालाई मोल गरेको हामी कसरी देखाउन सक्छौँ? सय वर्षभन्दा लामो समयसम्म परमेश्‍वरप्रति विश्‍वासी रहेका अब्राहाम र अय्युबजस्तै हामी पनि विश्‍वासी रहनुपर्छ। यस दुष्ट युगमा यहोवाको सेवा गरेको जतिसुकै लामो समय किन नहोस्‌, हामी विश्‍वासी भइरहनुपर्छ। दानिएलले जस्तै हामीले आफ्नो जीवनलाई भन्दा परमेश्‍वरसितको मित्रतालाई मोल गर्नुपर्छ। (दानि. ६:७, १०, १६, २२) यहोवाको मदत पाउँदा हामी आफूले भोग्नुपर्ने जुनसुकै परीक्षा सहन बल पाउँछौँ अनि उहाँसित घनिष्ठ भइरहन सक्छौँ।—फिलि. ४:१३. w२०.०५ पृ. २७ अनु. ५-६

सोमबार, फेब्रुअरी ७

मेरो हृदयलाई एकाग्र पार्नुहोस्‌।—भज. ८६:११.

राजा दाउदले अर्काकी पत्नी नुहाइरहेकी देखे। तिनलाई यहोवाको यो स्तर थाह थियो: “तिमीहरूले . . . छिमेकीकी पत्नी[को] . . . लोभ नगर्नू।” (प्रस्थ. २०:१७) तैपनि तिनले त्यस स्त्रीलाई हेरिरहे। बेतसेबालाई आफ्नो बनाउने चाहना र यहोवालाई खुसी पार्ने चाहनाबीच तिनको हृदय विभाजित भयो। दाउदले यहोवालाई प्रेम गरेको र उहाँको डर मान्‍न थालेको धेरै समय भइसके तापनि तिनी आफ्नो स्वार्थी चाहनाको वशमा परे। त्यतिबेला तिनले असाध्यै गलत कदम चाले। तिनले यहोवाको नामको बदनाम गरे। तिनले गर्दा निर्दोष मानिसहरूले ठूलो क्षति बेहोर्नुपऱ्‍यो र तिनको आफ्नै परिवारले पनि दुःख भोग्नुपऱ्‍यो। (२ समु. ११:१-५, १४-१७; १२:७-१२) यहोवाले दाउदलाई अनुशासन दिनुभयो र तिनले यहोवासित फेरि राम्रो सम्बन्ध कायम गर्न सके। (२ समु. १२:१३; भज. ५१:२-४, १७) आफ्नो हृदयलाई विभाजित हुन दिँदा भोग्नुपरेको दुःख र पीडा दाउदले सम्झे। भजन ८६:११ मा पाइने तिनका शब्दहरूलाई यसरी पनि लेख्न सकिन्छ: “मलाई एकचित्तको बनाउनुहोस्‌।” के यहोवाले दाउदलाई तिनको हृदय एकचित्तको अर्थात्‌ अविभाजित बनाउन मदत गर्नुभयो? अवश्‍य गर्नुभयो किनभने यहोवाको वचनले दाउदलाई “हृदयदेखि नै यहोवाप्रति वफादार” व्यक्‍ति भनेको छ।—१ राजा ११:४; १५:३. w२०.०६ पृ. ११ अनु. १२-१३

मङ्‌गलबार, फेब्रुअरी ८

मैले तिनीहरूलाई मायाको धागोले मतर्फ खिचेँ।—होसे ११:४.

आफ्ना जनहरूप्रतिको यहोवाको मायालाई बाइबलमा धागो अर्थात्‌ डोरीसित तुलना गरिएको छ। परमेश्‍वरको माया कुन अर्थमा डोरीजस्तै छ? एउटा उदाहरण विचार गर्नुहोस्‌: मानौँ, छालहरू उर्लिएर आएकोले तपाईँ समुद्रमा डुब्न लाग्नुभएको छ। त्यत्तिकैमा कसैले तपाईँतिर लाईफ ज्याकेट फ्याँकिदिन्छ। लाईफ ज्याकेटले गर्दा तैरिरहन अलि सजिलो हुने भएकोले तपाईँ यसको लागि पक्कै पनि धन्यवादी हुनुहुनेछ। तर त्यही लाईफ ज्याकेटको सहाराले मात्र तपाईँ बच्न सक्नुहुन्‍न। पानी चिसो भएकोले डुङ्‌गासम्म पुग्नुभएन भने तपाईँको ज्यान जान सक्छ। कसैले तपाईँ भएतिर डोरी फाल्नुपर्छ र तपाईँलाई डुङ्‌गातिर तान्‍नुपर्छ। आजको पदमा बताइएझैँ यहोवाले आफूबाट टाढिएका इस्राएलीहरूलाई आफूतर्फ ‘खिच्नुभयो।’ चिन्ता र समस्याको भुमरीमा फसेर अहिले यहोवाको सेवा गर्न छोडेका सेवकहरूबारे पनि उहाँ यस्तै महसुस गर्नुहुन्छ। आफूले माया गरेको कुरा तिनीहरूले बुझेको यहोवा चाहनुहुन्छ र तिनीहरूलाई आफूकहाँ खिच्न उहाँ इच्छुक हुनुहुन्छ। अनि तिनीहरूलाई यहोवाको यो प्रेम महसुस गराउन उहाँ तपाईँलाई चलाउन सक्नुहुन्छ। यहोवा निष्क्रियहरूलाई माया गर्नुहुन्छ र हामी पनि तिनीहरूलाई माया गर्छौँ भन्‍ने कुरामा ढुक्क बनाउनु आवश्‍यक छ। w२०.०६ पृ. २७ अनु. १२-१३

बुधबार, फेब्रुअरी ९

आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ।—याकु. १:१२.

चेला स्तिफनसको हत्यापछि थुप्रै चेला यरुसलेम छोडेर भागे अनि “यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए।” तिनीहरूमध्ये कतिपय साइप्रस र एन्टिओकसम्मै पुगे। (प्रेषि. ७:५८–८:१; ११:१९) ती चेलाहरूले कत्ति धेरै समस्याको सामना गर्नुपऱ्‍यो होला भनेर हामी कल्पनासमेत गर्न सक्दैनौँ। तैपनि तिनीहरूले आफू गएको ठाउँमा जोसिलो भएर सुसमाचार प्रचार गरे अनि रोमी साम्राज्यभरि मण्डलीहरू स्थापना भए। (१ पत्रु. १:१) तर ती ख्रिष्टियनहरूले अझ धेरै परीक्षाहरू भोग्न बाँकी नै थियो। जस्तै, इस्वी संवत्‌ ५० तिर रोमी सम्राट्‌ क्लौडियसले सबै यहुदीलाई रोम छोड्‌ने हुकुम दिए। त्यसैले ख्रिष्टियन बनेका यहुदीहरू आफ्नो घरबार छोड्‌न बाध्य भए। (प्रेषि. १८:१-३) इस्वी संवत्‌ ६१ तिर प्रेषित पावलले आफ्ना सङ्‌गी ख्रिष्टियनहरूलाई सबैको अगाडि अपमान गरिएको, झ्यालखानामा हालिएको अनि तिनीहरूको सम्पत्ति लुटिएको कुरा लेखे। (हिब्रू १०:३२-३४) अनि अरू मानिसहरूजस्तै ख्रिष्टियनहरूले पनि गरिबी र रोगबिमारको सामना गर्नुपऱ्‍यो।—रोमी १५:२६; फिलि. २:२५-२७. w२१.०२ पृ. २६-२७ अनु. २-४

बिहीबार, फेब्रुअरी १०

दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।—प्रका. १२:१२.

सैतान वा त्यसका समर्थकहरूले हामीलाई सत्यमा हिँडिरहन कुनै पनि हालतमा रोक्न सक्नेछैन। (२ युह. ८, ९) संसारले हामीलाई घृणा गर्नेछ भन्‍ने कुरा हामीले आशा गर्नुपर्छ। (१ युह. ३:१३) युहन्‍नाले हामीलाई “सारा संसार त्यस दुष्टको हातमा परेको छ” भनी बताएका छन्‌। (१ युह. ५:१९) यस युगको अन्त नजिकिँदै जाँदा सैतान झन्‌झनै क्रोधित हुनेछ। त्यसले अनैतिकता वा धर्मत्यागीहरूले फैलाउने झूटजस्ता कुराहरू चलाएर हामीलाई अप्रत्यक्ष रूपमा आक्रमण गर्छ। त्यति मात्र होइन, त्यसले हामीलाई प्रत्यक्ष रूपमा पनि आक्रमण गर्छ। हाम्रो प्रचारकार्यलाई रोक्न वा हाम्रो विश्‍वासलाई तोड्‌न आफूसित थोरै मात्र समय छ भनेर सैतानलाई राम्ररी थाह छ। त्यसैले केही देशमा हाम्रो गतिविधिमाथि कडिकडाउ गरिँदा वा प्रतिबन्ध लगाइँदा हामी छक्क पर्दैनौँ। त्यस्ता देशहरूमा समेत हाम्रा भाइबहिनीले सहनशीलता देखाइरहेका छन्‌। सैतानले हामीलाई जुनसुकै तरिकामा आक्रमण गरे पनि हामी विजयी हुन सक्छौँ भनेर ती भाइबहिनीले प्रमाणित गरेका छन्‌। w२०.०७ पृ. २४ अनु. १२-१३

शुक्रबार, फेब्रुअरी ११

परमेश्‍वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रिष्ट येसुमार्फत पाइने अनन्त जीवन हो।—रोमी ६:२३.

यहोवा आफूले सृष्टि गरेको सुन्दर ग्रहमा मानिसहरू सधैँभरि बाँचून्‌ भन्‍ने चाहनुहुन्थ्यो। तर आदम र हव्वाले स्वर्गमा बस्नुहुने मायालु बुबाको विद्रोह गरेपछि तिनीहरू सधैँभरि बाँच्न सकेनन्‌ अनि तिनीहरूका सन्तानमा पाप र मृत्यु व्याप्त भयो। (रोमी ५:१२) तब यहोवाले के गर्नुभयो? उहाँले मानिसहरूलाई बचाउने आफ्नो उद्देश्‍यबारे उत्तिखेरै बताउनुभयो। (उत्प. ३:१५) यहोवाले फिरौतीको बलिदानको प्रबन्ध मिलाउने आफ्नो उद्देश्‍यबारे बताउनुभयो, जुन प्रबन्धले गर्दा आदम र हव्वाका सन्तानले पाप र मृत्युबाट छुटकारा पाउन सम्भव हुने थियो। तब भने उहाँको सेवा गर्न छनौट गर्ने प्रत्येक व्यक्‍तिलाई उहाँले अनन्त जीवन दिन सक्नुहुने थियो। (युह. ३:१६; १ कोरि. १५:२१, २२) यहोवाले आफ्नो छोरामार्फत थुप्रैलाई फेरि जीवित पार्नुहुँदा तिनीहरू सबै एकैचोटि ब्युँतनेछन्‌ भनेर हामी सोच्दैनौँ होला। किन? किनभने पृथ्वीको जनसङ्‌ख्या एक्कासि बढ्‌दा भद्रगोल हुन सक्छ। अनि यहोवा कुनै पनि काम अव्यवस्थित र गोलमालपूर्ण तरिकामा गर्नुहुन्‍न। मानिसहरू शान्तिपूर्ण अवस्थामा बाँच्न सबै कुरा सुव्यवस्थित हुनुपर्छ भनेर उहाँलाई थाह छ।—१ कोरि. १४:३३. w२०.०८ पृ. १४ अनु. ३; पृ. १५ अनु. ५

शनिबार, फेब्रुअरी १२

आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।—१ तिमो. ४:१६.

विद्यार्थी सभाहरूमा उपस्थित हुन थालेपछि तिनले आफ्नो अध्ययनको उद्देश्‍य भनेको पछि गएर एक जना यहोवाको साक्षी बन्‍नु हो भनेर बुझ्नुपर्छ। असल मनसाय भएको बाइबल विद्यार्थी एकपछि अर्को कदम चाल्दै बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न सक्छन्‌। सबैभन्दा पहिला, विद्यार्थीले यहोवालाई चिन्‍न र प्रेम गर्न थाल्छन्‌ अनि उहाँमाथि विश्‍वास गर्छन्‌। (युह. ३:१६; १७:३) त्यसपछि विद्यार्थीले यहोवासित घनिष्ठ सम्बन्ध गाँस्छन्‌ अनि मण्डलीसित घुलमिल हुन थाल्छन्‌। (हिब्रू १०:२४, २५; याकु. ४:८) समयको दौडान तिनले खराब आनीबानी त्याग्छन्‌ अनि आफ्ना पापहरूको पश्‍चात्ताप गर्छन्‌। (प्रेषि. ३:१९) साथै तिनको विश्‍वासले तिनलाई बाइबलको सत्य अरूलाई पनि बाँड्‌न उत्प्रेरित गर्छ। (२ कोरि. ४:१३) त्यसपछि तिनले यहोवालाई जीवन समर्पण गर्छन्‌ अनि बप्तिस्मा गरेर आफ्नो समर्पण जनसमक्ष प्रकट गर्छन्‌। (१ पत्रु. ३:२१; ४:२) त्यो दिन सबैको लागि साँच्चै कत्ति खुसीको दिन हो! विद्यार्थीले आफ्नो लक्ष्यसम्म पुग्न एकपछि अर्को कदम चाल्दै जाँदा तिनको मनैदेखि प्रशंसा गर्न नबिर्सनुहोस्‌ अनि तिनलाई अझ प्रगति गर्दै जान प्रोत्साहन दिनुहोस्‌। w२०.१० पृ. १७-१८ अनु. १२-१३

आइतबार, फेब्रुअरी १३

खुट्टाले “म हात होइनँ, त्यसैले म यो शरीरको भाग होइनँ” भन्दैमा के त्यो शरीरको भाग हुँदैन?—१ कोरि. १२:१५.

यदि तपाईँले आफूलाई मण्डलीका अरू भाइबहिनीसित तुलना गर्नुभयो भने आफू मण्डलीको लागि केही कामको छैनँ जस्तो लाग्न सक्छ। कोही-कोही सिकाउन, व्यवस्थित तरिकाले काम गर्न वा अरूलाई प्रोत्साहन र सान्त्वना दिन सिपालु हुन सक्छन्‌। तपाईँलाई आफू त्यत्तिको सिपालु छैनँ जस्तो लाग्ला। यसबाट तपाईँ नम्र हुनुहुन्छ भन्‍ने देखिन्छ। (फिलि. २:३) तर होसियार हुनुहोस्‌! यदि तपाईँ जहिले पनि आफूलाई विशेष खुबी भएका कुनै भाइबहिनीसित तुलना गर्नुहुन्छ भने तपाईँ निराश मात्र हुनुहुनेछ। प्रेषित पावलले बताएको जस्तै तपाईँलाई मण्डलीमा आफ्नो कुनै स्थान छैन जस्तो लाग्न सक्छ। यहोवाले प्रथम शताब्दीका केही ख्रिष्टियनलाई अद्‌भुत कामहरू गर्न पवित्र शक्‍तिको वरदान दिनुभएको थियो तर सबैले एउटै किसिमको वरदान भने पाएका थिएनन्‌। (१ कोरि. १२:४-११) तर उहाँको लागि प्रत्येक ख्रिष्टियन नै बहुमूल्य थिए। आज हामीले ती ख्रिष्टियनहरूले जस्तै अद्‌भुत कामहरू गर्न पवित्र शक्‍तिको वरदान पाएका छैनौँ। तर यो सिद्धान्तको रूपमा हामीलाई पनि लागू हुन्छ। हामी सबैसित एउटै किसिमको सीप छैन होला तर हामी प्रत्येक नै यहोवाको लागि बहुमूल्य छौँ। w२०.०८ पृ. २२-२३ अनु. १३-१५

सोमबार, फेब्रुअरी १४

यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ।—भज. ११८:६.

जब तपाईँ साहसी र निडर हुन प्रार्थना गर्नुहुन्छ, यहोवाले तपाईँका प्रार्थनाहरूको जवाफ दिनुहुनेछ र उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुनेछैन। (प्रेषि. ४:२९, ३१) उहाँले तपाईँलाई सधैँ साथ दिनुहुनेछ। अनि उहाँले तपाईँलाई समस्याहरू पार गर्न कसरी मदत गर्नुभयो र आफ्नो जीवनशैलीमा छाँटकाँट गर्न कसरी बल दिनुभयो भनेर सोच्नुहोस्‌। आफ्ना जनहरूलाई लाल समुद्र पार गर्न डोऱ्‍याउनुहुने परमेश्‍वरले तपाईँलाई पनि ख्रिष्टको चेला बन्‍न पक्कै मदत गर्न सक्नुहुन्छ। (प्रस्थ. १४:१३) आजको दैनिक पदका शब्दहरू लेख्ने भजनरचयिताजस्तै विश्‍वस्त हुनुहोस्‌। यहोवा नयाँ प्रकाशकहरूलाई पनि साहसी हुन मदत गर्न सक्नुहुन्छ। तोमोयो नाम गरेकी बहिनीको अनुभव विचार गर्नुहोस्‌। उनले घरघरमा प्रचार गर्न थाल्दा पहिलो घरधनी नै यसरी कराइन्‌: “म यहोवाका साक्षीहरूसित पटक्कै कुरा गर्न चाहन्‍नँ!” त्यसपछि ढ्याम्म ढोका बन्द गरिन्‌। तोमोयो डराइनन्‌ बरु आफ्नो साथीलाई यसो भनिन्‌: “देख्नुभयो? मैले एक शब्द पनि बोल्नु परेन; उहाँले म यहोवाको साक्षी हुँ भनेर चिनिहाल्नुभयो। साह्रै खुसी लाग्यो!” तोमोयो अहिले नियमित अग्रगामीको रूपमा सेवा गर्दै छिन्‌। w२०.०९ पृ. ६ अनु. १३-१४

मङ्‌गलबार, फेब्रुअरी १५

आसाले आफ्ना परमेश्‍वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरे।—२ इति. १४:२.

आसाले “चारैतिरबाट शान्ति” दिनुहुने परमेश्‍वर यहोवा नै हुनुहुन्छ भनेर मानिसहरूलाई बताए। (२ इति. १४:६, ७) आसाले शान्ति छाएको समयलाई आराम गर्ने समयको रूपमा लिएनन्‌। बरु उनले सहरहरू, पर्खालहरू, किल्लाहरू र मूलढोकाहरू बनाउन सुरु गरे। उनले यहुदाका मानिसहरूलाई यसो भने: “उहाँले यो देश हामीलाई अधिकार गर्न दिनुभएको छ।” आसाले के भन्‍न खोज्दै थिए? मानिसहरू स्वतन्त्र भएर परमेश्‍वरले दिनुभएको देशमा हिँडडुल गर्न सक्थे अनि शत्रुहरूबाट विरोध आउने डरविना सहर निर्माण गर्न सक्थे। उनले मानिसहरूलाई शान्ति छाएको समयको सदुपयोग गर्न आग्रह गरे। आसाले शान्ति छाएको समयमा आफ्नो सेनालाई सुदृढ पनि बनाए। (२ इति. १४:८) के यसको मतलब उनी यहोवामाथि भरोसा गर्दैनथे भन्‍ने हो? होइन। बरु भविष्यमा मानिसहरूमाथि आइपर्न सक्ने समस्याहरूको लागि उनीहरूलाई तयार पार्नु राजाको कर्तव्य हो भनेर उनले बुझेका थिए। साथै यहुदाका मानिसहरूले अनुभव गरिरहेको शान्ति सायद सधैँभरि रहनेछैन भन्‍ने कुरा पनि उनलाई थाह थियो अनि साँच्चै त्यस्तै भयो। w२०.०९ पृ. १५ अनु. ४-५

बुधबार, फेब्रुअरी १६

लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्नू।—१ कोरि. ४:६.

कुनै एल्डरले असल मनसायले नै परमेश्‍वरका भेडाहरूको सुरक्षाको लागि नियम बनाउन सक्छन्‌। तर एल्डरको भूमिका र परिवारको शिरको भूमिकाबीच केही खास भिन्‍नताहरू छन्‌। जस्तै: यहोवाले एल्डरहरूलाई न्यायिक मामिला सम्हाल्ने र मण्डलीबाट अपश्‍चात्तापी पापीहरूलाई हटाउने जिम्मेवारी सुम्पनुभएको छ। (१ कोरि. ५:११-१३) अर्कोतर्फ यहोवाले परिवारका शिरहरूलाई यस्ता केही अख्तियार दिनुभएको छ, जुन उहाँले एल्डरहरूलाई दिनुभएको छैन। उदाहरणको लागि, यहोवाले परिवारको शिरलाई परिवारको लागि नियमहरू बनाउने र ती लागू गराउने अख्तियार दिनुभएको छ। (रोमी ७:२) जस्तै: छोराछोरी बेलुका कति बजेभित्र घर आइपुग्नुपर्छ भनेर तोकिदिने अधिकार परिवारको शिरसित छ। त्यो नियम पालन नगर्दा छोराछोरीलाई अनुशासन दिने अधिकार पनि तिनीसित हुन्छ। (एफि. ६:१) पक्कै पनि परिवारमा नियमहरू बनाउनुअघि परिवारको मायालु शिरले आफ्नी पत्नीसित सल्लाह गर्छन्‌ किनकि तिनीहरू दुई होइनन्‌ तर “एउटै शरीर” हुन्‌।—मत्ति १९:६. w२१.०२ पृ. १६-१८ अनु. १०-१३

बिहीबार, फेब्रुअरी १७

बुद्धि मुगाभन्दा बहुमूल्य हुन्छ; यसलाई तिमीले चाहेको कुनै पनि थोकसित तुलना गर्न सकिँदैन।—हितो. ३:१५.

परमेश्‍वरको वचनमा पाइने सत्यहरू बहुमूल्य हुनुको एउटा कारण भनेको यहोवाले ती सत्यहरू “उचित मनसाय” भएका नम्र मानिसहरूलाई मात्र प्रकट गर्नुहुन्छ। (प्रेषि. १३:४८) यी नम्र मानिसहरू यहोवाले हामीलाई बाइबलको सत्य बाँड्‌न प्रयोग गरिरहनुभएको एक मात्र माध्यमलाई स्विकार्छन्‌। (मत्ति ११:२५; २४:४५) हामी ती सत्यहरू आफ्नै भरमा सिक्न सक्दैनौँ र ती सत्यहरूजत्तिको बहुमूल्य कुरा अरू कुनै छैन। (हितो. ३:१३) यहोवा र उहाँका उद्देश्‍यहरूबारे सत्य कुरा अरूलाई सिकाउने सुअवसर पनि उहाँले हामीलाई सुम्पनुभएको छ। (मत्ति २४:१४) हामीले प्रचार गर्ने सन्देश अमूल्य छ किनकि यसले मानिसहरूलाई यहोवाको परिवारको भाग हुन र अनन्त जीवन पाउन मदत गर्छ। (१ तिमो. ४:१६) चाहे हामीले प्रचारकार्यमा धेरै भाग लिइरहेका होऔँ वा थोरै, अहिले भइरहेको सबैभन्दा महत्त्वपूर्ण काममा सघाइरहेका छौँ। (१ तिमो. २:३, ४) परमेश्‍वरको सहकर्मी हुन पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान!—१ कोरि. ३:९. w२०.०९ पृ. २७ अनु. ४-५

शुक्रबार, फेब्रुअरी १८

हामीले भाइहरू भेट्यौँ, जसले हामीलाई उनीहरूसँग . . . बस्न आग्रह गरे।—प्रेषि. २८:१४.

प्रेषित पावल रोमको यात्रामा छँदा यहोवाले सङ्‌गी ख्रिष्टियनहरू चलाएर तिनलाई थुप्रै पटक मदत दिनुभयो। जस्तै: पावलका दुई जना वफादार साथी अरिस्तार्खस र लुकाले तिनीसितै रोम जाने निर्णय गरे। ती दुवै जनालाई येसुले तिनीहरू पनि सकुशल रोम पुग्नेछन्‌ भनेर आश्‍वासन दिनुभएको थिएन जस्तो देखिन्छ। तैपनि तिनीहरू ज्यानकै खतरा मोलेर पावलसँग जान तयार भए। पछि कठिन समुद्री यात्राको दौडान मात्र आफूहरूलाई पनि जोगाइनेछ भनेर तिनीहरूले थाह पाए। तिनीहरू सिदोनको बन्दरगाहमा उत्रिएपछि जुलियसले पावललाई “आफ्ना मित्रहरूकहाँ गएर उनीहरूको अतिथि-सत्कारको आनन्द उठाउने” अनुमति दिए। (प्रेषि. २७:१-३) अनि पछि पटिओलिमा पावल र तिनका सहयात्रीहरूले ‘भाइहरूलाई भेटे, जसले तिनीहरूलाई उनीहरूसँग सात दिन बस्न आग्रह गरे।’ त्यहाँका ख्रिष्टियनहरूले पावल र तिनका सहयात्रीहरूको आवश्‍यकताको ख्याल राखे र तिनीहरू पनि पावलबाट प्रोत्साहनदायी अनुभवहरू सुन्‍न पाउँदा पक्कै रमाए।—प्रेषि. १५:२, ३ तुलना गर्नुहोस्‌। w२०.११ पृ. १५-१६ अनु. १५-१७

शनिबार, फेब्रुअरी १९

परमेश्‍वरको भक्‍ति[मा] . . . वर्तमान र भावी, दुवै जीवनमा पाइने आशिष्‌हरूको प्रतिज्ञा समावेश हुन्छ।—१ तिमो. ४:८.

आमाबुबा हो, यहोवालाई धेरै प्रेम गर्नुहुन्छ भन्‍ने कुरा छोराछोरीलाई आफ्नो बोली र कामद्वारा देखाउनुहोस्‌। तपाईँले उनीहरूलाई दिन सक्ने सबैभन्दा ठूलो उपहार भनेको यहोवालाई प्रेम गर्न मदत दिनु हो भन्‍ने कुरा नबिर्सनुहोस्‌। तपाईँले उनीहरूलाई सिकाउन सक्ने एउटा बहुमूल्य पाठ भनेको अध्ययन, प्रार्थना, सभा र प्रचारकार्यजस्ता आध्यात्मिक गतिविधिको राम्रो तालिका कसरी कायम गर्ने भनेर देखाउनु हो। (१ तिमो. ६:६) हुनत तपाईँले छोराछोरीको लागि भौतिक कुराहरूको प्रबन्ध पनि गर्नुपर्छ। (१ तिमो. ५:८) तर यो कुरा सधैँ मनमा राख्नुहोस्‌: यस युगको विनाशबाट बच्न र नयाँ संसारसम्म पुग्न उनीहरूलाई मदत गर्ने कुरा भनेको यहोवासितको घनिष्ठ सम्बन्ध हो, भौतिक कुराहरू होइन। (इज. ७:१९) थुप्रै ख्रिष्टियन आमाबुबाले आफ्ना छोराछोरीलाई यहोवासित नजिक हुन मदत गरिरहेको देख्न पाउँदा हाम्रो मनै छुन्छ! यस्तो परिवारमा हुर्केका छोराछोरीले ठूलो भएपछि पनि अक्सर यस्तो राम्रो बानी त्याग्दैनन्‌ र आमाबुबाले आफूलाई यसरी हुर्काएकोमा खुसी हुन्छन्‌।—हितो. १०:२२. w२०.१० पृ. २८-२९ अनु. १०-११

आइतबार, फेब्रुअरी २०

तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।—मत्ति १६:२२.

कहिलेकाहीँ प्रेषित पत्रुसले यस्ता कुराहरू भने र गरे, जसले गर्दा तिनी पछि पछुताउनुपऱ्‍यो। उदाहरणको लागि, येसुले आफ्ना प्रेषितहरूलाई उहाँले दुःख भोग्नुहुनेछ र उहाँलाई मारिनेछ भन्‍नुहुँदा पत्रुसले उहाँलाई हप्काउँदै आजको पदका शब्दहरू भने। (मत्ति १६:२१-२३) त्यसपछि येसुले पत्रुसलाई सच्याउनुभयो। मानिसहरूको भीड येसुलाई पक्रन आउँदा पत्रुसले आवेशमा आएर प्रधानपुजारीको दासको कान च्वाट्टै काटिदिए। (युह. १८:१०, ११) फेरि पनि येसुले यी प्रेषितलाई सच्याउनुभयो। यसबाहेक पत्रुसले अन्य प्रेषितहरूले ठेस खाएर ख्रिष्टलाई छोडेर गए तापनि आफूले भने उहाँलाई कहिल्यै छोडेर जानेछैनँ भनेर धाक लगाएका थिए। (मत्ति २६:३३) तर पत्रुसले अतिविश्‍वस्त हुँदै त्यस्तो भने तापनि तिनी चाँडै मानिसको डरको पासोमा परे। तिनले आफ्ना मालिकलाई तीन-तीन पटक चिन्‍न इन्कार गरे। अत्यन्तै निराश भएका पत्रुस “बाहिर निस्केर धुरुधुरु रोए।” (मत्ति २६:६९-७५) आफूलाई येसुले कहिल्यै क्षमा दिनुहुन्‍न जस्तो पत्रुसलाई लागेको हुन सक्छ। तर पत्रुस निराशाले गर्दा यहोवाको सेवा गर्न छोड्‌ने हदसम्म पुगेनन्‌। ठेस खाइसकेपछि पत्रुस फेरि उठे र तिनले अरू प्रेषितहरूसित मिलेर यहोवाको सेवा गरिरहे।—युह. २१:१-३; प्रेषि. १:१५, १६. w२०.१२ पृ. २० अनु. १७-१८

सोमबार, फेब्रुअरी २१

हे पतिहरू हो, आ-आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझेर तिनीहरूसित जीवन बिताइरहो। स्त्रीजातिलाई आफूभन्दा कोमल पात्र सम्झेर आदर गर।—१ पत्रु. ३:७.

परिवारको शिरले विभिन्‍न तरिकामा नम्रता देखाउन सक्छन्‌। उदाहरणको लागि, तिनी आफ्नी पत्नी र छोराछोरीले गर्न सक्नेभन्दा बढ्‌ता माग गर्दैनन्‌। परिवारका सदस्यहरू तिनको विचारसित सहमत नभए तापनि तिनी तिनीहरूको विचार सुन्छन्‌ र त्यसबारे राम्ररी सोच्छन्‌। साथै आफू बस्ने समाजमा घरायसी काम स्त्रीहरूको काम हो भन्‍ने सोचाइ भए तापनि एक जना नम्र पति आफ्नी पत्नीलाई घरायसी कामकाजमा सघाउन हिचकिचाउँदैनन्‌। तर त्यसो गर्न चुनौतीपूर्ण हुन सक्छ। किन? बहिनी रेचेल यसो भन्छिन्‌, “म हुर्केको समाजमा यदि पतिले आफ्नी पत्नीलाई भाँडाकुँडा माझ्न वा घर सफा गर्न सघाए भने तिनका नातेदारहरू र छिमेकीहरूले ‘कस्तो जोइटिङ्‌ग्रे रहेछ’ भनेर कुरा काट्‌न थाल्छन्‌। तिनी आफ्नी पत्नीलाई तह लगाएर राख्न सक्दैनन्‌ भन्‍ने सोच्छन्‌।” तपाईँको समाजमा पनि त्यस्तै सोचाइ व्याप्त छ भने येसुको उदाहरण सम्झनुहोस्‌। उहाँले आफ्ना चेलाहरूको खुट्टा धोइदिनुभयो, जबकि त्यतिबेला यो काम दासको काम हो भन्‍ने ठानिन्थ्यो। परिवारको असल शिर अरूको अगाडि आफूलाई राम्रो देखाउन होइन, बरु आफ्नी पत्नी र छोराछोरीलाई खुसी पार्न खोज्छन्‌। w२१.०२ पृ. २ अनु. ३; पृ. ४ अनु. ११

मङ्‌गलबार, फेब्रुअरी २२

एउटा कुरा भने पक्का छ: म पछाडिका कुराहरूलाई बिर्सेर अनि अगाडिका कुराहरूतिर लम्केर . . . लक्ष्यसम्म पुग्न भरमग्दुर कोसिस गरिरहेको छु।—फिलि. ३:१३, १४.

मीठा यादहरू यहोवाले दिनुभएको उपहार हो। तर विगतमा हाम्रो जीवन जति नै राम्रो भए तापनि नयाँ संसारमा हाम्रो जीवन अझै राम्रो हुनेछ। अरूले हाम्रो चित्त दुखाउन सक्छ तर हामीले क्षमा दिने छनौट गर्दा हामी यहोवाको सेवामा अघि बढ्‌न सक्छौँ। अचाक्ली दोषी महसुस गर्दा आनन्दित भई यहोवाको सेवा गरिरहन सक्नेछैनौँ। त्यसैले प्रेषित पावलले जस्तै हामीले पनि यहोवाले हामीलाई क्षमा दिइसक्नुभयो भनेर विश्‍वास गर्नुपर्छ। (१ तिमो. १:१२-१५) हामीसँग सधैँभरि बाँच्ने आशा छ। अनि परमेश्‍वरको नयाँ संसारमा हामीलाई पुराना यादहरूले सताउनेछैन। त्यस समयबारे बाइबल यसो भन्छ: “पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌।” (यसै. ६५:१७) सोच्नुहोस्‌ त: लामो समयदेखि यहोवाको सेवा गरिरहेका हामीमध्ये कतिपयलाई त बुढेसकालले छोइसक्यो तर नयाँ संसारमा हामी फेरि जवान हुनेछौँ। (अय्यु. ३३:२५) त्यसैले विगतमा जिउने नगरौँ। बरु भविष्यमा ध्यान केन्द्रित गर्दै नयाँ संसारमा जीवन पाउन आफ्नो तर्फबाट सक्दो गरौँ। w२०.११ पृ. २४ अनु. ४; पृ. २९ अनु. १८-१९

बुधबार, फेब्रुअरी २३

एउटा ठूलो भीड मैले देखेँ। . . . तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्‌: “. . . हाम्रा परमेश्‍वरबाट अनि पाठोबाट हामीले उद्धार पाउँछौँ।”—प्रका. ७:९, १०.

अब चाँडै के हुनेछ? महासङ्‌कष्टको दौडान यहोवाले हामीलाई दुइटा अचम्मलाग्दो तरिकामा जोगाउनुहुनेछ। पहिलो, यहोवाले पृथ्वीका राजाहरूलाई चलाएर झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनको विनाश गर्नुहुँदा उहाँले आफ्ना वफादार सेवकहरूलाई जोगाउनुहुनेछ। (प्रका. १७:१६-१८; १८:२, ४) दोस्रो, आरमागेडोनमा सैतानको संसारको बाँकी भागलाई नाश गर्नुहुँदा उहाँले आफ्ना जनहरूलाई जोगाउनुहुनेछ। (प्रका. १६:१४, १६) हामी यहोवासित घनिष्ठ भइरह्‍यौँ भने सैतानले हामीलाई सदाको लागि हानि पुऱ्‍याउन सक्दैन। बरु त्यो आफैचाहिँ सदाको लागि नाश हुनेछ। (रोमी १६:२०) त्यसैले सम्पूर्ण हातहतियार धारण गर्नुहोस्‌ र त्यसलाई प्रयोग गरिरहनुहोस्‌! सैतान र त्यसको संसारविरुद्ध आफू एक्लै लड्‌ने कोसिस नगर्नुहोस्‌। मण्डलीका दाजुभाइ दिदीबहिनीलाई साथ दिनुहोस्‌ र यहोवाको निर्देशन पछ्याउनुहोस्‌। त्यसो गर्नुभयो भने स्वर्गमा बस्नुहुने तपाईँको मायालु बुबाले तपाईँलाई बलियो बनाउनुहुनेछ र जोगाउनुहुनेछ भन्‍ने कुरामा तपाईँ विश्‍वस्त हुन सक्नुहुनेछ।—यसै. ४१:१०. w२१.०३ पृ. ३० अनु. १६-१७

बिहीबार, फेब्रुअरी २४

शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।—यसै. ३०:१५.

यहोवामाथि भरोसा गरेको हामी कसरी देखाउन सक्छौँ? यहोवाले हामीलाई दिनुहुने निर्देशन लागू गरेर। शान्त हुनुपर्ने र यहोवामाथि भरोसा गर्नुपर्ने महत्त्वलाई जोड दिने थुप्रै विवरण बाइबलमा पाइन्छ। ती विवरणहरू पढ्‌नुहुँदा तीव्र विरोधको बाबजुद शान्त रहन परमेश्‍वरका सेवकहरूलाई केले मदत गऱ्‍यो, त्यो याद गर्नुहोस्‌। उदाहरणको लागि, यहुदी सर्वोच्च अदालतले प्रेषितहरूलाई प्रचार गर्न बन्द गर्ने आदेश दिँदा तिनीहरू डराएर पछि हटेनन्‌। बरु तिनीहरूले निडर भएर यसो भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।” (प्रेषि. ५:२९) कोर्रा खानुपरे पनि प्रेषितहरू अत्तालिएनन्‌। किन? किनकि यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर तिनीहरूलाई थाह थियो। यहोवा तिनीहरूदेखि खुसी हुनुहुन्थ्यो। त्यसैले तिनीहरूले सुसमाचार प्रचार गर्न छोडेनन्‌। (प्रेषि. ५:४०-४२) त्यसैगरि मृत्युको सामना गर्नुपर्दा समेत चेला स्तिफनस पटक्कै व्याकुल भएनन्‌। बरु तिनी यति शान्त रहे कि “तिनको अनुहार स्वर्गदूतको जस्तै” देखियो। (प्रेषि. ६:१२-१५) किन? किनकि यहोवाको अनुमोदन पाएको कुरामा तिनी ढुक्क थिए। w२१.०१ पृ. ४ अनु. १०-११

शुक्रबार, फेब्रुअरी २५

यिनीहरूले आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका छन्‌।—प्रका. ७:१४.

यसको मतलब तिनीहरूको अन्तस्करण सफा छ र तिनीहरू यहोवासामु धर्मी ठहरिएका छन्‌। (यसै. १:१८) तिनीहरू बप्तिस्मा गरेका समर्पित ख्रिष्टियन हुन्‌, जसले येसुको बलिदानमा बलियो विश्‍वास राख्छन्‌ र यहोवासित नजिकको सम्बन्ध गाँसेका छन्‌। (युह. ३:३६; १ पत्रु. ३:२१) त्यसैले तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि उभिन योग्य भएका छन्‌; तिनीहरू उहाँको आध्यात्मिक मन्दिरको पार्थिव चोकमा “दिनरात उहाँलाई पवित्र सेवा” चढाउँछन्‌। (प्रका. ७:१५) तिनीहरूले अहिले पनि परमेश्‍वरको राज्यलाई प्रथम स्थानमा राख्दै प्रचार गर्ने र चेला बनाउने काममा धेरै हदसम्म सघाइरहेका छन्‌। (मत्ति ६:३३; २४:१४; २८:१९, २०) जिउँदै महासङ्‌कष्ट पार गर्ने ठूलो भीड “सिंहासनमा बस्नुहुनेले तिनीहरूलाई सुरक्षित राख्नुहुनेछ” भन्‍ने कुरामा ढुक्क हुन सक्छन्‌। अरू भेडाले लामो समयदेखि पर्खँदै आएको यो प्रतिज्ञा पूरा भएको देख्नेछन्‌: “[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”—प्रका. २१:३, ४. w२१.०१ पृ. १६ अनु. ९-१०

शनिबार, फेब्रुअरी २६

म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्‌।—प्रेषि. २:१७.

हामी यहोवाको परिवारको भाग हुन पाएकोमा खुसी छौँ र यहोवाले गर्नुभएको शिरत्वको प्रबन्धको आदर गर्न सक्दो प्रयास गर्छौँ। यहोवा पुरुषहरूका साथै स्त्रीहरूको पनि कदर गर्नुहुन्छ भनेर बाइबलले देखाउँछ। उदाहरणको लागि, यहोवाले प्रथम शताब्दीमा पुरुषहरूलाई जस्तै स्त्रीहरूलाई पनि चमत्कारहरू गर्न पवित्र शक्‍ति दिनुभयो, जस्तो कि विभिन्‍न भाषामा बोल्ने क्षमता। (प्रेषि. २:१-४, १५-१८) पुरुषहरूलाई जस्तै स्त्रीहरूलाई पनि येसुसँगै सह-शासक हुन पवित्र शक्‍तिद्वारा अभिषेक गरिएको छ। (गला. ३:२६-२९) पुरुषहरूले जस्तै स्त्रीहरूले पनि पृथ्वीमा अनन्त जीवनको इनाम पाउनेछन्‌। (प्रका. ७:९, १०, १३-१५) पुरुष र स्त्री दुवैलाई सुसमाचार प्रचार गर्ने र सिकाउने जिम्मेवारी दिइएको छ। (मत्ति २८:१९, २०) प्रेषितको किताबमा प्रिस्किला नाम गरेकी एक जना बहिनीबारे बताइएको छ, जसले आफ्नो पति अक्विलासँगै अपोल्लस नाम गरेको एक शिक्षित व्यक्‍तिलाई धर्मशास्त्रको कुरा अझ सही तरिकामा बुझ्न मदत गरिन्‌।—प्रेषि. १८:२४-२६. w२१.०२ पृ. १४ अनु. १; पृ. १५ अनु. ४

आइतबार, फेब्रुअरी २७

तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस्‌ र पूरै बगालको हेरचाह गर्नुहोस्‌ . . . मण्डलीलाई गोठालोले झैँ हेरविचार [गर्नुहोस्‌]।—प्रेषि. २०:२८.

एल्डरहरू हो, तपाईँहरूले प्रकाशकहरूलाई प्रभावकारी रूपमा प्रचार गर्न र अध्ययन गर्न मदत दिने महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएको छ। यदि कसैलाई तपाईँको अगाडि बाइबल अध्ययन गराउन अप्ठ्यारो लाग्छ भने तपाईँ आफैले अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ। एल्डरहरूले अध्ययन सञ्चालकहरूलाई धेरै हदसम्म प्रोत्साहन र उत्प्रेरणा दिन सक्छन्‌। (१ थिस्स. ५:११) हाम्रो आफ्नै बाइबल अध्ययन छैन भने पनि अरू कसैलाई बप्तिस्मासम्म प्रगति गर्न मदत दिन सक्छौँ। अध्ययनको लागि राम्रोसित तयारी गरेर अनि चाहिएको बेला मात्र बोलेर अध्ययन सञ्चालकलाई साथ दिन सक्छौँ। बाइबल विद्यार्थीहरू सभामा आउँदा हामी तिनीहरूको साथी बन्‍न सक्छौँ अनि तिनीहरूको लागि राम्रो उदाहरण बसाल्न सक्छौँ। एल्डरहरूले विद्यार्थीको लागि समय निकालेर अनि अध्ययन सञ्चालकलाई तालिम दिएर र प्रशंसा गरेर दुवैलाई प्रोत्साहन दिन सक्छन्‌। हाम्रो बुबा यहोवालाई प्रेम गर्न र उहाँको सेवा गर्न कसैलाई मदत दिने काममा आफ्नो तर्फबाट सानो भए पनि योगदान दिन पाउँदा हामी धेरै आनन्दित हुन सक्छौँ। w२१.०३ पृ. १३ अनु. १८-१९

सोमबार, फेब्रुअरी २८

यहोवाको डर मान्‍नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्‍न पाउँछन्‌।—भज. २५:१४.

दाउद जिम्मेवार र भरोसायोग्य थिए। उदाहरणको लागि, जवान छँदा तिनी आफ्नो बुबाको भेडाहरूको राम्ररी हेरविचार गर्थे। गोठालो गर्दा तिनले कहिलेकाहीँ खतरा पनि मोल्नुपर्थ्यो। दाउदले पछि राजा साउललाई यसो भने: “तपाईँको यो सेवक आफ्नो बुबाको भेडा-गोठालो पनि हो। एकपटक सिंहले र अर्को पटक भालुले बगालबाट भेडा लगेको थियो। दुवै पटक म ती जनावरको पछिपछि गएँ र तिनीहरूलाई प्रहार गरेँ। अनि तिनीहरूको मुखबाट मेरो भेडा खोसेँ।” (१ समु. १७:३४, ३५) भेडाहरूको रक्षा गर्नु आफ्नो जिम्मेवारी हो भन्‍ने कुरा दाउदले राम्ररी बुझेका थिए। जवान भाइहरूले आफूलाई दिइएको जुनसुकै जिम्मेवारी राम्ररी पूरा गरेर दाउदको अनुकरण गर्न सक्छन्‌। जवान दाउदले यहोवासित घनिष्ठ सम्बन्ध विकास गरेका थिए। त्यो सम्बन्ध दाउदको साहस र वीणा बजाउने सीपभन्दा धेरै महत्त्वपूर्ण थियो। यहोवा दाउदको परमेश्‍वर मात्र होइन, घनिष्ठ मित्र पनि हुनुहुन्थ्यो। जवान भाइहरू हो, तपाईँहरूले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वर्गमा बस्नुहुने आफ्नो बुबासितको सम्बन्ध बलियो बनाउनु हो। w२१.०३ पृ. ३ अनु. ४-५

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने