प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es22 पृ. ११८-१२८
  • डिसेम्बर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
  • उपशीर्षकहरू
  • बिहीबार, डिसेम्बर १
  • शुक्रबार, डिसेम्बर २
  • शनिबार, डिसेम्बर ३
  • आइतबार, डिसेम्बर ४
  • सोमबार, डिसेम्बर ५
  • मङ्‌गलबार, डिसेम्बर ६
  • बुधबार, डिसेम्बर ७
  • बिहीबार, डिसेम्बर ८
  • शुक्रबार, डिसेम्बर ९
  • शनिबार, डिसेम्बर १०
  • आइतबार, डिसेम्बर ११
  • सोमबार, डिसेम्बर १२
  • मङ्‌गलबार, डिसेम्बर १३
  • बुधबार, डिसेम्बर १४
  • बिहीबार, डिसेम्बर १५
  • शुक्रबार, डिसेम्बर १६
  • शनिबार, डिसेम्बर १७
  • आइतबार, डिसेम्बर १८
  • सोमबार, डिसेम्बर १९
  • मङ्‌गलबार, डिसेम्बर २०
  • बुधबार, डिसेम्बर २१
  • बिहीबार, डिसेम्बर २२
  • शुक्रबार, डिसेम्बर २३
  • शनिबार, डिसेम्बर २४
  • आइतबार, डिसेम्बर २५
  • सोमबार, डिसेम्बर २६
  • मङ्‌गलबार, डिसेम्बर २७
  • बुधबार, डिसेम्बर २८
  • बिहीबार, डिसेम्बर २९
  • शुक्रबार, डिसेम्बर ३०
  • शनिबार, डिसेम्बर ३१
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
es22 पृ. ११८-१२८

डिसेम्बर

बिहीबार, डिसेम्बर १

जसले शङ्‌का गर्छ, ऊ बतासले उचाल्दै-पछार्दै गरेको समुद्रको छालजस्तो हुन्छ।—याकु. १:६.

कहिलेकाहीँ हामीलाई बाइबलले बताउने कुनै कुरा बुझ्न गाह्रो हुन सक्छ। अथवा हामीले आस गरेको तरिकामा परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ नदिनुभएको हुन सक्छ। यसले गर्दा हाम्रो मनमा शङ्‌का उत्पन्‍न हुन सक्छ। हामीले आफ्नो मनबाट शङ्‌का हटाउने प्रयास गरेनौँ भने हाम्रो विश्‍वास कमजोर हुन्छ र यहोवासितको हाम्रो सम्बन्ध पनि बिग्रन्छ। (याकु. १:७, ८) अनि यसले गर्दा हामीले भविष्यको आशा पनि गुमाउन सक्छौँ। प्रेषित पावलले भविष्यको हाम्रो आशालाई लङ्‌गरसित तुलना गरे। (हिब्रू ६:१९) आँधी आउँदा लङ्‌गरले जहाजलाई स्थिर रहन मदत गर्छ अनि लङ्‌गरले गर्दा जहाज चट्टानमा ठोक्किन पाउँदैन। लङ्‌गर र जहाजलाई सिक्रीले जोडेको हुन्छ। तर त्यो सिक्री चुँड्यो भने लङ्‌गरको केही काम हुँदैन। खियाले लङ्‌गरको सिक्रीलाई कमजोर बनाएको जस्तै हामीले पनि हाम्रो मनमा उत्पन्‍न भएका शङ्‌काहरूलाई हटाउने प्रयास गरेनौँ भने हाम्रो विश्‍वास कमजोर हुन्छ। कसैको मनमा शङ्‌का छ भने विरोध आइपर्दा यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्‍ने कुरामाथिको तिनको विश्‍वास गुम्न सक्छ। अनि हामीले आफ्नो विश्‍वास गुमायौँ भने हाम्रो आशा पनि गुम्न सक्छ। त्यस्तो व्यक्‍ति पटक्कै आनन्दित हुन सक्दैन! w२१.०२ पृ. ३० अनु. १४-१५

शुक्रबार, डिसेम्बर २

अब्राहामले यहोवा परमेश्‍वरमाथि विश्‍वास गरे।—याकु. २:२३.

आफ्नो परिवारसहित उर छोडेर आउँदा अब्राहामको उमेर ७० वर्ष कटिसकेको हुनुपर्छ। (उत्प. ११:३१–१२:४) तिनले कनानमा यताउता बसाइँ सर्दै लगभग १०० वर्ष पालमा जीवन बिताए। अब्राहामको मृत्यु १७५ वर्षको उमेरमा भयो। (उत्प. २५:७) तर तिनी बसोबास गरेको भूमि तिनका सन्तानलाई दिनेछु भनी यहोवाले गर्नुभएको प्रतिज्ञा पूरा भएको भने हेर्न पाएनन्‌। तिनले आफ्नो जीवनकालमा त्यो सहर अर्थात्‌ परमेश्‍वरको राज्य स्थापना भएको पनि देख्न पाएनन्‌। तैपनि अब्राहाम “आफ्नो जीवनसित सन्तुष्ट भएर लामो समयसम्म बाँचे” भनिएको छ। (उत्प. २५:८) अनेकन्‌ समस्या भोग्नुपरे तापनि यहोवामाथि अब्राहामले बलियो विश्‍वास राखे र तिनी यहोवाको प्रतिज्ञा पूरा हुने समय पर्खन इच्छुक थिए। तिनले यस्ता गाह्रा परिस्थितिहरू सहन सक्नुको कारण के थियो? किनभने यहोवाले अब्राहामलाई जीवनभर सुरक्षा दिनुभयो र तिनलाई आफ्नो मित्रसरह व्यवहार गर्नुभयो। (उत्प. १५:१; यसै. ४१:८; याकु. २:२२) अब्राहामजस्तै हामी पनि साँचो जग भएको सहरको प्रतीक्षा गर्दै छौँ। (हिब्रू ११:१०) तर हामी भने त्यो सहर निर्माण हुने समय पर्खिरहेका छैनौँ। किनकि परमेश्‍वरको राज्य सन्‌ १९१४ मा स्थापना भइसक्यो र त्यसले स्वर्गमा शासन गर्न थालिसकेको छ। (प्रका. १२:७-१०) तर हामी त्यस राज्यले पूरै पृथ्वीमाथि शासन गर्ने समय पर्खँदै छौँ। w२०.०८ पृ. ४-५ अनु. ११-१२

शनिबार, डिसेम्बर ३

मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो तर समझदार मानिसले त्यो तानेर निकाल्छ।—हितो. २०:५.

अरूको कुरा ध्यान दिएर सुन्‍न हामी नम्र र धीरजी हुनुपर्छ। यसो गर्नुका तीन वटा जायज कारण छन्‌। पहिलो, हामी मानिसहरूबारे तुरुन्तै गलत निष्कर्षमा पुग्नेछैनौँ। दोस्रो, हाम्रा भाइबहिनीको भावना र मनसाय बुझ्न सक्छौँ। यसले गर्दा हामी अझ समानुभूति देखाउन सक्नेछौँ। तेस्रो, त्यस व्यक्‍तिलाई तिनी आफैबारे पनि केही कुरा थाह पाउन मदत गर्न सक्छौँ। कहिलेकाहीँ अरूलाई आफ्नो भावना पोखाएपछि मात्र हामीले आफ्नो भावना राम्ररी बुझ्न सक्छौँ। आफ्नो पृष्ठभूमि, समाज वा व्यक्‍तित्वले गर्दा हाम्रा कोही-कोही भाइबहिनीलाई आफ्ना भावनाहरूबारे कुरा गर्न गाह्रो लाग्छ। तिनीहरूलाई हामीसित खुलेर कुरा गर्न समय लाग्न सक्छ। तर त्यसरी कुरा गरिसकेपछि मात्र हामी तिनीहरूको साँचो भावना बुझ्न सक्छौँ। यहोवाको अनुकरण गर्दै धीरजी भयौँ भने तिनीहरूको भरोसा जित्न सक्छौँ। तिनीहरू आफ्ना भावनाहरू हामीलाई खुलेर बताउन तयार भएपछि हामीले ध्यान दिएर सुन्‍नुपर्छ। w२०.०४ पृ. १५-१६ अनु. ६-७

आइतबार, डिसेम्बर ४

तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।—लुका ५:१०.

माछा अक्सर आफूलाई उपयुक्‍त हुने पानी र प्रशस्त खानेकुरा भएको ठाउँमा बस्छ। के जलारीले जुनसुकै समयमा पनि माछा समात्न सक्छ? माछा मार्ने सबैभन्दा उपयुक्‍त समयबारे प्रशान्त महासागरको एउटा टापुका साक्षीले एक जना मिसनरीलाई के भने, याद गर्नुहोस्‌। मिसनरीले यसो भने, “भोलि बिहान ९ बजे भेटौँ।” ती भाइले यस्तो जवाफ दिए, “तपाईँले कुरै बुझ्नुभएको छैन। हामी माछा भेटिने समयमा माछा मार्न जान्छौँ, आफूलाई मिल्ने समयमा होइन।” त्यसरी नै, प्रथम शताब्दीमा मानिसहरूका जलारीहरू “माछा” भेटिने ठाउँमा र समयमा जान्थे। उदाहरणको लागि, येसुका चेलाहरू मन्दिरमा, सभाघरमा, घरघरमा र बजारमा प्रचार गर्थे। (प्रेषि. ५:४२; १७:१७; १८:४) हामीलाई पनि आफ्नो इलाकामा बस्ने मानिसहरू कुन समयमा कहाँ हुन्छन्‌ भनेर थाह हुनुपर्छ। हामी आफ्नो तालिका छाँटकाँट गर्न इच्छुक हुनुपर्छ अनि मानिसहरू भेटिने ठाउँमा र समयमा प्रचार गर्नुपर्छ।—१ कोरि. ९:१९-२३. w२०.०९ पृ. ४ अनु. ८-९

सोमबार, डिसेम्बर ५

सत्य बोल्दै शिर अर्थात्‌ ख्रिष्टको अधीनमा बसेर हामी प्रेमद्वारा सबै कुरामा बढ्‌दै जाऔँ।—एफि. ४:१५.

येसुसित मित्रता गाँस्ने एउटा तरिका ख्रिष्टियन मण्डलीका प्रबन्धहरूलाई समर्थन गरेर हो। हाम्रो हेरचाह गर्न नियुक्‍त भएकाहरूलाई साथ दिँदा मण्डलीको शिर येसुसित हामी अझ घनिष्ठ हुन्छौँ। (एफि. ४:१६) उदाहरणको लागि, अहिले सबै राज्यभवनको पूरापूर सदुपयोग गर्ने प्रयास गरिँदै छ। त्यसकारण मण्डलीहरू गाभिँदै छन्‌। यो प्रबन्धले गर्दा यहोवाको सङ्‌गठनको लागि दिइएको अनुदानको निकै बचत गर्न सकिएको छ। तर केही प्रकाशकले भने नयाँ परिस्थितिअनुसार छाँटकाँट गर्नुपरेको छ। ती वफादार प्रकाशकहरूले कुनै एउटा मण्डलीसित वर्षौँदेखि सङ्‌गत गरिरहेका होलान्‌। अनि त्यहाँका भाइबहिनीसित असाध्यै घनिष्ठ भइसकेका होलान्‌। तर अहिले भने तिनीहरूलाई अर्कै मण्डलीमा गएर सेवा गर्न भनिएको छ। आफ्ना वफादार चेलाहरूले यो नयाँ प्रबन्धलाई समर्थन गरेको देख्दा येसु कत्ति खुसी हुनुहुन्छ होला! w२०.०४ पृ. २४ अनु. १४

मङ्‌गलबार, डिसेम्बर ६

दक्षिणका राजा तिनीसित सिङ जुधाउनेछन्‌।—दानि. ११:४०; फुटनोट।

विश्‍वको सबैभन्दा शक्‍तिशाली सरकार बन्‍ने होडबाजीमा उत्तरका राजा र दक्षिणका राजा लागिरहेका छन्‌। उदाहरणको लागि, दोस्रो विश्‍वयुद्धपछि सोभियत सङ्‌घ र त्यसका समर्थकहरूले युरोपका धेरैजसो देशमा आफ्नो प्रभुत्व जमाएपछि के भयो, विचार गर्नुहोस्‌। उत्तरका राजाको यस्तो गतिविधिले गर्दा दक्षिणका राजा अन्तरराष्ट्रिय सैन्य गठबन्धन (नेटो) बनाउन बाध्य भए। उत्तरका राजाले निकै पैसा खर्च गरेर आफ्नो सेनालाई सबैभन्दा शक्‍तिशाली बनाउन दक्षिणका राजासित प्रतिस्पर्धा गरिरहेका छन्‌। उत्तरका राजाले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा ‘प्रोक्सी वारहरू’ (आफू प्रत्यक्ष रूपमा नमुछी शत्रुसित गरिने युद्ध) लडेर अनि विद्रोह गर्न उक्साएर आफ्नो प्रतिद्वन्द्वीसित युद्ध गरे। हालैका वर्षहरूमा रूस र त्यसका समर्थकहरू झन्‌झन्‌ शक्‍तिशाली हुँदै गइरहेका छन्‌। तिनीहरूले दक्षिणका राजासित साइबर युद्ध पनि गरिरहेका छन्‌। उत्तरका राजा र दक्षिणका राजाले एकअर्काको अर्थतन्त्र र राजनैतिक प्रणाली डामाडोल पार्न खतरनाक कम्प्युटर प्रोग्रामहरू प्रयोग गरेको आरोप एकअर्कालाई लगाउँछन्‌। दानिएलले भविष्यवाणी गरेझैँ उत्तरका राजा परमेश्‍वरका जनहरूलाई आक्रमण गर्न छोड्‌दैनन्‌।—दानि. ११:४१. w२०.०५ पृ. १३ अनु. ५-६

बुधबार, डिसेम्बर ७

म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।—इज. ३४:११.

“के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?” यो प्रश्‍न यहोवाले भविष्यवक्‍ता यसैयाको समयमा सोध्नुभएको थियो। त्यो प्रश्‍न सोधेपछि उहाँले आफ्ना जनहरूलाई यसो भन्‍नुभयो: “तिनीहरूले बिर्सेलान्‌ तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।” (यसै. ४९:१५) हुनत बाइबलमा यहोवाले आफूलाई एक जना आमासित तुलना गर्नुभएको विवरण त्यत्ति पाइँदैन। तर यस पदमा भने उहाँले आफूलाई एउटी आमासित तुलना गर्नुभएको छ। आफ्ना जनहरूलाई कत्ति धेरै माया गर्छु भनी देखाउन यहोवाले एउटी आमा र बच्चाबीचको बन्धनबारे बताउनुभयो। थुप्रै आमाले ज्यास्मिन नाम गरेकी बहिनीले जस्तै महसुस गर्छन्‌। तिनी यसो भन्छिन्‌: “आफ्नो बच्चालाई दूध खुवाउँदा ऊसित एकदमै विशेष बन्धन गाँसिन्छ, जुन जिन्दगीभर रहन्छ।” यहोवा आफ्नो कुनै छोरा वा छोरीले ख्रिष्टियन मण्डलीसित सङ्‌गत गर्न अनि प्रचारकार्यमा भाग लिन छोड्‌दा त्यो याद गर्नुहुन्छ। निष्क्रिय भएका हाम्रा यी प्यारा दाजुभाइ दिदीबहिनीमध्ये धेरै जना मण्डलीमा फर्केर आउँछन्‌ अनि हामी तिनीहरूलाई न्यानो स्वागत गर्छौँ। तिनीहरू फर्केर आएको यहोवा चाहनुहुन्छ र हामी पनि त्यही चाहन्छौँ।—१ पत्रु. २:२५. w२०.०६ पृ. १८ अनु. १-३

बिहीबार, डिसेम्बर ८

आफ्नो नजर . . . नदेखिने कुराहरूमा [राख्नुहोस्‌] किनकि देखिने कुराहरू अस्थायी हुन्छन्‌ तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्‌।—२ कोरि. ४:१८.

सबै किसिमको धन हाम्रो आँखाले देख्न सक्दैन। वास्तवमा असाध्यै अनमोल धनहरू हाम्रो आँखाले देख्न सक्दैन। डाँडाको उपदेशमा येसुले स्वर्गमा थुपार्ने धनबारे बताउनुभयो, जुन भौतिक धनसम्पत्तिभन्दा कता हो कता उत्कृष्ट छ। त्यसपछि उहाँले यो सत्य बताउनुभयो: “जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ।” (मत्ति ६:१९-२१) हामी जुन कुराको असाध्यै मोल गर्छौँ, त्यही कुरा हासिल गर्न लागिपर्छौँ। परमेश्‍वरसामु असल नाम कमाएर अर्थात्‌ उहाँको पक्षमा खडा भएर हामी “स्वर्गमा धनसम्पत्ति” थुपार्न सक्छौँ। त्यस्तो धनसम्पत्ति कहिल्यै नाश हुँदैन वा चोरले फोरेर लैजाँदैन भनेर येसुले बताउनुभयो। प्रेषित पावलले हामीलाई “आफ्नो नजर . . . नदेखिने कुराहरूमा” राख्न आग्रह गरेका छन्‌। (२ कोरि. ४:१७, १८) यी नदेखिने कुराहरूमा परमेश्‍वरले नयाँ संसारमा हामीलाई दिनुहुने असल कुराहरू पनि पर्छन्‌। के हामी यी नदेखिने धनहरूप्रति कृतज्ञ भएको देखाउँछौँ? w२०.०५ पृ. २६ अनु. १-२

शुक्रबार, डिसेम्बर ९

मेरो निर्देशन झरीझैँ बर्सनेछ।—व्यव. ३२:२.

मोसाले सिकाएका कुराहरूले इस्राएलीहरूलाई आध्यात्मिक पोषण र स्फूर्ति दियो। हामी पनि कसरी त्यस्तै तरिकामा सिकाउन सक्छौँ? घरघरको प्रचारकार्य वा सार्वजनिक साक्षीकार्यमा भाग लिँदा हामी मानिसहरूलाई परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो भनेर बाइबलबाटै देखाउन सक्छौँ। यहोवाको महिमा गर्ने सुन्दर प्रकाशन, राम्रा-राम्रा भिडियो र हाम्रो वेबसाइटबाट केही सामग्री देखाउन सक्छौँ। काम गर्ने ठाउँमा, स्कुलमा वा यात्रा गर्दा हाम्रा मायालु परमेश्‍वरबारे कुरा गर्ने र उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर बताउने मौका पाउँछौँ। हामी आफूले भेट्‌ने व्यक्‍तिहरूलाई मानिसजाति र पृथ्वीको लागि यहोवाको मायालु उद्देश्‍यबारे बताउन सक्छौँ। तिनीहरूले यो कुरा सुन्दा यहोवा हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ भनेर पहिलो चोटि थाह पाउँछन्‌। हाम्रा मायालु बुबाबारे अरूलाई सत्य कुरा बताउँदा हामीले परमेश्‍वरको नाम पवित्र पारिरहेका हुन्छौँ। मानिसहरूले यहोवाबारे सुनेका झूटा कुराहरू र निन्दा वास्तवमा सही होइनन्‌ भनेर बुझ्न मदत गरिरहेका हुन्छौँ। यसरी बाइबलको सत्य सिकाउँदा मानिसहरूले आध्यात्मिक पोषण र स्फूर्ति पाउँछन्‌।—यसै. ६५:१३, १४. w२०.०६ पृ. १० अनु. ८-९

शनिबार, डिसेम्बर १०

मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु।—मला. ३:७.

यहोवाकहाँ फर्कन चाहनेहरूलाई मदत गर्न हामीसित कस्ता गुणहरू हुनुपर्छ? घर छोडेर गएको छोराबारे येसुले बताउनुभएको उदाहरणबाट कस्ता पाठहरू सिक्न सक्छौँ, याद गर्नुहोस्‌। (लुका १५:१७-२४) पछि त्यस छोराको होस खुल्यो र उसले घर फर्कने निर्णय गऱ्‍यो। छोरालाई देखेपछि बुबा दौडेर गए र उसलाई अङ्‌गालो हाले। यसरी ती बुबाले आफ्नो छोरालाई अझै पनि माया गरेको देखाए। छोरालाई अन्तस्करणले पिरोलिरहेको थियो र आफू छोरा भनिन लायकको छैनँ जस्तो लागिरहेको थियो। छोराले आफ्नो मनको बह पोख्दा बुबाले ऊप्रति समानुभूति देखाए। अनि छोरालाई परिवारको प्यारो सदस्यको रूपमा स्विकारेको आफ्नो व्यवहारबाट देखाए। बुबाले पश्‍चात्ताप गर्ने त्यो छोराको लागि भोज दिए र उसलाई सबैभन्दा राम्रो पोसाक पहिराइदिए। यहोवा उक्‍त उदाहरणका बुबाजस्तै हुनुहुन्छ। उहाँ निष्क्रिय भएका हाम्रा प्यारा दाजुभाइ दिदीबहिनीलाई माया गर्नुहुन्छ र तिनीहरू आफूकहाँ फर्केको चाहनुहुन्छ। यहोवाको उदाहरण अनुकरण गर्दै हामी तिनीहरूलाई उहाँकहाँ फर्कन मदत गर्न सक्छौँ। यसो गर्न हामीसित धीरज, समानुभूति र प्रेम हुनुपर्छ। w२०.०६ पृ. २५-२६ अनु. ८-९

आइतबार, डिसेम्बर ११

तिमीहरू मेरो वचनमा रह्‍यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।—युह. ८:३१, ३२.

कसै-कसैले “खुसीसाथ” सत्य स्विकार्नेछन्‌ तर परीक्षाहरू आउँदा तिनीहरूको विश्‍वास बोटजस्तै सुकेर जानेछ भनेर येसुले भन्‍नुभएको थियो। (मत्ति १३:३-६, २०, २१) येसुको चेला बन्दा चुनौतीहरू र कठिनाइहरू आइपर्नेछन्‌ भन्‍ने कुरा सायद तिनीहरूले बुझेका थिएनन्‌। (मत्ति १६:२४) तिनीहरूले ख्रिष्टियन भएपछि जीवनमा कुनै समस्या, कठिनाइ हुँदैन, आशिष्‌ मात्र पाइन्छ भनेर सोचेका थिए होलान्‌। तर यो संसारमा हामी सबैले थुप्रै चुनौतीको सामना गर्नुपर्छ। हाम्रो अवस्था परिवर्तन हुन सक्छ र त्यसले गर्दा केही समयको लागि हाम्रो आनन्द गुम्न सक्छ। (भज. ६:६; उप. ९:११) हाम्रा धेरैजसो भाइबहिनीले आफूसित सत्य छ भन्‍ने कुरामा विश्‍वस्त भएको देखाएका छन्‌। कसरी? कुनै भाइ वा बहिनीको कारण चित्त दुख्दा अथवा ख्रिष्टियनहरूलाई नसुहाउने आचरणमा कोही संलग्न हुँदा पनि तिनीहरूको विश्‍वास ढलपल भएको छैन। (भज. ११९:१६५) हरेक चोटि परीक्षाको सामना गर्दा तिनीहरूको विश्‍वास कमजोर हुनुको साटो झनै बलियो भएको छ। (याकु. १:२-४) हामीले पनि आफ्नो विश्‍वास त्यसरी नै बलियो बनाउनुपर्छ। w२०.०७ पृ. ८ अनु. १; पृ. ९ अनु. ४-५

सोमबार, डिसेम्बर १२

यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌।—याकु. १:५.

बाइबल पढ्‌न सुरु गर्नुअघि आफूले पढ्‌न लागेको कुराबाट लाभ उठाउन सकूँ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। उदाहरणको लागि, तपाईँ कुनै समस्याको सामना गर्ने तरिका खोज्दै हुनुहुन्छ भने आफ्नो परिस्थितिसित मिल्ने बाइबल सिद्धान्तहरू भेट्टाउन मदत गर्नुहोस्‌ भनेर प्रार्थना गर्नुहोस्‌। (फिलि. ४:६, ७) यहोवाले हामीलाई कुनै कुराबारे कल्पना गर्न सक्ने अचम्मलाग्दो क्षमता दिनुभएको छ। कुनै बाइबल विवरणलाई जीवन्त बनाउन त्यहाँको दृश्‍य कल्पना गर्नुहोस्‌ र विवरणको मुख्य पात्रको ठाउँमा आफूलाई राखेर हेर्नुहोस्‌। तिनले देखेका कुराहरू देख्ने र तिनको भावना महसुस गर्ने प्रयास गर्नुहोस्‌। त्यसपछि मनन गर्नुहोस्‌। मनन गर्नु भनेको आफूले पढेका कुराहरूबारे र ती कुराहरू आफूलाई कसरी लागू हुन्छ भन्‍नेबारे राम्ररी विचार गर्नु हो। मननले तपाईँलाई आफूले पढिरहेका कुराहरूबीचको सम्बन्ध पत्ता लगाउन र त्यस विषयलाई अझ राम्ररी बुझ्न मदत गर्छ। मनन नगरी बाइबल पढ्‌नु भनेको एउटा चित्रको टुक्राटाक्रीलाई आपसमा नजोडीकन सिङ्‌गो चित्र हेर्न खोज्नुजस्तै हो। मननले हामीलाई सिङ्‌गो चित्र हेर्न मदत गर्छ। w२१.०३ पृ. १५ अनु. ३-५

मङ्‌गलबार, डिसेम्बर १३

म परमेश्‍वरप्रति कृतज्ञ छु, . . . मैले दिनरात आफ्ना उत्कट बिन्तीहरूमा तिमीलाई सम्झन कहिल्यै छोडेको छैनँ।—२ तिमो. १:३.

प्रेषित पावलले विगतका कुराहरूमा ध्यान दिन सक्थे। विगतमा बेग्लै किसिमको छनौट गरेको भए अहिले झ्यालखानामा बस्नुपर्ने थिएन भनेर तिनले सोच्न सक्थे। तिनले आफूलाई त्यागेका एसिया प्रान्तका मानिसहरूप्रति मनमा रिस पालेर बस्न सक्थे अनि यसले गर्दा तिनले आफ्ना अरू साथीहरूलाई पनि शङ्‌काको नजरले हेर्न सक्थे। तर पावलले यीमध्ये कुनै पनि कुरा गरेनन्‌। आफूलाई चाँडै मृत्युदण्ड दिइनेछ भनेर थाह भए पनि पावलले यहोवाको महिमा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने कुरामा ध्यान दिइरहे। अनि तिनले अरूलाई कसरी प्रोत्साहन दिन सक्छु भनेर पनि विचार गरिरहे। साथै तिनले नियमित रूपमा प्रार्थना गरेर यहोवामाथि भरोसा गरे। तिनले आफूलाई त्यागेर गएका मानिसहरूबारे बढ्‌तै सोच्नुको साटो आफूलाई व्यावहारिक मदत दिने आफ्ना वफादार साथीहरूप्रति मनैदेखि कृतज्ञता व्यक्‍त गरे। साथै पावलले नियमित रूपमा परमेश्‍वरको वचन अध्ययन गरे। (२ तिमो. ३:१६, १७; ४:१३) सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा र येसुले आफूलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा पावल पूर्णरूपमा विश्‍वस्त थिए। w२१.०३ पृ. १८ अनु. १७-१८

बुधबार, डिसेम्बर १४

जसरी सामा बटुलेर आगोमा जलाइन्छ, यस युगको आखिरी समयमा पनि त्यस्तै हुनेछ।—मत्ति १३:४०.

इस्वी संवत्‌ दोस्रो शताब्दीतिर साँचो ख्रिष्टियन मण्डलीमा थुप्रै झूटा ख्रिष्टियन घुस्न थाले, जसले गैर-ख्रिष्टियन शिक्षाहरू स्विकार्नुका साथै परमेश्‍वरको वचनमा पाइने सत्य लुकाइरहेका थिए। त्यस समयदेखि १९ औँ शताब्दीको अन्ततिरसम्म पृथ्वीमा परमेश्‍वरका सेवकहरूको कुनै व्यवस्थित समूह थिएन। झूटा ख्रिष्टियनहरू सामाजस्तै फस्टाए अनि साँचो ख्रिष्टियनहरूको चिनारी नै ओझेलमा पऱ्‍यो। (मत्ति १३:३६-४३) यो कुरा बुझ्नु किन महत्त्वपूर्ण छ? किनभने दानिएल अध्याय ११ मा पढेजस्तै यसले उत्तरका राजा र दक्षिणका राजाबारे हामीले पढेका विवरणहरूले इस्वी संवत्‌ १०० देखि १८७० सम्म केही समयको लागि शक्‍तिशाली भएका राजा वा राज्यहरूलाई सङ्‌केत गरेको हुन सक्दैन भनेर देखाउँछ। अनि तिनीहरूले आक्रमण गर्नको लागि पृथ्वीमा परमेश्‍वरका जनहरूको कुनै व्यवस्थित समूह थिएन। तर इस्वी संवत्‌ १८७० को केही समयपछि हामी उत्तरका राजा र दक्षिणका राजा फेरि देखा पर्ने आशा गर्न सक्छौँ। w२०.०५ पृ. ३ अनु. ५

बिहीबार, डिसेम्बर १५

मेरो भूमिविरुद्ध एउटा जाति खडा भएको छ।—योए. १:६.

सलहको विपत्तिले इस्राएल राष्ट्रलाई विनाश गर्नेछ र सबै कुरा सखाप पार्नेछ भनेर योएलले भविष्यवाणी गरे। (योए. १:४) धेरै वर्षदेखि हामीले त्यस भविष्यवाणीले यहोवाका जनहरूलाई चित्रण गर्छ, जसले रोक्नै नसकिने बथाने सलहले जसरी नै प्रचार गर्छन्‌ भनेर बुझेका थियौँ। यसले ‘भूमि’ अर्थात्‌ धार्मिक नेताहरूको अधीनमा भएका मानिसहरूमाथि पार्ने क्षतिलाई चित्रण गर्छ भनेर बुझेका थियौँ। तर पूरै भविष्यवाणी विचार गर्ने हो भने हाम्रो बुझाइमा छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखिन्छ। यहोवा परमेश्‍वरले सलहको विपत्तिबारे के प्रतिज्ञा गर्नुभएको थियो, विचार गरौँ: “उत्तरबाट आउनेलाई [अर्थात्‌ सलहलाई] म तिमीदेखि टाढा भगाइदिनेछु।” (योए. २:२०) यदि सलहले प्रचार गर्नू अनि चेला बनाउनू भन्‍ने येसुको आज्ञा पालन गर्ने यहोवाका साक्षीहरूलाई बुझाउँछ भने यहोवाले किन तिनीहरूलाई टाढा भगाउने प्रतिज्ञा गर्नुभयो? (इज. ३३:७-९; मत्ति २८:१९, २०) स्पष्ट छ, यहोवा आफ्ना वफादार सेवकहरूलाई नभई अरू नै कुरालाई वा अरू कसैलाई टाढा भगाउँदै हुनुहुन्छ, जसले यहोवाका जनहरूलाई आफ्नो शत्रु ठान्छ। w२०.०४ पृ. ३ अनु. ३-५

शुक्रबार, डिसेम्बर १६

यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌।—याकु. १:५.

यहोवाले तुरुन्तै प्रार्थनाको जवाफ नदिनुभएको जस्तो लाग्दा हामीले के गर्नुपर्छ? “परमेश्‍वरसित मागिरहनुहोस्‌” भनेर याकुब सल्लाह दिन्छन्‌। हामीले यहोवासित बारम्बार बुद्धि माग्दा उहाँ झिजो मान्‍नुहुन्‍न न त उहाँ हामीसित रिसाउनु नै हुन्छ। परीक्षाहरू सहन प्रार्थनामा बुद्धि माग्दा स्वर्गमा बस्नुहुने हाम्रा बुबाले हामीलाई “उदारचित्तले” दिनुहुनेछ। (भज. २५:१२, १३) हामीले भोगिरहेका परीक्षाहरू उहाँ देख्नुहुन्छ। हामीले दुःख पाउँदा उहाँलाई पनि दुःख लाग्छ र हामीलाई मदत गर्न उहाँ तयार हुनुहुन्छ। यो कुरा थाह पाउँदा हामीलाई पनि खुसी लाग्छ। तर प्रश्‍न उठ्‌छ, यहोवा हामीलाई कसरी बुद्धि दिनुहुन्छ? आफ्नो वचनमार्फत। (हितो. २:६) बुद्धि पाउन हामीले परमेश्‍वरको वचन र बाइबलआधारित प्रकाशनहरू अध्ययन गर्नुपर्छ। तर हामीले ज्ञान थुपारेर मात्र हुँदैन। बरु परमेश्‍वरले दिनुभएको सल्लाहअनुसार कदम चालेर हामी उहाँको बुद्धि झल्काउन सक्छौँ। याकुबले यस्तो लेखे: “वचन पालन गर्ने होओ, सुन्‍ने मात्र होइन।” (याकु. १:२२) परमेश्‍वरको सल्लाह जीवनमा लागू गर्दा हामी अझ शान्तिप्रिय, व्यावहारिक र कृपालु हुन सक्छौँ। (याकु. ३:१७) यस्ता गुणहरूले आनन्द नगुमाई परीक्षाहरूको सामना गर्न मदत गर्नेछ। w२१.०२ पृ. २९ अनु. १०-११

शनिबार, डिसेम्बर १७

जब शरीरको हरेक अङ्‌गले राम्ररी काम गर्छ, तब सम्पूर्ण शरीर . . . एकसाथ बढ्‌दै जान्छ।—एफि. ४:१६.

मण्डलीका अरू भाइबहिनीबाट मदत पाउँदा बाइबल विद्यार्थीले बप्तिस्मासम्म प्रगति गर्ने सम्भावना धेरै हुन्छ। प्रत्येक प्रकाशकले नयाँ व्यक्‍तिलाई मण्डलीको भाग बन्‍न मदत गर्न सक्छन्‌। एक अग्रगामी बहिनी यसो भन्छिन्‌, “भनिन्छ, एउटा बच्चा हुर्काउन पूरै गाउँको साथ चाहिन्छ। मलाई लाग्छ, यो कुरा चेला बनाउने सन्दर्भमा पनि लागू हुन्छ। नयाँ व्यक्‍तिलाई सत्यमा ल्याउन पूरै मण्डलीको साथ चाहिन्छ।” एउटा बच्चालाई वयस्क व्यक्‍ति बनाउन परिवारको सदस्य, साथी र शिक्षक सबैको महत्त्वपूर्ण भूमिका हुन्छ। बच्चालाई हौसला दिएर अनि महत्त्वपूर्ण पाठहरू सिकाएर तिनीहरू यसो गर्छन्‌। त्यसैगरि प्रकाशकहरूले बाइबल विद्यार्थीलाई सल्लाह-सुझाव र प्रोत्साहन दिएर अनि राम्रो उदाहरण बसालेर तिनीहरूलाई बप्तिस्मासम्म प्रगति गर्न मदत दिन सक्छन्‌। (हितो. १५:२२) मण्डलीका अरू दाजुभाइ दिदीबहिनीले बाइबल विद्यार्थीलाई मदत दिँदा अध्ययन सञ्चालक किन खुसी हुनुपर्छ? किनकि तिनीहरूले विद्यार्थीको आध्यात्मिक प्रगतिमा निकै मदत पुऱ्‍याउन सक्छन्‌। w२१.०३ पृ. ८ अनु. १-३

आइतबार, डिसेम्बर १८

यदि हामी “हामीमा पाप छैन” भन्छौँ भने आफैलाई झुक्क्याइरहेका हुन्छौँ।—१ युह. १:८.

जवान होस्‌ वा वृद्ध, सबै ख्रिष्टियनले दोहोरो जीवन बिताउने दबाबको प्रतिरोध गर्नुपर्छ। एकातर्फ सत्यमा हिँडेको दाबी गर्नु र अर्कोतर्फ अनैतिक जीवन बिताउनु गलत हो भनेर प्रेषित युहन्‍नाले बताए। (१ युह. १:६) यदि हामी अहिल्यै र भविष्यमा पनि परमेश्‍वरको अनुमोदन पाइरहन चाहन्छौँ भने यहोवा हामीले गर्ने एक-एक कुरा देख्नुहुन्छ भनेर बिर्सनु हुँदैन। अर्को शब्दमा भन्‍नुपर्दा, यहोवाको नजरबाट लुक्न सक्ने कुनै पनि पाप छैन। (हिब्रू ४:१३) पापबारे संसारले राख्ने दृष्टिकोणलाई हामीले तिरस्कार गर्नुपर्छ। युहन्‍नाको समयका धर्मत्यागीहरू मानिसले जानाजानी पाप गरे तापनि त्यसले परमेश्‍वरसितको सम्बन्धलाई कुनै असर पार्दैन भन्‍ने दाबी गर्थे। आज हाम्रो वरपर पनि त्यस्तै दृष्टिकोण राख्ने मानिसहरू छन्‌। थुप्रैले परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन्‌ तर पापबारे यहोवाले राख्नुहुने दृष्टिकोणलाई भने स्विकार्दैनन्‌, विशेषगरि यौनको सन्दर्भमा। यहोवा जुन कुरालाई पापपूर्ण आचरणको रूपमा हेर्नुहुन्छ, त्यही कुरालाई तिनीहरू व्यक्‍तिगत छनौट अर्थात्‌ वैकल्पिक जीवनशैलीको रूपमा लिन्छन्‌। w२०.०७ पृ. २२ अनु. ७-८

सोमबार, डिसेम्बर १९

हामीले . . . कामद्वारा साँचो प्रेम गर्नुपर्छ।—१ युह. ३:१८.

के तपाईँ आवश्‍यक परेको बेला मण्डलीका बहिनीहरूको लागि बोलिदिनुहुन्छ? यो दृश्‍य कल्पना गर्नुहोस्‌: बेग्लै धर्म मान्‍ने परिवारमा बस्ने एक बहिनी सभामा अक्सर ढिलो आउने गरेको अनि सभा सिद्धिएपछि पनि तुरुन्तै निस्कने गरेको केही प्रकाशकले याद गरेका छन्‌। उनी आफ्ना छोराछोरीलाई सभामा कहिलेकाहीँ मात्र ल्याउँछिन्‌। त्यसैले ती प्रकाशकहरू उनले आफ्नो पतिको अगाडि सत्यको पक्षमा दृढ अडान नलिएकोमा उनको आलोचना गर्न थाल्छन्‌। तर वास्तवमा ती बहिनी सकेजति गर्न निकै प्रयास गर्दै छिन्‌। उनी सबै कुरा आफूले चाहेजस्तो तरिकामा गर्न सक्दिनन्‌ अनि उनीसित आफ्ना छोराछोरीको लागि निर्णय गरिदिने पूरै अधिकार पनि छैन। ती बहिनीको प्रशंसा गर्नुभयो र उनले सक्दो गरिरहेकी छिन्‌ भनेर अरूलाई बताउनुभयो भने तपाईँ उनको विषयमा गलत हल्ला फैलिनदेखि रोक्न सक्नुहुन्छ। एल्डरहरूले बहिनीहरूलाई राम्रो व्यवहार गरेको यहोवा चाहनुहुन्छ भनेर तिनीहरूलाई थाह छ। (याकु. १:२७) येसुजस्तै तिनीहरू पनि व्यावहारिक हुन्छन्‌; बहिनीहरू आफैले निर्णय गर्न सक्ने कुरामा एल्डरहरूले नियम बनाउनुको साटो उनीहरूलाई नै निर्णय गर्न दिन्छन्‌। (मत्ति १५:२२-२८) एल्डरहरू मदत गर्न अग्रसर हुँदा बहिनीहरूले माया पाएको महसुस गर्छन्‌। w२०.०९ पृ. २४-२५ अनु. १७-१९

मङ्‌गलबार, डिसेम्बर २०

[परमेश्‍वरले] अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्‌नेजरलाई प्रकट गर्नुभएको छ।—दानि. २:२८.

भविष्यवक्‍ता दानिएलले सधैँ नम्र भई यहोवाको डोऱ्‍याइ खोजे। उदाहरणको लागि, यहोवाले नबुकद्‌नेजरको सपनाको अर्थ खोल्न तिनलाई चलाउनुहुँदा तिनले त्यसको श्रेय लिएनन्‌। बरु आफ्नो सीमितता स्विकार्दै यहोवालाई नै सारा महिमा र श्रेय दिए। (दानि. २:२६-२८) हामी यसबाट कस्तो पाठ सिक्न सक्छौँ? यदि भाइबहिनीलाई हाम्रो भाषण राम्रो लाग्छ वा हामीले क्षेत्र सेवामा राम्रा-राम्रा अनुभवहरू बटुलेका छौँ भने हामीले ती सबै कुराको श्रेय यहोवालाई दिन बिर्सनु हुँदैन। हामी यहोवाको मदतविना ती कुराहरू गर्न सक्दैनौँ भनेर नम्र भई स्विकार्नुपर्छ। (फिलि. ४:१३) हामीसँग यस्तो मनोभाव छ भने हामीले येसुको असल उदाहरण पनि अनुकरण गरिरहेका हुन्छौँ। येसु यहोवामा भर पर्नुभयो। (युह. ५:१९, ३०) उहाँले कहिल्यै पनि स्वर्गमा बस्नुहुने आफ्नो बुबाबाट अख्तियार हडप्ने प्रयास गर्नुभएन। फिलिप्पी २:६ मा येसुले “अख्तियार हडप्ने अर्थात्‌ परमेश्‍वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन” भनेर बताइएको छ। आज्ञाकारी छोरा हुनुभएकोले येसुलाई आफ्नो सीमितता थाह थियो र उहाँले आफ्नो बुबाको अख्तियारको कदर गर्नुभयो। w२०.०८ पृ. ११ अनु. १२-१३

बुधबार, डिसेम्बर २१

तिमीहरू पुरस्कार पाउन सक्नेगरि दौड।—१ कोरि. ९:२४.

जीवनको दौड दौडिरहेका केहीले व्यक्‍तिगत समस्याहरूको सामना गरिरहेका छन्‌, जुन अरूले देख्न र बुझ्न नसक्लान्‌। तपाईँ पनि जीवनमा गाह्रो अवस्थाको सामना गर्दै हुनुहुन्छ र अरूले तपाईँको कुरा नबुझेको जस्तो महसुस गर्नुहुन्छ भने मपिबोसेतको उदाहरणबाट प्रोत्साहन पाउन सक्नुहुन्छ। (२ समु. ४:४) तिनी शारीरिक रूपमा अशक्‍त थिए र राजा दाउदले तिनीसित अन्यायपूर्ण व्यवहार गरेका थिए। तैपनि तिनले इबी पालिराखेनन्‌ बरु आफ्नो जीवनमा भएका असल कुराहरूको लागि कृतज्ञ भए। विगतमा दाउदले आफूलाई देखाएको दयाको लागि तिनी धन्यवादी थिए। (२ समु. ९:६-१०) त्यसैले दाउदले तिनीमाथि अन्यायपूर्ण व्यवहार गर्दा तिनले त्यसको कारणसित सम्बन्धित सबै कुरा बुझ्ने प्रयास गरे। दाउदको गल्तीले गर्दा तिनले रिस पालिराखेनन्‌। दाउदले गरेको व्यवहारको लागि तिनले यहोवालाई दोष पनि दिएनन्‌। यहोवाले अभिषेक गर्नुभएको राजालाई आफूले कसरी मदत गर्न सक्छु भन्‍ने कुरामा मपिबोसेतले ध्यान केन्द्रित गरे। (२ समु. १६:१-४; १९:२४-३०) यहोवाले मपिबोसेतले बसालेको असल उदाहरण हाम्रो फाइदाको लागि बाइबलमा लेख्न लगाउनुभयो।—रोमी १५:४. w२०.०४ पृ. २६ अनु. ३; पृ. ३० अनु. १८-१९

बिहीबार, डिसेम्बर २२

हामी परमेश्‍वरका सहकर्मीहरू हौँ।—१ कोरि. ३:९.

मण्डलीका कोही-कोही मिसनरी, विशेष अग्रगामी वा नियमित अग्रगामीको रूपमा सेवा गर्न नियुक्‍त हुन्छन्‌। तिनीहरूले प्रचार गर्ने र चेला बनाउने कामलाई नै आफ्नो करिअर बनाएका छन्‌। प्रायजसो यी पूर्ण-समय प्रचारकहरूसित भौतिक कुराहरू थोरै मात्र हुन्छ तर यहोवाले तिनीहरूलाई इनामस्वरूप थुप्रै आशिष्‌ दिनुभएको छ। (मर्कु. १०:२९, ३०) यी प्रिय भाइबहिनी हाम्रो लागि असाध्यै बहुमूल्य छन्‌ र तिनीहरू पनि मण्डलीको भाग भएकोमा खुसी छौँ। के नियुक्‍त भाइहरू र पूर्ण-समय सेवकहरूले मात्र मण्डलीमा स्थान पाएका छन्‌? त्यसो त होइन। सुसमाचार प्रचार गर्ने प्रत्येक प्रकाशक परमेश्‍वर र मण्डलीको लागि बहुमूल्य छन्‌। (रोमी १०:१५; १ कोरि. ३:६-८) वास्तवमा मण्डलीको एउटा सबैभन्दा महत्त्वपूर्ण लक्ष्य भनेको मानिसहरूलाई हाम्रा प्रभु येसु ख्रिष्टको चेला बनाउनु हो। (मत्ति २८:१९, २०; १ तिमो. २:४) मण्डलीसित सङ्‌गत गर्ने बप्तिस्मा गरेका र नगरेका सबै प्रकाशकले चेला बनाउने कामलाई प्रथम स्थान दिने प्रयास गर्छन्‌।—मत्ति २४:१४. w२०.०८ पृ. २१ अनु. ७-८

शुक्रबार, डिसेम्बर २३

यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।—मत्ति २८:२०.

आजको पदमा बताइएझैँ गाह्रो परिस्थितिको सामना गर्नुपर्दा येसु हामीलाई मदत गर्नुहुन्छ। उहाँका यी शब्दहरूले हामीलाई बल दिन्छ। किन? किनकि कुनै-कुनै बेला पीडा सहन हामीलाई असाध्यै गाह्रो हुन्छ। उदाहरणको लागि, आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामीले त्यसको पीडा केही दिन मात्र होइन, वर्षौँ सहनुपर्ने हुन्छ। केहीले भने वृद्धावस्थाले गर्दा विभिन्‍न कठिनाइ झेल्नुपर्ने हुन्छ। अरू कतिपय भने डिप्रेसनले गर्दा कुनै-कुनै बेला असाध्यै निराश हुन सक्छन्‌। तैपनि हामी यी सब सहन बल पाउँछौँ किनकि येसु “सधैँभरि,” हाम्रो जीवनमा निस्पट्ट अन्धकार छाएको क्षणमा समेत हामीसित हुनुहुन्छ। (मत्ति ११:२८-३०) यहोवा आफ्ना स्वर्गदूतहरूमार्फत हामीलाई मदत गर्नुहुन्छ भनेर परमेश्‍वरको वचनले आश्‍वासन दिन्छ। (हिब्रू १:७, १४) उदाहरणको लागि, “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” ‘राज्यको सुसमाचार’ प्रचार गर्ने काममा स्वर्गदूतहरू हामीलाई सघाउँछन्‌ र डोऱ्‍याइ दिन्छन्‌।—मत्ति २४:१३, १४; प्रका. १४:६. w२०.११ पृ. १३-१४ अनु. ६-७

शनिबार, डिसेम्बर २४

मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो तर समझदार मानिसले त्यो तानेर निकाल्छ।—हितो. २०:५.

हामी आफ्नो विद्यार्थीले तिनले सिकिरहेको कुरा परमेश्‍वरको प्रेरित वचनबाट आएको हो भनेर बुझेको चाहन्छौँ। (१ थिस्स. २:१३) हामी कसरी त्यसो गर्न सक्छौँ? विद्यार्थीलाई आफूले सिकिरहेको विषयबारे कुरा गर्न प्रोत्साहन दिनुहोस्‌। बाइबलका पदहरू सधैँ आफैले व्याख्या गर्नुको सट्टा कुनै-कुनै पद तिनलाई नै व्याख्या गर्न दिनुहोस्‌। परमेश्‍वरको वचनले तिनलाई व्यक्‍तिगत रूपमा कस्तो लाभ पुऱ्‍याउँछ भनी बुझ्न मदत दिनुहोस्‌। आफूले पढेका शास्त्रपदहरूबारे तिनले के सोचिरहेका छन्‌ वा कस्तो महसुस गरिरहेका छन्‌ भनेर बुझ्न मदत दिने प्रश्‍नहरू सोध्नुहोस्‌। (लुका १०:२५-२८) जस्तै: “यस पदबाट तपाईँले यहोवाको कुन गुणबारे सिक्नुभयो?” “बाइबलको यस कुराबाट तपाईँ कस्तो लाभ उठाउन सक्नुहुन्छ?” “भर्खरै सिकेको कुरा तपाईँलाई कस्तो लाग्यो?” विद्यार्थीलाई के-कति थाह छ, त्यो होइन बरु आफूलाई थाह भएको कुरालाई तिनी कत्तिको माया गर्छन्‌ र लागू गर्छन्‌, त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। बाइबललाई नै बोल्न दिनुहोस्‌। आफ्नो शिक्षणकला तिखार्न चाहनुहुन्छ भने तपाईँ नम्र हुनै पर्छ। w२०.१० पृ. १५ अनु. ५-६

आइतबार, डिसेम्बर २५

बिहान सबेरै बिउ छर्न थाल र साँझसम्मै छरिरह।—उप. ११:६.

राज्यको सुसमाचार प्रचार गर्ने काम यहोवाले तोक्नुभएको समयमै पूरा हुनेछ भनेर हामी विश्‍वस्त हुन सक्छौँ। नुहको समयबारे विचार गरौँ। यहोवा आफूले तोकेको समयमै काम पूरा गर्नुहुन्छ र यो उहाँले प्रमाणित गरिसक्नुभएको छ। यहोवाले जलप्रलय हुने समय लगभग १२० वर्षअघि नै तोकिसक्नुभएको थियो। त्यसको दशकौँपछि यहोवाले नुहलाई जहाज बनाउने जिम्मेवारी दिनुभयो। जलप्रलय सुरु हुनुभन्दा ४०/५० वर्षअघिदेखि नुह जहाज बनाउने काममा खटिए। मानिसहरूले राम्रो प्रतिक्रिया नदेखाए तापनि यहोवाले जहाजभित्र जाने आज्ञा नदिनुभएसम्म नुहले चेतावनीमूलक सन्देश प्रचार गरिरहे। अनि आफूले तोकेको समयमै यहोवाले “जहाजको ढोका थुनिदिनुभयो।” (उत्प. ६:३; ७:१, २, १६) अब चाँडै यहोवाले राज्यको सन्देश प्रचार गर्ने काम रोक्न आदेश दिनुहुनेछ। उहाँले सैतानको संसारलाई नाश गर्नुहुनेछ र धार्मिकताले भरिएको नयाँ संसार ल्याउनुहुनेछ। त्यतिन्जेल नुह र अरू व्यक्‍तिहरूको अनुकरण गरिरहौँ, जसले प्रचार गर्न बन्द गरेनन्‌। प्रचारकार्यमा एकाग्र भई लागिरहौँ, धैर्य गरौँ अनि यहोवा र उहाँका प्रतिज्ञाहरूमाथिको विश्‍वास बलियो बनाइरहौँ! w२०.०९ पृ. १३ अनु. १८-१९

सोमबार, डिसेम्बर २६

सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले होस्‌।—१ कोरि. १४:४०.

शिरत्वको स्पष्ट प्रबन्ध नभएको भए यहोवाको परिवारमा अशान्ति छाउने थियो र अव्यवस्थित हुने थियो। उदाहरणको लागि, कसले निर्णय गर्ने र त्यो लागू गराउने काममा कसले नेतृत्व लिने भनेर हामी अन्योलमा पर्ने थियौँ। हो, परमेश्‍वरले राम्रो उद्देश्‍य राखेर शिरत्वको प्रबन्ध गर्नुभएको थियो। तर आज किन यत्ति धेरै स्त्रीहरूले दुर्व्यवहार खप्नुपरेको छ त? किनकि थुप्रै पुरुषहरू परिवारको लागि यहोवाले तोकिदिनुभएको स्तरलाई बेवास्ता गर्छन्‌ अनि परिवारसित स्थानीय चलन वा परम्पराअनुसार व्यवहार गर्छन्‌। तिनीहरू आफ्नो स्वार्थी इच्छा पूरा गर्न पत्नीलाई दुर्व्यवहार गर्छन्‌। उदाहरणको लागि, एक जना पतिले आफ्नो आत्मसम्मान बढाउन वा अरूको अगाडि पुरुषार्थ देखाउन आफ्नी पत्नीलाई दमन गर्न सक्छन्‌। तिनले यस्तो सोच्न सक्छन्‌, ‘मलाई माया दिन उसलाई जबरजस्ती गर्न नसके पनि डर देखाएर त राख्न सक्छु नि!’ अनि तिनले डर-धम्की देखाएर आफ्नी पत्नीलाई अधीनमा राख्न खोज्छन्‌। यस्तो किसिमको सोचाइ र व्यवहारले गर्दा स्त्रीहरू आफूले पाउनुपर्ने सम्मान र इज्जतबाट वञ्चित हुन्छन्‌। तर यहोवा यस्तो भएको पटक्कै चाहनुहुन्‍न।—एफि. ५:२५, २८. w२१.०२ पृ. ३ अनु. ६-७

मङ्‌गलबार, डिसेम्बर २७

आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।—१ पत्रु. ५:७.

तनावको सामना गरिरहेका ख्रिष्टियनहरूले यहोवालाई व्यग्र प्रार्थना गर्दा उनीहरूको मन हल्का हुन सक्छ। प्रार्थनाको जवाफस्वरूप तपाईँले “परमेश्‍वरको शान्ति” पाउन सक्नुहुन्छ, “जुन मानिसको समझभन्दा बाहिरको छ।” (फिलि. ४:६, ७) यहोवाले आफ्नो शक्‍तिशाली पवित्र शक्‍तिमार्फत हामीलाई त्यस्तो शान्ति दिनुहुनेछ। (गला. ५:२२) यहोवालाई प्रार्थना गर्दा आफ्ना भावनाहरू सबै पोखाउनुहोस्‌। समस्या के हो र त्यसले गर्दा तपाईँ कस्तो महसुस गर्दै हुनुहुन्छ, खुलस्त रूपमा बताउनुहोस्‌। यदि त्यो समस्याको समाधान गर्न सम्भव छ भने समाधान भेट्टाउन यहोवासित बुद्धि माग्नुहोस्‌ र त्यसअनुसार कदम चाल्न बल पनि माग्नुहोस्‌। यदि त्यो समस्या सुल्झाउन तपाईँले गर्न सक्ने केही पनि छैन भने त्यसबारे औधी चिन्तित नहुन यहोवासित मदत माग्नुहोस्‌। तपाईँले तोकेरै प्रार्थना गर्नुभयो भने यहोवाले तपाईँको प्रार्थनाको जवाफ कसरी दिनुभयो भनेर समय बित्दै जाँदा स्पष्ट देख्न सक्नुहुनेछ। त्यसैले प्रार्थनाको जवाफ तुरुन्तै नपाउँदा हरेस नखानुहोस्‌। यहोवा तपाईँले तोकेरै प्रार्थना गर्नुको अलावा खुरन्धार प्रार्थना गरेको पनि चाहनुहुन्छ।—लुका ११:८-१०. w२१.०१ पृ. ३ अनु. ६-७

बुधबार, डिसेम्बर २८

[येसुले] तिनीहरूलाई भन्‍नुभयो: “सबैले त यो वचनअनुसार गर्न सक्दैनन्‌ तर तिनीहरूले मात्र, जसले यो वरदान पाएका छन्‌।”—मत्ति १९:११.

मण्डलीमा विवाहित दम्पतीहरू र परिवारहरू हुन्छन्‌। तर मण्डलीमा अविवाहित भाइबहिनी पनि थुप्रै हुन्छन्‌। अविवाहित भाइबहिनीप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? येसुले अविवाहित रहनुलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्थ्यो, त्यसबारे विचार गरौँ। पृथ्वीमा आफ्नो सेवाको दौडान येसुले विवाह गर्नुभएन। उहाँले अविवाहित रहेर पूरै समय र ध्यान आफ्नो असाइनमेन्टमा लगाउनुभयो। येसुले विवाह गर्नै पर्छ वा अविवाहित रहनै पर्छ भनेर कहिल्यै सिकाउनुभएन। तर उहाँले केही ख्रिष्टियनले अविवाहित रहने निर्णय गर्नेछन्‌ भनेर चाहिँ बताउनुभयो। (मत्ति १९:१२) येसुले अविवाहित व्यक्‍तिहरूलाई आदर गर्नुभयो। उहाँले तिनीहरूलाई तुच्छ वा केही कुराको कमी भएको व्यक्‍तिको रूपमा हेर्नुभएन। येसुले जस्तै प्रेषित पावलले पनि अविवाहित रहेर सेवाको काम गरे। ख्रिष्टियनहरूले विवाह गर्नु गलत हो भनेर पावलले कहिल्यै सिकाएनन्‌। यो नितान्त व्यक्‍तिगत मामिला हो भनेर तिनले बुझेका थिए। w२०.०८ पृ. २८ अनु. ७-८

बिहीबार, डिसेम्बर २९

परमेश्‍वर प्रेम हुनुहुन्छ।—१ युह. ४:१६.

प्रेषित युहन्‍ना धेरै वर्ष बाँचे र तिनले थुप्रै उल्लेखनीय घटनाहरू अनुभव गरे। तिनले विभिन्‍न किसिमका कठिनाइ पनि सामना गरे, जसले तिनको विश्‍वासलाई कमजोर बनाउन सक्थ्यो। तर तिनले दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्ने आज्ञाका साथै येसुका अन्य आज्ञाहरू पालन गर्न सक्दो गरे। यसो गरेकोले यहोवा र येसु तिनलाई प्रेम गर्नुहुन्छ अनि कुनै पनि परीक्षामाथि जित हासिल गर्न बल दिनुहुन्छ भन्‍ने कुरामा युहन्‍ना ढुक्क थिए। (युह. १४:१५-१७; १५:१०) युहन्‍नालाई सैतान र त्यसको संसारको कुनै पनि कुराले दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्न र त्यो प्रेम आफ्नो बोली र कामद्वारा देखाउनदेखि रोक्न सकेन। युहन्‍नाको समयजस्तै अहिले हामी बाँचिरहेको संसार पनि सैतानको अधीनमा छ, जसले कसैलाई दयामाया देखाउँदैन। (१ युह. ३:१, १०) त्यसले हामीलाई पनि दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्नदेखि रोक्न खोज्छ। तर हामीले त्यसलाई मौका दिएनौँ भने त्यसले त्यसो गर्न सक्दैन। हाम्रा दाजुभाइ दिदीबहिनीलाई प्रेम गरिरहन दृढ सङ्‌कल्प गरौँ र यो आफ्नो बोली र कामद्वारा व्यक्‍त गरौँ। यसो गर्दा हामी यहोवाको परिवारको भाग हुन सक्छौँ र आनन्दित जीवन बिताउन सक्छौँ।—१ युह. ४:७. w२१.०१ पृ. १३ अनु. १८-१९

शुक्रबार, डिसेम्बर ३०

सहनशीलता . . . दिनुहुने परमेश्‍वर [हुनुहुन्छ]।—रोमी १५:५.

सैतानको अधीनमा भएको यस संसारमा जीवन बिताउन पक्कै पनि कठिन छ। (२ तिमो. ३:१) कहिलेकाहीँ त समस्याहरूले गर्दा हामी अन्योलमा समेत पर्न सक्छौँ। तर हामी असाध्यै चिन्तित हुनु वा डराउनु पर्दैन। हामीले कस्ता समस्याहरूको सामना गर्दै छौँ भनेर यहोवालाई थाह छ। हामी लडिहाल्यौँ भने पनि यहोवाले हामीलाई आफ्नो दायाँ हातले पक्रिराख्ने प्रतिज्ञा गर्नुभएको छ। (यसै. ४१:१०, १३) यहोवाले हामीलाई मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौँ। अनि धर्मशास्त्रबाट बल प्राप्त गरेर हामी जस्तोसुकै चुनौतीलाई जित्न सक्छौँ। हाम्रा भिडियो र अडियो नाटकहरूमा अनि “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” भन्‍ने शृङ्‌खलाबद्ध लेखहरूमा बाइबलका विवरणहरूलाई जीवन्त ढङ्‌गमा प्रस्तुत गरिएको छ। ती सामग्रीहरू हेर्नुअघि, सुन्‍नुअघि वा पढ्‌नुअघि आफूले लागू गर्न सक्ने खास बुँदाहरू भेट्टाउन सकूँ भनेर यहोवासित मदत माग्नुहोस्‌। मुख्य पात्रको ठाउँमा आफूलाई राखेर कल्पना गर्नुहोस्‌। यहोवाका ती वफादार सेवकहरूले के गरे अनि गाह्रो अवस्थाको सामना गर्न यहोवाले तिनीहरूलाई कसरी मदत गर्नुभयो भनेर मनन गर्नुहोस्‌। त्यसपछि आफूले सिकेका पाठहरू लागू गर्नुहोस्‌। यहोवाले तपाईँलाई दिइरहनुभएको मदतको लागि उहाँलाई धन्यवाद दिनुहोस्‌। अनि अरूलाई प्रोत्साहन र मदत दिने मौकाहरू खोजेर आफूले पाएको मदतको लागि कृतज्ञ भएको कुरा देखाउनुहोस्‌। w२१.०३ पृ. १९ अनु. २२-२३

शनिबार, डिसेम्बर ३१

छोराहरू यहोवाका वरदान हुन्‌।—भज. १२७:३.

तपाईँ विवाहित हुनुहुन्छ र छोराछोरी जन्माउन चाहनुहुन्छ भने आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘के हामी नम्र छौँ र आध्यात्मिक कुराहरूको मोल गर्छौँ? के यहोवाले हामीलाई एउटा नवजात शिशुको हेरचाह गर्न रोज्नुहुनेछ?’ (भज. १२७:४) अथवा तपाईँ आमा वा बुबा हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌: ‘के मैले छोराछोरीलाई कडा परिश्रम गर्न सिकाइरहेको छु?’ (उप. ३:१२, १३) ‘के मैले छोराछोरीलाई उनीहरूले सामना गर्नुपर्ने शारीरिक र नैतिक हानिबाट जोगाउन सक्दो गरिरहेको छु?’ (हितो. २२:३) तपाईँ छोराछोरीलाई सबै समस्याबाट जोगाउन सक्नुहुन्‍न। तर तपाईँ उनीहरूलाई जीवनमा कस्ता कुराहरू भोग्नुपर्ने हुन्छ भनेर बिस्तारै र मायालु तरिकामा बुझाउन अनि सही डोऱ्‍याइको लागि परमेश्‍वरको वचनमा कसरी भर पर्ने भनेर सिकाउन सक्नुहुन्छ। (हितो. २:१-६) उदाहरणको लागि, परिवारको सदस्य वा आफन्तले यहोवाको सेवा नगर्ने छनौट गरेमा छोराछोरीलाई वफादार भई यहोवाको सेवा गरिरहनु किन महत्त्वपूर्ण छ भनेर बाइबलबाटै बुझाउनुहोस्‌। (भज. ३१:२३) अथवा आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा उनीहरूलाई शोक सहन र मनोशान्ति पाउन मदत गर्ने बाइबलका पदहरू देखाउनुहोस्‌।—२ कोरि. १:३, ४; २ तिमो. ३:१६. w२०.१० पृ. २७ अनु. ७

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने