प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es22 पृ. १०८-११८
  • नोभेम्बर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
  • उपशीर्षकहरू
  • मङ्‌गलबार, नोभेम्बर १
  • बुधबार, नोभेम्बर २
  • बिहीबार, नोभेम्बर ३
  • शुक्रबार, नोभेम्बर ४
  • शनिबार, नोभेम्बर ५
  • आइतबार, नोभेम्बर ६
  • सोमबार, नोभेम्बर ७
  • मङ्‌गलबार, नोभेम्बर ८
  • बुधबार, नोभेम्बर ९
  • बिहीबार, नोभेम्बर १०
  • शुक्रबार, नोभेम्बर ११
  • शनिबार, नोभेम्बर १२
  • आइतबार, नोभेम्बर १३
  • सोमबार, नोभेम्बर १४
  • मङ्‌गलबार, नोभेम्बर १५
  • बुधबार, नोभेम्बर १६
  • बिहीबार, नोभेम्बर १७
  • शुक्रबार, नोभेम्बर १८
  • शनिबार, नोभेम्बर १९
  • आइतबार, नोभेम्बर २०
  • सोमबार, नोभेम्बर २१
  • मङ्‌गलबार, नोभेम्बर २२
  • बुधबार, नोभेम्बर २३
  • बिहीबार, नोभेम्बर २४
  • शुक्रबार, नोभेम्बर २५
  • शनिबार, नोभेम्बर २६
  • आइतबार, नोभेम्बर २७
  • सोमबार, नोभेम्बर २८
  • मङ्‌गलबार, नोभेम्बर २९
  • बुधबार, नोभेम्बर ३०
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२२
es22 पृ. १०८-११८

नोभेम्बर

मङ्‌गलबार, नोभेम्बर १

जसले राम्ररी कुरा सुन्‍नुअघि नै जवाफ दिन्छ, उसले मूर्खता प्रकट गर्छ र आफ्नै बेइज्जती गर्छ।—हितो. १८:१३.

योनाको अवस्थाबारे सबै कुरा थाह नभएकोले हामीलाई तिनी भरोसायोग्य नभएको मात्र होइन, तिनले विश्‍वासघात गरेको जस्तो पनि लाग्न सक्छ। तिनले निनवे सहरमा न्यायदण्ड घोषणा गर्न यहोवाबाटै आज्ञा पाएका थिए। तर उहाँको आज्ञा मान्‍नुको साटो तिनी उल्टो दिशातर्फ गइरहेको जहाज चढेर “यहोवा परमेश्‍वरबाट टाढा” भागे। (योना १:१-३) के तपाईँले योनालाई यहोवाको आज्ञा पालन गर्न दोस्रो मौका दिनुहुनेथियो? सायद दिनुहुन्‍नथियो होला। तर यहोवाले भने योनालाई अर्को मौका दिने उचित कारण पाउनुभयो। (योना ३:१, २) आफू वास्तवमा कस्तो मानिस हुँ भनेर योनाले प्रार्थनामा प्रकट गरे। (योना २:१, २, ९) हुनत योनाले धेरै चोटि प्रार्थना गरेका थिए तर माछाको पेटबाट गरेको प्रार्थनाबाट तिनी वास्तवमा कस्तो मानिस हुन्‌ भनेर बुझ्न सक्छौँ। आफूलाई अह्राइएको काम पूरा नगरी भागे तापनि तिनका शब्दहरूबाट तिनी नम्र, कृतज्ञ र यहोवाको आज्ञा पालन गर्न कटिबद्ध थिए भनेर थाह पाउन सक्छौँ। त्यसैले योना भागेको कुरामा मात्र यहोवाले ध्यान दिनुभएन बरु तिनको प्रार्थनाको जवाफ दिनुभयो र तिनलाई भविष्यवक्‍ताको रूपमा प्रयोग गरिरहनुभयो! त्यसैले सबै एल्डरले सल्लाह दिनुअघि “राम्ररी कुरा सुन्‍नु” कत्ति महत्त्वपूर्ण छ! w२०.०४ पृ. १५ अनु. ४-६

बुधबार, नोभेम्बर २

[पावलले] ती यहुदीहरूसित धर्मशास्त्रबाट तर्क गरे। अनि . . . धर्मशास्त्रका विभिन्‍न वचनहरूबाट प्रमाण [दिए]।—प्रेषि. १७:२, ३.

प्रथम शताब्दीका चेलाहरूले ख्रिष्टियन शिक्षा स्विकारे र परमेश्‍वरको वचनको कुरा बुझ्न पवित्र शक्‍तिमा भर परे। ती शिक्षा धर्मशास्त्रमा आधारित हुन्‌ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त भए। (प्रेषि. १७:११, १२; हिब्रू ५:१४) तिनीहरूले भावनामा बहेर यहोवामाथि विश्‍वास गरेका थिएनन्‌। अनि सङ्‌गी उपासकहरूसँग सङ्‌गत गर्दा रमाइलो हुने भएकोले मात्र यहोवाको सेवा गरेका थिएनन्‌। बरु तिनीहरूको विश्‍वास “परमेश्‍वरको सही ज्ञान”-मा आधारित थियो। (कल. १:९, १०) परमेश्‍वरको वचनका सत्य कुराहरू कहिल्यै पनि अदलबदल हुँदैनन्‌। (भज. ११९:१६०) उदाहरणको लागि, कुनै भाइ वा बहिनीले हाम्रो चित्त दुखाउँदा वा गम्भीर पाप गर्दा पनि ती परिवर्तन हुँदैनन्‌। अनि हामीले समस्याहरूको सामना गर्दा पनि ती परिवर्तन हुँदैनन्‌। त्यसैले हामीले बाइबलका शिक्षाहरू राम्रोसँग बुझ्नुपर्छ र ती सत्य हुन्‌ भनेर विश्‍वस्त हुनुपर्छ। जसरी भीषण आँधी आउँदा लङ्‌गरले डुङ्‌गालाई स्थिर रहन मदत गर्छ, त्यसरी नै बाइबलका सत्य कुराहरूमाथिको बलियो विश्‍वासले पनि हामीलाई परीक्षाको समयमा स्थिर रहन मदत गर्छ। w२०.०७ पृ. ९ अनु. ६-७

बिहीबार, नोभेम्बर ३

मानिसहरूलाई प्रचार गर्न र राम्ररी साक्षी दिन उहाँले हामीलाई आदेश दिनुभयो।—प्रेषि. १०:४२.

अभिषिक्‍त भाइहरूको लागि हामी जे-जति गर्छौँ, येसुले त्यो आफैलाई गरेसरह ठान्‍नुहुन्छ। (मत्ति २५:३४-४०) अभिषिक्‍त भाइहरूलाई साथ दिने प्रमुख तरिका भनेको येसुले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभएको चेला बनाउने काममा पूरापूर भाग लिएर हो। (मत्ति २८:१९, २०) “अरू भेडा”-को मदतले गर्दा मात्रै ख्रिष्टका भाइहरूले अहिले विश्‍वभरि भइरहेको प्रचारकार्य पूरा गर्न सक्नेछन्‌। (युह. १०:१६) तपाईँ अरू भेडामध्येको हुनुहुन्छ भने हरेक चोटि प्रचारकार्यमा भाग लिँदा तपाईँले अभिषिक्‍त भाइहरूलाई मात्र नभई येसुलाई पनि प्रेम गरेको देखाइरहनुभएको हुनेछ। यहोवा र येसुले डोऱ्‍याइरहनुभएको कामलाई टेवा पुऱ्‍याउन आर्थिक सहयोग गरेर पनि हामी उहाँहरूको मित्र बन्‍न सक्छौँ। (लुका १६:९) उदाहरणको लागि, हामी विश्‍वव्यापी कार्यको लागि अनुदान दिन सक्छौँ। यो अनुदान प्रकोप वा अन्य कारणले दुःखमा परेकाहरूलाई राहत दिन प्रयोग गरिन्छ। हामी आफ्नै मण्डलीको खर्च बेहोर्न पनि अनुदान दिन सक्छौँ र आफूले व्यक्‍तिगत तवरमा चिनेको कोही खाँचोमा परेका छन्‌ भने तिनलाई मदत गर्न सक्छौँ।—हितो. १९:१७. w२०.०४ पृ. २४ अनु. १२-१३

शुक्रबार, नोभेम्बर ४

आफ्ना पुर्खाहरूको ईश्‍वरको तिनले कुनै वास्ता गर्नेछैनन्‌। . . . बरु तिनले किल्लाका देवताको महिमा गर्नेछन्‌।—दानि. ११:३७, ३८.

यस भविष्यवाणीको पूर्तिअनुरूप उत्तरका राजाले ‘आफ्ना पुर्खाहरूको ईश्‍वरको कुनै वास्ता गरेनन्‌।’ कसरी? सोभियत सङ्‌घले धर्मको नामोनिसान मेटाउने उद्देश्‍य राखेर पहिलेदेखि चल्दै आएका धार्मिक सङ्‌गठनहरूको अधिकार खोस्ने प्रयास गऱ्‍यो। त्यो उद्देश्‍य हासिल गर्न सोभियत सरकारले इस्वी संवत्‌ १९१८ मा नै एउटा आदेश जारी गरिसकेको थियो, जसले गर्दा स्कुलहरूमा नास्तिकवाद सिकाउने बाटो खुल्यो। यी उत्तरका राजाले कसरी “किल्लाका देवताको महिमा” गरे? सोभियत सङ्‌घले आधिपत्य जमाउने उद्देश्‍यले आफ्नो सेना विस्तार गर्न निकै पैसा खर्च गऱ्‍यो अनि हजारौँ आणविक हातहतियार उत्पादन गऱ्‍यो। उत्तरका राजा र दक्षिणका राजा दुवैले अरबौँ मानिसलाई मार्न पुग्ने शक्‍तिशाली हातहतियार जम्मा गरे! उत्तरका राजाले एउटा मूलभूत प्रयासमा दक्षिणका राजालाई समर्थन गरेका छन्‌। तिनीहरू दुवै मिलेर “उजाड पार्ने घृणित कुरालाई खडा” गरेका छन्‌। त्यो “घृणित कुरा” संयुक्‍त राष्ट्र सङ्‌घ हो।—दानि. ११:३१. w२०.०५ पृ. ६ अनु. १६-१७

शनिबार, नोभेम्बर ५

तिम्रो यो भाइ . . . हराएको थियो तर फेरि भेटियो।—लुका १५:३२.

निष्क्रियहरूलाई खोज्ने काममा क-कसले भाग लिन सक्छन्‌? सबैले—एल्डरहरू, अग्रगामीहरू, परिवारका सदस्यहरू र मण्डलीका प्रकाशकहरूले निष्क्रियहरूलाई भेट्टाउन मदत गर्न सक्छन्‌। तपाईँको साथी वा नातेदार कोही निष्क्रिय भएका छन्‌ कि? घरघरको प्रचारकार्य वा सार्वजनिक साक्षीकार्यमा भाग लिँदा तपाईँले निष्क्रिय भएको कसैलाई भेट्‌नुभएको छ कि? यदि तिनी आफूलाई भेट्‌न कोही आएको चाहन्छन्‌ भने तिनको सम्पर्क ठेगाना वा फोन नम्बर मण्डलीका एल्डरहरूलाई दिनेछु भनेर बताउनुहोस्‌। थोमस नाम गरेका एल्डर भन्छन्‌: “सुरुमा म विभिन्‍न भाइबहिनीलाई निष्क्रिय भएका कुनै भाइ वा बहिनी अहिले कहाँ बस्छन्‌ भनेर थाह छ कि भनेर सोध्छु। वा सभामा आउन छोडेका कोही याद छ कि भनेर प्रकाशकहरूलाई सोध्छु। अनि निष्क्रिय भाइबहिनीलाई भेट्‌न जाँदा म उहाँहरूको छोराछोरी र अरू नातेदारबारे पनि सोध्छु। अहिले निष्क्रिय भएका कोही-कोहीले पहिला आफ्ना छोराछोरीलाई सभामा ल्याउँथे र ती छोराछोरीमध्ये कोही-कोही प्रकाशक पनि भएका हुन सक्छन्‌। तिनीहरूलाई पनि यहोवाकहाँ फर्कन मदत गर्न सकिन्छ।” w२०.०६ पृ. २४ अनु. १; पृ. २५ अनु. ६-७

आइतबार, नोभेम्बर ६

म याहका कामहरूको सम्झना गर्नेछु; तपाईँले वर्षौँअघि गर्नुभएका आश्‍चर्यजनक कामहरू सम्झनेछु।—भज. ७७:११.

आफूले विगतमा भोगेका घटना सम्झँदै ती केलाएर नैतिक पाठ सिक्ने क्षमता पृथ्वीमा भएका सबै जीवजीवातमध्ये मानिससित मात्र छ। यसकारण हामी उत्कृष्ट मूल्यमान्यता सिक्न सक्छौँ अनि आफ्नो सोच्ने तरिका र जीवनशैली परिवर्तन गर्न सक्छौँ। (१ कोरि. ६:९-११; कल. ३:९, १०) वास्तवमा हामी सही र गलत छुट्ट्याउन आफ्नो अन्तस्करणलाई तालिम दिन सक्छौँ। (हिब्रू ५:१४) हामी प्रेम, दया र कृपा देखाउन सिक्न सक्छौँ। अनि हामी यहोवाले जस्तै निष्पक्ष न्याय देखाउन पनि सिक्न सक्छौँ। उपहारस्वरूप पाएको सम्झने क्षमताप्रति कृतज्ञ छौँ भनेर देखाउने एउटा तरिका विगतमा यहोवाले हामीलाई मदत गर्नुभएको र सान्त्वना दिनुभएको प्रत्येक घटना सम्झेर हो। यसो गऱ्‍यौँ भने यहोवाले हामीलाई भविष्यमा पनि मदत गर्नुहुनेछ भन्‍ने कुरामा हाम्रो भरोसा बढ्‌नेछ। (भज. ७७:१२; ७८:४, ७) अर्को तरिका, अरूले हाम्रो लागि गरेका असल कुराहरू सम्झेर अनि त्यसको लागि कृतज्ञ भएर हो। अरूप्रति कृतज्ञ मानिसहरू खुसी हुने सम्भावना धेरै हुन्छ भनेर अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌। w२०.०५ पृ. २३ अनु. १२-१३

सोमबार, नोभेम्बर ७

यहोवा तिमीहरूका परमेश्‍वरको महिमित र श्रद्धा जगाउने नामको डर [मान]।—व्यव. २८:५८.

मोसा चट्टानको धाँजोमा बसिरहेको बेला यहोवाको महिमाको ज्योति तिनीसामु भएर जाँदा तिनलाई कस्तो लाग्यो होला, सोच्नुहोस्‌ त! येसु ख्रिष्ट पृथ्वीमा आउनुभन्दा अघि मानिसले यस्तो उदेकलाग्दो अनुभव पहिला कहिल्यै गरेका थिएनन्‌ होला। यहोवाले स्वर्गदूतमार्फत बोल्नुभएका यी शब्दहरू मोसाले सुने: “यहोवा, हो म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ। म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु।” (प्रस्थ. ३३:१७-२३; ३४:५-७) आजको पदमा उल्लेख गरिएझैँ मोसाले यहोवाको नाम लिँदा सायद तिनले त्यो घटना सम्झे होलान्‌। यहोवाको नामबारे विचार गर्दा हामीले त्यो नामले चिनिनुहुने परमेश्‍वरबारे मनन पनि गर्नुपर्छ। हामीले उहाँका गुणहरू सम्झनुपर्छ, जस्तै: उहाँको शक्‍ति, बुद्धि, न्याय र प्रेम। यी र अन्य गुणहरूबारे सोच्दा हामी उहाँप्रति श्रद्धाले भरिन्छौँ।—भज. ७७:११-१५. w२०.०६ पृ. ८-९ अनु. ३-४

मङ्‌गलबार, नोभेम्बर ८

आफूले सिकेका र आफूलाई विश्‍वस्त पारिएका कुराहरूमा लागिरह।—२ तिमो. ३:१४.

येसुले आफ्ना चेलाहरूको मुख्य चिनारी नै प्रेम हो भन्‍नुभएको थियो। (युह. १३:३४, ३५) तर आफ्नो विश्‍वास बलियो बनाउन यति मात्र भएर पुग्दैन। हाम्रो विश्‍वास परमेश्‍वरका जनहरूले देखाउने ख्रिष्टियन प्रेममा मात्र निर्भर हुनु हुँदैन। किन? मानौँ, एक जना सङ्‌गी उपासकले अथवा कुनै एल्डर वा अग्रगामीले पाप गरे। अथवा कुनै भाइ वा बहिनीले तपाईँको चित्त दुखायो भने नि? वा यहोवाका जनहरूसित सत्य छैन भन्‍ने निष्कर्षमा पुगेर कोही धर्मत्यागी भयो भने नि? के तपाईँ यस्ता कुराहरूले गर्दा ठेस खाएर यहोवाको सेवा गर्न छोड्‌नुहुन्छ? हामीले सिक्नुपर्ने पाठ यो हो: परमेश्‍वरसितको सम्बन्धमा नभई अरूले देखाउने व्यवहारमा मात्र तपाईँको विश्‍वास निर्भर भयो भने त्यो बलियो हुँदैन। तपाईँको विश्‍वासको घर निर्माण गर्न तपाईँले भावनाजस्ता नरम कुराहरू प्रयोग गर्नु मात्र पर्याप्त हुँदैन तर तथ्य र प्रमाणजस्ता कडा कुराहरू पनि चाहिन्छ। बाइबलले यहोवाको बारेमा सत्य कुरा सिकाउँछ भनेर तपाईँ आफै विश्‍वस्त हुनुपर्छ।—रोमी १२:२. w२०.०७ पृ. ८-९ अनु. २-३

बुधबार, नोभेम्बर ९

तपाईँहरूले . . . कमजोरहरूलाई मदत गर्नुपर्छ।—प्रेषि. २०:३५.

यहोवाकहाँ फर्कन चाहने निष्क्रिय व्यक्‍तिहरूलाई भेट्टाउन स्वर्गदूतहरू हामीसँगै काम गर्छन्‌ भनेर धेरै अनुभवले देखाउँछ। (प्रका. १४:६) उदाहरणको लागि, इक्वेडरका सिल्भियोले मण्डलीमा फर्कन मदत गर्नुहोस्‌ भनेर यहोवालाई व्यग्र प्रार्थना गरे। तिनले प्रार्थना गरिरहेकै बेला तिनको घरको घण्टी बज्यो। तिनको ढोकामा दुई जना एल्डर उभिरहेका थिए। त्यही भेटदेखि तिनलाई आवश्‍यक मदत दिन पाएकोमा ती एल्डरहरू औधी खुसी भए। आध्यात्मिक तवरमा कमजोर भएकाहरूलाई यहोवाकहाँ फर्कन मदत गर्दा हामीले अपार आनन्द पाउनेछौँ। निष्क्रियहरूलाई मदत गर्न विशेष प्रयास गर्ने साल्भाडोर नाम गरेका अग्रगामी के भन्छन्‌, याद गर्नुहोस्‌: “कहिलेकाहीँ खुसीको आँसु थाम्नै सक्दिनँ। यहोवाले आफ्नो प्यारो भेडालाई सैतानको संसारबाट जोगाउनुभएको अनि यहोवासितै मिलेर यो काम गर्ने सुअवसर पाएको कुरा सोच्दा खुसीको सीमै रहँदैन।” तपाईँले यहोवाका सेवकहरूसित सङ्‌गत गर्न छोड्‌नुभएको छ भने पनि यहोवा तपाईँलाई अझै माया गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यहोवा तपाईँ फर्कनुहुने दिनको प्रतीक्षा गर्दै हुनुहुन्छ अनि उहाँले तपाईँलाई खुसीसाथ स्वागत गर्नुहुनेछ। w२०.०६ पृ. २९ अनु. १६-१८

बिहीबार, नोभेम्बर १०

तिमीले . . . आफ्ना महान्‌ शिक्षकलाई देख्नेछौ।—यसै. ३०:२०.

हाम्रो “महान्‌ शिक्षक”-को हैसियतमा यहोवाले हाम्रो शिक्षाको लागि बाइबलमा थुप्रै उदाहरण रेकर्ड गर्न लगाउनुभएको छ। (यसै. ३०:२१) असल गुणहरू देखाएका बाइबल पात्रहरूबारे मनन गर्दा हामी धेरै लाभ उठाउन सक्छौँ। यस्ता असल गुणहरू देखाउन चुकेका बाइबल पात्रहरूले कस्तो नतिजा भोग्नुपऱ्‍यो भन्‍ने कुरा केलाउँदा पनि हामी पाठ सिक्न सक्छौँ। (भज. ३७:३७; १ कोरि. १०:११) राजा साउललाई के भयो, विचार गर्नुहोस्‌। जवान छँदा तिनले आफ्नो सीमितता राम्ररी बुझेका थिए र तिनी थप जिम्मेवारी स्विकार्न हिचकिचाएका पनि थिए। (१ समु. ९:२१; १०:२०-२२) तर पछि साउल अहङ्‌कारी भए। राजा भएको केही समयमै तिनमा यस्तो अवगुण देखा पऱ्‍यो। एकचोटि भविष्यवक्‍ता समुएललाई पर्खनुपर्दा तिनले धैर्य गर्न सकेनन्‌ अनि आफ्नो अधिकारमै नभएको कामसमेत गरे; हो, तिनले अग्निभेटी चढाए। यसकारण तिनले यहोवाको अनुमोदन गुमाए र उहाँले तिनलाई राजाको रूपमा शासन गरिरहन दिनुभएन। (१ समु. १३:८-१४) हामीले यो चेतावनीमूलक उदाहरणबाट पाठ सिक्नुपर्छ र अहङ्‌कारी हुनु हुँदैन। w२०.०८ पृ. १० अनु. १०-११

शुक्रबार, नोभेम्बर ११

जसले तिमीहरूमाझ . . . प्रभुको काममा नेतृत्व लिइरहेका छन्‌ . . . , तिनीहरूको आदर गर।—१ थिस्स. ५:१२.

यहोवाले आफ्नो मण्डलीलाई ख्रिष्टमार्फत “वरदानको रूपमा पुरुषहरू” दिनुभएको छ। (एफि. ४:८) “वरदानको रूपमा पुरुषहरू”-मा परिचालक निकायका सदस्यहरू, परिचालक निकायका नियुक्‍त सहयोगीहरू, शाखा समितिका सदस्यहरू, परिभ्रमण निरीक्षकहरू, विभिन्‍न स्कुलका प्रशिक्षकहरू, मण्डलीका एल्डरहरू र सहायक सेवकहरू पर्छन्‌। यी भाइहरू यहोवाका बहुमूल्य भेडाहरूको हेरचाह गर्न र मण्डलीको हितको लागि सेवा गर्न पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका छन्‌। (१ पत्रु. ५:२, ३) यी भाइहरू मण्डलीमा विभिन्‍न जिम्मेवारी सम्हाल्न पवित्र शक्‍तिद्वारा नियुक्‍त भएका छन्‌। जसरी शरीरका विभिन्‍न अङ्‌गहरू, जस्तै: हात र खुट्टाको कामले पूरै शरीरलाई फाइदा हुन्छ, त्यसैगरि पवित्र शक्‍तिद्वारा नियुक्‍त भाइहरूको कडा मेहनतले गर्दा पूरै मण्डलीको हित हुन्छ। तिनीहरू आफ्नै महिमा खोज्दैनन्‌। बरु आफ्ना भाइबहिनीको उत्थान गर्न र उनीहरूलाई बलियो पार्न प्रयत्न गर्छन्‌। (१ थिस्स. २:६-८) यस्ता निःस्वार्थी र आध्यात्मिक रूपमा परिपक्व भाइहरू दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौँ। w२०.०८ पृ. २१ अनु. ५-६

शनिबार, नोभेम्बर १२

जाओ र . . . चेला बनाओ।—मत्ति २८:१९, २०.

हामी प्रचार गर्न उत्प्रेरित हुनुको एउटा कारण भनेको मानिसहरू “छाला काढिएका अनि . . . तितरबितर भएका” छन्‌ र तिनीहरूले परमेश्‍वरको राज्यबारे सत्य सिक्नु अत्यन्तै जरुरी छ। (मत्ति ९:३६) यहोवा सबै किसिमका मानिसले सत्यको सही ज्ञान लिऊन्‌ र उद्धार पाऊन्‌ भन्‍ने चाहनुहुन्छ। (१ तिमो. २:४) हाम्रो प्रचारकार्यले मानिसहरूको जीवन बचाउन सक्ने कुराबारे सोच्दा हामी यो काममा भाग लिन इच्छुक हुन्छौँ। हामी मानिसहरूको जीवन बचाउँछौँ। (रोमी १०:१३-१५; १ तिमो. ४:१६) हामीसित पनि प्रचार गर्न सही साधन हुनुपर्छ अनि त्यो कसरी प्रयोग गर्ने भनेर थाह हुनुपर्छ। मानिसहरूको जलारी कसरी बन्‍ने भनेर येसुले आफ्ना चेलाहरूलाई सुस्पष्ट निर्देशनहरू दिनुभयो। उहाँले तिनीहरूलाई आफूसित के बोक्ने, कहाँ प्रचार गर्ने र के भन्‍ने भनेर बताउनुभयो। (मत्ति १०:५-७; लुका १०:१-११) आज यहोवाको सङ्‌गठनले हामीलाई ‘शिक्षण सामग्री’ उपलब्ध गराएको छ, जुन प्रभावकारी साबित भएको छ। अनि त्यो कसरी प्रयोग गर्ने भनेर पनि सिकाएको छ। त्यस्तो तालिमले गर्दा प्रचारकार्यमा प्रभावकारी हुन चाहिने आत्मविश्‍वास र सीप हासिल गर्न सक्छौँ।—२ तिमो. २:१५. w२०.०९ पृ. ४ अनु. ६-७, १०

आइतबार, नोभेम्बर १३

मेरा छोराछोरी सत्यमा हिँडिरहेका छन्‌ भनेर सुन्‍न पाउनुभन्दा बढ्‌ता खुसीको कुरा मसित अरू छैन।—३ युह. ४.

प्रेषित युहन्‍ना आफूले सत्य सिकाएका व्यक्‍तिहरूले वफादार भई यहोवाको सेवा गरिरहेका छन्‌ भनेर थाह पाउँदा कत्ति खुसी भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! ती वफादार ख्रिष्टियनहरूले थुप्रै समस्याको सामना गरे र युहन्‍ना उनीहरूको विश्‍वास अझ बलियो बनाउन कडा मेहनत गरिरहेका थिए किनभने तिनी उनीहरूलाई आफ्नो आध्यात्मिक छोराछोरी ठान्थे। त्यसैगरि हामीलाई पनि आफ्नो छोराछोरी वा आध्यात्मिक छोराछोरीले यहोवालाई जीवन समर्पण गरेको र उहाँको सेवा गर्न प्रयत्न गरिरहेको देख्दा धेरै खुसी लाग्छ। (३ युह. ३) इस्वी संवत्‌ ९८ मा यहोवाको पवित्र शक्‍तिले युहन्‍नालाई तीन वटा पत्र लेख्न प्रेरणा दियो। ती पत्रहरूको उद्देश्‍य वफादार ख्रिष्टियनहरूलाई येसुमाथिको आफ्नो विश्‍वास बलियो बनाइरहन र सत्यमा हिँडिरहन उत्प्रेरित गर्नु थियो। झूटा शिक्षकहरूले मण्डलीहरूमा नराम्रो प्रभाव पारिरहेको देख्दा युहन्‍ना चिन्तित थिए। (१ युह. २:१८, १९, २६) ती धर्मत्यागीहरूले परमेश्‍वरलाई चिनेको दाबी गर्थे तर यहोवाका आज्ञाहरू पालन भने गर्दैनथे। w२०.०७ पृ. २० अनु. १-३

सोमबार, नोभेम्बर १४

परमेश्‍वरमाथि विश्‍वास गर अनि ममाथि पनि विश्‍वास गर।—युह. १४:१.

हामी आफूले प्रचार गर्ने सन्देशमा विश्‍वास गर्छौँ। त्यसैले हामी यो सन्देश सकेसम्म धेरै मानिसलाई सुनाउँछौँ। हामी परमेश्‍वरको वचनमा पाइने प्रतिज्ञाहरूमा भरोसा गर्छौँ। (भज. ११९:४२; यसै. ४०:८) अहिले बाइबल भविष्यवाणीहरू पूरा भइरहेको हामीले देखेका छौँ। साथै मानिसहरूले बाइबलको सल्लाह पालन गर्न थाल्दा यसले तिनीहरूको जीवनमा राम्रो प्रभाव पारेको पनि आफ्नै आँखाले देखेका छौँ। यस्तो प्रमाणले गर्दा राज्यको सुसमाचार सबैले सुन्‍नै पर्ने सन्देश हो भन्‍ने कुरामा हामी अझ विश्‍वस्त हुन सक्छौँ। साथै हामी आफूले प्रचार गर्ने सन्देशको स्रोत यहोवामाथि र उहाँले आफ्नो राज्यको राजा नियुक्‍त गर्नुभएको येसुमाथि विश्‍वास गर्छौँ। हामीले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे तापनि यहोवा सधैँ हाम्रो शरणस्थान र बल हुनुहुनेछ। (भज. ४६:१-३) येसुले यहोवाबाट पाउनुभएको शक्‍ति र अधिकार चलाएर स्वर्गबाट प्रचारकार्यलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरामा पनि हामी विश्‍वस्त छौँ। (मत्ति २८:१८-२०) यहोवाले हाम्रो प्रयासमा आशिष्‌ दिनुहुन्छ भन्‍ने विश्‍वासले हाम्रो मनोबल बढाउँछ। w२०.०९ पृ. १२ अनु. १५-१७

मङ्‌गलबार, नोभेम्बर १५

उसले मेरो लागि असलै काम गरेकी छे। . . . उसले जे गर्न सक्थी, त्यही गरेकी छे।—मर्कु. १४:६, ८.

कहिलेकाहीँ बहिनीहरूले कुनै खास चुनौतीको सामना गर्नुपर्दा तिनीहरूको लागि बोलिदिने कुनै व्यक्‍तिको आवश्‍यकता पर्न सक्छ। (यसै. १:१७) उदाहरणको लागि, विधवा वा सम्बन्धविच्छेद भएकी कुनै बहिनीलाई पहिला उनको पतिले गर्ने गरेको कुनै-कुनै काममा सघाइदिने कसैको आवश्‍यकता पर्न सक्छ। वृद्ध बहिनीहरूलाई डाक्टरसित कुराकानी गर्न कसैको मदत चाहिन सक्छ। अथवा यहोवाको सङ्‌गठनलाई अन्य तरिकामा सघाइरहेकी अग्रगामी बहिनी अरू अग्रगामीहरूजस्तो प्रचारमा नआएको देख्दा कसै-कसैले उनको आलोचना गर्न सक्छन्‌। यस्तो बेला उनको लागि बोलिदिने कोही चाहिन सक्छ। येसुको उदाहरण विचार गरौँ। कसैलाई आफ्ना आध्यात्मिक बहिनीहरूको विषयमा गलतफहमी हुँदा येसु तुरुन्तै उनीहरूको लागि बोलिदिनुहुन्थ्यो। जस्तै: मार्थाले मरियमको गुनासो गर्दा उहाँ मरियमको पक्षमा बोलिदिनुभयो। (लुका १०:३८-४२) अनि मरियमले नराम्रो निर्णय गरेको भन्दै अरूले आलोचना गर्दा येसु फेरि पनि मरियमको पक्षमा बोलिदिनुभयो। (मर्कु. १४:३-९) येसुले मरियमको मनसाय बुझ्नुभयो र उनको प्रशंसा गर्नुभयो। उहाँले उनको यस्तो दयालु कामबारे “सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ,” त्यहाँ-त्यहाँ सुनाइनेछ भनेर पनि भविष्यवाणी गर्नुभयो। w२०.०९ पृ. २४ अनु. १५-१६

बुधबार, नोभेम्बर १६

तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैँ हेरचाह गर, परमेश्‍वरसामु निरीक्षकको रूपमा सेवा गर, करमा परेर होइन तर स्वेच्छाले।—१ पत्रु. ५:२.

असल गोठालोले आफ्नो भेडा हराउन सक्छ भनेर बुझेका हुन्थे। भेडा आफ्नो बगालबाट बाटो बिराएर गए तापनि गोठालोले त्यससित कठोर व्यवहार गर्दैनथे। केही समयको लागि आफूबाट टाढिएका सेवकहरूलाई मदत गर्न यहोवाले बसाल्नुभएको उदाहरण विचार गर्नुहोस्‌। भविष्यवक्‍ता योना आफ्नो असाइनमेन्टदेखि भागे। तैपनि यहोवाले योनालाई उत्तिखेरै त्याग्नुभएन। असल गोठालोले जस्तै यहोवाले तिनलाई फर्काएर ल्याउनुभयो र तिनलाई आफ्नो असाइनमेन्ट पूरा गर्न चाहिने बल प्राप्त गर्न मदत गर्नुभयो। (योना २:७; ३:१, २) पछि यहोवाले लौकाको बोटको उदाहरण चलाउनुभएर योनालाई प्रत्येक मानिसको जीवन अनमोल छ भनेर बुझाउनुभयो। (योना ४:१०, ११) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? एल्डरहरूले निष्क्रिय भएकाहरू फर्केर आउँदैनन्‌ भनेर तुरुन्तै हार मान्‍नु हुँदैन। बरु तिनीहरू त्यो भेडा बगालबाट टाढिनुको कारण के हो भनेर बुझ्ने प्रयास गर्छन्‌। अनि त्यो भेडा यहोवाकहाँ फर्केर आएपछि एल्डरहरू तिनलाई मायालु चासो देखाइरहन्छन्‌। w२०.०६ पृ. २०-२१ अनु. १०-१२

बिहीबार, नोभेम्बर १७

तिनीहरूलाई मदत गरिनेछ।—दानि. ११:३४.

इस्वी संवत्‌ १९९१ मा सोभियत सङ्‌घ विघटन भएपछि परमेश्‍वरका जनहरूले केही “मदत” पाए अर्थात्‌ तिनीहरू केही समयको लागि स्वतन्त्र भए। परिणामस्वरूप तिनीहरूले खुलमखुला प्रचार गर्न सके र केही समय नबित्दै भूतपूर्व सोभियत सङ्‌घका देशहरूमा प्रकाशकहरूको सङ्‌ख्या लाखौँ पुग्यो। बिस्तारै रूस र त्यसका समर्थकहरू उत्तरका राजाको रूपमा देखा पर्न थाले। उत्तरका राजा वा दक्षिणका राजाको भूमिका निर्वाह गर्ने सरकारले यी तीन वटा कुरा पूरा गरेको हुनुपर्छ: (१) परमेश्‍वरका थुप्रै सेवक बसोबास गर्ने देशमा शासन गरेको वा तिनीहरूको खेदो गरेको हुनुपर्छ। (२) परमेश्‍वरका जनहरूसित गरेको व्यवहारबाट तिनीहरू यहोवा र उहाँका जनहरूका शत्रु हुन्‌ भनेर देखिनुपर्छ। (३) प्रतिद्वन्द्वी राजाविरुद्ध लडिरहेको हुनुपर्छ। रूस र त्यसका समर्थकहरूले प्रचारकार्यमाथि प्रतिबन्ध लगाएर अनि हाम्रा लाखौँ भाइबहिनीको खेदो गरेर परमेश्‍वरका जनहरूलाई प्रत्यक्ष असर गरेका छन्‌। त्यस्तो व्यवहारले तिनीहरू यहोवा र उहाँका जनहरूलाई घृणा गर्छन्‌ भनेर प्रस्ट हुन्छ। साथै तिनीहरू दक्षिणका राजा अर्थात्‌ एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिविरुद्ध लडिरहेका छन्‌। w२०.०५ पृ. १२-१३ अनु. ३-४

शुक्रबार, नोभेम्बर १८

आफ्नो शिक्षाको विषयमा तिमी सधैँ होसियार होऊ।—१ तिमो. ४:१६.

सिकाउने र चेला बनाउने काम आपसमा सम्बन्धित भएकोले हामी निपुण शिक्षक हुन चाहन्छौँ। हामीले लाखौँ मानिसलाई नियमित तवरमा बाइबलको सत्य सिकाइरहेका छौँ। आफूले परमेश्‍वरको वचनबाट सिकेको कुरा हामीलाई असाध्यै मन पर्छ। त्यसैले हामीलाई आफूले जाने-बुझेको सबै कुरा बताउन मन लाग्ला। तर प्रहरीधरहरा अध्ययन, मण्डली बाइबल अध्ययन वा गृह बाइबल अध्ययन सञ्चालन गर्दा नै किन नहोस्‌, सञ्चालक आफै मात्र धेरै बोल्नु हुँदैन। बाइबललाई नै बोल्न दिएर सञ्चालकले आत्मसंयम देखाउनुपर्छ अनि कुनै बाइबल पद वा विषयबारे आफूले जाने-बुझेको सबै कुरा बताउन खोज्नु हुँदैन। (युह. १६:१२) बप्तिस्मा गर्दा तपाईँसित बाइबलको जति ज्ञान थियो, त्यसलाई अहिले तपाईँसित भएको ज्ञानसित तुलना गरेर हेर्नुहोस्‌। सायद बप्तिस्मा गर्नुअघि तपाईँले बाइबलको प्राथमिक शिक्षा मात्र बुझ्नुभएको थियो। (हिब्रू ६:१) आज तपाईँलाई बाइबलबारे जे-जति थाह छ, त्यो सिक्न वर्षौँ लाग्यो। त्यसैले नयाँ विद्यार्थीलाई भएभरको कुरा एकैचोटि सिकाउन नखोज्नुहोस्‌। w२०.१० पृ. १४-१५ अनु. २-४

शनिबार, नोभेम्बर १९

के यो त्यही सिकर्मी होइन? के यो मरियमको छोरा . . . होइन र?—मर्कु. ६:३.

यहोवाले येसुको आमाबुबा बन्‍न असल पुरुष र स्त्रीलाई रोज्नुभयो। (मत्ति १:१८-२३; लुका १:२६-३८) बाइबलमा रेकर्ड गरिएको मरियमका मनै छुने अभिव्यक्‍तिहरू विचार गर्दा उनी यहोवा र उहाँको वचनलाई असाध्यै माया गर्थिन्‌ भन्‍न सकिन्छ। (लुका १:४६-५५) अनि युसुफले यहोवाका निर्देशनहरू पालन गरेको कुराबाट तिनी परमेश्‍वरको डर मान्थे र उहाँलाई खुसी तुल्याउन चाहन्थे भन्‍ने देखिन्छ। (मत्ति १:२४) यो कुरा याद गर्नुहोस्‌, यहोवाले येसुको आमाबुबा बन्‍न धनाढ्य व्यक्‍तिहरू रोज्नुभएन। येसुको जन्म भएपछि युसुफ र मरियमले चढाएको बलिदानलाई विचार गर्दा तिनीहरू गरिब थिए भन्‍ने देखिन्छ। (लुका २:२४) युसुफ र मरियमका कम्तीमा सात जना छोराछोरी थिए। त्यसैले परिवार ठूलो हुँदै जाँदा सायद तिनीहरूले झनै सरल जीवन बिताउनुपऱ्‍यो। (मत्ति १३:५५, ५६) यहोवाले येसुलाई केही खतराबाट जोगाउनुभयो। तर उहाँले आफ्नो छोरालाई कतिपय समस्याहरू भोग्न दिनुभयो। (मत्ति २:१३-१५) जस्तै: येसुले उहाँमाथि विश्‍वास नगर्ने आफन्तहरूसित उठबस गर्नुपर्थ्यो। तिनीहरूले सुरुमा उहाँ मसीह हुनुहुन्छ भनेर स्विकारेनन्‌। (मर्कु. ३:२१; युह. ७:५) त्यसैगरि येसुले आफ्नो बुबा युसुफको मृत्युको पीडा पनि सहनुपऱ्‍यो। w२०.१० पृ. २६-२७ अनु. ४-६

आइतबार, नोभेम्बर २०

म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।—हिब्रू १३:५.

के तपाईँलाई आफूले भोगिरहेका समस्याहरूको सामना गर्न मदत दिने कोही छैन जस्तो कहिल्यै लागेको थियो? थुप्रैले त्यस्तो महसुस गरेका छन्‌, यहोवाका वफादार सेवकहरूले समेत। (१ राजा १९:१४) तपाईँलाई पनि त्यस्तै लागेको छ भने यहोवाको यो प्रतिज्ञा सम्झनुहोस्‌: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” त्यसैले हामी निर्धक्क भएर यसो भन्‍न सक्छौँ: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।” (हिब्रू १३:५, ६) प्रेषित पावलले यी शब्दहरू इस्वी संवत्‌ ६१ मा यहुदियाका ख्रिष्टियनहरूलाई लेखेका थिए। तिनका शब्दहरूले हामीलाई भजन ११८:५-७ मा लेखिएका शब्दहरू सम्झाउँछ। यी भजनरचयिताले जस्तै पावलले पनि यहोवा मदतगार हुनुहुन्छ भनेर आफैले अनुभव गरेका थिए। उदाहरणको लागि, पावलले हिब्रूहरूलाई पत्र लेख्नुभन्दा दुई वर्षअघि तिनी समुद्री यात्रामा हुँदा भीषण आँधी चलेको थियो। (प्रेषि. २७:४, १५, २०) त्यस यात्रामा र त्यसअघि पनि यहोवा थुप्रै तरिकामा पावलको मदतगार साबित हुनुभएको थियो। w२०.११ पृ. १२ अनु. १-२

सोमबार, नोभेम्बर २१

उहिले-उहिलेका दिन किन अहिलेका भन्दा राम्रा थिए भनेर नसोध।—उप. ७:१०.

विगतका दिनहरू अहिलेको भन्दा राम्रा थिए भनेर सोचिरहनु किन बुद्धिमानी होइन? विगतका कुराहरू सम्झँदा हामीमा राम्रा कुराहरू मात्र सम्झने झुकाव हुन सक्छ। उदाहरणको लागि, पुरातन इस्राएलीहरूलाई विचार गरौँ। मिश्र छोडेपछि इस्राएलीहरूले त्यहाँ आफ्नो जीवन कत्ति कष्टकर थियो भन्‍ने कुरा तुरुन्तै बिर्से र त्यहाँ खाएको मीठा-मीठा खानेकुराबारे सोच्न थाले। तिनीहरूले भने: “मिश्रमा छँदा सित्तैमा खान पाइरहेको माछा हामी झलझली सम्झन्छौँ। त्यहाँ काँक्रो, खरबुजा, प्याज र लसुनको कुनै अभाव थिएन!” (गन्ती ११:५) तर के तिनीहरूले साँच्चै “सित्तैमा” खान पाएका थिए? थिएन। इस्राएलीहरूले मिश्रमा दासको रूपमा अत्याचार भोगेका थिए। तिनीहरूलाई काममा दलाउनसम्म दलाइएको थियो। (प्रस्थ. १:१३, १४; ३:६-९) तैपनि तिनीहरूले पहिला भोगेको दुःख बिर्से र त्यहीँ फर्कन पाए हुन्थ्यो भनेर सोच्न थाले। यहोवाले तिनीहरूको लागि गरिदिनुभएको असल कुराहरूमा ध्यान दिनुको साटो तिनीहरू मीठा यादहरूमा मात्र घोरिए। यहोवा तिनीहरूको यस्तो मनोवृत्ति देखेर खुसी हुनुभएन।—गन्ती ११:१०. w२०.११ पृ. २५ अनु. ५-६

मङ्‌गलबार, नोभेम्बर २२

यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।—भज. ३४:१८.

कहिलेकाहीँ हामीलाई जीवन छोटो र “दुःखैदुःखले भरिएको” छ जस्तो लाग्न सक्छ। (अय्यु. १४:१) त्यसैले कहिलेकाहीँ हामी निराश हुनु स्वाभाविकै हो। पुरातन समयका थुप्रै यहोवाका सेवकले पनि त्यस्तै महसुस गरे। कोही त मर्नसमेत चाहे। (१ राजा १९:२-४; अय्यु. ३:१-३, ११; ७:१५, १६) तर तिनीहरूले भरोसा राखेको परमेश्‍वर यहोवाले तिनीहरूलाई पटक-पटक आश्‍वासन र बल दिनुभयो। तिनीहरूको विवरण हाम्रै शिक्षाको लागि र हामीलाई सान्त्वना दिनको लागि रेकर्ड गरिएका हुन्‌। (रोमी १५:४) याकुबका छोरा युसुफलाई विचार गर्नुहोस्‌। छोटो समयमै युसुफको जीवन उलटपुलट भयो। आफ्नो बुबाको प्यारो छोरा युसुफ एकाएक मूर्तिपूजक मिश्री अफिसरको घरमा तुच्छ दास बन्‍न पुगे। (उत्प. ३७:३, ४, २१-२८; ३९:१) त्यसपछि पोतिफरकी पत्नीले युसुफमाथि बलात्कारको गलत आरोप लगाइन्‌। छानबिनै नगरी पोतिफरले युसुफलाई झ्यालखानामा हाले र तिनलाई फलामका साङ्‌लाले बाँधेर राखियो। (उत्प. ३९:१४-२०; भज. १०५:१७, १८) पक्कै पनि युसुफ निराश हुनुको जायज कारण थियो। w२०.१२ पृ. १६-१७ अनु. १-४

बुधबार, नोभेम्बर २३

तपाईँको नाम पवित्र पारियोस्‌।—मत्ति ६:९.

यो कुरा येसुले नमुना प्रार्थनामा सुरुमै उल्लेख गर्नुभयो। तर येसुका यी शब्दहरूको अर्थ के हो? कुनै कुरालाई पवित्र पार्नु भनेको त्यसलाई चोखो, सफा वा शुद्ध पार्नु हो। त्यसैले कसै-कसैको मनमा यस्तो प्रश्‍न उठ्‌न सक्छ, ‘के यहोवाको नाम पहिल्यैदेखि पवित्र, सफा र शुद्ध थिएन र?’ यस प्रश्‍नको जवाफ पाउन नाममा के-के समावेश हुन्छ भनेर बुझ्नुपर्छ। नाम भनेको पानामा लेखिएका अक्षरहरूको सँगालो वा उच्चारण मात्र होइन। यसबारे बाइबल के भन्छ, ध्यान दिनुहोस्‌: “प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो।” (हितो. २२:१; उप. ७:१) त्यसोभए नाम किन यत्तिको महत्त्वपूर्ण छ? किनभने यसमा नाम वहन गर्ने व्यक्‍तिको प्रतिष्ठा अर्थात्‌ अरूले तिनीबारे के सोच्छन्‌ भन्‍ने कुरा समावेश छ। त्यसैले नाम कसरी लेखिन्छ वा उच्चारण गरिन्छ, त्यो सबैभन्दा महत्त्वपूर्ण होइन। बरु सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो नाम देख्दा वा सुन्दा अरूले कसलाई सम्झन्छन्‌ अनि उनीहरू तिनीबारे के सोच्छन्‌ भन्‍ने हो। मानिसहरूले यहोवाबारे झूटा कुराहरू फैलाउँदा उहाँको प्रतिष्ठामा आँच पुऱ्‍याइरहेका हुन्छन्‌। तिनीहरूले उहाँको प्रतिष्ठामा आँच पुऱ्‍याउँदा उहाँको नाम बदनाम गर्न खोजिरहेका हुन्छन्‌। w२०.०६ पृ. २-३ अनु. ५-७

बिहीबार, नोभेम्बर २४

म एकदमै पीडित भएको छु, तपाईँ नै भन्‍नुहोस्‌, हे यहोवा, म कतिन्जेल सहूँ?—भज. ६:३.

अत्यन्तै कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा हामी चिन्ता-फिक्रीमा डुब्न सक्छौँ। जस्तै: आफ्ना आवश्‍यकताहरू पूरा गर्न पुग्दो पैसा कमाउन नसकिने हो कि भनेर हामीलाई चिन्ता लाग्न सक्छ अथवा बिरामी भएर काममै जान नसकिएला वा जागिरै गुमाउनुपर्ला भन्‍ने पिर पनि पर्न सक्छ। परमेश्‍वरको आज्ञा तोड्‌ने प्रलोभन आउँदा वफादार रहन नसक्ने हो कि भनेर पनि हामीलाई चिन्ता लाग्न सक्छ। अब चाँडै सैतानले त्यसको अधीनमा भएका मानिसहरूलाई चलाएर हामीमाथि आक्रमण गर्नेछ। त्यस्तो अवस्थामा के गर्ने होला भनेर पनि हामीलाई चिन्ता लाग्न सक्छ। त्यसैले हाम्रो मनमा यस्तो प्रश्‍न आउन सक्छ: ‘यस्ता कुराहरूबारे चिन्ता लाग्नु गलत हो र?’ येसुले आफ्ना अनुयायीहरूलाई “चिन्ता गर्न छोडिहाल” भन्‍नुभएको थियो। (मत्ति ६:२५) के उहाँले कुनै कुराको चिन्ता गर्नै हुँदैन भन्‍न खोज्नुभएको हो? पक्कै पनि होइन! विगतमा पनि परमेश्‍वरका केही सेवकहरूले चिन्ता-फिक्रीसित सङ्‌घर्ष गर्नुपरेको थियो। तैपनि तिनीहरूले यहोवाको अनुमोदन गुमाएनन्‌। (१ राजा १९:४) वास्तवमा येसुले हामीलाई आश्‍वासन दिँदै हुनुहुन्थ्यो। उहाँ हामीले परमेश्‍वरसितको सम्बन्धमा नै नकारात्मक असर पर्नेगरि आफ्ना आवश्‍यकताहरूबारे औधी चिन्ता गरेको चाहनुहुन्‍न। w२१.०१ पृ. ३ अनु. ४-५

शुक्रबार, नोभेम्बर २५

स्त्रीको शिर पुरुष [हो]।—१ कोरि. ११:३.

आफ्नो परिवारसँग गर्ने व्यवहारको लागि एक जना पति यहोवा र येसुप्रति जबाफदेही छन्‌। (१ पत्रु. ३:७) यहोवा स्वर्ग र पृथ्वीमा भएको आफ्नो परिवारको शिर हुनुभएकोले आफ्ना छोराछोरीको लागि नियम बनाउने र त्यो लागू गराउने अख्तियार उहाँसित छ। (यसै. ३३:२२) ख्रिष्टियन मण्डलीको शिरको हैसियतमा येसुसित पनि मण्डलीको लागि नियम बनाउने र त्यो लागू गराउने अधिकार छ। (गला. ६:२; कल. १:१८-२०) यहोवा र येसुसित जस्तै ख्रिष्टियन परिवारका शिरसित पनि आफ्नो परिवारको लागि नियम बनाउने अख्तियार छ। (रोमी ७:२; एफि. ६:४) तर तिनको अख्तियारको सीमा छ। उदाहरणको लागि, तिनले परिवारको लागि बनाउने नियमहरू परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूमा आधारित हुनुपर्छ। (हितो. ३:५, ६) अनि तिनीसित आफ्नो परिवारबाहेकका व्यक्‍तिहरूको लागि नियमहरू बनाउने अख्तियार हुँदैन। (रोमी १४:४) साथै छोराछोरी हुर्केर छुट्टै बस्न थालेपछि तिनीहरूले आफ्नो बुबाको आदर त गर्नुपर्छ तर तिनीहरू तिनको शिरत्वको अधीनमा भने हुँदैनन्‌।—मत्ति १९:५. w२१.०२ पृ. २-३ अनु. ३-५

शनिबार, नोभेम्बर २६

आफन्तको . . . हेरविचार [गर]।—१ तिमो. ५:८.

परिवारको शिरले आफ्नो परिवारलाई प्रेम गरेको देखाउन सक्ने एउटा महत्त्वपूर्ण तरिका तिनीहरूको भौतिक आवश्‍यकताहरू पूरा गरेर हो। तर तिनले परिवारको भौतिक आवश्‍यकतासँगसँगै आध्यात्मिक आवश्‍यकता पनि पूरा गर्नुपर्छ भनेर मनमा राख्नुपर्छ। (मत्ति ५:३) आफ्नो जीवनको अन्तिम क्षणमा असह्‍य पीडामा भए पनि येसुले प्रेषित युहन्‍नालाई मरियमको आवश्‍यकताको ख्याल राख्न आग्रह गर्नुभयो। (युह. १९:२६, २७) कुनै भाइ जो परिवारका शिर हुन्‌, तिनले थुप्रै जिम्मेवारी सम्हालिरहेका हुन सक्छन्‌। तिनले आफ्नो जागिरमा कडा मेहनत गर्नुपर्छ र यसो गर्दा तिनले यहोवाको पनि प्रशंसा गरिरहेका हुन्छन्‌। (एफि. ६:५, ६; ति. २:९, १०) साथै तिनले मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्ने र प्रचारकार्यमा नेतृत्व लिनेजस्ता जिम्मेवारीहरू सम्हालिरहेका हुन सक्छन्‌। यसबाहेक तिनले आफ्नी पत्नी र छोराछोरीसित नियमित रूपमा बाइबल अध्ययन गर्नु पनि महत्त्वपूर्ण छ। आफ्नो परिवारको शारीरिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यको ख्याल राख्न तिनले गरेको मेहनतको परिवारका अरू सदस्यहरूले पक्कै मोल गर्नेछन्‌।—एफि. ५:२८, २९; ६:४. w२१.०१ पृ. १२ अनु. १५, १७

आइतबार, नोभेम्बर २७

[सुयोग्य पत्नी] आफ्नो परिवारको रेखदेख गर्छिन्‌।—हितो. ३१:२७.

बाइबलमा एक जना सुयोग्य पत्नीले गर्ने कामबारे चर्चा गरिएको छ। जस्तै: तिनी घरपरिवारको रेखदेख गर्छिन्‌, जग्गाजमिन किनबेच गर्छिन्‌ र व्यापार व्यवसाय सम्हाल्छिन्‌। (हितो. ३१:१५, १६, १८) तिनी आफ्नो विचार व्यक्‍त गर्न नपाउने दासजस्तो होइनन्‌। बरु तिनका पति तिनलाई भरोसा गर्छन्‌ र तिनका विचारहरू बुझ्छन्‌। (हितो. ३१:११, २६) कुनै पुरुषले आफ्नी पत्नीलाई यसरी नै आदर देखाउँछन्‌ भने तिनी पनि खुसीसाथ आफ्नो पतिको अधीनमा बस्नेछिन्‌। येसुले ठूलठूला कामहरू गर्नुभए तापनि उहाँ यहोवाको अधीनमा बस्नुभयो। उहाँले यहोवाको अधीनमा बस्नु भनेको आफूलाई होच्याउनु हो भनेर कहिल्यै सोच्नुभएन। (१ कोरि. १५:२८; फिलि. २:५, ६) येसुको उदाहरण अनुकरण गर्ने सुयोग्य पत्नीले आफ्नो पतिको अधीनमा बस्नु भनेको आफूलाई होच्याउनु होइन भनेर बुझेकी हुन्छिन्‌। आफ्नो पतिलाई प्रेम गर्ने भएकोले मात्र होइन तर मुख्यगरि यहोवालाई प्रेम र आदर गर्ने भएकोले तिनी आफ्नो पतिलाई साथ दिन्छिन्‌। ख्रिष्टियन पत्नी आफ्नो पतिको अधीनमा बस्नुपर्छ। तर तिनको पतिले तिनलाई बाइबलको नियम वा सिद्धान्तविपरीत काम गर्न लगाउँदा तिनी आफ्नो पतिलाई समर्थन गर्दिनन्‌। w२१.०२ पृ. ११ अनु. १४-१५; पृ. १२ अनु. १९

सोमबार, नोभेम्बर २८

सङ्‌कष्टले सहनशीलता उत्पन्‍न गराउँछ।—रोमी ५:३.

परमेश्‍वरप्रतिको प्रेमले यहोवाका सेवकहरूलाई खेदो सहन सधैँ मदत गरेको छ। उदाहरणको लागि, प्रेषितहरूलाई यहुदीहरूको सर्वोच्च अदालतले प्रचारको काम बन्द गर्न आदेश दिएको थियो। तर परमेश्‍वरप्रतिको प्रेमले तिनीहरूलाई ‘मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍न’ उत्प्रेरित गऱ्‍यो। (प्रेषि. ५:२९; १ युह. ५:३) यस्तो अटुट प्रेमले आज हाम्रा दाजुभाइ दिदीबहिनीलाई पनि बलियो बनाएको छ। तिनीहरूमध्ये थुप्रैले क्रूर र शक्‍तिशाली सरकारहरूको खेदो वफादार भई सहेका छन्‌। संसारले हामीलाई घृणा गरे तापनि हामी निराश हुँदैनौँ। बरु हामी रमाउँछौँ। (प्रेषि. ५:४१; रोमी ५:४, ५) हामीले आफ्नै परिवारको सदस्यबाट विश्‍वासको ठूलो परीक्षा सहनुपर्ने हुन सक्छ। बाइबलको कुरा सिक्न सुरु गर्दा हामीलाई कसैले बहकाएको हो कि जस्तो परिवारका सदस्यहरूलाई लाग्न सक्छ। अरूलाई हाम्रो दिमाग खुस्कियो जस्तो लाग्न सक्छ। (मर्कु. ३:२१ तुलना गर्नुहोस्‌।) तिनीहरूले हामीलाई दुर्व्यवहारसमेत गर्न सक्छन्‌। तर तिनीहरूले विरोध गर्दा हामीले अचम्म मान्‍नु पर्दैन। किनकि येसुले यसो भन्‍नुभएको थियो: “मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌।”—मत्ति १०:३६. w२१.०३ पृ. २१ अनु. ६-७

मङ्‌गलबार, नोभेम्बर २९

हरेक मानिस सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।—याकु. १:१९.

कुनै प्रकाशकसित तिनको बाइबल अध्ययनमा जाँदा तिनी र तिनको विद्यार्थीको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। यसो गर्दा तपाईँले ठीक समयमा केही भन्‍न सक्नुहुनेछ। तर तपाईँले सोचविचार गरेर मात्र बोल्नुपर्छ। उदाहरणको लागि, तपाईँ आफै मात्र बोलेको बोल्यै गर्नु हुँदैन। अध्ययन सञ्चालकले बुझाइरहेको बेला बीचमै कुरा काट्‌नु हुँदैन वा विषयसित सम्बन्धित नभएको कुरा गर्नु हुँदैन। बरु छोटकरीमा केही बताएर, उदाहरण चलाएर वा प्रश्‍न सोधेर छलफल भइरहेको बुँदालाई अझ राम्ररी बुझ्न मदत गर्न सक्नुहुन्छ। कहिलेकाहीँ सञ्चालकले सबै कुरा बुझाइसकेको हुनाले तपाईँले थपथाप गरिराख्नु आवश्‍यक नहुन सक्छ तर विद्यार्थीको प्रशंसा गरेर र मायालु चासो देखाएर तपाईँ तिनलाई मदत गर्न सक्नुहुन्छ। उपयुक्‍त भएमा तपाईँले सत्य कसरी सिक्नुभयो, कुनै चुनौतीको सामना कसरी गर्नुभयो वा यहोवाले तपाईँलाई मदत गर्नुभएको कुरा कसरी अनुभव गर्नुभएको छ, त्यसबारे विद्यार्थीलाई छोटकरीमा बताउन सक्नुहुन्छ। (भज. ७८:४, ७) तपाईँको अनुभवबाट तिनले चाहिएकै प्रोत्साहन पाउन सक्छन्‌। यसले तिनको विश्‍वासलाई बलियो बनाउन सक्छ वा तिनलाई बप्तिस्मासम्म प्रगति गर्न प्रोत्साहन दिन सक्छ। w२१.०३ पृ. १० अनु. ९-१०

बुधबार, नोभेम्बर ३०

सबै जातिका मानिसहरूलाई चेला बनाओ।—मत्ति २८:१९.

प्रचारकार्यमा हामीले राम्रो नतिजा हासिल गर्नुपछाडि कसको हात छ? त्यस प्रश्‍नको जवाफ पावलले कोरिन्थको मण्डलीबारे लेखेका यी शब्दहरूमा पाइन्छ: “मैले रोपेँ, अपोल्लसले पानी हाले तर परमेश्‍वरले त्यसलाई हुर्काइरहनुभयो। त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्‍वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।” (१ कोरि. ३:६, ७) प्रचारकार्यमा राम्रो नतिजा हासिल गर्दा पावलले जस्तै हामीले पनि त्यसको श्रेय सधैँ यहोवालाई दिनुपर्छ। परमेश्‍वर, ख्रिष्ट अनि स्वर्गदूतहरूको “सहकर्मी” हुने सुअवसरप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ? (२ कोरि. ६:१) अरूलाई सुसमाचार सुनाउने मौका खोज्न जोडतोडका साथ लागेर। हामीले सत्यको बिउ रोप्नुका साथै त्यसमा पानी हाल्नुपर्छ। कसैले सत्यप्रति चासो देखाउँदा बाइबल अध्ययन सुरु गर्ने लक्ष्य राखेर हामी तिनलाई फेरि भेट्‌न सक्दो कोसिस गर्न चाहन्छौँ। यहोवाले ती बाइबल विद्यार्थीको सोचाइ अनि भावना परिवर्तन गर्न मदत गर्नुभएको देख्दा हामी आनन्दित हुनेछौँ। w२०.०५ पृ. ३० अनु. १४, १६-१८

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने