जनवरी
बुधबार, जनवरी १
एक जना मानिसको लास लगिँदै थियो। ऊ एउटी विधवाको एक मात्र छोरा थियो।—लुका ७:१२.
येसुले सुरुमा ती शोकाकुल आमालाई ‘देख्नुभयो’ र त्यसपछि ‘टिठाउनुभयो।’ (लुका ७:१३) तर येसुले ती आमाको दुःख महसुस मात्र गर्नुभएन, तिनको दुःख हटाउन कदम पनि चाल्नुभयो। उहाँले तिनलाई ढाडस दिँदै यसो भन्नुभयो: “नरोऊ।” त्यसपछि उहाँ तिनलाई मदत गर्न अग्रसर हुनुभयो। उहाँले त्यस छोरालाई जीवित पार्नुभयो र “उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो।” (लुका ७:१४, १५) येसुले त्यस विधवाका छोरालाई फेरि जीवित पार्नुभएको चमत्कारबाट हामी के सिक्न सक्छौँ? हामीले शोकाकुल व्यक्तिहरूलाई करुणा देखाउनुपर्छ। येसुले जस्तै शोकाकुल व्यक्तिहरूको अवस्था याद गऱ्यौँ भने हाम्रो मन करुणाले भरिन सक्छ। अनि आफ्नो बोली र व्यवहारबाट तिनीहरूलाई करुणा देखाउन अग्रसर हुन सक्छौँ। (हितो. १७:१७; २ कोरि. १:३, ४; १ पत्रु. ३:८) हामीले भन्ने दुईचार शब्द र सानो मदतबाट तिनीहरूले ठूलो सान्त्वना पाउन सक्छन्। w२३.०४ पृ. ५-६ अनु. १३-१५
बिहीबार, जनवरी २
यस बिमारीको अन्तिम परिणाम मृत्यु हुनेछैन तर यसले परमेश्वरको महिमा गर्नेछ।—युह. ११:४.
आफ्नो मित्र लाजरसको मृत्यु भएको खबर पाएपछि पनि येसु अझै दुई दिन पहिलेकै ठाउँमा बस्नुहुन्छ र त्यसपछि बेथानि जानुहुन्छ। उहाँ त्यहाँ पुग्नुहुँदा लाजरस मरेको चार दिन भइसकेको हुन्छ। येसु यहोवाको महिमाको लागि र आफ्ना साथीहरूको लागि केही गर्न चाहनुहुन्छ। (युह. ११:६, ११, १७) यस विवरणबाट हामी मित्रताबारे एउटा पाठ सिक्न सक्छौँ। यो कुरा विचार गरौँ: मरियम र मार्थाले येसुलाई खबर पठाउँदा उहाँलाई बेथानि आउन आग्रह गरेका थिएनन्। तिनीहरूले उहाँको प्यारो साथी बिरामी परेका छन् मात्र भनेका थिए। (युह. ११:३) लाजरसको मृत्यु भएपछि येसुले आफू टाढै भए पनि तिनलाई जीवित पार्न सक्नुहुन्थ्यो। तर आफ्ना साथीहरू मरियम र मार्थालाई साथ दिन उहाँ बेथानि जानुभयो। के तपाईँको पनि यस्तो साथी छ, जो तपाईँले केही मदत नमागे पनि तपाईँलाई मदत गर्न अग्रसर हुन्छ? “दुःखमा” त्यस्तो साथीमा भर पर्न सकिन्छ भनेर तपाईँलाई थाह छ। (हितो. १७:१७) हामी पनि येसुजस्तै सहयोगी साथी बनौँ। w२३.०४ पृ. १० अनु. १०-११
शुक्रबार, जनवरी ३
प्रतिज्ञा गर्ने जो हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ।—हिब्रू १०:२३.
परीक्षा भोगिरहेको बेला हामीलाई नयाँ संसार कहिल्यै आउँदैन जस्तो लाग्न सक्छ। के यसको मतलब हाम्रो विश्वास कमजोर छ भन्ने हो? पक्कै होइन। एउटा उदाहरण विचार गरौँ। कठ्याङ्ग्रिने जाडोको बेला हामीलाई गर्मीयाम कहिल्यै आउँदैन जस्तो लाग्न सक्छ। तर त्यो एकदिन पक्कै आउँछ। त्यस्तै गरी, एकदमै निराश भएको बेला हामीलाई नयाँ संसार कहिल्यै आउँदैन जस्तो लाग्न सक्छ। तर हाम्रो विश्वास बलियो छ भने परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त हुन्छौँ। (भज. ९४:३, १४, १५; हिब्रू ६:१७-१९) त्यही विश्वासले हामीलाई यहोवाको उपासनालाई पहिलो स्थानमा राख्न मदत गर्नेछ। बलियो विश्वास चाहिने अर्को क्षेत्र हो—साक्षीकार्य। परमेश्वरले ल्याउनुहुने नयाँ संसारबारे “सुसमाचार” सुनाउँदा थुप्रै मानिस त्यसलाई वाहियात कुरा ठान्छन्। (मत्ति २४:१४; इज. ३३:३२) हामी तिनीहरूजस्तै परमेश्वरका प्रतिज्ञाहरूमा कहिल्यै शङ्का गर्न चाहँदैनौँ। यस्तो मनोवृत्तिदेखि जोगिन हामीले आफ्नो विश्वासलाई बलियो बनाइराख्नुपर्छ। w२३.०४ पृ. २७ अनु. ६-७; पृ. २८ अनु. १४
शनिबार, जनवरी ४
हामीले उहाँसित मागेका कुराहरू उहाँले दिनुहुन्छ भनेर हामी पक्का छौँ।—१ युह. ५:१५.
के तपाईँको मनमा कहिल्यै यस्तो कुरा आएको छ: ‘यहोवाले मेरो प्रार्थनाको जवाफ दिइरहनुभएको छ कि छैन होला?’ विशेषगरि गाह्रो अवस्थाको बेला थुप्रै भाइबहिनीले यस्तै महसुस गरेका छन्। कुनै समस्याको सामना गर्दै छौँ भने हामीलाई पनि यहोवाले कसरी प्रार्थनाको जवाफ दिइरहनुभएको छ भनेर थाह पाउन गाह्रो हुन सक्छ। यहोवा आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ भन्ने कुरामा हामी किन विश्वस्त हुन सक्छौँ? यहोवा हामीलाई धेरै प्रेम गर्नुहुन्छ र अनमोल ठान्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। (हाग्गै २:७; १ युह. ४:१०) त्यसैले उहाँ हामीलाई प्रार्थनामा मदत माग्न आग्रह गर्नुहुन्छ। (१ पत्रु. ५:६, ७) उहाँ हामीलाई उहाँको नजिक भइरहन र कठिनाइहरूको सफलतापूर्वक सामना गर्न मदत दिन चाहनुहुन्छ। यहोवाले आफ्ना उपासकहरूको प्रार्थनाको जवाफ दिनुभएको थुप्रै विवरण बाइबलमा पाउन सक्छौँ। के तपाईँ कुनै उदाहरण सम्झन सक्नुहुन्छ? w२३.०५ पृ. ८ अनु. १-४
आइतबार, जनवरी ५
मरियमले भनिन्: “म यहोवाको गुणगान गाउँछु।”—लुका १:४६.
मरियमको यहोवासितको सम्बन्ध बलियो थियो। यहोवामाथिको उनको विश्वास युसुफमा निर्भर थिएन। उनलाई धर्मशास्त्रको राम्रो ज्ञान थियो। उनी मनन गर्न पनि समय निकाल्थिन्। (लुका २:१९, ५१) यहोवासितको सम्बन्धले मरियमलाई असल पत्नी हुन मदत गरेको थियो भन्ने कुरामा कुनै शङ्का छैन। आज थुप्रै पत्नीले मरियमले जस्तै यहोवासितको सम्बन्ध बलियो बनाउन सक्दो कोसिस गर्छन्। जस्तै, एमिको बहिनी यसो भन्छिन्: “म अविवाहित छँदा मेरो व्यक्तिगत अध्ययन गर्ने तालिका थियो। तर विवाहपछि मेरो श्रीमान्ले हाम्रो लागि प्रार्थना गर्नुहुन्थ्यो र उपासनामा पनि नेतृत्व लिनुहुन्थ्यो। यसले गर्दा उपासनासित सम्बन्धित कामकुरा गर्न म उहाँमै भर पर्न थालेको याद गरेँ। यहोवासितको मेरो सम्बन्ध बलियो बनाउन म आफैले कदम चाल्नुपर्छ भनेर मैले महसुस गरेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गर्न, बाइबल पढ्न र त्यसमा मनन गर्न समय निकाल्न थालेँ।” (गला. ६:५) पत्नीहरू हो, यहोवासितको मित्रता बलियो बनाइरहने कोसिस गर्दा तपाईँले पतिबाट अझ धेरै प्रशंसा र प्रेम पाउनुहुनेछ।—हितो. ३१:३०. w२३.०५ पृ. २२ अनु. ६
सोमबार, जनवरी ६
म तिमीहरूलाई यहोवाको भय मान्न सिकाउँछु।—भज. ३४:११.
यहोवाप्रतिको डर आफसेआफ आउने कुरा होइन, हामीले यो विकास गर्न सिक्नुपर्छ। यसो गर्ने एउटा तरिका सृष्टिका कुराहरू नियाल्नु हो। “उहाँले बनाउनुभएका कुराहरू”-मा उहाँको बुद्धि, शक्ति र हामीप्रतिको उहाँको गहिरो प्रेम जत्ति धेरै याद गर्छौँ, उहाँप्रतिको आदर र प्रेम त्यत्ति नै बढ्नेछ। (रोमी १:२०) यहोवाप्रतिको डर विकास गर्ने अर्को तरिका नियमित रूपमा प्रार्थना गर्नु हो। हामी जत्ति धेरै प्रार्थना गर्छौँ, यहोवा हामीलाई त्यत्ति नै वास्तविक लाग्नेछ। प्रत्येक चोटि परीक्षा सहन बल माग्दा हामी उहाँसित अथाह शक्ति छ भनेर सम्झन्छौँ। आफ्नो छोरा हाम्रो लागि पठाउनुभएकोमा धन्यवाद व्यक्त गर्दा यहोवा हामीलाई कत्ति धेरै प्रेम गर्नुहुन्छ भनेर सम्झन्छौँ। कुनै समस्या परेको बेला व्यग्र प्रार्थना गर्दा यहोवा कत्ति बुद्धिमान् हुनुहुन्छ भनेर सम्झन्छौँ। यस्ता प्रार्थनाहरूले यहोवाप्रतिको हाम्रो आदरलाई अझ बढाउँछ। साथै उहाँसितको मित्रतालाई बिगार्न सक्ने कुराहरूदेखि अलग रहने हाम्रो सङ्कल्पलाई अझै बलियो बनाउँछ। w२३.०६ पृ. १५ अनु. ६-७
मङ्गलबार, जनवरी ७
यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ।—यसै. ३३:२२.
यहोवा सर्वोच्च कानुनदाता हुनुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई सधैँ स्पष्ट नियमहरू दिनुभएको छ। जस्तै: प्रथम शताब्दीको परिचालक निकायले ख्रिष्टियनहरू दृढ रहनुपर्ने यी तीन वटा कुराबारे बताए: (१) मूर्तिपूजादेखि अलग रहने र यहोवाको मात्र उपासना गर्ने, (२) रगतसम्बन्धी यहोवाको नियम पालन गर्ने र (३) बाइबलको उच्च नैतिक स्तर पालन गर्ने। (प्रेषि. १५:२८, २९) आज ख्रिष्टियनहरूले यी तीन कुरामा दृढ रहेको कसरी देखाउन सक्छन्? यहोवाको उपासना गरेर र उहाँको आज्ञा मानेर। यहोवाले इस्राएलीहरूलाई उहाँको मात्र भक्ति गर्न आज्ञा दिनुभयो। (व्यव. ५:६-१०) दियाबलले येसुलाई प्रलोभन देखाउँदा मानिसले यहोवाको मात्र उपासना गर्नुपर्छ भनेर येसुले स्पष्टै बताउनुभयो। (मत्ति ४:८-१०) त्यसैले हामी मूर्तिहरूको उपासना गर्दैनौँ न त मानिसहरूको उपासना गर्छौँ। जस्तै: हामी धर्मगुरु, राजनीतिज्ञ वा खेल र मनोरञ्जनजगत्का हस्तीहरूलाई आफ्नो आदर्श ठान्दैनौँ। हामी ‘सबै थोक सृष्टि गर्नुहुने’ परमेश्वरको मात्र उपासना गर्छौँ।—प्रका. ४:११. w२३.०७ पृ. १४-१५ अनु. ३-४
बुधबार, जनवरी ८
यहोवाको डर राख्ने मानिस खराब कामबाट अलग्गै बस्छ।—हितो. १६:६.
सैतानको संसार अवैध यौनसम्बन्ध र अश्लील कुराहरूमा लिप्त छ। (एफि. ४:१९) हामीले परमेश्वरको डर मानिरहनु र खराब कामबाट अलग रहिरहनु महत्त्वपूर्ण छ। हितोपदेश अध्याय ९ मा बुद्धि र मूर्खतालाई दुइटी स्त्रीको रूपमा चित्रण गरिएको छ। दुवै स्त्रीले “अनुभवहीन” मानिसहरूलाई आफूकहाँ आउन निम्तो दिइरहेका छन्। मानौँ, तिनीहरूले यसो भनिरहेका छन्: ‘मेरो घरमा खाना खान आउनुहोस्।’ (हितो. ९:१, ४-६) तर तिनीहरूले कसको निम्तो स्विकारेको हो, त्यसको आधारमा नतिजा भने फरक हुने थियो। “मूर्ख आइमाई”-ले दिएको निम्तोबारे विचार गरौँ। (हितो. ९:१३-१८) ऊ केही अप्ठ्यारो नमानी अनुभवहीन मानिसहरूलाई आफ्नो घरमा आउन र सँगै भोज खान निम्तो दिन्छे। उसको निम्तो स्विकार्नेहरूलाई के हुन्छ? तिनीहरू ‘मृत्युको मुखमा धकेलिन्छन्।’ त्यहाँ “छाडा आइमाई” र “चरित्रहीन आइमाई”-देखि जोगिन चेतावनी दिइएको छ। साथै “त्यसको घरमा जानेहरू मृत्युको मुखमा धकेलिन्छन्” भनेर बताइएको छ। (हितो. २:११-१९) हितोपदेश ५:३-१० मा अर्को “छाडा आइमाई”-देखि जोगिन चेतावनी दिइएको छ, जसको “खुट्टा मृत्युको बाटोतिर लाग्छ।” w२३.०६ पृ. २१-२२ अनु. ६-७
बिहीबार, जनवरी ९
तिमीहरूको व्यावहारिकता सबै मानिसलाई थाह होस्।—फिलि. ४:५.
एल्डरहरूले व्यावहारिक हुने सन्दर्भमा असल उदाहरण बसाल्नुपर्छ। (१ तिमो. ३:२, ३) जस्तै: कुनै एल्डरले आफू जेठो वा अनुभवी भएकोले आफ्नो विचारधारा सधैँ अरू एल्डरहरूले स्विकार्नुपर्छ भन्ने सोचाइ राख्नु हुँदैन। बरु पवित्र शक्तिले कुनै पनि एल्डरलाई उत्प्रेरित गर्न सक्छ र उनले भनेको कुराले एल्डरहरूलाई बुद्धिमानी निर्णय गर्न मदत दिन सक्छ भनेर ती अनुभवी एल्डरले बुझेका हुन्छन्। यदि कुनै बाइबल सिद्धान्त उल्लङ्घन भएको छैन भने व्यावहारिक एल्डरले अरू एल्डरहरूले गरेको फरक निर्णयलाई खुसीसाथ स्विकार्छन्। व्यावहारिक हुँदा ख्रिष्टियनहरूले थुप्रै आशिष् पाउँछन्। जस्तै: भाइबहिनीसितको हाम्रो सम्बन्ध अझ राम्रो हुन्छ र मण्डलीमा शान्ति छाउँछ। फरक-फरक व्यक्तित्व र संस्कृतिका भाइबहिनीसँगै मिलेर सेवा गर्न पाउँदा हामी आनन्दित हुन्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, व्यावहारिक परमेश्वर यहोवाको अनुकरण गरिरहेका छौँ भन्ने कुरा थाह भएकोले हामी आनन्दित हुन्छौँ। w२३.०७ पृ. २५ अनु. १६-१७
शुक्रबार, जनवरी १०
अन्तर्दृष्टि भएकाहरूले चाहिँ बुझ्नेछन्।—दानि. १२:१०.
दानिएलले सही मनसायले भविष्यवाणीहरू अध्ययन गरे। किनकि तिनी सत्य कुरा बुझ्न चाहन्थे। दानिएल नम्र पनि थिए। यहोवाले उहाँलाई चिन्ने र उहाँको स्तरअनुरूप जीवन बिताउनेहरूलाई भविष्यवाणीहरू बुझ्न मदत गर्नुहुनेछ भनेर तिनलाई थाह थियो। (दानि. २:२७, २८) दानिएलले मदतको लागि यहोवामा भर परेर नम्रता देखाए। (दानि. २:१८) दानिएल गहिरो अध्ययन पनि गर्थे। तिनले आफूसँग उपलब्ध भएका धर्मशास्त्रका किताबहरूमा अनुसन्धान गरे। (यर्मि. २५:११, १२; दानि. ९:२) हामी कसरी दानिएलको अनुकरण गर्न सक्छौँ? आफ्नो मनसाय जाँच्नुहोस्। के तपाईँ सत्य कुरा जान्ने तीव्र इच्छा राख्दै बाइबलको भविष्यवाणी अध्ययन गर्नुहुन्छ? गर्नुहुन्छ भने यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ। (युह. ४:२३, २४; १४:१६, १७) केही मानिस बाइबल परमेश्वरको वचन होइन भनेर प्रमाणित गर्न अध्ययन गर्छन्। यदि बाइबल परमेश्वरको वचन होइन भने सही र गलतको स्तर आफैले तोक्न सकिन्छ भनेर तिनीहरू सोच्छन्। तर हामीले सही मनसायले अध्ययन गर्नुपर्छ। w२३.०८ पृ. ९ अनु. ७-८
शनिबार, जनवरी ११
तिमी निराश भयौ भने तिम्रो बल घट्नेछ।—हितो. २४:१०.
आफूलाई अरूसित तुलना गर्दा हामीले आफूबाट अव्यावहारिक मागहरू गरिरहेका हुन्छौँ र त्यसको बोझले हामीलाई दबाउन सक्छ। (गला. ६:४) यसरी तुलना गरिरह्यौँ भने हामी ईर्ष्यालु र प्रतिस्पर्धी हुन सक्छौँ। (गला. ५:२६) आफ्नो क्षमता अनि परिस्थितिले नभ्याउने भए तापनि अरूले जस्तै गर्न खोज्यौँ भने हामीले आफैलाई हानि पुऱ्याइरहेका हुन्छौँ। बाइबल भन्छ: “आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ।” (हितो. १३:१२) झन् त्यसमाथि कहिल्यै हासिल गर्न नसक्ने लक्ष्यहरू राख्दा कत्ति निराश हुन्छौँ होला! त्यस्तो लक्ष्य राख्दा हाम्रो बल र गति घट्न सक्छ। यहोवाले तपाईँबाट जे चाहनुहुन्छ, आफूबाट त्योभन्दा बढ्ता माग नगर्नुहोस्। उहाँ तपाईँसित नभएको कुरा कहिल्यै माग गर्नुहुन्न। (२ कोरि. ८:१२) यहोवाले तपाईँलाई अरूसित तुलना गर्नुहुन्न भन्ने कुरामा विश्वस्त हुनुहोस्। (मत्ति २५:२०-२३) उहाँ तपाईँको तनमनको सेवा, वफादारी र सहनशीलताको मोल गर्नुहुन्छ। w२३.०८ पृ. २९ अनु. १०-११
आइतबार, जनवरी १२
के मलाई तिर्खाले प्याकप्याक भएर मर्न दिनुहुन्छ?—न्याय. १५:१८.
यहोवाले सिमसोनको पुकारा सुन्नुभयो र जमिनमा चिरा पारेर चमत्कारपूर्ण ढङ्गमा पानी निकाल्नुभयो। सिमसोनले त्यो “पानी पिएपछि तिनको तागत आयो र तिनी फुर्तिला भए।” (न्याय. १५:१९) वर्षौँपछि भविष्यवक्ता समुएलले न्यायकर्ताको किताब लेख्ने बेलासम्म पनि पानीको यो नयाँ मूल अस्तित्वमै थियो जस्तो देखिन्छ। त्यस मूलबाट पानी बगिरहेको देख्ने इस्राएलीहरूले यो कुरा सम्झेको हुनुपर्छ: यहोवामा भर पर्दा उहाँले तिनीहरूलाई आवश्यक मदत दिनुहुन्छ। हामीसित जस्तोसुकै खुबी वा क्षमता भए पनि वा यहोवाको सेवामा जस्तोसुकै काम गरेको भए पनि हामीले मदतको लागि उहाँलाई पुकार्नुपर्छ। यहोवामा भर पऱ्यौँ भने मात्र सफल हुन सक्छौँ भनेर हामीले नम्र भई स्विकार्नुपर्छ। उहाँले दिनुभएको पानी पिएपछि सिमसोनले बल पाए। त्यसैगरि यहोवाले गर्नुभएका सबै प्रबन्धको पूरापूर सदुपयोग गऱ्यौँ भने हामीले पनि आध्यात्मिक बल पाउनेछौँ।—मत्ति ११:२८. w२३.०९ पृ. ४ अनु. ८-१०
सोमबार, जनवरी १३
मीठो जवाफले रिसलाई शान्त पार्छ तर कठोर बोलीले रिस उठाउँछ।—हितो. १५:१.
कसैले यहोवा वा बाइबलबारे नराम्रो कुरा गर्दा वा निहुँ खोज्दा के गर्न सक्छौँ? कोमलता देखाउन सकौँ भनेर यहोवासित पवित्र शक्ति र बुद्धि माग्न सक्छौँ। यदि हामीलाई सही तरिकामा प्रतिक्रिया देखाउन नसकेको कुरा पछि मात्र महसुस भयो भने के गर्न सक्छौँ? त्यसबारे फेरि प्रार्थना गर्न सक्छौँ र अर्को चोटि कसरी राम्रो प्रतिक्रिया देखाउने भनेर सोच्न सक्छौँ। त्यसो गर्दा यहोवाले हामीलाई पवित्र शक्ति दिनुहुनेछ अनि हामीले आफ्नो रिसलाई काबूमा राख्न र कोमलता देखाउन सक्नेछौँ। केही बाइबल पदले तनावपूर्ण अवस्थाहरूमा हामीलाई आफ्नो बोलीलाई काबूमा राख्न मदत गर्न सक्छ। पवित्र शक्तिले हामीलाई ती पदहरू स्मरण गराउन सक्छ। (युह. १४:२६) जस्तै: हितोपदेशको किताबमा पाइने सिद्धान्तहरूले हामीलाई कोमल हुन मदत गर्न सक्छ। (हितो. १५:१) तनावपूर्ण अवस्थाहरूमा शान्त रहँदा कस्ता फाइदाहरू हुन्छन् भनेर पनि त्यस किताबमा बताइएको छ।—हितो. १०:१९; १७:२७; २१:२३; २५:१५. w२३.०९ पृ. १५ अनु. ६-७
मङ्गलबार, जनवरी १४
म सधैँ तिमीहरूलाई यी कुराहरू सम्झाइरहने इच्छा गर्छु।—२ पत्रु. १:१२.
प्रेषित पत्रुसलाई आफ्नो मृत्यु नजिकै छ भनेर थाह थियो। वर्षौँको वफादार सेवाको दौडान तिनी येसुसँगसँगै हिँडे, नयाँ-नयाँ इलाकामा साक्षी दिए अनि प्रथम शताब्दीको परिचालक निकायका सदस्यको रूपमा सेवा गरे। तर पत्रुसको सेवा अझै सकिएको थिएन। इस्वी संवत् ६२-६४ तिर तिनले परमेश्वरको प्रेरणा पाएर दुई वटा पत्र लेखे, जसलाई अहिले हामी पहिलो र दोस्रो पत्रुस भन्छौँ। (२ पत्रु. १:१३-१५) पत्रुसले यी पत्रहरू लेख्दा तिनका सङ्गी भाइबहिनीले ‘विभिन्न परीक्षाले गर्दा दुःख भोगिरहेका’ थिए। (१ पत्रु. १:६) झूटा शिक्षकहरूले मण्डलीमा गलत शिक्षाहरू सिकाइरहेका थिए र ख्रिष्टियनहरूलाई छाडा जीवन बिताउन उक्साइरहेका थिए। (२ पत्रु. २:१, २, १४) यरुसलेमका ख्रिष्टियनहरूले चाँडै “सबै कुराको अन्त” भएको आफैले देख्ने थिए; रोमी सेनाले त्यो सहर र त्यहाँको मन्दिरलाई विनाश गर्ने थियो। (१ पत्रु. ४:७) पत्रुसका पत्रहरूले ती ख्रिष्टियनहरूलाई परीक्षाहरूको बाबजुद वफादार रहन र भविष्यमा भोग्नुपर्ने परीक्षाहरूको लागि तयार हुन पक्कै मदत गऱ्यो। w२३.०९ पृ. २६ अनु. १-२
बुधबार, जनवरी १५
आफूले भोगेको दुःखबाट [येसुले] आज्ञाकारी हुन सिक्नुभयो।—हिब्रू ५:८.
येसुजस्तै हामी पनि चुनौतीपूर्ण अवस्थाहरूमा परेपछि अक्सर आज्ञाकारी हुन सिक्छौँ। जस्तै: कोभिड-१९ महामारीको सुरुतिर हामीलाई सभाभवनहरूमा सभा नगर्न अनि घरघरको साक्षीकार्य स्थगित गर्न निर्देशन दिइएको थियो। के तपाईँलाई त्यो निर्देशन पालन गर्न गाह्रो लाग्यो? गाह्रो लागे पनि आज्ञाकारी भएकोले तपाईँ सुरक्षित हुनुभयो, भाइबहिनीसित एकताबद्ध हुनुभयो र यहोवालाई खुसी बनाउन सक्नुभयो। साथै महासङ्कष्टको दौडान पाउने जस्तोसुकै निर्देशन पालन गर्न अझै तयार हुनुभयो। ती निर्देशनहरू पालन गर्छौँ कि गर्दैनौँ भन्ने कुरामा हाम्रो जीवन निर्भर हुनेछ! (अय्यु. ३६:११) यहोवाप्रति आज्ञाकारी हुनुको मुख्य कारण उहाँप्रतिको हाम्रो प्रेम र उहाँलाई खुसी बनाउने हाम्रो चाहना हो। (१ युह. ५:३) यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूको बदलामा हामी उहाँलाई केही पनि दिन सक्दैनौँ। (भज. ११६:१२) तर हामी उहाँप्रति र हामीमाथि अख्तियार भएकाहरूप्रति आज्ञाकारी हुन सक्छौँ। आज्ञाकारी हुँदा हामी बुद्धिमान् छौँ भनेर देखाइरहेका हुन्छौँ। अनि बुद्धिमान् हुँदा यहोवाको हृदयलाई खुसी बनाइरहेका हुन्छौँ।—हितो. २७:११. w२३.१० पृ. ११ अनु. १८-१९
बिहीबार, जनवरी १६
उहाँको उपासना गर, जसले आकाश, पृथ्वी . . . बनाउनुभयो।—प्रका. १४:७.
कुनै स्वर्गदूत तपाईँसित बोल्न आएका भए के तपाईँ तिनको कुरा सुन्नुहुन्थ्यो? वास्तवमा भन्ने हो भने अहिले एक जना स्वर्गदूत “हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरू”-सित कुरा गर्दै छन्। तिनी के भन्दै छन्? “परमेश्वरसित डराओ र उहाँलाई महिमा देओ . . . उहाँको उपासना गर, जसले आकाश, पृथ्वी . . . बनाउनुभयो।” (प्रका. १४:६, ७) सबै मानिसले उपासना गर्नुपर्ने एक मात्र साँचो परमेश्वर यहोवा हुनुहुन्छ। यहोवाले महान् आध्यात्मिक मन्दिरमा सेवा गर्ने अनमोल सुअवसर दिनुभएकोमा हामी उहाँप्रति निकै कृतज्ञ छौँ! आध्यात्मिक मन्दिर भनेको के हो र यसबारे विस्तृत जानकारी कहाँ पाउन सक्छौँ? आध्यात्मिक मन्दिर भनेको साँच्चैको भवन होइन। यो येसु ख्रिष्टको फिरौतीको बलिदानको आधारमा यहोवा परमेश्वरलाई ग्रहणयोग्य उपासना चढाउन उहाँले मिलाउनुभएको प्रबन्ध हो। प्रेषित पावलले यहुदियाका हिब्रू ख्रिष्टियनहरूलाई लेखेको पत्रमा यसबारे विस्तृत रूपमा बताएका छन्। w२३.१० पृ. २४ अनु. १-२
शुक्रबार, जनवरी १७
“न कुनै सैन्य शक्तिले न त मानिसको बलले तर मेरो शक्तिले,” सेनाहरूका यहोवा भन्नुहुन्छ।—जक. ४:६.
ईसापूर्व ५२२ मा यहुदीहरूका शत्रुहरू यहोवाको मन्दिर पुनर्निर्माण गर्ने काममा रोक लगाउन सफल भए। तर यहोवाले पवित्र शक्ति प्रयोग गरेर जुनसुकै बाधाअवरोध हटाउन सक्नुहुन्छ भनेर जकरियाले यहुदीहरूलाई आश्वासन दिए। ईसापूर्व ५२० मा राजा दाराले मन्दिरको काममाथि लगाइएको प्रतिबन्ध हटाए र यहुदीहरूलाई आर्थिक सहयोग गर्नुका साथै त्यस काममा मदत गर्न राज्यपालहरूलाई आदेश दिए। (एज्रा ६:१, ६-१०) यहोवाले इस्राएलीहरूको ख्याल राख्ने प्रतिज्ञा गर्नुभयो तर त्यसको लागि तिनीहरूले मन्दिरको पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिनुपर्थ्यो। (हाग्गै १:८, १३, १४; जक. १:३, १६) भविष्यवक्ताहरूबाट प्रोत्साहन पाएर यहुदीहरूले ईसापूर्व ५२० मा मन्दिर बनाउने काम फेरि सुरु गरे र पाँच वर्षभित्रै सकाए। अचानक गाह्रा परिस्थितिहरूको सामना गर्नुपरे पनि परमेश्वरको इच्छा गर्नुलाई प्राथमिकता दिएकोले यहोवाले तिनीहरूलाई मदत गर्नुभयो। नतिजास्वरूप तिनीहरूले खुसी हुँदै यहोवाको उपासना गरे।—एज्रा ६:१४-१६, २२. w२३.११ पृ. १५ अनु. ६-७
शनिबार, जनवरी १८
हाम्रा बुबा अब्राहामसित जुन विश्वास थियो, त्यसको पदचिन्हमा हिँड्नुहोस्।—रोमी ४:१२.
संसारका थुप्रै मानिसले अब्राहामबारे सुनेका छन्। तर धेरैजसोलाई तिनीबारे थोरै कुरा मात्र थाह छ। तपाईँलाई अब्राहामबारे थुप्रै कुरा थाह छ होला। जस्तै: बाइबलमा अब्राहामलाई “विश्वासले गर्दा धर्मी ठहरिएकाहरू सबैको बुबा” भनिएको छ। (रोमी ४:११) तर तपाईँलाई लाग्ला: ‘के म अब्राहामको पदचिन्हमा हिँड्न र तिनको जस्तै बलियो विश्वास विकास गर्न सक्छु?’ पक्कै सक्नुहुन्छ। अब्राहामको जस्तै विश्वास विकास गर्ने एउटा तरिका तिनको जीवनी अध्ययन गरेर हो। परमेश्वरले आज्ञा दिनुभएअनुसारै अब्राहाम टाढाको देशमा सरे, दशकौँसम्म पालमा जीवन बिताए र आफ्नो प्यारो छोरा इसहाकलाई बलि चढाउन समेत तयार भए। यस्ता कामहरूबाट तिनको विश्वास बलियो छ भन्ने कुरा देखियो। अब्राहामको विश्वास र त्यसबमोजिमको कामले गर्दा तिनले परमेश्वरको अनुमोदन पाए र उहाँको मित्र कहलाइए। (याकु. २:२२, २३) यहोवा तपाईँलगायत हामी सबैले उहाँको अनुमोदन पाएको अनि उहाँसित मित्रता गाँसेको चाहनुहुन्छ। त्यसैले उहाँले पावल र याकुबलाई अब्राहामबारे लेख्न उत्प्रेरित गर्नुभयो। w२३.१२ पृ. २ अनु. १-२
आइतबार, जनवरी १९
हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन।—याकु. १:१९.
बहिनीहरू हो, राम्ररी कुराकानी गर्न सिक्नुहोस्। ख्रिष्टियनहरूले यो सीप विकास गर्नु महत्त्वपूर्ण छ। यस सन्दर्भमा याकुबले आजको पदमा व्यावहारिक सल्लाह दिएका छन्। अरूले बोल्दा ध्यान दिएर सुन्नुभयो भने तपाईँले तिनको “पीडा महसुस” गरिरहनुभएको हुनेछ। (१ पत्रु. ३:८) कसैले भनेको कुरा वा तिनको भावना बुझ्नुभएन भने उपयुक्त प्रश्नहरू सोध्नुहोस्। त्यसपछि बोल्नुअघि एकछिन सोच्नुहोस्। (हितो. १५:२८) आफैलाई सोध्नुहोस्: ‘के मैले भन्न लागेको कुरा साँचो अनि प्रोत्साहनदायी छ? के मैले भन्न लागेको कुराबाट म विचारशील र दयालु भएको देखिन्छ?’ राम्ररी कुराकानी गर्ने परिपक्व दिदीबहिनीबाट सिक्नुहोस्। (हितो. ३१:२६) तिनीहरूले के भन्छन् अनि कसरी बोल्छन्, ध्यान दिनुहोस्। तपाईँले यो सीप जत्ति राम्ररी सिक्नुहुन्छ, अरूसितको तपाईँको सम्बन्ध त्यत्ति नै राम्रो हुनेछ। w२३.१२ पृ. २१ अनु. १२
सोमबार, जनवरी २०
जो अरूदेखि अलग्गै बस्न खोज्छ . . . उसले अरूले दिएको बुद्धिमानी सल्लाह सुन्दैन।—हितो. १८:१.
आज पनि यहोवा हाम्रो परिवार, साथीभाइ र एल्डरहरूलाई चलाएर हामीलाई थाम्न सक्नुहुन्छ। तर एकदमै निराश भएको बेला हामीलाई एक्लै बसिरहूँ जस्तो लाग्न सक्छ; कसैलाई भेट्न वा कसैसित कुरा गर्न समेत मन नलाग्न सक्छ। त्यस्तो लाग्नु स्वाभाविकै हो। तर यहोवाले दिनुहुने मदत पाउन हामी के गर्न सक्छौँ? एक्लै बस्न मन लागे पनि अरूबाट नटाढिन सक्दो कोसिस गर्नुपर्छ। एक्लै बसिरह्यौँ भने आफू वा आफ्ना समस्याहरूबाहेक हाम्रो दिमागमा अरू केही आउँदैन। अनि हामी सही निर्णय गर्न सक्दैनौँ। हुनत दुःखदायी अवस्थामा हामी सबैलाई एकान्तमा बस्ने समय पनि चाहिन्छ। तर लामो समयसम्म अरूदेखि टाढिएर बस्यौँ भने यहोवाले थाम्न चलाउनुहुने माध्यमलाई नै हामीले तिरस्कार गरिरहेका हुन्छौँ। त्यसैले आफ्नो परिवार, साथीभाइ र एल्डरहरूको मदत स्विकार्नुहोस्। तिनीहरूलाई यहोवाले तपाईँलाई थाम्न चलाउनुहुने व्यक्तिको रूपमा हेर्नुहोस्।—हितो. १७:१७; यसै. ३२:१, २. w२४.०१ पृ. २४ अनु. १२-१३
मङ्गलबार, जनवरी २१
उसको शिरमा छुरा नलगाइयोस्।—गन्ती ६:५.
नाजिरीहरूले आफ्नो कपाल नकाट्ने भाकल गरेका हुन्थे। यसले तिनीहरू पूर्णतया यहोवाको अधीनमा रहेको कुरालाई बुझाउँथ्यो। दुःखको कुरा, इस्राएलको इतिहासमा यस्ता दिनहरू पनि थिए, जतिबेला इस्राएलीहरू नाजिरीहरूलाई आदर र समर्थन गर्दैनथे। त्यसैले नाजिरीहरूलाई आफ्नो भाकलअनुरूप चल्न र अरूभन्दा फरक देखिन बेलाबेलामा ठूलो साहस चाहिएको हुनुपर्छ। (आमो. २:१२) यहोवाको इच्छाअनुसार चल्ने छनौट गरेकोले हामी आफू वरपरका मानिसहरूभन्दा फरक देखिन्छौँ। काम गर्ने ठाउँ वा स्कुलमा आफूलाई यहोवाको साक्षी भनेर चिनाउन साहस चाहिन्छ। यस संसारका मानिसहरूको मनोवृत्ति र बानीबेहोरा झन्झनै खराब हुँदै गइरहेको छ। त्यसैले बाइबलको सिद्धान्तअनुसार जीवन बिताउन र मानिसहरूलाई सुसमाचार सुनाउन अझै गाह्रो हुन सक्छ। (२ तिमो. १:८; ३:१३) तर यो कुरा कहिल्यै नबिर्सनुहोस्, संसारका मानिसहरूभन्दा फरक देखिए पनि साहसी भई यहोवाको मार्गमा हिँडिरह्यौँ भने हामीले ‘उहाँको हृदयलाई खुसी बनाइरहेका’ हुनेछौँ।—हितो. २७:११; मला. ३:१८. w२४.०२ पृ. १६ अनु. ७; पृ. १७ अनु. ९
बुधबार, जनवरी २२
एकअर्कालाई स्वागत गर। —रोमी १५:७, फुटनोट।
रोमको मण्डलीका भाइबहिनीबीच भएको विविधताबारे विचार गरौँ। त्यहाँ यहुदीहरू थिए, जसलाई मोसाको व्यवस्था पालन गर्न सिकाइएको थियो। साथै अन्यजातिहरू पनि थिए, जो एकदमै फरक संस्कृतिमा हुर्केका थिए। केही ख्रिष्टियन दास थिए भने केहीचाहिँ स्वतन्त्र थिए र हुन सक्छ, तिनीहरूमध्ये कोही दासहरूका मालिक थिए। ती ख्रिष्टियनहरूले यस्तो विविधताको बाबजुद कसरी आपसी प्रेमलाई बढाउन सके? प्रेषित पावलले तिनीहरूलाई ‘एकअर्कालाई स्वागत गर्न’ आग्रह गरे। तिनी के भन्न खोज्दै थिए? ‘स्वागत गर’ भनेर अनुवाद गरिएको वाक्यांशले कसैलाई आफ्नो घरमा वा आफ्ना साथीहरूको समूहमा मायालुपूर्वक स्वागत गर्नु वा अतिथिसत्कार गर्नुलाई बुझाउँछ। जस्तै: पावलले फिलेमोनलाई घर छोडेर भागेका दास ओनेसिमसलाई “मायालुपूर्वक स्वागत गर” भने। (फिले. १७) अपोल्लसलाई ख्रिष्टियन धर्मबारे प्रिस्किला र अक्विलालाई जत्तिको थाह थिएन तैपनि उनीहरूले अपोल्लसलाई ‘आफूकहाँ लगेर’ स्वागत गरे। (प्रेषि. १८:२६) तिनीहरूले आफूहरूबीचको यस्तो विविधतालाई फुटको कारण बन्न दिएनन् बरु एकअर्कालाई स्वागत गरे। w२३.०७ पृ. ६ अनु. १३
बिहीबार, जनवरी २३
मैले यहोवासित गरेका भाकलहरू . . . पूरा गर्नेछु।—भज. ११६:१४.
तपाईँले समर्पण गर्नुको मुख्य कारण हो, यहोवाप्रतिको तपाईँको प्रेम। त्यो प्रेम “आध्यात्मिक समझ” र “सही ज्ञान”-मा अर्थात् यहोवाबारे तपाईँले सिक्नुभएका कुराहरूमा आधारित छ, यो केवल एउटा भावना मात्र होइन। (कल. १:९) बाइबल अध्ययन गरेर तपाईँ यी कुराहरूमा विश्वस्त हुनुभयो: (१) यहोवा वास्तविक हुनुहुन्छ, (२) बाइबल उहाँको प्रेरित वचन हो र (३) उहाँ आफ्नो इच्छा पूरा गर्न आफ्नो सङ्गठनलाई प्रयोग गर्नुहुन्छ। यहोवालाई जीवन समर्पण गर्नेहरूलाई बाइबलको आधारभूत शिक्षा थाह हुनुपर्छ र तिनीहरूले बाइबलको स्तरअनुरूप जीवन बिताउनुपर्छ। तिनीहरू अवस्थाले दिएसम्म आफ्नो विश्वासबारे अरूलाई बताउँछन्। (मत्ति २८:१९, २०) यहोवाप्रतिको प्रेम बढेकोले तिनीहरू उहाँको मात्र भक्ति गर्न चाहन्छन्। के तपाईँको पनि यहोवाप्रतिको प्रेम बढेको छ? w२४.०३ पृ. ४-५ अनु. ६-८
शुक्रबार, जनवरी २४
तिनीहरू एउटै शरीर हुन्छन्।—उत्प. २:२४.
अबिगेलका पति नाबाल क्रूर थिए र अरूसित नराम्रो व्यवहार गर्थे। (१ समु. २५:३) त्यस्तो व्यक्तिसित जीवन बिताउन अबिगेललाई पक्कै गाह्रो भएको हुनुपर्छ। के अबिगेलले आफ्नो क्रूर पतिबाट मुक्ति पाउने मौका पाएकी थिइन्? थिइन्। इस्राएलका भावी राजा दाउद नाबाललाई मार्न आएका थिए किनभने नाबालले दाउद र तिनका मानिसहरूको अपमान गरेका थिए। (१ समु. २५:९-१३) त्यतिबेला अबिगेल चुपचाप त्यहाँबाट भाग्न सक्थिन् र दाउदलाई आफ्नो योजनाअनुसारै गर्न दिन सक्थिन्। तर उनले त्यसो गरिनन्। बरु उनले दाउदसित नाबालको जीवनको भिख मागिन्। (१ समु. २५:२३-२७) उनलाई त्यसो गर्न केले उत्प्रेरित गरेको हुनुपर्छ? अबिगेल यहोवालाई प्रेम गर्थिन् र विवाहसम्बन्धी उहाँको स्तरको कदर गर्थिन्। यहोवा विवाहलाई पवित्र ठान्नुहुन्छ भनेर उनले बुझेकी थिइन्। उनी परमेश्वरलाई खुसी बनाउन चाहन्थिन्। यही कुराले उनलाई आफ्नो पतिलगायत सम्पूर्ण घरानालाई जोगाउनको लागि सकेजति गर्न उत्प्रेरित गरेको हुनुपर्छ। नाबालको हत्या गर्नदेखि दाउदलाई रोक्न उनले तुरुन्तै कदम चालिन्। w२४.०३ पृ. १६-१७ अनु. ९-१०
शनिबार, जनवरी २५
तपाईँहरूलाई आफ्नो बोलीले हौसला दिने थिएँ।—अय्यु. १६:५.
के तपाईँको मण्डलीमा यहोवाको सेवामा अझ धेरै गर्न सकियोस् भनेर आफ्नो जीवन सरल बनाउने प्रयास गरिरहेका भाइबहिनी छन्? के तपाईँ स्कुलमा अरूभन्दा फरक देखिन साहस देखाइरहेका जवान भाइबहिनीलाई चिन्नुहुन्छ? के तपाईँ परिवारको विरोधको बाबजुद वफादार रहन सङ्घर्ष गरिरहेकाहरूलाई चिन्नुहुन्छ? आफ्ना प्यारा भाइबहिनीलाई प्रोत्साहन दिने हरेक मौकाको सदुपयोग गरौँ अनि तिनीहरूको आत्मत्यागी मनोभाव र साहसको प्रशंसा गरौँ। (फिले. ४, ५, ७) हामी यहोवालाई खुसी बनाउन चाहन्छौँ र समर्पणको वाचाअनुरूप जीवन बिताउन त्यागहरू गर्न तयार छौँ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ। राजीखुसीले उहाँलाई प्रेम देखाउने मौका दिनुभएर उहाँले हामीलाई आदर देखाउनुभएको छ। (हितो. २३:१५, १६) त्यसैले हामी निरन्तर यहोवालाई सर्वोत्तम सेवा चढाउन कटिबद्ध होऔँ! w२४.०२ पृ. १८ अनु. १४; पृ. १९ अनु. १६
आइतबार, जनवरी २६
उहाँ सारा देशभरि असल काम गर्दै र . . . निको पार्दै हिँड्नुभयो।—प्रेषि. १०:३८.
इस्वी संवत् २९ को शरद् ऋतुमा येसुले आफ्नो सेवाको काम सुरु गर्नुहुँदा भएको घटना कल्पना गर्नुहोस्। येसु र उहाँकी आमा मरियमलाई कानाको एउटा विवाह-भोजमा निम्त्याइएको छ। तिनी पाहुनाहरूको स्वागत-सत्कार गर्न व्यस्त छिन् जस्तो देखिन्छ। त्यस भोजमा एउटा समस्या खडा हुन्छ—दाखमद्य सिद्धिन्छ। मरियम तुरुन्तै आफ्नो छोराकहाँ गएर यसो भन्छिन्: “तिनीहरूसित दाखमद्य छैन।” (युह. २:१-३) त्यसपछि येसुले के गर्नुहुन्छ? उहाँले चमत्कार गरेर पानीलाई “असल दाखमद्य”-मा परिणत गर्नुहुन्छ। (युह. २:९, १०) येसुले आफ्नो सेवाको दौडान अन्य थुप्रै चमत्कार गर्नुभयो। उहाँले आफूसित भएको शक्ति प्रयोग गरेर हजारौँ मानिसलाई मदत गर्नुभयो। जस्तै: उहाँले एकचोटि ५ हजार पुरुषलाई खुवाउनुभयो भने अर्को चोटि ४ हजार पुरुषलाई खुवाउनुभयो। (मत्ति १४:१५-२१; १५:३२-३८) यसमा स्त्री र केटाकेटीलाई जोड्ने हो भने मानिसहरूको कुल सङ्ख्या २७ हजारभन्दा धेरै हुन सक्छ।—मत्ति १४:१४; १५:३०, ३१. w२३.०४ पृ. २ अनु. १-२
सोमबार, जनवरी २७
म यहोवा तिम्रा परमेश्वरले तिम्रो दाहिने हात समातेको छु। म तिमीलाई भन्छु, “नडराऊ, म तिमीलाई मदत गर्नेछु।”—यसै. ४१:१३.
एकदमै पीडादायी अवस्थाबाट गुज्रेपछि हामीलाई बेलाबेलामा शारीरिक र भावनात्मक रूपमा गाह्रो हुन सक्छ। एलियालाई जस्तै हामीलाई पनि उठ्न समेत गाह्रो हुन सक्छ; सुतिरहूँ जस्तो लाग्न सक्छ। (१ राजा १९:५-७) हामीलाई यहोवाको सेवामा लागिरहन मदत चाहिन सक्छ। आजको पदमा यहोवाले हामीलाई मदत गर्नेछु भनेर आश्वासन दिनुभएको छ। राजा दाउदले त्यस्तो मदत पाएको अनुभव गरे। परीक्षाहरू र शत्रुहरूको सामना गर्नुपर्दा तिनले यहोवालाई यसो भने: “तपाईँले मलाई आफ्नो दाहिने बाहुलीले थाम्नुभएको छ।” (भज. १८:३५) यहोवा अक्सर अरूलाई चलाएर हामीलाई थाम्नुहुन्छ। जस्तै: एक पटक दाउदले निकै कमजोर महसुस गरेका थिए। त्यतिबेला जोनाथन तिनलाई भेट्न आए र प्रोत्साहनदायी कुरा गरेर तिनलाई हौसला दिए। (१ समु. २३:१६, १७) त्यसैगरि यहोवाले एलियालाई व्यावहारिक मदत दिन एलिसालाई रोज्नुभयो।—१ राजा १९:१६, २१; २ राजा २:२ w२४.०१ पृ. २३-२४ अनु. १०-१२
मङ्गलबार, जनवरी २८
बुद्धि दिने यहोवा नै हुनुहुन्छ; उहाँकै मुखबाट ज्ञान र समझशक्तिको कुरा निस्कन्छ।—हितो. २:६.
यहोवा उदार प्रबन्धकर्ता हुनुहुन्छ र आफ्ना जनहरूलाई प्रशस्त मात्रामा दिनुहुन्छ। उहाँका यी गुणहरू हितोपदेश अध्याय ९ मा स्त्रीको रूपमा चित्रण गरिएको “साँचो बुद्धि”-मा झल्किन्छ। यस विवरणमा बताइएकी प्रतीकात्मक स्त्रीले मासु पकाएर तयार पारेकी छिन्, मसलादार मद्य बनाएकी छिन् र टेबुलमा खानेकुरा पस्केकी छिन्। (हितो. ९:२) यसबाहेक पद ४ र ५ अनुसार “[साँचो बुद्धिले] मूर्खहरूलाई यसो भन्छ: ‘आओ! मसँगै खाओ!’” हामीले किन साँचो बुद्धिको निम्तो स्विकारेर तिनले पस्केको खानेकुरा खानुपर्छ? यहोवा आफ्नो छोराछोरी बुद्धिमान् र सुरक्षित भएको चाहनुहुन्छ। हामीले जीवनमा दुःख भोगेर पाठ सिकेको उहाँ चाहनुहुन्न। त्यसैले “सोझो मानिसको लागि उहाँ व्यावहारिक ज्ञानको स्रोत हुनुहुन्छ।” (हितो. २:७, फुटनोट) हामी यहोवाको डर मान्छौँ भने उहाँलाई खुसी पार्न, उहाँको बुद्धिमानी सल्लाह सुन्न अनि ती पालन गर्न उत्प्रेरित हुन्छौँ।—याकु. १:२५. w२३.०६ पृ. २३ अनु. १४-१५
बुधबार, जनवरी २९
‘तिमीहरूको कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्न।’—हिब्रू ६:१०.
हामीले यहोवाको सेवामा आफूले चाहेजति गर्न सकेका छैनौँ होला। तर हामीले मनैदेखि गरेको सेवाको यहोवा कदर गर्नुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौँ। हामी किन यसो भन्न सक्छौँ? यहोवाले जकरियालाई बेबिलोनको निर्वासनमा रहेकाहरूले पठाएको सुन र चाँदीबाट एउटा मुकुट बनाउनू भन्नुभयो। (जक. ६:११) त्यो “भव्य मुकुट” तिनीहरूले उदार भएर दिएको अनुदानको “चिनो” हुने थियो। (जक. ६:१४, फुटनोट) हामीले गाह्रो अवस्थामा पनि तनमनले गरेको सेवा यहोवा कहिल्यै बिर्सनुहुन्न भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौँ। यस अन्तको दिनमा हामीले अचानक कठिन अवस्थाहरूको सामना गर्नुपर्ने हुन सक्छ र अवस्था झन्झनै खराब हुन सक्छ। (२ तिमो. ३:१, १३) तर हामीले अचाक्ली चिन्ता गर्नुपर्दैन। यहोवाले हाग्गैको समयमा आफ्ना मानिसहरूलाई भन्नुभएका शब्दहरू मनमा राख्नुहोस्: “म तिमीहरूको साथमा छु, . . . तिमीहरू नडराओ।” (हाग्गै २:४, ५) यहोवाको इच्छाअनुसार गर्न सक्दो कोसिस गऱ्यौँ भने उहाँ पक्कै हाम्रो साथमा हुनुहुनेछ। w२३.११ पृ. १९ अनु. २०-२१
बिहीबार, जनवरी ३०
म पापी मानिस हुँ।—लुका ५:८.
यहोवाले बाइबलमा प्रेषित पत्रुसको कमीकमजोरीबारे लेख्न नलगाउन पनि सक्नुहुन्थ्यो। तर उहाँले हाम्रो शिक्षाको लागि ती लेख्न लगाउनुभयो। (२ तिमो. ३:१६, १७) यहोवा हामीले कुनै गल्ती नै नगरेको आशा गर्नुहुन्न भन्ने कुरा पत्रुसको उदाहरणबाट सिक्न सक्छौँ। तिनी हामीजस्तै कमीकमजोरी र भावनाहरू भएका मानिस थिए। यहोवा हामी आफ्नो कमीकमजोरीको बाबजुद उहाँको सेवामा लागिरहेको चाहनुहुन्छ। हामी किन हरेस नखाई यहोवाको सेवामा लागिरहनुपर्छ? हामीलाई आफूले कुनै कमीकमजोरी हटाइसकेको जस्तो लागे पनि हामीबाट फेरि त्यो गल्ती हुन सक्छ। तर हामी आफूलाई सुधार्न मेहनत गरिरहन्छौँ। हामी सबै जना यस्ता कुराहरू भन्छौँ वा गर्छौँ, जसले गर्दा पछि पछुताउँछौँ। तैपनि हरेस खाएनौँ भने यहोवाले हामीलाई प्रगति गरिरहन मदत गर्नुहुनेछ। (१ पत्रु. ५:१०) पत्रुसको कमीकमजोरीको बाबजुद येसुले तिनलाई देखाउनुभएको दयाले हामीलाई यहोवाको सेवामा लागिरहन उत्प्रेरित गर्नेछ। w२३.०९ पृ. २०-२१ अनु. २-३
शुक्रबार, जनवरी ३१
हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।—युह. ११:२१.
आजको पदमा मार्थाले भनेजस्तै हुनत येसुले लाजरसलाई निको पार्न सक्नुहुन्थ्यो। तर उहाँ त्योभन्दा अझै अकल्पनीय काम गर्न चाहनुहुन्थ्यो। उहाँ मार्थालाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तिम्रो भाइ ब्युँतनेछ।” उहाँ अझै यसो भन्नुहुन्छ: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।” (युह. ११:२३, २५) उहाँले परमेश्वरबाट मरेकाहरूलाई जीवित पार्ने शक्ति पाउनुभएको छ। यसअघि उहाँले एउटी सानी केटीलाई उनी मर्नेबित्तिकै अनि एक युवकलाई सम्भवतः तिनी मरेकै दिन ब्युँताउनुभएको थियो। (लुका ७:११-१५; ८:४९-५५) तर के उहाँले मरेको चार दिन भइसकेको र कुहिन थालेको व्यक्तिलाई ब्युँताउन सक्नुहुन्छ? लाजरसकी अर्की दिदी मरियम येसुलाई भेट्न जान्छिन्। मार्थाले जस्तै तिनी पनि यसो भन्छिन्: “हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।” (युह. ११:३२) मरियम र तिनीसँगै भएकाहरू रोइरहेको देखेर येसु पनि असाध्यै दुःखी हुनुहुन्छ र रुनुहुन्छ। आफ्नो प्रियजन गुमाउनुपर्दाको पीडा उहाँ बुझ्नुहुन्छ। हो, उहाँ तिनीहरूको दुःखको कारणलाई हटाउन उत्सुक हुनुहुन्छ! w२३.०४ पृ. १०-११ अनु. १२-१३