प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • es25 pp. ४७-५७
  • मे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे
  • दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
  • उपशीर्षकहरू
  • बिहीबार, मे १
  • शुक्रबार, मे २
  • शनिबार, मे ३
  • आइतबार, मे ४
  • सोमबार, मे ५
  • मङ्‌गलबार, मे ६
  • बुधबार, मे ७
  • बिहीबार, मे ८
  • शुक्रबार, मे ९
  • शनिबार, मे १०
  • आइतबार, मे ११
  • सोमबार, मे १२
  • मङ्‌गलबार, मे १३
  • बुधबार, मे १४
  • बिहीबार, मे १५
  • शुक्रबार, मे १६
  • शनिबार, मे १७
  • आइतबार, मे १८
  • सोमबार, मे १९
  • मङ्‌गलबार, मे २०
  • बुधबार, मे २१
  • बिहीबार, मे २२
  • शुक्रबार, मे २३
  • शनिबार, मे २४
  • आइतबार, मे २५
  • सोमबार, मे २६
  • मङ्‌गलबार, मे २७
  • बुधबार, मे २८
  • बिहीबार, मे २९
  • शुक्रबार, मे ३०
  • शनिबार, मे ३१
दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
es25 pp. ४७-५७

मे

बिहीबार, मे १

ठूलो अनिकाल पर्नेछ।​—प्रेषि. ११:२८.

एकचोटि “सारा पृथ्वीभरि ठूलो अनिकाल” पर्दा प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई पनि प्रभाव पाऱ्‍यो। छोराछोरीको लागि कसरी खानेकुरा जुटाउने भनेर आमाबुबालाई चिन्ता लागेको हुन सक्छ। आफ्नो सेवा विस्तार गर्ने योजना बनाइरहेका जवानहरूले के गरे होलान्‌? अनिकाल सकेपछि फेरि योजना बनाउँला भनेर सोचे कि? जेहोस्‌, तिनीहरूले परिस्थितिअनुसार छाँटकाँट गरे। तिनीहरूले कुनै न कुनै तरिकामा सुसमाचार सुनाइरहे र आफूसँग भएको भौतिक चीजबीच यहुदियाका भाइबहिनीसित खुसीसाथ बाँडचुँड गरे। (प्रेषि. ११:२९, ३०) राहत सामग्री पाएकाहरूले यहोवाले ख्याल राख्दै हुनुहुन्छ भन्‍ने कुरा आफैले अनुभव गर्न सके। (मत्ति ६:३१-३३) तिनीहरूलाई सघाउन आएका भाइबहिनीसित तिनीहरू घनिष्ठ भएको हुनुपर्छ। अनुदान दिएकाहरू र अन्य तरिकामा राहतकार्यमा मदत गरेकाहरूले दिँदाको आनन्द महसुस गर्न सके।—प्रेषि. २०:३५. w२३.०४ पृ. १६ अनु. १२-१३

शुक्रबार, मे २

हामीले उहाँसित मागेका कुराहरू उहाँले दिनुहुन्छ भनेर हामी पक्का छौँ।​—१ युह. ५:१५.

यहोवा कहिलेकाहीँ आफ्ना सेवकहरूको प्रार्थनाको जवाफ दिन उहाँको उपासना नगर्नेहरूलाई पनि उत्प्रेरित गर्न सक्नुहुन्छ। जस्तै: नहेम्याहले यरुसलेम फर्केर सहरको पुनर्निर्माण गर्न राजा आर्टजारसेजसित अनुमति मागेका थिए। यहोवाले राजालाई त्यसको लागि अनुमति दिन उत्प्रेरित गर्नुभयो। (नहे. २:३-६) आज पनि यहोवा उहाँको उपासना नगर्नेहरूलाई हामीलाई चाहिएको बेला मदत दिन उत्प्रेरित गर्न सक्नुहुन्छ। यहोवाले प्रायजसो हाम्रो प्रार्थनाको जवाफ चमत्कारपूर्ण ढङ्‌गमा दिनुहुन्‍न। तर प्रार्थनाको जवाफले हामीलाई स्वर्गमा बस्नुहुने बुबाप्रति वफादार रहिरहन मदत गर्छ। त्यसैले यहोवाले तपाईँका प्रार्थनाहरूको जवाफ कसरी दिनुभयो भनेर थाह पाउने कोसिस गर्नुहोस्‌। हामीले बेलाबेलामा यहोवाले प्रार्थनाको जवाफ कसरी दिनुभयो भन्‍ने कुरामा मनन गर्नुपर्छ। (भज. ६६:१९, २०) यहोवालाई प्रार्थना गरेर मात्र होइन, उहाँले जुनसुकै तरिकामा प्रार्थनाको जवाफ दिनुभए पनि त्यसलाई स्विकारेर हामी आफ्नो विश्‍वास देखाउँछौँ।—हिब्रू ११:६. w२३.०५ पृ. १२ अनु. १३; पृ. १२-१३ अनु. १५-१६

शनिबार, मे ३

हे मेरा परमेश्‍वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु।​—भज. ४०:८.

यहोवालाई आफ्नो जीवन समर्पण गर्दा हामीले उहाँको उपासना गर्ने र उहाँको इच्छाअनुसार जिउने वाचा गऱ्‍यौँ। हामीले त्यो वाचा पूरा गर्नै पर्छ। समर्पणअनुसार जीवन बिताउनु बोझ होइन। यहोवाले उहाँको इच्छाअनुसार जिउन हामीलाई सृष्टि गर्नुभयो। (प्रका. ४:११) उहाँले हामीलाई आध्यात्मिक आवश्‍यकतासहित र आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। त्यसैले हामी उहाँसित नजिक हुन र उहाँको इच्छा पूरा गर्न पाउँदा रमाउन सक्छौँ। त्यति मात्र होइन, उहाँको इच्छाअनुसार चल्दा र उहाँको छोराको अनुकरण गर्दा हामी ‘स्फूर्ति पाउँछौँ।’ (मत्ति ११:२८-३०) त्यसैले यहोवाले तपाईँको लागि गरिदिनुभएका असल कुराहरू र तपाईँको लागि साँचेर राख्नुभएका आशिष्‌हरूमा मनन गरेर उहाँप्रतिको तपाईँको प्रेमलाई बलियो बनाउँदै लैजानुहोस्‌। परमेश्‍वरप्रतिको प्रेम बढ्‌दै गएपछि तपाईँलाई उहाँको आज्ञा पालन गर्न अझै सजिलो हुनेछ। (१ युह. ५:३) येसुले परमेश्‍वरको इच्छा पूरा गर्न सक्नुभयो किनकि उहाँले मदतको लागि यहोवालाई प्रार्थना गर्नुभयो र इनाममा ध्यान केन्द्रित गरिरहनुभयो। (हिब्रू ५:७; १२:२) येसुले जस्तै बलको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌ र अनन्त जीवनको आशामा ध्यान केन्द्रित गरिरहनुहोस्‌। w२३.०८ पृ. २७-२८ अनु. ४-५

आइतबार, मे ४

के तिमी परमेश्‍वरको अपार दया, सहनशीलता अनि धीरजलाई तुच्छ सम्झन्छौ? परमेश्‍वरले दया गरेर तिमीलाई पश्‍चात्तापतिर लैजाने कोसिस गर्दै हुनुहुन्छ भन्‍ने कुरा के तिमीलाई थाह छैन?​—रोमी २:४.

हामीलाई धीरजी मानिसहरू मन पर्छ। किन? तिनीहरू कुनै कुराको लागि पर्खनुपर्दा पनि दिक्क मान्दैनन्‌। हामीले गल्ती गर्दा पनि रिसाइहाल्दैनन्‌। अनि हामीलाई बाइबलको कुनै शिक्षा सिक्न, स्विकार्न र त्यो लागू गर्न गाह्रो हुँदा हाम्रो अध्ययन सञ्चालक धीरजी भएकोमा हामी तिनीप्रति आभारी छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले हामीप्रति धीरज देखाउनुभएकोमा हामी धेरै कृतज्ञ छौँ! हुनत हामीलाई अरू मानिस धीरजी भएको मन पर्छ। तर हामी आफैलाई भने धीरजी भइरहन सधैँ सजिलो नहुन सक्छ। जस्तै: हतार भइरहेको बेला ट्राफिक जाममा पर्दा शान्त भई पर्खिरहन झिजो लाग्न सक्छ। अरूको कुनै कुरा वा व्यवहारले गर्दा हामीलाई झनक्क रिस उठ्‌न सक्छ। अनि यहोवाले प्रतिज्ञा गर्नुभएको नयाँ संसार पर्खेर बस्न पनि हामीलाई गाह्रो लाग्न सक्छ। तर यी सबै अवस्थामा हामी अझ धीरजी हुनुपर्छ। w२३.०८ पृ. २० अनु. १-२

सोमबार, मे ५

‘गिदोनले ती ३०० जनालाई मात्र आफ्नो साथमा राखे। अनि बाँकी इस्राएलीहरूलाई घर फर्काइदिए।’​—न्याय. ७:८.

यहोवाले गिदोनलाई झन्डै ९९ प्रतिशत सिपाही घटाउन भन्‍नुभयो। ‘यति ठूलो सङ्‌ख्यामा सिपाहीहरू घटाएर जित्न सकिन्छ र’ भन्‍ने तिनलाई लागेको हुनुपर्छ। तैपनि गिदोनले यहोवाले भन्‍नुभएजस्तै गरे। आज एल्डरहरू कुनै निर्देशनमा छाँटकाँट हुँदा ती पालन गरेर गिदोनको अनुकरण गर्छन्‌। (हिब्रू १३:१७) आफूलाई डर लागे पनि र ज्यानको खतरा भए पनि गिदोनले यहोवाको आज्ञा पालन गरे। (न्याय. ९:१७) इस्राएलीहरूलाई बचाउन मदत गर्नेछु भनेर यहोवाले गिदोनलाई थुप्रै चोटि आश्‍वासन दिनुभएको थियो। यसबाट तिनी उहाँको साथ पाउने कुरामा विश्‍वस्त भए। साक्षीकार्यमा प्रतिबन्ध लागेका देशहरूमा सेवा गर्ने एल्डरहरू गिदोनको अनुकरण गर्छन्‌। तिनीहरू पक्राउ पर्ने, केरकार गरिने, जागिर गुमाउने वा कुटपिट गरिने खतरा भए पनि सभा र साक्षीकार्यमा साहसी भई नेतृत्व लिन्छन्‌। महासङ्‌कष्टको दौडान एल्डरहरूलाई सङ्‌गठनबाट आउने निर्देशनहरू पालन गर्न साहस चाहिनेछ। w२३.०६ पृ. ५-६ अनु. १२-१३

मङ्‌गलबार, मे ६

ज-जसले मलाई आदर गर्छन्‌, म तिनीहरूलाई आदर गर्नेछु।​—१ समु. २:३०.

यहोवाले प्रधानपुजारी यहोयादाका असल कामहरू हाम्रो शिक्षाको लागि बाइबलमा लेख्न लगाउनुभयो। (रोमी १५:४) अनि यहोयादाको मृत्यु हुँदा तिनलाई विशेष सम्मान दिइयो। “तिनलाई दाउदनगरमा राजाहरूको चिहानमा गाडियो किनभने तिनले इस्राएलमा साँचो परमेश्‍वर र उहाँको भवनको निम्ति असल कामहरू गरेका थिए।” (२ इति. २४:१५, १६) यहोयादाको विवरणले हामीलाई परमेश्‍वरप्रतिको डर विकास गर्न मदत गर्छ। ख्रिष्टियन निरीक्षकहरू यहोयादाको अनुकरण गर्दै सचेत रहन्छन्‌ र परमेश्‍वरको बगालको रक्षा गर्छन्‌। (प्रेषि. २०:२८) वृद्ध ख्रिष्टियनहरूले यहोयादाबाट के सिक्न सक्छन्‌? तिनीहरूले यहोवाको डर माने र वफादार रहे भने परमेश्‍वरले तिनीहरूलाई आफ्नो उद्देश्‍य पूरा गर्न प्रयोग गर्नुहुनेछ। अनि युवाहरूले यहोवाले यहोयादासित कस्तो व्यवहार गर्नुभयो, याद गर्न सक्छन्‌। तिनीहरूले विशेषगरि लामो समयदेखि यहोवाको सेवा गरिरहेका वृद्धहरूको आदर गरेर उहाँको अनुकरण गर्न सक्छन्‌। (हितो. १६:३१) हामी पनि ‘अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी’ भएर तिनीहरूलाई साथ दिइरहौँ।—हिब्रू १३:१७. w२३.०६ पृ. १७ अनु. १४-१५

बुधबार, मे ७

धर्मी मानिसको बोलीले धेरैलाई सम्हाल्छ।​—हितो. १०:२१.

सभामा कति पटक हात उठाउने भन्‍ने सन्दर्भमा सुझबुझ चलाउनुहोस्‌। हामीले हात उठाएको उठ्यै गऱ्‍यौँ भने अरूले मौका नपाए पनि सञ्चालकले हामीलाई नै बारम्बार मौका दिनुपर्ने दबाब महसुस गर्न सक्छन्‌। यसले अरूलाई हात उठाउनदेखि निरुत्साहित बनाउन सक्छ। (उप. ३:७) छलफलको बेला धेरै प्रकाशकले हात उठाउँदा हामीले धेरै टिप्पणी दिने मौका नपाउन सक्छौँ। कहिलेकाहीँ त एक चोटि पनि मौका नपाउन सक्छौँ। यसले गर्दा हामी निराश हुन सक्छौँ तर सञ्चालकले जानाजानी मौका नदिएको हो भन्‍ने सोचेर चित्त नदुखाउनुहोस्‌। (उप. ७:९) तपाईँले चाहेजति टिप्पणी दिने मौका पाउनुभएन भने अरूको टिप्पणी ध्यान दिएर सुन्‍नुहोस्‌। अनि सभापछि त्यसको लागि प्रशंसा गर्नुभए कसो होला? तपाईँले गर्ने प्रशंसा तपाईँले दिने टिप्पणीजत्तिकै प्रोत्साहनजनक हुन सक्छ। w२३.०४ पृ. २३-२४ अनु. १४-१६

बिहीबार, मे ८

मेरो हृदय स्थिर छ, हे परमेश्‍वर।​—भज. ५७:७.

परमेश्‍वरको वचन अध्ययन र मनन गर्नुहोस्‌। गहिरो जरा गाडेको रूख जसरी बलियो हुन्छ, त्यसरी नै हाम्रो विश्‍वास परमेश्‍वरको वचनमा आधारित छ भने हामी अटल रहिरहन सक्छौँ। रूख बढ्‌दै गएपछि यसको जरा पनि गहिराइसम्म फैलिँदै जान्छ। हामीले परमेश्‍वरको वचन अध्ययन र मनन गर्दा हाम्रो विश्‍वास अझ बलियो हुन्छ र परमेश्‍वरको तौरतरिका नै सबैभन्दा उत्तम हो भनेर हामी अझ विश्‍वस्त हुन सक्छौँ। (कल. २:६, ७) यहोवाको निर्देशन, डोऱ्‍याइ र सुरक्षाले विगतमा उहाँका सेवकहरूलाई कसरी मदत गऱ्‍यो, त्यसबारे मनन गर्नुहोस्‌। जस्तै: इजकिएलले दर्शनमा एक जना स्वर्गदूतले यहोवाको मन्दिरको विस्तृत रूपमा नाप लिएको देखे। यस दर्शनले इजकिएललाई बलियो बनायो र यसबाट हामीले यहोवाका स्तरहरू पालन गर्ने सन्दर्भमा व्यावहारिक पाठहरू सिक्न सक्छौँ। (इज. ४०:१-४; ४३:१०-१२) समय लगाएर परमेश्‍वरको वचनका गहिरा कुराहरू अध्ययन र मनन गऱ्‍यौँ भने हामीले पनि लाभ उठाउन सक्छौँ। यहोवामाथि पूर्ण भरोसा राखेका छौँ भने हामीले पनि आफ्नो हृदयलाई स्थिर बनाउन सक्छौँ।—भज. ११२:७. w२३.०७ पृ. १८ अनु. १५-१६

शुक्रबार, मे ९

सोच्ने क्षमता जोगाइराख।​—हितो. ३:२१.

बाइबलमा जवान भाइहरूले अनुकरण गर्न सक्ने थुप्रै असल उदाहरण छन्‌। पुरातन समयका वफादार पुरुषहरू यहोवालाई प्रेम गर्थे र उहाँका उपासकहरूको ख्याल राख्न विभिन्‍न जिम्मेवारी सम्हाल्थे। तपाईँ आफ्नै परिवारमा र मण्डलीमा भएका परिपक्व पुरुषहरूको उदाहरण पनि अनुकरण गर्न सक्नुहुन्छ। (हिब्रू १३:७) सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले येसुको पाइला पछ्याउनुपर्छ। (१ पत्रु. २:२१) यी व्यक्‍तिहरूबारे गहिरिएर अध्ययन गर्दा तिनीहरूको कुन-कुन गुण मन पऱ्‍यो, विचार गर्नुहोस्‌। (हिब्रू १२:१, २) अनि ती पुरुषहरूको कसरी अनुकरण गर्न सक्नुहुन्छ, सोच्नुहोस्‌। सोच्ने क्षमता भएको पुरुषले कुनै निर्णय गर्नुअघि आफूसित के-कस्ता विकल्पहरू छन्‌ भनेर राम्ररी विचार गर्छन्‌। त्यसैले सोच्ने क्षमता विकास गर्न र त्यसलाई कायम राख्न कडा मेहनत गर्नुहोस्‌। सुरुमा बाइबल सिद्धान्तहरू अध्ययन गर्नुहोस्‌ र ती लागू गर्नु किन लाभदायी छ भनेर विचार गर्नुहोस्‌। अनि ती सिद्धान्तहरूअनुसारै निर्णय गर्नुहोस्‌। (भज. ११९:९) यसो गर्दा तपाईँले यहोवालाई खुसी तुल्याइरहनुभएको हुनेछ। सोच्ने क्षमता विकास गर्नुभयो भने तपाईँले परिपक्व ख्रिष्टियन पुरुष बन्‍न महत्त्वपूर्ण कदम चालिरहनुभएको हुनेछ।—हितो. २:११, १२; हिब्रू ५:१४. w२३.१२ पृ. २४-२५ अनु. ४-५

शनिबार, मे १०

कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैँ तयार भइरहो तर जवाफ दिँदा तिमीहरूले कोमल भाव र गहिरो आदर देखाओ।​—१ पत्रु. ३:१५.

आफ्नो विश्‍वासबारे प्रश्‍न सोधिँदा कसरी कोमलतासाथ जवाफ दिने भनेर आमाबुबाले छोराछोरीलाई सिकाउन सक्छन्‌। (याकु. ३:१३) केही आमाबुबाले कसरी जवाफ दिने भनेर पारिवारिक उपासनाको बेला छोराछोरीसित अभ्यास गर्ने गरेका छन्‌। तिनीहरू स्कुलमा कस्ता प्रश्‍नहरू खडा हुन सक्छन्‌ भनेर विचार गर्छन्‌, छलफल गर्छन्‌ र छोराछोरीसित जवाफ दिने तरिका अभ्यास गर्छन्‌। यसरी तिनीहरू छोराछोरीलाई कोमलतासाथ बोल्न सिकाउँछन्‌। यस्तो अभ्यासबाट युवाहरू बाइबलको शिक्षामा अझै विश्‍वस्त हुन सक्छन्‌ र अरूलाई पनि मनाउन सक्ने तरिकामा तर्कहरू प्रस्तुत गर्न मदत पाउन सक्छन्‌। jw.org को “युवाहरू सोध्छन्‌” शृङ्‌खलामा किशोरकिशोरीका लागि अभ्यास सामग्रीहरू उपलब्ध छन्‌। ती सामग्रीहरू युवाहरूलाई आफ्नो विश्‍वास बलियो बनाउन र आफ्नै शब्दमा जवाफहरू तयार पार्न मदत गर्न बनाइएका हुन्‌। परिवारै मिलेर यी सामग्रीहरू अध्ययन गरेर हामी आफ्नो विश्‍वासको पक्षमा कोमलतासाथ बोल्न सिक्न सक्छौँ। w२३.०९ पृ. १७ अनु. १०; पृ. १८ अनु. १५-१६

आइतबार, मे ११

आओ, हामी असल काम गर्नमा हरेस नखाऔँ किनकि थाकेनौँ भने हामीले ठीक समयमा कटनी गर्नेछौँ।​—गला. ६:९.

के तपाईँले कुनै आध्यात्मिक लक्ष्य राख्नुभएको थियो? तपाईँलाई त्यो लक्ष्य हासिल गर्न गाह्रो भएको थियो? थुप्रै भाइबहिनीले यस्तै महसुस गरेका छन्‌। जस्तै: फिलिप अझ धेरै चोटि प्रार्थना गर्न र त्यसको गुणस्तर बढाउन चाहन्थे। तर तिनलाई समय निकाल्न गाह्रो भइरहेको थियो। एरिका बहिनीले क्षेत्र सेवाको सभामा समयमै पुग्ने लक्ष्य राखेकी थिइन्‌। तर अझै पनि तिनी प्रायजसो ढिलै पुग्छिन्‌। तपाईँले हालै कुनै लक्ष्य राख्नुभएको छ तर त्यो हासिल गर्न सकिरहनुभएको छैन भने निराश नहुनुहोस्‌। लक्ष्य सानो नै किन नहोस्‌, त्यो हासिल गर्न पनि अक्सर समय र मेहनत चाहिन्छ। आफ्नो लक्ष्यसम्म पुग्न हार नमानेको कुराबाट तपाईँ यहोवासितको सम्बन्धलाई अनमोल ठान्‍नुहुन्छ र उहाँलाई सबैभन्दा उत्कृष्ट सेवा चढाउन चाहनुहुन्छ भन्‍ने देखिन्छ। तपाईँले गर्नुभएको प्रयासको यहोवा कदर गर्नुहुन्छ। उहाँ तपाईँले दिन सक्नेभन्दा धेरै कुराको आशा गर्नुहुन्‍न। (भज. १०३:१४; मिका ६:८) त्यसैले आफ्नो परिस्थितिले दिएअनुसार व्यावहारिक लक्ष्य राख्नुहोस्‌। w२३.०५ पृ. २६ अनु. १-२

सोमबार, मे १२

यदि परमेश्‍वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?​—रोमी ८:३१.

साहसी व्यक्‍तिलाई पनि डर लाग्न सक्छ। तर त्यसले गर्दा तिनी सही काम गर्नदेखि पछि हट्‌दैनन्‌। दानिएल साहसी युवा थिए। तिनले यर्मियालगायत परमेश्‍वरका अन्य भविष्यवक्‍ताहरूका लेखोटहरू अध्ययन गरे। तिनले यस्तो अध्ययनबाट लामो समयदेखि बेबिलोनको कैदमा रहेका यहुदीहरू चाँडै मुक्‍त हुनेछन्‌ भनेर थाह पाए। (दानि. ९:२) बाइबलका भविष्यवाणीहरू पूरा भएको देख्दा यहोवामाथिको दानिएलको भरोसा पक्कै बलियो भएको हुनुपर्छ। अनि यहोवामाथि बलियो भरोसा राख्नेहरूले अदम्य साहस देखाउन सक्छन्‌। (रोमी ८:३२, ३७-३९ तुलना गर्नुहोस्‌।) सबैभन्दा महत्त्वपूर्ण कुरा, दानिएल स्वर्गमा बस्नुहुने बुबालाई नियमित रूपमा प्रार्थना गर्थे। (दानि. ६:१०) तिनले प्रार्थनामा आफ्ना पापहरू स्विकारे र आफ्ना भावनाहरू पोखे। तिनले मदतको लागि यहोवालाई पुकारे। (दानि. ९:४, ५, १९) हामीजस्तै साधारण मानिस भएकोले तिनी जन्मजातै साहसी थिएनन्‌। तिनले अध्ययन र प्रार्थना गरेर अनि यहोवामाथि भरोसा गरेर यो गुण विकास गरे। w२३.०८ पृ. ३ अनु. ४; पृ. ४ अनु. ७

मङ्‌गलबार, मे १३

मानिसहरूसामु तिमीहरूको ज्योति चम्कोस्‌ र तिमीहरूको सुकर्म देखेर तिनीहरूले स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाको महिमा गरून्‌।​—मत्ति ५:१६.

उच्च अख्तियारवालाहरूप्रति आज्ञाकारी हुँदा हामी आफैलाई र अरूलाई पनि लाभ हुन्छ। कसरी? एउटा त, अनाज्ञाकारी हुनेहरूले भोग्नुपर्ने सजायदेखि हामी जोगिन्छौँ। (रोमी १३:१, ४) हामीले अख्तियारवालाहरूको आज्ञा पालन गर्दा अरू मानिसहरूले यहोवाका साक्षीहरू असल नागरिक हुन्‌ भनेर देख्नेछन्‌। जस्तै: केही दशकअघि नाइजेरियामा कर तिर्न नचाहनेहरूले आन्दोलन गरिरहेका थिए। केही सैनिक सभा भइरहेको बेला आन्दोलनकारीहरूलाई खोज्दै सभाभवनमा छिरे। तर सैनिक कमान्डरले आफ्ना सैनिकहरूलाई यसो भन्दै त्यहाँबाट निस्किन आदेश दिए: “यहोवाका साक्षीहरू सधैँ कर तिर्छन्‌।” तपाईँले प्रत्येक चोटि नियम पालन गर्दा यहोवाका साक्षीहरूको मान बढाइरहनुभएको हुन्छ र त्यस्तो मानले भविष्यमा सङ्‌गी भाइबहिनीलाई जोगाउन सक्छ। w२३.१० पृ. ९ अनु. १३

बुधबार, मे १४

तिमीहरू सहनशील हुनु आवश्‍यक छ किनकि परमेश्‍वरको इच्छा पूरा गरिसकेपछि तिमीहरूले त्यो कुरा पाउन सक्नेछौ, जसको विषयमा उहाँले प्रतिज्ञा गर्नुभएको छ।​—हिब्रू १०:३६.

यहोवाका थुप्रै सेवकले यस दुष्ट संसारको अन्त हुने दिन पर्खेको लामो समय भइसक्यो। मानिसको नजरबाट हेर्दा परमेश्‍वरको प्रतिज्ञा पूरा हुन ढिलो भएको जस्तो देखिन्छ। तर यहोवा आफ्ना सेवकहरूको भावना बुझ्नुहुन्छ। त्यसैले उहाँले भविष्यवक्‍ता हबकुकलाई यस्तो आश्‍वासन दिनुभयो: “त्यो दर्शन तोकिएको समयमा पूरा हुनेछ अनि त्यो पूरा हुने समय नजिकै आउँदै छ र त्यो झूटो साबित हुनेछैन। त्यसले ढिला गऱ्‍यो भने पनि त्यसको बाटो हेर्दै बस किनकि त्यो पक्कै पूरा हुनेछ। त्यसले ढिला गर्नेछैन!” (हब. २:३) के परमेश्‍वरले यो आश्‍वासन हबकुकको लागि मात्र दिनुभएको थियो? अथवा हाम्रो लागि पनि दिनुभएको थियो? प्रेषित पावलले यी शब्दहरू नयाँ संसार उत्सुकतासाथ पर्खिरहेका ख्रिष्टियनहरूलाई लागू हुन्छ भनेर बताए। (हिब्रू १०:३७) हाम्रो उद्धारबारे यहोवाले गर्नुभएको प्रतिज्ञा पूरा हुन ढिला भएको जस्तो लागे तापनि “त्यो पक्कै पूरा हुनेछ” भनेर हामी ढुक्क हुन सक्छौँ। w२३.०४ पृ. ३० अनु. १६

बिहीबार, मे १५

‘सबै इस्राएलीले मोसाविरुद्ध गनगन गर्न थाले।’​—गन्ती १४:२.

मोसाले यहोवाको प्रतिनिधित्व गर्दै छन्‌ भन्‍ने कुराको स्पष्ट प्रमाण देख्दादेख्दै पनि अधिकांश इस्राएलीले त्यो कुरा स्विकारेनन्‌। (गन्ती १४:१०, ११) यहोवाले मोसालाई प्रयोग गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई तिनीहरूले बारम्बार इन्कार गरे। नतिजास्वरूप मोसालाई इन्कार गर्ने त्यस पुस्तालाई यहोवाले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न दिनुभएन। (गन्ती १४:३०) तर केही इस्राएली यहोवाको डोऱ्‍याइअनुसार हिँडे। जस्तै, यहोवाले यसो भन्‍नुभयो: ‘कालेबले पूरा तनमनले मेरो आज्ञा पालन गरे।’ (गन्ती १४:२४) यहोवाले कालेबलाई कनानमा तिनले रोजेकै जमिन इनामस्वरूप दिनुभयो। (यहो. १४:१२-१४) प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न नपाएका इस्राएलीहरूका सन्तानले पनि यहोवाको डोऱ्‍याइअनुसार हिँड्‌ने सन्दर्भमा राम्रो उदाहरण बसाले। मोसापछि यहोसुलाई तिनीहरूको अगुवाको रूपमा नियुक्‍त गरियो र तिनीहरूले ‘यहोसु बाँचुन्जेल तिनलाई गहिरो आदर गरे।’ (यहो. ४:१४) फलस्वरूप यहोवाले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको देश दिनुभयो।—यहो. २१:४३, ४४. w२४.०२ पृ. २१ अनु. ६-७

शुक्रबार, मे १६

जसले परमेश्‍वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।​—१ युह. ४:२१.

डाक्टरले नाडी छामेर मुटुको अवस्थाबारे केही कुरा थाह पाउन सक्छन्‌। त्यसैगरि भाइबहिनीप्रतिको हाम्रो प्रेम कत्तिको बलियो छ भन्‍ने कुरा जाँचेर परमेश्‍वरप्रतिको हाम्रो प्रेम कत्तिको प्रगाढ छ भनेर केही कुरा थाह पाउन सक्छौँ। यदि भाइबहिनीप्रतिको हाम्रो प्रेम सेलाउँदै गएको याद गऱ्‍यौँ भने त्यो कुरा परमेश्‍वरप्रतिको हाम्रो प्रेम पनि सेलाउँदै गइरहेको सङ्‌केत हुन सक्छ। तर भाइबहिनीलाई प्रेम देखाइरहेका छौँ भने त्यो कुरा परमेश्‍वरप्रतिको हाम्रो प्रेम प्रगाढ छ भन्‍ने कुराको चिन्ह हो। यदि भाइबहिनीप्रतिको हाम्रो प्रेम सेलाउँदै गइरहेको छ भने त्यो गम्भीर समस्या हो। किन? किनभने त्यो कुरा यहोवासितको हाम्रो सम्बन्ध कमजोर भएको सङ्‌केत हुन सक्छ। यस कुरालाई स्पष्ट पार्दै प्रेषित युहन्‍नाले यसो भने: “जसले आफूले देखेको भाइलाई प्रेम गर्दैन, उसले आफूले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।” (१ युह. ४:२०) यसबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हामीले “आपसमा प्रेम” गऱ्‍यौँ भने मात्रै यहोवा हामीसित खुसी हुनुहुनेछ।—१ युह. ४:७-९, ११. w२३.११ पृ. ८ अनु. ३; पृ. ९ अनु. ५-६

शनिबार, मे १७

तिम्रा बुबा र आमा खुसी हुनेछन्‌।​—हितो. २३:२५.

यहोआस सानै छँदा तिनको बुबाको मृत्यु भएको थियो। त्यसैले प्रधानपुजारी यहोयादाले तिनलाई आफ्नै छोरालाई जस्तै हुर्काए र यहोवाबारे सिकाए। तिनी बुद्धिमान्‌ थिए किनकि तिनले यहोयादाको सल्लाह सुने। यहोयादाको उदाहरण पछ्याउँदै यहोआसले यहोवाको उपासना गर्ने र अरू मानिसहरूलाई पनि त्यसै गर्न मदत दिने निर्णय गरे। तिनले यहोवाको मन्दिरको मर्मतसम्भार गर्ने प्रबन्ध पनि मिलाए। (२ इति. २४:१, २, ४, १३, १४) तपाईँको आमाबुबा वा अरू कसैले तपाईँलाई यहोवालाई प्रेम गर्न र उहाँको स्तरबमोजिम जीवन बिताउन सिकाउँदै छ भने तपाईँले बहुमूल्य उपहार पाउनुभएको छ। (हितो. २:१, १०-१२) आमाबुबाले दिएको बाइबलआधारित सल्लाह पालन गर्नुभयो भने उहाँहरू खुसी हुनुहुनेछ। अझ महत्त्वपूर्ण कुरा, यहोवा खुसी हुनुहुनेछ र उहाँसितको तपाईँको सम्बन्ध अझ बलियो हुनेछ। (हितो. २२:६; २३:१५, २४) जवान यहोआसको अनुकरण गर्नुपर्ने कत्ति राम्रो कारण! w२३.०९ पृ. ८-९ अनु. ३-५

आइतबार, मे १८

म तिमीहरूको बिन्ती सुन्‍नेछु।​—यर्मि. २९:१२.

यहोवाले हाम्रो प्रार्थना सुन्‍ने प्रतिज्ञा गर्नुभएको छ। उहाँ आफ्ना वफादार उपासकहरूलाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँ उनीहरूको प्रार्थनालाई कहिल्यै बेवास्ता गर्नुहुन्‍न। (भज. १०:१७; ३७:२८) तर त्यसो भन्दैमा हामीले मागेको सबै कुरा उहाँले पूरा गर्नुहुन्छ भन्‍ने होइन। कुनै-कुनै कुराको लागि हामीले नयाँ संसार नै पर्खनुपर्ने हुन सक्छ। हाम्रो बिन्ती यहोवाको उद्देश्‍यअनुरूप छ कि छैन भनेर उहाँ विचार गर्नुहुन्छ। (यसै. ५५:८, ९) उहाँको उद्देश्‍यमा उहाँको शासनलाई राजीखुसीसाथ स्विकार्ने मानिसहरूले पृथ्वी भर्नु पनि समावेश छ। तर मानिसले नै अझै राम्ररी शासन गर्न सक्छ भनेर सैतानले दाबी गरेको छ। (उत्प. ३:१-५) सैतानको दाबीलाई झूटो साबित गर्न यहोवाले मानिसलाई शासन गर्ने अनुमति दिनुभएको छ। तर मानव शासनमा हामीले धेरै दुःख पाइरहेका छौँ। (उप. ८:९) यहोवाले अहिले नै सबै समस्या हटाउनुहुनेछैन भनेर हामीले बुझेका छौँ। w२३.११ पृ. २१ अनु. ४-५

सोमबार, मे १९

मैले तिमीलाई धेरै जातिका बुबा बनाएको छु।​—रोमी ४:१७.

अब्राहाममार्फत थुप्रै जातिले आशिष्‌ पाउनेछन्‌ भनेर यहोवाले प्रतिज्ञा गर्नुभयो। तर अब्राहाम १०० वर्ष अनि सारा ९० वर्ष पुगिसक्दा पनि तिनीहरूको कुनै सन्तान थिएन। मानिसको नजरबाट हेर्दा तिनीहरूले सन्तान जन्माउनु असम्भवजस्तो देखिन्थ्यो। यसले गर्दा अब्राहामको विश्‍वासको जाँच भयो। तैपनि आफूलाई “भनिएबमोजिमै थुप्रै जातिको बुबा हुनेछु भनेर आशा गर्दै तिनले विश्‍वास गरे।” (रोमी ४:१८, १९) अन्ततः तिनले लामो समयदेखि आशा गरेको कुरा पूरा भयो। अब्राहामले इसहाकलाई जन्माए। (रोमी ४:२०-२२) हामी अब्राहामजस्तै परमेश्‍वरको अनुमोदन पाउन र उहाँको मित्रको रूपमा धर्मी ठहरिन सक्छौँ। यही कुरालाई जोड दिँदै पावलले यस्तो लेखे: “‘तिनी उहाँको नजरमा धर्मी ठहरिए’ भनेर [अब्राहामको] लागि मात्र लेखिएको थिएन तर हाम्रो लागि पनि थियो किनकि हाम्रा प्रभु येसुलाई मृत्युबाट ब्युँताउनुहुनेमाथि विश्‍वास राखेको हुनाले हामी पनि धर्मी ठहरिनेछौँ।” (रोमी ४:२३, २४) अब्राहामसित जस्तै हामीसित पनि विश्‍वास हुनुपर्छ र त्यसबमोजिमको काम गर्नुपर्छ। त्यति मात्र होइन, हामीसित आशा पनि हुनुपर्छ। w२३.१२ पृ. ७ अनु. १६-१७

मङ्‌गलबार, मे २०

तपाईँले मेरो दुःख देख्नुभएको छ; मेरो वेदना तपाईँलाई थाह छ।​—भज. ३१:७.

कुनै परीक्षा भोग्दा डर लाग्यो भने यो कुरा मनमा राख्नुहोस्‌: तपाईँको परीक्षा अनि त्यसले गर्दा तपाईँको मनमा आएको भावना यहोवा याद गर्नुहुन्छ। यहोवाले मिश्रमा इस्राएलीहरूले भोगिरहेको दुर्व्यवहार मात्र होइन, “तिनीहरूले भोगिरहेको पीडा” पनि याद गर्नुभयो। (प्रस्थ. ३:७) कुनै डरलाग्दो परीक्षाको सामना गरिरहेको बेला यहोवा तपाईँलाई कसरी मदत गर्दै हुनुहुन्छ भनेर बुझ्न सक्नुभएन भने नि? उहाँबाट मदत पाएको महसुस गर्न सकूँ भनेर प्रार्थना गर्नुहोस्‌। (२ राजा ६:१५-१७) त्यसपछि यी कुराहरू विचार गर्नुहोस्‌: के कुनै भाषण वा टिप्पणीबाट मैले बल पाएको छु? के कुनै प्रकाशन, भिडियो वा मौलिक गीतबाट मैले प्रोत्साहन पाएको छु? कसैले मलाई आश्‍वासन दिने कुरा भनेका वा बाइबलबाट कुनै पद देखाएका छन्‌ कि? भाइबहिनीबाट पाएको माया र बाइबलबाट पाएको प्रोत्साहनले कत्ति मदत गरेको थियो भनेर हामी बिर्सन सक्छौँ। वास्तवमा ती कुराहरू यहोवाले दिनुभएका अमूल्य उपहारहरू हुन्‌। (यसै. ६५:१३; मर्कु. १०:२९, ३०) ती उपहारहरू यहोवा तपाईँको ख्याल राख्नुहुन्छ र उहाँ भरोसायोग्य हुनुहुन्छ भन्‍ने कुराका प्रमाणहरू हुन्‌।—यसै. ४९:१४-१६. w२४.०१ पृ. ४-५ अनु. ९-१०

बुधबार, मे २१

आफ्ना सेवकहरूलाई अझ निर्भयी भएर तपाईँको वचन बोलिरहन मदत गर्नुहोस्‌।​—प्रेषि. ४:२९.

स्वर्गमा फर्कनुअघि येसुले चेलाहरूलाई “यरुसलेमका साथै सारा यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” उहाँबारे साक्षी दिने जिम्मेवारी सुम्पनुभयो। (प्रेषि. १:८; लुका २४:४६-४८) त्यसको केही समयपछि यहुदी धर्मगुरुहरूले प्रेषित पत्रुस र युहन्‍नालाई पक्रे अनि यहुदी न्यायपरिषद्‌सामु ल्याए। अनि यी वफादार पुरुषहरूलाई साक्षीकार्य बन्द गर्नू भनी आज्ञा दिए र धम्की दिएर छोडिदिए। (प्रेषि. ४:१८, २१) पत्रुस र युहन्‍नाले यस्तो जवाफ दिए: “परमेश्‍वरको नजरमा कुन ठीक हो, तपाईँहरूको कुरा सुन्‍नु कि परमेश्‍वरको, तपाईँहरू आफै निर्णय गर्नुहोस्‌। तर जहाँसम्म हाम्रो कुरा छ, हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।” (प्रेषि. ४:१९, २०) पत्रुस र युहन्‍ना कैदबाट छुटेपछि चेलाहरूले यहोवाको इच्छाअनुसार गर्न सकौँ भनेर उत्कट बिन्ती चढाए। यहोवाले पनि तिनीहरूले मनदेखि गरेको प्रार्थनाको जवाफ दिनुभयो।—प्रेषि. ४:३१. w२३.०५ पृ. ५ अनु. ११-१२

बिहीबार, मे २२

यिनी मेरो प्यारो छोरा हुन्‌।​—मत्ति १७:५.

यहोवा र उहाँको छोरा येसुबीचको सम्बन्ध यस ब्रह्‍माण्डको सबैभन्दा पुरानो सम्बन्ध हो। उहाँहरूले अरबौँ वर्ष स्वर्गमा सँगै समय बिताउनुहुँदा उहाँहरूबीचको प्रेम प्रगाढ भयो। आजको पदमा यहोवाले येसुप्रतिको गहिरो प्रेम व्यक्‍त गर्नुभयो। यहोवाले यसो मात्र पनि भन्‍न सक्नुहुन्थ्यो: ‘यिनलाई मैले स्विकारेको छु।’ तर येसुप्रतिको उहाँको प्रेम कत्तिको गहिरो छ भनेर हामीले थाह पाएको उहाँ चाहनुहुन्थ्यो। त्यसैले उहाँले “मेरो प्यारो छोरा” भन्‍नुभयो। यहोवा येसुमा गर्व गर्नुहुन्थ्यो किनकि येसु मानिसजातिको लागि आफ्नो ज्यान दिन समेत तयार हुनुभयो। (एफि. १:७) येसुलाई पनि बुबाको प्रेममा रत्तीभर शङ्‌का थिएन। उहाँले आफ्नो बुबाको गहिरो प्रेम महसुस गर्नुभएको थियो। त्यसैले उहाँले विश्‍वस्त हुँदै बुबा मलाई प्रेम गर्नुहुन्छ भनेर थुप्रै चोटि बताउनुभयो।—युह. ३:३५; १०:१७; १७:२४. w२४.०१ पृ. २८ अनु. ८

शुक्रबार, मे २३

प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो।​—हितो. २२:१.

कल्पना गर्नुहोस्‌, तपाईँले माया गर्ने व्यक्‍तिले तपाईँबारे नचाहिने हल्ला फैलायो। तपाईँलाई त्यो कुरा सरासर झूट हो भनेर थाह छ। अनि त्यो झूट ‘एक कान दुई कान हुँदै मैदान हुन्छ।’ थुप्रैले त्यो कुरा पत्याउँछन्‌ पनि। त्यतिबेला तपाईँलाई कस्तो लाग्छ? त्यस्तो झूटो कुरा फैलिँदा तपाईँलाई पक्कै पनि नमीठो लाग्छ नि, होइन र? यस उदाहरणले आफ्नो नाम बदनाम हुँदा यहोवाले कस्तो महसुस गर्नुभयो भनेर बुझ्न मदत गर्छ। एक जना स्वर्गदूतले पहिलो स्त्री हव्वालाई उहाँबारे झूटो कुरा बतायो। तिनले त्यो कुरा पत्याइन्‌ अनि हाम्रा प्रथम आमाबुबाले यहोवाको विद्रोह गरे। नतिजास्वरूप मानव परिवारमा पाप र मृत्यु प्रवेश भयो। (उत्प. ३:१-६; रोमी ५:१२) अहिले संसारमा मृत्यु, युद्ध र अरू जति पनि दुःखकष्ट देख्छौँ, ती सबै सैतानले फैलाएको झूटले गर्दा भएको हो। आफूविरुद्ध फैलिएको झूट र त्यसले निम्त्याएको दुःखकष्ट देख्दा यहोवा पक्कै दुःखी हुनुहुन्छ। तर उहाँ “आनन्दित परमेश्‍वर” हुनुभएकोले उहाँले मनमा रिस पालेर राख्नुभएको छैन।—१ तिमो. १:११. w२४.०२ पृ. ८ अनु. १-२

शनिबार, मे २४

यस्तो घोर दुष्ट काम गरेर म कसरी परमेश्‍वरको विरुद्धमा पाप गर्न सक्छु र?​—उत्प. ३९:९.

तपाईँ कसरी युसुफले जस्तै प्रलोभनको प्रतिरोध गर्न सक्नुहुन्छ? प्रलोभनहरू आइपऱ्‍यो भने के गर्ने भनेर अहिल्यै निर्णय गर्नुहोस्‌। यहोवाले घृणा गर्नुहुने कुराहरूलाई तुरुन्तै तिरस्कार गर्न सिक्नुहोस्‌। त्यस्ता कुराहरूबारे सोच्दा पनि नसोच्नुहोस्‌। (भज. ९७:१०; ११९:१६५) यसो गर्नुभयो भने प्रलोभन आइपर्दा ‘के गर्ने कसो गर्ने’ भनेर तपाईँ अलमलमा पर्नुहुनेछैन। सायद तपाईँ सत्य भेट्टाएको कुरामा पक्का हुनुहुन्छ र आफ्नो सारा हृदयले यहोवाको सेवा गर्न पनि चाहनुहुन्छ होला। तर केही कुराले समर्पण र बप्तिस्मा गर्नदेखि तपाईँलाई रोकिरहेको हुन सक्छ। यस्तो अवस्थामा राजा दाउदले जस्तै यहोवालाई यसरी बिन्ती गर्नुहोस्‌: “हे परमेश्‍वर, मलाई राम्ररी जाँच्नुहोस्‌ र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई पारख गरेर हेर्नुहोस्‌ र मेरो मनको चिन्ता थाह पाउनुहोस्‌। मलाई हानिकारक मार्गमा लैजाने कुनै कुरा ममा छ कि, हेर्नुहोस्‌ अनि मलाई अनन्त मार्गमा डोऱ्‍याउनुहोस्‌।” (भज. १३९:२३, २४) यस्तो प्रार्थनाले तपाईँ यहोवाको मदत खोज्दै हुनुहुन्छ अनि समर्पण र बप्तिस्माको लक्ष्यतर्फ अघि बढ्‌दै हुनुहुन्छ भनेर देखाउँछ। अनि यहोवा “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ।”—हिब्रू ११:६ w२४.०३ पृ. ६ अनु. १३-१५

आइतबार, मे २५

उहाँले . . . हरेक दिन बलिदान चढाउनु आवश्‍यक छैन।​—हिब्रू ७:२७.

प्रधानपुजारी मानिसहरूको प्रतिनिधित्व गर्दै परमेश्‍वरसामु जान्थे। वासस्थान समर्पण गरिँदा यहोवाले हारुनलाई इस्राएलको पहिलो प्रधानपुजारीको रूपमा नियुक्‍त गर्नुभयो। तर प्रेषित पावलले बताएअनुसार “एकपछि अर्को गर्दै धेरै जना पुजारी बन्‍नुपऱ्‍यो किनभने मृत्युले गर्दा तिनीहरू पुजारी बनिरहन सकेनन्‌।” (हिब्रू ७:२३-२६) प्रधानपुजारीहरू त्रुटिपूर्ण भएकोले तिनीहरूले आफ्नै पापहरूका लागि पनि भेटीहरू चढाउनुपर्थ्यो। इस्राएलका प्रधानपुजारीहरू र महान्‌ प्रधानपुजारी येसुबीचको एउटा ठूलो भिन्‍नता यही नै हो। हाम्रा प्रधानपुजारी येसु ख्रिष्ट “साँचो पालको सेवक हुनुहुन्छ, जुन पाल मानिसले होइन तर यहोवा परमेश्‍वरले टाँग्नुभएको हो।” (हिब्रू ८:१, २) पावलले बताएअनुसार “[येसु] सधैँभरि जीवित रहिरहनुहुने भएकोले उहाँको पुजारीगिरीका उत्तराधिकारीहरू छैनन्‌।” पावलले येसुबारे यसो पनि भने: “[उहाँ] निष्खोट र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि . . . उहाँले अरू प्रधानपुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि हरेक दिन बलिदान चढाउनु आवश्‍यक छैन।” w२३.१० पृ. २६ अनु. ८-९

सोमबार, मे २६

पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए।​—प्रका. २१:१.

“पहिलेको आकाश”-ले सैतान र त्यसका प्रेतहरूको अधीनमा रहेको सरकारलाई बुझाउँछ। (मत्ति ४:८, ९; १ युह. ५:१९) अनि बाइबलमा प्रयोग गरिएको “पृथ्वी” शब्दले कहिलेकाहीँ मानिसहरूलाई बुझाउँछ। (१ इति. १६:३१; भज. ९६:१) त्यसैले “पहिलेको पृथ्वी”-ले आजको दुष्ट मानव समाजलाई बुझाउँछ। यहोवाले अहिलेको “आकाश” र “पृथ्वी”-लाई सुधार्नुहुनेछैन बरु त्यसलाई पूर्णतया नाश गर्नुहुनेछ। अनि उहाँले त्यसको ठाउँमा “नयाँ आकाश र नयाँ पृथ्वी” अर्थात्‌ नयाँ सरकार र नयाँ मानव समाज स्थापना गर्नुहुनेछ। यहोवाले पृथ्वीलाई सुरुको सुन्दर बगैँचाजस्तै बनाउनुहुनेछ र मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। यसैयाको किताबमा भविष्यवाणी गरिएझैँ पूरै पृथ्वी अदनको बगैँचाजस्तै सुन्दर हुनेछ। अनि यहोवाले हाम्रो सबै स्वास्थ्य समस्या हटाउनुहुनेछ अनि हामीले नयाँ र स्वस्थ शरीर पाएको महसुस गर्नेछौँ। लङ्‌गडो हिँड्‌नेछ, अन्धोले देख्नेछ र बहिरोले सुन्‍नेछ अनि मरेका मानिसहरूसमेत फेरि जीवित हुनेछन्‌।—यसै. २५:८; ३५:१-७. w२३.११ पृ. ४ अनु. ९-१०

मङ्‌गलबार, मे २७

तिमीहरू . . . तयार रहो।​—मत्ति २४:४४.

“महासङ्‌कष्ट” अचानक आउनेछ। (मत्ति २४:२१) तर त्यो अरू विपत्तिभन्दा फरक हुनेछ किनकि हामीलाई त्यो आउँदै छ भनेर थाह छ। झन्डै २,००० वर्षअघि येसुले आफ्ना अनुयायीहरूलाई त्यस दिनको लागि तयार रहन भन्‍नुभयो। तयार छौँ भने हामीलाई त्यो कठिन समय पार गर्न तुलनात्मक रूपमा सजिलो हुनेछ र अरूलाई पनि मदत गर्न सक्नेछौँ। (लुका २१:३६) यहोवाले जोगाउनुहुनेछ भन्‍ने कुरामा भरोसा गर्दै उहाँको आज्ञा पालन गर्न हामीलाई सहनशीलता चाहिनेछ। हाम्रा भाइबहिनीले केही वा भएभरको सरसम्पत्ति गुमाए भने हामी के गर्नेछौँ? (हब. ३:१७, १८) तिनीहरूप्रतिको कोमल करुणाले गर्दा हामी तिनीहरूलाई सहायता गर्न उत्प्रेरित हुन्छौँ। राष्ट्रहरूको गठबन्धनको आक्रमणले गर्दा अरू थुप्रै भाइबहिनीसँगै एकै ठाउँमा बस्नुपऱ्‍यो भने हामी के गर्नेछौँ? (इज. ३८:१०-१२) यस कठिन समयको सामना गर्न हामीलाई तिनीहरूप्रतिको गहिरो प्रेमले मदत गर्नेछ। w२३.०७ पृ. २ अनु. २-३

बुधबार, मे २८

कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जस्तोगरि होइन तर बुद्धिमान्‌ मानिस जस्तोगरि हिँड, समयको पूर्ण सदुपयोग गर।​—एफि. ५:१५, १६.

विवाहित दम्पतीहरूले अक्विला र प्रिस्किलाको उदाहरणबाट सिक्न सक्छन्‌। त्यतिबेलाका थुप्रै ख्रिष्टियन तिनीहरूलाई धेरै माया गर्थे। (रोमी १६:३, ४) तिनीहरू सँगै मिलेर काम गर्थे, साक्षीकार्यमा भाग लिन्थे र अरूलाई मदत गर्थे भनेर बताइएको छ। (प्रेषि. १८:२, ३, २४-२६) भनौँ भने अक्विला र प्रिस्किलाको नाम बाइबलमा सधैँ सँगै उल्लेख गरिएको पाउँछौँ। पतिपत्नीले कसरी तिनीहरूको अनुकरण गर्न सक्छन्‌? दम्पतीहरूले गर्नुपर्ने कामहरू थुप्रै हुन्छन्‌। तपाईँहरूले तीमध्ये केही काम एक्लै गर्नुको साटो दुई जना मिलेर गर्न सक्नुहुन्छ कि? जस्तै: अक्विला र प्रिस्किलाले सँगै साक्षीकार्यमा भाग लिए। के तपाईँहरू पनि नियमित रूपमा त्यसै गर्ने योजना बनाउनुहुन्छ? अक्विला र प्रिस्किलाले सँगै काम पनि गरे। तपाईँहरू दुवैको काम एउटै नहुन सक्छ तर तपाईँहरू सँगै मिलेर घरायसी काम गर्न सक्नुहुन्छ कि? (उप. ४:९) तपाईँहरूले कुनै काम गर्न एकअर्कालाई सघाउँदा टिमको रूपमा काम गरिरहनुभएको हुनेछ। अनि एकअर्कासित कुरा गर्ने मौका पनि पाउनुहुनेछ। w२३.०५ पृ. २२-२३ अनु. १०-१२

बिहीबार, मे २९

मलाई डर लाग्दा म तपाईँमाथि भरोसा राख्छु।​—भज. ५६:३.

हामी सबै जनालाई कहिलेकाहीँ डर लाग्छ। जस्तै: राजा साउलले दाउदलाई मार्न धुइँधुइँती खोजिरहेको बेला दाउद पलिस्तियालीहरूको सहर गाथमा भागे। गाथका राजा आकिसले दाउद वीर योद्धा हुन्‌ र तिनले “लाखौँ” पलिस्तियालीलाई मारेका थिए भन्‍ने कुरा आफ्ना सेवकहरूबाट थाह पाए। त्यसपछि दाउद राजा आकिससित “असाध्यै डराए।” (१ समु. २१:१०-१२) आकिसले मार्ने हुन्‌ कि भनेर तिनलाई चिन्ता लाग्यो। दाउदले आफ्नो डरलाई कसरी जिते? भजन ५६ अध्यायमा दाउदले आफू गाथमा छँदा महसुस गरेको कुरा व्यक्‍त गरेका छन्‌। त्यस अध्यायमा दाउदको डरबारे मात्र होइन, तिनले त्यस डरलाई कसरी जिते भनेर पनि बताइएको छ। दाउदलाई डर लाग्दा तिनले यहोवामाथि भरोसा राखे। (भज. ५६:१-३, ११) तिनले उहाँमाथि राखेको भरोसा खेर गएन। परमेश्‍वरको मदत पाएर दाउदले अनौठो तर प्रभावकारी जुक्‍ति निकाले। तिनले बौलाएको नाटक गरे। अब भने आकिसले तिनलाई खतराको रूपमा हेरेनन्‌ बरु त्यस्तो मानिसलाई आफूकहाँ ल्याएकोले सेवकहरूलाई हप्काए। त्यसपछि दाउद त्यहाँबाट भाग्न सफल भए।—१ समु. २१:१३–२२:१. w२४.०१ पृ. २ अनु. १-३

शुक्रबार, मे ३०

बोलाइएका, चुनिएका र विश्‍वासीहरूले पनि विजय हासिल गर्नेछन्‌, जो पाठोसँग छन्‌।​—प्रका. १७:१४.

आजको दैनिक पदमा बताइएकाहरू को हुन्‌? फेरि जीवित भएका अभिषिक्‍त जनहरू। महासङ्‌कष्टको अन्ततिर स्वर्ग लगिएका अभिषिक्‍त जनहरूले सुरुमा गर्ने एउटा काम भनेको पाठोलाई युद्धमा सघाउने हो। स्वर्ग लगिएपछि तिनीहरूले ख्रिष्ट र स्वर्गदूतहरूसितै परमेश्‍वरका शत्रुहरूविरुद्ध अन्तिम लडाइँ लड्‌नेछन्‌। यसबारे सोच्नुहोस्‌: पृथ्वीमा बाँकी रहेका केही अभिषिक्‍त जन वृद्ध र कमजोर भइसकेका छन्‌। तर फेरि जीवित भएर स्वर्ग गएपछि तिनीहरू शक्‍तिशाली र अमर हुनेछन्‌ अनि योद्धा राजा येसुसँगै युद्धमा लड्‌नेछन्‌। आरमागेडोनको युद्धपछि तिनीहरूले मानिसजातिलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउन पनि येसुलाई सघाउनेछन्‌। त्रुटिपूर्ण मानिस हुँदा तिनीहरूले आफ्ना भाइबहिनीलाई मदत गर्न जे-जति गरे, स्वर्ग गएपछि त्योभन्दा कता हो कता धेरै मदत गर्न सक्नेछन्‌! w२४.०२ पृ. ६-७ अनु. १५-१६

शनिबार, मे ३१

पवित्र शक्‍तिको भरमा हिँडिरहो, तब तिमीहरूले कुनै किसिमको शारीरिक इच्छा कदापि पूरा गर्नेछैनौ।​—गला. ५:१६.

कोही-कोही समर्पण र बप्तिस्माको लागि तयार भए पनि पछि हट्‌छन्‌। तिनीहरूको मनमा यस्तो डर हुन सक्छ: ‘मैले बप्तिस्मा गरेपछि गम्भीर पाप गरेँ र बहिष्कार भएँ भने के गर्ने?’ तपाईँलाई पनि यस्तै लाग्छ भने यहोवाले तपाईँलाई ‘उहाँको सेवक कहलाइन र उहाँलाई पूर्ण रूपले प्रसन्‍न बनाउन’ हरकिसिमको मदत दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। (कल. १:१०) उहाँले तपाईँलाई सही कुरा गर्न बल पनि दिनुहुनेछ। उहाँले अरू थुप्रैलाई त्यस्तै बल दिनुभएको छ। (१ कोरि. १०:१३) यही कारणले गर्दा मण्डलीबाट थोरै मात्र बहिष्कार हुन्छन्‌। यहोवा आफ्ना सेवकहरूलाई वफादार रहन मदत गर्नुहुन्छ। हरेक त्रुटिपूर्ण मानिसमा गलत कुराहरू गर्ने झुकाव हुन्छ। (याकु. १:१४) तर प्रलोभनहरू आइपर्दा सही काम गर्ने या गलत काम गर्ने, तपाईँ आफै छनौट गर्न सक्नुहुन्छ। आखिर आफ्नो जीवन कसरी जिउने भन्‍ने कुरा तपाईँकै नियन्त्रणमा छ। यस कुरासित कोही-कोही सहमत नहोलान्‌ तर तपाईँ कुइच्छाहरूलाई कसरी नियन्त्रणमा राख्ने भनेर सिक्न सक्नुहुन्छ। w२४.०३ पृ. ५ अनु. ११-१२

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने