जून
आइतबार, जून १
हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौँ।—प्रेषि. १४:२२.
बदलिँदो परिस्थितिअनुसार छाँटकाँट गर्दा यहोवाले प्रथम शताब्दीका ख्रिष्टियनहरूलाई आशिष् दिनुभयो। तिनीहरूले थुप्रै खेदो भोगे। कहिलेकाहीँ त तिनीहरूले आसै नगरेको बेला खेदो भोग्नुपऱ्यो। प्रेषित पावल र बर्णाबासले लिस्त्रामा सुसमाचार सुनाउँदा के भयो, विचार गरौँ। सुरुमा त त्यहाँका मानिसहरूले तिनीहरूलाई स्वागत गरे र तिनीहरूको कुरा पनि सुनेँ। तर पछि विरोधीहरूले “भीडलाई उक्साए” र त्यसै भीडका केही मानिसले पावललाई ढुङ्गाले हाने र मरे होला भन्ठानेर छोडेर हिँडे। (प्रेषि. १४:१९) तर बर्णाबास र पावल अर्कै ठाउँमा गए र साक्षीकार्यमा लागिरहे। नतिजा कस्तो भयो? तिनीहरूले “थुप्रै चेला” बनाए अनि तिनीहरूको बोली र उदाहरणबाट सङ्गी ख्रिष्टियनहरूले ढाडस पाए। (प्रेषि. १४:२१, २२) सोच्दै नसोचेको खेदो आइपर्दा बर्णाबास र पावल पछि हटेनन् र यो देखेर अरूहरूले पनि लाभ उठाए। हामी पनि यहोवाले सुम्पनुभएको जिम्मेवारीबाट पछि हटेनौँ भने उहाँले हामीलाई आशिष् दिनुहुनेछ। w२३.०४ पृ. १६-१७ अनु. १३-१४
सोमबार, जून २
हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्; मेरो गुहारमा ध्यान दिनुहोस्। मेरो सङ्कटको दिनमा म तपाईँलाई पुकार्छु किनकि तपाईँ मलाई जवाफ दिनुहुन्छ।—भज. ८६:६, ७.
राजा दाउदले आफ्नो जीवनमा थुप्रै खतरनाक शत्रुको सामना गरेका थिए। तिनले त्यस्ता अवस्थाहरूमा अक्सर यहोवालाई गुहारे। दाउद यहोवाले तिनका प्रार्थनाहरू सुन्नुभएको र त्यसको जवाफ दिनुभएको कुरामा विश्वस्त थिए। तपाईँ पनि तिनीजस्तै विश्वस्त हुन सक्नुहुन्छ। यहोवा हामीलाई सहन चाहिने बुद्धि र बल दिन सक्नुहुन्छ भन्ने कुरामा बाइबलले हामीलाई ढुक्क बनाउँछ। उहाँले हामीलाई मदत दिन आध्यात्मिक परिवार र उहाँको उपासना नगर्ने व्यक्तिहरूलाई पनि चलाउन सक्नुहुन्छ। हुनत यहोवाले सधैँ हामीले आशा गरेको तरिकामा प्रार्थनाको जवाफ दिनुहुन्न तर जवाफ भने पक्कै दिनुहुन्छ। उहाँले हामीलाई चाहिएकै मदत चाहिएकै समयमा दिनुहुन्छ। त्यसैले उहाँले अहिले तपाईँको ख्याल राख्नुहुन्छ र नयाँ संसारमा “सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ” भन्ने कुरामा ढुक्क हुँदै प्रार्थना गरिरहनुहोस्।—भज. १४५:१६. w२३.०५ पृ. ८ अनु. ४; पृ. १३ अनु. १७-१८
मङ्गलबार, जून ३
यहोवाले मेरो लागि गर्नुभएका सबै उपकारको साटो म उहाँलाई के चढाऊँ?—भज. ११६:१२.
लक्ष्य हासिल गर्दा पाइने लाभहरूमा ध्यान दिनु राम्रो हो। तपाईँ कस्ता लाभहरूमा ध्यान दिन सक्नुहुन्छ? यदि तपाईँले बाइबल पढाइ वा प्रार्थनासित सम्बन्धित लक्ष्य राख्नुभएको छ भने त्यसले यहोवासितको तपाईँको मित्रतालाई कसरी बलियो बनाउँछ भन्ने कुरा विचार गर्नुहोस्। (भज. १४५:१८, १९) तपाईँले कुनै ख्रिष्टियन गुण विकास गर्ने लक्ष्य राख्नुभएको छ भने त्यसले अरूसितको तपाईँको सम्बन्धलाई कसरी अझ राम्रो बनाउँछ भन्ने कुरा विचार गर्नुहोस्। (कल. ३:१४) तपाईँले लक्ष्य हासिल गर्न चाहनुका कारणहरूको सूची बनाउनुभए कसो होला? बेलाबेलामा त्यो सूची हेर्नुहोस्। लक्ष्यसम्म पुग्न प्रोत्साहन दिनेहरूसित समय बिताउनुहोस्। (हितो. १३:२०) तर हामी सबैले कहिलेकाहीँ लक्ष्य हासिल गर्ने इच्छा नै नभएको अनुभव गरेका छौँ। के यसको मतलब लक्ष्य हासिल गर्न हामी कुनै प्रयास नै गर्न सक्दैनौँ भन्ने हो? होइन। हामी कुनै इच्छा नभएको बेलामा पनि लक्ष्यसम्म पुग्न प्रयास गर्न सक्छौँ। हुनत त्यसो गर्न आफूलाई अनुशासनमा राख्नुपर्छ तर लक्ष्य हासिल गर्दा हामी आनन्दित हुन्छौँ। w२३.०५ पृ. २७-२८ अनु. ५-८
बुधबार, जून ४
मानिसले जे छर्छ, त्यसैको कटनी पनि गर्नेछ।—गला. ६:७.
हामी आफ्नो निर्णयको लागि आफै जबाफदेही हुन्छौँ भनेर स्विकार्छौँ भने त्यसले हामीलाई पापहरू स्विकार्न, गल्तीहरू सच्याउन र ती फेरि नदोहोऱ्याउन उत्प्रेरित गर्न सक्छ। यस्ता कदमहरू चाल्यौँ भने हामी जीवनको दौडमा दौडिरहन सक्नेछौँ। विगतको गलत निर्णयलाई परिवर्तन गर्न सकिँदैन भने आफूले त्यस्तो निर्णय गर्नु ठीकै थियो भनेर प्रमाणित गर्न अथवा आफैलाई वा अरूलाई दोष दिन समय र शक्ति खेर नफाल्नुहोस्। बरु गल्ती स्विकार्नुहोस् र अहिलेको अवस्थामा जे गर्न सकिन्छ, त्यही गर्नुहोस्। यदि गल्तीका कारण दोषी महसुस गरिरहनुभएको छ भने नम्र हुँदै यहोवालाई प्रार्थना गर्नुहोस्, गल्ती स्विकार्नुहोस् र उहाँसित क्षमा माग्नुहोस्। (भज. २५:११; ५१:३, ४) तपाईँको निर्णयले अरूको चित्त दुखेको छ भने क्षमा माग्नुहोस् अनि आवश्यक छ भने एल्डरहरूसित मदत माग्नुहोस्। (याकु. ५:१४, १५) आफ्नो गल्तीबाट पाठ सिक्नुहोस् र त्यो गल्ती फेरि नदोहोऱ्याउन होसियार हुनुहोस्। यसो गर्नुभयो भने यहोवाले तपाईँलाई पक्कै कृपा देखाउनुहुनेछ र साथ दिनुहुनेछ।—भज. १०३:८-१३. w२३.०८ पृ. २८-२९ अनु. ८-९
बिहीबार, जून ५
पुजारी यहोयादाले बाटो देखाउन्जेल यहोआसले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।—२ राजा १२:२.
यहोयादा जीवित होउन्जेल तिनको डोऱ्याइ पाएर राजा यहोआसले परमेश्वरको नजरमा जे सही छ, त्यही गरे। तर यहोयादाको मृत्युपछि जवान राजा यहोआसले धर्मत्यागी भारदारहरूको कुरा सुने। (२ इति. २४:४, १७, १८) यसले गर्दा यहोवाको असाध्यै मन दुख्यो। तैपनि उहाँले “तिनीहरूलाई आफूकहाँ फर्काएर ल्याउन थुप्रै भविष्यवक्तालाई पठाइरहनुभयो . . . तर तिनीहरूले उनीहरूको कुरा सुन्न इन्कार गरे।” तिनीहरूले यहोयादाका छोरा जकरियाको कुरासमेत सुनेनन्। जकरिया यहोवाको भविष्यवक्ता र पुजारी मात्र थिएनन् तर यहोआसको आफन्त पनि थिए। राजा यहोआसले जकरियालाई मार्न लगाए। (२ इति. २२:११; २४:१९-२२) यहोआसले यहोवाप्रतिको डर कायम राखेनन्। यहोवाले यसो भन्नुभएको थियो: “ज-जसले मेरो अपमान गर्छन्, तिनीहरू अपमानित हुनेछन्।” (१ समु. २:३०) सिरियाली सैनिकहरू थोरै भए पनि यहोआसको “विशाल सेनालाई” हराए र तिनलाई “गम्भीर घाइते” बनाए। (२ इति. २४:२४, २५) यहोआसका आफ्नै सेवकहरूले तिनको हत्या गरे किनकि तिनले जकरियालाई मारेका थिए। w२३.०६ पृ. १८ अनु. १६-१७
शुक्रबार, जून ६
कुनै बेला तिमीहरू अन्धकारमा थियौ तर . . . अहिले ज्योतिमा छौ।—एफि. ५:८.
प्रेषित पावलले एफिससमा केही समय बसेर त्यहाँका मानिसहरूलाई सुसमाचार सुनाएका र सिकाएका थिए। (प्रेषि. १९:१, ८-१०; २०:२०, २१) त्यहाँका भाइबहिनीलाई धेरै प्रेम गर्ने भएकोले तिनी उनीहरूलाई यहोवाप्रति वफादार रहन मदत गर्न चाहन्थे। एफिससका ख्रिष्टियनहरू पहिला झूटो धर्म र अन्धविश्वासको दासत्वमा थिए। एफिसस सहर नैतिक रूपमा पतन भइसकेको थियो र निर्लज्ज आचरणमा चुर्लुम्म डुबेको थियो। मानिसहरू सहरका रङ्गमञ्चहरूमा मात्र नभई धार्मिक समारोहहरूमा समेत अश्लील ठट्टा गर्थे। (एफि. ५:३) त्यहाँका धेरैजसो मानिसले “नैतिक चेतना गुमाइसकेका” थिए, जसको शाब्दिक अर्थ “कुनै किसिमको पीडा महसुस नगर्नु” भन्ने हो। (एफि. ४:१७-१९) सही र गलतबारे यहोवाको स्तर सिक्नुअघि कुनै गलत काम गर्दा तिनीहरूलाई अन्तस्करणले घोच्दैन थियो। त्यसैले पावलले “तिनीहरूको दिमाग अन्धकारमा छ अनि परमेश्वरले दिनुहुने जीवनबाट तिनीहरू टाढा भएका छन्” भनेर लेखे। तर एफिससका केही ख्रिष्टियनहरू अन्धकारबाट निस्के। w२४.०३ पृ. २० अनु. २; पृ. २१ अनु. ४-६
शनिबार, जून ७
यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्। तिनीहरू . . . गल्नेछैनन्।—यसै. ४०:३१.
न्यायकर्ता गिदोन आफ्नो जिम्मेवारी पूरा गर्न धेरै खटिनुपर्थ्यो। मिद्यानीहरू रणभूमिबाट रातको समयमा भाग्दा गिदोनले उनीहरूलाई यिज्रेल बेँसीदेखि यर्दन नदीसम्मै खेदे। (न्याय. ७:२२) के गिदोन यर्दनमै रोकिए? थकित भए तापनि तिनी र तिनका ३०० जना मानिस यर्दन तरेर पारि गए र शत्रुहरूलाई खेदिनै रहे। अन्तमा तिनीहरूले मिद्यानीहरूलाई भेट्टाए र मारे। (न्याय. ८:४-१२) गिदोन यहोवाले बल दिनुहुन्छ भन्ने कुरामा विश्वस्त थिए र उहाँले दिनु पनि भयो। (न्याय. ६:१४, ३४) एकपटक गिदोन र तिनका मानिसहरूले दुई मिद्यानी राजालाई पैदलै खेदिरहेका थिए। ती राजाहरू भने उँटमा भागिरहेका हुन सक्छन्। (न्याय. ८:१२, २१) तर यहोवाको मदत पाएर इस्राएलीहरूले उनीहरूलाई पक्रे र युद्ध जिते। त्यसैगरि एल्डरहरू पनि यहोवामा भर पर्नुपर्छ, जो “कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।” उहाँले तिनीहरूलाई आवश्यक परेको बेला बल दिनुहुनेछ।—यसै. ४०:२८, २९ w२३.०६ पृ. ६ अनु. १४; पृ. ७ अनु. १६
आइतबार, जून ८
[यहोवाले] तिमीहरूलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन।—व्यव. ३१:६.
जस्तोसुकै परीक्षा आइपरे तापनि हामीले आफ्नो हृदयलाई स्थिर राखिराख्न सक्छौँ। त्यसैले यहोवामा भरोसा राख्नुहोस्। यहोवाको निर्देशनमा भरोसा गर्दा बाराक कसरी सफल भए, विचार गरौँ। युद्ध लड्न इस्राएलीहरूसित न ढाल न त भाला नै थियो। तैपनि यहोवाले तिनीहरूलाई हातहतियारले सुसज्जित कनानी सेनापति सिसराविरुद्ध युद्ध लड्न भन्नुभयो। (न्याय. ५:८) भविष्यवक्ता दबोराले बाराकलाई तल बेँसीमा गएर ९०० रथसहित आएका सिसरासित लड्न भने। बेँसीमा रथहरू तीव्र गतिमा कुद्न सक्ने भएकोले इस्राएलीहरूलाई तिनीहरूसित लड्न निकै गाह्रो हुने थियो। तैपनि बाराकले दबोराको कुरा माने। सिसराको सेना तबोर डाँडाबाट तल ओर्लँदा यहोवाले ठूलो पानी पारिदिनुभयो र सिसराका रथहरू हिलोमा गाडिए अनि यहोवाले बाराकलाई विजयी तुल्याउनुभयो। (न्याय. ४:१-७, १०, १३-१६) हामीले पनि यहोवामा भरोसा राख्यौँ र उहाँले आफ्ना प्रतिनिधिहरूमार्फत दिनुहुने निर्देशनअनुसार चल्यौँ भने उहाँले हामीलाई विजयी तुल्याउनुहुनेछ। w२३.०७ पृ. १९ अनु. १७-१८
सोमबार, जून ९
जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।—मत्ति २४:१३.
अनन्त जीवन पाउन हामी धीरजी हुनै पर्छ। विगतका वफादार सेवकहरूले जस्तै हामीले पनि यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ भनेर धीरजी भई पर्खनुपर्छ। (हिब्रू ६:११, १२) बाइबलमा हामीलाई किसानसित तुलना गरिएको छ। (याकु. ५:७, ८) किसानले आफ्नो बालीनाली रोप्न र गोडगाड गर्न धेरै मेहनत गर्छ। तर घाम कहिले लाग्छ वा पानी कहिले पर्छ भनेर थाह नहुने भएकोले उसलाई आफ्नो बाली ठ्याक्कै कहिले बढ्छ भनेर थाह हुँदैन। त्यसैले कटनी गर्ने समय पक्कै आउँछ भन्ने कुरामा भरोसा गर्दै ऊ धीरजी भई पर्खन्छ। त्यसैगरि ‘प्रभु कुन दिन आउनुहुन्छ भनेर हामीलाई थाह छैन’ तैपनि हामी आध्यात्मिक गतिविधिमा व्यस्त रहन्छौँ। (मत्ति २४:४२) यहोवाले आफ्ना प्रतिज्ञाहरू ठीक समयमा पूरा गर्नुहुनेछ भनेर भरोसा गर्छौँ र धैर्य गर्दै पर्खन्छौँ। हामी अधीर भयौँ भने पर्खँदापर्खँदै थाक्न सक्छौँ र सत्यबाट बिस्तारै तर्कन सक्छौँ। अनि क्षणिक आनन्द दिने कुराहरूको पछि लाग्न सक्छौँ। तर धीरजी भयौँ भने हामीले अन्तसम्मै सहन र उद्धार पाउन सक्छौँ।—मिका ७:७. w२३.०८ पृ. २२ अनु. ७
मङ्गलबार, जून १०
खुट्टाका औँलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएर बनेका थिए।—दानि. २:४२.
दानिएल २:४१-४३ मा गरिएको भविष्यवाणीलाई दानिएल र प्रकाशको किताबका अरू भविष्यवाणीसित तुलना गर्दा यी खुट्टाहरूले एङ्ग्लो-अमेरिकी गठबन्धनलाई बुझाउँछ भन्ने निष्कर्षमा पुग्न सक्छौँ। यस विश्वशक्तिको सन्दर्भमा दानिएलले यसो भने: “त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ।” किन कुनै पक्षमा कमजोर हुनेछ? किनभने त्यो विश्वशक्ति फलामजस्तै शक्तिशाली भए पनि गिलो माटोले सङ्केत गर्ने आम मानिसहरूले त्यसको कार्यक्षमतालाई कमजोर बनाइदिन्छन्। दानिएलले अर्थ खोलेको मूर्तिबाट हामी थुप्रै महत्त्वपूर्ण कुरा सिक्न सक्छौँ। पहिलो, एङ्ग्लो-अमेरिकी विश्वशक्तिले विभिन्न तरिकामा आफ्नो शक्ति प्रदर्शन गरेको छ। जस्तै: यसले पहिलो र दोस्रो विश्वयुद्ध जित्न महत्त्वपूर्ण भूमिका खेल्यो। तर यो विश्वशक्ति कमजोर हुँदै गइरहेको छ किनकि यसका नागरिकहरू आपसमा लड्छन् र सरकारको पनि विरोध गर्छन्। दोस्रो, यो गठबन्धन नै अन्तिम विश्वशक्ति हुनेछ। w२३.०८ पृ. १०-११ अनु. १२-१३
बुधबार, जून ११
आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ, मदतको लागि मैले मेरा परमेश्वरलाई पुकारिरहेँ। उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो।—भज. १८:६.
आफूले भोगिरहेको समस्या र परीक्षाले गर्दा कहिलेकाहीँ दाउद निराश हुन्थे। (भज. १८:४, ५) तर यहोवाको न्यानो माया र हेरविचारले तिनलाई स्फूर्ति दिन्थ्यो। यहोवाले निराश भएका आफ्ना ती साथीलाई “हरियो खर्कमा” र “पानीछेउको आराम गर्ने ठाउँमा” डोऱ्याउनुभयो। नतिजास्वरूप दाउदले फेरि बल पाए र उहाँको सेवामा आनन्दित भएर लागिरहन सके। (भज. १८:२८-३२; २३:२) आज पनि परीक्षाहरू आइपर्दा यहोवाको अटल प्रेमले गर्दा नै हामीले सहिरहन सकेका छौँ। (विला. ३:२२; कल. १:११) दाउदको जीवन थुप्रै चोटि खतरामा परेको थियो किनकि तिनका थुप्रै शत्रु थिए र उनीहरू शक्तिशाली थिए। तर यहोवाको प्रेमले गर्दा तिनले सुरक्षित महसुस गरे। हरेक अवस्थामा यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर तिनले महसुस गरे, जसले गर्दा तिनले ढाडस पाए। त्यसैले तिनले यस्तो भजन गाए: “[यहोवाले] मेरा सबै डर हटाइदिनुभयो।” (भज. ३४:४) हुनत दाउद कहिलेकाहीँ एकदमै डराए तर यहोवा तिनलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा थाह भएकोले तिनले आफ्नो डरलाई जित्न सके। w२४.०१ पृ. ३० अनु. १५-१७
बिहीबार, जून १२
दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।—हितो. १:१०.
यहोआसका गलत निर्णयहरूबाट सिक्नुहोस्। प्रधानपुजारी यहोयादाको मृत्युपछि यहोआसले खराब साथीहरू रोजे। (२ इति. २४:१७, १८) तिनले यहुदाका भारदारहरूको कुरा सुन्ने निर्णय गरे। यहोआस तिनीहरूदेखि टाढै रहनुपर्थ्यो किनभने तिनीहरू यहोवालाई प्रेम गर्दैनथे। हुनत यहोआसलाई तिनको फुपूका छोरा जकरियाले सच्याउने कोसिस गरेका थिए तर यहोआसले उनको हत्या गर्न लगाए। (२ इति. २४:२०, २१; मत्ति २३:३५) कत्ति क्रूर अनि मूर्ख कदम! तिनको शासनकालको सुरु-सुरुतिर सबै कुरा राम्रै चलिरहेको थियो। तर दुःखको कुरा, पछि तिनी धर्मत्यागी र हत्यारा भए। पछि गएर तिनका आफ्नै सेवकहरूले तिनको हत्या गरे। (२ इति. २४:२२-२५) तिनले यहोवा र उहाँलाई प्रेम गर्नेहरूको कुरा सुन्न नछोडेको भए तिनको जीवन कत्ति राम्रो हुने थियो! w२३.०९ पृ. ९ अनु. ६
शुक्रबार, जून १३
डराउन छोड।—लुका ५:१०.
प्रेषित पत्रुस वफादार रहिरहनेछन् भनेर येसुलाई थाह थियो। त्यसैले उहाँले दयालुपूर्वक पत्रुसलाई “डराउन छोड” भन्नुभयो। येसुले पत्रुसमा यस्तो भरोसा देखाउनुभएकोले तिनले आफ्नो जीवनमा ठूलो परिवर्तन गरे। पत्रुस र तिनका भाइ अन्द्रियासले माछा मार्ने व्यवसाय छोडे अनि येसुसँगै पूर्ण-समय सेवामा लागे र थुप्रै आशिष् पाए। (मर्कु. १:१६-१८) ख्रिष्टको अनुयायीको रूपमा पत्रुसले थुप्रै रोमाञ्चकारी अनुभव बटुले। येसुले बिरामीहरूलाई निको पार्नुभएको, प्रेतहरूलाई धपाउनुभएको र मरिसकेकाहरूलाई जीवित पार्नुभएको समेत तिनले देखे। (मत्ति ८:१४-१७; मर्कु. ५:३७, ४१, ४२) साथै तिनले भविष्यसूचक दर्शनमा येसुलाई परमेश्वरको राज्यको राजाको रूपमा पनि देखे, जुन दर्शन तिनले कहिल्यै बिर्सेनन्। (मर्कु. ९:१-८; २ पत्रु. १:१६-१८) हो, येसुको अनुयायी नभएको भए पत्रुसले यी कुराहरू कहिल्यै देख्ने थिएनन्। नकारात्मक भावनाहरू हटाउन सकेकोमा र यस्ता आशिष्हरू पाएकोमा तिनी कत्ति खुसी भए होलान्! w२३.०९ पृ. २१ अनु. ४-५
शनिबार, जून १४
येसुले तिनलाई जवाफ दिनुभयो: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।”—मत्ति १८:२२.
आफ्नो पहिलो पत्रमा “प्रगाढ प्रेम”-ले एक-दुई वटा मात्र होइन, “असङ्ख्य पापहरू” क्षमा गर्न मदत गर्छ भनेर प्रेषित पत्रुसले बताए। (१ पत्रु. ४:८) सायद वर्षौँअघि येसुले क्षमा दिनेबारे सिकाउनुभएको कुरा तिनले सम्झेको हुनुपर्छ। त्यतिबेला पत्रुसले येसुलाई यस्तो प्रश्न सोधेका थिए: “मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” पत्रुसलाई आफू एकदमै उदार भइरहेको छु जस्तो लागेको हुन सक्छ। तर येसुले तिनलाई “७७ पटकसम्म” अर्थात् गन्ती नगरी क्षमा दिनुपर्छ भनेर सिकाउनुभयो। (मत्ति १८:२१) अनि यो कुरा अहिले हामीलाई पनि लागू हुन्छ। तर तपाईँलाई यो सल्लाहअनुसार गर्न गाह्रो भइरहेको छ भने निराश नहुनुहोस्। हामी सबै जना त्रुटिपूर्ण भएकोले कहिलेकाहीँ अरूलाई क्षमा दिन गाह्रो हुन्छ। तर महत्त्वपूर्ण कुरा भनेको भाइबहिनीलाई क्षमा दिन र तिनीसित शान्ति कायम गर्न हामीले आफ्नो तर्फबाट सक्दो कोसिस गर्नुपर्छ। w२३.०९ पृ. २९ अनु. १२
आइतबार, जून १५
मैले यहोवालाई पुकारेँ र उहाँले मलाई जवाफ दिनुभयो।—योना २:२.
माछाको पेटमा हुँदा पश्चात्तापी मनोभावसहित गरेको प्रार्थना उहाँले सुन्नुहुन्छ भन्ने कुरामा योना विश्वस्त थिए। अनि यहोवाको साथ पाउने कुरामा पनि तिनी ढुक्क थिए। पछि माछाले योनालाई सुक्खा जमिनमा ओकलिदियो र तिनी यहोवाले सुम्पनुभएको जिम्मेवारी पूरा गर्न तयार भए। (योना २:१०–३:४) परीक्षाको बेला के तपाईँ प्रार्थना नै गर्न नसक्नेगरि चिन्तित हुनुभएको छ? अथवा अध्ययन गर्न बलै नभएको महसुस गर्नुभएको छ कि? यहोवा तपाईँको अवस्था राम्ररी बुझ्नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्। त्यसैले छोटो प्रार्थना मात्र गर्नुभयो भने पनि उहाँले तपाईँलाई चाहिएकै मदत दिनुहुनेछ भन्ने कुरामा ढुक्क हुनुहोस्। (एफि. ३:२०) शारीरिक वा भावनात्मक पीडाले गर्दा पढ्न सकिरहनुभएको छैन भने बाइबल वा बाइबलआधारित प्रकाशनहरूको अडियो रेकर्डिङ सुन्न सक्नुहुन्छ। jw.org मा गीतहरू सुन्नुभयो वा भिडियोहरू हेर्नुभयो भने पनि मदत पाउन सक्नुहुन्छ। यहोवालाई प्रार्थना गर्नुभयो अनि त्यसको जवाफ बाइबल र उहाँले प्रबन्ध गर्नुभएका अरू कुराहरूमा खोज्नुभयो भने उहाँले तपाईँलाई बलियो बनाउनुहुन्छ। w२३.१० पृ. १३ अनु. ६; पृ. १४ अनु. ९
सोमबार, जून १६
पवित्र शक्तिले यो कुरा स्पष्ट पारेको छ कि पहिलो पाल अस्तित्वमा रहुन्जेलसम्म पवित्र ठाउँमा पस्ने बाटो प्रकट गरिएको थिएन।—हिब्रू ९:८.
वासस्थानको र पछि यरुसलेममा बनाइएको मन्दिरको भित्री भाग उस्तै थियो। भित्री भागमा दुई वटा कोठा थिए—“पवित्र कोठा” र “महापवित्र कोठा।” यी दुई कोठालाई बुट्टा भरिएको पर्दाले छुट्ट्याएको थियो। (हिब्रू ९:२-५; प्रस्थ. २६:३१-३३) पवित्र कोठाभित्र सुनको पानस, धूप बाल्ने वेदी र भेटीको रोटी राख्ने टेबुल थियो। ‘पुजारीको रूपमा सेवा गर्न अभिषेक गरिएका’ पुजारीहरू मात्र पवित्र कोठाभित्र पस्न पाउँथे। (गन्ती ३:३, ७, १०) महापवित्र कोठाभित्र सुनले बनाइएको करारको सन्दुक थियो, जसले यहोवाको उपस्थितिलाई सङ्केत गर्थ्यो। (प्रस्थ. २५:२१, २२) वर्षमा एक चोटि प्रायश्चितको दिनमा पर्दापछाडि रहेको महापवित्र कोठाभित्र प्रधानपुजारी मात्र पस्न पाउँथे। (लेवी १६:२, १७) तिनी आफ्नो र पूरै राष्ट्रको पापको प्रायश्चितको लागि जनावरको रगत लिएर महापवित्र कोठाभित्र पस्थे। समयको दौडान यहोवाले वासस्थानका यी भागहरूको वास्तविक अर्थ खुलाउनुभयो।—हिब्रू ९:६, ७. w२३.१० पृ. २७ अनु. १२
मङ्गलबार, जून १७
तिमीहरू आपसमा प्रेम गरिरहो।—युह. १५:१७.
बाइबलमा पटक-पटक “आपसमा प्रेम गर” भन्ने आज्ञा दिइएको छ। (युह. १५:१२; रोमी १३:८; १ थिस्स. ४:९; १ पत्रु. १:२२; १ युह. ४:११) तर प्रेम एउटा भावना हो, जुन मानिसको आँखाले देख्न सक्दैन। त्यसोभए अरूलाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ? आफ्नो बोली र व्यवहारबाट। भाइबहिनीलाई प्रेम गरेको देखाउने थुप्रै तरिका छन्। केही उदाहरण विचार गरौँ: “एकअर्कासित साँचो बोल्नू।” (जक. ८:१६) “आपसमा शान्ति कायम राख।” (मर्कु. ९:५०) “एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।” (रोमी १२:१०) “एकअर्कालाई स्वीकार गर।” (रोमी १५:७) “एकअर्कालाई . . . क्षमा गरिरहो।” (कल. ३:१३) “एकअर्काको बोझ बोक्ने गर।” (गला. ६:२) “एकअर्कालाई . . . सान्त्वना दिइरहो।” (१ थिस्स. ४:१८) “एकअर्काको उत्थान गरिरहो।” (१ थिस्स. ५:११) “एकअर्काका लागि प्रार्थना गर।”—याकु. ५:१६. w२३.११ पृ. ९ अनु. ७-८
बुधबार, जून १८
आशामा रमाओ।—रोमी १२:१२.
हामी हरेक दिन बलियो विश्वास चाहिने विभिन्न निर्णय गर्छौँ। जस्तै: कसलाई साथी बनाउने, कस्तो मनोरञ्जन रोज्ने, कुन विषय लिएर पढ्ने, कस्तो काम गर्ने, कोसित विवाह गर्ने, बच्चा जन्माउने कि नजन्माउने। हामीले आफैलाई यस्ता प्रश्नहरू सोध्नु बेस हुन्छ: ‘के मेरा निर्णयहरूबाट यो संसार चाँडै बितेर जाँदै छ र त्यसको ठाउँमा नयाँ संसार स्थापना हुनेछ भन्ने कुरामा विश्वस्त भएको देखिन्छ? अथवा मरेपछि सबै सक्यो भन्ने मानिसहरूको जस्तो सोचाइ झल्किन्छ कि?’ (मत्ति ६:१९, २०; लुका १२:१६-२१) नयाँ संसार नजिकै छ भन्ने कुरामा हाम्रो विश्वास बलियो छ भने हामीले सही निर्णयहरू गर्न सक्नेछौँ। हामीलाई कुनै-कुनै परीक्षा सहन बलियो विश्वास चाहिन्छ। हामीले खेदो, गम्भीर स्वास्थ्य समस्या वा निराश बनाउने अन्य परीक्षाहरू भोग्नुपर्ने हुन सक्छ। सुरुमा त हामीलाई यस्ता परीक्षाहरू सहन सक्छौँ जस्तो लाग्न सक्छ। तर त्यस्ता परीक्षाहरू अक्सर लामो समयसम्म रहिरहन्छ। त्यसैले त्यो सहन र रमाएर यहोवाको सेवामा लागिरहन हामीलाई बलियो विश्वास चाहिन्छ।—१ पत्रु. १:६, ७. w२३.०४ पृ. २७ अनु. ४-५
बिहीबार, जून १९
निरन्तर प्रार्थना गर।—१ थिस्स. ५:१७.
हामीले प्रार्थनाअनुरूप कदम चालेको यहोवा चाहनुहुन्छ। मानौँ, एक जना भाइ अधिवेशन जान छुट्टी मिलाउन सकूँ भनेर यहोवासित मदत माग्छन्। यहोवा तिनको प्रार्थनाको जवाफ कसरी दिन सक्नुहुन्छ? उहाँले तिनलाई हाकिमसित कुरा गर्न साहस दिन सक्नुहुन्छ। तर ती भाइ आफै हाकिमकहाँ गएर छुट्टीको लागि कुरा गर्न अग्रसर हुनुपर्छ। तिनले हाकिमसित थुप्रै चोटि कुरा गर्नुपर्ने हुन सक्छ। तिनले कुनै सहकर्मीसित काम गर्ने दिन साट्ने प्रस्ताव राख्नुपर्ने वा बेतलबी बिदा लिनुपर्ने हुन सक्छ। कुनै विषयबारे बारम्बार प्रार्थना गरेको यहोवा चाहनुहुन्छ। हाम्रो कुनै-कुनै बिन्ती तुरुन्तै पूरा हुँदैन भनेर येसुका शब्दहरूबाट बुझ्न सक्छौँ। (लुका ११:९) त्यसैले हरेस नखानुहोस्! बरु व्यग्रतासाथ बारम्बार प्रार्थना गर्नुहोस्। (लुका १८:१-७) त्यसरी प्रार्थना गर्दा हाम्रो लागि त्यो कुरा कत्ति महत्त्वपूर्ण छ भनेर देखाइरहेका हुन्छौँ। साथै यहोवा हामीलाई मदत गर्न सक्नुहुन्छ भन्ने कुरामा विश्वस्त भएको देखाइरहेका हुन्छौँ। w२३.११ पृ. २२ अनु. १०-११
शुक्रबार, जून २०
आशाले निराश तुल्याउँदैन।—रोमी ५:५.
यहोवाले आफ्नो मित्र अब्राहामलाई तिनकै सन्तानमार्फत पृथ्वीका सबै जातिले आशिष् पाउनेछन् भनेर प्रतिज्ञा गर्नुभयो। (उत्प. १५:५; २२:१८) अब्राहाम परमेश्वरमाथि पूरा भरोसा गर्थे। त्यसैले उहाँको प्रतिज्ञा पक्कै पूरा हुनेछ भन्ने कुरामा तिनी ढुक्क थिए। तर अब्राहाम १०० वर्ष अनि सारा ९० वर्ष पुगिसक्दा पनि तिनीहरूको कुनै छोरा थिएन। (उत्प. २१:१-७) तैपनि बाइबल यसो भन्छ: “[अब्राहामलाई] भनिएबमोजिमै थुप्रै जातिको बुबा हुनेछु भनेर आशा गर्दै तिनले विश्वास गरे।” (रोमी ४:१८) अब्राहामको आशा साकार भयो। तिनले लामो समयदेखि प्रतीक्षा गरेको तिनको छोरा इसहाकको जन्म भयो। अब्राहामले परमेश्वरको प्रतिज्ञामाथि किन भरोसा गर्न सके? अब्राहामले यहोवासित घनिष्ठ सम्बन्ध गाँसेका थिए। त्यसैले “उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा गर्न सक्नुहुन्छ भनेर तिनी पूर्णतया विश्वस्त” थिए। (रोमी ४:२१) अब्राहामको विश्वासको कारण यहोवाले तिनलाई अनुमोदन दिनुभयो र धर्मी ठहराउनुभयो।—याकु. २:२३. w२३.१२ पृ. ८ अनु. १-२
शनिबार, जून २१
जो मानिस सानो कुरामा विश्वासयोग्य छ, ऊ धेरै कुरामा पनि विश्वासयोग्य हुन्छ अनि जो सानो कुरामा बेइमान छ, ऊ धेरै कुरामा पनि बेइमान हुन्छ।—लुका १६:१०.
भरोसायोग्य व्यक्तिले आफूलाई सुम्पिइएको जिम्मेवारी लगनशील भई पूरा गर्छन्। येसुको उदाहरण विचार गरौँ। उहाँले आफूलाई सुम्पिइएको जिम्मेवारीलाई कहिल्यै हल्कासित लिनुभएन। बरु यहोवाले सुम्पनुभएका जिम्मेवारीहरू गाह्रो अवस्थामा समेत पूरा गर्नुभयो। उहाँ मानिसहरूलाई, अझ विशेषगरि आफ्ना चेलाहरूलाई प्रेम गर्नुहुन्थ्यो; त्यसैले उहाँ सबैको लागि आफ्नो जीवन दिन तयार हुनुभयो। (युह. १३:१) येसुको अनुकरण गर्दै आफूलाई सुम्पिइएको जुनसुकै जिम्मेवारी पूरा गर्न कडा मेहनत गर्नुहोस्। त्यो जिम्मेवारी कसरी पूरा गर्ने भनेर पक्का हुनुहुन्न भने नम्र हुँदै परिपक्व दाजुभाइलाई सोध्नुहोस्। आफूलाई दिइएको काम झारा टार्ने किसिमले नगर्नुहोस्। (रोमी १२:११) बरु “मानिसको लागि जस्तैगरि होइन तर यहोवा परमेश्वरको लागि जस्तैगरि तनमनले” गर्नुहोस्। (कल. ३:२३) हो, तपाईँ त्रुटिरहित हुनुहुन्न, त्यसैले गल्ती हुँदा नम्र हुँदै आफ्नो गल्ती स्विकार्नुहोस्।—हितो. ११:२. w२३.१२ पृ. २६ अनु. ८
आइतबार, जून २२
यहोवामा भरोसा गर्ने मानिस . . . धन्यको हो।—यर्मि. १७:७.
बप्तिस्मा गरेर यहोवाको परिवारको भाग बन्न पाउँदा हामी आनन्दित हुन्छौँ। यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न पाउनु सम्मानको कुरा हो। हामी भजनरचयिता दाउदसित सहमत छौँ: “आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छ र तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।” (भज. ६५:४) यहोवा कस्ता मानिसहरूलाई आफ्नो चोकमा बास गर्न दिनुहुन्छ? उहाँसित नजिक हुन चाहनेहरूलाई। (याकु. ४:८) तपाईँले समर्पण र बप्तिस्मा गरेपछि उहाँले तपाईँमाथि ‘कुनै कुराको कमी नै नहुने गरी आशिष् बर्साउनुहुनेछ।’ (मला. ३:१०; यर्मि. १७:८) बप्तिस्मा ख्रिष्टियन जीवनको सुरुवात मात्र हो। तपाईँ समर्पणको वाचाअनुरूप जिउन सक्दो कोसिस गर्न उत्प्रेरित हुनुहुनेछ, चाहे जस्तोसुकै प्रलोभन वा परीक्षाको सामना किन गर्नु नपरोस्। (उप. ५:४, ५) येसुको चेला भएकोले तपाईँले उहाँको पाइला पछ्याउन र उहाँका आज्ञाहरू पालन गर्न यथासक्दो कोसिस गर्नुहुनेछ।—मत्ति २८:१९, २०; १ पत्रु. २:२१. w२४.०३ पृ. ८ अनु. १-३
सोमबार, जून २३
पुरुषले आफ्ना बुबा र आमालाई छोड्छ अनि आफ्नी पत्नीसित बस्छ।—उत्प. २:२४.
तपाईँ र तपाईँको जोडीलाई सँगै समय बिताउन मन पर्दैन भने नि? तपाईँ के गर्न सक्नुहुन्छ? हामी आगोको उदाहरण विचार गरौँ। आगो बाल्नेबित्तिकै दन्किहाल्दैन। त्यसको लागि तपाईँले सुरुमा सानो अनि पछि ठूलठूला दाउरा थप्दै जानुपर्छ। त्यसैगरि तपाईँहरूले पनि हरेक दिन एकअर्कासित थोरै समय बिताउनुभए कसो होला? तपाईँहरू दुवैलाई मन पर्ने कुनै काम गर्न सक्नुहुन्छ। (याकु. ३:१८) यसरी सानो सुरुवात गरेर तपाईँहरूले सेलाइसकेको प्रेमलाई फेरि न्यानो बनाउन सक्नुहुन्छ। वैवाहिक सम्बन्धमा एकअर्कालाई आदर गर्नु एकदमै महत्त्वपूर्ण छ। यो आगो बलिरहन चाहिने अक्सिजनजस्तै हो। अक्सिजन भएन भने आगो तुरुन्तै निभ्छ। त्यसैगरि एकअर्कालाई आदर नगर्ने पतिपत्नीबीचको प्रेम पनि तुरुन्तै सेलाउन सक्छ। अर्कोतर्फ, एकअर्कालाई आदर देखाउन सक्दो कोसिस गर्नेहरूको आपसी प्रेम बलियो हुँदै जान्छ। हुनत तपाईँलाई आफ्नो जीवनसाथीलाई आदर देखाइरहेको छु जस्तो लाग्न सक्छ। तर महत्त्वपूर्ण कुरा, तपाईँको जीवनसाथीले आदर पाएको महसुस गरिरहेको छ कि छैन भन्ने हो। w२३.०५ पृ. २२ अनु. ९; पृ. २४-२५ अनु. १४-१५
मङ्गलबार, जून २४
जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।—भज. ९४:१९.
बाइबलमा शत्रुहरूको विरोध वा अन्य दबाबले गर्दा निराश र त्रसित महसुस गरेका वफादार सेवकहरूबारे बताइएको छ। (भज. १८:४; ५५:१, ५) हामीले पनि स्कुलमा, काम गर्ने ठाउँमा वा परिवार अथवा सरकारबाट विरोधको सामना गरिरहेका हुन सक्छौँ। कुनै रोग लाग्दा हामीलाई ‘अब म मर्छु होला’ भनेर डर लाग्न सक्छ। हामीले सानो बालकले जस्तै निस्सहाय महसुस गर्न सक्छौँ। त्यस्तो बेला यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ? उहाँ हामीलाई सान्त्वना र दिलासा दिनुहुन्छ। त्यसैले प्रार्थना गरेर अनि बाइबल पढेर नियमित रूपमा यहोवासित समय बिताउनुपर्छ। (भज. ७७:१, १२-१४) यस्तो बानी विकास गर्नुभएको छ भने तनावपूर्ण अवस्था आइपर्नेबित्तिकै तपाईँले सबैभन्दा पहिला यहोवालाई नै सम्झिनुहुनेछ। आफ्नो डर र चिन्ता-फिक्रीबारे यहोवालाई बताउनुहोस्। बाइबल पढेर उहाँको कुरा सुन्नुहोस् अनि उहाँले दिनुहुने सान्त्वना महसुस गर्नुहोस्।—भज. ११९:२८. w२४.०१ पृ. २४-२५ अनु. १४-१६
बुधबार, जून २५
परमेश्वरले . . . तिमीहरूलाई बलियो बनाउनुहुन्छ अनि तिमीहरूमा इच्छा पैदा गर्नुहुन्छ र त्यो पूरा गर्ने शक्ति पनि दिनुहुन्छ।—फिलि. २:१३.
आफ्नो लक्ष्यसम्म पुग्न हामीसित बलियो इच्छा हुनुपर्छ। यस्तो इच्छाले हामीलाई कडा मेहनत गर्न उत्प्रेरित गर्छ। अनि लक्ष्यसम्म पुग्ने हाम्रो इच्छा जत्ति बलियो हुन्छ, त्यो हासिल गर्ने सम्भावना त्यत्ति नै धेरै हुन्छ।” त्यसोभए आफ्नो इच्छालाई अझ बलियो बनाउन तपाईँ के गर्न सक्नुहुन्छ? इच्छा बढाइदिन प्रार्थना गर्नुहोस्। यहोवाको पवित्र शक्तिले तपाईँमा लक्ष्यसम्म पुग्ने इच्छा पैदा गर्न सक्छ। लक्ष्य राख्नुपर्छ भनेर थाह भएकोले हामी लक्ष्य राख्छौँ होला अनि यो राम्रो कुरा पनि हो। तर हामीसित त्यो हासिल गर्ने इच्छा भने नहुन सक्छ। यहोवाले तपाईँको लागि गरिदिनुभएका कुराहरूमा मनन गर्नुहोस्। (भज. १४३:५) प्रेषित पावलले आफूलाई यहोवाले देखाउनुभएको असीम अनुग्रहमा मनन गरे। यसले तिनलाई यहोवाको सेवामा कडा मेहनत गर्न उत्प्रेरित गऱ्यो। (१ कोरि. १५:९, १०; १ तिमो. १:१२-१४) त्यसैगरि यहोवाले तपाईँको लागि गरिदिनुभएको कुरामा जत्ति धेरै मनन गर्नुहुन्छ, लक्ष्यसम्म पुग्ने तपाईँको इच्छा त्यत्ति नै बलियो हुनेछ।—भज. ११६:१२. w२३.०५ पृ. २७ अनु. ३-५
बिहीबार, जून २६
यहोवाको नामको प्रशंसा गर।—भज. ११३:१.
स्वर्गमा बस्नुहुने बुबाको नामको प्रशंसा गरेर हामी उहाँलाई खुसी बनाउँछौँ। (भज. ११९:१०८) त्रुटिपूर्ण मानिसहरू अरूले आफ्नो प्रशंसा गरिदेऊन् भन्ने चाहन्छन् किनभने तिनीहरू त्यसबाट हौसला पाउँछन्। के हाम्रो सर्वशक्तिमान् परमेश्वर पनि त्यस्तै हुनुहुन्छ? अहँ, हुनुहुन्न। कुनै पनि मानिस विनास्वार्थ यहोवाको नामको पक्षमा खडा हुँदैन भनेर सैतानले दाबी गरेको छ। तर हामीले यहोवा बुबाको प्रशंसा गर्दा सैतानको त्यस दाबीलाई झूटो साबित गरिरहेका हुन्छौँ। परीक्षामा पर्दा कुनै पनि मानिस सत्यनिष्ठ रहँदैन भनेर त्यसले दाबी गरेको छ। यहोवाको सेवा गर्न छोड्दा आफ्नो फाइदा हुन्छ जस्तो लाग्यो भने मानिसले उहाँको सेवा गर्न छोड्छ भनेर पनि सैतानले भनेको छ। (अय्यु. १:९-११; २:४) तर यहोवाप्रति वफादार रहेर अय्युबले सैतानलाई झूटो साबित गरे। तपाईँचाहिँ के गर्नुहुन्छ? हामी प्रत्येकले यहोवाको नामको पक्षमा खडा हुने र सत्यनिष्ठा कायम राखेर उहाँलाई खुसी तुल्याउने छनौट गर्न सक्छौँ। (हितो. २७:११) यो हाम्रो लागि साँच्चै सम्मानको कुरा हो! w२४.०२ पृ. ८-९ अनु. ३-५
शुक्रबार, जून २७
उहाँका भविष्यवक्ताहरूलाई विश्वास गर अनि तिमीहरू सफल हुनेछौ।—२ इति. २०:२०.
मोसा र यहोसुको समयपछि यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन न्यायकर्ताहरूलाई नियुक्त गर्नुभयो। त्यसपछि राजाहरूको समयमा भविष्यवक्ताहरूलाई नियुक्त गर्नुभयो। वफादार राजाहरूले भविष्यवक्ताहरूको सल्लाह स्विकारे। जस्तै: भविष्यवक्ता नातानले राजा दाउदलाई सुधार्दा तिनले नम्र भई स्विकारे। (२ समु. १२:७, १३; १ इति. १७:३, ४) राजा यहोसापात डोऱ्याइको लागि भविष्यवक्ता याहजिएलमा भर परे र तिनले यहुदाका मानिसहरूलाई पनि ‘यहोवाका भविष्यवक्ताहरूमा विश्वास गर्न’ सल्लाह दिए। (२ इति. २०:१४, १५) आपत्को समयमा राजा हिजकियाहले भविष्यवक्ता यसैयामार्फत परमेश्वरको मदत मागे। (यसै. ३७:१-६) यहोवाको डोऱ्याइअनुसार हिँड्दा राजाहरूले आशिष् पाए र पूरै इस्राएल राष्ट्र सुरक्षित भयो। (२ इति. २०:२९, ३०; ३२:२२) यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन भविष्यवक्ताहरूलाई प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा स्पष्टै थियो। w२४.०२ पृ. २१ अनु. ८
शनिबार, जून २८
तिनीहरूका कामको भागीदार नबन।—एफि. ५:७.
हामीले यहोवाको स्तरअनुसार चल्न बाधा पुऱ्याउने मानिसहरूसित सङ्गत गरेको सैतान चाहन्छ। हामीले याद गर्नुपर्ने कुरा के हो भने सङ्गत भनेको कसैसित प्रत्यक्ष भेटेर समय बिताउनु मात्र त होइन। यसमा कसैसित सामाजिक सञ्जालमा कुराकानी गर्नु पनि समावेश छ। हामीले अनैतिक आचरण स्वीकार्य छ भन्ने संसारको सोचाइलाई तिरस्कार गर्नुपर्छ किनभने यो गलत सोचाइ हो। (एफि. ४:१९, २०) त्यसैले हामीले आफैलाई यी प्रश्नहरू सोध्नुपर्छ: ‘के म यहोवाको धार्मिक स्तरको कदर नगर्ने सहकर्मी, सहपाठी वा अरूसित ज्यादै हिमचिम नबढाउन सतर्क छु? अरूले मलाई कट्टर भने पनि के म साहसी भई यहोवाको स्तरअनुसार चल्छु?’ दोस्रो तिमोथि २:२०-२२ मा बताइएझैँ हामी मण्डलीभित्र पनि घनिष्ठ साथी बनाउने सन्दर्भमा होसियार हुनु आवश्यक छ। कसै-कसैले हामीलाई वफादार भई यहोवाको सेवामा लागिरहन बाधा पुऱ्याउन सक्छ भन्ने कुरा मनमा राख्नुपर्छ। w२४.०३ पृ. २२-२३ अनु. ११-१२
आइतबार, जून २९
यहोवा कोमल स्नेहले भरिपूर्ण हुनुहुन्छ।—याकु. ५:११.
के तपाईँले कहिल्यै यहोवा कस्तो हुनुहुन्छ भनेर सोच्नुभएको छ? हुनत यहोवा अदृश्य हुनुहुन्छ तर बाइबलमा उहाँलाई विभिन्न तरिकामा वर्णन गरिएको छ। जस्तै: यहोवा ‘सूर्य र ढाल हुनुहुन्छ’ अनि “भस्म गर्ने आगो” हुनुहुन्छ भनिएको छ। (भज. ८४:११; हिब्रू १२:२९) उहाँको उपस्थितिलाई बहुमूल्य रत्न नीलम, चम्किलो धातु र मनमोहक इन्द्रेनीसित तुलना गरिएको छ। (इज. १:२६-२८) हामी यहोवालाई देख्न सक्दैनौँ। त्यसैले उहाँ हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरामा विश्वास गर्न गाह्रो लाग्न सक्छ। कसै-कसैलाई विगतका तीता अनुभवहरूले गर्दा यहोवा तिनीहरूलाई कहिल्यै माया गर्नुहुन्न जस्तो लाग्न सक्छ। यहोवा त्यस्ता भावनाहरू र हामीलाई उहाँसित नजिक हुन गाह्रो लाग्नुका कारणहरू बुझ्नुहुन्छ। त्यसैले हामीलाई मदत गर्न उहाँले बाइबलमा आफ्ना मनमोहक गुणहरू प्रकट गर्नुभएको छ। यहोवाको व्यक्तित्वलाई सबैभन्दा राम्ररी वर्णन गर्ने एउटा शब्द हो, प्रेम। बाइबलमा “परमेश्वर प्रेम हुनुहुन्छ” भनिएको छ। (१ युह. ४:८) उहाँ हरेक कामकुरा प्रेमले उत्प्रेरित भएर गर्नुहुन्छ। परमेश्वरको प्रेम यत्ति गहिरो र सशक्त छ कि उहाँ आफूलाई प्रेम नगर्नेहरूलाई समेत प्रेम गर्नुहुन्छ।—मत्ति ५:४४, ४५. w२४.०१ पृ. २६ अनु. १-३
सोमबार, जून ३०
उहाँ तिनीहरूसित बादलको खामोबाट बोल्नुहुन्थ्यो।—भज. ९९:७.
इस्राएलीहरूले मिश्रको दासत्वबाट छुटकारा पाएपछि तिनीहरूलाई डोऱ्याउन यहोवाले मोसालाई नियुक्त गर्नुभयो। उहाँले मोसामार्फत इस्राएलीहरूलाई डोऱ्याउँदै हुनुहुन्छ भन्ने कुरा स्पष्ट पार्न दृश्य प्रमाणहरूको रूपमा दिनमा बादलको खामो र रातमा आगोको खामो दिनुभयो। (प्रस्थ. १३:२१) त्यस खामोको पछिपछि लाग्दै मोसा र इस्राएलीहरू लाल समुद्रमा पुगे। त्यतिबेला मिश्रीहरूले इस्राएलीहरूलाई खेदिरहेका थिए। अगाडि विशाल समुद्र अनि पछाडि विशाल सेना! उम्कने कुनै बाटो नै छैन जस्तो लागेकोले तिनीहरू निकै आत्तिए। यहोवाले जानीबुझीकनै मोसामार्फत तिनीहरूलाई त्यहाँ डोऱ्याउनुभएको थियो। (प्रस्थ. १४:२) त्यसपछि उहाँले तिनीहरूलाई अचम्मलाग्दो तरिकामा छुटकारा दिनुभयो। (प्रस्थ. १४:२६-२८) त्यसको ४० वर्षपछिसम्म पनि मोसा इस्राएलीहरूलाई निर्जनभूमिमा डोऱ्याउन बादलको खामोमा भर परे। (प्रस्थ. ३३:७, ९, १०) त्यही खामोबाट यहोवा मोसासित बोल्नुहुन्थ्यो र उहाँबाट पाएको निर्देशन मोसा इस्राएलीहरूलाई सुनाउँथे। इस्राएलीहरूलाई डोऱ्याउन यहोवाले मोसालाई प्रयोग गरिरहनुभएको छ भन्ने कुराको स्पष्ट प्रमाण तिनीहरूकै आँखाअगाडि थियो। w२४.०२ पृ. २१ अनु. ४-५