“मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु”
सम्पूर्ण परिवारले वनमा रमाइलो भ्रमण गरिरहे थियो। अचानक पिटर अथवा सबैभन्दा कान्छो, एउटा लोखर्केलाई लखेट्दै ओरालो लाग्यो र लखेट्दा लखेट्दै उसले आफ्नो बाटो बिरायो। अकस्मात, आकाश बादलले ढाक्यो र पानी पर्न थाल्यो। पहिले त हल्का छिटाछिटी आयो तर बिस्तारै त्यो मुसलधारे वर्षामा परिणत भयो। स-परिवार हतार हतार आफ्ना मालतालहरू जम्मा गर्दै मोटरतिर लागे र पिटर कहाँ छ होला भनी सबैले चिन्ता गर्न थाले।
यसैबीच, पिटर आफ्नो परिवारलाई खोज्ने प्रयत्न गरिरहेको थियो। अगाडि स्पष्टसित देख्न गाह्रो थियो र वर्षाले गर्दा डाँडाको उकालो बाटो चिप्लो थियो। अचानक, उसको खुट्टा मनिको जमीन भासिन थाल्यो र ऊ गहिरो, नदेखिने खाल्डोभित्र लर्खरिंदै पस्यो। उसले बाहिर निस्कन खोज्यो, तर खाल्डोको डिल अत्यन्तै चिप्लो थियो।
पानीको भल डाँडा तल ओइरिनु थाल्यो र खाल्डो हिलोले भर्न लाग्यो। पिटर साँच्चै नै डुब्ने खतरामा थियो। तर त्यत्ति नै खेर उसको बाबुले तिनलाई भेट्टाए र डोरीले तानेर बाहिर निकाले। यसरी डुल्दै हराएकोमा पिटरले पछिबाट खूब गाली सुन्नु पर्यो। तरै पनि, कम्बलमा बेह्रिएर आफ्नी आमाको काखमा बसेर भनाइ सुन्नु उसलाई गाह्रो लागेन।
परमेश्वरका जनहरू मध्येका कसै कसैमाथि घट्ने कुरालाई यस अनुभवले राम्ररी प्रदर्शित गर्दछ। यस रीतिरिवाजको गहिरो खाल्डोभित्र तिनीहरू खसेका छन् र यहोवाको सङ्गठनको शरणमा फर्कनका लागि तिनीहरू बामे सर्दै सकेसम्म बाहिर निस्किन खोज्दैछन्। तर खुशीको कुरा के हो भने, यहोवा करुणामय हुनु हुन्छ र माथिबाट ‘डोरी खसालेर’ तिनीहरूलाई सुरक्षित ठाउँमा फर्कि आउने मद्दत दिन तयार हुनुहुन्छ!
यहोवाको करुणामय व्यवहार
उहिले इस्राएलका समयमा मन्दिर निर्माण गर्ने काम समाप्त भएपछि सुलेमानले एउटा समर्पण प्रार्थना चढाए। त्यो मन्दिरतिर फर्केर चढाएको अर्जबिन्ती यहोवाले सुनून् भनेर सुलेमानले त्यतिबेला बिन्ती गर्दै भने: “तिनीहरूले [इस्राएलीहरूले] तपाईंको विरुद्धमा पाप गरे (औ कुन चाहिं मानिस पापरहित होला र?) औ तपाईंले आफ्नो क्रोधमा तिनीहरूलाई कुनै शत्रुको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई टाढा वा नजिक आफ्नो देशमा कैद गरेर लग्यो, औ तिनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले दुःख पाएकोले गर्दा . . . मैले बनाएको यस भवनतिर फर्केर तपाईंमा प्रार्थना गरे भने, आफ्ना बासस्थान स्वर्गमा तिनीहरूको प्रार्थना र अर्जबिन्ती सुन्नुहोस्।”—१ राजा ८:४६-४९.
इस्राएलको इतिहासमा सुलेमानले गरेको अर्जबिन्ती धेरै पटक पूरा भयो। परमेश्वरका जनहरूले बारम्बार बाटो बिराए र उहाँलाई त्यागे। तब फेरि तिनीहरूले आफ्नो गल्ती स्वीकारे र उहाँलाई खोज्दै फर्के। र यहोवाले तिनीहरूलाई क्षमा गर्नु भयो। (व्यवस्था ४:३१; यशैया ४४:२१, २२; २ कोरिन्थी १:३; याकूब ५:११) यहोवाले उहाँका जनहरूसित हजार वर्ष देखिन् गर्दै आउनु भएको व्यवहारको सारांश मलाकी अगमवक्ताद्वारा यस प्रकार प्रस्तुत गरिएको छ: “तिमीहरूका पिता पुर्खाका दिनदेखिनै तिमीहरू मेरा धार्मिक-विधानहरूदेखि तर्केर गएका छौ, र ती तिमीहरूले पालन गरेका छैनौ। मतिर फर्क र म तिमीहरूतिर फर्कने छु।”—मलाकी ३:७.
ठोकरका कारणहरू
इस्राएलीहरू झैं, आज पनि यहोवाका धेरै जनहरूले बाटो बिराउँछन् र आफूलाई यहोवाको सङ्गठनबाट अलग्ग पार्छन्। किन? पिटरले त्यो लोखर्केलाई खेदे झैं, कतिले हेर्नमा निर्दोषै देखिने वस्तुहरू पिछा गर्न थाल्छ। उदाहरणका लागि, एडासित घटेको घटनामाथि ध्यान दिनु होस्। तिनी भन्छिन्: “अपराह्नको समय हामी सबै जना सह-कर्मीहरू मिलेर नजिकैको रेस्टुराँमा खाने चलन थियो। यसैकारण साँझपख तिनीहरूले मलाई एक कप कॅफी पिउन निम्त्याउँदा, त्यो स्वीकार्न मलाई अलिकता पनि अप्ठ्यारो लागेन। मैले सोचे कि आखिर सभाहरू वा प्रचारको समयमा यसो गरेकी थिइन। यसकारण यसमा चिन्तित हुनु पर्ने केही कारण देखिन। तर १ कोरिन्थी १५:३३-मा उल्लेखित सिद्धान्तलाई पालन गर्न म असमर्थ भइ रहेछु भन्ने कुरा मैले त्यस बखत बुझ्न सकिन।
“केही समय पछि, प्रत्येक शनिवार म ती साथीहरू सित घोडसवारीका निम्ति जान थालें। त्यसपछि म तिनीहरू सित फिल्म र नाटकहरू पनि हेर्न जाने गरें। यसले गर्दा म केही सभाहरूमा उपस्थित हुन असमर्थ भएँ। तर अन्तमा त म कुनै एउटा सभामा पनि उपस्थित हुन नसक्ने भएँ। प्रचारको काममा पनि भाग लिन बन्द भयो। आफूलाई के भइ रहेछ भनेर थाहा होउञ्जेलसम्म त सङ्गठनसित मैले सङ्गत गर्नै छाडी सकेकी थिएँ।”
सङ्गठन छाडने अर्को कारण कुनै गम्भीर लुकेको पाप पनि हुन सक्छ जसले गर्दा त्यस व्यक्तिले आफूलाई परमेश्वरको सेवा गर्न अयोग्य ठान्न सक्छ। (भजनसंग्रह ३२:३-५) कुनै कुनै व्यक्ति चाहिं आफ्ना मसीही साथीहरूले गरेको वा बोलेको कुराबाट ठेस खान्छन्। “कुन चाहिं मानिस पाप रहित होला?” भनेर सुलेमानले गरेको कुरा तिनीहरूले बुझेका हुँदैनन्।—१ राजा ८:४६; याकूब ३:२.
अझ अरूहरू चाहिं अनुशासन पाउँदा निरुत्साहित हुन्छन्। (हिब्रू १२:७, ११) भौतिकवादमा आधारित जीवन-शैलीतिर आकर्षित भएर धेरै जनाले परमेश्वरको सेवा गर्न छाडेका छन्। सांसारिक सफलताको खोजी गर्दा, तिनीहरूले आफूलाई संसारको कामधन्दामा चुर्लुम्मै डुबाएका हुन्छन्। परमेश्वरको सेवाका लागि त तिनीहरूको जीवनमा केही ठाउँ नै हुँदैन। (मत्ती १३:४-९; १ तिमोथी ६:९, १०) यस प्रकारको अवस्थामा फँस्नेहरूका निम्ति के कुनै आशा छैन?
यहोवाको निम्तोलाई के तपाईं स्वीकार गर्नु हुन्छ?
एक पटक येशूले कुनै यस्तो कुरा भन्नु भयो जसलाई बुझ्न गाह्रो थियो र यो सुनेर केहीले त ठोकर पनि खाए। लेखोट भन्छ: “यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, औ उहाँसँग फेरि हिंडडुल गरेनन्।” तर सबै जनाले नै ठेस खाएनन्। बाइबलको लेखोट यसो भन्छ: “येशूले बाह्रलाई भन्नुभयो, ‘के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?’ शिमोन पत्रुसले जवाफ दिए, ‘हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईं सँग छन्।’” (यूहन्ना ६:६६-६८) येशूलाई छाडनु दुर्भाग्यपूर्ण हुनेछ भनी उहाँका चेलाहरूले बुद्धिमतापूर्वक बुझी हाले।
सङ्गठन छाडेर जानेहरू मध्ये कुनै कुनै व्यक्ति अन्ततोगत्वा यस्तै निष्कर्षमा पुग्छन्। परमेश्वरको सङ्गठन छाड्नु एउटा दुर्भाग्यपूर्ण कदम थियो र यहोवा र येशूको मद्दतद्वारा मात्र तिनीहरूले जीवनतर्फ लैजाने कुराहरू पाउँन सक्ने छन् भन्ने टुङ्गोमा तिनीहरू पुग्छन्। यस प्रकारको निष्कर्षमा पुग्ना साथै तिनीहरूले यो पनि बुझ्नु पर्दछ कि आफ्नो स्थितिमाथि पुनःविचार गर्न, यहोवालाई क्षमा माग्न, र उहाँकहाँ फर्केर जान अझ पनि ढिलो भएको छैन। “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु” भन्ने निम्तो स्वयं यहोवाले नै दिनु भएको थियो।—मलाकी ३:७.
वास्तवमा, एक जना निष्कपट मसीहीले यहोवाको सेवामा बाहेक अरू कुन ठाउँमा आनन्द प्राप्त गर्न सक्छ होला र? केही समयका लागि परमेश्वरको सङ्गठनको एउटा भाग भएपछि कुनै व्यक्ति बिस्तारै तर्केर जान्छ भने, बाहिर संसारमा आखिर उसलाई के ले पर्खिरहेको हुनेछ र? उसले तुरुन्तै महसुस गर्नेछन् कि ऊ अब एउटा यस्तो संसारको सहभागी हुन गएको छ जो दिन दिनै हिंसात्मक हुँदै जाँदै छ। कपट, झूट, जालसाजी र अनैतिकताले भरिएको रीतिरिवाजमा उसले आफूलाई ग्रस्त भएको भेट्टाउने छ। सुरुमा उल्लेखित सानु पिटरको ज्यानलाई खतरामा पार्ने हिले खाल्डो जतिकै खतरनाक र अप्रिय संसारमा तिनले आफूलाई पाउने छन्। तर ऊ होसमा आएर आफ्नो अनन्त जीवन खतरामा परेको कुरा आफूलाई थाह हुनासाथै उसले तुरुन्तै आफूलाई त्यस परिस्थितिबाट मुक्त पार्ने मद्दतको खोजी गर्नु पर्छ। तरै पनि, फर्केर जानु सजिलो चाहिं हुने छैन।
के तपाईंले यहोवातर्फ फर्किने कोशिश गर्नु भएको छ? तर यसो गर्न के तपाईंलाई गाह्रो भएको छ? छ भने, तपाईंलाई मद्दतको खाँचो छ। र परमेश्वरको सङ्गठनमा भएका तपाईंका भाइ र बहिनीहरू तपाईंलाई मद्दत दिन इच्छुक छन् भनी विश्वास राख्नु होस्। तर आफ्नो इच्छा यहोवामा प्रकट गर्नका लागि तपाईंले प्रयत्न चाहिं गर्नु पर्छ। ‘होसमा आएर’ ‘यहोवाकहाँ फर्कने बेला’ यही हो।—१ राजा ८:४७, न्यु व०।
फर्किने सहायता
एडालाई यहोवाकहाँ फर्किन कुन कुराले मद्दत दियो, त्यसको तिनले यस प्रकार व्याख्या गर्छिन्: “मसित बाइबल अध्ययन गर्ने बहिनीले मलाई तिनीसित सर्किट सम्मेलनमा जान ठीक समयमा निम्त्याइन्। तिनी यति असल थिइन्! तिनले मलाई पटक्कै हप्काइनन्! तिनले मप्रति धेरै नै माया देखाइन्। मैले सभाहरू धाउन छाडेको एक वर्ष नै बितिसकेको थियो। यस अवधिभित्र मैले संसारको रित्तोपना, र यो बाहिरी चमकदमकको पछाडि भएको सुर्ता, निरुत्साह, र अनैतिकताबारे सोंच्न थालेको थिए। अतः त्यो सम्मेलनमा उपस्थित हुने मैले निर्णय गरें। सर्किट सम्मेलन हुने नाचघरमा आइ पुगेपछि, पछाडिपट्टि, मेचहरूको अन्तिम पंक्तिमा गएर अँध्यारो कुनामा लुकी बसें। भाइहरूले मलाई देखेर प्रश्नहरू सोधेको म चाँहदिन थिए।
“तथापि, मलाइ अत्यन्तै खाँचो परेको सरसल्लाह त्यस कार्यक्रममा प्रस्तुत भएको थियो। कार्यक्रम समाप्त भएपछि यहोवाका मानिसहरू कहाँ फर्किने मात्र होइन तर आफ्नो पूरा हृदयका साथ यहोवामा आफूलाई समर्पण गर्ने अठोट मैले गरें। भाइहरूले मलाई हार्दिक स्वागत गरे र ‘उडन्ता’ फर्की आयो।” (लूका १५:११-२४) यी सबै कुरा घटेको निकै वर्ष भइ सक्यो। त्यसपछि एडा पूर्ण-समय सेवकाईमा लागेकी अब २५ वर्षभन्दा बढी हुन लागेको छ।
बाटो बिराएर गएको एक जना अर्को व्यक्तिको कथाको समापन पनि यतिकै आनन्दपूर्ण छ। केही प्राचीनहरूले होसेलाई बाइबलको सिद्धान्तमा भन्दा पनि आफ्नै विचारहरूमा आधारित सरसल्लाह दिएछन्। यसले होसेलाई निरुत्साहित र अप्रसन्न तुल्यायो। अन्ततोगत्वा ऊ निष्क्रिय भयो। आठ वर्षसम्म ऊ परमेश्वरका जनहरूबाट अलग्ग भएर बस्यो। यही समयावधि भित्र उसले एक जना अविश्वासीसित बिहे गऱ्यो र छोरा-छोरीको बाबु पनि भयो। आफ्नो एक जना बच्चालाई त उसले क्याथोलिक गिर्जामा बप्तिस्मा लिने अनुमति पनि दियो।
आखिरमा परिभ्रमण अध्यक्ष ऊ सित भेट गर्न गए। परिभ्रमण अध्यक्षले स्थानीय प्राचीनहरूलाई पनि ऊ सित भेट गर्न जान प्रोत्साहित गरे। यस प्रकार होसेले मद्दत पाए। ऊ मण्डलीमा पुनःस्थापित भयो र उसको पत्नीले पनि सच्चाइमा चासो लिएकी देखेर ऊ खुसी हुन सक्यो। हाल होसे मण्डलीमा एक जना प्राचीनको हैसियतमा सेवा गर्दैछ। यी दुईवटा अनुभवहरू बाट स्पष्ट देखिन्छ कि यहोवाले उहाँका प्रेमपूर्ण निम्तोलाई स्वीकार्नेहरूबाट आफ्नो आशिष रोकेर राख्नु हुन्न।
तर यस प्रकारका आशिषहरू बाट आनन्द उठाउनका लागि मानिसले उपलव्ध मद्दतको मूल्याङ्कन गर्दै त्यस प्रति उचित प्रतिक्रिया पनि व्यक्त गर्नु पर्दछ। धेरै जसो मण्डलीहरूका भाइहरूले निष्क्रिय भएकाहरूलाई सम्झन्छन् र तिनीहरूलाई मद्दत दिने प्रयत्न गर्दै बेला बेलामा तिनीहरूलाई भेट्न गइरहन्छन्। यस प्रकारको मद्दत स्वीकार्नुको अर्थ यहोवाको करुणाको मूल्याङ्गन गर्नु हो।—याकूब ५:१९, २०.
यहोवाले “मतिर फर्क” भनेर दिनु भएको निम्तोलाई स्वीकार्ने समय वास्तवमा अहिले नै हो। (मलाकी ३:७; यशैया १:१८) अबेर नगर्नु होस्। विश्व-घटनाहरू असाधारण गतिका साथ अघि बढ्दै छन्। आउँनै लागेको सङ्कटपूर्ण समयमा शरण पाउने सर्वोत्तम स्थान यहोवाको सङ्गठनमा उहाँको छत्रछाया मनि हुनेछ। यहोवामा शरण लिनेहरूले मात्र उहाँको रीसको दिनमा उहाँको क्रोधबाट उम्किने दृढ आशा राख्न सक्ने छन्।—सपन्याह २:२, ३. (w92 8/1)
[पृष्ठ ३२-मा भएको चित्र]
“मतिर फर्क” भनी यहोवाले दिनु भएको निम्तोलाई के तपाईंले स्वीकार्नु हुने छ?