प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ११/१ pp. १७-२१
  • तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्‌!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “जीवनको फिक्रीले” गर्दा हो कि?
  • ठेस खाएकोले हो कि?
  • बाइबलको कुनै शिक्षाले गर्दा हो कि?
  • अनुचित आचरणले गर्दा हो कि?
  • छोरो फर्कंदाको आनन्द
  • “धन्‍न छोरो, तिमी घर फर्क्यौ!”
  • कदम चालिहाल्न तिनीहरूलाई झकझकाउनुहोस्‌
  • बगालबाट तर्किएकाहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • “मकहाँ फर्क”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • निष्क्रिय भएकाहरूलाई नबिर्सनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
  • निष्क्रियहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ कि?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ११/१ pp. १७-२१

तिनीहरूलाई झट्टै फर्किहाल्न मदत दिनुहोस्‌!

“हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌।”—यूह. ६:६८.

१. थुप्रै चेलाहरूले येशूलाई छोडेर जाँदा पत्रुसले चाहिं के भने?

एक पटक येशूलाई थुप्रै चेलाहरूले छोडेर गए। तिनीहरूलाई येशूको एउटा शिक्षा स्वीकार्य थिएन। “के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?” येशूले प्रेरितहरूलाई सोध्नुभयो। पत्रुसले जवाफ दिए: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌।” (यूह. ६:५१-६९) जाने अर्को कुनै ठाउँ थिएन। त्यतिबेला यहूदी धर्ममा “अनन्त जीवनका कुरा” थिएन। अनि आज झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनमा पनि अनन्त जीवनको कुरा पाउन सकिंदैन। परमेश्‍वरबाट तर्केका तर अहिले उहाँलाई खुसी पार्न चाहने जोसुकैको लागि “निद्राबाट बिउँझने” र बगालमा फर्किने ठीक समय अहिल्यै हो।—रोमी १३:११.

२. न्यायिक वा गोप्य प्रकारका मामिलाबारे के कुरा मनमा राख्नुपर्छ?

२ इस्राएलको हराएको भेडाप्रति यहोवाले चिन्ता देखाउनुभयो। (इजकिएल ३४:१५, १६ पढ्‌नुहोस्‌) त्यस्तैगरि, बगालबाट तर्केर गएका भेडाखाले नम्र जनहरूलाई ख्रीष्टियान प्राचीनहरू मदत गर्न चाहन्छन्‌ र यो तिनीहरूको कर्तव्य पनि हो। मदत चाहने निष्क्रिय व्यक्‍तिसित अध्ययन गर्न प्राचीनहरूद्वारा खटाइएको प्रकाशकलाई ती निष्क्रिय व्यक्‍तिबाट गम्भीर पाप भएको थाह लागेमा के गर्नुपर्छ? उक्‍त प्रकाशकले त्यस्तो न्यायिक वा गोप्य प्रकारका मामिलामा सल्लाह-सुझाव दिनुको साटो प्राचीनहरूसित कुरा गर्न भन्‍नुपर्छ। ती निष्क्रिय व्यक्‍तिले यसो नगरेमा प्रकाशक आफैले प्राचीनहरूलाई खबर गर्नुपर्छ।—लेवी ५:१; गला. ६:१.

३. सय वटा भेडा भएका मानिसले हराएको एउटा भेडा भेट्टाउँदा कस्तो प्रतिक्रिया देखाए?

३ अघिल्लो लेखमा, येशूले भन्‍नुभएको दृष्टान्त छलफल गरिएको छ। त्यस दृष्टान्तमा एक जना व्यक्‍तिको १०० वटा भेडा थियो। बगालबाट एउटा भेडा हराउँदा तिनले बाँकी ९९ वटालाई छोडेर त्यो हराएको चाहिंलाई खोजेको थियो। त्यसलाई भेट्टाउँदा ती मानिस कत्ति खुसी भए! (लूका १५:४-७) बगालबाट हराएको परमेश्‍वरको भेडा फर्किआउँदा हामी पनि त्यसरी नै खुसी हुन्छौं। प्रेमले उत्प्रेरित भई प्राचीन तथा मण्डलीका अरू सदस्य निष्क्रिय व्यक्‍तिलाई भेट्‌न गएका छन्‌ होला। तिनीहरू पनि ती हराएको व्यक्‍ति बगालमा फर्कि आएको र परमेश्‍वरको समर्थन, सुरक्षा र आशिष्‌ पाएको चाहन्छन्‌। (व्यव. ३३:२७; भज. ९१:१४; हितो. १०:२२) मण्डलीमा फेरि फर्कन कसैलाई मदत दिने मौका आउँदा तिनीहरूले के गर्न सक्छन्‌?

४. गलाती ६:२, ५ बाट के कुरा बुझ्न सकिन्छ?

४ यहोवा आफ्नो भेडालाई माया गर्नुहुन्छ र हामीले सक्नेभन्दा धेरै माग गर्नुहुन्‍न भन्‍ने कुरा मायालु ढंगमा देखाउँदै तिनीहरूले निष्क्रिय व्यक्‍तिलाई मण्डलीमा फर्कन प्रोत्साहन दिन सक्छन्‌। अनि परमेश्‍वरले माग गर्ने कुरामा बाइबल अध्ययन गर्नु, ख्रीष्टियान सभाहरू धाउनु र परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु समावेश छ। गलाती ६:२, ५ पढेर ख्रीष्टियानहरूले एक अर्काको भार बोक्न मदत गर्न सक्छन्‌ तर आ-आफ्नो आध्यात्मिक जिम्मेवारीको सन्दर्भमा चाहिं “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ” भनेर बताउनु उपयुक्‍त हुन सक्छ। हो, हाम्रो निम्ति कोही पनि परमेश्‍वरप्रति विश्‍वासी भइदिन सक्दैन।

“जीवनको फिक्रीले” गर्दा हो कि?

५, ६. (क) निष्क्रिय सँगी विश्‍वासीहरूले आफ्नो भावना पोखाउँदा ध्यान दिएर सुन्‍नु किन महत्त्वपूर्ण छ? (ख) परमेश्‍वरका जनहरूसित संगत गर्न छाड्‌नु तिनीहरूका लागि हानिकारक भएको छ भनेर कसरी तपाईं निष्क्रिय भएकाहरूलाई महसुस गराउन सक्नुहुन्छ?

५ निष्क्रिय भएका सँगी विश्‍वासीहरूलाई कसरी मदत गर्ने भनी थाह पाउन, तिनीहरूले आफ्नो भावना पोखाउँदा प्राचीन र अरू परिपक्व प्रकाशकहरूले ध्यान दिएर सुन्‍नुपर्छ। मानिलिनुहोस्‌, तपाईं प्राचीन हुनुहुन्छ र एक दम्पतीलाई भेट्‌न जाँदै हुनुहुन्छ। तिनीहरू “जीवनको फिक्रीले” गर्दा निष्क्रिय भई मण्डलीमा आएका छैनन्‌। (लूका २१:३४) आर्थिक समस्या वा पारिवारिक जिम्मेवारी बढेकोले तिनीहरू आध्यात्मिक गतिविधिमा निष्क्रिय भएका हुन सक्छन्‌। जिम्मेवारीबाट केही राहत पाए हुन्थ्यो जस्तो लागेको कुरा तपाईंलाई बताउँलान्‌। तर मण्डलीबाट अलग बस्नु त्यसको समाधान होइन भनेर तपाईं बताउन सक्नुहुन्छ। (हितोपदेश १८:१ पढ्‌नुहोस्‌) तिनीहरूलाई कौशलतासाथ यस्ता प्रश्‍न सोध्न सकिएला: “सभा धाउन छाडेदेखि के तपाईं झनै खुसी हुन सक्नुभएको छ? के तपाईंको पारिवारिक जीवन अझ राम्रो भएको छ? यहोवामा भर पर्दा पाएको आनन्द के अझै महसुस गर्नुहुन्छ?”—नहे. ८:१०.

६ यस्ता प्रश्‍नहरूलाई विचार गर्दा निष्क्रिय भएका व्यक्‍तिहरूले के बुझ्न मदत पाउँछन्‌ भने मण्डलीसित संगत नगरेकोले तिनीहरूको आध्यात्मिकता खस्केको र आनन्द कम भएको छ। (मत्ती ५:३; हिब्रू १०:२४, २५) सुसमाचार सुनाउँदा पाइने आनन्द तिनीहरूले गुमाइरहेका छन्‌ भनेर तिनीहरूलाई महसुस गराउन सकिन्छ। (मत्ती २८:१९, २०) त्यसोभए, तिनीहरूले के गर्नु बुद्धिमानी हुन्छ?

७. बगालबाट तर्किएकाहरूलाई के गर्न प्रोत्साहन दिन सक्छौं?

७ येशूले भन्‍नुभयो: “आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌ . . . आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खडा हुनसक्नलाई हरघडी प्रार्थना गर्दै जागा रहो।” (लूका २१:३४-३६) बगालबाट तर्किएका तर पहिलाको खुसी अहिले फेरि प्राप्त गर्न चाहनेहरूलाई पवित्र आत्मा र ईश्‍वरीय मदतको लागि प्रार्थना गर्न अनि प्रार्थनाअनुसार कदम चाल्न प्रोत्साहन दिन सकिन्छ।—लूका ११:१३.

ठेस खाएकोले हो कि?

८, ९. ठेस खाएको व्यक्‍तिसित प्राचीनले कसरी तर्क गर्न सक्छ?

८ मानिस असिद्ध भएकोले व्यक्‍तित्व बाझिन्छ र यसले गर्दा कोही-कोहीलाई ठेस पुग्न सक्छ। मण्डलीमा राम्रो नाउँ कमाएको व्यक्‍तिले बाइबल सिद्धान्त विपरीत काम गर्दा कतिपयलाई ठेस पुगेको छ। कुनै निष्क्रिय व्यक्‍तिलाई यस्तै कारणले गर्दा ठेस पुगेको रहेछ भने, तिनलाई भेट्‌न जाने प्राचीनले यहोवा कसैलाई ठेस पुऱ्‍याउनुहुन्‍न भनी बताउन सक्छन्‌। तसर्थ, किन परमेश्‍वर र उहाँका मानिसहरूसित सम्बन्ध टुटाउने? बरु, “सारा पृथ्वीका न्यायकर्ताले” के भयो त्यो जान्‍नुहुन्छ र सही तरिकामा मामिला सँभाल्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त भई परमेश्‍वरको सेवा गरी रहनुपर्दैन र? (उत्प. १८:२५; कल. ३:२३-२५) यदि कुनै व्यक्‍ति ठोक्किएर लड्यो भने उठ्‌ने प्रयास नै नगरी त्यतिकै बसिरहँदैन।

९ कतिपयलाई पहिला ठेस पुऱ्‍याएको विषय समय बित्दै जाँदा गम्भीर नलागेको कुरा प्राचीनले निष्क्रिय व्यक्‍तिलाई मदत दिने प्रयासमा बताउन सक्छन्‌। हो, ठेस पुगेको कारण नरहन सक्छ। यदि कुनै व्यक्‍तिले अनुशासन पाएकोले ठेस खाएको हो भने प्रार्थनासँगसँगै मनन गर्दा आफ्नै पनि गल्ती छ र अनुशासन पाएकोले ठेस खानु हुँदैन भन्‍ने निष्कर्षमा तिनी पुग्न सक्छन्‌।—भज. ११९:१६५; हिब्रू १२:५-१३.

बाइबलको कुनै शिक्षाले गर्दा हो कि?

१०, ११. बाइबलका कुनै-कुनै शिक्षाप्रति सहमत नहुनेलाई मदत दिने प्रयासमा कस्तो तर्क प्रभावकारी हुन सक्ला?

१० बाइबलको कुनै-कुनै शिक्षासित सहमत नभएकोले कतिपयले परमेश्‍वरको बगाल छोडेका होलान्‌। मिश्रको दासत्वबाट छुटाइएका इस्राएलीहरूले तिनीहरूका खातिर “[परमेश्‍वरले गर्नुभएका] कार्यहरू बिर्सिहाले” र “उहाँको सल्लाहलाई . . . पर्खेनन्‌।” (भज. १०६:१३) निष्क्रिय भएको व्यक्‍तिलाई यो कुरा सम्झाउनु मदतकारी हुन सक्ला कि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले उत्कृष्ट आध्यात्मिक भोजन दिइरहेका छन्‌। (मत्ती २४:४५) यसै मार्फत तिनले सुरुमा बाइबल सच्चाइ सिकेका थिए। त्यसकारण, फेरि सच्चाइको मार्गमा हिंड्‌न तिनी किन कटिबद्ध नहुने र?—२ यूह. ४.

११ परमेश्‍वरको बगालबाट तर्केकाहरूलाई मदत दिने प्रयास गर्दा प्राचीनले ती चेलाहरूबारे बताउन सक्छन्‌ जसले येशूको एउटा शिक्षा स्वीकार्य नलागेकोले उहाँलाई त्यागे। (यूह. ६:५३, ६६) ख्रीष्ट र उहाँका विश्‍वासी अनुयायीहरूसित संगत टुटाउँदा तिनीहरूको आध्यात्मिकता र आनन्द गुम्यो। ख्रीष्टियान मण्डलीसित संगत टुटाउनेहरूले के अन्त कतै प्रशस्त आध्यात्मिक भोजन पाउन सकेका छन्‌? अहँ, छैन किनभने त्यस्तो भोजन अन्त छँदैछैन!

अनुचित आचरणले गर्दा हो कि?

१२, १३. बगालबाट तर्किएका कुनै व्यक्‍तिले गम्भीर पाप गरेको स्वीकार्छ भने, तिनलाई कसरी मदत दिन सकिन्छ?

१२ कतिपयले चाहिं गम्भीर पाप गरेको कारण प्रचार गर्न र सभा धाउन छोड्‌छन्‌। तिनीहरू सोच्छन्‌, यदि आफ्नो गल्ती प्राचीनहरूलाई बताएमा बहिष्कार होइन्छ। तर बाइबल सिद्धान्त विपरीत काम गर्न छाडेका छन्‌ र साँचो पश्‍चात्ताप गरेका छन्‌ भने तिनीहरू मण्डलीबाट बहिष्कार हुँदैनन्‌। (२ कोरि. ७:१०, ११) बरु, तिनीहरूलाई मण्डलीमा स्वागत गरिन्छ। अनि प्राचीनहरूले तिनीहरूलाई चाहिएको आध्यात्मिक मदत दिन्छन्‌।

१३ यदि तपाईं परिपक्व प्रकाशक हुनुहुन्छ र निष्क्रिय व्यक्‍तिलाई मदत गर्न तपाईंलाई खटाइएको छ अनि तिनले गम्भीर पाप गरेको कुरा बताएमा तपाईंले के गर्नुपर्छ? अघि बताएझैं, यसमा सल्लाह-सुझाव नदिई तिनलाई प्राचीनहरूकहाँ जान भन्‍नुहोस्‌। तिनले यसो गर्न नचाहेमा तपाईंले यस्ता मामिला सम्बन्धी परमेश्‍वरको निर्देशनअनुरूप काम गर्नुपर्छ र यसो गरेर तपाईंले यहोवाको नाउँ र मण्डलीको आध्यात्मिक हितबारे चासो देखाइरहेको हुनेछ। (लेवी ५:१ पढ्‌नुहोस्‌) बगालमा फर्कन र परमेश्‍वरको इच्छाबमोजिम जीवन बिताउन चाहनेहरूलाई कसरी मदत दिनुपर्छ प्राचीनहरूलाई थाह हुन्छ। मायालु ढंगमा अनुशासन दिनु आवश्‍यक पर्ला। (हिब्रू १२:७-११) यदि गल्ती गर्ने व्यक्‍तिले परमेश्‍वर विरुद्ध पाप गरेको तर अहिले गलत कार्य छोडेको मानिलिन्छ र साँचो पश्‍चात्ताप गर्छ भने प्राचीनहरूले तिनलाई मदत दिनेछन्‌ अनि यहोवाबाट क्षमा पाउन सक्छन्‌।—यशै. १:१८; ५५:७; याकू. ५:१३-१६.

छोरो फर्कंदाको आनन्द

१४. येशूले भन्‍नुभएको उडन्ते पुत्रको दृष्टान्त आफ्नै शब्दमा भन्‍नुहोस्‌।

१४ तर्केर गएका भेडालाई मदत गर्न खटाइएका व्यक्‍तिले लूका १५:११-२४ मा लिपिबद्ध येशूको दृष्टान्त बताउन सक्छन्‌। त्यस दृष्टान्तमा एक जवान व्यक्‍तिले आफ्नो पैतृक सम्पत्ति मोजमज्जामा उडाउँछ। अन्तमा ऊ आफूले बिताइरहेको भ्रष्ट जीवनलाई घृणा गर्न थाल्छ। भोकले प्याक-प्याक पर्छ। घरको यादले सताउँछ अनि घर फर्कने निर्णय गर्छ। ऊ घरदेखि टाढै हुँदा उसको बुबाले देख्छ, कुदेर आई छोरालाई अंगालो हाल्छ, चुम्मन खान्छ र औधी खुसी हुन्छ। यस दृष्टान्तलाई विचार गर्दा तर्केर गएकाहरू फेरि बगालमा फर्कन उत्प्रेरित हुन सक्छन्‌। यो दुष्ट रीतिरिवाज अब चाँडै नष्ट हुँदैछ, त्यसैले तर्किएकाहरू झट्टै ‘घर फर्किहाल्नुपर्छ।’

१५. कोही-कोही के कारण मण्डलीबाट तर्केर जान्छन्‌?

१५ मण्डलीबाट तर्केकाहरूमध्ये धेरैजसो ठ्याक्कै उक्‍त उडन्ते पुत्र जस्ता त छैनन्‌। कोही बिस्तारै तर्किंदै जान्छन्‌—डुंगा बिस्तारै किनारबाट टाढा-टाढा भएझैं। कोही चाहिं जीवनको फिक्रीले यति साह्रो दबिन्छन्‌ कि आध्यात्मिक कुरालाई हेलचेक्रयाइँ गर्छन्‌। अनि अरू कतिले भने मण्डलीका कसैबाट ठेस खाएकोले वा कुनै धर्मशास्त्रीय शिक्षामा सहमत नभएकोले मण्डली त्याग्छन्‌। कोही-कोही चाहिं धर्मशास्त्र विपरीत आचरणमा संलग्न हुन पुग्छन्‌। तर, यी सबै परिस्थितिसित सम्बन्धित बाइबल सल्लाहहरूबाट तपाईंले यी वा अन्य कारणले बगालबाट तर्केर गएकाहरूलाई ढिलो हुनुअघि नै बगालमा फर्काउन मदत पाउन सक्नुहुन्छ।

“धन्‍न छोरो, तिमी घर फर्क्यौ!”

१६-१८. (क) धेरै वर्षसम्म निष्क्रिय भएका भाइलाई एक जना प्राचीनले कसरी मदत दिए? (ख) ती भाइ किन निष्क्रिय भएका थिए, तिनलाई कसरी मदत दिइयो र मण्डलीले तिनलाई कसरी स्वागत गऱ्‍यो?

१६ एक ख्रीष्टियान प्राचीन भन्छन्‌: “हामी प्राचीनहरूको निकाय निष्क्रियहरूलाई भेट्‌न जान एकदमै मन लगाउँछौं। मसित अध्ययन गरेर सच्चाइ सिकेको एक जना भाइबारे विचार गरें। तिनी निष्क्रिय भएको झन्डै २५ वर्ष भइसकेको थियो र एकदमै नराम्रो परिस्थितिबाट गुज्रिरहेका थिए। तसर्थ, बाइबलका सिद्धान्तहरू लागू गर्दा कसरी मदत पाउन सकिन्छ भनेर मैले तिनलाई बताएँ। केही समयपछि तिनी राज्यभवनमा आउन थाले र बगालमा फर्किने तिनको संकल्पलाई मजबुत पार्न मदतको लागि राखेको व्यक्‍तिगत बाइबल अध्ययनको प्रस्तावलाई तिनले स्वीकारे।”

१७ उक्‍त भाइ किन निष्क्रिय भएका थिए? उनी यसरी स्वीकार्छन्‌: “मैले आध्यात्मिक कुरामा भन्दा सांसारिक कुरामा बढी ध्यान लगाउन थालेको थिएँ। त्यसपछि अध्ययन गर्न, प्रचार जान र सभा धाउन छोडें। चालै नपाई ख्रीष्टियान मण्डलीबाट टाढिन पुगेछु। तर मलाई यी प्राचीन भाइले व्यक्‍तिगत र निष्कपट चासो देखाएर फेरि मण्डलीमा फर्कन मदत गर्नुभयो।” व्यक्‍तिगत बाइबल अध्ययन गर्न थालेपछि यी भाइका समस्याहरू कम हुन थाले। तिनी भन्छन्‌: “मेरो जीवनमा यहोवाको माया, निर्देशन र संगठनको कमी खड्‌किएको रहेछ।”

१८ यस भाइलाई मण्डलीमा कसरी स्वागत गरियो? तिनी भन्छन्‌: “मैले आफूलाई येशूले भन्‍नुभएको उडन्ते पुत्रको ठाउँमा पाएँ। वास्तवमा एक जना वृद्ध बहिनी—जो ३० वर्षअघि यहोवाको सेवामा जस्तो तगडा हुनुहुन्थ्यो आज पनि त्यस्तै हुनुहुन्छ—उनले भनिन्‌ ‘धन्‍न छोरो तिमी घर फर्क्यौ!’ यो भनाइले मेरो मन छोयो। म साँच्चै घर फर्किएको थिएँ। उक्‍त प्राचीन र मण्डलीका सबैले देखाएको प्रेम, न्यानोपना, धीरज र चासोप्रति म हृदयदेखि नै आभार व्यक्‍त गर्न चाहन्छु। यहोवा र छिमेकीप्रति तिनीहरूको प्रेम देखेर नै म बगालमा फर्किन सकें।”

कदम चालिहाल्न तिनीहरूलाई झकझकाउनुहोस्‌

१९, २०. तपाईं कसरी निष्क्रियहरूलाई झट्टै बगालमा फर्किन प्रोत्साहन दिन र परमेश्‍वर हामीले सक्नेभन्दा बढी आशा गर्नुहुन्‍न भनेर देखाउन सक्नुहुन्छ?

१९ हामी आखिरी समयमा बाँचिरहेका छौं र वर्तमान रीतिरिवाजको अन्त हुनै लागेको छ। तसर्थ, निष्क्रियहरूलाई ख्रीष्टियान सभाहरू धाउन प्रोत्साहन दिनुहोस्‌। तिनीहरूलाई तुरुन्तै सभा धाउन भन्‍नुहोस्‌। तिनीहरूलाई सम्झाउनुहोस्‌, शैतानले यहोवासितको तिनीहरूको सम्बन्ध तोड्‌न र साँचो उपासना त्यागेमा जीवनको बोझबाट मुक्‍ति पाउन सकिन्छ भन्‍ने भान पार्न खोजिरहेको छ। येशूको विश्‍वासी अनुयायी बनेर मात्र साँचो विश्राम अर्थात्‌ स्फूर्ति पाउन सकिन्छ भनी तिनीहरूलाई आश्‍वस्त गराउनुहोस्‌।— मत्ती ११:२८-३० पढ्‌नुहोस्‌।

२० निष्क्रियहरूलाई सम्झना दिलाउनुहोस्‌ कि परमेश्‍वर हामीले सक्नेभन्दा बढी आशा गर्नुहुन्‍न। येशूको मृत्यु हुनुभन्दा केही समयअघि लाजरसकी दिदी मरियमले महँगो सुगन्धित तेल उहाँको शिरमा खन्याउँदा तिनको आलोचना गरिएको थियो। त्यतिबेला येशूले यसो भन्‍नुभयो: “भइगयो नि, . . . त्यसले जे गर्न सक्थी त्यही गरेकी छ।” (मर्कू. १४:६-८) मन्दिरमा एकदमै कम भेटी चढाउने गरिब विधवाको येशूले प्रशंसा गर्नुभयो। तिनले पनि जे गर्न सक्थी त्यही गरी। (लूका २१:१-४) हामीमध्ये धेरैजसो, ख्रीष्टियान सभाहरू धाउन र राज्य प्रचारकार्यमा भाग लिन सक्षम छौं। अहिले निष्क्रिय भएकाहरूमध्ये थुप्रैले पनि यहोवाको मदत लिएर त्यसै गर्न सक्ने छन्‌।

२१, २२. यहोवामा फर्किनेहरूलाई तपाईं कस्तो आश्‍वासन दिन सक्नुहुन्छ?

२१ बगालबाट तर्केका भेडाखाले नम्र व्यक्‍ति भाइहरूलाई भेट्‌न हिचकिचाउँछन्‌ भने, उडन्ते पुत्र घर फर्कंदा कस्तो रमाहट छाएको थियो तिनलाई स्मरण गराउनुहोस्‌। तर्केकाहरू मण्डलीमा फर्कंदा पनि त्यस्तै रमाहट छाउँछ। तिनीहरूलाई अहिल्यै शैतानको विरोध गर्न र यहोवाको नजिक आउन प्रोत्साहन दिनुहोस्‌।—याकू. ४:७, ८.

२२ यहोवातर्फ फर्कनेहरूलाई हर्षोल्लासका साथ स्वागत गरिनेछ। (विला. ३:४०) विगतमा तिनीहरूले परमेश्‍वरको सेवा गर्दा अवश्‍यै ठूलो आनन्द पाएका थिए। ढिलो नगरी बगालमा झट्टै फर्किआउनेहरूले भविष्यमा थुप्रै आशिष्‌ पाउनेछन्‌। (w08 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• ठेस खाएर निष्क्रिय भएका ख्रीष्टियानलाई तपाईं कसरी मदत दिन सक्नुहुन्छ?

• बाइबलको कुनै शिक्षाप्रतिको व्यक्‍तिगत दृष्टिकोणले गर्दा परमेश्‍वरको बगाल त्यागेको व्यक्‍तिसित कस्तो तर्क गर्न सकिन्छ?

• मण्डलीमा फर्किन हिचकिचाइरहेको व्यक्‍तिलाई कसरी मदत दिन सकिएला?

[पृष्ठ १९-मा भएको चित्र]

निष्क्रिय सँगी विश्‍वासीले भावना पोखाउँदा ध्यान दिएर सुन्‍नुहोस्‌

[पृष्ठ २१-मा भएको चित्र]

येशूले भन्‍नुभएको उडन्ते पुत्रको दृष्टान्तलाई विचार गर्दा कतिपयलाई बगालमा फर्किन प्रेरणा मिल्न सक्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने