यहोवा व्यावहारिक हुनुहुन्छ!
“जुन ज्ञान माथिबाट आउँछ, त्यो . . . कोमल [व्यावहारिक, न्यु व.] हुन्छ।”—याकूब ३:१७.
तपाईं कस्तो परमेश्वरको उपासना गर्नुहुन्छ? के तपाईंलाई उहाँ अरट्ठो, कडा न्याय गर्ने, कठोर मिजास भएको र जब्बर परमेश्वर जस्तो लाग्छ? प्रोटेस्टेन्ट धार्मिक संशोधक जोन क्याल्भिनको लागि परमेश्वर त्यस्तै देखिएको हुनुपर्छ। प्रत्येक व्यक्तिविशेषको लागि परमेश्वरले “अनन्त र अपरिवर्तनीय योजना” तोकेको हुन्छ अनि सधैंभरि आनन्दसाथ बस्ने हो वा अनन्तसम्म नरकको आगोमा सासना भोग्ने हो, परमेश्वरले नै निश्चय गर्नुहुन्छ भनी क्याल्भिनले दाबी गरे। यसो कल्पना गर्नुहोस्: यदि यसो हुँदो हो त तपाईंले जतिसुकै प्रयास गर्नु भए तापनि तपाईं अनि तपाईंको भविष्यबारे परमेश्वरको दीर्घकालीन अरट्ठो योजना परिवर्तन गर्न सक्नुहुन्न। के तपाईं त्यस्तो अव्यावहारिक परमेश्वरप्रति आकर्षित हुनुहुने थियो र?—याकूब ४:८ तुलना गर्नुहोस्।
२ बाइबलको परमेश्वर स्पष्ट अनि व्यावहारिक हुनुहुन्छ भनेर थाहा पाउँदा हामी कति ढुक्क छौं! बरु आफ्नै असिद्धताको परिधिमा परेर अरट्ठो अनि जब्बर हुन खोज्ने मानिसहरू हुन्, परमेश्वर होइन। मानव सङ्गठनहरू विशाल जब्बर मालगाडी जस्तै हुनसक्छन्। एउटा विशाल मालगाडी यात्रा गरिरहेको बाटोमा अवरोध आइपर्दा दिशा परिवर्तन गर्ने कुरा त परै जाओस्, रोक्न समेत असाध्यै गाह्रो हुन्छ। कुनै कुनै रेल यति तीव्र गतिमा गुडिरहेको हुन्छ, ब्रेक लगाइसकेपछि पनि एक किलोमिटरभन्दा टाढा हुत्तिन्छ! त्यस्तैगरि, एउटा ठूलो ट्याङ्कर जहाजको इन्जिन बन्द भइसकेपछि पनि समुद्रको किनारातर्फ आठ किलोमिटर सर्छ। जहाजको इन्जिनलाई उल्टो दिशातर्फ चलाउँदा पनि त्यो पानीमा तीन किलोमिटर जति त अझै सर्छ। अब यी दुवैभन्दा अद्भुत सवारी साधनलाई ध्यान दिनुहोस्। त्यो हो, परमेश्वरको सङ्गठनलाई प्रतिनिधित्व गर्ने सवारी।
३ यहोवाले २,६०० वर्षअघि आत्मिक प्राणीहरूको आफ्नो स्वर्गीय सङ्गठनलाई चित्रण गर्ने दर्शन अगमवक्ता इजकिएललाई दिनुभयो। तिनले देखेको त्यो रथ भयङ्कर थियो र जहिले पनि यहोवाकै नियन्त्रणमा चल्ने उहाँको आफ्नो “सवारी” थियो। सबैभन्दा चाखलाग्दो कुरा त, त्यसको चाल थियो। त्यसको चारैतिर भीमकाय पाघ्रहरू थिए र आँखै आँखाले भरिएको थियो जसले गर्दा त्यसले सबैतिर देख्न सक्थ्यो अनि नरोकिन अथवा नमोडिकनै दिशा परिवर्तन गर्न सक्थ्यो। ठूलो ट्याङ्कर अथवा माल ढुवानी गर्ने जहाजजस्तो यस भीमकाय सवारी लोसे तालले गुड्नु पर्दैनथियो। बिजुली चम्कने गतिमा त्यो रथ समकोण बनेर जान सक्थ्यो! (इजकिएल १:१, १४-२८) क्याल्भिनले प्रचार गरेको परमेश्वरभन्दा यहोवा जति भिन्न हुनुहुन्छ, मानवनिर्मित भद्दा उपकरणभन्दा उहाँको रथ त्यति नै भिन्न छ। उहाँले सदैव परिस्थिति अनुकूल व्यवहार गर्नुहुन्छ। यहोवाको व्यक्तित्वको यस पक्षलाई विचार गर्दा हामीले पनि परिस्थिति अनुकूल व्यवहार गर्न र अव्यावहारिक हुने खतराबाट अलग बस्न मदत पाउनु पर्ने हो।
यहोवा—ब्रह्माण्डमा सबैभन्दा अनुकूल व्यक्ति
४ यहोवाको नाउँले नै उहाँको अनुकूलनीयतालाई बोध गराउँछ। “यहोवा” नाउँको अक्षरसः अर्थ हो “उहाँले हुन दिनुहुन्छ”। स्पष्टतः यसको अर्थ हो, यहोवाले आफूलाई आफ्ना प्रतिज्ञाहरूको पूरक हुन दिनुहुन्छ। मोशाले यहोवा परमेश्वरलाई उहाँको नाउँ सोध्दा, आफ्नो नाउँको अर्थलाई व्याख्या गर्दै उहाँले भन्नुभयो: “म हुँ जो म हुँ।” (प्रस्थान ३:१४) रथरहामको अनुवादले स्पष्टसित यसो भन्छ: “म जे हुन चाहन्छु, त्यही हुन्छु।” आफ्नो धार्मिक उद्देश्य तथा प्रतिज्ञाहरू पूरा गर्न जे आवश्यक हुन्छ, त्यही हुन अथवा बन्न यहोवाले रोज्नुहुन्छ। तसर्थ, सृष्टिकर्त्ता, पिता, सर्वसत्ताधारी प्रभु, गोठाला, सेनाहरूको यहोवा, प्रार्थना सुन्नुहुने, न्यायकर्त्ता, महान शिक्षक, छुटकारा दिनुहुने जस्ता प्रभावकारी पदवीहरूले उहाँलाई सम्मानित गरिएको छ। आफ्ना मायालु उद्देश्यहरू पूरा गर्न उहाँले आफूलाई यी लगायत अन्य थुप्रै कुरा हुन दिनुभएको छ।—यशैया ८:१३; ३०:२०; ४०:२८; ४१:१४; भजनसंग्रह २३:१; ६५:२; ७३:२८; ८९:२६; न्यायकर्त्ता ११:२७; न्यु वर्ल्ड ट्रान्सलेशन, APPENDIX 1J पनि हेर्नुहोस्।
५ त्यसो भए, के यसको अर्थ परमेश्वरको स्वभाव अथवा स्तरहरू परिवर्तन हुन्छ भनेको हो? होइन; याकूब १:१७ ले भनेझैं उहाँमा “कहिल्यै अदल-बदल, हुने र फेरिने छाया छैन।” के यहाँ विरोधाभासपूर्ण कुरा छ? पटक्कै छैन। उदाहरणको लागि, छोराछोरीको फाइदाको निम्ति कुन चाहिं आमाबाबुले आफ्नो भूमिका परिवर्तन गर्दैन र? दिनभरमा मात्र आमाबाबुले सल्लाहकार, भान्छे, गृहिणी, शिक्षक, अनुशासक, प्राविधिक, नर्स लगायत अनगिन्ती भूमिकाहरू निभाउन सक्छन्। यी बेग्लाबेग्लै भूमिकाहरू निभाउँदा आमाबाबुले आफ्नो व्यक्तित्व परिवर्तन गर्दैनन्; उनीहरूले केवल तत्कालीन आवश्यकताअनुरूप कामकुराहरू गर्छन्। यहोवाले पनि ठीक त्यस्तै गर्नुहुन्छ तर अति व्यापक तवरमा। आफ्ना प्राणीहरूको फाइदाको निम्ति उहाँ बन्न सक्नुहुने कुराहरूको कुनै सीमा छैन। निस्सन्देह, उहाँको बुद्धिको गहराइ विस्मितलाग्दो छ!—रोमी ११:३३.
व्यावहारिकता ईश्वरीय बुद्धिको एउटा चिह्न
६ यस सर्वोत्कृष्ट अनुकूल परमेश्वरको बुद्धिबारे वर्णन गर्न चेला याकूबले एउटा चाखलाग्दो शब्द प्रयोग गरे। उनले लेखे: “जुन ज्ञान माथिबाट आउँछ, . . . त्यो कोमल [व्यावहारिक, न्यु व.] . . . हुन्छ।” (याकूब ३:१७) उनले यहाँ प्रयोग गरेको युनानी शब्द (एपिकेस) अनुवाद गर्न गाह्रो छ। अनुवादकहरूले “मृदुल,” “सौम्य,” “धीरजी” र “विवेकी” जस्ता शब्दहरू प्रयोग गरेका छन्। न्यु वर्ल्ड ट्रान्सलेशन ले यो शब्दलाई “व्यावहारिक” भनी अनुवाद गरेको छ र त्यसको अक्षरसः अर्थ “कोमल” भनी पादटिप्पणीमा सङ्केत गरिएको छ।a लिखित निर्देशनहरूको प्रत्येक सानोतिनो विवरण पालना गराउन किचकिच नगर्नु र नचाहिंदो किसिमले कडा अथवा जिद्दी नहुनु भन्ने अर्थ पनि यी शब्दहरूले बुझाउँछ। न्यु टेस्टामेन्ट वर्डस् मा शास्त्रज्ञ विलियम बार्क्लेले यस्तो टिप्पणी गरे: “एपिकिया को आधारभूत तथा प्राथमिक कुरा के हो भने त्यो परमेश्वरबाट उत्पन्न हुन्छ। आफ्नो हकको आड लिएर परमेश्वरले व्यवस्थाको कडा स्तरहरू मात्रै पालन गर्न लगाउनुभएको भए हामी कहाँ हुन्थ्यौं होला? एपिकेस र अरूसित व्यवहार गर्दा एपिकिया हुनुहुने सर्वोत्तम उदाहरण परमेश्वर हुनुहुन्छ।”
७ मानवजातिले यहोवाको सार्वभौमिकताको विद्रोह गरेको समयलाई विचार गर्नुहोस्। ती तीन कृतघ्न विद्रोहीहरू, आदम, हव्वा र शैतानलाई नाश गर्न परमेश्वरलाई कस्तो सजिलो हुन्थ्यो होला! त्यसो गर्नुभएको भए उहाँ कति मानसिक कष्टबाट बच्न सक्नु हुन्थ्यो होला! अनि उहाँले त्यस्तो कडा न्याय गर्न उचित थिएन भनेर कसले नै विवाद गर्न सक्थ्यो र? तापनि, यहोवाले आफ्नो रथरूपी सङ्गठनलाई कहिल्यै न्यायको कठोर, जब्बर स्तरले जकडिन दिनुभएको छैन। अतः त्यस रथले मानव परिवार र मानवजातिको आनन्दमय भविष्यका आशाहरूलाई निर्दयतापूर्वक कुल्चीमिल्ची गरेन। बरु, बिजुली चम्केको जस्तो द्रुत गतिमा आफ्नो रथ हाँक्नुभयो। आदमका सबै सन्तानहरूलाई दया र आशाको दीर्घकालीन उद्देश्य यहोवा परमेश्वरले राखिदिनुभयो।—उत्पत्ति ३:१५.
८ तर यसले यहोवाको व्यावहारिकताको कारण उहाँले ईश्वरीय सिद्धान्तहरूमाथि सम्झौता गर्न सक्नुहुन्छ भन्ने सङ्केत चाहिं दिंदैन। तर्केर गएका बगालको प्रशंसा प्राप्त गर्न अनैतिकतालाई स्वीकृति दिएर आफू व्यावहारिक ढङ्गमा चल्दैछु भनी आजका मसीहीजगतका चर्चहरूले सोच्लान्। (२ तिमोथी ४:३ तुलना गर्नुहोस्।) यहोवाले कहिल्यै पनि आफ्ना व्यवस्थाहरू भङ्ग गर्नुहुन्न न ता आफ्ना सिद्धान्तहरूमाथि नै सम्झौता गर्नुहुन्छ। बरु, ती सिद्धान्तहरू न्याय र दयापूर्ण ढङ्गमा प्रयोग गर्न सकियोस् भनेर परिस्थितिअनुरूप कोमल हुने इच्छुकता देखाउनुहुन्छ। आफ्नो न्याय र शक्तिसित प्रेम अनि व्यावहारिक बुद्धिलाई सन्तुलनमा राख्न उहाँ सदैव सतर्क हुनुहुन्छ। यहोवाले व्यावहारिकता प्रदर्शन गर्नुहुने तीन वटा तरिकामा हामी ध्यान देऔं।
“क्षमा गर्न तयार”
९ दाऊदले लेखे: “हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न [तयार, न्यु व.] हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरूमाथि तपाईं अति कृपालु हुनुहुन्छ।” (भजनसंग्रह ८६:५) हिब्रू शास्त्र युनानी भाषामा अनुवाद गरिंदा “क्षमा गर्न तयार” लाई युनानी भाषामा एपिकेस अथवा “व्यावहारिक” भनी अनुवाद गरिएको थियो। निस्सन्देह, क्षमा गर्न तयार हुनु र दया देखाउनु व्यावहारिकता प्रदर्शन गर्ने शायद मुख्य तरिका हो।
१० यस सन्दर्भमा यहोवा स्वयं कति व्यावहारिक हुनुहुन्छ भनी दाऊदलाई राम्ररी थाहा थियो। दाऊदले बेतशेबासित व्यभिचार गर्दा र उनको पतिलाई मार्ने योजना बनाउँदा दाऊद अनि बेतशेबा दुवै मृत्युदण्डका लायक थिए। (व्यवस्था २२:२२; २ शमूएल ११:२-२७) यदि कठोर मानव न्यायकर्त्ताहरूले न्याय गरेका भए दुवैले ज्यान गुमाउँथे होलान्। तर यहोवाले व्यावहारिकता (एपिकेस) देखाउनुभयो र भाइन्स् एक्सपोजिटरी डिक्श्नरी अफ बिब्लिकल वर्डस् अनुसार त्यस्तो व्यावहारिकताले “‘कुनै मामिलाको तथ्यहरू मानवीय तथा व्यावहारिक ढङ्गमा’ हेर्ने विवेकशीलता प्रकट गर्छ।” तिनीहरूको दयापूर्ण निर्णय गर्न यहोवालाई उत्प्रेरित गराउने तथ्यहरू सम्भवतः गल्ती गर्नेहरूको साँचो पश्चात्ताप र अरूको लागि पहिले दाऊदले देखाएको दया हुन सक्छ। (१ शमूएल २४:४-६; २५:३२-३५; २६:७-११; मत्ती ५:७; याकूब २:१३) तर प्रस्थान ३४:४-७ मा उल्लिखित आफ्नो विवरणअनुसार यहोवाले दाऊदलाई ताडना दिनु व्यावहारिक हुनेथियो। दाऊदले यहोवाको वचनलाई अवहेलना गरेका थिए भन्ने कुरा प्रष्ट्याउन उहाँले कडा समाचारसाथ नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो। दाऊदले पश्चात्ताप गरे, त्यसैले आफ्ना पापको कारण मर्नु परेन।—२ शमूएल १२:१-१४.
११ यस सन्दर्भमा यहूदाका राजा मनश्शेको उदाहरण झन् बढी उल्लेखनीय छ। किनभने मनश्शे दाऊद जस्तो नभएर निकै समयदेखि दुष्ट थिए। मनश्शेले मानव बलि लगायत घीनलाग्दा धार्मिक प्रचलनहरू त्यस ठाउँमा प्रवर्धन गरे। शायद विश्वासी अगमवक्ता, यशैयालाई “करौंतीले चिर्न” लगाउने पनि तिनी नै हुन सक्छ। (हिब्रू ११:३७) मनश्शेलाई दण्ड दिन यहोवाले तिनलाई बाबेलमा कैदी भएर जान दिनुभयो। तर झ्यालखानामा तिनले पश्चात्ताप गरे अनि दयाको बिन्ती गरे। साँचो पश्चात्ताप गरेको हुनाले यस्तो जटिल अवस्थामा पनि यहोवा “क्षमा गर्न तयार” हुनुभयो।—२ इतिहास ३३:९-१३.
नयाँ परिस्थितिहरू खडा हुँदा निर्णयहरू परिवर्तन गर्ने
१२ नयाँ परिस्थितिहरू खडा हुँदा आफूले निश्चित गरिसकेको निर्णय परिवर्तन गर्ने इच्छुकतामा पनि यहोवाको व्यावहारिकता देखिन्छ। उदाहरणको लागि, पुरातन निनवेको सडकहरूमा अगमवक्ता योनाले बताएको प्रेरित समाचार सरल थियो: त्यो ठूलो शहर ४० दिनभित्र नाश हुनेछ। तर नाटकीय ढङ्गमा परिस्थिति परिवर्तन भयो! निनवेबासीहरूले पश्चात्ताप गरे।—योना, ३ अध्याय।
१३ यस परिवर्तित परिस्थितिप्रति यहोवा र योनाले देखाएको प्रतिक्रियालाई दाँज्नु शिक्षामूलक छ। वास्तवमा, यहोवाले आफ्नो ईश्वरीय रथको मार्ग परिवर्तन गर्नुभयो। यस अवसरमा, उहाँ “योद्धा” हुनुको सट्टा परिवर्तन हुनुभएर पापहरू क्षमा गरिदिने व्यक्ति हुनुभयो। (प्रस्थान १५:३) तर, अर्कोतिर, योना भने त्यत्तिको लचकदार हुन सकेनन्। यहोवाको रथ सँगसँगै हिंड्नुको सट्टा माथि उल्लिखित मालगाडी अथवा ठूलो ट्याङ्कर जस्तो तिनी भए। तिनले विनाशको घोषणा गरेका थिए, त्यसकारण तिनको धारणामा विनाश हुनैपर्छ! शायद परिवर्तित निर्णयले गर्दा निनवेबासीहरू सामु बेइज्जत भोग्नु पर्ला जस्तो तिनलाई लाग्यो होला। तापनि, जिद्दी अगमवक्तालाई यहोवाले धैर्यपूर्वक व्यावहारिकता र दयासम्बन्धी एउटा अविस्मरणीय पाठ सिकाउनुभयो।—योना, ४ अध्याय।
१४ तुलनात्मक हिसाबमा अन्य स-साना कुराहरूमा पनि यहोवाले आफ्नो निर्णय परिवर्तन गर्नुभएको छ। उदाहरणको लागि, एउटा भविष्यसूचक नाटक गर्न अगमवक्ता इजकिएललाई अह्राउनुभएको थियो। मानिसको मल बालेर खाना पकाउनू भनी यहोवाले निर्देशन दिनुभएको थियो। इजकिएलका लागि यो असह्य कुरा थियो र तिनी यसरी चिच्याए: “हे परमप्रभु, परमेश्वर” अनि त्यस्तो घीनलाग्दो काम गर्न नलगाउनुहोस् भनी बिन्ती गरे। अगमवक्ताका भावनाहरू अमुनासिब भनी परमेश्वरले बेवास्ता गर्नुभएन; बरु, उहाँले इजकिएललाई गोबर प्रयोग गर्ने अनुमति दिनुभयो, जसको प्रयोग आज हाम्रो समयमा पनि थुप्रै देशहरूमा इन्धनको रूपमा गरिन्छ।—इजकिएल ४:१२-१५.
१५ हाम्रो परमेश्वर यहोवाको विनम्रतालाई गहिरिएर ध्यान दिनु के हृदयग्राही कुरा होइन र? (भजनसंग्रह १८:३५) उहाँ हामीभन्दा निकै उच्च हुनुहुन्छ; यद्यपि उहाँले असिद्ध मानिसहरूको कुरा धैर्यपूर्वक सुन्नुहुन्छ र कहिलेकाहीं त्यसैअनुरूप आफ्नो निर्णय समेत परिवर्तन गर्नुहुन्छ। सदोम र गमोराको विनाशको सम्बन्धमा उहाँले अब्राहामलाई लामो समयसम्म बिन्ती गर्ने अनुमति दिनुभयो। (उत्पत्ति १८:२३-३३) अनि विरोधी इस्राएलीहरूलाई नाश गरेर मोशाबाट एउटा शक्तिशाली राष्ट्र बनाउने प्रस्तावनाप्रति विरोध खडा गर्न मोशालाई अनुमति दिनुभयो। (प्रस्थान ३२:७-१४; व्यवस्था ९:१४, १९; तुलना गर्नुहोस् आमोस ७:१-६) यसप्रकार उहाँले आफ्ना मानव दासहरूको निम्ति एउटा सिद्ध उदाहरण बसाल्नुभयो, जसले व्यावहारिक र सम्भव भएमा अरूको कुरा सुन्ने यस्तै तत्परता देखाउनुपर्छ।—तुलना गर्नुहोस् याकूब १:१९.
अख्तियारको प्रयोग गर्दा व्यावहारिकता
१६ मानिसहरूले जति बढी अख्तियार प्राप्त गर्छन्, उति नै बढी अव्यावहारिक हुन्छन् भन्ने कुरा के तपाईंले कहिल्यै याद गर्नुभएको छ? यसको विपरीत, यस ब्रह्माण्डमा सबैभन्दा उच्च अख्तियार यहोवाको छ, यद्यपि उहाँ व्यावहारिकताको उच्चतम उदाहरण हुनुहुन्छ। उहाँले आफ्नो अख्तियारको प्रयोग अचूक व्यावहारिकतासाथ गर्नुहुन्छ। अधिकांश मानिसहरू जस्तो नभएर यहोवा आफ्नो अख्तियारको कारण असुरक्षित महसुस गर्नुहुन्न। त्यसकारण अरूलाई केही अख्तियार दिंदा आफू खतरामा पर्ने जस्तो गरी त्यस अख्तियारलाई डाही भएर जोगाउनु पर्ने बाध्यता उहाँ महसुस गर्नुहुन्न। वास्तवमा, यस ब्रह्माण्डमा उहाँबाहेक अर्को एक जना प्राणी मात्र हुँदा यहोवाले उहाँमाथि निकै अख्तियार सुम्पनुभयो। उहाँले वचनलाई आफ्नो “प्रमुख कार्यकर्त्ता” [न्यु व.] बनाउनुभयो र त्यतिबेलादेखि यस प्यारो पुत्रद्वारा उहाँले सबै कुरा अस्तित्वमा ल्याउनुभयो। (हितोपदेश ८:२२, २९-३१; यूहन्ना १:१-३, १४; कलस्सी १:१५-१७) पछि परमेश्वरले उहाँलाई “स्वर्ग र पृथ्वीमा सारा अधिकार” सुम्पनुभयो।—मत्ती २८:१८; यूहन्ना ५:२२.
१७ त्यस्तैगरि, अरूले भन्दा राम्ररी सह्माल्न सक्नुहुने कामहरू पनि यहोवाले आफ्ना प्राणीहरूलाई जिम्मा लगाउनुहुन्छ। उदाहरणको लागि, उहाँले अब्राहामलाई भन्नुभयो, “त्यही आवाजअनुसार तिनीहरूले यो काम गरेको हो कि होइन भनी हेर्नलाई म तल [सदोम र गमोरामा] ओर्लेर जानेछु।” यसो भन्नुको अर्थ उहाँ स्वयं नै जानुहुनेछ भनेको होइन। बरु, स्वर्गदूतहरूलाई त्यस्तो जानकारी जम्मा गर्न नियुक्त गर्नुभएर यहोवाले अख्तियार सुम्पन रोज्नुभयो। तथ्य पत्ता लगाउने यस कार्यमा नेतृत्व लिएर उहाँलाई रिपोर्ट दिन उहाँले तिनीहरूलाई अख्तियार दिनुभयो।—उत्पत्ति १८:१-३, २०-२२.
१८ अर्को घटनामा, दुष्ट राजा आहाबलाई मृत्युदण्ड दिने निर्णय यहोवाले गर्नुहुँदा, त्यस धर्मत्यागी राजालाई युद्धमा संलग्न गराई उसको जीवन अन्त गर्न उसलाई कसरी “बहकाउने” भनी सुझावहरू लिन उहाँले स्वर्गीय सम्मेलनमा स्वर्गदूतहरूलाई निमन्त्रणा दिनुभयो। निस्सन्देह, सारा बुद्धिको स्रोत यहोवालाई सर्वोत्तम मार्ग छान्ने मदत चाहिएको थिएन! यद्यपि, समाधान बताउन र उहाँले छान्नुभएको तरिकाअनुसार काम गर्ने अवसर दिनुभएर उहाँले स्वर्गदूतहरूको सम्मान गर्नुभयो।—१ राजा २२:१९-२२.
१९ अरूमाथि नाजायज नियन्त्रण राख्न यहोवाले आफ्नो अख्तियार प्रयोग गर्नुहुन्न। यस सन्दर्भमा पनि उहाँले अतुलनीय व्यावहारिकता देखाउनुहुन्छ। उहाँले होशियारीपूर्वक नियमहरूको सङ्ख्या सीमित पार्नुहुन्छ र मानिसहरूले आफ्नै बोझिलो नियमहरू थपेर “लेखिएको कुराभन्दा बढ़ता गर्न” उहाँले निषेध गर्नुहुन्छ। (१ कोरिन्थी ४:६; प्रेरित १५:२८; मत्ती २३:४ सित दाँजेर हेर्नुहोस्) आफ्ना प्राणीहरूले उहाँप्रति अविवेकपूर्ण आज्ञाकारिता देखाएको उहाँ चाहनुहुन्न। बरु प्रायजसो तिनीहरूलाई डोऱ्याउन उहाँले यथेष्ट जानकारी उपलब्ध गराइदिनुहुन्छ र तिनीहरूकै सामु छनौट राख्नुहुन्छ। साथै आज्ञाकारी हुनाको लाभ र अनाज्ञाकारी हुनाको प्रतिफलहरूबारे पनि जानकारी दिनुहुन्छ। (व्यवस्था ३०:१९, २०) दोष, लाज अथवा डरले मानिसहरूलाई घोच्नुको सट्टा उहाँले हृदयसम्म पुग्ने प्रयास गर्नुहुन्छ; दबाबमा परेर नभई साँचो प्रेमको कारण मानिसहरूले उहाँको सेवा गरेको चाहनुहुन्छ। (२ कोरिन्थी ९:७) त्यस्तो प्रकारको सम्पूर्ण तनमनको सेवाले परमेश्वरको हृदय आनन्दित तुल्याउँछ। त्यसकारण उहाँ “खुशी पार्न गाह्रो” किसिमको अव्यावहारिक हुनुहुन्न।—१ पत्रुस २:१८, न्यु व.; हितोपदेश २७:११; तुलना गर्नुहोस् मीका ६:८.
२० सारा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली यहोवा परमेश्वरले आफ्नो शक्ति कहिल्यै पनि अव्यावहारिक ढङ्गमा प्रयोग नगर्नु अनि अरूलाई नधम्क्याउनु के उल्लेखनीय होइन र? तर तुलनात्मक अनुपातमा तुच्छ मानिसहरूले भने एउटाले अर्कोलाई अधीनमा पारेको इतिहास छ। (उपदेशक ८:९) स्पष्ट छ, व्यावहारिकता एउटा मूल्यवान गुण हो। यही गुणले गर्दा हामी यहोवालाई झन् बढी प्रेम गर्न उत्प्रेरित हुन्छौं। फलस्वरूप त्यसले हामीलाई यो गुण खेती गर्न प्रेरित गर्न सक्छ। हामी त्यो कसरी गर्न सक्छौं? आउँदो लेखमा यो विषय चर्चा गरिनेछ। (w94 8/1)
[फुटनोटहरू]
a सन् १७६९ तिर कोशकार जोन पार्खस्तले त्यस शब्दलाई “कोमल, कोमल मनोभावको, मृदुल, नरम, धीरजी” भनी व्याख्या गरे। अन्य शास्त्रज्ञहरूले पनि परिभाषाको रूपमा “कोमल” चलाएका छन्।
तपाईंले कसरी जवाफ दिनु हुनेछ?
▫ यहोवाको नाउँ र उहाँको स्वर्गीय रथको दर्शनले उहाँको अनुकूलनीयतालाई कसरी जोड दिन्छ?
▫ व्यावहारिकता भनेको के हो र यो किन ईश्वरीय बुद्धिको चिनारी हो?
▫ “क्षमा गर्न तयार” हुनुहुन्छ भनी यहोवाले कस्ता बेग्लाबेग्लै ढङ्गमा देखाउनुभएको छ?
▫ खास अवसरहरूमा आफ्नो निर्णय परिवर्तन गर्न यहोवाले किन रोज्नुभएको छ?
▫ अख्तियार प्रयोग गर्दा यहोवाले व्यावहारिकता कसरी प्रदर्शन गर्नुहुन्छ?
[अध्ययनका लागि प्रश्नहरू]
१. कसै कसैले परमेश्वरलाई अव्यावहारिक हुनुहुन्छ भनी कसरी चित्रण गरेका छन् र परमेश्वरबारे त्यस्तो दृष्टिकोण तपाईंलाई कस्तो लाग्छ?
२, ३. (क) मानव संस्थान र सङ्गठनहरूको अव्यावहारिकतालाई हामी कसरी प्रष्ट्याउन सक्छौं? (ख) इजकिएलले देखेको यहोवाको स्वर्गीय रथको दर्शनले उहाँको अनुकूलनीयतालाई कसरी प्रकट गर्छ?
४. (क) परिस्थिति अनुकूल चल्नुहुने परमेश्वर हुनुहुन्छ भनी यहोवाको नाउँले नै के प्रकट गर्छ? (ख) यहोवा परमेश्वरलाई दिइएका केही पदवीहरू के के हुन् र ती किन सुहाउँदा छन्?
५. यहोवाको अनुकूलनीयताले गर्दा उहाँको स्वभाव र स्तरहरू परिवर्तन हुन्छन् भन्ने निष्कर्षमा हामी किन पुग्नु हुँदैन?
६. ईश्वरीय बुद्धिलाई व्याख्या गर्न याकूबले प्रयोग गरेको युनानी शब्दको अक्षरसः अर्थ र प्रयोगहरू के के हुन्?
७. अदनको बगैंचामा यहोवाले व्यावहारिकता कसरी प्रदर्शन गर्नुभयो?
८. (क) व्यावहारिकतासम्बन्धी मसीहीजगतको गलत दृष्टिकोणभन्दा यहोवाको साँचो व्यावहारिकता कसरी भिन्न छ? (ख) यहोवाको व्यावहारिकताले गर्दा उहाँले ईश्वरीय सिद्धान्तहरूमाथि सम्झौता गर्न सक्नुहुन्छ भन्नु किन मिल्दैन?
९, १०. (क) “क्षमा गर्न तयार” हुनुसित व्यावहारिकताको के सम्बन्ध छ? (ख) क्षमा गर्ने यहोवाको तत्परताबाट दाऊदले कसरी लाभ उठाए र किन?
११. मनश्शेको सन्दर्भमा यहोवाले क्षमा गर्ने तत्परता कसरी देखाउनुभयो?
१२, १३. (क) निनवेको सन्दर्भमा परिस्थितिहरूको कस्तो परिवर्तनले गर्दा आफ्नो निर्णय बदल्न यहोवा प्रेरित हुनुभयो? (ख) यहोवा परमेश्वरभन्दा योना कसरी कम व्यावहारिक साबित भए?
१४. अगमवक्ता इजकिएलको सन्दर्भमा यहोवाले आफ्नो निर्णय किन बदल्नुभयो?
१५. (क) मानवहरूको कुरा सुन्न र त्यसअनुरूप गर्न यहोवा इच्छुक हुनुहुन्छ भनेर कस्ता उदाहरणहरूले देखाएको छ? (ख) यसले हामीलाई कस्तो पाठ सिकाउन सक्छ?
१६. आफ्नो अख्तियार प्रयोग गर्ने सम्बन्धमा मानवहरूभन्दा यहोवा कसरी भिन्न हुनुहुन्छ?
१७, १८. (क) सदोम र गमोरामा यहोवाले स्वर्गदूतहरू किन पठाउनुभयो? (ख) आहाब राजालाई बहकाउन यहोवाले स्वर्गदूतहरूसित किन सुझाव माग्नुभयो?
१९. (क) आफूले बनाउनुहुने नियमहरू यहोवाले किन सीमित पार्नुहुन्छ? (ख) हामीबाट आशा गर्ने कुराहरूको सम्बन्धमा यहोवाले आफू व्यावहारिक हुनुहुन्छ भनी कसरी देखाउनुहुन्छ?
२०. यहोवाको व्यावहारिकताले तपाईंलाई कसरी असर गर्छ?
[पृष्ठ ९-मा भएको चित्र]
दुष्ट राजा मनश्शेलाई यहोवाले किन क्षमा गर्नुभयो?