विश्वभरिका यहोवाका साक्षीहरू—पोर्टो रिको
क्यारेबियन समुद्र र आन्द्र महासागरको बीचमा पोर्टो रिकोको हराभरा, उष्ण टापु छ। क्रिस्टोफर कोलम्बसले यसलाई स्पेनको इलाका भनी १४९३ मा दाबी गरेका थिए र बप्तिस्मा दिने यूहन्नाको स्मरणमा यसलाई सान ख्वान बाउतिस्ता भनी नामाकरण गरेका थिए। यसको सबैभन्दा ठूलो शहरलाई निकै लामो समयसम्म पोर्टो रिको अथवा “धनी बन्दरगाह” भनिन्थ्यो। समयमा यो नाउँ सम्पूर्ण टापुको निम्ति लागू हुन थाल्यो भने शहरको नाउँ सान ख्वान हुन गयो।
पोर्टो रिको धेरै अर्थमा धनी बन्दरगाह साबित भएको छ। स्पेनी शासनकालको प्रारम्भतिर यहाँबाट निकै सुन निर्यात गरिन्थ्यो। यस टापुले अहिले उखु, कफी, हरियो केरा र अमिला फलहरू निर्यात गर्छ। तापनि अहिले यहाँको अर्थ व्यवस्थाको मुख्य स्रोत कलपुर्जाहरू तथा आर्थिक चीजबीचका उद्योगहरू हुन्। तर त्योभन्दा अझै महत्त्वपूर्ण अर्थमा पोर्टो रिको एउटा धनी बन्दरगाह साबित भएको छ।
यहाँ राज्यको समाचार १९३० को दशकतिर प्रचार हुन थाल्यो। आज, पोर्टो रिकोमा २५,००० भन्दा बढी सुसमाचार प्रकाशकहरू छन्। सन् १९९३ मा वाच टावर सोसाइटीको शाखा कार्यालयमा कार्यकर्त्ता संख्या २३ बाट वृद्धि भएर १०० पुग्यो। विश्वभरिका स्पेनी भाषा बोल्ने ३५,००,००,००० मानिसहरूलाई साहित्यहरू उपलब्ध गराउन स्पेनी भाषामा बाइबल प्रकाशनहरू अनुवाद गर्ने कार्य सुपरिवेक्षण गर्न शाखामा त्यस्तो वृद्धि आवश्यक भयो।
एउटा नयाँ क्षेत्र
शाखा कार्यालयले यस्तो रिपोर्ट पनि दिन्छ: “पोर्टो रिकोमा एउटा नयाँ क्षेत्र खुलेको छ किनभने बहिराहरूलाई राज्य समाचार पुऱ्याउन हामीले प्रयास गरिरहेका छौं। एउटी बहिनी निम्न अनुभव बताउँछिन्: ‘म बहिराहरूलाई प्रचार गर्दैथिएँ र दुई साना छोराछोरी भएकी स्त्रीलाई भेटें। म एक साक्षी हुँ भनी थाहा पाएपछि उनले मलाई तत्कालै इन्कार गरिन्। किनभने उनको बहिरा पतिलाई “यहोवाका साक्षीहरू” मन पर्दैनथ्यो।
“‘केही महिनापश्चात् यस स्त्रीले साक्षीहरूसित अध्ययन गरिरहेकी आफ्नो साथीलाई भेटिन्। उनले बाइबल अध्ययनमा भाग लिइन् र उनलाई असाध्यै रमाइलो लाग्यो। मैले त्यस स्त्रीलाई पुनः भेटें र उनको पतिलाई यी “यहोवाका साक्षीहरू” मन पर्दैन भनी उनले फेरि भनिन्। तर उनी बाइबलबारे बुझ्न चाहन्थिन् र आफ्नो चर्च देखेर दिक्क भइसकेकी थिइन् किनभने तिनीहरूले बाइबलबारे केही सिकाउँदैनथे। पर्चा चलाएर हामीले अध्ययन थाल्यौं। शनिबारको दिन आफ्नो पति घरमै हुने हुनाले उनीकहाँ आउन मलाई एकदिन भनिन्। मैले सोधें: “तर उहाँलाई त हामीहरू मन पर्दैन, होइन र?” उनले जवाफ दिइन्: “यहोवाका साक्षीहरूले वास्तवमा के सिकाउँछन् भनेर तिनी जान्न चाहन्छन्।”
“‘भोलिपल्ट दुवै मेरो ढोका ढक्ढकाइरहेका थिए! उनको पतिका निकै प्रश्नहरू हुनाले बहिराहरूको निम्ति सभामा आउन मैले उनीहरूलाई निम्तो दिएँ। मभन्दा पहिले नै तिनी त्यहाँ पुगिसकेका थिए र त्यतिबेलादेखि उनीहरूले एउटै पनि सभा छुटाएका छैनन्। तिनले अरू बहिराहरूलाई प्रचार गरिरहेको छ, एउटा सम्मेलनमा उपस्थित भएको छ र उत्सुकतापूर्वक बप्तिस्मा लिन प्रतिक्षा गरिरहेको छ।’”
शाखाको रिपोर्टले अझै यसो भन्छ: “यो वर्ष जिल्ला सम्मेलनमा सम्पूर्ण कार्यक्रम सांकेतिक भाषामा प्रस्तुत गरिएको थियो किनभने धेरै बहिराहरू आ-आफ्ना परिवारको साथमा उपस्थित थिए। अन्तिम भाषणमा वक्ताले बहिराहरूबीच भएको कार्य र त्यहाँ ७० जना उपस्थित भएको उल्लेख गर्दा सबै असाध्यै भावुक भएका थिए। त्यहाँ सबैले जोडसित ताली बजाए तर वक्ताले टिपोट गरेझैं बहिराहरूले सुन्न सक्दैनथे। त्यसैले बहिराहरूलाई स्रोतागणतर्फ फर्कन आग्रह गर्दै वक्ताले प्रश्न दोहोऱ्याए, ‘बहिरा भाइहरू हामीबीच भएकोमा के तपाईंहरू खुशी हुनुहुन्न र?’ अनि दुवै हात हल्लाएर तारिफ गर्न स्रोतागणलाई आग्रह गरे। आफ्नो हात हल्लाएर ११,००० भाइबहिनीहरूले तारिफ गरेको हेर्नु एउटा अद्भुत दृश्य थियो। हाम्रा बहिरा भाइबहिनीहरू हर्ष विभोर भए र तिनीहरू पनि ठूलो भ्रातृत्वको एक भाग भएको महसुस गरे। धेरैले हर्षका आँसु बगाए।”
पोर्टो रिकोमा यहोवाका साक्षीहरूले कटनीको कार्यमा भाग लेउञ्जेल यो एउटा धनी बन्दरगाह साबित हुनेछ। “सबै जाति जातिका धन-सम्पत्तिहरू” भनी परमेश्वरले सम्बोधन गर्नुहुने “भेड़ा[हरू]” आइनै रहनेछन् जसले गर्दा यहोवाको घर महिमाले भर्नेछ।—यूहन्ना १०:१६; हाग्गै २:७.
[पृष्ठ ९-मा भएको पेटी]
देशको तथ्याङ्क
१९९४ सेवा वर्ष
साक्षी दिनेहरूको शिखर संख्या: २५,४२८
अनुपात: १ साक्षीले १३९
स्मरणार्थ उत्सवमा उपस्थिति: ६०,२५२
औसत अग्रगामी प्रकाशकहरू: २,३२९
औसत बाइबल अध्ययनहरू: १९,०१२
बप्तिस्माप्राप्त संख्या: ९१९
मण्डलीहरूको संख्या: ३१२
शाखा कार्यालय: ग्यान्बो