के तपाईंले यहोवाको प्रशंसा गर्नुहुनेछ?
“हे परमेश्वर तपाईंको नाउँजस्तो छ, त्यस्तै पृथ्वीको अन्तसम्मै तपाईंको प्रशंसा पनि छ।” यी शब्दहरू कोरहवंशीहरूका भविष्यसूचक भजनबाट लिइएका हुन्। (भजनसंग्रह ४८:१०) आज, यहोवाका लाखौं साक्षीहरूको विशाल समूहले परमेश्वरको प्रशंसा गरिरहेको छ र राज्यको सुसमाचार प्रचार गरेर उहाँको नाउँबारे थाहा दिइरहेको छ। यो कार्य २३२ देश तथा टापुहरूका साथै ३०० भन्दा बढी भाषाहरूमा प्रचार गरेर तिनीहरू अक्षरसः “पृथ्वीको अन्तसम्मै” पुगिरहेका छन्।
भिन्न संस्कृति, जातीय र भाषीय पृष्ठभूमिका मानिसहरूलाई कुन कुराले यहोवाको प्रशंसा गर्न बाध्य तुल्याउँछ? परमेश्वरको वचन, बाइबलको सही ज्ञानप्रति कृतज्ञता एउटा प्रमुख कारण हो। शास्त्रीय सच्चाइले तिनीहरूलाई अन्धविश्वास र अनन्त शासनाजस्ता वशीभूत धार्मिक विश्वासहरूबाट मुक्त गरेको छ। (यूहन्ना ८:३२) प्रेम, शक्ति, बुद्धि र दयाले सन्तुलित न्याय जस्ता परमेश्वरका अद्भुत गुणहरूको मूल्यांकन गर्न पनि तिनीहरूलाई सच्चाइले मदत गर्छ। एक मात्र पुत्र, येशू ख्रीष्टलाई परमेश्वरले मानवजातिको निम्ति छुटकाराको बलिदानस्वरूप दिनुभएको कारण बुझेपछि धर्मी व्यक्तिहरू यहोवाको प्रशंसा र सेवा गर्न उत्प्रेरित हुन्छन्।
बाइबलको पुस्तक, प्रकाशअनुसार स्वर्गको एउटा गायन समूहले यस्तो उद्घोषण गर्छ: “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” (प्रकाश ४:११) दायित्वको भावनाले मात्रै त्यस्ता प्रशंसाहरू प्रेरित हुँदैनन्। बरु, यहोवाप्रतिको श्रद्धाले त्यो प्रेरित हुन्छ।
सुसमाचार घोषणा गरेर परमेश्वरको प्रशंसा गर्नुहोस्
यहोवाको प्रशंसा गर्दा त्यस व्यक्तिले परमेश्वरको प्रमुख प्रशंसक येशू ख्रीष्टको सर्वोत्कृष्ट उदाहरण अनुसरण गरिरहेको हुन्छ। येशूका पाइलाहरू पछ्याउनुमा परमेश्वरको राज्यको सुसमाचार प्रचार-कार्यमा भाग लिनु समावेश छ। (मत्ती ४:१७, २३; २४:१४) यो प्रचार-कार्य यहोवाको प्रशंसा गर्ने सबैभन्दा विश्वव्यापी प्रयास साबित भएको छ।
यो प्रचार-कार्य असाध्यै महत्त्वपूर्ण हुनाकारण बाइबलले यसलाई स्पष्टतः मुक्तिसित जोडेको छ। रोमी १०:१३-१५ मा यसो भनिएको छ: “‘प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।’ तब जसलाई तिनीहरूले विश्वास गरेकै छैनन् उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन् उहाँलाई कसरी विश्वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्नसक्लान्? औ नपठाईकन कसरी तिनीहरूले प्रचार गर्लान्? जस्तो लेखिएको छ, ‘असल कुराका सुसमाचार ल्याउनेहरूका खुट्टा कति राम्रा!’”
गत वर्ष मात्रै यहोवाका साक्षीहरूले प्रचार-कार्यमा करोडौं घण्टा बिताए। अनि यसप्रकार परमेश्वरको प्रशंसा गर्दा कस्ता राम्रा परिणामहरू भए! झण्डै ३,१४,००० व्यक्तिहरूले पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिएर प्रशंसकहरूको समूहमा सामेल भएका छन्।
यद्यपि, सन् १९९४ मा ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित हुने १,२२,८८,९१७ व्यक्तिहरूबारे के भन्न सकिन्छ? तिनीहरूमध्ये ७०,००,००० भन्दा बढी व्यक्तिहरू सुसमाचारका प्रचारकहरूको हैसियतमा यहोवाका प्रशंसकहरू भइसकेका छैनन्। तर यस महत्त्वपूर्ण अवसरमा तिनीहरूको उपस्थितिको परिणामस्वरूप अन्ततः लाखौं व्यक्तिहरू प्रशंसकहरूको समूहमा थपिनेछन्। यहोवाका प्रशंसकहरू हुने मदत दिन यी जिज्ञासुहरूलाई के गर्न सकिन्छ?
उपलब्ध मदत
थुप्रै जिज्ञासुहरूले यहोवाको प्रशंसा गर्ने इच्छा त राख्लान् तर तोकिएका आवश्यकताहरू पूरा गर्न सक्दैनन् भनी ठान्लान्। तिनीहरूले भजनरचयिताका शब्दहरू सम्झनु बेस हुनेछ: “पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु। मलाई गोहार कहाँबाट आउँछ? मलाई गोहार परमप्रभुबाटनै आउँछ, जसले स्वर्ग र पृथ्वी सृजनुभयो।” (भजनसंग्रह १२१:१, २) स्पष्ट छ, भजनरचयिताले यरूशलेमको मन्दिरतर्फ हेरे, जहाँ यहोवाको मन्दिर र ईश्वरतान्त्रिक सरकारको पार्थिव ठाउँ अवस्थित थियो। परमेश्वरको प्रशंसा तथा राज्यको समाचार घोषणा गर्न चाहिने मदत यहोवा र उहाँको संगठन मार्फत मात्र आउँछ भनी यसबाट हामी पूर्ण औचित्यका साथ भन्न सक्छौं।—भजनसंग्रह ३:४; दानियल ६:१०.
आज, यहोवाको प्रशंसा गर्न इच्छुकहरूले उहाँको पार्थिव संगठनबाट मायालु सहयोगको आशा गर्न सक्छन्। उदाहरणको लागि, जिज्ञासुहरूसित निश्शुल्क गृह बाइबल अध्ययन सञ्चालन गरेर यहोवाका साक्षीहरूले मदत प्रदान गर्छन्। यस शैक्षिक कार्यक्रममा बाइबलका धर्मसिद्धान्तहरू सिक्नु मात्रै समावेश छैन। यसले विद्यार्थीलाई आफूले सिकिरहेका कुराहरू र यहोवाले प्रयोग गर्नुहुने संगठनप्रति मूल्यांकन विकास गर्न मदत गर्छ।
यसअनुरूप बाइबल अध्ययन सञ्चालन गर्ने साक्षीले यी भर्खरै सिकिरहेका सच्चाइहरू त्यस व्यक्तिको मनमा मात्र नभई हृदयमा पुऱ्याउन प्रयास गर्छ। अनि पृथ्वीमा आफ्नो उद्देश्य पूरा गर्न यहोवाले आफ्नो संगठन कसरी सञ्चालन गरिरहनुभएको छ भनी देखाउन शिक्षकले विद्यार्थीबाट कुनै कुरा लुकाउनु हुँदैन। यो कार्य सम्पन्न गर्न जेहोभाज् विट्नेसेज—युनाइटेडली डुइंग गड्स विल वर्ल्डवाइड (यहोवाका साक्षीहरू—एकत्रित भएर विश्वभरि परमेश्वरको इच्छा गरिरहेका छन्) पुस्तिका र जेहोभाज् विट्नेसेज—दी अर्गनिजेशन बिहाइन्ड द नेम (यहोवाका साक्षीहरू—त्यस नाउँपछाडिको संगठन) भिडियो चलचित्र प्रायजसो मदतकारी साबित भएका छन्।
यहोवाका सम्भाव्य प्रशंसकहरूलाई मदत गर्न मसीही सभाहरूले पनि महत्त्वपूर्ण भूमिका निभाउँछ। बाइबल अध्ययनको प्रारम्भिक चरणतिर नै मसीही सभाहरूमा उपस्थित हुन विद्यार्थीलाई निमन्त्रणा दिन सकिन्छ। समयमा उनले सबै मसीही सभाहरूमा नियमित उपस्थित हुनु र भाग लिनुको महत्त्व सिक्नेछन्। (हिब्रू १०:२४, २५) आध्यात्मिक तवरमा उत्थानदायी तथा व्यवहारिक सभाहरू तयार गरेर निरीक्षकहरूले यहोवाका सँगी विश्वासी तथा सम्भाव्य प्रशंसकहरूलाई अमूल्य मदत प्रदान गर्न सक्छन्।
यहोवाको प्रशंसा गर्न छोराछोरीलाई मदत दिनुहोस्
निकट भविष्यमा सुसमाचारका प्रकाशकहरू हुन सक्ने थुप्रै व्यक्तिहरूमध्ये छोराछोरीहरू पनि हुन्। छोराछोरीहरूलाई “प्रभुको शिक्षा र चे[ता]उनीमा पालन-पोषण” गर्ने शास्त्रीय जिम्मेवारी विशेषगरि पिताहरूको हो। (एफिसी ६:४) ईश्वरभीरु आमाबाबुले राम्ररी प्रशिक्षण दिंदा साना केटाकेटीहरूमा समेत यहोवाको प्रशंसा गर्ने इच्छा जाग्न सक्छ।
राज्य प्रचारकको रूपमा योग्य हुने मदतको लागि अर्जेन्टिनाकी एउटी सानी केटीले मण्डलीका प्राचीनहरूलाई लगातार महिनौंसम्म आग्रह गरिन्। समयमा उनका आमाबाबु र प्राचीनहरू उनलाई बप्तिस्मा अप्राप्त प्रकाशक बनाउन सहमत भए। उनले अहिले नै राज्य सुसमाचार ढोका ढोकामा प्रभावशाली ढंगमा प्रस्तुत गर्छिन्। यस सानी केटी पाँच वर्षकी मात्र भएकीले पढ्न जान्दिनन् तापनि केही बाइबल पदहरू कहाँ छन् भनी उनले कण्ठ गरेकी छिन्। शास्त्रपद भेटाएपछि उनले घरधनीलाई पढ्न लगाउँछिन् र त्यसपछि त्यो बुझाउँछिन्।
यहोवाका प्रशंसकहरू हुन प्रगति गरिरहेका व्यक्तिहरूलाई प्रोत्साहन र मदत दिएर प्राचीन तथा आमाबाबु दुवैले निकै फाइदा पुऱ्याउन सक्छन्।—हितोपदेश ३:२७.
यहोवासित अनन्त सम्बन्ध
यद्यपि, तपाईंले यहोवाका साक्षीहरूसित संगत गर्नुभएको केही समय भइसक्यो तर तिनीहरूको प्रचार-कार्यमा चाहिं भाग लिनुभएको छैन भने नि? निम्न प्रश्नहरू आफैलाई सोध्नु लाभकारी हुन सक्छ: ‘मैले सच्चाइ पाएको छु र यहोवा एक मात्र साँचो परमेश्वर हुनुहुन्छ भनी के म विश्वास गर्छु? मानवजातिका समस्याहरूको एक मात्र समाधान परमेश्वरको राज्य हो भनी के म विश्वस्त छु? यहोवालाई मन नपर्ने सम्पूर्ण झूटो धर्म र सांसारिक चलनहरू के मैले त्यागेको छु? परमेश्वर र उहाँका धार्मिक आवश्यकताहरूप्रति के मैले गहिरो प्रेम राखेको छु?’ (भजनसंग्रह ९७:१०) इमान्दारीपूर्वक यी प्रश्नहरूको सकारात्मक जवाफ दिन सक्नुहुन्छ भने यहोवाको प्रशंसा गर्न तपाईंलाई कुन कुराले रोक्छ?—तुलना गर्नुहोस् प्रेरित ८:३६.
यहोवाको प्रशंसा गर्नु भनेको सुसमाचार प्रचार गर्नु मात्रै होइन। तपाईंले सही ज्ञान लिनुभएको, साँचो विश्वास राख्नुभएको र साथै ईश्वरीय आवश्यकताअनुरूप आफ्नो जीवन बिताउनुभएको छ भने परमेश्वरसितको सम्बन्धलाई तपाईंले सुदृढ पार्नु आवश्यक हुन्छ। तर कसरी? प्रार्थना मार्फत उहाँलाई समर्पण र त्यसपछि पानीको बप्तिस्माद्वारा त्यसलाई प्रतीकात्मक रूप प्रदान गरेर। अनन्त जीवन खतरामा छ। तसर्थ, येशूको सल्लाहअनुरूप अहिले नै कदम चाल्नुहोस्: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो बाटो साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।”—मत्ती ७:१३, १४.
वर्तमान रीतिरिवाजको विध्वंसकारी नाश नजिकै हुनाले यो हिचकिचिने समय नै होइन। यहोवासित अनन्त सम्बन्ध कायम गर्न तत्कालै कदम चालिहाल्नुहोस्। के तपाईंले यहोवाको प्रशंसा गर्नुहुनेछ? भन्ने प्रश्नको सकारात्मक जवाफ दिने समय निस्सन्देह अहिले नै हो।