“सबै सान्त्वनाका परमेश्वर[बाट]” ढाडस
“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता, कृपाका पिता, र सबै सान्त्वनाका परमेश्वर धन्यका हुनुहुन्छ। . . . उहाँले हाम्रा सबै संकष्टमा सान्त्वना दिनुभएको छ।”—२ कोरिन्थी १:३, ४.
१, २. शोकाकुल मानिसहरूलाई कस्तो सान्त्वना चाहिन्छ?
शोकाकुल मानिसहरूलाई नीरस अनि खोक्रो दिलासा होइन तर साँचो सान्त्वना चाहिन्छ। ‘समय नै सबै कुराको ओखती हो’ भनेर हामी सबैले सुनेका छौं तर प्रारम्भिक शोकाकुल अवस्थामा के त्यस्तो विचारले शोकाकुल व्यक्तिलाई सान्त्वना देला र? परमेश्वरले पुनरुत्थानको प्रतिज्ञा गर्नुभएको छ, त्यो मसीहीहरूलाई थाह भएको कुरा हो तर एक्कासि आफ्नो प्रिय जन गुमाउनुपर्दा लाग्ने गहिरो चोट र आघातलाई के त्यसले रोक्नसक्छ? अनि आफ्ना छोरा-छोरीहरूमध्ये एकको मृत्यु हुँदा अवश्य पनि बाँकी छोरा-छोरीहरूले त्यसको ठाउँ लिन सक्दैन।
२ प्रिय जनको मृत्यु हुँदा परमेश्वरका प्रतिज्ञाहरूमा आधारित साँचो सान्त्वनाले हामीलाई धेरै मदत पुऱ्याउँछ। हामीलाई समानुभूति पनि चाहिन्छ। शैतानी जातीय नरसंहारमा आफ्ना प्रिय जन गुमाउने रूवाण्डाका मानिसहरू र अझ विशेषगरि यहोवाका साक्षीहरूका सयौं परिवारले यो कुरा सत्य पाएका छन्। सबै शोकाकुल मानिसहरूले कसबाट सान्त्वना पाउनसक्छन्?
यहोवा—सान्त्वनाका परमेश्वर
३. सान्त्वना दिने सम्बन्धमा यहोवाले कसरी उदाहरण बसाल्नुभएको छ?
३ हामी सबैलाई सान्त्वना दिने सम्बन्धमा यहोवाले राम्रो उदाहरण बसाल्नुभएको छ। हामीलाई अनन्त सान्त्वना र आशा प्रदान गर्न उहाँले आफ्नो एकमात्र पुत्र, ख्रीष्ट येशूलाई यस पृथ्वीमा पठाउनुभयो। येशूले यसरी सिकाउनुभयो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) उहाँले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” (यूहन्ना १५:१३) अर्कै एउटा घटनामा उहाँले यसो भन्नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनालाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।” (मत्ती २०:२८) अनि पावलले यसो भने: “परमेश्वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” (रोमी ५:८) यी र अन्य पदहरूबाट हामी परमेश्वर अनि ख्रीष्ट येशूको प्रेम देख्नसक्छौं।
४. प्रेरित पावल किन यहोवाप्रति विशेषगरि ऋणी थिए?
४ यहोवाको अनुग्रहप्रति प्रेरित पावल विशेषगरि सजग थिए। आध्यात्मिक तवरमा मृत अवस्थाबाट तिनलाई बचाइएको थियो र ख्रीष्टका अनुयायीहरूलाई असाध्यै सताउने व्यक्तिबाट तिनी सतावट भोग्ने मसीही भएका थिए। (एफिसी २:१-५) तिनी आफ्नो अनुभव यसप्रकार वर्णन गर्छन्: “प्रेरितहरूमध्ये म सबैभन्दा सानो हुँ। म ता प्रेरित भनिनँ पनि सुहाउँदिनँ। किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरें। तर परमेश्वरको अनुग्रहले म जे छु, त्यही छु, र ममाथि भएको उहाँको अनुग्रह व्यर्थमा भएन। तर ती सबैले भन्दा बढ़ता मैले परिश्रम गरें। तैपनि मैले ता होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले।”—१ कोरिन्थी १५:९, १०.
५. परमेश्वरबाट पाउने सान्त्वनाबारे पावलले के लेखे?
५ अतः औचित्यसाथ पावलले यसरी लेखे: “हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता, कृपाका पिता, र सबै सान्त्वनाका परमेश्वर धन्यका हुनुहुन्छ। परमेश्वरबाट जुन सान्त्वना हामीले पाएका छौं, त्यही सान्त्वनाले कुनै पनि संकष्टमा हुनेहरूलाई सान्त्वना दिनसकौं भनेर हो। उहाँले हाम्रा सबै संकष्टमा सान्त्वना दिनुभएको छ। किनकि जसरी हामीलाई ख्रीष्टका पीड़ा प्रशस्त मात्रामा हुन्छ, त्यसरीनै हाम्रो सान्त्वना पनि ख्रीष्टद्वारा प्रशस्त मात्रामा हुन्छ। तर हामीले संकष्ट पाए तापनि यो तिमीहरूको सान्त्वना र उद्धारको निम्ति हो। हामीले सान्त्वना पाए, तापनि जुन पीड़ा हामी भोग्दछौं, तिनै पीड़ाको धैर्य धारणले गर्दा त्यो तिमीहरूको सान्त्वनाको निम्ति भएको हो। औ यो जानेर कि, तिमीहरूका निम्ति हाम्रो आशा दृढ़ छ, किनकि जसरी तिमीहरू ती दुःखका सह-भागी छौ, त्यसैगरी सान्त्वनाका पनि सह-भागी छौ।”—२ कोरिन्थी १:३-७.
६. “सान्त्वना” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ के हो?
६ कति उत्प्रेरणादायी शब्दहरू! यहाँ “सान्त्वना” भनी अनुवाद गरिएको युनानी शब्द “कसैसमक्ष आउने निमन्त्रणासित” सम्बन्धित छ। तसर्थ, त्यसको अर्थ “कुनै व्यक्तिले कठिन परीक्षाको सामना गर्दा तिनलाई प्रोत्साहन दिन तिनको छेवैमा उभिनु हो।” (अ लिंग्विस्टिक कि टु द ग्रीक न्यु टेस्टामेन्ट) एक जना बाइबलविद्ले यसरी लेखे: “यो शब्दको अर्थ केवल पीडा कम गर्ने प्रोत्साहन होइन। मसीही सान्त्वना त्यस्तो सान्त्वना हो जसले साहस बढाउँछ, जीवनका हर कठिनाइहरूको सामना गर्न मदत गर्छ।” त्यसमा ठोस प्रतिज्ञा अनि आशामा आधारित सान्त्वनादायी शब्द अर्थात् मृत मानिसहरूको पुनरुत्थानका शब्दहरू पनि समावेश छन्।
येशू अनि पावल—अनुकम्पापूर्ण सान्त्वनादाताहरू
७. पावलले आफ्ना मसीही भाइहरूलाई कसरी सान्त्वना दिइरहेका थिए?
७ सान्त्वना दिने सम्बन्धमा पावल साँच्चै नै राम्रा उदाहरण थिए! त्यसैकारण तिनले थिस्सलोनिकाका भाइहरूलाई यो कुरा लेख्न सके: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ। किनकि तिमीहरूलाई थाहै छ, बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तोगरी हामीले तिमीहरूलाई कसरी अर्ती, साहस र साक्षी दिंदै तिमीहरू हरेकसँग व्यवहार गऱ्यौं।” मायालु र अरूको ख्याल राख्ने आमा-बाबुहरूजस्तै हामी सबैले खाँचो परेको बेला अरूसित हाम्रो न्यानोपन र समझदारी बाँड्नसक्छौं।—१ थिस्सलोनिकी २:७, ८, ११.
८. शोकाकुल मानिसहरूका लागि येशूको शिक्षा किन सान्त्वनादायी छ?
८ तर त्यस्तो चिन्ता र दया देखाउने सम्बन्धमा पावलले केवल महान् नमुना, येशूको अनुकरण गरिरहेका थिए। मत्ती ११:२८-३० मा येशूले दिनुभएको अनुकम्पापूर्ण निमन्त्रणालाई सम्झनुहोस् त: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।” हो, येशूको शिक्षा स्फूर्तिदायी छ किनभने त्यसले आशा र प्रतिज्ञा अर्थात् पुनरुत्थानको प्रतिज्ञा गर्छ। यही आशा र प्रतिज्ञा हामी मानिसहरूलाई दिंदैछौं। उदाहरणको लागि, ह्वेन समवान यु लभ डाइज (तपाईंको प्रिय जनको मृत्यु हुँदा) पुस्तिका दिंदा हामी त्यही आशा र प्रतिज्ञा दिइरहेका हुन्छौं। निकै समयदेखि हामी शोकाकुल थियौं भने पनि यो आशाले हामी सबैलाई मदत गर्नसक्छ।
शोकाकुल मानिसहरूलाई कसरी सान्त्वना दिने
९. शोकाकुल मानिसहरूसित हामी किन अधीर हुनुहुँदैन?
९ शोक भन्ने कुरा प्रिय जनको मृत्युको तत्कालै केही समयसम्म मात्र सीमित हुँदैन। केही मानिसहरू आजीवन शोकाकुल हुन्छन्। विशेषगरि छोरा-छोरीहरूको मृत्यु हुने मानिसहरूमा यो कुरा लागू हुन्छ। स्पेनको एक जना विश्वासी मसीही दम्पतीले सन् १९६३ मा मेनिन्जाइटिसले गर्दा ११ वर्षीय छोरालाई गुमाए। आफ्नो छोरा पाकितोको कुरा गर्दा तिनीहरू आजसम्म पनि आँसु झार्छन्। वार्षिकी, फोटोहरू, उपहारहरूले गर्दा दुःखदायी सम्झनाहरू झलझली आउनसक्छन्। तसर्थ, शोकाकुल व्यक्तिहरू यतिञ्जेलसम्म ठीक भइसक्नुपर्ने हो भनेर हामीले अधैर्य भई सोच्नु हुँदैन। एक चिकित्सा विशेषज्ञ यसो भनेर स्वीकार्छन्: “निकै वर्षसम्म पनि बेलाबेलामा नैराश्यले छोप्न र मुड परिवर्तन हुनसक्छ।” तसर्थ नबिर्सनुहोस्, घाउका खतहरूजस्तै अधिकांश भावनात्मक खतहरू आजीवन रहिरहनसक्छन्।
१०. शोकाकुल मानिसहरूलाई मदत गर्न हामीले के गर्नैपर्छ?
१० मसीही मण्डलीका शोकाकुल मानिसहरूलाई मदत गर्न हामीले गर्नसक्ने केही व्यवहारिक कुराहरू के के हुन्? सान्त्वनाको खाँचो परिरहेको भाइ वा बहिनीलाई शायद हामी निष्कपटतासाथ यसो भनौंला, “मैले गर्नसक्ने केही छ भने बताउनुहोस्।” तर शोकसन्तप्त व्यक्तिले कहिले पो हामीलाई बोलाएर यसो भन्ला, “मलाई मदत गर्न तपाईंले गर्नसक्ने काम मैले सम्झें”? स्पष्ट छ, शोकसन्तप्त व्यक्तिलाई सान्त्वना दिने हो भने, उपयुक्त ढंगमा हामी आफै अग्रसर हुनुपर्छ। त्यसोभए मदतकारी ढंगमा हामी के के गर्नसक्छौं त? केही व्यवहारिक सुझावहरू यसप्रकार छन्।
११. हामीले सुनिदिंदा अरूले कसरी सान्त्वना पाउनसक्छन्?
११ सुन्नुहोस्: शोकसन्तप्त व्यक्तिको पीडा बाँड्न तपाईंले गर्नसक्ने एउटा मदतकारी कुरा सुन्नु हो। तपाईं यसरी सोध्न सक्नुहुन्छ, “के तपाईंलाई यसबारे कुरा गर्न मनपर्छ?” त्यो व्यक्ति आफैलाई निर्णय गर्न दिनुहोस्। आफ्नो पिताको मृत्यु हुँदाखेरिको घटनालाई एक जना मसीही यसरी स्मरण गर्छन्: “अरूले के भयो भनेर सोधिदिंदा र मेरो कुरालाई साँच्चै नै सुनिदिंदा मलाई निकै ढाडस मिल्यो।” याकूबले सल्लाह दिएझैं सुन्नमा छिटो हुनुहोस्। (याकूब १:१९) धैर्यपूर्वक सहानुभूतिशील भएर सुन्नुहोस्। “रुनेहरूसँग रोओ,” भनी बाइबलले रोमी १२:१५ मा सुझाव दिन्छ। नबिर्सनुहोस्, मार्था र मरियम सँगसँगै येशू रुनुभएको थियो।—यूहन्ना ११:३५.
१२. शोकाकुल मानिसहरूलाई हामी कस्ता आश्वासनहरू दिनसक्छौं?
१२ आश्वासन दिनुहोस्: शोकसन्तप्त व्यक्तिले सुरु-सुरुमा दोषी महसुस गरिरहेको हुनसक्छ भनेर मनमा राख्नुहोस्। शायद आफूले गर्नसक्नेजति गरिएन भन्ने महसुस भइरहेको होला। यथासम्भव सबै गरियो (अथवा तपाईंलाई थाह भएको कुनै पनि साँचो र सकारात्मक कुरा) भनेर त्यस व्यक्तिलाई आश्वासन दिनुहोस्। तिनको अनुभूति असामान्य कुरा होइन भनेर विश्वस्त गराउनुहोस्। त्यस्तै किसिमको क्षतिबाट पुनः सामान्य अवस्थामा आएका कोही चिनजान छन् भने तिनीहरूबारे बताउनुहोस्। अर्को शब्दमा भन्ने हो भने, संवेदनशील र सहानुभूतिशील हुनुहोस्। हाम्रो दयालु मदत निकै अर्थपूर्ण हुनसक्छ! सुलेमानले यसप्रकार लेखे: “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।”—हितोपदेश १६:२४; २५:११; १ थिस्सलोनिकी ५:११, १४.
१३. मदत गर्न हर बखत तयार भयौं भने त्यो कसरी मदतकारी हुनसक्छ?
१३ मदत दिन हर बखत तयार हुनुहोस्: धेरै मित्र तथा नातेदारहरू वरपर हुँदा एक दुइ दिन मात्र होइन तर आवश्यक परेमा महिनौं दिनपछि सबै जना आ-आफ्नो सामान्य दिनचर्यामा लागिसकेपछि पनि मदत गर्न तयार हुनुहोस्। शोक अवधि व्यक्तिपिच्छे लामो-छोटो हुन्छ। मदतको खाँचो परेको बेला हाम्रो मसीही चासो र सहानुभूतिले निकै ठूलो अर्थ राख्नसक्छ। “मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ” भनेर बाइबलले बताउँछ। तसर्थ, “खाँचो परेको बेला मदत गर्ने मित्र नै साँचो मित्र हुन्छ” भन्ने भनाइ स्वयंसिद्ध कुरा हो र हामी त्यसअनुरूप बाँच्नुपर्ने हो।—हितोपदेश १८:२४; प्रेरित २८:१५ तुलना गर्नुहोस्।
१४. शोकसन्तप्त व्यक्तिलाई सान्त्वना दिन हामी के कुरा गर्नसक्छौं?
१४ मृत व्यक्तिको राम्रा गुनहरूबारे कुरा गर्नुहोस्: यो उपयुक्त समयमा दिंदा अति लाभकारी हुने अर्को मदत, हो। मृत व्यक्तिसित सम्बन्धित रमाइला सकारात्मक कुराहरू सम्झनुभएको छ भने सुनाउनुहोस्। मृत व्यक्तिको नाउँ लिन नडराउनुहोस्। मृत प्रिय जनको अस्तित्व नै नभएजस्तो वा अस्तित्वबाटै हराएको जस्तो व्यवहार नगर्नुहोस्। हार्वर्ड मेडिकल स्कूलको प्रकाशनले भनेको यो कुरा सान्त्वनादायी छ: “शोकसन्तप्त व्यक्तिले असाध्यै दुःखी नभईकन मृत व्यक्तिबारे सोच्न सक्यो भने पुनः सामान्य अवस्थामा आउनसक्छ। . . . नयाँ वास्तविकतालाई स्वीकारिसकेको हुँदा मृत व्यक्तिको शोक अमूल्य स्मृतिहरूमा विलीन भएर जान्छ।” “अमूल्य स्मृतिहरू”—प्रिय जनसित बिताएका बहुमूल्य क्षणहरू स्मरण गर्नु कति सान्त्वनादायी हुन्छ! केही वर्षअघि आफ्नो बुबाको मृत्यु हुने एक जना साक्षीले यसो भने: “बुबाले सच्चाइ अध्ययन गर्न थाल्नुभएको केही समयपश्चात् हामी दुवैले बाइबल पढेको घटना मेरोलागि विशेष छ। खोलाको तीरमा बसेर मेरा समस्याहरूबारे छलफल गरेको घटना पनि मलाई निकै प्रिय लाग्छ। पछि विदेशमा कार्यरत हुँदा तीन-चार वर्षको एकपटक मात्र म उहाँलाई देख्थें त्यसकारण ती क्षणहरू मलाई अमूल्य लाग्छ।”
१५. मदत दिन कसरी अग्रसर हुनसकिन्छ?
१५ उपयुक्त देखिएमा अग्रसर हुनुहोस्: केही शोकाकुल व्यक्तिहरू अरूले भन्दा चाँडै खप्न सक्छन्। अतः परिस्थितिअनुसार मदत गर्न व्यवहारिक कदम चाल्नुहोस्। एक जना शोकाकुल मसीही स्त्री यसरी सम्झन्छिन्: “‘मैले गर्नसक्ने केही छ भने बताउनुहोस्’ भनेर थुप्रैले भने। तर एक जना मसीही बहिनीले केही सोधिनन्। तिनी सरासर शयन-कक्षमा गइन् र तन्ना निकालेर धुन थालिन्। अर्की बहिनीले साबुन अनि एक बाल्टिन पानी ल्याइन् र मेरो पतिले बान्ता गर्नुभएको कार्पेट सफा गर्न थालिन्। तिनीहरू असल मित्र थिए र म तिनीहरूलाई कहिल्यै बिर्सन्नँ।” त्यसकारण, के गरेर हुन्छ—खाना पकाएर, सर-सफाई गरेर अथवा मदतकारी सेवाहरू पुऱ्याएर मदतको आवश्यकता देखिएमा अग्रसर हुनुहोस्। निस्सन्देह, शोकसन्तप्त व्यक्तिले एकान्तपन चाहेमा हामीले जबरजस्ती दखल दिनु हुन्न। तसर्थ हामीले पावलका यी शब्दहरूलाई हृदयंगम गर्नुपर्छ: “परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” दया, धैर्य र प्रेम कहिल्यै टल्दैन।—कलस्सी ३:१२; १ कोरिन्थी १३:४-८.
१६. पत्र वा कार्डले किन सान्त्वना दिनसक्छ?
१६ सान्त्वनादायी शब्दहरूले भरिएको पत्र वा कार्ड पठाउनुहोस्: समवेदनाले भरिएको पत्र अथवा सहानुभूतिशील सुन्दर कार्डहरूको महत्त्वलाई अक्सर त्यति ध्यान दिइँदैन। तर त्यसका फाइदा? त्यसलाई बारम्बार पढ्न सकिन्छ। पत्र लामो हुनु आवश्यक छैन तर त्यसमा तपाईंको अनुकम्पा झल्किएको हुनुपर्छ। त्यसमा आध्यात्मिक भाव देखिनुपर्छ तर त्यो उपदेशजस्तो हुनुहुँदैन। “तपाईंलाई सहारा दिन हामी छौं” भन्ने सरल संदेश मात्र पनि सान्त्वनादायी हुनसक्छ।
१७. प्रार्थनाले कसरी सान्त्वना दिनसक्छ?
१७ तिनीहरूसँगै बसेर प्रार्थना गर्नुहोस्: शोकसन्तप्त संगी मसीहीहरूसँगै अथवा तिनीहरूका लागि गरिने प्रार्थनाको महत्त्वलाई पनि नगण्य नठान्नुहोस्। याकूब ५:१६ मा बाइबलले यसो भन्छ: “धार्मिक मानिसको निवेदनले धेरै ठूलो काम हुनसक्तछ।” उदाहरणको लागि, हामीले तिनीहरूका निम्ति प्रार्थना गरेको सुन्दा शोकसन्तप्त व्यक्तिहरूले दोषी भावनाजस्ता नकारात्मक भावना हटाउने मदत पाउँछन्। हामी कमजोर अनि निरुत्साहित हुँदा शैतानले आफ्ना “युक्तिहरू” अथवा “धूर्त चालहरू” चलाएर हामीलाई निर्बल तुल्याउन खोज्छ। अनि पावलले भनेझैं हामीलाई प्रार्थनाद्वारा सान्त्वना र समर्थन चाहिने यस्तै समयमा हो: “सारा प्रार्थना र अन्तरबिन्तीबाट, हर समय आत्मामा प्रार्थना गरेर, यसैमा सारा पवित्र जनहरूका निम्ति सतर्फ भएर खुरन्धार अन्तरबिन्ती गर।”—एफिसी ६:११, १८; याकूब ५:१३-१५ तुलना गर्नुहोस्।
के गर्नु हुँदैन
१८, १९. कुराकानी गर्दा हामी कसरी चतुऱ्याइँ देखाउनसक्छौं?
१८ कुनै व्यक्ति शोकाकुल हुँदा बोल्न र गर्न नहुने कुराहरू पनि छन्। हितोपदेश १२:१८ ले यस्तो चेताउनी दिन्छ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” कहिलेकाहीं चालै नपाइकन हामी अव्यवहारिक भइरहेका हुन- सक्छौं। उदाहरणको लागि, “तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ भनेर म बुझ्छु” भनी हामी भनौंला। तर के साँच्चै नै हामीले बुझिरहेका छौं? के तपाईंले दुरुस्त त्यस्तै क्षति भोग्नुभएको छ र? यसबाहेक, मानिसहरूले भिन्दाभिन्दै प्रतिक्रिया व्यक्त गर्छन्। तपाईं र शोकसन्तप्त व्यक्तिको प्रतिक्रिया उस्तै नहुनसक्छ। बरु यसो भन्दा बढी प्रभावकारी हुनसक्छ: “केही समयअघि मेरो . . . मरेको हुनाले तपाईंको भावना म राम्ररी बुझ्न सक्छु।”
१९ मृत व्यक्तिको पुनरुत्थान हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा कुनै टिकाटिप्पणी नगर्नु पनि संवेदनशीलता देखाउनु हो। विश्वासमा नभएको पति वा पत्नीको भावी सम्भाव्यताबारे अरूले आफ्नै मत व्यक्त गर्दा केही भाइ-बहिनीहरूलाई गहिरो चोट परेको छ। कसको पुनरुत्थान हुन्छ, कसको हुँदैन भनेर न्याय गर्ने हामी होइनौं। तर हामी ढुक्क हुनसक्छौं। किनभने मानिसको हृदय हेर्नुहुने यहोवा, हामीहरूभन्दा धेरै दयालु हुनुहुन्छ।—भजन ८६:१५; लूका ६:३५-३७.
सान्त्वनादायी पदहरू
२०, २१. शोकसन्तप्त व्यक्तिलाई सान्त्वना दिनसक्ने केही पदहरू के के हुन्?
२० उपयुक्त समयमा शोकसन्तप्त व्यक्तिलाई दिन सकिने सबैभन्दा ठूला मदतहरूमध्ये एक, मृत मानिसका लागि यहोवाले गर्नुभएका प्रतिज्ञाहरू छलफल गर्नु हो। शोकसन्तप्त व्यक्ति साक्षी होस् अथवा सेवकाईको दौडान हामीले भेटेको कुनै व्यक्ति, बाइबलमा आधारित यस्ता विचारहरू लाभदायी हुनेछन्। त्यस्ता केही पदहरू के के हुन् त? यहोवा, सबै सान्त्वनाको परमेश्वर हुनुहुन्छ भनेर हामीलाई थाह छ। किनभने उहाँले यसो भन्नुभयो: “तिमीहरूलाई सान्त्वना दिने मनै हुँ।” उहाँले अझै यसो भन्नुभयो: “जस्तो कसैलाई आफ्नी आमाले सान्त्वना दिन्छिन्, त्यस्तै म तिमीहरूलाई सान्त्वना दिनेछु।”—यशैया ५१:१२; ६६:१३.
२१ भजनरचयिताले यसरी लेखे: “मेरो संकष्टमा मलाई सान्त्वना यही छ, किनकि तपाईंको वचनले मलाई जीवित पारेको छ। हे परमप्रभु, मैले तपाईंको उहिलेको न्याय-वचन सम्झेको छु, र सान्त्वना पाएको छु। तपाईंको दासलाई तपाईंको वचनअनुसार तपाईंको करुणा मेरो सान्त्वनाको निम्ति होस् भनेर म बिन्ती चढ़ाउँछु।” स्मरण रहोस्, यी पदहरूमा “सान्त्वना” भन्ने शब्दलाई बारम्बार दोहोऱ्याइएको छ। हो, संकष्टको समयमा यहोवाको वचनतर्फ ध्यान केन्द्रित गरेर हामी आफ्नो र अरूको निम्ति साँचो सान्त्वना पाउनसक्छौं। यस्तो सान्त्वनाका साथै भाइहरूको प्रेम अनि अनुकम्पाले क्षति सहन र मसीही सेवकाईको आनन्दित क्रियाकलापले आफ्नो जीवन फेरि सबल पार्न हामीलाई मदत दिनसक्छ।—भजन ११९:५०, ५२, ७६.
२२. हाम्रोसमक्ष कस्तो प्रत्याशा छ?
२२ निराश व्यक्तिहरूलाई मदत गर्न व्यस्त भएर पनि हामी आफ्नो शोकलाई केही हदसम्म बिर्सनसक्छौं। सान्त्वनाको खाँचो परिरहेका अरू मानिसहरूतर्फ ध्यान दिंदा हामीले आध्यात्मिक तवरमा केही दिइरहेको हुनाले त्यसबाट पनि साँचो आनन्द उठाउँछौं। (प्रेरित २०:३५) आउनुहोस्, पुनरुत्थानको दिनको कल्पना तिनीहरूसित बाँडौं। पहिले पहिलेका सबै राष्ट्रका मानिसहरूले एउटा नयाँ संसारमा आफ्नो बाजे बराजुको समयदेखिका मृत प्रिय जनहरूलाई पुनः जीवित स्वागत गरिरहेको कल्पना तिनीहरूसँग साटौं। कस्तो प्रत्याशा! यहोवा साँच्चै नै “नम्रहरूलाई सान्त्वना” दिने परमेश्वर हुनुहुन्छ भनेर सम्झँदा यी आँखाहरू हर्षका आँसुले कति रसाउलान्!—२ कोरिन्थी ७:६.
के तपाईंलाई सम्झना छ?
◻ यहोवा कसरी “सबै सान्त्वनाको परमेश्वर” हुनुहुन्छ?
◻ येशू तथा पावलले कसरी शोकाकुल मानिसहरूलाई सान्त्वना दिए?
◻ शोकाकुल मानिसहरूलाई सान्त्वना दिन हामीले गर्नसक्ने केही कुराहरू के के हुन्?
◻ शोकसन्तप्त मानिसहरूसित व्यवहार गर्दा हामीले के गर्नु हुँदैन?
◻ प्रिय जनको मृत्यु हुँदा तपाईंलाई मनपर्ने सान्त्वनादायी पदहरू के हुन्?
[पृष्ठ १५-मा भएको चित्र]
शोकाकुल मानिसहरूलाई मदत गर्न चतुऱ्याइँपूर्वक अग्रसर हुनुहोस्